६० वर्षअघिदेखि रूसमा बसेर नेपाली भाषा र साहित्यमा काम गरिरहेका कृष्णप्रकाश श्रेष्ठकाे निधन भएकाे छ । ५ वर्षअघि साहित्यपाेस्टका प्रधानसम्पादक अश्विनी काेइरालाले भाषासेवी कृष्णप्रकाश श्रेष्ठलाई भेटेर तयार गर्नुभएकाे, र कान्तिपुरकाे काेसेलीमा छापिएकाे लेखकाे मुख्य अंशलाई यहाँ प्रस्तुत गरिएकाे छ । 

========

नेपाली समाजलाई रुसी साहित्यको स्वाद पस्कने अग्रणी व्यक्तित्व हुन्, कृष्णप्रकाश श्रेष्ठ । नोबल पुरस्कार विजेता मिखायल सोलोखोबको ‘मान्छेको भाग्य’ पढेर रुनेहरू र टोल्सटायका अन्य उपन्यासहरू पढेर छक्क पर्नेहरूले कृष्णप्रकाश श्रेष्ठको नाम सायदै बिर्सेलान् ।

श्रेष्ठले रुसी भाषाका झन्डै सय पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन् । यति मात्र होइन, नेपाली भाषाका लक्षमीप्रसाद देवकोटादेखि नयाँ लेखकहरूका दर्जनौं कृति रुसी भाषामा पनि अनुवाद गरिसकेका छन् उनले । यसै वर्ष १० नेपाली कविताहरू रुसी भाषामा र १० रुसी कविका रचनाहरू नेपालीमा अनुवाद गर्ने योजनामा छन् उनी । उनका दराजभरि प्रकाशन हुन बाँकी अनूदित कृतिहरू थुप्रिएका छन् । ‘मैले आफ्नो काम गरिरहेको छु । मनकारी प्रकाशकहरूले छापिरहेका छन् तर प्रकाशकभन्दा मै छिटो भएजस्तो छ,’ उनको मुस्कानमा सन्तुष्टि झल्कन्छ ।

७८ वर्षीय कृष्णप्रकाश श्रेष्ठ अहिले रुसको मस्कोमा बस्छन् । सामान्य लवाइ खवाइ गर्ने यिनी निकै फुर्तिला छन् । ठमठमी हिँडेर मस्को लेखक संघको कार्यालय पुग्छन् र नयाँ रुसी साहित्यकारहरूलाई तालिम दिन्छन् । रुसी तथा नेपाली साहित्यका विषयमा वेबसाइटमा चलाउँछन् । मस्को स्टेट युनिभर्सिटीका मानार्थ विद्यावारिधि यिनी त्यहाँका जर्नलहरूमा अनुसन्धानमूलक लेख पनि लेखिरहन्छन् ।

मस्को पुगेका नेपाली राजनीतिज्ञ एवं साहित्यिक व्यक्तिहरूलाई पनि रुसी भाषा–साहित्यका प्रतिनिधिहरूसँग भेटघाट व्यवस्था यिनैले मिलाउँछन् । मातृभूमिबाट टाढा भए पनि नेपाली साहित्यकै प्रवर्तन लागिरहेका छन् । ‘रुसमा मैले सम्मान नपाएजस्तो लाग्दैन । तर मैले गरेका कामको सोधखोज नेपालीमै हुनुपर्छ जस्तो लाग्छ,’ उनी आस गर्छन्, ‘कुनै दिन मनकारी अनुसन्धानदाता म भए ठाउँ आउलान् । केही दिन यहाँ बसेर मेरा सबै कृतिहरूको लेखाजोखा गर्लान् । मैले गरेको काम देखेर विदेशी (रुसी) त छक्क छन्, आफ्नै दाजुभाइले कसो नदेख्लान् ?’

…..

कृष्णप्रकाश श्रेष्ठ कसरी रुस पुगेर त्यहीँको हिउँझैं किन जमे, यसको रमाइलो कथा छ ।

श्रेष्ठले पटना विश्वविद्यालयबाट अंग्रेजी साहित्य र अर्थशास्त्रमा स्नातक गरेका थिए । नेपालमा स्नातकोत्तर पढाइ हुँदैनथ्यो । संयोग कस्तो पर्‍यो भने उनी पटनाबाट फर्किएकै वर्ष त्रिभुवन विश्वविद्यालयमा पढाइ सुरु हुने भयो । उनी कलेजमा भर्नाका लागि निवेदन दिने पहिलो विद्यार्थी हुन पुगे । जुन दिन कलेज जानेवाला थिए, त्यही दिन उनको नाम सरकारी जागिरमा निस्कियो । उनका बुबा माल अड्डाका हाकिम भएकाले छोरोको सर्टिफिकेट सुटुक्क माथिल्लो निकायमा पेस गरेका रहेछन् । त्रिभुवन विश्वविद्यालयमा पनि दिउँसो पढाइ हुने, जागिर पनि दिउँसै खानुपर्ने । ठीक त्यही बेला रुसी दूतावासको छात्रवृत्तिमा पनि उनको नाम निस्कियो । कुरा के परेछ भने पटनाबाट बिदामा नेपाल आएका बेला उनी अमेरिकन लाइब्रेरी गइरहन्थे । त्यहाँ उनले अमेरिकासँगको स्याटेलाइट प्रतिस्पर्धामा रुसले उछिनेको खबर पढेका थिए । त्यो खबरले उनी रुसतर्फ आकर्षित भइहाले, अनि रुसी दूतावासमा एउटा निवेदन हाले । तर त्यसको परिणामा त्यति बेला आयो, जब उनी जागिर खाने कि त्रिभुवन विश्वविद्यालयमा पढाइ गर्ने भन्ने दोधारमा अल्झिइरहेका थिए । एकै दिन उनले तीनवटा अवसरमध्ये एउटा छान्नुपर्ने भयो । बुबाले खाएको सरकारी जागिरको पारा उनले देखिसकेका थिए, त्यो उनले चाहेनन् । अनि पढ्नैपर्छ भने नेपालमै किन पढ्ने, रुस किन नजाने भन्ने लाग्यो उनलाई ? उनले तेस्रो विकल्प रोजे ।

…..

सन् १९६० को जनवरी १३ मा श्रेष्ठ तत्कालीन सोभियत संघको राजधानी मस्को पुगे । विदेशबाट त्यहाँ जाने विद्यार्थीले एक वर्ष भाषा कक्षा लिनुपथ्र्यो । रुस जानुअघि नै उनी नेपाली, नेवारी, हिन्दी, अंग्रेजी, संस्कृतलगायत ६ वटा भाषा बोल्न सक्थे । उनले पटना विश्वविद्यालय पढ्दा एक वर्ष संस्कृत पढेका थिए । आफूले स्नातक गरेको अंग्रेजी उनका लागि सजिलो भैहाल्यो । रुसी भाषाका धेरै शब्द संस्कृत र अंग्रेजीसँग मिल्ने भएकाले उनलाई त्यति गार्‍हो भएन । अब्बल अंक ल्याएर उत्तीर्ण भए उनी । विश्वविद्यालयमा विषय रोज्ने सबालमा पनि उनका अघि तीन विकल्प थिए । पहिलो, स्नातकमा पढेकै अर्थशास्त्रमा उच्चशिक्षा हासिल गर्ने, दोस्रो भाषामा दख्खल भएकाले फिलोलोजी पढ्ने, तेस्रो रुचिको क्षेत्र पत्रकारिता अध्ययन गर्ने । उनले यहाँ पनि तेस्रै विकल्प रोजे । लेखपढ गर्न रुचाउने उनी पत्रकारिता पढेर लेख्ने कला पनि सिक्न चाहन्थे । उनी मस्को स्टेट युनिभर्सिटीमा भर्ना भए ।

…..

बीबीसी नेपाली सेवा भर्खर–भर्खर सुरु भएको थियो । बेलायती–अमेरिकी राजनीतिक समाचारले गोर्खाली सेना मात्र होइन, धेरै नेपालीभाषीलाई आकर्षित गरिरहेको थियो । यो शक्तिको होडबाजीमा रुस के कम ? उसले पनि आफ्नो मस्को रेडियोबाट आधा घन्टा नेपाली कार्यक्रम सञ्चालन गरेर कम्युनिस्ट दर्शनमा रुचि राख्ने श्रोता बढाउने निर्णय गर्‍यो । पत्रकारिता पढेको नेपालीभाषी खोज्दै जाँदा उनीहरूले श्रेष्ठलाई फेला पारे । र, आकर्षक तलबसहित जागिर खान बोलाए । ‘मलाई कहिले पढाइ सकौं र नेपालको पत्रकारितामा केही गरौं भन्ने औडाहा भएको थियो, के जागिर खानु ?’ ती दिन सम्भँmदै श्रेष्ठ भन्छन्, ‘मैले अस्वीकार गरेँ । म जागिर खान आएको होइन, पत्रकारिता सिकेर आफ्नै देशको सञ्चारमाध्यम बलियो बनाउन आएको भनेँ ।’

श्रेष्ठको जवाफले मस्को रेडियोका प्रबन्धक निराश भएर फर्किए । नेपाल सरकारसँग अनुरोध गरेर मस्को रेडियोले एकजना मानिस काठमाडौंबाटै बोलायो । नेपाली कार्यक्रम सुरु हुन झन्डै एक वर्ष लाग्यो। पत्रकारिता नपढेका र रुसी भाषा नजानेका ती व्यक्ति सोर्सफोर्सका भरमा त्यहाँ पुगेका रहेछन् । तर नेपाली कार्यक्रम सुरु भएको केही दिनमै नयाँ रेडियोकर्मीको कमजोरी खुलिहाल्यो । त्यसपछि फेरि मस्को रेडियोका प्रतिनिधिहरू श्रेष्ठ भएको ठाउँमा पुगे । जागिर नखाऊँ नेपाली कार्यक्रम नचल्ने, खाऊँ नेपाल फर्कने मन, साह्रै दोधारमा परे उनी । तैपनि उनले सर्त तेस्र्याए, ‘म पढाइ पूरा नहुन्जेल मात्र आंशिक जागिर खान्छु ।’ मस्को रेडियोका प्रतिनिधिसँग अर्को विकल्प थिएन, स्विकारे । त्यही बेला नेपाली विद्यार्थीहरूसँग मिलेर श्रेष्ठले रुसी भाषाका महाकवि पुस्किनका रचना नेपालीमा अनुवाद गर्न थालेका थिए ।

विश्वविद्यालयका जर्नलहरूमा रुसी भाषामा लेखहरू लेख्न थालेका थिए । उनको रुसी भाषाको पकड र साहित्य चेतनाको चर्चा मस्को विश्वविद्यलयमा हुन थालेको थियो । र, पत्रकारिताका प्राध्यापकहरू मार्फत मस्को रेडियोसम्म उनको प्रतिभाको खबर पुगेको थियो ।

पत्रकारिताको कोर्स ५ वर्षको थियो । उनी भर्खरै तेस्रो वर्षका विद्यार्थी थिए । त्यति बेला नीलाम्बर आचार्य पनि त्यही विश्वविद्यलायमा पत्रकारिता विभागमा भर्खरै भर्ना भएका थिए । कृष्णप्रकाशले नीलाम्बर आचार्यलाई साथ लिएर सन् १९६३ मा मस्को रेडियोमा नेपाली कार्यक्रम चलाउन सुरु गरे । राजा महेन्द्रदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा लागिरहेका नेताहरूले उक्त रेडियोमा अतिथि बन्दै गए ।

सन् १९६६ मा श्रेष्ठको पढाइ सकियो, राजीनामा बुझाउन रेडियो स्टेसन पुगे । रेडियोले फेरि कृष्णप्रकाशलाई पूर्णकालीन पत्रकार भएर जागिर खान अनुरोध गर्‍यो । ‘जागिर मस्को रेडियोको, सुविधा तिमीले चाहेको…,’ रेडियो प्रबन्धकले प्रस्ताव राखे, ‘हाम्रो अनुरोधलाई अस्वीकार नगर । हामी तिमीले चाहेको सुविधा दिन तयार छौं ।’ श्रेष्ठले छेउमै रहेकी आफ्नी रुसी प्रेमिका इरिनालाई हेरे । मस्को रेडियोकै हिन्दी विभागकी पत्रकार इरिना त्यति बेला कृष्णको प्रेममा पागल भएकी थिइन् । नीलाम्बर आचार्यले श्रेष्ठलाई इरिनाको प्रेमको अपहेलना नगर्न दबाब दिए । रेडियोको प्रस्ताव आकर्षक थियो, ‘प्रत्येक तीन वर्षमा नेपाल जाने–आउने तथा बस्ने सम्पूर्ण सुविधा प्रदान गरिनेछ । नेपालमा तीनमहिने बिदामा बस्दा खाईपाई आएको कुनै कुरा कट्टा गरिने छैन । जागिरपछि नेपाल बस्न चाहेमा रुसमा बस्दा पाइने सञ्चयकोषका सबै सुविधा प्रदान गरिनेछ… इत्यादि ।’ त्यो बेला रुबलको भाउ अमेरिकी डलरको हाराहारीमा थियो ।

त्यसपछि श्रेष्ठ रोकिए । इरिनासँग विवाह बन्धनमा बाँधिए । अनि, नेपाल आउँछु भन्दाभन्दै मस्को रेडियो र इरिनासँग स्थायी रूपमै बाँधिए । नेपालसँग नाता टुट्छ कि भन्ने पिरलो पनि सँगै थियो । यही रनाहामा उनको अनुवादक मनले गति लियो । त्यो बेला रुसले क्लासिक कृतिहरूलाई विश्वभरिका भाषामा अनुवाद गर्ने नीति बनाएको थियो । प्रगति प्रकाशन र रादुका प्रकाशनअन्तर्गत अनुवादकको जागिर खान भारतका चर्चित कवि डा. मदनलाल ‘मधु’ रुस पुगेका थिए । रेडियोको जागिर त छँदै थियो, श्रेष्ठलाई अनुवादको नेपाली विभाग हेर्ने जिम्मा पनि सुम्पिइयो ।

श्रेष्ठ र ‘मधु’को दोस्ती ‘शोले’का अभिताभ र धर्मेन्द्रको जस्तै जमेको थियो । त्यहाँ उनीहरूले २० वर्ष लगातार काम गरे । पछि ती संस्था बन्द भए तर उनीहरूको जोडी अनुवादमा जमिरह्यो । यसबीचमा श्रेष्ठले रुसी भाषाका करिब सय चर्चित कृति पनि अनुवाद गरे ।

रेडियोमा भने श्रेष्ठले ४० वर्षसम्म विभिन्न पदमा रहेर काम गरे । नेपाली दूतावासभन्दा अगाडि नेपालको समाचार थाहा पाउने पेसामा भएका कारण उनलाई आफू नेपालबाट टाढा रहेको भान कहिल्यै भएन । सोभियत नागरिक बन्ने पटक–पटकको सरकारी आग्रह लत्याए उनले । त्यो बेला नेपालको मात्र होइन, रुसका शक्तिकेन्द्रसँग उनको सीधा सम्पर्क हुन्थ्यो उनले । त्यसमाथि उनी तीन–तीन वर्षमा नेपाल आउन पाउँथे, तीनमहिने बिदा मनाउन । नेपालमै बस्ने नागरिकले समेत देशको राम्रो सेवा नगरेको अनुभव गरिरहेका बेला उनलाई केही गरिरहेको भान हुन्थ्यो । त्यहीँ बसेर उनले नेपाली साहित्यलाई गुन लगाइरहे ।

…..

विदेशी भूमिमा सोचेजस्तो जिन्दगी कहाँ हुन्छ र ! श्रेष्ठले जागिर छाड्नुअघि नै रुसमा कम्युनिस्ट शासन ढल्यो र लोकतान्त्रिक पद्धति सुरु भयो । कम्युनिस्ट सरकारका सबै संरचनाहरू परिवर्तन गरिए । सरकारको एकाधिकार अन्त्य भयो । धेरै संस्था सरकारीबाट निजी, अर्धसरकारी वा स्वायत्त हुँदै जान थाले । त्यसको असर उनको रेडियोमा नपर्ने कुरै थिएन । नेपालमा तीन वर्षमा आउन पाउने, तीन महिनाको बिदा दिने र नेपालमै बसेर उताको सुविधा लिन पाउने उनको अधिकार खर्चको कारण देखाएर रेडियोले खोसिदियो । विदेशीलाई रुस सजिलै आउनजान पाउने नियममा त्यहाँको सरकारले कडाइ गर्न थाल्यो । श्रीमती र उनका दुई सन्तान रुसी नागरिक भए पनि उनी नेपाली नागरिक नै थिए । अब समस्या सुरु हुन थाल्यो । नेपाल आउँ, माया गर्ने श्रीमती र छोरीहरू उता छन् । उतै बसौं, नेपाली नागरिक भएर बस्न दर्जनौं अप्ठ्यारा छन् । कतिसम्म भने सन् २००५ मा जगदम्बा पुरस्कार थाप्न आउँदा उनले ११ वटा संस्थामा धाएर पागल नभएको, शरीर स्वथ्य भएको, कुनै गलत आचरण नभएको, आपराधिक गतिविधि नगरेको, जासुसी नगरेकोजस्ता कुरा प्रमाणित गर्नुपर्‍यो । उनी रुसी सरकारको माथिल्लो निकायदेखि सर्वसाधारणसम्म परिचित थिए । तैपनि विदेशी भएका कारण उनमाथि ती नियम लागू भए । त्यसपछि उनका रुसी मित्रहरूले त्यहाँको नागरिकता लिन कर गर्न थाले । बुढेसकालमा यसरी ठाउँ–ठाउँ पुगेर आफूलाई प्रमाणित गरिरहनुभन्दा रुसकै नागरिकता लिन छोरी र श्रीमतीले पनि आग्रह गरे । ‘इरिना बिरामी थिइन् । रुस चटक्क छाड्ने अवस्था पनि थिएन,’ उनले सुनाए, ‘यसरी रुस छाड्दा पेन्सन नपाइने नियम आइसकेको थियो । नेपालमा आएर के गर्ने ? आखिर परिवारभन्दा ठूलो देश नहुने रहेछ । साह्रै गह्रौं मन बनाएर ७० वर्षको उमेरमा नेपाली नागरिकता त्यागें।’

यति कथा सुनाइसक्दा उनका आँखा आँसुले टम्म भरिए । थपे, ‘अहिले मसँग नेपाली पासपोर्ट छैन । सँगै काम गरेका डा. मधुले पनि संसार त्यागे, साहित्यको हिसाबले रुसमा म करिब–करिब एक्लो भएँ ।’