साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  नयाँ पत्रिकाबाट लिएका हौँ । यो लेख निर्मल अर्यालले लेखेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिकामै पनि पढ्न सक्नुहुनेछ ।

…………….

भैरव अर्याल नेपाली साहित्यमा शाश्वत व्यंग्यशिल्पीको रूपमा चिरपरिचित छन् । अर्यालले पेट मिचिमिची हँसाउने गरी सामाजिक बेथिति, विसंगतिविरुद्ध आफ्नो तिखो व्यंग्यवाण मात्र चलाएनन्, धुरुधुरु रुवाउने सिर्जना (विशेषगरी कविता)समेत रचे । कालान्तरमा उनको मृत्यु पनि कारुणिक नै बन्न पुग्यो । अर्यालकै शब्दमा उनी कार्यालय, सहकर्मी, सहयात्रीहरूको चौतर्फी शोषणसहित भोक र रोगको सिकार भएका थिए ।

अन्ततः अर्यालले ०३३ असोज १९ गते गोकर्णको पुलबाट हामफालेर आफ्नो देह त्याग गरे । अर्यालको निधन (आत्महत्या) पनि ‘आडम्बरी’ समाजका लागि एउटा अत्यन्त ‘अप्रिय व्यंग्य’को रूपमा युगयुगान्तरसम्म दर्ज भइरहने उनका निकटवर्तीहरू बताउँछन् । व्यंग्य साहित्यका उस्तादले आफ्नो जीवनलीलाको पूर्णविराम पनि व्यंग्यमार्फत नै गर्नु अन्तर्राष्ट्रिय साहित्यका लागि समेत एक बिर्सन नसकिने दृष्टान्त हुन सक्छ ।

अर्यालको जीवनका आरोह–अवरोहसहित साहित्यमा उनले गरेको योगदानका बारेमा धेरै चर्चा परिचर्चा भइसकेका छन् । तर, प्रजातन्त्रको अभ्युदय (००७ सालपछि)सँगै ठोस आकार ग्रहण गर्दै गरेको नेपाली पत्रकारितामा उनको उच्च कोटीको श्रम, सीपका विषयमा भने खासै व्याख्या नभएको स्थितिमा पत्रकारितामा उनको योगदान खोतल्नु यस आलेखको मुख्य ध्येय हो ।

सर्वप्रथम ००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखन यात्रा सुरु गरेका भैरव रोजीरोटीका लागि सुरुवाती दिनहरूमा शिक्षक रहे पनि ०१५ सालदेखि औपचारिक रूपमा पत्रकारितामा आबद्ध भए । ०१५ सालमा त्यतिवेलाको चर्चित दैनिक ‘हालखबर’मा संलग्न भएलगत्तै भाषामा बलियो पकड भएका भैरवको व्यंग्य साहित्यसँगै पत्रकारिता पनि व्यावसायिक हुन थालेको त्यतिवेलाका उनका घनिष्ठ मित्र रहेका पत्रकार भैरव रिसाल बताउँछन् ।

०१५–१६ सम्म डिल्लीबजारस्थित डेरामा सँगै बसेका रिसालसँग भैरवको सम्बन्ध यति प्रगाढ थियो कि रिसाल वैवाहिक सम्बन्धमा बाँधिएपछि भैरवले आफ्नो रसिक शैलीमा, ‘ममाथि किन सौता हालेको’ भन्दै रिसाललाई प्रश्न गरेका थिए । ‘भैरव रिसाल’ भए पनि धेरैले अझैसम्म पनि आफूलाई नै ‘भैरव अर्याल’ ठान्ने गरेको बताउने रिसाल यसमा आफूले गर्व गर्ने गरेको बताउँछन् ।

फाट्टफुट्ट त्यतिवेलाका विभिन्न पत्रपत्रिकामा छापिने भैरवको आलेख, सम्पादकलाई चिठीलगायतबाट प्रभावित भएर उनका हितैसी दाताराम शर्माले उनलाई ‘हालखबर’का संस्थापक रंगनाथ शर्माको सम्पर्कमा पुर्‍याएका थिए । त्यतिवेला ‘हालखबर’मा मदनमणि दीक्षित (माड्साप) प्रधान सम्पादक थिए ।

दीक्षित र शर्मालाई भैरवले पत्रकारिताको आफ्नो गुरु मान्ने गरेको भैरवका काका बलराम अर्यालको संस्मरणमा उल्लेख छ । संवाददाताको रूपमा ऐतिहासिक महत्व बोकेको पहिलो जननिर्वाचित संसद्मा कमिज–सुरुवाल लगाएर रिपोर्टिङ गर्न गएको भन्दै भैरवले दीक्षितको नराम्रो खप्की खाएका थिए । ‘हालखबर’मा भैरव मूलधारको भन्दा पनि साहित्यिक पत्रकारितामा बढी रमेको उनका काका बलराम अर्याल बताउँछन् ।

एसएलसी परीक्षा दिएर फुर्सदिलो रहेका रमेशनाथ पाण्डे पनि प्रशिक्षार्थी पत्रकारको रूपमा आफ्ना भानिजदाजु साहित्यकार भीमनिधि तिवारीमार्फत ‘हालखबर’मा पुगेका थिए । हप्ताको एक–दुई दिन मात्र ‘हालखबर’को कार्यालयमा आउने रसिक स्वभावका भैरवबाट नै आफूले पत्रकार हुनका लागि पढ्नुपर्छ भन्ने गुरुमन्त्र पाएको पाण्डे स्मरण गर्छन् ।

पाण्डे अर्यालले भनेको सम्झन्छन्, ‘पहिला प्रुफ हेर्न सिक, प्रुफ हेर्दा शिरदेखि पुछारसम्म पढ्नैपर्ने भएकाले पढ्ने बानी बढ्छ र क्रमशः लेखाइ पनि परिष्कृत हुँदै जान्छ ।’ ‘हालखबर’मा करिब एक वर्षसम्म संशोधक (प्रुफ रिडर)को भूमिकामा भैरव रहे । ०१७ देखि ०१८ सम्म भैरव सगरमाथा संवाद समितिमा रहे । त्यसपछि उनी ०१८ फागुन ५ देखि सहायक सम्पादकको रूपमा ‘गोरखापत्र’मा प्रवेश गरेँ । ‘गोरखापत्र’मा रहँदै नेपालीमा एम.ए. पास गरेपछि उनले पूर्वी जर्मनीको कलेज अफ सोलिडारिटीबाट पत्रकारितामा डिप्लोमा गरे र अंग्रेजी भाषा पनि बलियो बनाए ।

साहित्यकार स्वभावैले निकै संवेदनशील तथा भावुक हुन्छन् । भैरव पनि त्यसमा अपवाद थिएनन् । उनीसँग निकट रही काम गरेका ऋषभदेव शर्माका अनुसार ‘गोरखापत्र’मा छापिएको लेखको पैसा समयमै नपाउँदा गनगन गर्ने पनि कुनैकुनै लेखक हुन्थे । त्यस्ता लेखक, कविलाई भए आफ्नै खल्तीबाट नभए साथीभाइसँग सापट गरेर भए पनि भैरव पैसा दिन्थे ।

‘गोरखापत्र’मा भैरवलाई ‘बेजोड’सँग पेलिएको उनका शुभचिन्तकहरू सुनाउँछन् । हाकिमहरूका अगाडि ‘नाइँ’ भन्ने शब्द उच्चारण नै गर्न नसक्ने भैरव एक्लैले धेरैपटक राजनीतिक, आर्थिक, सामाजिकसहित अन्तर्राष्ट्रिय खेलकुदका समाचारसमेत लेखे । राजा–रानीको शुभजन्मोत्सव, कुनै खास राष्ट्रिय पर्वजस्ता वेलामा ‘गोरखापत्र’ वा ‘मधुपर्क’मा सम्पादकीय लेखनको निम्ति भैरवलाई नै सम्झनुपर्दथ्यो ।

प्रत्येकजसो राष्ट्रिय महत्वका दिन वा विषयहरूमा ‘गोरखापत्र’का अग्रलेखहरू अधिकांश भैरवबाट नै लेखिएका हुन्थे । भैरवमा भित्र र बाहिर बेग्लै विचार नभएको हुँदा उनले जे लेखे, त्यसमा शुद्धता देखिन्थ्यो, भैरवसँग लामो समय ‘गोरखापत्र’मा काम गरेका पत्रकार मुकुन्द पराजुली आफ्नो संस्मरणमा उल्लेख गर्छन् । (सम्झना २०३७)

पराजुली आफ्नो संस्मरणमा लेख्छन्, ‘आफूलाई पञ्चायतको भक्त भनेर मन्त्रीहरूबाट लाभ लिन दौडिने, कुनै महत्वपूर्ण घोषणा वा समाचार प्रकाशनका लागि आइपुगेको छ भने चाकडी वा आर्थिक लाभमा सोझै राजनीतिक नेताहरूकहाँ ती कुरा पुर्‍याउन दौडिनेजस्ता अति निकृष्ट द्वैध चरित्र भएका व्यक्तिको कुनै अभाव नभएको गोरखापत्रमा अर्याल साँच्चिकै अनौठा व्यक्ति थिए, उच्च नैतिकताको द्योतक थिए ।’

०२२ सालमा उपसम्पादकमा बढुवा भएका अर्यालले गोरखापत्र संस्थानमातहतको प्रकाशन ‘मधुपर्क’मा नेतृत्वदायी भूमिका निर्वाह गरे । अर्यालका नजिकका मित्र प्रसिद्ध आख्यानकार रमेश विकल आफ्नो संस्मरणमा लेख्छन्, ‘अथक साधना र स्वभावको लोस्याइँले विरोधासपूर्ण गल्लीबाट गुज्रेर गोरखापत्रको शनिवाशरीय परिशिष्टांक र मधुपर्कलाई अधिराज्यभर व्यापक र लोकप्रिय तुल्याउनमा भैरवको जुन विशेष योगदान, कार्यक्षमता र प्रतिभाको हात छ, त्यो कसैबाट लुकेको कुरा होइन ।’

‘गोरखापत्र’मा वरिष्ठ पत्रकार नारायणबहादुर सिंह (माड्साब)बाट भैरवले रामै्र साथ सहयोग पाए । सिंह पनि साहित्य सिर्जनासँगै भैरवको सम्पादन कलाबाट असाध्य प्रभावित थिए । साहित्यकार तथा समालोचक हरि अधिकारीका अनुसार कामविशेषले दुई–चार दिन बिदा बसेर कार्यालय हाजिर हुन गएका दिन भैरव सोझै आफ्नो कुर्सीमा नगई सिंहकहाँ जान्थे र मसिनो स्वरमा सोध्थे, ‘माड्साब, मेरो जागिर त खुस्क्या छैन नि ?’ जवाफमा सिंह भन्थे, ‘भैरवजी, ऊ त्यो पेपर बक्समा घाँस–परालको डंगुर छ । यसो छान्नुहोस् र आउँदो शनिबार पठाउन सकिने केही भेटिन्छ कि हेर्नुहोस् ।’

भैरवसहित केशवराज पिँडाली, दाताराम शर्मा, ऋषभदेव शर्मा, नारायणबहादुर सिंहजस्ता दिग्गजहरू एकै समय ‘गोरखापत्र’मा कार्यरत रहनु संस्था (गोरखापत्र)का लागि ठूलो प्रतिष्ठाको विषय भएको पत्रकार भारतदत्त कोइरालाको धारणा छ । यस्तो स्थितिमा उनीहरूबीचको ‘इगो’ कहिलेकाहीँ अखबारमा समेत देखिने गरेको कटु अनुभव लामो समयसम्म गोरखापत्रमै कार्यरत कोइराला सुनाउँछन् । सम्पादनमा अत्यन्त कडा परिश्रम गर्ने भैरवले युवा लेखकहरूलाई निकै प्रोत्साहित गरेको आफूले देखेको प्रतिष्ठित रोमन म्यागासासे पुरस्कार विजेतासमेत रहेका कोइरालाले पंक्तिकारलाई बताए ।

कवि दैवज्ञराज न्यौपानेका अनुसार भैरवकै शब्दमा उनले धेरै ‘टाउके’हरूको लेख अधिक मिहिनेत गरेर छाप्नयोग्य बनाउँथे । अर्याल न्यौपानेसँग भन्थे, ‘विचरा टाउकेहरूले लेख्ने रहर गरेछन्, उनीहरूको इच्छा पुगोस् भनेर यसो केही गरिदिएको हुँ ।’ अनि न्यौपाने प्रतिप्रश्न गर्थे, ‘हैन दाइ, अब यसको लेखक को भयो त ?’ भैरवको जवाफ हुन्थो, ‘लेखक त उनै हुन् ।’ तर, भैरवको यो जवाफ आफूलाई कहिल्यै स्वीकार्य नभएको न्यौपानेको संस्मरण छ ।

भाषा, व्याकरण एवं विचार तीनै दृष्टिले बेकम्मा लेखलाई पनि छाप्नलायक बनाउन खोज्ने अर्यालको प्रयासबाट आफूलाई एकपटक निकै झोँक चलेको उनका सहकर्मी मुकुन्द पराजुली बताउँछन् । तर, भैरवले शालीन मुद्रामा उत्तर दिए, ‘थाहा छ, यो लेख काम लाग्दैन, तर परिश्रमपूर्ण सम्पादन देखेपछि लेखकले लाज मानेर फेरि अर्को लेख दिने हिम्मत गर्दैन, सधैँको करकर खानुभन्दा एक दिनको परिश्रम गरिदिनु राम्रो होइन र ?’

भैरवलाई आफ्नो गुरु मान्ने पत्रकार पुरु रिसालको संस्मरण पनि यस्तै खालको छ । रिसाल सम्झन्छन्, ‘गोरखापत्रको टेबलमा ११ बजे उपस्थित भएपछि बेलुका ६ बजेसम्म र अझै कुनै दिन त्यसभन्दा पछि पनि अर्काको लेख पूरै पुनर्लेखन गरेर राम्रो बनाइदिनुहुन्थ्यो । राम्रो लेख लेखिस् भनेर जसको लेख छापिन्थ्यो, उसले स्याबासी पाउँथ्यो, तर भैरव दाइ सधैँ पृष्ठभूमिमा ।’

लेख रचना उत्कृष्ट छन् भने भैरव एकै स्रष्टाको तीनवटा लेख पनि एकै दिनको गोरखापत्रमा छापिदिन्थे । यस्तै भाग्यमानी स्रष्टामा पर्थे, पत्रकार किशोर नेपाल । आफू संकटमा रहँदा भैरव दाइले एकै दिनको गोरखापत्रमा तीनवटा लेख छापिदिएर ठूलो गुन लगाएको पत्रकार नेपालको स्मृतिमा अझै ताजै छ । नेपाल भन्छन्, ‘गोरखापत्रको लेख रचना सम्पादकको रूपमा भैरव दाइ धेरैका गुरु भए, तर धेरै चेलाहरूले पछि उनका विरुद्ध विष वमन पनि गरे ।’

गोरखापत्रमा कार्यरत भएको बखत भैरव स्थापित साहित्यकार भइसकेका थिए । तर, उनी आफ्नो रचनाबारे कसैले समीक्षा गर्‍यो र त्यो सम्पादनका लागि उनको टेबलमा आइपुग्यो भने त्यसलाई ठाडै इन्कार गर्थे । यसै सन्दर्भमा उनका अर्का प्रिय मित्र घटराज भट्टराईको संस्मरण घतलाग्दो छ । भट्टराई सम्झन्छन्, ‘नेपाली कवि र उनीहरूका कविताबारे एक लेख तयार पारेर गोरखापत्रमा छपाउन छाडेर आएँ, तर त्यस दिन भैरव कार्यालयमा थिएनन्, अर्कोपटक म पुग्नेबित्तिकै त्यो लेख अगाडि सारेर भैरवले भने, ‘यो लेख कृपापूर्वक फिर्ता लैजानुहोस्, किनभने यसमा मेरो कविताबारे चर्चा गरिएको छ, आफ्नै प्रशंसा छाप्यो भन्छन्, म त्यो चाहन्नँ, बरु अरू लेख भए दिनुहोस् ।’

मूलधारे पत्रकारिताको कुरा गर्दा पञ्चायतकालीन समयमा ‘गोरखापत्र’ जस्तो पूर्ण सरकारी मुखपत्रमा कार्यरत हुँदा कुनै पनि विषयको पक्ष–विपक्षमा सानदार ढंगले लेख्न सक्ने भैरवको अद्भूत प्रतिभा ओझेलमा परेको पत्रकार यादव खरेलको विश्लेषण छ । बीसको दशकको सुरुवातीदेखि नै भैरवसँग अत्यन्त घनिष्ठ रहेका खरेल स्वतन्त्र पत्रकारिता गर्न निकै कठिन रहेको त्यतिवेलाको समयमा भैरवले अन्य निजी अखबारहरूमा कलम चलाएको भए व्यावसायिक पत्रकारको रूपमा उनको छवि अझ उँचो हुन्थ्यो भन्छन् ।

युवा लेखकहरूलाई उत्प्रेरित गर्ने सवालमा अर्याल सधैँ सकारात्मक रहे पनि लेख–रचनाको गुणात्मक पक्षमा उनी कसैसँग सम्झौता गर्दैनथे । चर्चित लेखक नारायण ढकाल ०२७–२८ सालतिर आफ्नो लेख रचना लिएर गोरखापत्रमा भैरवलाई भेट्न जान्थे । मूलपानीनिवासी ढकालसँग छिमेकी गाउँ जोरपाटीका भैरवको सहानुभूति हुनु स्वाभाविक नै थियो ।

तर, धेरै लेख–रचना दिए पनि कुनै नछापिएपछि ढकाल अर्याललाई सोध्थे, ‘खोइ दाइ कति लेख दिइसकेँ, तर एउटा पनि छापिएको होइन ।’ भैरवको जवाफ हुन्थ्यो, ‘लेखेर मात्र हुन्छ ? राम्रो लेख्नुपर्‍यो नि ।’ तत्कालका लागि भैरवको त्यो कटु वाणीले आफूलाई बिझाए पनि कालान्तर त्यही शाश्वत सत्य भएको ढकाल आज पनि स्मरण गर्छन् । ‘त्यो बखत सबै लेख–रचना भैरव दाइले नै सम्पादन गरी सजिलै छापिदिएको भए सायद मैले थप मिहिनेत गर्दिनथेँ होला, त्यसैले मलाई लेखक बनाउन भैरव दाइको ठूलो देन छ,’ ढकाल सगर्व भन्छन् ।

०२३ सालताकाको कुरा हो, कार्यालयको कामको बढ्दो चापले गर्दा भैरवले साथीभाइहरूका लागि समय निकाल्न नसकेपछि कमलमणि दीक्षित भैरवसँग फोनमै कड्किए, ‘तपाईं कति धेरै काम गर्नुहुन्छ मित्र, तपाईंले आफ्नो तलब यसरी पचाउनुभएको छ कि सबैले यसै गरिदिए देशमा छिटै चौतर्फी विकास हुन्थ्यो होला ।’
भैरवलाई ‘गोरखापत्र’ परिसरबाहिर कार्यालयसँग सम्बन्धित कुरा गरेको त्यति मन पर्दैनथ्यो । यस सन्दर्भमा ‘गोरखापत्र’का पूर्वप्रधानसम्पादक तथा कार्यकारी अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार विजय चालिसेको स्मरण यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।

चालिसे ०३२ सालमा एक दिन आफ्ना अग्रज रत्नदास प्रकाश र हरिप्रसाद अर्जेलसँगै जोरपाटी घर आउन रत्नपार्कमा बस कुरिरहेका थिए । भैरव पनि गोरखापत्र कार्यालयबाट घर फर्कने क्रममा बस चढ्न त्यहीँ आइपुगेका थिए । अचानक त्यहाँ देखा परेका प्राध्यापक खड्गमान श्रेष्ठले भैरवलाई सोधे, ‘मेरो लेख के भयो भैरवजी ?’ ‘भैरव’ रूपमै अर्याल कड्किए, ‘के म अफिस बोकेर हिँडेको छु, बाटो–बाटोमा सोध्नलाई, कार्यालयसम्बन्धी कामको कुरा कार्यालयमै आएर गर्नुहोस् ।’ प्राध्यापक अवाक् भए । ‘सधैँ शान्त सौम्य मुद्रामा देखिने आफ्ना अभिभावकसरहका भैरव दाइ त्यसरी क्रोधित भएको जिन्दगीमै पहिलोपटक देखेको हुँ,’ चालिसे स्मरण गर्छन् ।

०३० सालमा त्यतिवेलाका चर्चित व्यंग्यकार केशवराज पिँडालीले ‘गोरखापत्र’को लेख–रचनाको विभागको जिम्मेवारी लिए । यस घटनालाई लिएर भैरव आफ्नै पाराले यसरी व्यक्त गर्थे, ‘हेर न अरूका तालुमा आलु फल्छ, मेरो तालुमा त पिँडालु पो फल्यो ।’ भैरव पिँडालीका मुख्य सहयोगी थिए । पिँडालीकै शब्दमा भैरवको लेखनी प्रवाह करिब १२ वर्षजति मात्र रह्यो । उनी आँधीसरह आए, बौद्धिक क्षेत्रलाई चमत्कृत तुल्याए र आँधीसरह नै हराए पनि । पिँडालीका अनुसार गोरखापत्रमा कार्यरत रहँदा ०३२ सालतिर आएर भैरवको स्वाभाविक सिर्जनशीलतामा निकै कमी आएको र हप्ताको एउटा स्तम्भ लेख्न पनि उनी क्रमशः असमर्थ हुँदै गएका थिए ।

आफूलाई परेको चरम शारीरिक तथा मानसिक समस्याका बारेमा उनी आफ्ना परिवारका सदस्यहरूभन्दा घनिष्ट मित्रहरू रोचक घिमिरे, रमेश विकल, डा. नवराज चालिसे, हरिप्रसाद अर्जेल, बलराम अर्याललगायतसँग बढी खुलेर कुरा गर्थे । अर्यालको आर्थिक विवशता र सोझोपनको फाइदा धेरैले पटक–पटक उठाएकाले उनी विक्षिप्त हुन पुगेको घिमिरे बताउँछन् ।

प्रकाशन संस्थाले पनि उनलाई नराम्ररी ठगे । हजारौँ कमाउन सक्ने किताब केही सय रुपैयाँ दिएर भैरवबाट लिइन्थ्यो र ‘सर्वाधिकार प्रकाशकमा’ भन्ने कागजमा झुक्याएर सही गराइन्थ्यो । यसरी कलम घोटेर जीविकोपार्जन गर्ने एउटा कलमवीर पाइलैपिच्छे शोषित हुँदा उसको कविहृदय अधिकतम विचलित हुनु अन्यथा थिएन । त्यसमाथि शारीरिक रोगले असह्य पीडा दिइरहेकै थियो ।

मूलधारको पत्रकारितामा भैरवको सामीप्य पाएर धेरै स्थापित भएका छन् । पत्रकारिताको क्षेत्रमा उनले पाएको देशी–विदेशी ज्ञानबाट दीक्षित भएकाहरूको सूची धेरै लामो हुन सक्छ । साहित्यिक पत्रकारिताका त झन् उनी ‘भीष्मपितामह’ नै हुन् । अर्यालसहित रोचक घिमिरे, रमेश विकललगायतको पहलमा पुस ०१८ बाट प्रकाशन थालेर अहिलेसम्म निरन्तर प्रकाशन भइरहेको विशिष्ट कोटीको साहित्यिक पत्रिका ‘रचना’को न्वारन अर्यालले नै गरेका थिए । रचना प्रकाशनका लागि भैरवसँगै रोचक र विकलले पेल्नुपरेको पापडको आयतनबारे उनीहरूभन्दा अरू बढी जानकार हुन सक्दैनन् ।

हास्यव्यंग्य साहित्यका ‘महारथि’ तथा लोकप्रिय कविको रूपमा आफूलाई स्थापित गरेकै समयमा मूलधारे पत्रकारितामा समेत जमिरहन भैरवलाई किमार्थ सजिलो थिएन । तर, उनी यसमा खरो रूपमा उत्रिए र पत्रिका भनेकै ‘गोरखापत्र’ भन्ने युगमा १५ वर्ष सोही संस्थामा बिताएर आफूलाई सिद्धहस्त पत्रकार प्रमाणित गर्दै व्यावसायिकतातर्फ उन्मुख नेपाली पत्रकारितालाई एक ठोस आकारसमेत दिए । भैरवले पत्रकारिता र साहित्यलाई आफूमा मात्र सीमित गरेनन् । अरू धेरै पत्रकार र साहित्यकार जन्माए । यस अर्थमा मूर्धन्य स्रष्टा भैरव नेपाली साहित्यसँगसँगै पत्रकारिताका पनि अमूल्य निधि हुन् ।

(पत्रकारिताको अध्यापन तथा अनुसन्धानमा संलग्न लेखक अर्याल भैरव अर्यालका भतिजा हुन्)