Chovar Blues Mobile Size

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  nayapatrikadaily.com बाट लिएका हौँ । सिल्भिया मोरेनो–गार्सियाको यो लेख नयाँ पत्रिकाले नेपालीमा प्रकाशन गरेको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिकामै पनि पढ्न सक्नुहुनेछ ।

==========

मैले एकपटक ठट्टा गर्दै भनेथेँ– मानिसहरूले ‘जादुई यथार्थवादी’को साँटो गोथिक उपन्यास भनून् भनेर मैले आफ्नो छैटौँ उपन्यासको नाम ‘मेक्सिकन गोथिक’ रोजेको हुँ । करिअरकालभर मैले लेखेका सबै कृतिलाई ‘जादुई यथार्थवाद’ भनियो । मैले लेखेको एउटा कृतिलाई कसैले ‘साइन्स फिक्सन जादुई यथार्थवाद’सम्म भनेका छन्, जुन पदावलीले के भन्न खोजेले मैले अझै बुझेको छैन ।

जादुई यथार्थवाद कुनै समय ल्याटिन अमेरिकी लेखकहरूको एक खुकुलो समूहले लेख्ने साहित्यिक शैलीलाई जनाउन प्रयोग गरिन्थ्यो । तर, त्यो ६० वर्षपहिलेको कुरा हो । दुर्भाग्यवश अंग्रेजीभाषी विश्वमा भने यो पदावली अहिले पनि सम्पूर्ण ल्याटिन अमेरिकी लेखनलाई जनाउन प्रयोग गरिन्छ, जुन आजका सम्पूर्ण ब्रिटिस लेखनलाई ‘अस्टिन शैलीको’ भनिएजस्तै हो ।

मैले यस विस्तारित पदावलीबारे एकाधपटक ‘द डेन्जर्स अफ स्मोकिङ इन बेड’की लेखिका मारियाना एनरिकेजसँग कुरा गरेको छु । हामी दुवै यस वर्गीकरणप्रति अचम्मित हुन्छौँ । एउटा महादेशका सम्पूर्ण लेखकका कृतिलाई जादुई यथार्थवादीको डालोमा हाल्नु भनेको हाम्रो कृतिलाई हाम्रा हजुरबुबाको पुस्ताका साहित्यसँग जोड्नु हो । त्यसबीचको यति लामो समय, स्थान र भौगोलिक भिन्नता मेटाउने प्रयास हो । तर, ल्याटिन अमेरिकी साहित्यलाई दिइने कुनै पनि नामले के फरक पार्छ र ? अरू कुनै नाम भएको भए पनि गुलाफको सुगन्ध त्यही हुँदैनथ्यो र ?

मेरो अनुभवमा नामको पनि महत्व हुन्छ । नामले अपेक्षा सिर्जना गर्छ । जब कुनै कृतिलाई ‘जादुई यथार्थवादी’ भनेर वर्णन गरिन्छ, यसले सामान्यतया गेब्रियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर अफ सोलिच्युड’को छवि निर्माण गर्छ । तर, अर्जेन्टिनी लेखक डोलोरेस रेयेसको भर्खरै प्रकाशित उपन्यास ‘अर्थइटर’लाई जनाउन जादुई यथार्थवादी पदावली प्रयोग गर्नुभयो भने नतिजा भयानक हुन्छ । तर, ल्याटिन अमेरिकी लेखकहरूबाट सम्पादकहरूले जादुई यथार्थवादी पुस्तक अपेक्षा गर्ने गरेको पाएको छु । जब कि वर्तमान ल्याटिन अमेरिकी साहित्यमा जादुई यथार्थवादी लेखन विरलै हुन्छ । आजका लेखक भिन्नभिन्न विधामा डुब्न थालेका छन् ।

यसको मतलब जादुई यथार्थवाद विधामा कसैले पनि लेख्दैनन् भन्ने होइन । संयुक्त राज्य अमेरिका वा बेलायतमा बस्ने दोस्रो र तेस्रो पुस्ताका ल्याटिन अमेरिकी लेखकहरूबीच यस विधा अझै लोकप्रिय छ । तर त्यहाँ पनि, म जादुई यथार्थवादको वर्गीकरणले बी क्यास्ट्रो र ग्याबिनो इग्लेसियासजस्ता हरर विधाका उदीयमान लेखकका लेखनलाई नजरअन्दाज गरेको महसुस गर्छु । किनकि तिनको लेखनलाई यस पदावलीले राम्ररी समेट्न सक्दैन । जादुयी यथार्थवादप्रतिको मेरो संकोच दार्शनिक मात्र लाग्न सक्छ, तर यसका व्यावहारिक पाटो पनि छन् ।

प्रकाशन उद्योगभित्र समकालीन पुस्तकलाई जनाउन प्रयोग हुने ‘कम्प्स’को विषयलाई एकपटक ख्याल गरौँ । कम्प्स ती प्रकाशित पुस्तकलाई भनिन्छ, जसको कथा वा थिम प्रकाशककहाँ आएको पाण्डुलिपिसँग मिल्दोजुल्दो हुन्छन् । तिनले बजारमा कस्ता पुस्तक चलेका छन् भन्ने एक मोटोमोटी चित्र प्रस्तुत गर्दै सम्पादकहरूलाई नयाँ पुस्तक अधिग्रहणमा निर्णय गर्न सघाउँछन् । ‘मेक्सिकन गोथिक’ बेस्ट सेलर हुनुअघि ल्याटिन अमेरिकी हरर विधाका ‘कम्प्स’ पुस्तक खासै थिएन । यसले लेखकलाई त्यस विधाको उपन्यास प्रकाशकबाट स्वीकृत गराउन कठिन बनाएको हुन सक्छ । गोथिक तथा हरर विधाको ‘मेक्सिकन गोथिक’ बेस्ट सेलर बनेपछि सम्पादकहरू यस्ता पुस्तकको सम्भावनाप्रति सचेत भए । जब कि केहीअघिसम्म यो विधा ल्याटिन अमेरिकीले रुचाउँदैनन् भन्ने मानिन्थ्यो ।

म ती अल्पसंख्यक लेखकलाई पनि चिन्छु, जसले आफ्ना स्वीकृत हुन नसकेका पाण्डुलिपि ‘मेक्सिकन गोथिक’को सफलतापछि स्वीकृत भएको बताउँछन् । सन् २०२० मा आएको मेरो पुस्तकले एउटा युवा मेक्सिकन धनाढ्यको कथा भन्छ जो पहाडमा रहेको एक बिरानो घरको यात्रा गर्छ, जुन घरमा ठूलो रहस्य लुकेको हुन्छ । जब ल्याटिन अमेरिकाबाट आउने हरेक आख्यानलाई जादुई यथार्थवादको घानमा हालिन्छ तब फरक विधाका पुस्तक र कथालाई बेवास्ता गर्न र पुरानो ढर्रामा फिट नहुने कृति अनुवाद वा ग्रहण गर्न प्रकाशन उद्योग निरुत्साहित हुन्छ । वर्गीकरणले अवरोध सिर्जना गर्नुहुँदैन र अझै पनि जादुई यथार्थवादको वर्गीकरणले कहिलेकाहीँ ल्याटिन अमेरिकी साहित्यलाई मुक्त गर्नुको सट्टा संकुचित बनाएको छ ।

मैले पनि जादुई यथार्थवादी विधाको भन्न सकिने एउटा उपन्यास लेखेको छु । यद्यपि सन् १९८० को दशकको मेक्सिको सिटीका तीन आबारा किशोरका कथा बोकेको मेरो पहिलो उपन्यास ‘सिग्नल टु नोइज’ले क्रान्तिपछिको मेक्सिकोको सानो–सहरको कथा भन्छ, जुन आम जादुई यथार्थवादी कथ्यभन्दा अलग छ । मेरो बाँकी कथा पूर्णत अलग रूपमा अघि बढ्छ । मेरो पुस्तक ‘मेक्सिकन गोथिक’ अन्य कुनै ल्याटिन अमेरिकी लेखकभन्दा उरुग्वेली लेखक होरासियो क्विरोगाबाट प्रभावित छ, जसले एडगर एलन पोको पाइला पछ्याएर लेख्थे ।

गत वर्ष मैले डेभिड बोउल्सलाई जोसे लुइस जारेटको ‘द रुट अफ आइस एन्ड साल्ट’ पुस्तक अंग्रेजीमा अनुवाद गर्ने प्रबन्ध मिलाइदिए । यो पुस्तक मैले आफ्नो माइक्रोप्रेसमार्फत प्रकाशित गरेको थिएँ । सन् १९९० को दशकमा लेखिएको पुस्तकले ड्र्याकुलाको इंग्ल्यान्डतर्फको यात्राको पुनरकल्पना गरेको छ ।

यस कामुक पुस्तकको कथा सो यात्रारत विनाशकारी जहाज डेमिटरको कप्तानले भनिरहेको हुन्छ । पहिले अंग्रेजीमा अनुवाद नभएको यो पुस्तक मैले आफैँले अंग्रेजीमा प्रकाशित गरेँ (यो पहिले फ्रान्सेलीमा भने अनुवाद गरिएको थियो) । पुस्तक सम्मानित तर धेरै नबिकेका मेक्सिकन लेखकले लेखेकाले मात्र अंग्रेजीभाषीसम्म पुग्न नसकेको होइन । यो गोथिक तथा ‘हास्य हरर’ विधाको भएकाले अंग्रेजी प्रकाशकका सम्पादकीय नजरमा पर्न नसकेको हुन सक्छ । जादुई यथार्थवाद मात्र खोज्ने प्रकाशकले ल्याटिन अमेरिकाबाट यस्तो पुस्तकको आशा नै गरेका थिएनन् ।

मेरो अनुभवमा जादुई यथार्थवाद प्रायः अति प्रयोग हुने पूर्वाग्रहपूर्ण विधा हो र यो विनासोचविचार प्रयोग गरिन्छ । तथापि मलाई मन नपर्ने शब्द यो मात्र भने होइन । मैले मेरा कृतिलाई ‘टेलि–नोभेलाजस्तै ( अति नाटकीय कथावस्तु भएको टेलिफिल्म)’ भनेको सुनेको छु, जुन मलाई मन पर्दैन । मुख्य पात्र जति ठूलो विपत्बाट गुज्रिए पनि अन्य लेखकका नाटकीय कृतिलाई टेलिनोभेला भनिँदैन ।

न्युयोर्क टाइम्स बुक रिभ्युले ‘परी कथा र ग्रामीण हररको मिश्रण’ भनेको ओटेसा मोसफेघद्वारा लिखित ‘याप्भोना’ पनि टेलिनोभेला होइन, बरु ‘मेक्सिकन गोथिक’ पनि त्यही विधाको हो । समग्र ल्याटिन अमेरिकी साहित्यलाई जादुई यथार्थवादको बिल्ला भिराएझैँ टेलिनोभेलाको बिल्ला भिराउने चलन बढेको छ । आखिर किन त ? एक त यो सजिलो उपमा भएर पनि होला । अर्को यसलाई ल्याटिन अमेरिकी सौन्दर्यशास्त्रसँग जोडिने गरिएको छ र यस भेगका कृतिलाई उक्त उपमा दिइन थालेको छ ।

म चाहन्छु कि पुस्तकबारे थप मिहीन र बृहत्तर बहस होस् । विधा र सौन्दर्यशास्त्र जनाउने विस्तृत शब्द प्रयोग गर्नु किन उपयुक्त हुँदैन ? अर्जेन्टिनी लेखक अगस्टिना ब्याजटेरिकाको उपन्यास ‘टेन्डर इज द फ्लेस’ भविष्यको यस्तो समयको कथा भन्छ जहाँ मानिसलाई मासुका लागि ठूलोठूला फार्ममा पालिन्छ । यो एक विज्ञान कथा (साइन्स फिक्सन) युक्त उपन्यास त हो, साथमा हरर पनि हुन सक्छ । किनकि साहित्य लेखनमा नरभक्षण (क्यानिबालिजम) हरर उपन्यासको लामो परम्परा छ । साथमा उक्त उपन्यास ठाउँ–ठाउँमा व्यंग्यात्मक पनि छ । अर्थात् टेन्डर इज द फ्लेस एकैसाथ धेरै विधामा फिट हुने देखिन्छ ।

जादुई यथार्थवादको बहस तत्काल वा सजिलै समाधान हुने छैन । तर, मलाई विश्वास छ, ल्याटिन अमेरिकी लेखकका बृहत्तर विधाका पुस्तकको चयनले हामीलाई त्यस्तो संसारतर्फ डोहो¥याउन सघाउँछ, जहाँ यस क्षेत्रलाई फराकिलो र समृद्ध रूपमा हेरिनेछ । सुस्त भए पनि यो परिवर्तन भइरहेको छ । उदाहरणका लागि एनरिकेजलाई नै लिऊँ । उनले अर्को वर्ष संयुक्त राज्य अमेरिकामा ‘आवर सेयर अफ द नाइट’बाट अंग्रेजी लेखन सुरु गर्दै छिन् । मैले पेन्गुइन ¥यान्डम हाउस वेबसाइटमा राखिएको उनको पुस्तकको विधा वर्गीकरण हेरेँ, जसलाई ‘गोथिक र हरर’ विधाअन्तर्गत राखिएको छ ।

(सिल्भिया मोरेनो–गार्सिया बेस्ट सेलर उपन्यास ‘द डटर अफ डक्टर मोरेउ’लगायत कैयौँ पुस्तककी लेखिका हुन् । उपन्यासकारका रूपमा लोकस तथा ब्रिटिस फेन्टासी पुरस्कार पाएकी सिल्भियाले सम्पादकका रूपमा वल्र्ड फेन्टासी अवार्ड जितेकी छिन् ।)