साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

प्रस्तुत लेख हामीले अन्नपूर्ण पाेस्टकाे शनिबारीय विशेष फुर्सदबाट साभार गरेका हाैँ । फुर्सदका लागि यो लेख जीवनाथ धमला तयार पार्नुभएको हो । तपाईँले यो सामग्री अन्नपूर्ण पाेस्टमा पढ्न यहाँ क्लिक गर्नुहाेस्

=======

सहिद शब्दको अर्थ र व्याख्या जति पनि लगाउन सकिन्छ। सहिद भनेको यस्तो व्यक्ति हो भनेर असंख्य विद्वान्, राजनीतिज्ञ, स्रष्टा, चिन्तक, इतिहासकार, संस्कृतिविद् सबैले पहिलेदेखि नै भन्दै, लेख्दै, बोल्दै आएका छन्। सहिद यस्तो भावार्थ बोकेको शब्द हो जसको अर्थ यही नै मात्र हो भन्ने पनि हुँदैन। तर, सामान्य र सर्वस्वीकार्य हुन सक्ने आशयका हिसाबले राष्ट्रको हित, लोकतन्त्र, सामाजिक कल्याण, मुलुकको सुरक्षा, प्रतिष्ठा एवं स्वाभिमानका खातिर कुनै पनि वैयक्तिक स्वार्थका पछि नलागी, ज्यानको पर्वाह नगरी कार्य गर्ने व्यक्तिलाई शासकबाट मृत्युदण्ड दिइन्छ भने उसलाई सहिद भन्न सकिन्छ। त्यस्तो व्यक्ति, समाज र देशका लागि एउटा आदर्श बन्दछ, प्रेरणा स्रोत बन्दछ। ऊबाट अरूलाई पनि मुलुकका लागि असल कर्म गर्न साहस एवं मनोबल प्राप्त हुन्छ। मुलुकवासीका लागि सत्कर्म गर्न एउटा नैतिक बल, इमानदारी एवं आत्मसम्मानका लागि ऊर्जा प्राप्त गर्न सहिदको त्याग र बलिदानले आत्मजागरण पैदा गर्छ।

नेपाली बृहत् शब्दकोशमा सहिदको शब्दार्थ यस्तो छ; ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्ति।’ सहिदको मापदण्ड निर्धारण कार्यदलमा तत्कालीन संयोजक मोदनाथ प्रश्रितले भनेका छन्; ‘सामाजिक स्वार्थका लागि, आफ्नो सैद्धान्तिक आदर्शका लागि निर्भीकताका साथ नगलेर, क्षमायाचना नगरीकन मृत्युवरण गर्न तयार हुने र मृत्युवरण गर्ने सहिद हुन्।’ इतिहासले अनुसन्धानको ढोका सधैं खुला गरिरहेको हुन्छ। गम्भीर अन्वेषण एवं अनुसन्धानको माध्यमबाट पहिले नभेट्टाइएका तथ्यहरू फेला पर्न सक्छन्। तीबाट विगत समयलाई चिन्न र बुझ्न थप सजिलो हुन्छ।

नेपालमा कतिपय पौराणिक पात्रहरूलाई पनि सम्मान गरिँदै आएको छ। नेपालको इतिहासका लिच्छविकाल एवं मल्लकालका कतिपय व्यक्ति पनि सम्मानित हुँदै आएका छन्। मल्ल राजाहरूका पालामा राष्ट्रिय हितका लागि कार्य गर्ने कतिपय सम्झनैपर्ने व्यक्तिहरूको उचित मूल्यांकन हुन सकेको पाइँदैन। प्रश्रित इतिहासमा धार्मिक, सांस्कृतिक, बौद्धिक क्षेत्रमा काम गर्दा दण्डित हुन पुगेका व्यक्तिहरूको अध्ययन अनुसन्धान गरी तिनलाई प्रकाशमा ल्याइनुपर्ने धारणा राख्छन्। ‘प्रसिद्धि पाएका मानिसका बारेमा सबैलाई जानकारी हुन्छ। उनीहरूले राष्ट्रहितमा, धार्मिक, सांस्कृतिक, बौद्धिक स्तरको क्षेत्रमा काम गर्दा जोजो मानिसलाई अत्याचारी शासकहरूले दण्ड दिने गरेका छन्, मृत्युदण्ड दिने गरेका छन्, त्यो स्थितिलाई अब नयाँ ढंगले राम्रोसँग अध्ययन गर्दै उनीहरूलाई प्रकाशमा ल्याइनु आवश्यक छ, त्यो महत्त्वपूर्ण कुरा हुन्छ’, उनले भनेका छन्।

इतिहासको जुनसुकै कालखण्डमा पनि कतिपय देशभक्तहरू जसलाई लड्दालड्दै, राष्ट्रलाई शिरमा राखेर काम गर्दागर्दै मृत्युदण्ड दिइयो। त्यस्ता व्यक्तिहरूलाई मुलुकले सम्मान दिन नसकेको र कतिपय सम्मान नदिइए पनि हुने व्यक्तिहरूलाई सम्मान दिइएको प्रसंग उल्लेख गर्दै अन्यायमा परेका ऐतिहासिक व्यक्तिहरूलाई सम्मान दिइनुपर्ने धारणा इतिहासकार ज्ञानमणि नेपालको पाइन्छ। काजी भीम मल्ल तथा बहादुर शाहजस्ता ऐतिहासिक पुरुषहरूप्रति राष्ट्रले न्याय दिन सकेको छैन। उनीहरूलाई अन्याय गरिएको छ भनी उनले भनेका छन्। एकीकरण काल प्रारम्भ भएयता बहादुर शाहजस्ता देशभक्तलाई लोकतान्त्रिक नेपालले सम्मानजनक स्मरणमा राखिनुपथ्र्यो तर राखिएको छैन। काजी भीम मल्ल त झन् उनीभन्दा पनि शताब्दीऔं पहिलेका देशभक्त थिए।

गोरखाका लखन थापालाई नेपालका प्रथम सहिद मान्ने गरिएको छ। निरंकुश राणातन्त्रका सूत्रधार जंगबहादुर राणाको विरुद्धमा उनले संगठित विद्रोहको प्रयास गरेका थिए। देवीको प्रेरणाद्वारा जंगबहादुरको अत्याचारविरुद्ध लागेका भन्ने गरिए पनि यथार्थमा उनी स्वस्फूर्त प्रेरित भएर अत्याचारी शासकविरुद्ध लागेका थिए भन्ने बुझ्न सकिन्छ। उनीसँगै उनका अरू धेरै अनुयायीलाई जंगबहादुरले मृत्युदण्ड दिएका थिए। तिनीहरूको पनि खोजी हुनुपर्छ।

इतिहासकारहरूले पृथ्वीनारायण शाहका पालादेखि यताको समयलाई आधुनिक काल मान्ने गरेका छन्। राष्ट्रिय विभूति तथा सहिदको सम्मान त्यसयताका कतिपय देशभक्तले पाएका देखिन्छन्। तर, इतिहासका सुपात्रहरू एवं देशभक्तहरूको खोजी भइरहनुपर्छ। जसरी राष्ट्रिय विभूतिहरूमा पौराणिक कालदेखिकै पात्रहरू सम्मानित छन्, उसैगरी शासकद्वारा मृत्युदण्ड दिइएका देशभक्तहरू जुनुसुकै कालखण्डमा पनि हुन सक्छन्। उनीहरूको खोजी एवं मूल्यांकन गरी शासकद्वारा दण्डित सुपात्रहरूलाई राष्ट्रिय सम्मान दिनाले इतिहासको गरिमा बढेरै जान्छ।

मल्लकालीन काजी भीम मल्ल सहिदका हैसियतमा सम्मान गरिनका लागि एक योग्य पात्र हुन् भन्ने बुझ्न सकिन्छ। तर, उनलाई त्यो सम्मान प्राप्त भएको देखिँदैन। इतिहासकारहरूले उनका बारेमा प्रकाश पार्दै आएका पनि छन्। यस आलेखमा काजी भीम मल्लका सम्बन्धमा केही चर्चा गरिन्छ। पृथ्वीनारायण शाहभन्दा पहिलेको काठमाडौं उपत्यका र काठमाडौं उपत्यका मल्ल राजाहरूद्वारा शासित थियो। मल्लकालीन नेपालमा मुलुकको हित र स्वाभिमानका लागि निःस्वार्थ भावले जिम्मेवारी पूरा गर्ने कतिपय मानिस थिए भन्ने कुरा इतिहासबाट ज्ञात हुन्छ। त्यस्ता व्यक्तिमध्ये १७९८ सालमा कान्तिपुरका राजा भएका प्रताप मल्लको समयका एकजना भारदार थिए काजी भीम मल्ल।

काजी भीम मल्लको सहयोगमा प्रताप मल्लले कान्तिपुर राज्यको निकै विस्तार गरेका थिए। प्रताप मल्लले राज्य विस्तार गर्ने क्रममा तिब्बतमा पनि चढाइ गरेका थिए। उनको सैनिक शक्तिदेखि डराएर तिब्बतले कान्तिपुरसँग व्यापारिक सन्धि गरेको थियो। प्रताप मल्लले तिब्बतसँग सन्धि गर्न काजी भीम मल्ललाई पठाएका थिए र उनको कुशल कूटनीतिकै कारण त्यस बेला तिब्बतमा नेपालको प्रभाव बढेको थियो भन्ने कुरा इतिहासकार प्रा.डा. श्रीरामप्रसाद उपाध्यायले लेखेका छन्। ‘कान्तिपुरे फौज अगाडि बढ्दै गएको देखेर तिब्बतले कान्तिपुरसँग व्यापारिक सन्धि गर्‍यो। यस सन्धिअनुसार नेपाली व्यापारीहरूका ३२ कोठी तिब्बतमा खोलिने, तिब्बतमा नेपाली वाणिज्यदूत रहने, भोटका निम्ति नेपालले मुद्रा बनाइदिने र नेपाली मुद्रा भोटमा पनि मान्य हुने अनि भोटस्थित नेपाली नागरिकको अपुताली परेमा तिनको सम्पत्ति नेपाल सरकारले पाउने कुरामा सहमति भयो।’

निर्दोष पति काजी भीम मल्ललाई मृत्युदण्ड दिएपछि पत्नीलाई सती जान बाध्य पारियो। सती जाने बेला उनले ‘नेपाल दरबारमा राम्रो काम गर्नेको कहिल्यै भलो नहोस्’ भनी श्राप दिइन्। नेपाललाई सतीद्वारा श्रापित मुलुक भनी त्यस बेलादेखि भन्न थालिएको पाइन्छ।

यसरी कान्तिपुर र तिब्बतका बीच भएको सन्धिले नेपाल र तिब्बत बीचको द्विपक्षीय सम्बन्धमा नेपालको प्रभाव परेको देखिनु सामान्य नै भयो। यस्ता व्यापारिक सन्धि सम्झौताहरू बेलाबखत पछिपछि पनि हुँदै आएका छन्। तर, नेपालको त्यत्रो इज्जत बढाएर नेपाल फर्केका भीम मल्ललाई अरू दरबारिया भारदारहरूको चुक्ली सुनेर राजा प्रताप मल्ले फाँसीको सजाय नै दिए। देशको हितका खातिर राजाज्ञा मानेर तिब्बतसँगको झगडा मिलाउन गएका भीम मल्ल निर्दोष थिए। उपाध्याय लेख्छन्, ‘भीम मल्ल तिब्बत गएको बखत यिनका विरोधीहरूले राजा प्रताप मल्ललाई भएनभएको कुरा लगाई बेसरी उचाले। तिब्बतसँग व्यापारिक सन्धि गरेर फर्केको केही समयपछि प्रताप मल्लले इमानदार काजी भीम मल्लको हत्या गर्न लगाए।’

यसरी भीम मल्लको योग्यता एवं कूटनीतिक क्षमतासँग ईष्र्या गर्नेहरूले अनर्गल एवं कपोकल्पित कुरा लगाएका हुनाले तिनै छट्टु भारदारहरूको चुक्ली सुनेर राजाले उनलाई मृत्युदण्ड दिएको बुझिन्छ। भीम मल्लकी पत्नीलाई पतिको निर्दोषपन राम्रैसँग थाहा थियो। राजासमक्ष अनेक हारगुहार गरिन् तर सुनुवाइ भएन। पतिलाई मृत्युदण्ड दिएपछि उनलाई सती जान बाध्य पारियो। निर्दोष काजीकी पत्नी पनि सती गइन्। सती जाने बेला उनले ‘नेपाल दरबारमा राम्रो काम गर्नेको कहिल्यै भलो नहोस्’ भनी श्राप दिइन्। नेपाललाई सतीद्वारा श्रापित मुलुक भनी त्यस बेलादेखि भन्न थालिएको पाइन्छ। भीम मल्ल निर्दोष रहेको कुरा बुझेपछि प्रताप मल्ल निकै पश्चात्तापमा डुबेका थिए।

काजी भीम मल्ल देशभक्त थिए। देशभक्त भएकैले दरबारिया षड्यन्त्रका कारण उनले मृत्युदण्ड पाउनुपर्‍यो। इतिहासकारहरूले भीम मल्ल प्रताप मल्लका पालामा काजी थिए र उनले मार्न लगाएका थिए भन्ने ऐतिहासिक विवरणहरू दिएका छन्। केही इतिहासकारले भीम मल्ललाई प्रताप मल्लका बाबु लक्ष्मीनरसिंह मल्लले मार्न लगाएका थिए भनेका छन्। भीम मल्ललाई मृत्युदण्ड दिएपछि लक्ष्मीनरसिंहलाई यथार्थ बोध भयो। उनले ठूलो पश्चात्ताप गरे, त्यसै पीरले उनको मृत्यु पनि भएको विवरण प्राप्त हुन्छ। लक्ष्मीनरसिंह वा प्रताप मल्ल जसले मार्न लगाए पनि भीम मल्ल मारिए। उनी कान्तिपुरको विजयपताका फहराउँदै तिब्बतसँग व्यापारिक सन्धि गरी ठूलो परिमाणमा सुनचाँदी एवं अनेक धनदौलतसमेत लिएर ल्हासाबाट फर्केका थिए।
भीम मल्ल कान्तिपुर आइपुग्न रात परेकाले अघिल्लो दिन भादगाउँमा बास बसेका थिए, त्यहाँ बास बसेका भीम मल्लले भादगाउँसँग मिलेर कान्तिपुरमा हमला गरी आफैं राजा हुन षड्यन्त्र गरेका छन् भन्ने कुरा विरोधीले लक्ष्मीनरसिंहलाई लगाएकाले भीम मल्लले मृत्युदण्ड पाएको भन्ने इतिहासकार हेमलाल जोशीले लेखेका छन्। उनले ‘भीम मल्लको त्यस्तो चकचकी देखेर दुष्टहरूको दिल पोल्न थाल्यो। ल्हासाबाट फर्केर आएको बेलामा भक्तपुरमा ठूलो स्वागत भएको र अबेर भएर भादगाउँमा बास बसेको कुरालाई बढाएर लक्ष्मीनरसिंहलाई यस्तो पारिदिए कि भीम मल्लको आफैं राजा हुने इच्छा छ। भक्तपुरे काजीहरूले पनि भीम मल्लविरुद्ध अनेक छुल्याही गरेका थिए। अन्तमा काजी भीम मल्ललाई प्राण दण्ड मिल्यो’ भनी लेखेका थिए।

काजी भीम मल्लकै प्रयासमा तिब्बतमा कान्तिपुरको व्यापारिक हालिमुहाली गराई राजाको सुकीर्ति र गौरव बढाई नेपाल फर्केका देशभक्त काजी भीम मल्लले राजाद्वारा मृत्युवरण गर्न बाध्य हुनुपर्‍यो। उनले देशको इज्जत बढाए। उनकै प्रयासले दुई देशबीच आर्थिक कूटनीतिको प्रारम्भ भएको हो। उनले आगामी दिनमा तिब्बतसँग नेपालद्वारा गरिने व्यापार तथा पारवहन सन्धिका लागि पहिलो पाइला चाले। त्यसकै निरन्तरतास्वरूप २०७४ सालमा नेपाल र चीनका बीच व्यापार तथा पारवहन सन्धि भएको मान्न सकिन्छ। भीम मल्लले प्रजातन्त्रका लागि निरंकुश शासन वा शासकविरुद्धमा लागेर काम गरेका थिएनन् भन्ने कुरा अठारौं शताब्दीको नेपालको राजनीतिक, सामाजिक परिस्थितिका हिसाबले सापेक्ष हुन सक्दैन। उनलाई त्यस समयकै देशभक्तका रूपमा हेर्नुपर्छ।

एउटा निरपराध र मुलुकप्रति बफादार अनि सामथ्र्यवान् व्यक्ति शासकद्वारा मारिन पुगेको घटनाले नेपाल दरबारमा दीर्घकालीन असर पर्‍यो। कतिपय भारदार सामथ्र्य देखाउनुभन्दा राजाको हुकुम मान्न थाले। नत्र उनीहरूले पनि भीम मल्लकै परिणति भोग्नुपथ्र्यो। पृथ्वीनारायणलाई अपवाद मान्ने हो भने दरबारले दासत्व मनोवृत्तिका मानिसलाई निकट सहयोगी, सल्लाहकार बनाउँदै ल्यायो। क्षमतावान् देशभक्त मानिसको परामर्शबाट देश अघि बढेन। सतीको श्राप सही हुँदै आयो र आखिरमा नेपालको राजतन्त्र नै समाप्त हुन पुग्यो। राजतन्त्र समाप्त भए पनि शासन व्यवस्थाको नेतृत्वमा पुग्ने र बस्नेहरूको प्रवृत्ति फेरिएको महसुस हुँदैन। सतीको श्रापले देशको शासन प्रणालीको नेतृत्वमा बस्नेहरूलाई पीडित बनाएको बनायै छ। त्यसबाट छुटकारा पाउन पनि अर्थात् भीम मल्लकी पत्नीको श्रापबाट मुक्त हुन पनि भीम मल्ललाई सहिद घोषणा गरी श्रद्धापूर्वक उनको स्मरण गरिरहनु उपयुक्त हुन्छ।

इतिहासकार, संस्कृतिविद् एवं राजनीतिशास्त्रीद्वारा काजी भीम मल्ल एवं त्यस्तै अन्य देशभक्तबारे पनि सघन अध्ययन परामर्श गरी उनीहरूको योगदानलाई चिरस्मरणीय बनाउँदै राष्ट्रिय सम्मान दिलाउन प्रयत्न गरिनु सान्दर्भिक हुनेछ। ऐतिहासिक सामग्रीहरूका आधारमा काजी भीम मल्ललाई सहिद घोषणा गरी सार्वजनिक रूपमै सम्मान गरिनु अन्यथा हुन सक्दैन। अझै अनुसन्धान गर्न आवश्यक परे इतिहासकारहरूले अग्रसरता पनि लिन सक्छन्।

काजी भीमको योगदानको मूल्यांकन गरी मल्लकालीन कान्तिपुरी राजधानीको केन्द्र हनुमान ढोकामा उनको सालिक स्थापना गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, हनुमानढोका हेरचाह अड्डालगायतका संस्थाले अग्रसरता देखाउन सक्छन्। उनीजस्ता पात्रहरू अरू पनि इतिहासको गर्भमा भेटिन सक्छन्, तिनको पनि खोजी हुनु आवश्यक देखिन्छ। भनिन्छ, देशको इतिहास व्यतीत समयको ऐना हो। काजी भीम मल्ललाई राष्ट्रिय सहिदको सम्मान प्रदान गरी मल्लकालीन एक सुपात्रको सम्झना गर्नु इतिहासप्रतिको पनि सम्मान  हो।