साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

प्रस्तुत लेख हामीले अन्नपूर्ण पाेस्टकाे शनिबारीय विशेष फुर्सदबाट साभार गरेका हाैँ । फुर्सदका लागि यो लेख दिनेश अधिकारी तयार पार्नुभएको हो । तपाईँले यो सामग्री अन्नपूर्ण पाेस्टमा पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

……….

२०७७ कात्तिक तेस्रो साता। अमेरिकाको न्युयोर्कमा बस्दै साहित्य सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय गीता कार्कीले फोन गरेर उहाँसहित ज्योति पौडेल र पुनम काफ्लेले संयुक्त रूपमा लेखेको गीतको म्युजिक भिडियो भर्चुअल माध्यमबाट सार्वजनिक गरे। ‘हीरा दिन्छु भन्ने आए, मोती दिने पनि…’ बोलको उक्त गीतका स्थायी हरफहरू एकजनाले र गीतका दुई अन्तरा अरू दुईजनाले लेख्नुभएको रहेछ।

‘संयुक्त लेखन’को यो सन्दर्भले केही कुरा सम्झायो। तिथिमितिको यकिन सम्झना छैन। झन्डै चार दशकअगाडि ‘आकाश विभाजित छ’ शीर्षकको उपन्यास नेपाली साहित्यमा नौलो रूपमा आएको थियो। परशु प्रधान, शैलेन्द्र साकार, ध्रुव सापकोटा, बेञ्जु शर्मा, पुष्कर लोहनीसमेत १० जनाले अलग–अलग परिच्छेद लेख्नुभएको उपन्यास थियो त्यो। संयुक्त उपन्यास भए पनि उपन्यासको कुन परिच्छेद कसले लेखेको हो भन्ने कुरा पुस्तकमा खुलाइएको थियो। २०७६ सालमा प्रकाशित परशु प्रधान र गोविन्द गिरी प्रेरणाको संयुक्त लेखनको उपन्यास  ‘विसर्ग’मा भने कुन अंश कसले लेखेको हो भनेर छुट्ट्याइएको छैन।

कविताको कुरा गर्दा विष्णुविभु घिमिरे र यी संयुक्त पंक्तिका लेखकले संयुक्त रूपमा लेखेको ‘समय’ शीर्षकको कविता २०३८ साल माघ २२ गतेको ‘राष्ट्रपुकार’ साप्ताहिकमा छापिएको थियो। यसपछि २०४८ सालसम्ममा हामीले ५ र ७ वटा संयुक्त कविता प्रकाशित गरेका थियौं। हामीले लेखेका यी कवितामा कुन कवितांश कसले लेखेको हो भनेर छुट्टिँदैन। कसले कविताको कुन अंश लेखेको हो भनेर नछुट्टिने यस परम्परामा अशेष मल्ल, गगन विरही, दिनेश अधिकारी र विष्णुविभु घिमिरेले संयुक्त रूपमा लेखेको ‘एउटा बस्तीको कथा’ शीर्षकको लामो संरचनाको कविता २०५७ साल भदौको ‘मधुपर्क’ मासिक पत्रिकामा छापियो। यो २०७२ सालमा पुस्तकका रूपमा पनि प्रकाशित भयो।

साहित्य क्षेत्रकै कुरा गर्दा २०५७ सालमा प्रकाशित ‘प्रतिनिधि नेपाली गजल’ संग्रहमा वियोगी बुढाथोकी, कृसु क्षेत्री, गोवद्र्धन पूजा, रोशन थापा निरवसमेतले अलग–अलग ‘शेर’ लेखेर एउटा गजल पूरा गरेको देखिन्छ। प्रत्येक शेर कसले लेखेको हो भन्ने कुरा खुलाइएको अवस्थामा यो गजल प्रकाशित छ। २०६१ साल पुसमा कविहरू कृसु क्षेत्री, चेतनाथ धमला र मनोज न्यौपानेले ‘विलयनवाद’ आन्दोलनको घोषणा गर्दै ‘आगोको मुर्छना’ र ‘रगतको दरबार’ शीर्षकका दुईवटा लामा संरचनाका कविता छुट्टाछुट्टै पुस्तकमा ‘विलयन काव्य’को संज्ञा दिएर प्रकाशनमा ल्याएका थिए।

यसपछि २०६४ सालमा संयुक्त अरब इमिरेट्स (यूएई)बाट भानु दुलालसमेतका पाँच जनाले ‘आरोहण’ शीर्षकको संयुक्त गजल संग्रह र २०६६ सालमा पवन भिमानेलीसमेतका तीन जनाले ‘मुटुको चिनो’ शीर्षकको संयुक्त मुक्तक संग्रह प्रकाशनमा ल्याएको बुझिन्छ। यहाँ संयुक्त रूपमा लेखिएका नेपाली गीतका बारेमा जानकारी हासिल गर्नुलाई उद्देश्य बनाइएको हो। संयुक्त रूपमा संगीत सिर्जना हुने गरेको जानकारी हामीमध्ये धेरैलाई भएकै विषय हो। प्रेम–माणिक, नातिकाजी–शिवशंकर, शरण–रनजित, नातिकाजी–गोपाल योञ्जन, कर्म–गोपाल योञ्जन, शुभ–शम्भुजित यसै परम्परामा सम्झनामा आउने केही नाम हुन्।

संयुक्त रूपमा लेखिएका नेपाली गीत (रचना) को सन्दर्भमा प्रकाश सायमीसँग कुरा हुँदा स्वतन्त्र रूपमा लेखिएका केही र चलचित्रका केही गीतमा सुरुमा संयुक्त  रूपमा नाम आए पनि पछि गएर त्यसमा विवाद उत्पन्न भएका केही सन्दर्भ पहिल्यायौं। तीमध्ये केहीमा समझदारी कायम भएको पाइयो भने केहीचाहिँ अहिले पनि विवादकै घेराभित्र रहेको अवस्था देखियो।
खासगरी चलचित्रमा गीतकारको नाम एकमुष्ट लेखिने कारणबाट यस्तो अवस्था उत्पन्न भएको हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दा प्रत्येक गीतका लागि छुट्टाछुट्टै नाम लेख्ने परिपाटी बसाउने हो भने भविष्यमा यस्तो अप्ठ्यारो आउने थिएन। यो अलग्गै छलफलको विषय हो।

संयुक्त रूपमा गीत लेखनको सम्झना गर्दै गर्दा साहित्यिक पत्रकार संघको आयोजनामा २०५७ वैशाख १० गते शिवपुरी डाँडा, काठमाडौंमा सम्पन्न  साहित्यिक वनभोज कार्यक्रममा तारानाथ शर्मा, दिनेश अधिकारी, जीवराज घिमिरे, रमेश पौडेल, गोकुल अधिकारी, माया न्यौपाने, प्रतीक्षा, कृसु क्षेत्री, पद्मावती सिंह, गोविन्द नेपाल र विजय बजिमयले माथिबाट क्रमशः एक र एक हरफ लेखी पूरा गरेको ‘मुटुमा मुटु मिलेपछि माया मौलाउँदो रहेछ, धेरै चोटिको अनुभव छ  मन बौलाउँदो रहेछ…’, बोलको गीत अहिले पनि अभिलेखका रूपमा मसँग सुरक्षित छ। वनभोजको रमाइलोमा लेखिएको यो गीतलाई ‘रमाइलो’ ठानेर सम्झँदा पनि रमाइलै हुन्छ।

प्रकाशनमा नआएका यस्ता लेखन खोजी पसे अन्यत्र पनि भेटिन सक्ला। यहीँनेर  मञ्जुल र गीता त्रिपाठीले एउटा गीतमा एक जनाले लेखेपछि त्यसको सन्दर्भलाई समात्दै वा भनूँ कुनै न कुनै रूपमा जोड्दै अर्कोले अर्को गीत लेख्ने तरिका पनि अवलम्बन गरे। यसरी लेखिएका गीतहरूको संग्रह ‘दुई हरफ ओठहरू’ २०६४ सालमा प्रकाशनमा आएको विषयलाई पनि संयुक्त लेखनको सन्दर्भमा सम्झनुपर्ने हुन्छ।

जानकारी प्राप्त भएसम्म संयुक्त रूपमा लेखिएको रेकर्ड भई त्यही रूपमा सार्वजनिक प्रचारप्रसारमा आएको र विवादमुक्त रहेको पहिलो नेपाली गीत भने नगेन्द्र थापा र गोपाल योञ्जनको शब्द रचना, गोपाल योञ्जनको संगीत र नारायण गोपाल तथा दिलमाया खातीको स्वरमा छ। ‘तिमी देख्दा रहर होला लागेर आउँछ, त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ…’ नै हो। यस गीतका गीतकारमध्येका एक नगेन्द्र थापाका अनुसार यो गीत सन् १९६५ (वि.सं. २०२२ र २०२३ साल)मा दार्जिलिङको कला मन्दिरमा बसेर लेखिएको हो।

यसबाहेक एउटा अर्को गीत पनि संयुक्त रूपमा लेखेको तर रेकर्डचाहिँ भए नभएको अहिले यकिनसाथ भन्न नसकिने अवस्था छ। संयुक्त रूपमा लेखिएका ती दुवै गीत युगल थिए र एउटा गीतको पुरुष भावना (मेल भर्सन) नगेन्द्र थापा र नारी भावना (फिमेल भर्सन) गोपाल योञ्जनले तथा अर्को गीतमा त्यसको ठीक  विपरीत गोपाल योञ्जनले पुरुष र नगेन्द्र थापाले नारी भावना लेख्नुभएको सम्झना गर्नुहुन्छ। संयुक्त लेखनका पनि विविध रूप छन्। माथि उल्लेख गरेबाहेक सिर्जना जसले गरेको भए पनि संयुक्त रूपमा नाम दिने प्रचलन रहेभएको कुरा पनि यदाकदा  नसुनिएको होइन। लेखन शैली र भावनाको प्रवाहका अतिरिक्त धेरै कुराको सामञ्जस्य मिल्नुपर्नेसमेतका कारणले संयुक्त लेखन आफैंमा सुन्दर, जटिल र चुनौतीपूर्ण काम हो। प्रतिलिपि अधिकारका सन्दर्भमा यदाकदा यसले ‘अप्ठ्यारो’ पारेको पनि देख्न, सुन्नमा आएको छ।

‘संयुक्त’ हुनुको कारण यसका सर्जकहरूले यसलाई ‘एकल’ भन्दा पछिकै स्थानमा राखेको देख्न, सुन्न पाइन्छ। यति मात्र होइन, कहिलेकाहीँ त बेवारिसे अवस्थामा छोडेको पनि सुनिन्छ। यस अर्थमा संयुक्त लेखन सधैं जोखिममा रहेको प्रतीत हुन्छ। यो लेखोटको मूल उद्देश्य नेपाली साहित्यमा संयुक्त लेखनबारे बृहत् रूपमा अध्ययन र अनुसन्धान हुनका लागि त्यसका अध्येताहरूलाई घचघच्याउनु नै हो।

यसकारण पनि सोही प्रयोजनका लागि साहित्य र संगीतको क्षेत्रमा भएगरेका कामको छोटो टिपोट मात्र यहाँ प्रस्तुत गरिएको छ। त्यसैले संयुक्त रूपमा लेखिएका पाठ्यपुस्तक, लेख आदिलाई यसमा समावेश नगरिएको व्यहोरा विज्ञ पाठकसमक्ष यसैसाथ अनुरोध गर्दछु।