Chovar Blues Mobile Size

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो रिपोर्ट हिमाल दर्पण बाट लिएका हौँ । यो रिपोर्ट हिमाल दर्पणका लागि राजु झल्लु प्रसादले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई  हिमाल दर्पणमै पनि पढ्न सक्नुहुनेछ ।

===

केशर पुस्तकालयमा यतिखेर सरकारी कागजात धुल्याउने नियमहरू, २०२७ को पहिलो संशोधन नियमावली, २०७० विपरीत महत्त्वपूर्ण कागजात एवम्  पुस्तकहरूमा ‘घाममा सुकाइँदै छ ।’  यी अनुसूचीहरूले ‘काम तामेल भएको १ एक वर्ष, ३ वर्ष,  ५ वर्ष, १० वर्ष, २० वर्षपछी धुल्याउन मिल्ने र कहिल्यै धुल्याउन नमिल्ने भनि त्यसको स्पष्ट प्रावधान खुलाएको छ ।

‘घाममा सुकाउनु’ नामक लोकोक्तिको मुलभाव ‘मिल्काउनु’ भन्ने हुन्छ । सिधासिधा भन्दा- केशर पुस्तकालय परिसरमा सोही नियमावलीको बुँदा ३ ले उल्लेख गरे विपरीत ‘इतिहास, कला, संस्कृति, सुरक्षा वा अन्य  कुनै दृष्टिकोणले धुल्याउन नमिल्ने’ एक तिहाइ कागजात घाममा सुकाउन (धुल्याउन) पर्ने आवश्यकता सिर्जना गरिँदै छ ।

सोहि नियमावलीको अनुसूची-६ सम्बन्ध ‘कहिल्यै नधुल्याउने कागजात’ अन्तर्गतका नापी नक्साका कागजात, नेपालको समय-समयका नक्सा आदि पनि ‘धुल्याउन’को लागि मिल्काइएका छन् । नियालिहेरेमा- अनुसूची ५  आकर्षित नहुने कागजातहरू पनि मिल्किएका छन् भने अनुसूची-४ आकर्षित नहुने मन्त्रालयका वार्षिक प्रतिवेदनहरू कवाडीमा फ्यालिएका छन् ।  सोही नियमावलीको अनुसूची १,२,३ आकर्षित हुने कागजातको हुलमुलका जानाजान वा प्रणालीगत हिसाबले महत्त्वपूर्ण पुस्तकहरूलाई समेत धुल्याउने प्रक्रिया अघि बढाइनु चिन्ताको विषय रहेको छ ।

सरकारी कागजात (सैनिक तथा प्रहरी कार्यालयहरू बाहेक) धुल्याउने नियमहरू, २०२७ को पहिलो संशोधन नियमावली, २०७० को ३ नम्बर बुँदाले ‘नेपाल सरकारको कुनै हानी–नोक्सानी नहुने देखि धुल्याउन उचित ठहर्‍याइएका जति कागजातहरू काम तामेल भई सकेपछि जुनसुकै बखत धुल्याउन आदेश दिन सक्नेछ’ भनेको छ ।

‘भागवत कुञ्ज’ सहित सम्पदाहरूको नाप-नक्सा धुल्याउनको लागि मिल्काइएको छ

केशर पुस्तकालय प्रमुख सुरेश कुमार यादव सोही ऐनमा रही कागज धुल्याउन खोजिएको बताउँछन् । उनले शिक्षा मन्त्रालय (छात्रवृत्ति शाखा, वैदेशिक अध्ययन अनुमति शाखा (NOC), शैक्षिक प्रमाणपत्र र प्रमाणीकरण शाखा) सहित सम्पत्ति शुद्धीकरण विभाग,सहरी विकास विभाग, युनेस्कोको कार्यालय एवम् भिजिट नेपाल २०२०को सम्पर्क कार्यालयका अनावश्यक कागजात यहाँ रहेको र त्यसलाई धुल्याउन खोजिएको बताए । “भुईँचालोका कारण उहाँहरूले आ-आफ्ना अत्यावश्यक बाहेक अन्य कागजात यही छोड्नुभयो, ती लामो समयदेखि केशर महलमा रहेका थिए । पुनर्निर्माण कार्य चलेकाले ठेकेदारले अनुमति लिएर ती कागजात बाहिर निकालेको हो”, उनी बताउँछन् । यादव गत माघदेखि पुस्तकालयको निर्देशन सम्हालिरहेका छन् ।

तर, मिल्काइएका पुस्तकहरू हेर्दा शतप्रतिशत त्यस्तो देखिँदैन ।

हचुवामा पुस्तक मिल्काइयो !

हिमाल दर्पणकर्मीले निरन्तर फ्लोअप गरिरहँदा, शिक्षा मन्त्रालयको अगुवाइमा अघि बढिरहेको ऐतिहासिक केशर पुस्तकालय पुनर्निर्माणको ठेक्का लिएको जेटसीजी आई जेभी निर्माण कम्पनीले पुस्तकालयकै निर्देशनमा कागजात महत्त्वपूर्ण छ/छैन भन्ने छानबिन नगरी हचुवामा किताब मिल्काएको थाहा हुन् आएको छ ।

कम्पनीबाट केशर पुस्तकालय पुनर्निमार्णमा प्रोजेक्ट म्यानेजरका रूपमा कार्यरत नरकान्त सापकोटा आफूहरूले सग्लो एवम् महत्त्वपूर्ण प्रतीत भएका किताब छेउको दराजमा ‘राख्दिएको’ बताउँछन् । “हाल एनओसी लेटर र पुराना कागजपत्रहरू बाहिर आएका हुन् । केही महत्त्वपूर्ण पुस्तकहरू परे होलान् तर पुस्तकालयको पुस्तकहरू त्यहीँ छन्”, भुईँचालोपश्चात् टहरामा सरेको भवनतर्फ इंकित गर्दै उनले भने । पुस्तक एवम् कागजात लिच्चड एवम् झरीमा भिज्नुपूर्व नै जोगाउन आवश्यक रहेको उनले बताए ।

केशर परिसरमा मिल्किएका पुस्तकहरू केकस्ता हुन् ? 

पुस्तकालयकै एक कर्मचारी हुलमुलमा किताबहरू बाहिर फ्याँकिदा महत्त्वपूर्ण पुस्तकहरू निजीकरण भएको हुन् सक्ने आशङ्का जाहेर गर्छन् । “सुरुवाती दिनदेखि किताब फ्यालिएको छ भन्दै निकै हल्ला भयो, विभिन्न मान्छे आइपुगे । पुस्तक बाहिर निकाल्नुपूर्व नै होसियारी देखाउनु पर्थ्यो । हामी त्यहाँ चुक्यौँ,” पुस्तक रेखदेख गरिरहेका उनी भन्छन् । उनले आफूले देखेसम्म महत्त्वपूर्ण पुस्तकहरू जोगाइराखेको समेत बताए ।

बोरामा सिलबन्द भइसकेका पुस्तक एवम् कागजातहरूको हकमा यसै केही भन्न सकिँदैन । करिबन १५-२०  दिनदेखि चलिरहेको यस प्रक्रियामा सुरुवाती दिनमा केकति महत्त्वपूर्ण पुस्तक बाहिर निस्किएका थिए भनेर जान्ने बाटो छैन ।  पुस्तकालयले बोरा खोल्न दिँदैन ।

बोरामा सिलबन्द भइसकेका बाहेक पनि केशर पुस्तकालय परिसरमा मिल्किएका पुस्तकहरूलाई नियालिहेर्दा इतिहास, कला, संस्कृति, सुरक्षाका दृष्टिकोणले महत्त्वपूर्ण देखिन आउँछ, जसले सोही नियमावली (२०७०) को ३ नम्बर बुँदालाई आकर्षित गर्छ । यस बुँदाले सरकारी कार्यालयमा रहेको अनुसूचीमा लेखिएको वा नलेखिएको कुनै कागजात इतिहास, कला, संस्कृति, सुरक्षा वा अन्य कुनै दृष्टिकोणले महत्त्वपूर्ण छन् भने धुल्याउन नपाइने उल्लेख गरेको छ । सोही बुँदाले ‘कुनै कागजात अभिलेखालयमा राख्न उपयुक्त देखेमा सोही बमोजिम सो कागजात अभिलेखालयमा राख्न कार्यालय प्रमुखले आदेश दिन सक्नेछ’ समेत भनेको छ । तर, पुस्तकालय निर्देशक यादव भने ‘बाहिर हल्ला गरिएजस्तो अवस्था नरहेको बताउँछन् ।

suresh kumar yadaw

तर, केही उदाहरण हेरौँ;

केशर पुस्तकालय परिसरमा मिल्किएका पुस्तकहरूमा  नेपाली भाषाको सर्वाधिक बिक्री पुस्तकमध्ये एक

ज्योतिप्रसाद गौतमको  अमर कृति ‘भागवत कुञ्ज’ पनि देखिएको छ ।  २००१ सालको सुरुमै एक हजार थान छापिएको थियो यो पुस्तकलाई हिमाल खबरले ‘पुस्तक सम्पदा’मा राखेको भेटिन्छ । लिच्चड एवम् गुन्द्रुक खँदाइका कारण यहाँ मिल्किएको यस पुस्तक कुन संस्करणको भनी छुट्टाउन सकिँदैन, यद्यपि  पुस्तकालय प्रमुख यादवले भनेझैँ पुस्तकालयको पुस्तक बाहिर आउँदै नआएको भने होइन ।

पुस्तकालयकै अनलाइन सेवा अन्तर्गत रही क्याटलगमा गई ‘भागवत कुञ्ज’ सर्च गर्दा ‘Availability: No items available’ लेखिएको भेटिन्छ । क्याटलगले बताएअनुसार तेइसौं संस्करण (०३२) पुस्तकालयमा नरहेको हो । कवाडी मिल्किसकेका पुस्तक लाइब्रेरीको अनलाइन अर्काइभ किन पो देखिँदो हो ?

kaisar laibrary

अर्को उदाहरण: मैथिली साहित्य परिषद्, राजविराजद्वारा प्रकाशित मैथिली भाषी ‘वाणी’ पत्रिका पनि मिल्काइएको छ, जहाँ देवेन्द्र मिश्र (मैथिली साहित्य परिषद्, राजविराज एक ऐतिहासिक विवेचन), डा. सुनील कुमा झा (मिथिलाक लोकचित्रकला: एक अध्ययन), डा. लक्ष्मीलाल चौधरी (पाल्पाके सेनवंशी राजा गन्धर्वसेनके स्याहामोहर- एक ऐतिहासिक अवलोकन), डा. बालकृष्ण झा (नेपालक मल्लकालीन नाटकक विशेषता), कमल मण्डल (मैथिली लोक संगीतक अवस्था) सहित ६३ वटा पाठ्यसामग्री (निबन्ध, संस्मरण, कथा, कविता र विविध)  सङ्गृहीत छन् । यस पत्रिकाको सम्पादकीय सहित ४ पाना (इ, ई, उ, ऊ) र ३४, ३५,३६ र ३७ पेज परिसरमा भेटिएका थिए । यस पत्रिकाले मिथिला भाषा, कला, इतिहास र संस्कृतिमा मनग्ये योगदान पुर्‍याएको र आफू नियमित पाठक रहेको मैथिल जानकार एवम् इतिहासविद् रोशन जनकपुरी बताउँछन् ।

यहाँ मिल्किएका महत्त्वपूर्ण पुस्तकहरूमा पुस्तकालय छाप नदेखिने दाबा समेत पुस्तकालय प्रमुख यादवको रहेको छ । “पुस्तकालयका पुस्तकहरूमा पुस्तकालयको छाप (ओनरसिप स्ट्याम्प) हुन्छ, दर्ता नम्बर हुन्छ, क्लासिफिकेशन नम्बर हुन्छ । हामीसँग रेकर्ड पनि रहन्छ ।”

ओनरसिप स्ट्याम्प हानिएको केशर पुस्ताकालयको पुस्तक

‘मिथिला वाणीको गाता उप्किएको छ नि, छाप त कहाँ खोज्नु भन्ने प्रश्नमा उनी भन्छन्, “कुनै पनि पुस्तकमा हामी कम्तीमा ३ ठाउँमा छाप लगाउँछौँ । पुस्तक प्रयोगयोग्य वस्तु रहेका गाता उप्किएर जाला भनेर आमपाठकलाई थाहा नहुने गरि पुस्तकको बीचमा पनि छाप (क्लियू) लगाउँछौँ । यसमार्फत हामी आफ्ना पुस्तक चिन्न सक्छौँ”, उनले भने, “त्रिविले आफ्ना पुस्तकहरूले क्ल्यू ४४ पेजमा लगाउने गरेको छ भने कुनै पनि पुस्तकको तीनैतिर स्ट्याम्प हान्ने गर्छ ।”

केशरको हकमा भने उनले खुलाउन चाहेनन् ।  ‘मिथिला वाणी’ एवम् ‘भागवत कुञ्ज’ पुस्तकको सन्दर्भमा उनी भन्छन् “हुन् पनि सक्छ, त्यसो भएमा छानबिन समितिले संग्रहण गर्छ ।” मिथिला वाणी मासिक/वार्षिक पत्रिका हुन् सक्ने र मन्त्रालय ग्राहक बनिएको हुन् सक्ने समेत उनले बताए । तर, मैथिली भाषाका साहित्यकार तथा पत्रकार रामभरोस कापडि ‘भ्रमर’ पुस्तकालयको भए पनि नभए पनि यस पत्रिकाका संग्रहण योग्य रहेकाले मिल्काउन नमिल्ने बताउँछन् ।

मैथिली साहित्य परिषद्, राजविराजद्वारा प्रकाशित मैथिली भाषी ‘वाणी’ पत्रिकाको ३४ र ३५ पृष्ठ

पुस्तक मिल्काइनु भनेको पुस्तक चोरीभन्दा घातक रहेको समिक्षक/लेखक महेश पौड्याल बताउँछन् । ‘सार्वजनिक पुस्तकालयका पुस्तक निजीकरण देशव्यापी रोग हुँदै हो, भूकम्पपश्चात् पुस्तक मिल्काउन विभिन्न बहानाहरू खोजिएका छन् । पुस्तकालयका पुस्तक प्रयोगका दृष्टिले सार्वजनिक सम्पत्ति हुन् । यहाँबाट एउटा मात्रै पुस्तक हराउँदा सयौंले आलोपालो गरि पढ्न पाएनन्, यसले दीर्घकालीन घाटा दिलाउँछ”, उनी भन्छन् ।

शिक्षा मन्त्रालय अन्तर्गतका पुस्तकालय समन्वय तथा अभिलेख शाखाका कर्मचारी तेजबहादुर थापा पुस्तकालय बेवारिसे अवस्थामा छ भन्ने जानकारी आफूहरूले पाएको बताउँछन् । “यस सम्बन्धमा छानबिन समिति गठन भएको छ, प्रतिवेदन आइसकेको छैन”, उनले भने ।

महत्त्वपूर्ण कागजात हराइसकेपछि छानबिन समिति !

नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत स्थापित ‘राष्ट्रिय पुस्तकालय’ केशर पुस्तकालयमा परिसरमा मिल्किएका करिब एक तिहाइ पुस्तक बोरामा सिलबन्द भइसकेपश्चात् शिक्षा मन्त्रालयको पुस्तकालय तथा अभिलेखालय शाखा प्रमुखको अध्यक्षतामा हालसालै ६ सदस्यीय एक समिति समेत गठन (२८ मङ्सिर) गरिएको छ, जसले आफ्नो अन्तिम प्रतिवेदन मन्त्रालयसामू ७ दिन भित्रमा बुझाउने हिमाल दर्पणलाई बतायो ।

छानबिन समितिका प्रमुख एवम् शिक्षा मन्त्रालयको पुस्तकालय तथा अभिलेखालय शाखा प्रमुख यादवचन्द्र निरौला बाहिर आएको कुरामा सत्यता नरहेको बताउँदै भन्छन्, “मिडियाले इरिटेसन गरिसक्यो । हामीलाई काम गर्नसम्म दिइएको छैन । हिजो पनि मिडियाकै, आज पनि मिडियाकै फोन उठाउँदा-उठाउँदा हैरान भइयो ।”

उनले मन्त्रालयकै भण्डार कक्षमा रहेका आर्थिक प्रशासन शाखा एवम् आन्तरिक र बाह्य लेखापरीक्षण भइसकेका ‘धुल्याउन मिल्ने’ कागजात मात्रै बाहिर निकालिएको दाबी गरेका छन् । “हामीले सरकारी कागजात धुल्याउने नियम २७मै टेकेर काम गरेका हौँ”, उनी अगाडि भन्छन्, “ठेकदार कम्पनीले ठाउँ खालि गर्न कागजात निकाल्दा पुस्तकालय पनि केही पुस्तकहरू परेका हुन् सक्छन् । हामीले छानिबिन गरिरहेका छौँ, हप्ता दिनमा प्रतिवेदन मन्त्रालयसमक्ष बुझाउनेछौँ ।”

उनले धुल्याउन निकाल्नुपूर्व पुस्तकालय एवम् मन्त्रालयको तर्फबाट आवश्यक समन्वय हुन् नसकेको भने स्वीकारे । “त्यस्ता महत्त्वपूर्ण पुस्तकहरू भेटिएमा पुस्तकालयलाई नै बुझाउनेछौँ । राष्ट्रिय अभिलेखालय प्रतिनिधि एवम् युनेस्को प्रतिनिधिहरूलाई पनि बोलाउनेछौँ । महत्त्वपूर्ण कागजात धुलिनेछैन”, उनले थपे । ३० सालदेखि ७० सालसम्म यहाँ रहेको मन्त्रालय अन्तर्गतका कागजात भएकाले कसले धुल्याउने भन्ने तय नभएको उनले बताए । पुस्तकालय प्रमुख यादवले समितिको छानबिनपश्चात् धुल्याउने काम अघि बढ्ने बताए ।

स्वप्न बगैँचा केसर महल एकीकृत विकास समिति  र व्यावसायिक चासो 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज सुवेदी, केशर शमशेरका छोरा लोकभक्त राणा, केशर पुस्तकालय पूर्व प्रमुख दशरथ मिश्र र स्वप्न बगैँचा विकास समितिका कार्यकारी निर्देशक डा. ध्रुवराज रेग्मीको नेतृत्वमा एक अध्ययन समिति बनेको थियो, जसले विकास समिति अन्तर्गत रहेको स्वप्न बगैँचाको कार्यक्षेत्र बढाएर स्वप्न बगैँचा विकास समिति (गठन) आदेश, २०५६ खारेज गरी त्यसैमा केशर महल पुस्तकालय समेत थपेर स्वप्न बगैँचा केसर महल एकीकृत विकास समिति गठन गर्न अघि बढेको थियो । समितिमा रहेका मिश्र बाहेक अन्य एकीकृत विकास समितिको पक्षमा देखिएको पाइएको थियो ।

केशर महल क्षेत्रको चल–अचल सम्पत्ति व्यक्तिसरह उपभोग गर्न पाउने अधिकारसहित व्यापारिक प्रयोजनको स्वार्थ राखेर एकीकृत विकास समिति गठनको प्रयासको विपक्षमा मत राख्ने व्यक्तिमध्ये आफू पनि एक रहेको बताउँदै निरौला भन्छन्, “जहाँसम्म पुस्तकालय परिसर वरपर व्यावसायिक चासो बढेको कुरा छ, हावा नचली पात हल्लिएको होइन भनेर बुझ्नुस् ।”

भुईंमा पुस्तक, टहरामा पुस्तकालय, आकाश चुम्दै व्यावसायिक भवन !

लेखक एवम् साहित्यपोस्टका सम्पादक आश्विन कोइराला ‘सार्वजनिक जग्गाको मनग्ये भूस्वामित्व र भवनप्रति व्यावसायिक आँखा बढेको र त्यसमा सरकारी प्रतिनिधिहरूको हातेमालो बढ्दै गरेको बताउँछन् । “राष्ट्रिय पुस्तकालय निर्माण स्थगित गर्ने निर्णयसम्म सरकार उत्रिसकेको छ भने पुस्ताकालयका जग्गाहरू सुरक्षित छ भनेर कसरी भन्ने ?”, उनी प्रश्न गर्छन् । उनी पुस्तकालयका जग्गामा पार्किङदेखि सपिङ मलसम्म बनाउने योजना लिएर व्यापरीहरू शक्तिकेन्द्र धाउने कसरतमा जुटिरहेको बताउँछन् ।

पुस्तकालयको दिगोपन मास्ने काम द्रुत गतिमा..!

“पुस्तकालयको भूस्वामित्वलाई लिएर व्यावसायिक चासो व्यक्त भइरहँदा पुस्तकालय तथा सूचना व्यवस्थापन निर्देशिका, २०६९ विपरीत पुस्तकालयको ‘दिगोपन मास्ने’ कामले गति लिएको प्रतीत हुन्छ,” पुस्तकालयकै एक पूर्व कर्मचारी बताउँछन् । “भुईँचालोको बहानामा पुस्तकालयसम्बन्धी सम्पूर्ण कार्यहरूको अनुगमन एवम् मूल्याङ्कन रोकिएको छ । पुस्तकालयलाई टहरामा सार्ने काम हुँदा पनि महत्त्वपूर्ण पुस्तकमाथि यस्तै हेलचेक्र्याइँ देखिएको थियो, अहिले त झन् सतहमै आयो”, उनी थप्छन्  ।

केशर पुस्तकालय परिसर पुग्दा, यादव-निरौलाले भनेसरह काम भइरहेको भने देख्न पाइँदैन । शिक्षा मन्त्रालय एवम् केशर पुस्तकालयकै लोगो अङ्कित कागजात एवम् पुस्तकहरू निजी संग्रहणमा पुगिसकेको शङ्का व्यक्त भएको पाइन्छ भने केही व्यक्तिहरूले स्कुटरमा केही थान पुस्तक राखेर बाहिरिएको प्रत्यक्षदर्शी  (पाठक) बताउँछन् । यसैगरि, करिब २० दिनदेखि चलिरहेको यस प्रक्रियामा केकस्ता पुस्तक बोरामा सिलबन्द भएका छन् भन्ने पनि खुलेको छैन ।

साथै, छानिबिन समितिको प्रतिवेदनप्रति विश्वस्त हुने बलियो आधार पनि देख्न सकिएको छैन । यसका लागि पुस्तकालयले आफूसँग रहेका कुन अवस्थामा रहेको, कति क्षति पुगेको र कति हराएको भनि प्रष्टसाथ् सार्वजनिक गर्नुपर्ने माग आम पाठक एवम् पुस्तक प्रेमीहरूको रहेको छ ।

टहरामा थुनिएको ऐतिहासिक केशर कलेक्सन:

केशरशमशेरले सरकारलाई दान दिएको केशर पुस्तकालयमा रहेको केशर कलेक्सन अर्थात् केशरशमशेरले हस्तान्तरण गरेका पुस्तकहरू आमपाठकलागि खुला गरिएको छैन । पुस्तकालय प्रशासनले केशर महल परिसरको दक्षिण पश्चिमको भागमा अस्थायीरूपमा ऐतिहासिक केशर कलेक्सनलाई राखेको पुस्तकालय प्रमुख यादवले बताए  । “ठाउँको अभाव एवम् महत्त्वपूर्ण पुस्तकहरू रहेकाले पुनर्निमाणपश्चात् मात्रै करिब ३० हजार पुस्तक रहेका यो कलेक्सन खुला गरिनेछ । केशर कलेक्सन पुस्तकहरू पनि सुरक्षित छन्”, उनले भने  ।

अस्थायीरूपमा टहरामा राखिएको ऐतिहासिक केशर कलेक्सन

पुस्तकालयभित्र रहेका नेपाली, अंग्रेजी, बालशाखा र पत्रपत्रिका शाखा मात्रै हाल सन्चालनमा आइरहेको छ । युनेस्कोले सूचीकृत गरेको नवौं शताब्दीको सुश्रुसंहितासहित हस्तलिखित–ग्रन्थहरू ६७५ थान, एक थान किताबी फर्मको क्याटलगसहित अहिलेसम्म क्याटेगोराइज्ड नभएका केही हस्तलिखित ग्रन्थहरू समेत छन् । २०२६ साउन १ देखि सरकारको स्वामित्वमा रहेको पुस्तकालयमा केशर शमशेरले विसं १९६५ देखि संकलन गरेका किताब रहेका छन् ।

पुस्तकालय समेत सेवकहरूको जागिर खाने थलो बन्यो !

इतिहासविद् डा. महेशराज पन्त केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालयसहित देशैभर अकर्मण्यता बढेको बताउँछन् । “तपाईँलाई भनौँ, भुईँचालोमा मेरो पनि पुस्तकालय ढलेको थियो । मसँग चानचुन  १५ हजार जति पुस्तक, पत्रपत्रिका, अभिलेख, चिठीपत्र छन् । म एक्लो व्यक्तिले भुईँचालोपश्चात् ६ महिनामै त्यसलाई व्यवस्थापन गरिसकें । त्यत्रा कर्मचारी पालेको मन्त्रालय मातहतका पुस्तकालयहरू यतिका वर्षसम्म के हेरेर बसिरहेका ? संरक्षणको कुर्सीमा बसेकाहरू आफ्नो ढुकुटीमा रहेका सामग्रीलाई न्याय गर्न सक्ने योग्यताका छैनन् । मिडियामा आएको झुटो हो भन्न उनीहरूलाई जान हुनुपर्ने हो”, उनी भन्छन् । यस्ता पुस्तकालयसहित एकेडेमी लगायतका संस्थाहरू शासकहरूले आफ्ना सेवकहरूलाई जागिर खुवाउन खोलेको समेत उनी बताउँछन् ।

‘संशोधन मण्डल’ नामक करिब ८० वर्ष पुरानो संस्था अन्तर्गत रहेको सो पुस्तकालय रेखदेखका लागि पन्त आफैँले तलब दिएर ३ कर्मचारी समेत राखेका छन् । इतिहास तथा संस्कृतिका विषयमा जिज्ञासा राख्ने जोकोहीलाई अध्ययनका लागि पुस्तकालय खुला छ । यसलाई महेशराजले आफ्नै एकल आर्थिक योगदानमा चलाइरहेका छन् ।

पन्त ०१९ सालको एक घटना स्मरण गर्दै भन्छन्, “ केशर शमशेरको ०१९ सालमा परलोक भयो । त्यतिबेला मेरो उमेर १८ वर्षको थियो । मलाई पुस्तकालय गइरहने पर्ने कुत्कुतीले छोएको थियो । त्यतिबेला त्यहाँ पाटनका एक स्टाफ मात्रै थिए । उनी एक्लैले हजारौँ किताब मिलाएर राख्ने, फोटो एल्बमको जतन गरेको देखेर छक्कै परेँ ।”

सरकारसँग नै पुस्तक र पुस्तकालय जोगाउन इच्छाशक्ति नभएको समेत उनले बताए । “हातले लेखेका त्यत्ति महत्त्वपूर्ण ग्रन्थहरू भएको पुस्तकालय जोगाउन खै राज्य अगाडि सरेको ? तलबभत्ता खान आएका कर्मचारीलाई त्यस कुराको महत्त्व भए न जोगाउँदा हुन् । शिक्षा मन्त्रालय, पुरातत्त्व विभाग सबैतिर अकर्मण्यता बढेको छ, युवाहरू जुट्नुस् । पुस्तक र पुस्तकालय बचाउनुस्”, उनले भने । अहिलेको पुस्तक एवम् पुस्तकालय नीतिले मानदेवको पालाका मात्र होइन, पृथ्वीनारायण शाहको पाला अभिलेखको अध्ययन गर्न सक्ने जनशक्ति उत्पादन गर्न नसकेको समेत उनले बताए । “यो व्यक्तिको दोष होइन, हाम्रो दूषित पढाइको दोष हो”, उनी भन्छन् ।

आफ्नो घर आइपुगेकी राष्ट्रपति विद्यापति भण्डारीलाई ऐतिहासिक ग्रन्थ देखाउँदै डा. महेशराज पन्त

शिक्षा मन्त्रालय ३० सालमा केशर महलमा सारिएपश्चात् नै पुस्तक, पुस्तकालय र भवनको दुर्नियत सुरु भएको राष्ट्रिय पञ्चायत सदस्य एवम् पूर्व शिक्षामन्त्री (०२४) सुरेन्द्रबहादुर बस्नेत बताउँछन् । उनकै पालामा केशर पुस्तकालय राज्य मातहत आएको थियो । केशरसमशेरकी महारानीसँगको भेटबारे बताउँदै उनी भन्छन्, “केशरशमशेरकै स्मृतिमा उहाँकै नाममा यसलाई राष्ट्रिय अभिलेखालयका रूपमा विकास गरी बृहत्तर स्वरूप दिनेबारे छलफल भयो । मैले पुस्तकालय र त्यसको भवन राज्यलाई दिनुपर्‍यो भनेर कुरा राखेँ । साथै, त्यसको सञ्चालनार्थ कोष स्थापना गर्न १५ लाख रुपियाँका लागि पनि अनुरोध गरेँ ।  उहाँ पुस्तकालय र भवन दिन राजी मात्र हुनुभएन, राष्ट्रिय स्तरको यस्तो महान् काम गर्न लागेकामा खुसी पनि हुनुभयो (नेपाल म्यागेजिन,केशर पुस्तकालयको हस्तान्तरण) ।

‘पुस्तक र पुस्तकालय बचाऔँ’ अभियान

यता, केशर पुस्तकालय प्रमुख सुरेश कुमार यादव र निरौलाको टोली आज अधिकांश समय केशर पुस्तकालय बाहिर रहेका थिए । “हिजो दिउँसोदेखि नै उहाँलाई भेट्न सकिएन, बाहिर छु भन्ने खबर गर्नुभयो”, केशर परिसर पुगेका अर्का मिडियाकर्मीले बताए । हिमाल दर्पणकर्मी राजु झल्लु प्रसादसहित नेपाली भाषा, साहित्य एवम् इतिहास,संस्कृति प्रेमीहरूले ‘पुस्तक र पुस्तकालय बचाऔँ (Save Books, Save Libraries)’ अभियान सुरु गरेसँगै केशर परिसरसहित अन्य पुस्तकालयहरूमा मिडिया एवम् अन्य जागरूक व्यक्तिको चहलपहल बढेको छ  ।

संविधान प्रदत्त मौलिक हकहरूमध्ये सूचनाको हकलाई सुनिश्चित गरी सोको अधिकतम् उपयोग गर्नका लागि सूचनाका स्रोतहरूमा नागरिकको सहज र सरल रूपमा पहुँच पुर्याउन स्थापित पुस्तकालयहरूको भूस्वामित्व र भवनमाथि व्यावसायिक चासो बढिरहेको आंकलन सहित दबाबस्वरूप यस अभियान अगाडि बढेको हो । अभियानले लोकतन्त्रमा पुस्तकमाथिको हस्ताक्षेप निरन्तर बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै ‘पुस्तक, पुस्तकालय र पाठक’बीचको आपसी समन्वयता बढाउन सार्वजनिक पुस्तकालयको महत्त्व उजागर गर्न खोजेको बुकाहोलिक्सको एडमिन सगुना शाहले बताइन् ।

नवौं शताब्दीको सुश्रुसंहिता (दायाँ) सहित युनेस्कोले सूचीकृत गरेको आधिकारिक  सर्टिफिकेट (बायाँ), तस्बीर: राजु झल्लु प्रसाद