साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

खुल्यो खस भाषाको वर्ण पहिचान

खस भाषामा २४ वटा स्वर र २९ व्यञ्जन वर्ण

 

गणेश राई

काठमाडौँ, जेष्ठ २२ / खस भाषाको वर्ण पहिचान गरिएको छ । भाषा आयोगको पहलमा भाषाशास्त्रीसहितको टोलीले वर्ण पहिचान गरेको हो । खसलाई नेपाली भाषाको माउ भाषा मानिन्छ ।

bahulako diary small and inside post

‘कोरोना महामारी आउनुअघि जुम्लाबाट खस भाषाका प्रतिनिधि बोलाएर काठमाडौंमा छलफल गरेका थियौं,’ आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘प्रस्ट नभएकाले भाषा वैज्ञानिकको टोलीसहित स्थलगत अध्ययन अनुसन्धान गरेका छौं ।’ भाषा वैज्ञानिक प्राध्यापक माधवप्रसाद पोखरेलको टोलीले खससहित ६९ मातृभाषाको वर्ण पहिचान गरेको हो ।

नेपाली भाषाको उद्गम थलो जुम्लाको सिंजा क्षेत्रलाई मानिन्छ । त्यहाँ बोलिने भाषालाई खस भाषा भनिन्छ । नेपाली भाषाको भाषिका मानिएको खस भाषा आज पनि कर्णाली प्रदेशमा बोलिन्छ । ‘११औं शताब्दीमा जुम्ला, सिंजा र दुल्लु क्षेत्रमा फेला परेको नेपाली भाषामा लेखिएको अभिलेख नै नेपालभरि भेटिएकामध्ये सबैभन्दा पुरानो अभिलेख हो,’ प्राध्यापक पोखरेल भन्छन्, ‘नेपाली भाषा त्यहाँ (जुम्ला) बाट अरुतिर फैलिएको देखिएको छ । तर हामीले नेपाली वर्णमालामा उनेर खस मातृभाषी समुदायलाई अन्यायमा पारेका रहेछौं ।’ सिंजा सभ्यताबाट विकसित खस भाषा समयानुकूल नाम परिवर्तन भएर पर्वते भाषा, गोर्खा भाषा हुँदै नेपाली भाषा बनेको हो ।

भाषा वैज्ञानिक पोखरेलले खस भाषाको बेग्लै विशेषता रहेको सुनाए । ‘मैले मेरा चेला रामविक्रम सिजापतिलाई जुम्ली भाषामा विद्यावारिधि गराउँदा अग्रस्वर ‘स’ को ‘ह’ हुँदैन भनेर सिकाएँ,’ स्थलगत अध्ययनपछि आफ्नो सैद्धान्तिक बुझाइमा परिवर्तन आएको उल्लेख गर्दै पोखरेलले भने, ‘तर त्यसो होइन रहेछ । त्यहाँ स्थानीय भाषीले ‘सात’ भनेर उच्चारण गर्न सक्दैनन् ‘हात’ भन्दारहेछन् । ‘स’ र ‘ह’ वर्णको अघोष दुइटै ध्वनि हुँदो रहेछ ।’ उनका अनुसार संस्कृतमा इकार र उकार मात्र ह्रस्व–दीर्घ हुने नियम छ । तर खस भाषामा सबै स्वर ह्रस्व–दीर्घ हुन्छ । ‘खस भाषाको विशेषतै फरक छ,’ उनले भने, ‘नेपाली वर्णमालामा उनीहरूको मातृभाषा खस लेख्न नसकिने रहेछ ।’ खस भाषामा करिब २४ वटा स्वरवर्ण र बाँकी व्यञ्जनवर्णसहित ५३ वटा वर्ण रहेका छन् ।

आयोगले प्रतिवेदनको तयारी चरणमा खस भाषालाई कर्णाली प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गर्न चाहेको थियो । भाषाशास्त्रीले ‘नेपाली भाषा र खस भाषा एउटै होइन । कर्णाली प्रदेशका बहुसंख्यकले बोल्ने मातृभाषालाई खस भाषा भन्छन् । त्यसैले खस भाषालाई सरकारी कामकाजको भाषा हुनुपर्छ,’ भनेर आयोगलाई सुझाएका पनि थिए । तर राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार खस भाषा बोल्नेको संख्या १ हजार ७ सय ४७ रहेको छ । तथ्यांकलाई आधार मानेर कर्णाली प्रदेशमा मगर भाषा सरकारी कामकाजको भाषा हुन सक्ने सिफारिस गरेको छ । आयोगले कर्णालीका बहुसंख्यक मानिसले बोल्ने खस भाषाको गहन अध्ययन, अनुसन्धान कार्य अघि बढाएको हो ।

जुम्ला सदरमुकामस्थित चन्दननाथ नगरपालिका आचार्यबाडाका रमानन्द आचार्यले डेढ दशकभन्दा बढी समयदेखि संकलन तथा लेखन गरी करिब ३३ हजार शब्दको ‘खसिया आखर (नेपाली भाषाको केन्द्रीय भाषिकाको शब्दकोश)’ तयार पारेका छन् । ‘काठमाडौंवासीले खस भाषामाथि जानीजानी गल्ती गरेका छन्,’ ७७ वर्षीय आचार्य भन्छन्, ‘नेपाली भाषाको माउभाषा भएकाले यसको मौलिकता बचाउनुपर्छ, जसले गर्दा नेपाली भाषा समृद्ध बन्छ ।’ भाषा जहिले पनि अग्रगामी हुने तर स्थानीय जनजीवनले बोल्दै व्यवहारमा राखेका भाषाको अभिलेखीकरण जरुरी रहेको उनको भनाइ छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले खस भाषाबारे भाषा आयोगबाट आधिकारिक अध्ययन, अनुसन्धान र वर्ण पहिचान भएको बताए । ‘हामी जे बोली बोल्छौं, औपचारिक कार्यक्रममा पनि त्यही बोल्छौं,’ उनले भने, ‘खस भाषाको औपचारिक अध्ययन भएको थिएन । कतिपय लिपि चिह्न, संकेतहरू थिएनन् अब हामी खस भाषालाई कम्तीमा पालिकाको कामकाजको भाषा बनाउनेछौं ।’ खस भाषाको विकासका निम्ति योजनाबद्ध अघि बढ्ने, विभिन्न पालिकाबीच समन्वय गर्ने, अध्ययन तथा अनुसन्धान निकायसँग साझेदारी गर्ने अध्यक्ष धितालले बताए ।

संविधानले नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा भनेको छ । ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ,’ संविधानमा छ, ‘भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ ।’

भाषा वैज्ञानिक पोखरेलले खस भाषालाई सरकारी कामकाजको भाषा बनाउनेबारे राजनीतिक निर्णयमा भरपर्ने बताए । ‘राजनीतिक निर्णयबिना भाषा वैज्ञानिकले सरकारी कामकाजको भाषा टुंगो लाउने होइन,’ उनले भने, ‘तर सिंजा या जुम्लाका केटाकेटीलाई आफ्नै मातृभाषामा शिक्षा दिनुपर्‍यो भनेचाहिँ ५० वटाभन्दा बढी वर्णको उपयोग गरेर किताब लेख्यो भने मात्रै पढ्न सजिलो हुन्छ । नेपाली वर्णमालामै सिकाउँछु भन्यो भने अन्याय हुन्छ ।’ संविधानले मातृभाषामा आधारभूत शिक्षा आर्जन गर्ने अधिकार प्रदत्त गरेकाले औपचारिक पठनपाठनमा जोड दिनुपर्ने पोखरेलले बताए ।

प्रतिक्रिया
Loading...