साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

यो लेख हामीले शिलापत्रबाट लिएका हौँ । शिलापत्रका लागि यो लेख चेवन राईले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई शिलापत्रमै पढ्न पनि सक्नुहुने छ ।

====================================================

म स्वविवेक र जिज्ञासाले संस्कृत अध्ययन गर्दै गरेको मान्छे हुँ । मेरो निजी अध्ययन र बुझाइमा धेरै मानिसहरूले भनेको जस्तो संस्कृत बाहुनको भाषा होइन बरु अतिवादी पण्डित बाहुनले लुकाएको भाषा हो । यो भाषा लोप हुनुमा अन्य भाषी समुदायको कुनै भूमिका छैन, जति बाहुनको छ ।

निश्चय नै, अतिउपयोगी गुढ रहस्यहरू यस भाषामा अङ्कित छन्, जो अन्यले थाहा नपाऊन् भनेर लुकाइएको हो । बाहुनले बाहुनसँगै पनि लुकाएको हो । पण्डितले पण्डितसँग पनि लुकाएको हो । वास्तवमा मानवीय स्वार्थमा अल्झिएर आफूले मात्र जानूँ र अरूले नजानोस् भनेर लुकाइएको हो ।

बाहुनले किन लुकाए संस्कृत ?

संस्कृतलाई दैवीय भाषा पनि भनिन्थ्यो । यस भाषाबाट देवआदिसँग सम्पर्क गर्न सजिलो थियो । त्यसबेला हरकोही विज्ञ र ज्ञाता थिए । को कति ज्ञाता थिए ? कसका कति शिष्य थिए ? कसका शिष्य कति प्रखर थिए ? सो हेरिन्थ्यो ।

कसैले यज्ञ कर्मलाई उत्तम भन्थे, कसैले भक्ति नै भगवान् पाउने सहज र सजिलो बाटो भन्थे । यसैगरी कसैले योगभन्दा उत्तम अरू नरहेको सिकाउँथे । यसरी उनीहरूबीच एकआपसमा मतभेद रहन्थ्यो ।

को कति जान्दथे भनेर थाहा पाउन उनीहरु झुण्डझुण्ड बनाएर बेलाबेला शास्त्रार्थ गर्थे । जसले विजय पाउँथे, उसलाई अन्यले पुज्नुपर्ने हुन्थ्यो । यसरी कोभन्दा को कम ? भन्ने मनसायले उनीहरूले आफूले परम्पराबाट जानी आएका ज्ञानहरूलाई आफ्नो मत सम्प्रदायभित्र मात्र लुकाएर राख्न थाले ।

यसरी विभिन्न मत सम्प्रदाय बढ्दै जाँदा, उनीहरूले लुकाउँदै जाँदा एकआपसमा ज्ञानको आदानप्रदान भएन र यो लुप्त हुँदै गयो ।

यस संस्कृत भाषालाई लुकाउन र क्लिष्ट बनाउन वा आफ्नो विज्ञता देखाउन शब्दहरूलाई निकै छोटो, साङ्केतिक बिम्बमा र वाक्यहरूलाई जोडेर निकै लामोलामो बनाइयो, जसले अन्य समुदायलाई दिग्भ्रमित बनायो ।

जुन साधारण मानिसले नबुझ्ने भए र नबुझेपछि उपेक्षा गर्ने नै भए । उपेक्षा यस भाषाको मृत्युको कारण पनि हो । यसरी जनमानसमा यो भाषामोह मर्‍यो । आफूले नजानेको वा जान्न कठिन र दुरुह भएपछि, सिकाउने गुरुको पनि अभाव भएपछि यस विषयप्रति नै उपेक्षा हुँदै गयो र समूहगत रूपमै शब्दका अर्थहरूले अरूअरू रूप धारण गर्न थाल्यो र यसको मूल मर्म मर्न थाल्यो ।

विस्तारै नयाँ पुस्ताका पण्डितहरूले पनि यसलाई पूरा नबुझ्ने र गलत बुझ्ने भयो । गलत अर्थ्याउने भयो । गलत अर्थले अभिप्रेरित भएर आचरणहरू पनि गलत भए । त्यसपछि यज्ञकर्मको फल पाउन छाडेर बरु हानि हुन थाल्यो ।

भक्ति पनि स्वार्थमा मात्र हुन थाल्यो । योगको पनि भाँति पुगेन । मन्त्र पनि दुरूपयोग भएर श्रापित हुन पुग्यो । नित्य गर्नुपर्ने क्रियाकलापहरू औँशी पूर्णेमा हुन थाले । दान, दया, धर्म, शान्ति, सत्य र अहिंसा जस्ता धर्मका खुट्टाहरू भाँचिए । मानिसहरू काम, क्रोध, लोभ, मोहबाट ग्रस्त हुन थाले ।

संस्कृत शब्दले समेटेको मिठास, भाव, अर्थ र मर्म नै मरेर गयो । त्यसैले यो लुप्त भयो । मानिसहरूले यसलाई सामान्य शब्दको रूपमा मात्र बुझ्न थाले । जस्तो कि संस्कृतमा ‘नर’ शब्दको अर्थ हामी वर्तमानमा के बुझ्छौँ ? ‘नर’को अर्थ अहिले कुनै पुलिङ्ग वा केटा वा पुरुष वा मान्छे, हामी यति नै बुझ्छौँ ।

तर ‘नर’ भनेको विष्णु र त्यही विष्णुको तपबाट ‘नार’ (पानी) उत्पन्न भई जीवहरूको सृष्टि व्यापक भएको, नारमै बस्ने भएकाले ‘नारायण’ भनिएको, पुरुषहरूमै उत्तम भएकाले पुरुषोत्तम भनिएको भावार्थ र मर्म नै मरेर गयो ।

तर, पण्डित्य परम्पराले थेगेका कारण यो कुरा ग्रन्थमा भने सुरक्षित नै रह्यो । संस्कृत किन पनि महत्त्वपूर्ण छ भने, प्राचीन ज्ञानका कुराहरू यसै भाषामा लेखिएका छन् । शरीर विज्ञानका दुर्लभ र महत्त्वपूर्ण कुराहरू यसै भाषामा छन् ।

संस्कृत मूलतः मन्त्रहरूका लागि चर्चित छ । ‘अहं ब्रह्मास्मि’ वा म नै ब्रह्माण्ड हो भन्ने, यो शरीर नै ब्रह्माण्ड हो भन्ने र यो मन्त्रमय छ भन्ने संस्कृत श्लोकमै छ । मन्त्र योगमा पूरा शरीर नै कुनकुन मन्त्रको संयोगले बनेको छ, त्यो सिकाइन्छ ।

शरीरको कुनकुन भागमा कुनकुन देवी, देवताको वास छ, ती देवी, देवता कुनकुन मन्त्र स्वरूपमा छन् ? त्यो सिकाइन्छ, सिकाइन्छ मात्र होइन, उनीहरूको बीज मन्त्र ज्ञान नै दिएर अनुभूत गराइन्छ । तर, बाहिरी ब्रह्माण्डमा खोज पड्ताल गरिदैँन । शरीर नै ब्रह्माण्डको प्रतिरूप हो र पञ्चतत्त्वको सहअस्तित्वले यो अाविर्भूत छ भनेर गुरुदीक्षा नै दिइन्छ ।

यस्ता ज्ञानका कुरालाई आजकल अन्धविश्वास वा धर्म सम्प्रदायसँग जोडेर साँघुरो बनाइएको छ वा वितृष्णा जगाइएको छ । अध्यात्म भनेर अलिकति सहज त पारिएको छ तर जो यो सबै मान्दैन, त्यसलाई भौतिकवादी पनि भनिएको छ । भौतिकवादी हुनु भनेको सारा छुट र स्वतन्त्र हुनु हो भन्ने बुझिएको छ ।

उता, अध्यात्मवादी भन्नेचाहिँ धर्म, सम्प्रदाय र गुटबन्दीमा खुम्चिएर रम्नुपरेको छ । धर्मको नाममा यो पनि गर्नुहुँदैन, त्यो पनि गर्नुहुँदैन भनेर बस्नुपरेको छ । मानौँ, धार्मिक हुनु भनेको किरिया-पुत्र बसेको जस्तो हो ।

खैर, मैले अध्यात्म नमान्नेलाई चाहिँ ‘भूआत्म’ भनेको छु । भौतिक अलिक गलत शव्द चयन हो । अध्यात्मको उल्टो भौतिकता अलिक नमिलेजस्तो पनि भयो र अध्यात्मसँग मिल्ने शव्द ‘भूआत्म’ भनेँ ।

‘भू’ भनेको जमिन र जमिन भनेकै पृथ्वी भएकाले अनि हाम्रो शरीर पनि पृथ्वी तत्त्वले नै बनेकाले र जिउँदो शरीर शव नभएर त्यसमा आत्मा हुने भएकाले ‘भूआत्मा’ भनिएको हो । अलिकति आत्मकेन्द्रित पनि होस् भन्ने मनसायले भनेको हो किनकि शब्दले पूरा जीवन अर्थलाई नै परिवर्तन गर्न सक्छ ।

साधरणतया भौतिकको अर्थ हुन्छ निर्जीव, जो जीव होइन, जसमा आत्मा छैन । तर, एउटा संवेदना बोकेको मानिस कसरी निर्जीव हुन सक्छ ? कसरी भौतिकवादी हुन सक्छ ? हुनै सक्दैन । यो गलत शब्द चयन हो भन्ने लागेर नै मैले भूआत्म भनेँ । हुनत यो पनि मलाई त्यस्तो नयाँ शब्द जस्तो लाग्दैन किनकि यो प्रकृतिमा नयाँ केही छैन, सबै दोहोरिइरहन्छन् भनिन्छ ।

अध्यात्म, जो आत्म अध्ययनमा तत्पर छ । भूआत्म एउटा आत्म बोकेको शरीर मात्र हो, जो नाशवान् छ ।

कुरा शब्द र भाषाको हो । हरेक जिउँदो आत्माको भाषा हुन्छ । हरेक भाषामा मन्त्र हुन्छ । यो संस्कृतमै मात्र हुन्छ भन्ने छैन । नवनाथ परम्पराको अन्तिम नाथ गुरु गोरखनाथले साधारण बोलीचालीको भाषालाई नै मन्त्र बनाए । उनले बनाएको मन्त्रलाई ‘शाबर मन्त्र’ भनिन्छ ।

भाषा, शब्द र त्यसको मर्म बुझे शब्द नै ईश्वर हो पनि भनिन्छ । हामीले धेरै भाषा सिक्नु आफ्नै क्षमता बढाउनु हो । रुचि हुनेले सिक्नु नराम्रो होइन । मरिसकेपछि त आत्माले जुनसुकै भाषा पनि बुझ्छ । आत्माले हाम्रो सोच र विचार बुझ्न सक्ने, बदल्न सक्ने क्षमता राख्छन् । नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत वा जुनसुकै भाषा नि बुझ्छन् ।

अब यहाँ भूआत्मावादीले अन्धविश्वास ठान्लान् । त्यो उनीहरूको अज्ञानताको कुरो हो । खासमा भाषा एउटा मनसाय मात्र हो, जुन एकअर्काको मनको आसय बुझ्न शब्दमा व्यक्त गरिन्छ । कैयौँ भाषाहरू त एकअर्काले नबुझून् भनेर कोड भाषामा पनि प्रयोग गरिन्छ । साङ्केतिक भाषाको पनि प्रयोग गरिन्छ । यी सङ्केतहरू नै भाषा हुन् । अक्षरहरू सङ्केत हुन् । इशाराहरू सङ्केत हुन् ।

इश बाटै इशारा बनेको त हो । तर, यो केवल स्थुल शरीर हुँदा मात्र हो । शरीरै नरहेपछि सूक्ष्ममा त आसयहरू मात्र रहन्छन् । विगत र आगतका सयौँ आसयहरू रहिरहन्छन् । आत्माको सयौँ जन्म नै आसयमा रहने हो । मरिसकेपछि आसयको आपूर्ति र खुदको कर्मले नै छट्पटी बढाइरहन्छन् । भनौँ, आत्मा नै आसय हो । ती आत्माहरू आसय स्वरूपमै रहन्छन् ।

यिनीहरूले जुनसुकै भाषामा प्रकट गरिएको आसय पनि बुझ्छन् । मनसाय पनि बुझ्छन् । वास्तवमा अध्यात्म र भूआत्म, आस्तिक र नास्तिक भन्ने नै हुँदैन । सारा जगत चैतन्य स्वरूपमा छ तर खण्डखण्डको अज्ञानतामा, व्यष्टि र समष्टिको स्वरूपमा, जीवन र जगतको यो मायामा, यसको परिभाषामा ।

यो आवश्यक भएर नै लेख्दै छु । तर, मैले बुझेको छु- यदि अत्यन्त नास्तिक जो छ वा हुन सक्छ, त्यो यही भूआत्म शरीर रहस्य बुझ्ने, सारा ईश्वरलाई आफैँमा समेट्ने नै महाईश्वर हो । हरेक जागेको शरीर, चैतन्यसँग एकाकार भएको शरीर नै ईश्वर हो । महाईश्वरको इशारा नै ईश्वर हो ।

ईश्वर, जुन स्वर रूपमा छ, जुन ध्वनि रूपमा छ, जुन ॐको स्वरूपमा छ । यस्ता लुकाइएका ॐ का कुरा संस्कृत साहित्यमा मात्र पाइन्छ, जुन अलिक विस्तृत रूपमा छ । हुनत अन्य भाषामा पनि छ । अहिले आफ्नो अज्ञानताले विरोध गर्ने जनजातिको भाषामा पनि छ । हाम्रै किरातीहरूको मुन्धुममा पनि छ तर विस्तृत छैन । लुप्त भइसकेको छ ।

यद्यपि, उत्पत्तिका कथाहरूमा भने एकरूपता आउँछ । तर, भाषाहरूको पनि स्वरूप र आयु हुने हुनाले यो पनि प्रकृतिकै खेल हो । हामीले जुनसुकै उपलब्ध भाषाबाट भए पनि सिक्नुपर्छ । सिक्नुपर्छ कि जन्म कसरी भयो ? किन भयो ? केका लागि भयो ? मृत्युु केका लागि हुन्छ ? मृत्युपछि के हुन्छ ? त्यो संस्कृतबाट मात्र नभएर हरेक भाषाबाट सिक्नुपर्छ ।

त्यसैले हरेक भाषा, हरेक सचेत नागरिकले जोगाउनै पर्छ । भाषाहरू अव्यक्तलाई व्यक्तमा प्रकट गरिने माध्यम हुन् । हाम्रो आत्मसत्यलाई प्रकट गर्ने ज्ञानको माध्यम नै भाषा हो । भाषामा नअटाएको, भाषाले देख्न नसकेको उत्पत्ति र अन्त्यको बृहत् स्वरूपको कथा नै अव्यक्त हो । भाषामा व्यक्त ती कथाहरू आनन्द स्वरूप हुन् । भनिन्छ- बुद्धले बुद्धत्व पाएपछि पनि एक हप्ता मौन बस्नुपरेको थियो । किनकि जुन ज्ञान, जुन बोध, जुन आनन्द बुद्धले पाउनुभएको थियो, त्यो अव्यक्त थियो । भाषामा प्रकट गर्न सम्भव थिएन ।

हामीभित्र पनि बुद्धको जस्तो ज्ञानबोध हुन्छ । यति हो, हाम्रो यो भूआत्म शरीरका भाषाहरू, अक्षरहरू केही समय मात्र नित्य छन् । वास्तवमा सबै अनित्य छन् । खैर, यो संस्कृत भाषालाई एेच्छिक नै भए पनि कक्षा १ देखि पढाउने भन्ने सोचचाहिँ अतिवादी सोच हो । कसले कक्षा १ देखि पढाउने भन्ने सोच ल्याएको हो ? किन भने होलान् ? के स्वार्थले भने होलान् ? त्यो म जान्दिनँ ।

संस्कृत शास्त्रमा हरेक बालबालिकालाई ७ वर्षदेखि मात्र पढाइ र अध्ययनमा लगाउन उपयुक्त उमेर भनिएको छ, जुन मानवीय पनि छ । बालबच्चाहरूले ठूलो हुने क्रममा घरमै धेरै सिक्छन् आफ्ना आमाबाबाबारे, बाजेबोजुबारे, घर परिवारबारे । उनीहरूको स्नेह, उनीहरूको प्रेम र सामीप्यबारे, आदर, सत्कारबारे, नैतिक-अनैतिकबारे, भुतप्रेत , देवी, देउता र ऋषिमुनिहरूबारे , जन्म-मृत्युबारे प्रारम्भिक ज्ञान त घरमै सिक्छन् । यही नै हाम्रो सनातन शिक्षा पद्धति हो ।

यसलाई भुलेर आफ्ना छोराछोरीलाई दुई, अढाई वर्षदेखि नै स्कुल घुसार्नेहरूले अलिकति सोच्नुहोस् । आफ्नो सन्तानमा मानवीय चेतना प्रवृत्त हुन दिनुहोस् । यो म वर्तमानको शिक्षक, अभिभावक, नियामक र सचेतकहरूलाई भन्दै छु। १ कक्षामै संस्कृतको भारी नलदाउनुहोस् । हरेक भूआत्मलाई न्याय दिनुहोस् ।

उसै पनि हामी नेपालीहरूले आफ्नो मातृभाषा, नेपाली भाषा, छिमेकीको भाषा र विदेशीको भाषा त सिकी नै रहेका हुन्छौँ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७, १९:१४:००