साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्राचीन नेपालमा नारीशिक्षा

प्राचीन नेपालमा सर्वसाधारण नारीहरूको शिक्षामा पहुँचबारे थाहा हुन नसके पनि लिच्छवि, मल्ल र शाह तिनै कालमा राजमाता, राजपत्नी, राजकुमारीहरूलाई शास्त्रीय र राजकाज सम्बन्धी शिक्षा दिने गरिएको पाइन्छ।

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा, साहित्य, समाज र इतिहासका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

bahulako diary small and inside post

हामीले यो लेख हिमालखबरबाट लिएका हौँ । यो लेख बाह्रखरीका लागि धनवज्र वज्राचार्यले लेख्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई हिमालखबरमै पनि पढ्न सक्नुहुनेछ ।

==========

धनवज्र वज्राचार्य

लिच्छविकाल

लिच्छविकालमा शिक्षाको स्वरूप दुईथरी देखापरेको छ। एक शास्त्रीय शिक्षा, अर्को व्यावसायिक शिक्षा। वेद, उपनिषद्, पुराण, धर्मशास्त्र, शस्त्रविद्या, ज्यौतिषशास्त्र, आयुर्वेदशास्त्र, व्याकरण, साहित्य आदि विषयको शिक्षा शास्त्रीय शिक्षा अन्तर्गत पर्छन्। आफ्नो कुल परम्परागत पेशागत शिक्षा व्यावसायिक शिक्षाभित्र पर्छ।

लिच्छविकालका अभिलेख केलाई हेर्‍यौं भने शासक, ब्राह्मण आदि उच्च वर्ग शास्त्रीय शिक्षा लिन्थे भन्ने थाहा पाइन्छ। प्रसिद्ध चिनियाँ यात्री युआन च्वाङ्गको वर्णनबाट पनि उक्त कुराको पुष्टि हुन्छ। उच्च वर्ग शिक्षित छन्, तल्लो वर्ग चाहिं शिक्षित छैनन् भन्ने भाव चिनियाँ यात्रीको वर्णनमा परेको छ।

लिच्छविकालका प्रसिद्ध शासक मानदेव, अंशुवर्मा, जयदेव (द्वितीय) आदि विद्वान् थिए; उनीहरूले शास्त्रीय शिक्षा राम्ररी लिएका थिए भन्ने कुरा लिच्छविकालका अभिलेखबाट थाहा पाइन्छ। मानदेवका पालाका अभिलेखमा उनलाई ठाउँठाउँमा विद्वान् भनी लेखिएको पाइन्छ। स्थितिबन्देजका लागि अंशुवर्माले अनेक शास्त्रहरू पढेको उल्लेख अभिलेखमा भएको छ। विद्वान् जयदेव (द्वितीय) का प्रौढ रचनाको नमूना नै अभिलेखमा पाइन्छ।

यी बाहेक लिच्छविकालका अरू शासकले पनि शास्त्रीय शिक्षा लिएको थाहा पाइन्छ। आफ्नो आफ्नो पेशागत शिक्षा पनि त्यस वेला प्रचलित थियो। पेशागत शिक्षाका लागि अनेक ‘गोष्ठी’ कायम थिए। उदाहरणार्थ अर्चागोष्ठी (मूर्ति बनाउन सिकाउने गुठी), प्रवहण गोष्ठी (गाडाको प्रबन्ध गर्ने गुठी), प्रणाली गोष्ठी (ढुङ्गे धाराको प्रबन्ध गर्ने गुठी) आदिलाई देखाउन सकिन्छ।

(शक) संवत् ४२१ (विसं.५५७) को चाबहिलको शिलालेख।

यी अलिकता कुराबाट लिच्छविकालमा उच्च वर्गमा शास्त्रीय र साधारण वर्गमा व्यावसायिक शिक्षा दिने प्रथा प्रचलित थियो भन्ने हामी थाहा पाउँछौं। अब हामीले त्यस वेला नारीशिक्षाको स्वरूप कस्तो थियो भनी केलाई हेर्नुपरेको छ। यसबारे अभिलेखबाट राम्ररी प्रकाश पर्दैन तापनि नारी शिक्षाको स्वरूपबारे अलिकता सङ्केत भने हामी पाउन सक्छौं।

मानदेवको चाँगुको अभिलेख राम्ररी केलाई अध्ययन गर्‍यौं भने मानदेवकी आमा राज्यवती प्रभावशाली व्यक्तित्व भएकी शिक्षित नारी थिइन् भन्ने सङ्केत पाइन्छ। हुन त उनले पाएको शिक्षाको स्पष्ट उल्लेख त्यहाँ परेको छैन। तर, राज्यवतीलाई त्यस अभिलेखमा ठूलो कुल (राजकुल) मा जन्मेकी भनी लेखिएको छ। राजपुत्रीहरूलाई एक किसिमको शिक्षा दिने प्रथा हुँदा राज्यवतीले पनि शिक्षा पाएको अनुमान स्वतः गर्न सकिन्छ।

मानदेवका रानीहरूमा ‘श्रीभोगिनी’ बडामहारानी (देवी) हुन्। राजा मानदेवको ‘मानाङ्क’ मुद्रामा समेत ‘श्रीभोगिनी’ अङ्कित गरिएको छ। यसबाट ‘भोगिनी’ प्रभावशाली देखिन्छिन्। ती भोगिनीले पनि शिक्षा पाएकी थिइन् भन्ने सङ्केत सूर्यघाटको अभिलेखबाट पाइन्छ। मानदेवकी छोरी विजयवतीको सो अभिलेखमा आमा भोगिनीको वर्णन गर्दा उनलाई ‘विनयप्रवीणा’ भनी लेखाइएको छ। ‘विनय’ भनेको गर्न हुने, गर्न नहुने आदि विषयको ज्ञान हो।

ठबहिल भगवान्बहालमा रहेको प्रसिद्ध प्रज्ञापारमिता ग्रन्थ।

कौटलीय अर्थशास्त्रमा यस विषयको ‘विनयाधिकरण’ भन्ने एक सिङ्गै अधिकरण नै रहेको छ। त्यहाँ राजकुमारले यस्तो शिक्षा लेओस् भन्ने प्रसङ्गमा ‘विनयं भच्छेत्’ भनी धेरै ठाउँमा उल्लेख गरिएको छ। यताबाट ‘विनय’ शब्दले राजकाजी शिक्षालाई बोध गराएको स्पष्ट थाहा पाइन्छ। ‘भोगिनी’ लाई ‘विनयप्रवीणा’ भनिएको हुनाले उनले एक किसिमको राजकाज सम्बन्धी उचित शिक्षा लिएको देखिन्छ।

सूर्यघाटको उक्त अभिलेखबाट भोगिनीकी छोरी विजयवतीले लिएको शिक्षाको पनि झलक पाइन्छ। त्यस अभिलेखमा राजकुमारी विजयवतीको वर्णन गर्दा ‘नाम्ना सा विजयवतीति राजपुत्री प्रख्याता विविध कला विचक्षणत्वात्’ भनी लेखिएको छ। राजा मानदेवकी छोरी विजयवती विविध कलामा सिपालु थिइन्, त्यसैले उनको नाउँ चलेको थियो भन्ने यताबाट थाहा पाइन्छ।

त्यस वेला ‘विविध कला’ भन्नाले नृत्य, गीत, वाद्य आदि किसिम किसिम कलालाई बुझाउँथ्यो। कलाको परिगणना गर्दा ६४ कला भनी ग्रहण गरिन्थ्यो। आवश्यक शास्त्रीय शिक्षा बाहेक राजकुमारीहरूलाई नृत्य, गीत, वाद्य आदि कला सम्बन्धी विशेष शिक्षा दिइन्थ्यो भन्ने उल्लेख अन्त पनि पाइन्छ। हर्षचरितमा हर्षकी बहिनी राज्यश्रीलाई यस्तै नृत्य, गीत, वाद्य आदि कला सम्बन्धी शिक्षा दिइएको उल्लेख बाणले यसरी गरेका छन्-

‘अथ राज्यश्रीरपि नृत्यगीतादिषु… सकलासु कलासु प्रतिदिवसमुपचीयमानपरिचया शनैःशनैरवर्धत’

यसबाट त्यस वेला उच्च वर्गकी नारीलाई कला सम्बन्धी शिक्षा दिने चलन थियो भन्ने थाहा पाइन्छ। त्यसै चलन अनुसार मानदेवकी छोरी विजयवतीलाई पनि विविध कला सम्बन्धी शिक्षा दिइएको हो भन्ने थाहा पाइन्छ। राजकुमारी विजयवतीले विविध कला सम्बन्धी साधारण शिक्षा मात्र लिएकी होइनन्, विविध कलामा सिपालु हुनाले उनी प्रख्यात थिइन् भन्ने थाहा हुन्छ। जे होस्, लिच्छविकालमा उच्च वर्गका नारीहरू आवश्यक शिक्षा लिँदा रहेछन् भन्ने कुरा यताबाट स्पष्ट थाहा पाइन्छ।

कलाबाहेक त्यस वेलाका नारीहरू विविध धर्म सम्बन्धी ज्ञान पनि लिन्थे भन्ने कुराको सङ्केत चाबहिलको अभिलेखबाट पाइन्छ। बौद्ध जातकको प्रभाव नारीवर्गमा परेको कुरा त्यस अभिलेखबाट थाहा हुन्छ।

लिच्छविकालमा भिक्षु सङ्घ बाहेक भिक्षुणी सङ्घ पनि भिन्नै खडा भएको उल्लेख पाइन्छ। ती भिक्षुणीहरू अवश्य पनि बौद्ध धर्मग्रन्थहरू पढ्थे भनी सहजै अनुमान गर्न सकिन्छ। माथि उल्लिखित केही उदाहरणबाट लिच्छविकालमा ‘नारीशिक्षा’ बारेको झलक पाइन्छ।

मध्यकाल

नेपाल संवत्को शुरूदेखि अर्थात् विसं. ९३७ देखि विसं. १८२५ सम्मको समय नेपालको इतिहासमा ‘मध्यकाल’ मानिएको छ। त्यसको पूर्वार्धमा मल्लराज्य, खसराज्य र डोय (तिरहुते) राज्य गरी तीन शक्तिको उदय भएथ्यो। उत्तरार्धमा बाइसी, चौबिसी, तीन मल्लराज्य, पूर्वका सेनराज्य गरी पचासभन्दा बढी राज्यमा नेपाल विभक्त भएथ्यो। ती सबै राज्यमा नारीशिक्षाको स्वरूप कस्तो थियो भनी विवेचना गर्नु सम्भव छैन। त्यस कारण मल्लराज्य र अरू केही राज्यमा सीमित भई मध्यकालको नारीशिक्षाबारे यहाँ सङ्क्षिप्त चर्चा गरिन्छ।

मध्यकालमा बालविवाह प्रथा चलेथ्यो। यस कारण लिच्छविकालमा जस्तो राजकुमारीहरूलाई कला आदिको शिक्षा दिने चलनमा केही ह्रास आएको अनुमान हुन्छ। तैपनि, शासक वर्गका नारीहरूले शिक्षा लिएका केही उदाहरण पाउँछौं।

दोलखाको लिस्तिटोल, बौद्ध चैत्यमा एक शिलालेख रहेको छ। सो शिलालेख खण्डित भएकाले कुरा जम्मै खुलस्त छैन। तर, त्यस शिलालेखमा दोलखाका शासककी छोरीको बयान गर्दा ‘पुत्री … देवी नीतिशास्त्र विचक्षणा’ भनी लेखिएको छ। यसबाट त्यस वेला शासकहरू आफ्नी छोरीलाई नीतिशास्त्र पढाउँथे भन्ने थाहा पाइन्छ।

नीतिशास्त्र भनी त्यस वेला ‘चाणक्यनीति’ आदिलाई लिइन्थ्यो। पशुपतिको ज्योतिर्मल्लको अभिलेखमा उनलाई ‘चाणक्यप्रभृतिविद्याविद्यावदात’ भनिएको छ। जे होस्, मल्लकालमा शासक वर्गका नारीहरू केही शास्त्रीय शिक्षा लिन्थे भन्ने यताबाट थाहा पाइन्छ।

राजा मानदेवको चाँगुको अभिलेख

प्रताप मल्ल कान्तिपुरका विद्वान् कवि राजा हुन्। उनकी रानी लालमती पनि विदुषी थिइन्। उनी आफैं पनि कविता लेख्ने गर्थिन्। यस कुराको पुष्टि ठबहिल भगवान्बहालमा रहेको प्रसिद्ध प्रज्ञापारमिता ग्रन्थबाट थाहा पाइन्छ। त्यसमा लालमतीलाई ‘सकलशास्त्र विशारदा’ भन्ने विशेषण लगाइएको छ।

यसबाट लालमतीले शास्त्रीय शिक्षा लिएको देखिन्छ। ‘इति लालमतीदेवीविरचितपद्यद्वयम्’ भनी त्यहाँ लालमतीका दुई श्लोक दिइएका छन्। यसरी उनी संस्कृतमा पद्य रचना गर्न सक्ने विदुषी रहिछन् भन्ने पनि थाहा पाइन्छ।

यसै गरी मल्लकालमा अरू नारीले पनि केही शिक्षा लिएका उदाहरण नपाइने होइन।

शाहकाल

शाहकालमा पनि राजकुमारीहरू केही शास्त्रीय शिक्षा लिन्थे भन्ने देखिएको छ। उदाहरणार्थ श्री ५ पृथ्वीनारायण शाहकी बहिनी पद्मकुमारीलाई देखाउन सकिन्छ। उनले भास्वती आदि ग्रन्थ पढेकी थिइन्। विसं १८०० मा सारिएको संस्कृतग्रन्थ भास्वतीमा ‘श्रीगोर्षानगरे गोरखनाथ समीपे श्रीनरभूपालशाह कुमारी पद्मकुमारी देव्यै समर्पयामि’ भनी लेखिएको छ।

यसबाट पद्मकुमारीले शास्त्रीय शिक्षा लिएको स्पष्ट थाहा पाइन्छ। शिक्षित यी राजकुमारी पद्मकुमारीले राजकाजमा समेत सक्रिय भाग लिएकी थिइन्। एउटा ठ्यासफूमा ‘श्रीमैया साहेबया सभास खँ छिनययाङा (श्रीमैया साहेबको सभामा कुरा छिनियो)’ भन्ने विषयको उल्लेख अनेक पटक आएको छ। यसबाट पद्मकुमारी राजकाजमा समेत सक्रिय थिइन् भन्ने स्पष्ट थाहा पाइन्छ।

राजदरबारमा राजमाता, राजपत्नीहरूले राजकाजको शिक्षा राम्ररी लिन्थे। श्री ५ रणबहादुर शाहले स्थितिबन्देज बाँधी राख्न लाएको पशुपतिको विसं. १८५५ को ताम्रपत्रमा ‘अगावैदेषि महारानिहरूले बोहारिहरूलाई राजकाज बेस गरि सिषाउनु’ भन्ने स्पष्ट निर्देशन दिइएको छ। यसो हुँदा त्यस वेला राजराजेश्वरी, सुवर्णप्रभा, ललितत्रिपुरसुन्दरी आदिले राजकाजमा भाग लिएको उल्लेख त्यस वेलाको इतिहासमा पाइन्छ।

साँखुको अभिलेखमा राजराजेश्वरीको वर्णन गर्दा ‘ज्ञानध्यानपरायणा सुवितनया’ भनी लेखिएको छ। यसबाट राजराजेश्वरीले शिक्षा लिएको देखिन्छ। सुवर्णप्रभाले पनि भागवत श्रवण आदि गरी ज्ञान बढाएको उल्लेख उनको अभिलेखमा पाइन्छ। ललितत्रिपुरसुन्दरी पनि विदुषी थिइन् भन्ने चर्चा चलेको छ।

यति कुराबाट शाहकालमा पनि राजमाता, राजपत्नी, राजकुमारी आदि नारीवर्ग केही अंशमा शिक्षा लिन्थे भन्ने सिद्ध हुन्छ।

{अग्रगण्य इतिहासविद् वज्राचार्य (विसं १९८८-२०५१) को यो अप्रकाशित लेख उनको परिवार र नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास) मा सँगै काम गरेकी दामिनी वैद्यको सहयोगमा प्राप्त गरेका हौंं। -सं।}

प्रतिक्रिया
Loading...