Chovar Blues Mobile Size

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो अन्तर्वार्ता himalkhabar.com बाट लिएका हौँ । यो अन्तर्वार्ता हिमाल खबरका लागि शेखर खरेलले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई हिमाल खबरमै पनि पढ्न सक्नुहुनेछ ।

========

नेदरल्यान्ड्सका जर्ज भान ड्रिम ज्ञानका बहुविधामा अध्ययन–अन्वेषण गर्ने बहुविषयका ज्ञाता हुन्। हिमालय वारपारका भाषाहरूका ज्ञाता, आनुवंशिक अध्येता एवं चिया इतिहासकार भान ड्रिमले सन् १९८७ मा लिम्बू व्याकरणमा विद्यावारिधि गरेका हुन्। उनी दर्जनभन्दा बढी भाषा बोल्न सक्छन्। स्वीट्जरल्यान्डस्थित बर्न युनिभर्सिटीका प्रोफेसर इमिरेट्स भान ड्रिमले प्रस्तुत अन्तर्वार्ता पनि शेखर खरेललाई धाराप्रवाह नेपालीमै दिए।

तपाईंको नेपाल नाताबाटै कुराकानी शुरू गरौं, नेपालमा अनुसन्धान गर्नुपर्छ भन्ने सोच कसरी पलायो?

वास्तवमा त्यो सोच मेरो थिएन। दुई जना प्राध्यापक हुनुहुन्थ्यो, नेदरल्यान्ड्सका फ्रिट्ज कोर्टल्यान्ट र जर्मनीका वेर्नर विन्टर, उहाँहरूले मलाई नेपाल पठाउनुभयो। कोर्टल्यान्टले मलाई ‘तँलाई हिन्दी आउँछ, अब नेपाली सिक् अनि नेपाल गएर लिम्बू भाषाको अनुसन्धान गर्नू’ भन्नुभयो। मैले त्यही गरें।

यहाँ आउनुअघि नेपालबारे के थाहा थियो?

१९ वर्षको उमेरमै म टर्की, इरान, अफगानिस्तान र पाकिस्तान भएर भारत पुगें। धेरै समय भारत डुलें। तर, त्यति वेला नेपालतिर पसिनँ। पहिलो चोटि २०३९ सालमा यहाँ आएँ।

तपाईंले लिम्बू व्याकरणमा विद्यावारिधि गर्नुभयो। यसको पछाडि चाहिं के सोच थियो?

ती दुई प्राध्यापक इन्डो–यूरोप भाषा समूहका विशेषज्ञ हुनुहुन्थ्यो। त्यति वेला उपलब्ध साहित्य र अनुसन्धानका परिणाम अध्ययन गर्दा उहाँहरूको एउटा अनुमान थियो, तिब्बती–बर्मेली वा ‘ट्रान्स–हिमालयन’ भाषा परिवारभित्र लिम्बू भाषाको व्याकरण परिवर्तित नभई प्राचीन रूपमै आएको भन्ने। विशेष गरी फेदाप (तेह्रथुम)को लिम्बू भाषामा क्रियाको रूप–शास्त्र जुन रूपमा अहिले छ, प्राचीन कालमा पनि त्यस्तै थियो। कुनै भाषा एकदमै परिवर्तित भएको छ, जस्तै म्यान्डरिन चाइनिज। तिब्बती पनि धेरै परिवर्तित भएको भाषा हो। तर, सबैभन्दा पुरानो व्याकरण फेदापको हो। उहाँहरूले त्यो अनुमान गरेर मलाई पठाउनुभएको थियो। मैले अनुसन्धान गरेर धेरै वर्षपछि त्यसको प्रमाण देखाउन पाएँ।

राई, लिम्बू लगायत किराती भाषाहरूको मूल एउटै हो भन्ने तपाईंको दलिल थियो, जसप्रति धेरैले असहमति जनाए। किन यस्तो भयो?

हिमाली भाषा परिवारभित्र हरेक भाषाका हाँगा छन्, करीब चालीस वटा। त्यहाँभित्र किराती एउटा हाँगा छ र फेरि त्यसभित्र लिम्बू छ। अन्य किराती भाषा, जस्तै राई शुरूदेखि अलि छुटेको छ र त्यो फरक भेटिन्छ। पूरा भाषा परिवार हेर्दा प्राचीन चीनको भाषा धेरै लिम्बूसँग मिल्छ। तर, चिनियाँको भाषिक पुर्खा यही पूर्वी हिमाली भेग देखिन्छ। किनकि, लिम्बूहरू त चीनबाट आएका होइनन्। भाषिक विविधताको केन्द्र पूर्वी हिमाली भेगमा पर्छ भन्ने प्रमाण देखाउन सकिन्छ।

राई र लिम्बूभित्र पनि भिन्न भाषिक समुदाय छन्। उनीहरूको मूल चाहिं के हो?

प्राचीन किराती भाषाको रूप र व्याकरण कस्तो थियो भन्ने कुरा तुलनात्मक भाषा ज्ञानको विश्लेषण र अनुसन्धान गरेर मात्र थाहा पाउन सकिन्छ। तर, किरातको मात्र होइन पाकिस्तान प्रशासित कश्मीरको बलोचिस्तानदेखि सिचुआन–साङ्हाईसम्म, त्यो भाषा परिवारका भाषाहरूको सबैभन्दा पुरानो व्याकरणात्मक रूप फेदापमा पाइन्छ।

तस्वीरहरूः सुमन नेपाली

तपाईं हिमालय वारपारका भाषाका अनुसन्धाता र विश्वका विभिन्न भाषाका ज्ञाता भएको हिसाबले नेपाली भाषा चाहिं कस्तो हो, खास गरी दक्षिणएशियाली भाषाहरूबीच?

मलाई मन पर्ने मीठो भाषा हो, नेपाली। भारतको टेलिभिजनमा कार्यक्रम हेर्नुहोस्, त्यहाँ हिन्दी बोल्दाबोल्दै कमसेकम साठी प्रतिशत अंग्रेजी मिसिइसकेको हुन्छ। पहिलो त, त्यो नेपालीमा छैन। दोस्रो कुरा, यो एकदमै जीवित भाषा हो। क्रिया र वाक्य–विन्यास मौलिक रहेको आर्य भाषा हो।

तपाईंले म्यान्डरिन, तिब्बती भाषाहरू अत्यन्तै परिवर्तित भएको बताउनुभयो। नेपाली चाहिं कति परिवर्तित छ?

धेरै परिवर्तन भएको छ। संस्कृत ऋग्वेदको पालादेखि प्राकृत भाषाहरू अपभ्रंश हुँदै अर्ध–मगधीदेखि हाम्रो नयाँ आधुनिक भाषाहरू गुजराती, बंगाली, नेपाली विकसित भए। आजका युवालाई पञ्चायतकालमा रेडियो नेपाल कसरी बोल्थ्यो, त्यति वेलाका मानिस कस्ता शब्द प्रयोग गरेर कसरी बोल्थे भनेर थाहा नहोला। मान्छेको लवज पहिला जस्तो छैन आज। त्यो परिवर्तन लेखनमा पनि देखिन्छ। तर, अहिलेसम्म नेपाली भाषा सुन्दर छ, मीठो छ।

तपाईंले आफ्नो अनुसन्धान भाषाविज्ञानबाट शुरू गर्नुभयो र पछि आनुवंशिकी (जेनेटिक्स)मा बढी तल्लीन देखिनुभयो। भाषाको अध्ययनसँगै हाम्रो हिमाली क्षेत्रका आदिवासी–जनजातिको ‘डीएनए’ पनि सड्ढलन गर्नुभएको छ। यो बदलाव  कसरी आयो?

मेरो पहिलाको डिग्री जीवविज्ञानमा छ। तर, मलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म प्रयोगशालामा बस्न रुचि भएन। त्यसैले मैले भाषा पढ्न थालें। भाषाविद् भएपछि फेरि पहिलेको कुरा गर्न चाहें। वंशानुगत गुणको अनुसन्धान गर्ने आनुवंशिकीविद्हरूसँग काम गर्न थालें। हामीले नेपाल मात्र नभएर भुटान, सिक्किम, अरुणाचल र अन्डमानसम्मका सबै किसिमका जनजातिका डीएनए सङ्कलन गर्‍यौं। हामी कहाँबाट आयौं र हाम्रो पुर्खा कहाँबाट आए भन्नेमा सबैलाई चासो लाग्छ। नेपालमा यति धेरै जातजातिका मान्छे छन्, उनीहरू कहाँबाट आए त? हामी अफ्रिकाबाट आयौं, तर त्यो धेरै पहिलाको कुरा। त्यसपछि एशिया, यूरोपमा कसरी आप्रवासन भयो? त्यसबारे मैले पुस्तक पनि लेखेको छु।

तपाईं बारम्बार हिमालयन करिडोर हुँदै प्राचीन वा प्रागैतिहासिक मानिस आप्रवासन गर्थे र यहींबाट ब्रह्मपुत्र कटेर अन्य भूभागमा फैलिएको तर्क गर्नुहुन्छ। त्यसो भए के नेपाल प्रागैतिहासिक मानिसको हिंडडुलको थलो मात्र नभएर बसोबासकै क्षेत्र थियो?

यो धेरै धैरै लामो, दुई लाख वर्षको कुरा हो। त्यस वेला कोही मानिस हिमाली भेगबाट पूर्वतिर लागे। कोही मानिस, जस्तै ‘वाई’ क्रोमोजोम भएका ह्याप्लोग्रूपका मानिस पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग हुँदै यूरोप, साइबेरियातिर गए। त्यसपछि आजकालको युक्रेनबाट ‘आर’ बोक्नेहरू फेरि भारत र नेपालतिर आए। तर, ‘आर’ को मूल फेरि भारतमै छ। ‘आर स्टार’, ‘आर २’ भारतमा मात्रै पाइन्छ। पूरै दक्षिणएशियामा सबैभन्दा राम्रो बसोबासको ठाउँ यही हो। एउटा त यहाँको मौसम हो। अनि तराईमा हुने रोगहरू पहाडमा हुँदैनन्, विशेष गरी मानिसले शिकार मात्र गर्ने प्राचीन कालमा। यो ३,६०० किलोमिटर लामो हिमाली भेगको कुरा हो, अफगानिस्तान हिन्दूकुशदेखि सिचुवानसम्म। होमोसेपियन्स जातिका लागि सबैभन्दा राम्रो बस्ने ठाउँ पूर्वी हिमाली भेग हो। त्यसैले हाम्रा पुर्खा बसोबास गरेको क्षेत्र यहाँ पनि हो। गंगा र हिमालबीचमा बसाइँसराइ भएको देखिन्छ। त्यसका प्रमाण धेरै छन्।

यसको अर्थ संसारका धेरै मानिसको पुर्खा अहिलेको नेपालबाट थिए भन्न मिल्छ?

मिल्छ, तर सब–सहारन अफ्रिकाको होइन। यूरोपमा सबैभन्दा प्रचलित ह्याप्लोग्रूप ‘आर’ यहींबाट आएको हो। ‘आर’ को उपसमूह पूर्वी दक्षिणएशियाबाट फेरि हिमाली भेग भएर भारतमा पसेको हो। त्यहाँबाट उनीहरू यूरोप पनि पुगे। दुई लाख वर्षभित्र पूर्वदेखि पश्चिममा जनसांख्यिक ओहोरदोहोर धेरै भयो।

नेपालमा खास गरी केही पहाडी र हिमाली जाति आफूलाई खसभन्दा पृथक् देखाउन मंगोलको परिचय दिन्छन्। तर, यहाँ मंगोल भनिने र मंगोलियाका जातिबीच कुनै आनुवंशिक सम्बन्ध छैन भन्ने तपाईंको दाबी हुन्छ। यसलाई अलि व्याख्या गरिदिनुहुन्छ?

मानिसहरूले आफूलाई मंगोल जाति बताउँदा उनीहरूका पुर्खा मंगोलियाबाट आएको भनेर बुझ्ने गरिन्छ। तर, त्यसो होइन। त्यो नाम दर्शनशास्त्री इमानुअल कान्टले सन् १७७४ मा दिएको लेबल मात्र हो। उसले मानवशास्त्र र मानव जातिका किताब अध्ययन गर्दै गर्दा यिनलाई मंगोल अनि यिनलाई ककेसियाको बनाइदिऊँ भन्दै लेबल दिएको हो। त्यस वेला वंशानुगत गुण र मोलिक्युलर बायोलोजीबारे कसैलाई थाहा थिएन। सबै जनाको मूल त एउटै हो, अफ्रिका। तर, त्यसपछि दुई लाख वर्ष बितिसक्दा मंगोलियाको मान्छेको मूल अर्कै हुन गयो। जापानसँग मिल्ने तर हाम्रो किरात राईसँग नमिल्ने। यहाँका मानिस मंगोलियाबाट आएका होइनन्, बरु चीनको भाषिक पुर्खा किरातबाट आएको अनुमान गर्न सकिन्छ।

त्यसो भए हामीकहाँ मंगोल भन्नेहरूको आनुवंशिक उत्पत्तिस्थल कहाँ हो?

अरुणाचल र धवलागिरीबीचको भेगमा कतैतिर उत्पत्ति भएको हो। यहींबाट फैलिएर उनीहरू चीनसम्म पुगेका हुन्।

चियाको अध्ययनप्रति तपाईंको निकै लगाव देखिन्छ। एक हजार पृष्ठभन्दा बढीको द टेल अफ टी पुस्तक प्रकाशन पनि गर्नुभएको छ। यो पुस्तक लेख्नुको खास कारण वा उद्देश्य के हो?

बाल्यकालदेखि नै चियाप्रति मेरो अत्यन्तै लगाव रह्यो। सानोमा आमालाई यो हरियो चिया र अर्कोमा के फरक छ भनेर सोध्थें। आमालाई त्यसबारे धेरै थाहा नभएपछि ‘पढ्’ भन्नुहुन्थ्यो। त्यसपछि मैले चिया–इतिहासका धेरै किताब पढ्न थालें। ती किताबमा केही कुरा मिले पनि धेरै मिल्दैनथे। त्यसैले मैले ऐतिहासिक अनुसन्धान गरें, तर शोखका रूपमा। समयक्रममा कम्युटरमा यस सम्बन्धी टिपोट र सामग्री यति भरिए कि त्यसलाई समेटेर तीन वर्षअघि किताब निकालें। यो चिनियाँ भाषामा अनुवाद भएर यही डिसेम्बरभित्रै प्रकाशन हुँदै छ।

कोही मानिस चिया मध्ययुगतिर चीनका बादशाहले कोसेली दिएपछि नेपालमा रोप्न थालिएको बताउँछन् भने कोही जंगबहादुर राणाले शुरू गरेको भन्छन्। वास्तविकता चाहिं के हो?

त्यसबारे अनुसन्धान हुन बाँकी छ। किनभने, जंगबहादुरको पालाभन्दा अगाडि नै यहाँका ब्रिटिश रेजिडेन्ट एडवार्ड गार्डनरले चियाको बोट नेपालमा कुनै व्यक्तिको दरबारमा भेटेका थिए। त्यस वेला चियाको बीउ र पात कोलकाताको बायोलोजिकल रिसर्च स्टेशनमा लगिएको थियो। त्यो अहिलेसम्म रहस्यकै रूपमा छ। द टेल अफ टीको अर्को भागमा काम गरिरहेकाले यो खोजी म आफैं पनि गर्दै छु।

तपाईं नेपाली भाषा र नेपाली जाति एकदमै मनपर्छ भन्नुहुन्छ, तर तपाईंले भुटान सरकारका लागि जोङ्खा भाषाको व्याकरण तयार गरिरहँदा त्यहाँबाट लाखौं नेपालीभाषी भुटानीलाई देशबाटै निष्कासन गरिँदा केही बोल्नुभएन भन्ने गुनासो पनि छ नि।

सन् १९८९ देखि म भुटानमै थिएँ। त्यहाँ भएको र त्यसबारे लेखिएका कुरा आधा मात्रै मिल्छ। त्यति वेलाका विदेशी पत्रिकाले लेखेको आधा कुरा मिल्दैन। त्यसबारे कुरा गर्नुपरेमा हामी घण्टौं सँगै बस्नुपर्ने हुन्छ। किनकि, त्यसबारे धेरै कुरा भन्न बाँकी छ। म न भुटानको नागरिक हुँ, न नेपालको। त्यसैले म किन यहाँको राजनीतिक कुराबारे बोल्ने? मेरा लागि यो लाभदायक पनि हुँदैन। तर, मैले इतिहासको दृष्टिकोणले त्यति खेरदेखि आफ्नै कम्प्युटरमा लेखेर राखेको छु। त्यो सबै अहिले प्रचार गर्नेभन्दा पनि इतिहास त पछि पनि लेख्न मिल्छ।