साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हिन्दू समाजमा ब्राह्मणवादी पितृसत्ता

रुकुम घटनालाई ब्राह्मणवादी पितृसत्ताको आँखाबाट पनि विश्लेषण गर्न जरुरी छ

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

यो लेख हामीले नयाँ पत्रिकाको शनिबार अंक झन् नयाँबाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख सन्जोग ठकुरीले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिकामै पढ्न पनि सक्नुहुने छ ।

bahulako diary small and inside post

===================================

शक्ति र पहुँचको केन्द्र पुरुष छन् र हुनुपर्दछ भन्ने मान्यता व्याप्त भएको समाज नै पितृसत्तात्मक समाज हो, जहाँ महिलाको व्यक्तिगत र सार्वजनिक जीवनमाथि पुरुषले विभिन्न तरिकाले हस्तक्षेप गरिरहेका हुन्छन् । ब्राह्मणवाद भनेको ब्राह्मणविरोधी सोच होइन, तर कसरी हाम्रो धार्मिक, सांस्कृतिक र सामाजिक मान्यताहरू निश्चित जातका मानिसका लागि फलदायी सिद्ध हुन पुग्यो र एकै समाजमा बस्ने अर्को समुदायमाथि थिचोमिचो भएको छ भनेर विभेदको जरो पत्ता लगाइएको सोच हो ।

हाम्रो हिन्दू धर्मको सामाजिक परिधिमा ब्राह्मणहरूलाई पहिलो दर्जाको नागरिकका रूपमा स्थापित गरिएको छ र महिला र शुद्रलाई तुच्छ जाति भनेर व्याख्या गरिएको छ । यही ब्राह्मणवादको जगमा जात, वर्ग र लैंगिक दृष्टिकोणको विश्लेषण नै यहाँ चर्चा गर्न खोजिएको ब्राह्मणवादी पितृसत्ता हो । यो शब्दलाई सबैभन्दा पहिले भारतका इतिहासकार उमा चक्रवर्तीले प्रयोगमा ल्याएका थिए ।

कसरी हिन्दू समाजमा ब्राह्मणवादभित्र पितृसत्ता गढेर रहेको छ भन्ने विषयमा तथ्यगत आधार प्रस्तुत गर्नुभएको इतिहासकार चक्रवर्तीले धर्म, आर्थिक रूपमा पुरुषप्रति निर्भर बनाइनु, परिवारको प्रमुख पुरुष बनाइनु, पुरुष समर्थित असल महिलाका मानकहरू स्थापित गरिनु र यस व्यवस्थाका विरोधमा उत्रने महिलालाई दण्डसजायको व्यवस्था गरी समाजमा यस व्यवस्थालाई स्थापित गर्न महिलाको (बाध्यात्मक) साथ पनि लिइएको बताउँछन् ।

नेपाल र भारतमा हिन्दुत्वको वर्चस्व छ फलस्वरूप यसका विचारले हाम्रो विचारधारा, संस्कार, दृष्टिकोण, व्यवहार सबैमा प्रभाव पारेको छ । मनु र कौटिल्य त्यस्ता हिन्दू दार्शनिक हुन् जसले हिन्दू समाजको निर्माणमा ठूलो प्रभाव जमाए र महिलाको धर्मलाई स्त्रीधर्म भनी व्याख्या गरे । स्त्रीधर्मका बारेमा हिन्दू धर्म र यसका मिथकहरूमा पनि थुप्रो उदाहरण भेटिन्छन् ।

 

ब्राह्मणवादी पितृसत्ताको सबैभन्दा बलियो र सर्वस्वीकार्य हतियार हो स्त्रीधर्म । ब्राह्मणवादी पितृसत्ताले महिला र दलित समुदायलाई संगठित रूपमा ठूला जातका पुरुषहरूको अधीनमा राख्दछ र उनीहरूको श्रम, सम्पत्ति, शरीर र जीवनमाथि नियन्त्रण गर्दछ । यस्तो नियन्त्रणका लागि महिलाको व्यवहार कस्तो हुनुपर्छ, स्त्रीधर्म भनेको के हो भन्ने व्याख्या शक्तिशाली ब्राह्मण पुरुषले गर्दछन् र महिलाहरूलाई पुज्य हुनका लागि आफ्नो जातका पुरुषप्रति आज्ञाकारी र शुद्ध हुनुपर्ने मान्यता अघि सार्दछ ।

यहाँ शुद्धतामा ठूला जातिकै पुरुषसँग सम्बन्ध स्थापित गर्नुपर्ने, कौमार्य र महिलाको यौनिकतामाथिको नियन्त्रण झल्किन्छ । समाजमा नियन्त्रणका अनेक तरिकाहरू माथिल्लो जातका पुरुषहरूले बनाएका हुन्छन् जस्तो कि सम्पत्ति र स्रोतमाथिको पहुँच आफ्नो हातमा राखेर उनीहरू सदैव महिला र दलित समुदायका पुरुषहरूलाई आफ्नो अधीनमा राख्दछन् भने यस्तो प्रक्रियालाई वैदिक मान्यता प्रदान गरी उनीहरू पुस्तौँपुस्तासम्म समाजको एउटा ठूलो हिस्सामाथि मानसिक र शारीरिक रूपमा रजाइँ गरिरहेका हुन्छन् ।

जातीय शुद्धताको नाममा संगठित रूपबाटै महिलाको यौनिकतामाथि नियन्त्रण गरिएको छ । दलित समुदायका पुरुषसँगको सम्बन्ध स्थापित गर्नबाट रोक्न महिलालाई घरबाट बाहिर जान नहुने, परिवारले निरन्तर निगरानी गरिरहनुपर्ने नियम बनाइन्छ । अनि फेरि यस्ता नियमको परिपालनाका लागि महिलालाई नै खास जिम्मेवारी तोकिन्छ । पितृसत्ताले जब महिलालाई मानसिक, सामाजिक, आर्थिक रूपले पुरुषको अधीनस्त बनाउँछ, तब कसरी महिला आफैँ पनि पितृसत्ताको पहरेदार हुन पुग्दछ भन्ने उदाहरण हो यो । अधिकांश रूपमा पुरुषले महिलाको शत्रु महिला नै हुन्छ भन्ने उदाहरण दिइरहँदा हामीले महिलामाथि पुरुषको स्रोत, पहुँच, यौनिकतामाथिको नियन्त्रणले उनीहरू बाध्यात्मक रूपले पितृसत्ताको पहरेदार हुन पुगेको कुरा बिर्सनुहुँदैन ।

मनु र कौटिल्यले त महिलालाई जाली, खराब, आफ्नो यौनिकता काबुमा राख्न नसक्ने, एकभन्दा बढी पुरुषसँग सहजै यौनसम्बन्ध राख्ने महिला खराब हुन्, पुरुषको हरदम नियन्त्रण आवश्यक भएको भनी व्याख्या गरेका छन् । जब पुरुष कोही महिलासँग यौनसम्बन्ध राख्दछ त्यसलाई जितको रूपमा व्याख्या गरिन्छ भने महिलाको यौनसम्बन्धले उसलाई समाजकै कलंकका रूपमा स्थापित गर्दछ ।

हिन्दू धर्मभित्रै नियोग भन्ने प्रथा पनि प्रचलनमा आएको पाइन्छ । जहाँ महिलाको प्रजनन क्षमताको प्रयोगका लागि पतिबाहेकका पुरुषसँगको संसर्गलाई स्वीकृति प्रदान गरिन्छ, तर यहाँ पनि पुरुषहरू नै विशेषाधिकारबाट सुसज्जति भएका हुन्छन् । अपोस्तम्भ धर्मसूत्र जसमा श्रीमान्ले आफ्नी श्रीमतीको अर्को पुरुषसँग यौनसम्बन्ध नहोस् भनी सुनिश्चित गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अर्थात् महिला पुरुषहरू मात्र भन्ने थाहा पाउनासाथ आफ्नो सबथोक बिर्सेर सुम्पन तयार हुन्छन् भन्दै मनु प्रत्येक उमेरका महिलालाई पुरुषले नियन्त्रण गरिरहनुपर्ने कुरा बताउँछन् ।

ब्राह्मणवादी व्यवस्थाका चिन्तक तथा प्रवद्र्धक मनुले त मनुस्मृतिमा महिलामा झुटो बोल्ने, गहनामा अधिक लोभ हुने, रिस, क्षुद्रता, विश्वासघात र खराब आचरण महिलाको चरित्र भनी व्याख्या गरेका छन् । उनी भन्छन्, ‘कमजोरभन्दा कमजोर पुरुषले पनि श्रीमतीमाथि नियन्त्रण गर्नु आवश्यक छ । सृष्टिकर्ताले महिलालाई प्रदान गरेको प्रजनन शक्ति, यौनिकताजस्ता विषयमा प्रत्येक पुरुषले कडाइका साथ नियन्त्रण गर्नुपर्दछ ।’ महाभारतमा भीष्मले युधिष्ठिरलाई बताएको अष्टावक्र र उत्तराको कथाबाट पनि यो कुरा स्पष्ट हुन्छ ।

बौद्ध धर्मावलम्बीहरूमाझ परिचित जातक कथाहरूमा पनि महिलाको यौनिकतामाथि नियन्त्रण गरिनुपर्ने जस्ता विषय उल्लेख गरिएको पाइन्छ । असतामनता जातक, बन्दनामोक्खा जातक यसका उदाहरण हुन् । कौटिल्यको अर्थशास्त्रमा घरभन्दा बाहिर रमाउने श्रीमती र महिलालाई बाँसले, हातले वा कोर्राले दिनको तीनपटकसम्म पिट्न सकिने उल्लेख छ भने रमाइलो गर्न जानेजस्ता काम गर्नबाट समेत वञ्चित गरी महिलाको घरबाहिरको सार्वजनिक जीवनमाथि अंकुश लगाइएको छ र सबैभन्दा ठूलो अपराध भनेर घरबाहिर रात बिताउनुलाई भनिएको छ । जसका लागि जरिवानासमेत डबल हुने उल्लेख अर्थशास्त्रमा गरिएको छ । त्यसैगरी श्रीमान्बाहेकका पुरुषसँग भेट्नु, कुरा गर्नुलाई समेत दण्डनीय कार्यका रूपमा उल्लेख गरिएको छ । यी सबै महिलाको गतिशीलतामाथिको संकुचनका विधि हुन्, जुन आज पनि हाम्रो समाजमा विद्यमान छन् । महिलाका आवतजावतमा नियन्त्रण गर्न उपल्लो जातका पुरुषलाई राज्यबाट समेत यथाशक्य शक्ति प्रदान गरिएको थियो ।

कौटिल्यले जातको विषयमा कुरा गर्दा सबैभन्दा घृणित अपराध भनेको उपल्लो जातिको महिला र तल्लो जातिको पुरुषबीचको सम्बन्ध भनी व्याख्या गरेका छन् । यस्तो सम्बन्ध राखेमा महिला माथिल्लो जातबाट तल्लो जातमा झर्ने भनेका छन् । गौतरियाले तल्लो जातिका पुरुषसँग सम्बन्ध कायम राख्ने महिलालाई सबैको अघि सार्वजनिक बेइज्जत गर्नुपर्ने र पुरुषलाई भने तत्काल मार्नुपर्ने बताए भने वशिष्टले यस्ता घृणित कार्यबाट शुद्धीकरणका लागि महिलाको कपाल मुण्डन गरी नांगो शरीरसहित सहर घुमाउनुपर्ने बताएका छन् ।

यसरी महिलाको यौनिकतामाथि नियन्त्रण गर्न खास तीन रणनीतिहरू अपनाइए । पहिलो धर्म, संस्कारका नाममा भगवान्का कथा, पाप र धर्मका उदाहरण दिइयो । दोस्रो स्त्रीधर्म र पतिव्रता हुनुपर्दछ भनेर सिकाइयो जसका लागि सीता र सती सावित्रीजस्ता पात्र उभ्याइए र एकै जातमा प्रेम र विवाह गर्नुपर्ने मानक स्थापित गराइयो । तेस्रो महिला आफैँले आदर्श महिला हुनका लागि प्रेरित गर्न विभिन्न संस्कार र प्रथाको माध्यमबाट आत्मसात् गर्न बाध्य बनाइयो । फलतः पितृसत्तात्मक ब्राह्मणवादले महिलाको अधिकारमाथि विजय हासिल गर्दै गयो ।

परापूर्वकालदेखि नै महिलाको यौनिकतालाई नियन्त्रण गरिनुपर्ने र यसका लागि पुरुषहरू बढी जिम्मेवार हुनुपर्ने कुरा सिकाउँदै आइरहेको छ । महिलाको स्वतन्त्रतामाथि अंकुश राख्न ल्याएको पतिव्रता धर्मको अवधारणा ब्राह्मणवादी पितृसत्ताको अचुक र बलियो हतियार थियो जुन समाजमा गहिरोसँग स्थापित र स्वीकार्य गराउन उपल्लो जातिका पुरुष सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय, लैंगिक अध्ययन विभागका प्रमुख प्रा.डा. बिन्दु पोखरेल भन्नुहुन्छ, ‘मनु एकातिर यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः अर्थात् जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ भगवान् प्रसन्न हुन्छन् भनेर उल्लेख गर्छन् र अर्कोतर्फ महिला भनेको पुरुषको अधीनमा बस्नुपर्ने र स्त्रीधर्म पालना गर्ने हुनुपर्छ भनी व्याख्या गर्दछन् ।

हामीले ब्राह्मणवादी पितृसत्तालाई यसरी नियाल्न आवश्यक छ ।’ यिनै व्याख्यालाई आधार मान्दै महिलाको यौनिकता काबु गर्न हाम्रो घरपरिवारमा छोरी कहाँ गइन्, कतिवेला आउलिन्, कोसँग भेट गर्ने र नगर्ने, कहाँ कसलाई भेट्ने र नभेट्ने, कुन जातिसँग सम्बन्ध बढाउने वा नबढाउनेजस्ता नियम बन्न पुगे । महिलाको यौनिकता काबुमा राख्ने पुरुष नै बलात्कारी, हिंस्रक पुष्टि भइरहँदासमेत यो अभ्यासले निरन्तरता पाइरह्यो ।

हाम्रो समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकको स्विकार्यतामा भएको समस्या पनि ब्राह्मणवादी पितृसत्ताकै उपज हो । जब यो समाजमा जैविक लिंग पुरुष भएको व्यक्ति आफूलाई महिलाका रूपमा परिभाषित गर्न खोज्दछ, तब पुरुष जन्माएका कारण प्राप्त गरेको सम्मान गुम्ने डरले अभिभावक यो स्वीकार गर्दैन भने जब यौनांग योनी भएको व्यक्ति आफूलाई मानसिक र सामाजिक रूपमा पुरुष भनी परिभाषित गर्दछ तब ब्राह्मणवादी पितृसत्ताले डोहो¥याएको मान्यता र नियम उल्लंघन हुने कारण समाजबाट उनीहरू अलग्याइन्छ ।

त्यसैगरी महिला र महिला, पुरुष र पुरुषबीचको सम्बन्ध त यसले नस्विकार्ने भइहाल्यो । र यस्ता अस्विकार्यता यसरी स्थापित भएका छन् कि हामीले उनीहरूको जीवनमा हिंसा गरिरहेका छौँ, विभेद गरिरहेका छौँ भन्नेसमेत हामीलाई हेक्का हुँदैन । छोरीलाई कुन जातको केटासँग प्रेम गर्ने, कसलाई कहाँ भेट्ने, सन्तानले आफूलाई कसरी परिभाषित गर्ने, कुन लैंगिक समुदायका व्यक्तिसँग प्रेम गर्ने भन्नेजस्ता विषयमा अंकुश लगाउनु आफैँमा मानवअधिकारको गम्भीर उल्लंघन हो, तर ब्राह्मणवादी पितृसत्तामा हुर्किएका हामी यसको विरोध गर्न परै जाओस्, बरु मान्छे मार्न पनि पछि पर्देनौँ ।

यी सबैबाट हामी के निष्कर्षमा पुग्न सक्दछौँ भने हाम्रो समाजको सामाजिक, सांस्कृतिक र राजनीतिक व्यवस्था जात, वर्ग र लैंगिक विभेदको त्रिकोणीय सम्बन्धबाट प्रस्फुटित भएको छ जहाँ महिलाको कुनै पनि किसिमको अभिव्यक्ति खासगरी यौनिकता र यौनिक अभिमुखीकरणलाई धर्म, पाप, खराब, न्याय, संस्कार, जात, भाषा, इज्जत, सुरक्षा, मायाजस्ता नाममा नियन्त्रण गरिन्छ । यो नै हामी बाँचिरहेको आजको नेपालको ब्राह्मणवादी पितृसत्ताको स्वरूप हो ।

अतः रुकुममा भएको घटना दलित युवाको हत्या वा दलित अधिकारको विषय मात्र पनि होइन । यो त सदियौँदेखि महिलाले कसलाई प्रेम गर्न हुन्छ, कुन जाति, कुन वर्ग, कुन ठाउँ र उमेरका पुरुषसँग सम्बन्ध जोडिनुपर्दछ, कुन उमेरमा प्रेम गर्ने र प्रेमीलाई भेट्ने कि नभेट्ने, पुरुषसँग मात्र सम्बन्ध राख्ने भनेर ब्राह्मणवादी पितृसत्ता (ब्राह्मनिकल प्याट्रियार्की)ले महिलामाथि लादिदिएको विभेदपूर्ण नियमको उदाहरण पनि हो । यसलाई ब्राह्मणवादी पितृसत्ताको आँखाबाट पनि विश्लेषण गर्न उत्तिकै जरुरी छ ।

जातीय शुद्धताको नाममा संगठित रूपबाटै महिलाको यौनिकतामाथि नियन्त्रण गरिएको छ । दलित समुदायका पुरुषसँगको सम्बन्ध स्थापित गर्नबाट रोक्न महिलालाई घरबाट बाहिर जान नहुने, परिवारले निरन्तर निगरानी गरिरहनुपर्ने नियम बनाइन्छ । अनि फेरि यस्ता नियमको परिपालनाका लागि महिलालाई नै खास जिम्मेवारी तोकिन्छ । पितृसत्ताले जब महिलालाई मानसिक, सामाजिक, आर्थिक रूपले पुरुषको अधीनस्त बनाउँछ, तब कसरी महिला आफैँ पनि पितृसत्ताको पहरेदार हुन पुग्दछ भन्ने उदाहरण हो यो । अधिकांश रूपमा पुरुषले महिलाको शत्रु महिला नै हुन्छ भन्ने उदाहरण दिइरहँदा हामीले महिलामाथि पुरुषको स्रोत, पहुँच, यौनिकतामाथिको नियन्त्रणले उनीहरू बाध्यात्मक रूपले पितृसत्ताको पहरेदार हुन पुगेको कुरा बिर्सनुहुँदैन ।

ब्राह्मणवादी सामाजिक व्यवस्थामा एकातर्फ समाजको एउटा निश्चित जाति र समुदायलाई पानी पनि नचल्ने भन्दै हेय भाव राखिन्छ भने अर्कोतर्फ लैंगिक रूपमा महिला पुरुष समान नहुने बरु पुरुष र श्रीमान्ले श्रीमतीलाई तह लगाएर राख्नुपर्ने सोचलाई अघि सार्दछ जुन हाम्रो नेपाली समाजले पनि स्वीकार गरेको कुरा हाम्रा दैनिक घटनाहरूबाटै प्रस्ट हुन जान्छ । रुकुममा भएको घटना यही ब्राह्मणवादी समाजको एउटा अंश हो । ब्राह्मणवादी पितृसत्ताले दलित समुदायका पुरुष र कथित ठूला जातिका महिलामाथि खासगरी उनीहरूकोे यौनिकतामाथिको नियन्त्रण हजारौँ वर्षअघिबाट गर्दै आइरहेको छ ।

प्रतिक्रिया
Loading...