साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ । 

यो सामग्री हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ । यो सामग्रीलाई यहाँ क्लिक गरेर कान्तिपुरकै साइटमा पढ्नसक्नुहुन्छ ।

=======================================================

सप्तरीका मलर सदा चार दिन भोकै बसे । पाँचौं दिन थेग्न नसकिने बुझेर खाना-खोजीमा निस्के, कोदालो उठाए, केही बेर हिँडे र ढले । भोकले उनलाई फेरि कहिल्यै उठ्न नदिने गरी ढाल्यो ।

मलर सदासँगै ‘भोकले अब कोही मर्नुपर्दैन’ भन्ने सरकारी आह्वान ढल्यो । सत्ताका नाराहरू प्रत्येक मलर सदाको मृत्युमा ढल्छन् र सत्ताधारीको हरेक नयाँ भाषणमा बौरिएर आउँछन् । ढल्नु र बौरिनुमा भेद नहुनु भनेको मूलतः अर्थहीन हुनु हो । नारालाई अर्थपूर्ण मान्नेहरू सत्ताको अन्नले ‘पूर्ण’ भइरहनेहरू मात्र हुन् ।

सरकारप्रतिको भरोसा फरक सवाल हो । सरकारको भरमा हिजो पनि थिएनन् सदाहरू, आज पनि छैनन् । कारण, मलर सदा मुसहर हुन्, मधेसी दलित हुन्, निमुखा हुन् र त्यसैकारण सत्ताले सधैं र सजिलै बेवास्ता गर्न सक्ने एक अति सीमान्त सत्य हुन् । पहुँचविहीनले सरकारको आडभरोसा पाउनु सुखद संयोग मात्र हो, केवल कहिलेकाहीँ घट्ने अनौठो घटना हो । त्यसैले उनीहरू कहिल्यै सरकारको भर पर्दैनन् । पहुँच हुनेहरूले सत्ताको खल्तीमा सोझै हात हालेर नगद, जिन्सी, तागत सबै निकाल्न सक्छन् । यसबारे थप भनिरहनु आवश्यक छैन किनभने उज्यालो सडकमा नाङ्गा तथ्यहरू नृत्यमग्न छन् । यी तथ्यहरूले भोकै मरेका (अ)नागरिकका लासछेउ पनि उस्तै नृत्य जारी राखेका छन् ।

अहिले मलर सदा बिते, तीन वर्षअघि कोशीमा आएको बाढीमा कमलु सदा बगे । कमलुका काकाले कोशी बगरमा उभिएर भतिजोको लास हेर्दै पत्रकारसँग भनेका थिए, ‘निमुखालाई सरकारले त हेर्दै हेर्दैन, भगवान्ले समेत नहेर्दा रहेछन् ।’ कमलुले आफूलाई पुर्ने ओभानो जमिनसम्म भेटेनन् । उनीहरूका नाममा एक फिट जमिन पनि थिएन । न धरतीको भर, न आकाशको । न सवर्ण समुदायको भर, न सवर्ण सत्ताको । कमलु र मलरहरू ‘सदा’ भएर जन्मनुलाई हाम्रो शक्ति संरचना र सामाजिक परिवेशले अभिशाप सिद्ध गरेको छ । कोरोना विषाणुले सधैं महामारी निम्त्याउँदैन, उनीहरूका लागि नबदलिएको समाज स्वयं जोखिमयुक्त धराप हो । थिति बदल्न नदिने राजनीतिले त्यस्तो धराप घरीघरी थापिरहन्छ, जुन विषाणुभन्दा बढ्ता भयकारी छ ।

सरकारी तथ्यांकले नै बताउँछ- १३ प्रतिशतभन्दा बढी दलितमध्ये जम्मा १ प्रतिशतको स्वामित्वमा मात्रै जमिन छ । मधेसका ४४ प्रतिशत दलित भूमिहीन छन् भने, करिब ९० प्रतिशतलाई आफ्नो जमिनको फसलले वर्षभरि खान पुग्दैन । यो कुनै नयाँ तथ्यांक होइन । करिब दस वर्षपहिलेको तथ्यांकमा फेरबदल नआएको मात्रै हो । तथ्यांक अद्यावधिक गरेर हेरे अवस्था अझ बिग्रेको हुन सक्छ । सकारात्मक बदलावको गति तीव्र होला भन्ने कुनै संकेत छैन ।

नेपालमा बाँझै राखिएका सयौं हेक्टर जमिनमा माटोसँग गाढा साइनो गाँसेका मुसहरकै स्वामित्व हुन्थ्यो भने कुनै मलर वा कमलु सदाले अकालमा मर्नुपर्ने थिएन । कोरोना महामारीले निम्त्याउने भोकमरीको सिकार भइएला भनेर उनीहरूले मात्र होइन, मुसहरइतर समुदायले पनि भयभीत हुनुपर्ने थिएन । बाँझा जमिनमा श्रम गरेर उनीहरूले उब्जाउने फसलले धेरै नेपालीको पेट भर्ने थियो । राणा, शाह र पछिका सवर्ण हाकिमले अनेक प्रपञ्चमार्फत जमिन कब्जा गरेर आफ्नो बनाउँदा, समुदायगत कृषि प्रणाली पनि सँगै विलुप्त भएको थियो । निजी स्वामित्वले आखिर जमिनसँग अत्यन्त गाढा सम्बन्ध भएको समुदायलाई जमिनबाटै बेदखल गरेको इतिहासले आधुनिक वर्तमानलाई गिज्याउन थालेको छ ।

खोस्रेर खाने आफ्नो जमिन नभएपछि, मलर सदाका सबै छोरा भारतको गुजरातमा श्रम गर्न गए । जमिनबाट खेदिएका सर्वहारालाई पुँजीले सस्ता श्रमिक बनाएर शोषण गर्ने हो । तन्नेरी सदाहरू कुनै गुजराती मालिकले जे चाह्यो त्यही गराउन सक्ने मजदुर भए । साबिक अवस्थामा मर्ने गरी काम गरे, जेनतेन पेट भरे । महामारी सुरु हुन नपाउँदै काम खोसियो, अलपत्र परे । बाबु बितेको उदास आँगनमा आइपुग्न खोज्दा कोरोना संक्रमित हुन सक्छन्, सिमानामै अर्को अलपत्रको सिकार हुन सक्छन् वा कथम् आइपुगिहाले भने फेरि नंग्रा तिखारेर बसेको गरिबीसँग जुध्न कति पनि साहस बाँकी नरहेको हुन सक्छ । ती क्लान्त शरीरमा जीवन सञ्चार गर्ने र मस्तिष्कमा हौसला भरिदिने यता कोही हुँदैन । सरकारसँग भए डन्डा हुन्छ, नत्र ऊ रमिते मात्र बन्छ ।

राजनीतिक परिवर्तनको फेहरिस्त लामो बनाउन सकिन्छ, गन्ती गरेर थुप्रै बुँदा तयार पार्न सकिन्छ । ती सबै बेकार भए भन्न खोजेको होइन । तर ती सफलतालाई स्थिर रहेको वा झन् बिग्रेको दलितको अवस्थाले गौण बनाएको छ । कोरोनाकालमै पटकपटक घटाइएका दलितद्वेषी घटना सम्झनु नै काफी छ । कमलु र मलर सदाले भोकै मर्नुपर्ने र मरेर पनि विभेद भोग्नुपर्ने थितिले परिवर्तनको यात्रा सुरु हुँदै विचलित भएछ भन्ने संकेत गर्छ । क्रान्ति सम्पन्न भएको ठान्नेहरूलाई यो यथार्थले के भन्छ ? दलितबारे अब विमर्शसम्म नचाहिने दाबी गरिरहेका दलका नेतालाई के भन्छ ? दलित शब्दकै ‘अब्युचरी’ लेख्न तम्सेका भारदारी विद्वान्लाई के भन्छ ? दशकौंपछि सुदूर भविष्यमा प्राप्त हुने सुन्दर समाजको परिकल्पनाका आधारमा राजनीति गर्नेहरूलाई के भन्दो हो ?

पहाड र सहरमा बस्ने दलितका अनेक दुःख आजभोलि मात्रै अखबारका विषय बन्न थालेका हुन् । अखबारका पानामा इज्जतिलो स्थान पाउन थालेदेखि मात्रै दलितका विविध समस्याबारे नेपाली बौद्धिक क्षेत्रमा विमर्श सुरु भएको हो । दलित समुदायका बौद्धिकहरू हस्तक्षेप गर्न सक्ने भएपछि सहरमा केही तरंग देखिएको हो । त्यति पनि नहुँदो हो त कमलु र मलर सदाहरू खबरसम्म बन्ने थिएनन् । गाउँ, देहात र खास गरी मधेसका दलित मरेपछि मात्रै खबर बन्ने गर्छन् । भोला पासवान र सोना खटिकजस्ता अपवादहरू आफैं तम्सेर खस भाषामा कलम घोट्न थालेपछि मात्रै हाम्रा ‘गफ’ मा मुसहरका सुखदुःख बेलाबेला सुनिन थालेका हुन् । यही गफ पनि सहन नसक्ने बुझक्कडहरूको सहरमा कुनै कमी छैन । उनीहरू उचालिएर भन्ने गर्छन्, ‘रक्सी खाने बानीले बिगारेको हो उनीहरूलाई । काम गरेर खानेले भोकै मर्नुपर्दैन अचेल ।’

प्रत्येक हिउँदमा निमुखा मधेसी मर्छन्, अखबारमा एक पंक्ति यस्तो दोहोरिन्छ- जाडोले कोही मर्दैन, सत्ताले मार्छ । प्रत्येक बाढी र पहिरोमा निमुखा भरिया वा गरिब किसानको ज्यान जान्छ, टीभीमा कोही आउँछ र भन्छ- प्रकृतिले होइन, मान्छे र उसले बनाएका संरचनाले विपत्ति निम्त्याउने हुन् । भूकम्प आओस् वा महामारी फैलियोस्, सञ्चारमा सुनिने कुनै स्वरले प्वाक्क भन्छ- विपत्ले आखिर जात र वर्ग भन्दैन ।

भन्ने ‘कुरा’ को कुनै खाँचो छैन, अभिव्यक्तिका बान्की पनि परीपरीका छन् । जमिनी जर्जर यथार्थ भने जस्ताको तस्तै रहन्छ । कोरोना महाव्याधि सुरु भएपछि अरुन्धती रोयले लेखिन्- यो संकट आफैंमा नयाँ दुनियाँमा प्रवेश गर्ने ‘पोर्टल’ अर्थात् द्वार बन्न सक्छ । उनले यो पनि लेखिन्- पुरानै ‘नर्मल’ मा फर्कनु त्रासदीपूर्ण हुनेछ । हालसम्म सतहमा आएका संकेतहरू हेर्दा लाग्छ, संकटले दक्षिणपन्थ, राष्ट्रवाद र फासीवादलाई थप मजबुत बनाउनेछ । बरु प्रगति र परिवर्तनका आन्दोलनहरू महाव्याधिको ढोकाबाटै क्षतिग्रस्त भएर नयाँ दुनियाँमा पुग्नेछन् । सग्लो फर्किनेमा तिनै हुनेछन् जो अहिले समाजको मूलधारमा, सत्तामा, शासनमा र हैकममा छन् ।

जमिनबाट बेदखल भएका मलर सदाहरूलाई भोकै मर्न नदिने हो भने वा गुजराती मालिकले कज्याउने सस्ता श्रमिक बन्न नदिने हो भने, संकटको यो ढोकाबाट परिवर्तनको आकांक्षालाई सग्लै पार लगाउन जरुरी छ । सत्तालाई होइन, समुदायलाई समतामूलक, सबल, स्वतन्त्र, प्रकृतिमैत्री र दिगो बनाउने सपना कोरल्न आवश्यक छ ।