साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राष्ट्रिय बहस, कपुरी ‘क’ र विचौलिया

एउटा साथी अन्तिम घुट्को जाँड निलेपछि भन्दै थियो, ‘तँलाई थाहा छ झल्लु तेस्रो विश्वयुद्ध किन भइरहेको छैन किनभने विश्वका घागडान शासकहरू फेसबुकमा साथी छन् ।’ लेखक र पाठकलाई फेसबुकमा साथी बनाउने प्रकाशकहरूको कथा उसलाई सुनाउनु थियो, मैले रक्सी नै छाडिदिएँ । लाग्दैछ, चर्चाकै कारण महाभारा पढ्नु भन्दा भट्टी छिरेर उसलाई सोध्नुपर्ला- ‘सोल्टी सुन् न, कवितामा के लेखिएको थियो भनेर थाहा पाउने पुलिस को हो तँलाई थाहा छ ?’

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

bahulako diary small and inside post

हामीले यो लेख  themargin.com बाट लिएका हौँ । यो लेख राजु झल्लु प्रसादले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई ‘द मार्जिन’ मै पनि पढ्न सक्नुहुनेछ ।

………….

बैभन्दा पहिले पुछारमा जानुहोस् ।..
…जानुभयो ? ठिक छ ।

अब कुरा सुरु गरौँ । त्यस पहिले मलाई एउटा शेर सुनाउन मन छ । ‘सुनाऊ ?’ भनेर म सोध्ने वाला छैन किनभने यसका अलिकति (अलिधेरै ?) कारणहरू छन् ।

पहिलो – यो लेख मैले लेखिरहेको हुँ र यहाँ म आफूखुसी गर्न पाउँछु । किन पाउँछु भन्दा पाइने रहेछ । किनभने तपाईँ मलाई ‘किन आफ्नै व्याख्या गर्दैछस् ?’ भनेर सोध्ने गर्नु हुँदैन । किन सोध्नु हुँदैन भन्दा तपाईँलाई मेरो चित्त दुखाई हाल्न मन छैन । किन मन छैन भन्दा म मिडियामा छु । मिडिया (पहुँच)मा हुनेलाई तपाई सित्ति जिस्काउनु हुँदैन रहेछ, चित्त दुखाउनु हुँदैन रहेछ भन्ने कुरा तपाईँका व्यहोराहरूले देखाइरहेका छन् । तपाईँले मेरो चित्त नदुखाएको पनि निकै महिना भइसकेँ । तपाईँ लेख्ने मान्छे हो, बुझ्ने मान्छे हो । हो नि ? मलाई दुख्न मन छ यार, कुरा बुझ्नुस् न । (म आफैँ पनि दोहोरो भूमिकामा छु, लेख्छु पनि, छाप्छु पनि ।)

तपाईँ मिडिया (चर्चाको भोक) मा आउनकै खातिर प्रचलित पत्रिकाका परिशिष्टांक एवम् टिभीका प्रख्यात कार्यकमका संयोजकलाई दारुपानी खुवाइरहनु भएको छ या होटेलका भित्री कोठामा कफी गफ गर्दै आइरहनु भएको छ । मैले तपाईँहरूलाई यस्ता- त्यस्ता ठाउँहरूमा देखेको छु । ‘कल्ले भन्यो ? के प्रमाण छ तसँग ?’ भन्ने प्रश्न तपाईँलाई नै मुबारक । कुरा यत्ति हो, मैले तपाईँहरूलाई देखेको छु । र, यस मामलामा म साँच्चै गलत हुन पाएमा साह्रो खुसी हुनेछु किनभने तपाईँहरूलाई त्यसरी देख्दा मलाई साह्रो उदेक ल्याएर आउँछ । घिन लागेर आउँछ । म कहिलेसम्म ‘कालो चस्मा’ लगाऊ ?

दोस्रो –  म तपाईँका पीरमर्का पनि बुझ्दछु । तपाईँका बाध्यता, रहर, सपनाहरू पनि बुझ्दछु । आफूलाई बिकाइहिँड्नु पर्ने बाध्यता तपाईँसँग किन छ भन्दा तपाईँलाई आफ्ना कुरा राख्न मन छ । सामाजिक सञ्जाल, मिडिया, टिभी अन्तर्वार्ता र पत्रिकाका परिशिष्टांकका अङ्कहरूमा देखिरहनुपर्ने जरुरत पछिल्लो सामयिककीको देन हो । एकजना भन्दै थियो, ‘यो चर्चा-परिचर्चाको युग रहेछ ।’ एकजना वास्तवमै साँचो बोल्दैछ।

तेस्रो – ‘काठमाडौँ (राजधानी, सदरमुकाम) लाई कुनाकाप्चा चहार्ने न बाध्यता छ, न रहर नै । आउनुपर्ने कुनाकाप्चाहरू आफैँ काठमाडौँकहाँ आउँछन् । नआए भुत्रैसिति । काठमाडौँ देशका कुनाकन्दरा चहार्दै न हिजो हिँड्यो, न आज हिँड्दै छ । भोलि चाहिँ हिँड्दिओस् भन्ने आशले यो गलफती गरिरहेको हुँ ।

राजु झल्लु प्रसाद

चौथो – झिँझक लागेको हो भने कोसेली, झन् नयाँ, द मार्जिन, शिलापत्र, बाह्रखरी, साहित्यपोस्ट या चेतलुङ आदिआदि पढ्नुहोस् । तमोसोमा ज्योतिर्गमय, चिया खानु भयो, कफी विथ सुमन, ‘गीत, गजल र शीतल’का युट्युब भिडियोहरू पनि हेर्न सक्नुहुनेछ । बौद्धिक विलासका खातिर बागबजार, बानेश्वर (शंखमुल हब), भृकुटीमण्डपका चिया पसल या कफी विथ बुक्स हाउसहरूतर्फ पनि जानु सक्नुहुनेछ । त्यता एकैखाले ‘वैचारिक धाराप्रवाह’हरू प्रसारित भइरहेका छन् – मेरी बास्सै, तितो सत्य जस्तै । २००० औँ, २२०० भाग । एकै पात्र, एकै वैचारिककी । एकै अनुहार, एकै बहस ।

उही कुरा, सत्तालाई प्रश्न गर्नेहरूको सत्ता (वैचारिक सत्ता)मा खगेन्द्र, वाग्ले, आहुति, तिवारी, पाठकहरूकै कुर्सी अग्लो रहेझैँ, रहिरहेझैँ । प्रगतिशीलहरूको परम्परावादीता । कठै ! बरा ! बिचरा !…यस सूचीमा जनजाति, आदिवासी, दलित, महिला, लैङ्गिक तथा अल्पसङ्ख्यातर्फका अग्ला-अग्ला कुर्सीहरूले पनि ‘म..म..’ गर्नुहोला । समावेशिताको सवाल छ, कोही छुट्नुहुँदैन ।

पाँचौँ – सिलसिला तोड्ने या रोचक बनाउने सवालमा आफ्नो लेखमा एकाएक ‘सुनाऊ ?’ भनेर प्रश्न सोध्ने परिपाटीमा आज नगरकोटीहरूको बाहुल्यता छ । एक जमानाभर (२०७३-२०७६) सम्म मैले ‘छोटे नगरकोटी’को तक्मा भिरेर हिँडेको हुँ । तपाईँहरूलाई यो कुरा थाहै छ ।

‘अझ सुनाऊ ?’
बाँकी कुरा पछि सुनाउला ।

तपाई इशारा बुझ्नुहुन्छ, समझदार हुनुहुन्छ । नगरकोटीभन्दा म शङ्कर लामिछानेबाट प्रभावित मान्छे हुँ । सायद तपाइले मेरो इशारा बुझ्नुभयो किनभने मैले माथि भनिसकेको छु- ‘तपाई इशारा बुझ्नुहुन्छ, समझदार हुनुहुन्छ ।’ मलाई लाग्दछ तपाईँ मेरो भनाइको बर्खिलाप जानुहुँदैन, किनभने म मिडियामा छु । आगे तपाईँकै मर्जी ।

***

आँ, यो सब छाड्नुहोस् । मलाई शेर सुनाउनु थियो, कुरा यत्ति त हो ।

म आकाशदेखि धरतीतर्फ हामफ्यालेको हुँ
यार, म आफ्नै पैतलादेखि उम्रिएको हुँ ।

आकाशमा धान रोप्ने रमाशंकार यादव विद्रोही र माथिको शेरमा पारस्परिकता भेट्नुहुनेछ भने तल पढ्नुहोला । अन्यथा, तपाई महाभारा पल्टाउन जानुहोस्, तमोसोमा ज्योतिर्मय हेर्न जानुहोस् या कोसेली-फुर्सदका परिशिष्टांकले मुख छोपेर निदाउनुहोस् । किनभने यतिखेर यिनीहरूकै चर्चा-परिचर्चा छ । यतिबेला यिनीहरू नै हाइलाइटेड छन्, झकिझकाउ छन् । यिनीहरू हेरिनु नै पर्दछ, पढिनु नै पर्दछ, सुनिनु नै पर्दछ भन्ने गरी बजारमा उत्रिएका छन् (उतारिएको छ ?) । सुन्दिनुस्, पढिदिनुस्, हेर्दिनुस् ।

अझ मन रमाएन भने कोसेली-झन् नयाँका शनिबासरीय अङ्कहरू पर्खनुहोस्, क्रान्तिकारी कविको अघिल्लो महिनाको कविताको ‘भाग-२’ यसै महिना आउँदै छ । शब्दकोश भन्छ, ‘मन बहलाउने कामलाई विनोद भनिन्छ ।’ वरिष्ठ कवि एवं वरिष्ठ संयोजकहरूले बागबजारका भट्टीहरूमा मन बहलाएका होलान् त नि । के उछितो काढिरहनु ? छोड्नुस् यार, निदाउनुस् ।…

निदाउनुपूर्व यसो सोच्नुहोला, १० महिनामा ५-५ वटा कविता छापिनुका के-कति अर्थहरू हुन् सक्छन् ? एउटा कविको कविता ५-५ चोटि पढ्न बाध्य गराइनुका के-कति अर्थहरू हुन् सक्छन् ?

एक जना भन्दै हुनुहुन्थ्यो, ‘एकपटक च्या त खानुपर्‍यो नि बाबु । सानो-सानो लेखेको छु, छाप्नुहुन्छ ?’ मैले भने, ‘छापी हाल्लान् नि ।’ छापिएछ । मैले मुक्ति पाएँ ।

हिन्दुहरू (बृहदारण्यकोपनिषद्, १।३।२८) सँग सङ्गत गरेको भए ‘तमोसोमातिर’का कुराहरू चाल पाइन्थ्यो होला तर मैले ‘जनै’ फुकालेकै ४/५ वर्ष भइसक्यो । अन्त-अन्त पनि यस्तै दर्के झरी परिरहेका छन् । तर, एउटा चिकित्सक मित्र भन्थ्यो, ‘झरीमा रुझ्नु हुँदैन, ज्वरो आउँछ ।’ यसैले म भिजेको बिरालो बनिहालेको छैन, तर मेरा आँखा चाहिँ खुलै छन् ।  चिकित्सक मित्रको पारा देखेर आजभोलि किन हो उसलाई पनि एउटा रेनकोट उपहार दिऊ दिऊ लागिराछ.. । (लिन आइजे है मुला ।)

ब्युँझनु भएको हो ? तपाईँ नब्युझीइ मैले कुरा सुरु गर्न मिल्दैन । यदि साँच्चैमा ब्युँझिनुभएको हो भने एकपटक पुनः पुछारमा जानुहोस् । लौ..लौ, यतिविधि स्क्रोल गर्ने झन्झट किन उठाउनुहुन्छ ?  इतिवृत्त मै कहन्छु । सुन्नुहोस् ।

स्पष्टोक्ति :

अब दुईमा एक भएरै छोड्ने छ
कि जमिनबाट भगवान्लाई उखाल्देऊ
नत्र आकाशमा धान उम्रने छ । (रमाशंकर यादव ‘विद्रोही’, आकाशमा धान रोपि रहेँ, अनु: जनक कार्की)

रमाशंकरको यस कविता पढिसकेपश्चात् प्रभावित भएर मैले माथिल्लो शेर लेखेको हुँ । तपाईँ अलमलमा हुनुहुन्छ कि लागेर यो कुरा बत्ताइहालेँ किनभने तपाईँ, म र हामीहरू आजभोलि साह्रो अलमलमा छौँ । दोधारमा छौँ । के सही, के गलत खुट्टाउन सकिरहेका छैनौँ । र, खुसीको कुरा के हो भन्दा तपाईँलाई अलमलाउनेहरू तपाईँसँगै छन् । जस्तो यतिखेर म तपाईँसँग छु । र, तपाईँ मसँग हुनुहुन्छ । हामी नै हाम्रा अलमलका कर्ता, कारण र क्रिया हौँ । यतातिर पनि, बस यत्ति नै ।

***

किस्सा- १:

एक फ्रस्टेड कविलाई शंखमूल उकालोमा मैले सोधेँ, ‘बड्डा, तपाईँले त्यो कविता साहित्यिक परिशिष्टांकहरूमा पठाउनुपर्ने यार  । किन नपठा’को ? पठाउनुस् ।’
‘पठाउँदिन ।
‘कस्तो ठिस कुरा गर्‍या ? किन नपठाउने?’
‘किनभने मैले ‘दाइ कविता आछ है’ भनेर भन्दिए भने त्यो कविता छापिन्छ ।’
‘अनि छपाउनुस् त नि । ।’
‘मलाई कविता लेख्नु छ यार झल्लु, दाइहरूलाई फोन गरेपश्चात् कविता लेख्न बस्नु छैन ।”
‘तोरी मान्छे यार ।.. तपाईँको एउटै कविता पनि छापिएका छैनन् क्यार है ? नपठाएको कि नछापिएको ?”, मेरो प्रश्न ।
‘नपठाएको, यसैले नछापिएको । पठाएमा छापिन्छ किनकि म ‘दाइ’लाई चिन्छु ।’

यस्ता फ्रस्टेड कविहरू उकालोमै भेटिन्छ । उसो त, काठमाडौँको समथरमा शंखमूलका जस्ता उकालाहरू कति नै पो छन् र ? भएता पनि ती उकालोहरूमा यस्ता उत्तर दिने  कति नै भेटिन्छन् र ? उनको कोसेली, झन् नयाँ, सन्दुस जस्ता परिशिष्टांकमा ‘दाइ’लाई चिनेकै कारण कविता छापिएला कि भन्ने डर नै यो आलेखको अन्तर्य हो । यही नेर ‘अस्तु’ गर्दिएर म फुत्त निस्कन पनि मिल्छ । तर, मलाई अरू किस्साहरू पनि याद आइरहेछ । बाडुल्की लागिरहेछ  । हुक्क..हुक्क..।

ए, लौ तपाईँसँग पानी छ ?

किस्सैकिस्सा :

कसैले कसैको कतै छापिँदैमा भइहाल्ने फेरि पनि केही होइन । त्यहीँ छापियो भन्ने उदेकलाग्दो सुखानोभूती हो । महत्त्वपूर्ण कुरा लेख्नु हो । लेखौँ । प्रचलित इतिहासमा सामान्य मान्छेले ठाउँ पाउँदैन तर इतिहास सामान्य मान्छेकै लेखिनुपर्छ भन्ने कुरा हो । लोकतान्त्रिक देशले राजतन्त्रको इतिहास पढोस् तर राजाको मात्रै नपढोस् (नपढाइयोस्) भन्ने न हो । नत्र यो विधि गन्थन गर्नु आवश्यक नै थिएन । सबै कुरा यहीँ छ, जसले पनि देख्न सक्छ, लेख्न सक्छ ।

लेख्ने, छाप्ने र पढ्नेहरूबीचको त्रिकोणात्मक सम्बन्ध कस्तो हुनुपर्थ्यो, कस्तो हुँदैछ भन्ने कुरामा एकपटक तीनै लडुन् भन्ने मेरो विचार छ । तर, यिनीहरू लड्दै लडेनन्, लड्लान् जस्तो पनि छैन । बरै नवउदारवाद ! एउटा साथी अन्तिम घुट्को जाँड निलेपछि भन्दै थियो, ‘तँलाई थाहा छ झल्लु तेस्रो विश्वयुद्ध किन भइरहेको छैन किनभने विश्वका घागडान शासकहरू फेसबुकमा साथी छन् ।’ लेखक र पाठकलाई फेसबुकमा साथी बनाउने प्रकाशकहरूको कथा उसलाई सुनाउनु थियो, मैले रक्सी नै छाडिदिएँ । लाग्दैछ, चर्चाकै कारण महाभारा पढ्नु भन्दा भट्टी छिरेर उसलाई सोध्नुपर्ला- ‘सोल्टी सुन् न, कवितामा के लेखिएको थियो भनेर थाहा पाउने पुलिस को हो तँलाई थाहा छ ?’

प्रचलित साहित्यिक गल्लीहरूदेखि अलिकति दुरी बनाउने हो भने थुप्रा दृश्यहरू देखिन्छन् । कोही दरबारमार्गमा रेड वाइन पिइरहेका र कोही भृकुटीमण्डपमा रातो चिया पिइरहेका छन् । यो वर्गसङ्घर्षबारे प्रलेशको भनाई बुझ्नु थियो तर, त्यता सरकारवादी मार्क्सवादीहरू बढ्तै भएको हल्ला छ ।

‘कति छ यो आकाशको उचाइ ?
जति छ, मेरो गर्धनको झुकाव ।’

म आफ्नै गर्धनको झुकावसँग सन्तुष्ट छु, जिराफ किन बनौँ ? छाड्दिऊ ।

***

मलाई किस्सा सुनाउनु थियो । कता-कता लखर लखर लखर्किएँ ? किस्सा हन्ट गर्नका लागि  हिँड्नु पनि पर्दैन । कान फराक बनाए त पुगिहाल्यो । आजभोलि भित्ताको नाक पनि पलाएको छ अरे, सुँघे पनि पुग्छ हाउ । फरक-फरक समयमा फरक-फारम भूगोलमा यस्तै- त्यस्तै बेला सुनेका कुराहरू हुन् यी;

 भन्छ, ‘ऊ बेला यज्ञश आएका थिएँ । भेटघाट राम्रै भयो । एउटा रचना दिएको थिएँ । छाप्दिएँ ।.. त्यसयता मलाई नो इन्ट्री छ राजु भाइ । जाँगर पनि चल्दैन पठाउने । कोही माग्न आएका पनि छैनन् । ऊ बेला खोजिखोजी परिशिष्टांकहरू पढिन्थ्यो, कलेक्सन गरिन्थ्यो । पुराना छन् मसँग तर, आजभोलि मन लाग्दैन – पढ्न ।  शनिबार आउँदैछ भनेर कुर्ने दिन गए क्यार भाइ ।.. कोसेली भन्दा त फेसबुकै ठिक छ है राजु भाइ । के भन्नुहुन्छ ?’

का भन्नुहुन्छ, ‘उहिल्यै भोलि छाप्छु भनेर मागेका थिएँ । दिएको पनि थिएँ, तर त्यस्ता भोलिहरू धेरै नै आइसके । छापिएन । मैले नि पर्खिया छैन । फेरी मलाई ४/५हजार शब्दमा लेख्नुपर्ने हुन्छ, उनीहरू १,००० शब्द नकटाइदिनू भन्छन् । खुरुखुरु किताब लेख्या छु, बसीराछु राजु भाइ । टक्र्याकटुक्रुक लेखर यी विचारका बिचौलियाहरूलाई लौन छाप्देओ किन भन्ने ?

कि भन्छे, ‘संयोजकलाई आफ्नो सर्कलदेखि निस्कने फुर्सद नै छैन, अनि कहाँ तराइमा बस्नेहरू कुरा आउँछ त ? अनुहार नचिनेपछि रचना पनि नचिन्दिने यिनीहरूका पनि के गर्नु भाइ ? कोसेलीले आज के छाप्यो भने कहिल्यै बहस भएको छ सर ? बहस हुनलाई कन्टेन्ट हुनुपर्छ । खोइ कन्टेन्ट ? भगिराज मात्रै हुन् इतिहास लेख्ने ? कोसेलीजहरू पर्सनल रिलेसनसीपहरू जोगाउन लागिपरेका छन् ।.. संयोजकसँग चिनजान छैन, यसैले मेरो छापिएका छैनन् है सर ।”

की पनि भन्छिन्, ‘हामी त फुच्चेफाच्चे मान्छे, हाम्रा किन छाप्थे ? एक दुई चोटि पठाएँ । रेस्पोन्स नै आउँदैन त बा । नछापियोस्, ठुलो कुरा भएन तर किन छापिएन त भन्दिनु पर्‍यो नि । सार्वजनिक ठाउँमा बसेर चिनेका मेल आइडी मात्रै पढ्ने या नजिकका फोन कल मात्रै उठाउने गरेर हुन्छ ? खोज्नुपर्‍यो नि, काठमाडौँदेखि निस्कनु पर्‍यो नि । नयाँ नयाँ लेखिरहेकाहरूलाई यस्ता हर्कतले डिमोटिभेट गर्छ यार । तर, उहाँहरू स्थापितहरूकै छाप्नुहुन्छ । आफू स्थापित हुन् होला कि ?’

कु भन्नुहुन्छ, “कित्ता बाँडफाँड चलिराछ यार त्यता त । तिमीले पाएनौ जस्तो छ, नत्र किन फोन गर्थ्यौँ? हाहा.., यसो हो क्या भाइ, उनीहरूलाई ट्याक्क दारुपानी खुवाउने, चट्ट सेलेब्रेटी बन्ने । किताब छाप्ने, हिट हुने । हिट भएपछि जे पनि, जस्तो पनि छापिन्छ । विमल निभा भइहाल्न पर्छ है कान्छा । किताब चाडै पढ्न पाइयोस् है । पछि समीक्षा पनि कोसेलीमै छापिन्छ, किन सुर्ता लेको ? लौ लौ, है त…ख्याल गर ।’

के भन्छिन्, “ए तिनीहरूका कुरा गरेको, ठेकदार हुन् । सरकारी ठेकदारहरूलाई जाड खुवाउने, ओछ्यान तताउने चलन छ । यताकाले पनि त्यस्तै गर्छन् भन्या सुन्या छु । ..केका साहित्यको श्रीवृद्धि हाउ ? ठेक्कापट्टा गरिराछन्, पैसो आइराकै छ । साहित्यका नयाँ अनुहार पलायन भए अरे ? त्यही छापिनु पर्छ भन्ने के छ ? दुई वर्ष मलाया जाऊ, पैसा कमाऊ,  गजलकार हौँ ।  देश आऊ । अलिकति पैसा लगानी गरेर वरिष्ठ पुरस्कार थाप न । तिमीले पुरस्कार पाको कुरा कोसेलीले छापिहाल्छ नि । २/३ वर्ष मेल पठाएर वाक्कदिक्क हुनुभन्दा यो प्लान ठिक छ है । दिदीले भनेको कुरा सोच्नु है । बरु  इटहरी आऊ न । है त, ल ल ।’

कै भन्नुहुन्छ, “राजु भाइ, साहित्य परिशिष्टांकहरू किन यस्ता भए भन्ने त छँदै छ, तर यिनले साहित्यलाई बहिष्करण गरेको चाहिँ मलाई चित्त बुझेको छैन । लोकरन्जन मात्रै गर्ने हो भने त मेरो भन्नु केही छैन । साहित्यिक अङ्कहरूलाई बिक्रीको माल बनाएर नयाँ पुस्तालाई बन्ध्याकरणमा राख्नु हुँदैन । यसमा तिनको पनि भलो छैन । हामी बुढाहरूको अनुहार बेचेर कहिलेसम्म खालान् ? म त बुढो भइसके (भएँ), विचारमा एकनासे भएँ । मैले धेरै लेखेँ, अब तपाईँहरू लेख्नुस् । मलाई तपाईँहरूको ठाउँ खाइदिएँ कि भन्ने अझै पनि लाग्छ ।”

कौ कफी खाँदै भन्छन्, “नयाँ हुनुको स्ट्रगल हरेक ठाउँमा हुन्छ होला । फेरी, आजभोलि अनलाइनहरू छन्, तिनलाई कन्टेन्ट नै चाहिएको छ । कोसेली नहोला, मार्जिन त छ नि । साँच्चै राम्रो लेख्छ र छापिरहन्छ भने के नै हानी छ र ? तर विचारमा रिपिटेसन् हुने बित्तिकै ऊ निस्किदिनुपर्छ । मेरै कविता पढ्नुपर्छ भनेर तिमीले ठेक्का ल्याछौ र ? तिम्रो लेख पढिरहनु पर्छ भन्ने पनि त मलाई छैन नि ।..लौ भाइ कफी सेलायो यार ।”

कं, क:’हरू का पनि किस्सा सुनिहालूँ । तर, त्यसपहिले तपाईँले याद गर्नुभयो, ‘कू’ ले केही भन्नुभएन नि । किनभने वहाँको पछिल्ला दुई वटै महिनामा एउटा कविता र एउटा लेख छापिएको रहेछ । क: खासै बोल्नुभएन, उहाँ यसै साता झन् नयाँ हुनुहुँदै छ अरे । अझ उहाँ साहित्यिक अङ्कहरू नै चलाउँदै हुनुहुन्छ अरे ।  कं मै भएँ, ‘अम्म’ गरिराछु ।

अब म मुख बन्द गर्छु । जो-जो बोल्नुहुन्छ, उहाँहरूको कुरा सुनौँ है त ।

***

१. साहित्यिक अङ्क या टेलिभिजनका कार्यक्रमहरूले स्वतन्त्र रूपमा राष्ट्रिय बहसको वातावरण तय गर्नुपर्दथ्यो तर उनीहरू राजनीतिक दलका मुद्दाहरू उठाइरहेका छन् । राजनीतिक दलका एजेन्डालाई कवितामा अटाइरहेका छन् । यस्ता कविता, बहसहरू गाइडेड त हुन्छ नै, अल्पआयूका पनि हुन्छन् ।

अझ, साहित्यिक अङ्कहरूले साहित्यिक मर्म समात्न नै सकेका छैनन् । जति एजेन्डाहरू उठेका छन्, त्यसमा पनि कला छैन । कलाको उच्चता यहाँ पाइँदैन । किन ? किनभने लेखकहरू एनजिओले उठाइदिएका एजेन्डाका पछाडि कुदिरहेका छन् । यसरी नकुदेमा कान्तिपुर, अन्नपूर्णको आँखामा नपारिने परिपाटी पनि छ राजु भाइ ।  पञ्चायत भोगेका लेखकहरू यस्ता थिएनन्, उनीहरू समाजको हरेक पाटोबारे खुलेर लेख्थे ।

के छापिन्छ या कसको छापिन्छ भन्ने सवालमा कि काठमाडौँकै कुराहरू छापिन्छन् कि काठमाडौँमै बसेकाहरूकै छापिन्छन् । डोल्पा, दार्चुला, मानेभन्ज्याङ, पाँचथरका कुराहरू कहिले आउँछन् ? सुस्ताका कुरा त आउँदैनन् । चन्द्रगढीमा इन्डियाले दुख दिएको कुरा त आउँदैन ।  यिनीहरू त्यहाँ जाँदैनन्, त्यहाँकाले यिनीहरूलाई जाडपानी खुवाउन सक्दैनन् । काठमाडौँमा बसेर ‘क’का कुरा ‘ख’ले लेख्ने, ‘ख’का कुरालाई ‘ग’ले तन्काउने गरिराछन्, रमाइलै छ भाइ । तपाईँ निको हुनु भयो ? (युवराज नयाँघरे) 

२. साहित्यिक पेजका संयोजकहरूलाई फुर्सद छैन, उनीहरू आफ्नो सर्कलदेखि बाहिर निस्किएकै छैनन् । किन निस्कँदैन भन्दा तपाईँ-हामी उनीहरूले जे पढाउँछन्, त्यही खुरुखुरु पढ्दीराछौँ । नयाँ मान्छेहरू नपुग्दासम्म नयाँ बहसको आस नगरे पनि हुन्छ । देखिरहेकै कुरा त हो नि, आज पनि फलानो, भोलि पनि पनि फलानो भइरहेकै त छ । धेरै कुरा के गर्नु है, संयोजकहरूसँग मेरो पर्सनल रिलेसनसीप छैन, यसैलाई मेरा छापिएका छैनन् झल्लु । हेटौडा आऊ न मूला । (छवी अनित्य )

३. स्थापित या लेखिरहेकाहरूको मात्रै उत्कृष्ट या सर्वोत्कृष्ट हुन्छ भन्ने सोच हो कि ? नयाँ प्रतिभाले चाहिँ लेख्दै-लेख्दैन भन्ने त होइन होला ? नयाँमा कमीकमजोरी होला, त्यही कमजोरी औँल्याउनू चाहिँ उहाँहरूको काम होला नि । पुरानाकै छापिरहने हो भने त छापिरहुन् । के भन्नु र ? नुवाकोटतिर त खासै यस्ता कुरा हुँदैनन्, ऊ चुपचाप पढ्दिन्छ । त्यता के छ ? (सन्तोष सरील)

४. तपाईँले कोसेलीको निकाल्नुभएछ । यो अहिलेको साहित्यिक पत्रकारिता या बौद्धिक बहसका कार्यक्रमहरू उदाहरण हो । मेनस्ट्रिम बाहेकका पत्रिकाहरूको आज पनि पाना भर्न नसक्ने स्थिति छ, तर मेनस्ट्रिममा खातका खात लेखहरू एकपटक पनि नखोलिएको, नपढिएको अवस्था छ । साहित्यमा ठुलो सिन्डिकेट छ । इतर विचारहरूलाई समेट्न सकिरहेका छैनन् यिनीहरू । एउटा मज्जाको विरोधाभास पनि छ, उनीहरूले नै सेलिब्रेटी बनाइदिई रहेका छन् । राइटर आफ्नो पाठक कति छन् भनेर जाँच्नको लागि मेनस्ट्रिममा जाँदो हो । त्यता गएपछि पाठक बढिरहेको देखेर लेखि पनि रहँदो हो । तर, पाठकहरू भेराइटी खोजिरहेका छन् । तर हरेक दुई महिनामा लेखक दोहोरिनु चाहिँ दुर्भाग्य हो । यसले हामीलाई कहीँ पनि पुर्याउदैन । स्थापितहरूलाई मात्रै लेखाइरहनु भनेको नयाँ आउनेहरूलाई ह्यारेश गर्नु हो । नयाँ पुस्ता यो कुरा याद गरी बसेको छ । ढिलो-चाँडो यो कुरा बोलिन्थ्यो । तपाईँ बोल्नुभयो, तपाईँलाई मेरो समर्थन छ । नयाँ पुस्तामा देखिन खोजेको ‘लिट्रेचर पलायन’ रोकौँ  यार । (पुरु लम्साल) 

५. राम्रो मान्छेलाई इनकरेज गर्ने न हाम्रो एटिच्युड छ, न कल्चर नै । यही चलिरहने हो भने हामी कहीँ पनि पुग्देनौं ।  नेपाली मिडिया र नेपाली साहित्यमा ओपन वैचारिकताको बहस नै सुरु भएको छैन । विमला तुम्खेवाले प्लेटफर्म पाइरहेको होला तर विमला तुम्खेवा मात्रै अन्तिम सत्य त होइन होला नि ? अर्को त आउँछ, छ नै, तर उसको बाटो छेक्नु भएन । बाटो छेक्नेहरू कवि होइनन्, अ कविहरू हुन् । मनोरोगीहरू हुन् । संयोजकहरूलाई संयोजन गर्नुको प्रेसर त होला तर आउनेलाई आउन दिने हो भने उनीहरू अझ हलुङ्गा हुन्थे कि भन्ने लाग्छ । र, तपाइहरूसँग हामी (अग्रज) हरू तर्सिरहेका छौँ । तपाईँहरू सशक्तताका साथ आइरहनु भएको छ, पढेर आइरहनु भएको छ । तपाईँहरू रोकेर रोकिनुहुँदैन भन्ने पनि लाग्छ । इन्टरनेटले एकद्वार प्रणाली भत्काएको छ, म तपाईँप्रति निकै आशावादी छु । (विमला तुम्खेवा)

६. पत्रिकाको सार्वभौमिकता भन्दा साहित्यको सार्वभौमिकता बढी हुन्छ तर, अधिकांश साहित्यिक अङ्कहरू पपुलिस्ट भएका छन् । साहित्यको शक्ति ढिलो र लामो हुन्छ, राजनीति जति छिटो र तत्काल यसले सम्बोधन नगर्ला तर दीर्घकालीन असर छोड्छ।

नयाँ पुस्तालाई हेप्ने परम्परा पहिले पहिले पनि नहुने होइन, हुन्थ्यो । पञ्चायतको समयमा स्थापित पत्रपत्रिकाले रचनाहरू छापेनन् भने हामी सामयिक सङ्कलनका हिसाबले समानान्तर रूपमा जान्थ्यौँ । साहित्यिक आन्दोलनहरू पनि भइरहन्थे । तपाईँहरूले पनि वैकल्पिक उपायहरूको खोजी बरोबर गरिरहनुपर्छ । अभियानहरू नहुँदा नै साहित्यिक पत्रिकाहरू करिब-करिब मरेको अवस्था आइपरेको हो ।

अर्को कुरा चाहिँ, कुनै पनि मुद्दालाई पत्रिकाहरूले रणनीतिक हिसाबकिताबले अगाडि नै तयार गर्ने र कहाँसम्म डोर्‍याउने भनेर प्रि-प्लान गरिरहेका छन्, यिनीहरूले प्राकृतिक ढङ्ग (स्वाभाविक रूप) ले बहस हुन् दिइरहेका छैनन् । यसकारण सही निरूपण पनि हुन् सकिरहेको छैन । नदेखिने बजार सञ्जाल वास्तवमै डरलाग्दो अवस्था राजु भाइ । यसले अलमल, ढलमल निम्ताउँछ । यसो हुँदा नयाँ पुस्ता गलत बाटोमा जाने जोखिम बढ्छ । यस्ता बहसहरूले बाटो बिराएका त छन् नै, नयाँ पुस्तालाई बाटै नदेखाइरहेका हुन् कि भन्ने पो पाउँछु ।

नयाँ पुस्ता लेखिरहेका छैनन् भन्ने कुरा चाहिँ काल्पनिक रूपमा आरोपित तथ्य हो । नयाँ पुस्ताले गर्छ, गरेरै छाड्छ किनकि गरिरहेको छ । म तपाईँप्रति आस गरिरहेको छु ।  (नारायण ढकाल)

७. मेरो किताबको पाण्डुलिपि पढ्ने पहिलो व्यक्ति नवीन प्राचीन हो । भनेको किताब आउनुपूर्व मेरा पाठक नै थिएनन् । म फेरी पत्रपत्रिकामा कविता छपाएर आइन् । मैले युट्युब, सामाजिक सञ्जालको बाटो समातेँ ।  म अरू हिँड्नेभन्दा फरक बाटो हिँडे कि भन्ने लाग्छ । मैले मेरा दर्शक छन् है भन्ने भएपछि किताब निकालेको हुँ । मैले प्रचलित साहित्यिक प्राक्टिसहरूसँग सङ्गत नै गर्न पाइन । यसकारण तिम्रो जिज्ञासा म निवारण गर्न सक्दिन जस्तो पो लाग्छ । तर, तिम्रोजस्तै मेरो पनि प्रश्न चाहिँ छ, ‘जे चलिराछ, त्यो ठिक छ त ?’ उत्तर खोजौँ है । (नवराज पराजुली)

८. चाहेर-नचाहेर पनि हामी हाम्रा राजनैतिक नेताहरूको कामकारबाहीहरू देखिरहेका छौँ, नियालिरहेका छौँ । राजनीतिकर्मीहरूको छलकपटबाटै हामी प्रभावित छौँ  । आजको राजनीति व्यक्तिकेन्द्रित छ । आजको राजनीतिले नयाँ पुस्तालाई ठाउँ दिइरहेको छैन ।  राजनीति जस्तो हुँदैछ, साहित्यतर्फ पनि त्यस्तै छ । जस्तो राजनीति, उस्तै साहित्य । यसैकारण, यो या त्यो बहानामा साहित्यमा नयाँ पुस्ता या नयाँ आयाम विकसित हुनै पाएको छैन । हिजो भन्दा आज खस्किरहेको अवस्था छ । देउवा कि ओली गरिरहेका हामीहरू साहित्य, पत्रकारिता, बहसमा पनि देउवा कि ओली नै गरिरहेका छौँ । यसरी त हामी कहाँ पुग्ने  भाइ ?

हामी मानक स्थापित गरिरहेका छौँ । भाषामा मानक, भूगोलमा मानक, विचारमा मानक, हरेक कुरामा मानक । हामी कौ हौ, ‘तैँले लेखेको भएन, उसले लेखेको चाहिँ भयो’ भन्ने ? के आधारमा भन्ने? काठमाडौँले लेखेको सबै ठिक, कर्णालीले लेखेको सबै गलत कसरी हुन्छ ? हजुरआमाले लेखेको कविता,  फुपूले लेखेको कविता, आमाले लेखेको कविता, भान्जीले लेखेको कविता र छोरीले लेखेको कविता मध्ये कुन सही, कुन गलत कसरी थाहा पाउने ? कुन आधारमा यो कविता राम्रो, त्यो नराम्रो भन्ने ?

राधा पौडेल मेडिकल पढेको मान्छे हो, ऊ समाजलाई अर्को कोणबाट हेरिरहेकी छे भन्ने कुरा कहिले बुझ्ने ? मैले फला फलाकै कोणबाट किन हेर्ने ? मेरो आफ्नो हेर्ने तरिका छ । पारिवारिक पृष्ठभूमि, भौगोलिक पृष्ठभूमिका आधारमा तपाईँ र म फरक-फरक कविता लेखिरहेका छौँ । हामीलाई कुन आधारमा जाँच गर्ने ?  संयोजक समीक्षक हुनुभएन । र समीक्षकको पनि समीक्षा हुन्छ भन्ने कुरा बिर्सन भएन ।

सुदेश सत्यालको ३/३ वटा कवितालाई पाठ्यक्रममा किन राखियो ? छन्दमा लेखिरहेका अरू दुई जना किन अटाएनन् ? खोइ प्रश्न गरिएको ? उदाहरणको रूपमा भनेको, पत्रिकाहरूले पटक-पटक शङ्कर लामिछानेबारे छापे । तर, उनको लैङ्गिक दृष्टिकोण कस्तो थियो भनेर किन कोही लेख्दैन ? उनको जन्म-मृत्युको तिथिमात्रै लेखेर काम चलाइरहने हो ? अर्को पनि प्रश्न छ राजु भाइ, काठमाडौँदेखि कोही मान्छे डोल्पा जान्छ । एक हप्ताको भिजिटमा ऊ एकदिन डोल्पाको कुनै गाउँ पुग्छ । र, सो गाउँबारे लेख्छ । काठमाडौँका संयोजकहरू बकाइदा छाप्दिन्छन् तर एक दिन डोल्पा बसेको मान्छेले कुन समाज लेख्यो होला र छापिएको होला । मलाई आजभोली पत्रिकाहरू पल्टाउन साह्रो अल्छी लागेर आउँछ ।

फेरी साहित्य भनेपछि भाषामा कमान्ड हुनपर्‍यो । भाषामा कमान्ड नभएता पनि आमाहरू सिलोकहरू गुनगुनाइ रहनुहुन्छ ? उहाँहरूको सिलोकलाई खै कुन राजु स्याङ्तान र दीपक सापकोटाले छापे ? तपाईँ पनि छाप्नुहुँदैन राजु भाइ । तपाईँहरू ह्यारी पोर्टर दोहोर्‍याई दोहोर्‍याई हेर्नुहुन्छ तर केवलपुरे किसान चिन्नुहुँदैन । मलाई चाहियो भनेको होइन तर सीमा आभासले ठाउँ दिनेहरू राधा पौडेल ‘मर्यादित महिनावारी’बारे किन बोलिरहेको छ भनेर किन सोधिखोजी गर्दैनन् ? टिकाराम यात्रीहरूले चन्द्रे कामी, नवराज विकका बारेमा किन बोलेनन् ? यसरी पोलिटिक्ली वायस हुन् मिल्दैन ।

पञ्चायतमा ‘हजुर, हजुर’ गरिन्थ्यो । लोकतन्त्रमा पनि सोही ‘हजुर, हजुर’ चलिरहेको छ । खाली गिलासको भावना विकसित हुन् आवश्यक देख्छु ।  (राधा पौडेल)

९. आजभोलि त म खासै पढ्दा पनि पढ्दिन । तर एक समय हुन्थ्यो, शनिबार पर्खिएर नि बसिन्थ्यो । रचनाको स्तर दिनानुदिन घट्दो पाउँछु । रचना खस्किदा समालोचना पनि खस्किन्छ । किन समालोचना छैन भन्दा रचना छैन र किन रचना छैन भन्दा समालोचना छैन । यी दुवै किन छैनन् भन्दा कोसेलीहरूजस्ता छन् । (एलबी क्षेत्री)

१०. नेपालमा पुरस्कार ,समालोचना र साहित्यिक पत्रिका निश्चित ठेकेदारहरूको कब्जामा छ । कसलाई हण्डी खुवाउने, कसलाई भत्ता दिने र कसलाई स्थापित गर्ने भन्ने सन्दर्भमा निश्चित वर्गका सत्ता हनुमानहरूको तत्कालीन कुत्सित सोचको परिणतिमा निर्भर छ । चाकडी गर्नेहरू, कोसेली बुझाउनेहरू, जाँडपानीकाे प्रबन्ध गर्नेहरू, अरू व्यक्तिगत तथा शारीरिक लेनदेन चल्नेहरूको हालीमुहाली चल्छ । त्यसैले यहाँ कसलाई उचाल्ने र कसैलाई पछार्ने भन्ने सिन्डिकेट यिनैले गर्छन्। कुनैबेला आफैँले पटाएको रचना लामो समय एक साहित्यिक पत्रिकाले नछापेर केही समयपछि सम्बद्धले अर्को पत्रिकामा छापेको नमिठो अनुभव मसँग छ।

नाम चलेको केही पत्रिकाहरूमा हेर्नुहोस् केही महिनासम्म उस्तै उस्तै मान्छेहरूको नाम छाइरहन्छ । अनि कसरी सहर बाहिरका प्रतिभाले स्थान पाउनु ? गणतन्त्र आए पनि साहित्यमा भयङ्कर जहानीया शासनको परम्परा कायम  कायम छ । (नवीनबन्धु पहाडी)

११. उहिले साहित्यलाई सभ्यता र संस्कृतिको धरोहर मानिन्थ्यो । साहित्यकारहरूलाई परमेश्वरको दर्जा दिइन्थ्यो । त्यो दर्जालाई सिद्ध गर्ने वाल्मीकि र व्यास, गौतम, कपिल र कणाद आदि स्रष्टाहरू थिंदै थिए । विकृतिका सारा हलाहल पिएर समाज र सम्पूर्ण विश्वलाई काव्यामृतले सुसंस्कृत बनाउँथे। यसरी साहित्यकारहरूमा धर्मको निष्ठा थियो र पो ।

आजको साहित्य जातियता, राजनीति ,नातावाद, कृपावाद ,दादावाद, विवादवाद, मदिरापान, प्रलोभनमार्फत अतृप्त वासनाको तृप्तिजस्ता घोर कुरीति र विकृतिका बाग्जालले  सिञ्चित छ । समाजमा विरह-वेदना जगाएर वासना उद्दीप्त गर्न, विरोध र आफ्ना निजी कुण्ठा पोख्न मात्र सक्रिय साहित्यकारहरूलाई अब त्यो प्राचीन धर्मको चेष्टा र निष्ठा बाँकी भए पो ! के हुनुपर्ने के भयो ? हिजो साहित्यले के दिन्थ्यो र आज के दिँदै छ भन्ने ज्ञान हुन्थ्यो। यो स्थिति आउन नदिनका लागि अनुगमन गर्ने निकाय (एकेडेमी) नागरिकको करले किर्ना बनेर बसेको छ -यताउता सर्नै नसक्नेगरी ।

मियो नभएको दाइँमा यस्तो हुनु नौलो होइन । तथापि यो कला, साहित्य, धर्म, संस्कृतिको विकासका लागि निकै ठुलो खेदको कुरा हो । भोलि यसले देशको भाषा, भेष-भूषा, सभ्यता र संस्कृति, सोचविचार, सामाजिक र नैतिक चेतना आदिमा अगणित समस्या ल्याउन सक्छ । (जीवनपानी)

१२.  म यता (क्यानडा) बसेर के देख्छु भन्दा, लेख रचना सङ्कलन गर्ने जिम्मा पाएकाहरू अल्छी छन् । उनीहरू नयाँ लेखकहरू खोज्नै चाहँदैनन् । राम्रा लेख रचनाहरू लेखिरहेका अनुहार त निकै छन् नि नेपालमा । तर उनीहरूलाई कसले खोज्ने ?

सङ्कलकहरू आफ्नो पाएका अनुसार घरको ओछ्यानबाट सामाग्री तयार गर्छन् । आफ्ना चिनिजानेका दुई चार जना साथिसँगिहरूसँग लेख माग्छन् र तलब पकाउँछन् । उनीहरूलाई नयाँ अनुहार आओस् नआओस् केही फरक परेकै छैन । उनीहरूमा खोज र अनुसन्धानको कमी छ । एक हिसाबले उनीहरूमा पठनकै कमी छ । दुई चार जनालाई पढ्छन् र उनीहरू बाहेकलाई लेखक नै ठान्दैनन् । र, तिनै अनुहार दोहोरिरहन्छ ।

दोषको अर्को भागिदार हुन् – सम्पादक । सङ्कलकले फरक विचार र अनुहारलाई समेट्न नसक्दा पनि चुपचाप छापिराख्ने सम्पादकहरू सम्पादकीय लेख्नकै लागि मात्र छन् कि जस्तो लाग्छ ।

हरेक दिन जसो म केही न केही नयाँ पढिरहेको हुन्छु । धेरै नयाँ अनुहारका उच्च कोटिका लेखहरू देख्छु । सधैँ अनुहार देखिने लेखक कविका भन्दा स्तरीय लेख कविता लेखिरहेका लेखक कविहरू देख्छु । तर, राष्ट्रिय स्तरमा कहलिएका सञ्चार माध्यमको नजर सधैँ एउटै अनुहारमा गइरहँदा भने साँच्चै नै सङ्कलक र सम्पादकले आत्मालोचना गर्नु पर्ने देख्छु ।

***

जाँदाजाँदै ब्रतेल्त ब्रेख्तको एउटा कविता पढौँ है ।

के अँध्यारोमा पनि गाइएलान् त गीतहरू ?
हो, गाइनेछन् गीतहरू अँध्यारोमा
अँध्यारोकै बारेमा । (अनु : श्यामल)

अस्तु ! 












लेखक परिचय
रझप
राजु झल्लु प्रसाद
प्रतिक्रिया
Loading...