Chovar Blues Mobile Size

 

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख annapurnapost बाट लिएका हौँ । यो लेख अन्नपूर्ण पोस्टका लागि सुजित मैनालीले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई अन्नपूर्ण पोस्टमै पनि पढ्न सक्नुहुनेछ ।

========

सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’मा डेनियल राइटले लेखे, ‘अन्ततः कीर्तिपुरमा कपट र असभ्य विजेता (पृथ्वीनारायण शाह/गोरखा)को प्रवेश भयो (पृ. १८) ।’ त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल-भाग १’मा हेनरी एम्बोर्स ओल्डफिल्डले लेखे, ‘डरछेरुवा, चतुर र अमानवीय राजा थिए, पृथ्वीनारायण । नेपाल (काठमाडौं)को राजगद्दी जितेपछि उनले बर्बरताको हद प्रस्तुत गरे (पृ. २७५) ।’

काठमाडौंस्थित बेलायती कूटनीतिक नियोग (रेसिडेन्सी)का यी दुई कर्मचारीले पृथ्वीनारायण शाहबारे यस्तो टिप्पणी गरेयता बागमतीमा थुप्रै पानी बगिसकेको छ । तर, पृथ्वीनारायणप्रतिको पश्चिमको मूल्यांकन ज्यूँ का त्यूँ छ । रिचार्ड बर्घर्टदेखि जोन ह्वेल्पटनसम्मका पश्चिमाले आफ्ना पुर्खाकै शैलीमा पृथ्वीनारायणमाथि अन्धाधुन्ध हमला गर्ने क्रम अझै जारी छ ।

०००

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकाका राज्यहरूमाथि विजय हासिल गर्नुअघि उपत्यकाका मल्ल राजाहरू पश्चिमप्रति उदार थिए । राजा लक्ष्मीनरसिंह मल्लले पादरी जुवान क्याब्राललाई ‘दर्शनभेट’ र ताम्रपत्र ‘बक्सेर’ आफ्नो राज्यभित्र क्रिस्चियन मतको प्रचारप्रसार गर्ने छुट दिएका थिए ।

काठमाडौंका अर्का राजा प्रताप मल्लले सन् १७६६ मा तिब्बत हुँदै नेपाल आएका बेल्जियन र अस्ट्रियाका दुई इसाई मिसनरी एल्बर्ट डी अर्भिल र जोहन ग्रुबरलाई काठमाडौंमा स्वागत गरेर आफ्नो राज्यमा स्थायी बसोबास गरी इसाई मतको प्रचारप्रसार गर्ने अनुमति दिएका थिए ।

इसाई धर्मप्रति मल्ल राजाहरूको यस्तो उदारताकै कारण पादरी ट्र्यंक्युलियसले सन् १९६० मा काठमाडौंको वटु टोलमा चर्च स्थापना गरेरै मिसनरी गतिविधि सञ्चालन गरेका थिए (इभान साडा, हिस्ट्री अफ द चर्च इन नेपाल, अगस्ट २७, २०१०, ईसीएस नेपाल) ।

राजा जयप्रकाश मल्लको पालामा काठमाडौंमा दुईजना इसाई पादरी थिए- पादरी जिसेप्पी र पादरी माइकल एन्जेलो । त्यति बेलासम्म उपत्यकाका सबै मल्ल राज्यले भारतमा आधिपत्य जमाउँदै गएको बेलायती उपनिवेशको आर्थिक तथा संस्कृतिक आकांक्षालाई आआफ्ना सरहदभित्रबाट टेवा पुर्‍याउने नीति लिएका थिए ।

फलतः इसाई पादरीहरूले निर्विघ्न रूपमा काठमाडौंमै धर्मान्तरण गराउने छुट पाएका थिए । उनीहरूले नेवार समुदायमा इसाई मतावलम्बीको एउटा सानो समूह नै तयार पारिसकेका थिए ।

त्यत्तिकैमा गोरखाले काठमाडौंमा हमला गर्‍यो । काठमाडौंको सेना गोरखाविरुद्ध टिक्न नसक्ने अवस्था आयो । त्यही बेला ‘इस्ट इन्डिया कम्पनी’ले कलकत्ताबाट बेलायतको ‘कोर्ट अफ डाइरेक्टर’लाई एउटा चिठी लेख्यो, जसको आशय यस्तो थियो, ‘धेरै वर्षदेखि बिहार राज्य र नेपालबीच नाफाको व्यापार चलिआएको थियो ।

नेपालबाट हामीले ठूलो मात्रामा सुन र अन्य बहुमूल्य सामग्री आयात गरिरहेका थियौं । अहिले काठमाडौंका नेवार राजा गद्दीच्यूत छन् र काठमाडौंभित्रै बन्दीजस्तै बनाइएका छन् । व्यापार निरन्तर ओरालो लागिरहेको बेला गोरखा काठमाडौंसम्म आइपुगेपछि हाम्रो व्यापार अवरुद्ध हुन पुगेको छ ।’ (नगेन्द्र कु. सिंह, नेपाल एन्ड द ब्रिटिस इन्डिया, पृ. ८९)

पृथ्वीनारायणले स्थायी रूपमै काठमाडौं उपत्यकामा शासन सञ्चालन गरे नेपालमार्फत बेलायतले गर्ने अन्तरहिमाल व्यापारमा धक्का लाग्ने निष्कर्ष निकाल्दै यस्तो अवस्था आउन नदिन बेलायतले दुईवटा योजना बुनेको थियो ।

पहिलो, गोरखा र काठमाडौंबीच युद्ध चलिरहेका बेला जयप्रकाश मल्लको पक्षमा लड्न बेलायती फौज पठाएर गोरखालाई काठमाडौंबाट धपाउने । बेलायती फौजलाई यस मिसनमा सघाउन नेपालमा रहेका पादरीहरूलाई प्रयोग गर्ने ।

अन्ततः पादरीद्वय जिसेप्पी र माइकल एन्जेलोको गुप्त सहयोगमा जयप्रकाश मल्लको सहयोगार्थ इस्ट इन्डिया कम्पनीले क्याप्टेन किनलकको नेतृत्वमा एउटा सैन्य टोली नेपाल पठायो । यसको भेउ पाएपछि पृथ्वीनारायणले काठमाडौंमा केन्द्रित आफ्ना फौजलाई बेलायती फौजविरुद्ध लड्न सीमाक्षेत्रमा खटाए । सिन्धुलीगढीमा दुई फौजविरुद्ध भीषण लडाइँ भयो । युद्धमा किनलक पराजित भएपछि कम्पनी सरकारको पहिलो योजना तुहिन पुग्यो ।

अन्ततः पृथ्वीनारायणले काठमाडौं उपत्यकामाथि विजय हासिल गरे । यसबाट तिलमिलाएको कम्पनी सरकार पृथ्वीनारायणलाई काठमाडौंबाट धपाउने दोस्रो योजनामा अग्रसर भयो ।

दोस्रो योजना थियो- काठमाडौंका नेवार समुदायलाई गोरखाली शासकविरुद्ध विद्रोह गराउने । र, विद्रोहको आधार तयार गर्न पादरीद्वय र क्रिस्चियन धर्म अँगालेका नेवारलाई प्रयोग गर्ने (सिंह, ८९) । यसको भेउ पाएपछि पृथ्वीनारायणले काठमाडौंमा रहेका इसाई पादरी र उनीहरूका चेलाचपेटाबाट आफ्नो राजनीतिक आकांक्षामा ठेस लाग्नसक्ने देखे । फलतः दुई पादरीसहित ६२ क्रिस्चियन नेवार (५७ लेख्ने पनि छन्)लाई उनले देशबाट निकालिदिए ।

०००

देश निकालामा पर्नेमध्येका पादरी जिसेप्पीले पृथ्वीनारायणविरुद्ध विषवमन गर्दै बेलायतबाट प्रकाशित हुने ‘एसियाटिक जर्नल’मा ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ शीर्षकको लामो लेख लेखे । पृथ्वीनारायणलाई खुनीको रूपमा चित्रण गर्दै कुनै पश्चिमाले लेखेको त्यो पहिलो आलेख थियो । नेपालभित्र धर्मप्रचार गर्न नदिई आफूहरूलाई देशनिकाला गरेको रोषमा उनले पृथ्वीनारायणविरुद्ध वमन गरेको विषलाई पछि नेपालमा बेलायतको सैन्य प्रभुत्व सुनिश्चित गर्न नसकेको पीडाले छटपटाएका बेलायती सैनिक तथा प्रशासकहरूले उद्धृत गर्दै थप किताब लेखे ।

०००

त्यस्ता कुण्ठाग्रस्त लेखकमध्ये एक थिए, कर्णेल कर्कपेट्रिक । बहादुर शाहको पालामा नेपाल र चीनबीच युद्ध हुँदा बहादुर शाहले कम्पनी सरकारसँग सैन्य सहयोग मागे पनि सहयोग गर्न कम्पनी सरकारले अस्वीकार गर्‍यो । तर, चीन र नेपालबीच शान्ति स्थापनाका लागि मध्यस्थता गरिदिन भन्दै उसले कर्णेल कर्कपेट्रिकलाई काठमाडौं पठायो ।

कर्कपेट्रिकलाई काठमाडौं पठाउनुको वास्तविक ध्येय भने अर्कै थियो- काठमाडौंमा कम्पनी सरकारको रेसिडेन्सी स्थापना गर्ने, दरबारभित्रको अन्तरविरोध बुझेर कम्पनी सरकारलाई षड्यन्त्र बुन्न सहयोग गर्ने, नेपालको भौगोलिक तथा फौजी सामथ्र्य बुझ्ने, नेपालमा रहेका बहुमूल्य प्राकृतिक संसाधनको उपलब्धताबारे जानकारी हासिल गर्ने आदि ।

कर्कपेट्रिक काठमाडौं आइनपुग्दै नेपाल र चीनबीच युद्ध समाप्त भयो । काठमाडौं बसाइ लम्ब्याउन चाहेका कर्कपेट्रिकलाई काठमाडौं दरबारले प्रोत्साहन नगरेपछि उनले कलकत्तास्थित कम्पनी सरकारलाई पत्राचार गरे, ‘काठमाडौं दरबारमा मेरो रेसिडेन्सी रहन नसक्ने निश्चित छ । अब कुन अवस्थामा मैले मेरो मिसन समाप्त गरूँ, कृपया सुझाव पाऊँ ।’

काठमाडौंबाट खाली हात फर्किन बाध्य बनाइएका कर्कपेट्रिकले पछि गएर ‘एन एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ शीर्षकको किताब लेखे, जसमा उनले काठमाडौंका शासक र उनीहरूका पुर्खा पृथ्वीनारायणविरुद्ध विषमन गरे । यसका लागि उनले पादरी जिसेप्पीको नेपालसम्बन्धी आलेखबाट पनि सहयोग लिए ।

कर्कपेट्रिकको शैलीलाई पछ्याउँदै नेपालको संस्थापन र पृथ्वीनारायणविरुद्ध विषवमन गर्ने अर्का पात्र हुन्, काठमाडौंस्थित बेलायती रेसिडेन्ट ब्रायन हड्सन । सन् १८८३ ताका अफगान युद्धमा बेलायत नराम्रोसँग फँसेको मौका छोपी पाँडे खलकको प्रोत्साहनमा काठमाडौं दरबारले तेहरान, लाहोरलगायत बेलायतका शत्रुराष्ट्रमा बेलायतविरुद्ध संयुक्त सैन्य मोर्चा गठनको प्रस्ताव राख्दै पठाएको मिसनप्रति रुष्ट भएर हड्सनले लेखेका किताब, पत्राचार आदिमा पनि पृथ्वीनारायण र गोरखालीलाई तथानाम भनिएको छ ।

पृथ्वीनारायण र उनका सन्ततीका कारण बेलायतको उपनिवेशवादी ध्येयमा धक्का लागेपछि क्रुद्ध भएका बेलायती सैनिक र प्रशासकले आफ्ना किताब र पत्राचारमार्फत पृथ्वीनारायण र उनले निर्माण गरेको राष्ट्र नेपालविरुद्ध चरम रोष व्यक्त गरेका छन् । अफसोच, नेपालप्रति दुर्नियत राख्ने ती फिरंगीका लेखाइहरू त्यस बखतको नेपाली इतिहासका मूल दस्तावेज बन्न पुगेका छन् ।