साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सत्यमोहन जोशीले ‘अन्तिम इच्छा’ भन्दै बनाउन लगाएको गोप्य चित्र (सिफारिस)

यौनसँग जोडेर गलत व्याख्या गरिने डरले गोप्य रहँदै आएको थियो यो चित्र

Chovar Blues Mobile Size

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा, साहित्य, समाज र इतिहासका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख सेताेपाटीबाट लिएका हौँ । यो लेख सेताेपाटीका लागि सबिना श्रेष्ठले लेख्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई सेताेपाटीमै पनि पढ्न सक्नुहुनेछ ।

==============

सत्यमोहन जोशीको आग्रहमा लोक चित्रकारले बनाइरहेको चक्रसम्भर’ को पौभाः चित्र। तस्बिर: सुसन चौधरी/सेतोपाटी

 

संस्कृतिविद् सत्यमोहन जोशी अचेल बिरलै घरबाहिर ओहोरदोहोर गर्छन्।

sagarmani mobile size

बिरामी भएदेखि उनी बखुमबहालस्थित आफ्नो घर वरपरै हिँड्छन्। धेरै त खाटमा पल्टिएर बस्छन्। कुर्सीमा बसेर टोलाउँछन्। कहिलेकाहीँ ऊर्जा निकालेर घर आडैको लोक साहित्य परिषदको भवनसम्म उक्लन्छन्।

सन् १९८४ मा स्थापना भएको परिषदलाई जोशीले गत वर्ष आफ्नै जग्गा दिएर घरको आँगनमा स्थापना गराएका हुन्।

यहाँ उनले आफूले संकलन गरेका मुद्रा, टिकट, किताब लगायत सामग्री राखेका छन्। भविष्यमा मौलिक नेपाली सामग्री, कला र साहित्यको संग्रहालय बनाउने उनको सपना छ। अहिले भवनको तेस्रो तलामा उनले ‘चक्रसम्भर’ को पौभाः चित्र बनाउन लगाएका छन्।

करिब पाँच महिनादेखि बनाइन थालेको यो चित्र प्रसिद्ध पौभाः चित्रकार लोक चित्रकारको नेतृत्वमा बनिरहेको छ।

यो चित्र बनाउनुभन्दा केही महिनाअघि जोशीको भेट चित्रकारसँग भएको थियो। त्यस बेला आफ्नो ‘अन्तिम इच्छा’ भन्दै परिषदमा पौभाः चित्र राख्न जोशीले चित्रकारलाई प्रस्ताव राखे। जब–जब उनीहरूको भेट हुन्थ्यो, जोशीले आफ्नो इच्छा सुनाइहाल्थे।

‘उहाँले आफ्नो अन्तिम इच्छा नै भनेर भनेपछि जसरी पनि बनाउनैपर्छ भन्ने जिम्मेवारी आइलाग्यो,’ चित्रकारले सेतोपाटीसँग भने, ‘लोक साहित्य परिषदमा नेपाली मौलिक कला पनि संकलन होस् भनेर उहाँले यो भित्ते चित्र बनाउन भन्नुभएको थियो।’

जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसम्भर बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो। यसमा बज्रबाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ जसलाई चक्रसम्भर भनिन्छ।

जसले यो चित्र बुझेका छैनन्, उनीहरूले यसलाई यौनसँग जोडेर गलत व्याख्या गर्ने डरले यो लामो समय गुह्य चित्रका रूपमा रह्यो।

तर अहिलेको समयमा यस्ता चित्र गोप्य नै राख्ने हो भने हराउँदै जाने सम्भावना भएको लोक चित्रकार बताउँछन्।

‘यो कला बौद्धहरूको तान्त्रिक अभ्यास मात्र नभई जीवन बाँच्ने दर्शन हो। यो खुसी र आनन्दको चक्र हो,’ उनले भने, ‘यस्तो चित्र मान्छेले गलत तरिकाले बुझ्लान् भनेर नदेखाउने हो भने मान्छेले हेर्ने र बुझ्ने अवसरै पाउँदैनन्। उनीहरूको धारणा सधैं एउटै हुन्छ।’

सत्यमोहन जोशीले यही चित्र बनाउन लगाउनुको कारण खुलाउँदै चित्रकारले भने, ‘सत्यमोहन सरले चक्रसम्भरको दर्शन बुझ्नुभएको छ। दर्शन र कलाको संयोजन जुन छ त्यो नेपाली कलाको मौलिक विषय हो। यो कला गुह्य भएकाले मान्छेले सजिलै हेर्न पाउँदैनन्। त्यही भएर सार्वजनिक रूपमा संसारले हेर्न सकोस् भनेर उहाँले कलाको थिम चक्रसम्भर नै छान्नुभएको हो।’

चित्रकारका अनुसार यो चित्रलाई अभ्यन्तर र बाहियन्तर भनेर दुई हिसाबले हेर्न सकिन्छ।

बाहियन्तर भन्नाले मानिसको आँखाले देख्न सकिने कुरा हुन्। जस्तो– भगवानमा कस्तो रंग प्रयोग भएका छन्, के सामग्री बोकेका छन्, कस्ता बुट्टा कुँदेका छन्, प्रतीक के छ आदि। तर चित्रले बोक्ने कतिपय अर्थ शब्दले व्यक्त गर्न सकिन्न।

‘चित्रले देखाउन खोजेका प्रतीक, डिजाइनबारे त हामीले सजिलै भन्न सकौंला। त्यसबारे लेखहरू पनि लेखिएका छन्। तर कतिपय कुरा अभ्यास गर्ने पद्धति हुन्। त्यसलाई भनेर सकिन्न,’ चित्रकार दार्शनिकजस्तै चित्रको अर्थ बयान गर्न थाल्छन्, ‘यहाँ जे छ त्यो होइन। जे हुनुपर्ने हो त्यो यहाँ छैन। चित्र भए पनि कति कुरा गुह्य नै छ।’

बौद्धधर्मीहरूले यो चित्र बनाउँदा अभिषेक लिएर मात्र बनाउँछन्। जोशीको लोक साहित्य परिषदमा यो चित्र बनाउनुअघि पनि पूजाआजा भएको थियो। यो बनिसकेपछि पनि यसमा जीवन्यास र पूजा हुनेछ जसले यसको महत्व झनै बढाउनेछ।

चक्रसम्भरको बीचमा पाँचवटा बुद्ध छन्। हामीले देख्दै आएका बुद्धभन्दा फरक यी बुद्धलाई कतिपयले तिब्बती शैलीको पनि भन्छन्। बीचमा रातो रंगकी बज्रबाराही छन्। यी देवदेवीले कालरात्रि (काली) र भैरव (आली) लाई कुल्चिएका छन् जसलाई अज्ञानता कुल्चिएको भनेर चित्रकार बयान गर्छन्।

मुख्य चित्रका दायाँ-बायाँ स-साना आकारामा १२-१२ वटा भगवान छन्। ती भगवान केही योगिनी, केही परिवार र केही दिगपाल हुन्। यस्ता चित्र नियममा बसेर बनाउनुपर्छ। कतिवटा हात हुनुपर्छ, कस्ता गरगहना लगाइदिनुपर्छ, बाजा के कस्तो हुनुपर्छ, कुन भगवान कहाँ बस्छन् लगायत शास्त्रले नै निर्देशित गरेको हुन्छ।

‘पुरानो चित्र हेरेर बनाउनुपर्छ भन्ने छैन। शास्त्र अध्ययन गरेर नियमभित्र बनाउन सक्छौं,’ चित्रकारले भने।

यो चित्र झट्ट हेर्दा हामी रातो रंग बढी देख्न सक्छौं जुन नेपाली कलाको विशेषता भएको उनी बताउँछन्।

‘यो शैलीको चित्र विभत्स रसमा बनेको हुन्छ। चित्रको पृष्ठभूमिमा आगो बनाउनुपर्ने थियो। तर यसमा सौन्दर्य रस पनि जोडिने भएकाले आगोको गतिलाई बुट्टामा परिणत गरेर बनाएका हौं,’ उनले भने, ‘रातो र पहेँलोको प्रधानता हुनु नेपाली कलाको विशेषता हो। हामीले पुराना कलाहरू हेर्ने हो भने त्यसमा पनि रातोको प्रधानता बढी पाउँछौं।’

यो चित्र २२ फिट चौडा र साढे पाँच फिट लामो छ। सिधै भितामा चित्र बनाउँदा बिग्रन सक्ने डर भएकाले काठको फलेकमा कपडा राखेर लामो समय बचोस् भनेर बनाइएको छ। यसलाई पछि कतै सार्न पर्‍यो भने पनि सजिलो हुन्छ।

यो चित्र बनाउन चित्रकारसँगै उनका विद्यार्थी कलाकारहरू लक्ष्मी शाक्य, रीना शाक्य, राजन घटुवा, मनिष कायस्थ, रविन महर्जन खटिएका छन्। उनीहरूमध्ये केहीले पाटनढोकामा केही वर्षअघि अष्टमातृकाको चित्र पनि कुँदेका थिए।

जोशीको यो परियोजनामा आफू जोडिन पाउँदा निकै खुसी र भाग्यमानी ठान्छन् उनीहरू।

आफ्नो खुसी साट्दै रीनाले भनिन्, ‘लोक सर वरिष्ठ कलाकार हो। उहाँको रोहवरमा बसेर काम गर्न पाउँदा र सत्यमोहन जोशीको इच्छा पूरा गर्न पाउँदा एकदम खुसी लागेको छ। यस्तो मौका बिरलै पाइन्छ। हामी एकदम भाग्यमानी हौं।’

अर्की कलाकार लक्ष्मीले चित्रकारसँग पाँच वर्षदेखि पौभाः बनाउन सिकेकी हुन्। उनले हामीलाई चित्रमा प्रयोग भएका रंगहरू यो चित्रजस्तै विशेष भएको बताइन्।

चित्रमा सबै प्राकृतिक रंग प्रयोग भएका छन्। पहेँलोका लागि हरिताल, निलोका लागि ल्यापिस र इन्डिगोका लागि बिरूवा, हरियोलाई मालाकाइट आदि। गमका रूपमा सरेसको प्रयोग भएको छ।

‘हामीले पुरानो प्रविधि नै चित्र बनाउन अपनाएका छौं,’ उनले भनिन्, ‘१२-१३औं शताब्दीका चित्र यही तरिकाले बन्थे। कतिपय अझै हामी देख्न सक्छौं। घामपानीबाट जोगाउने हो भने यो चित्र वर्षौं वर्ष जोगाउन सकिन्छ। अरू रंगहरू फिक्का भएर गए पनि यो केही हुँदैन।’

चक्रसम्भरको काम सक्न अझै करिब दुई महिना लाग्ने कलाकारहरू बताउँछन्। यसमा अब पृष्ठभूमिमा भएको मिहिन बुट्टाहरू बनाउन, ‘सेडिङ’ गर्न बाँकी छ। गरगहनामा सुन हाल्न बाँकी छ।

यो चित्र बनाउन ४३ लाख रूपैयाँको बजेट अनुमान गरिएको छ। यसमा सत्यमोहन स्वयंले ३ लाख ५० हजार हालेको चित्रकार बताउँछन्। चित्रको ‘सतोरी सेन्टर फर द आर्टस्’ नामक गैरसरकारी संस्थाले अभिलेखीकरण पनि गरिरहेको छ। चित्रमा रहेका देवताको निर्माणबारे जानकारी प्रदान गर्ने, पुस्तक र वृत्तचित्र निर्माण गर्ने उनीहरूको लक्ष्य छ।

बौद्ध धर्मको मुख्य दर्शन शून्यता हो। बौद्ध धर्मसँगै जोडिएको यो चित्र पनि शून्यतातर्फ अभिमुख भएको चित्रकार बताउँछन्।

‘चित्र बनाउनु भनेको आफूलाई ऐनामा हेरेजस्तै हो। हामी आफैं चक्रसम्भर बन्ने हो,’ उनले भने।

यस्तो लाग्छ, यो चित्र बनाउन लगाएर सत्यमोहन जोशी पनि चक्रसम्भर बन्ने प्रयासमा छन्!

वा भनौं, चक्रसम्भरको दर्शनजस्तै ज्ञान र आनन्दको चक्रमा रमाउने प्रयासमा छन्।

तस्बिर र भिडिओ: सुसन चौधरी/सेतोपाटी

प्रतिक्रिया
Loading...