साहित्यपोस्टले अन्य प्रकाशनका भाषा, साहित्य, समाज र इतिहासका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख बाह्रखरी बाट लिएका हौँ । यो लेख बाह्रखरीका लागि  सुनिता लोहनीले लेख्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई बाह्रखरीमै पनि पढ्न सक्नुहुनेछ ।

=============

‘बोरादेखि दराजसम्म’को यात्रा तय गर्दै अन्ततः जमलकै जग्गामा राष्ट्रिय पुस्तकालयको भवन बन्ने भएको छ । लामो विवादपछि जमलमै राष्ट्रिय पुस्तकालयको भवन बन्ने भएको हो ।

यसै साता राष्ट्रिय पुस्तकालयले ६५औँ वार्षिकोत्सव पनि मनाएको छ ।

“सुन्दा तपाईंलाई अचम्म लाग्ला, तर नेपालमा राष्ट्रिय पुस्तकालय बनाउन भारतको राष्ट्रिय पुस्तकालयको ठूलो योगदान छ,” शिक्षा मन्त्रालयका पुस्तकालय समन्वय शाखा प्रमुखसमेत रहेका यादवचन्द्र निरौलाले राष्ट्रिय पुस्तकालयको इतिहासबारे सुनाए ।

“कुरा हो, २०१३ साल कात्तिक महिनाको । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्य चीन भ्रमणमा जाँदै थिए । तर, चीन जान नेपालबाट सिधै हवाई उडान थिएन । भारतको कलकत्ता हुँदै जानुपर्थ्यो । कलकत्तामा त्यहाँ उनलाई एकदिन रोकिनुपर्‍यो । समय बिताउन आजको जस्तो मोबाइल या इन्टरनेट थिएन । नजिकै राष्ट्रिय पुस्तकालय छ भनेपछि उनी त्यहीँ गए । पुस्तकालय भ्रमण गरिसकेपछि त्यहाँको आगन्तुक रजिस्टरमा पुस्तकालयबारे टिप्पणी गर्दै उनले लेखे– नेपालमा पनि राष्ट्रिय पुस्तकालय स्थापना गर्ने हाम्रो योजना छ,” निरौलाले राष्ट्रिय पुस्तकालय स्थापना पछाडिको इतिहास सुनाए ।

आचार्य स्वदेश फर्केपछि १९ पुस २०१३ मा राष्ट्रिय पुस्तकालय सिंहदरबारमा स्थापना भयो । सुरुमा पुस्तकालय सिंहदरबारको सिक्री ढोकामा थियो । त्यहाँ केन्द्रीय सचिवालय पुस्तकालय पनि थियो । सरकारले तत्कालीन नायव बडागुरु हेमराज शर्मा पाण्डेको निजी संकलन पुस्तक ३ लाख रुपैयाँ भारुमा ३० हजार थान पुस्तक किनेका थिए । शर्मा हिन्दी, बंगाली, नेपाली र संस्कृत भाषाको विद्वान् थिए । उनले विदेश भ्रमण जाँदा ती पुस्तक संकलन गरेका थिए । केन्द्रीय सचिवालय पुस्तकालयसमेत मिलाएर राष्ट्रिय पुस्तकालय स्थापना गरिएको निरौलाको भनाइ छ । सिक्री ढोका २०३० सालमा आगलागीमा परेको थियो । धन्न पुस्तकालय २०१८ मै हरिहर भवनमा सरेको थियो ।

प्रधानमन्त्री आचार्यलाई पुस्तकालय किन खट्किएको होला त ? उपसचिव निरौलाकाअनुसार कुनै पनि मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्था कस्तो छ भनेर एकै ठाउँमा गएर हेर्नुपर्‍यो भने ‘राष्ट्रिय पुस्तकालय जाऊ’ भनिन्छ । किन ? उनी भन्छन्, “राष्ट्रिय पुस्तकालयले त्यो मुलुकबाट प्रकाशित जुनसुकै सामान संकलन गरेर राख्नुपर्छ । त्यो मुलुकसँग सम्बन्धित सरकारको जुनसुकै कुनाबाट प्रकाशित भएपनि संकलित हुनुपर्छ ।”

खासमा नेपालको राष्ट्रिय पुस्तकालयमा पनि एक वर्षभरि मुलुकमा कति पुस्तक छापियो भन्ने तथ्याङ्क राख्नुपर्छ । “तर कानुनको अभावले यो हुन सकेको छैन,” उनले भने । कुनै पनि नागरिकले लेखेको पुस्तक भोलिका सन्ततिका लागि संरक्षण र सम्वद्र्धन गर्ने ठाउँ राष्ट्रिय पुस्तकालय हो । उनकाअनुसार भारतमा पाँच स्थानमा पुस्तक जम्मा गर्नुपर्ने नियम रहेको छ । नेपालमा भने पुस्तकमा हुने आईएसबीएन नम्बर दर्ता त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा गर्नुपर्छ । “यो अधिकार खासमा राष्ट्रिय पुस्तकालयको हो,” उनले भने ।

राष्ट्रिय पुस्तकालयसँग ३०० वर्ष भन्दा पुराना किताब छन् । आगलागीले भेटेको भए ती शताब्दीयौँ पुराना किताब सबै सखाप हुन्थे । तर, हरिहर भवन तत्कालीन अवस्थाका लागि ठिक भएपनि पछि भने निकै सकस भएको उपसचिव निरौला सुनाउँछन् । उनी २०६८ असार १६ देखि २०७३ को मंसिर ८ सम्म त्यहाँ पुस्तकालय प्रमुखको भूमिकामा थिए ।

उनी प्रमुख भएर जाँदा हरिहर भवन जीर्ण भइसकेको थियो । भवन छोड्नुपर्ने कारणहरू मन्त्रालयमा उनले पहिल्यै जानकारी गराइसकेका थिए । यसका अलवा हरिहर भवनको तीन तलामा राष्ट्रिय पुस्तकालयसहित राष्ट्रिय मानवअधिकार आयोग, निजामति पुस्तक खाना र राष्ट्रिय न्यायिक प्रतिष्ठानसहित चारवटा अफिस थिए । पुस्तकालयलाई ठाउँको अभाव थियो । धेरै स्थान मानवअधिकार आयोगले ओगटेको थियो । “डेरामा बसेको जस्तो अनुभूति हुन्थ्यो,” उनी सम्झिन्छन्, “फेरि ठूला संस्था मानवअधिकारको रवाफै बेग्लै । त्यसले पिपलको नभई सल्लाको रुखको काम गर्यो । सल्लाको रुखमुनि केही उम्रिन दिँदैन । असाध्यै रुखो हुन्छ ।”

राष्ट्रिय पुस्तकालय भनेको राज्यले गर्व गर्ने ठाउँ हो । उनी थप्छन्, “भारतीय संविधानमा भारतीय संविभानमा इन्स्टिच्युट अफ नेसनल इम्पोर्ट्यान्ट भनेको छ । तर, हामी कहाँ त्यस्तो भएन ।”

२०७२ को विनाशकारी भूकम्प पुस्तकालयका लागि अर्को ठूलो अभिसाप बन्न पुग्यो । भुकम्पपछि नै राष्ट्रिय पुस्तकालयका किताबहरू बोरामा थन्किएका थिए । “राष्ट्रिय पुस्तकालयका किताबहरू बोरामा भन्ने खुब सुन्नुभयो होला । त्यो किताब बोरामा हाल्ने मै हुँ,” निरौलाले भने ।

त्यसदिनको घटनालाई बेलिबिस्तार लगाउदै उनी सुनाउँछन्, “म त भन्छु यो मेरो नाफाको जिन्दगी हो । त्यो दिन शनिबार परेकोले म बाँचे । नत्र मेरो कार्यकक्ष रहेकै कोठा पूरै खसको थियो ।” भूकम्पले पुस्तकालयलाई क्षति मात्र पुुर्‍याएन । राष्ट्रको धरोहर बन्नुपर्ने पुुस्तकालय त्यसपछि माउ विनाको बेवारिसे बच्चाजस्तै बन्यो ।

त्यो महिनाभरि भुकम्पको परकम्प आइरहे । पछि २९ वैशाखमा अर्को ठूलो भूकम्प गयो । त्यसबारे निरौला भन्छन्, “त्यतिबेला बाध्यता के थियो भने किताब बोरामा राखिएको थिएन भने सबै पानीले भिजाउन सक्थ्यो ।” प्रायः नेपालमा जेठको पहिलो साताबाट मनसुन सुरु हुन्थ्यो । त्यो साल ढिलो आयो । १६ असारमा ठूलो पानी पर्‍यो । उनको टिमले जेठको पहिलो साताबाट किताब बोरामा हालेर महेन्द्र भवनमा लगेर राख्न सुरु गरिसकेको थियो । १५ असारसम्म सबै पुस्तक त्यहाँबाट हटिसकेको उनको भनाइ छ । ३० किलोको चामलका ५ हजार बोरामा ती किताब भरिए । किताब, पत्रपत्रिका, थेसिस सबै गरेर झण्डै डेढ लाख सामग्री थिए । त्यसमा १ लाख १० हजार दर्ता भएका पुस्तक नै थिए । साथमा शर्माका शताब्दीयौँ पुराना महत्वपूर्ण किताब पनि थिए ।

पुस्तकालय बनाउन मन्त्रालयले खोजरहँदा निरौलाले नै जमलको जग्गा उपयुक्त हुने सुझाएका थिए । “नदिऔँ पनि किन ?,” उनी थप्छन्, “वरिपरिका नौवटा क्याम्पसका लागि उपयुक्त थलो हो । सेन्टरमै भएकाले मानिसहरू सपिङ गर्न आउँदा त्यहाँ पस्न सक्छन् । पुतलीसडक र बागबजारमा पढ्न ओइरिने विद्यार्थीको बारेमा त झन् भन्नै परेन ।”

जमलको आठ रोपनी जग्गामा राणाकालमा बारुदखाना थियो । त्यहाँ राणा सरकारले हतियार राख्थे । प्रजातन्त्र आएपछि त्रिचन्द्र क्याम्पसमा पढाउने भारतीय प्राध्यापक बस्ने क्वाटर बन्यो । त्यसपछि त्यो ठाउँमा जनप्रशासन क्याम्पस र बल्खुको सर्टिफिकेट दिने कार्यालय बस्यो । मालपोतमा हेरेपछि जग्गा शिक्षा मन्त्रालयको नाममा रहेको र त्रिविलाई भोगाधिकार दिएको प्रमाण फेला पर्‍यो । त्रिविसँग लालपुर्जा नै थिएन । त्यसपछि त्रिविले शंकरदेव क्याम्पसका केही विषयहरू त्यहाँ राखेर दुई वर्षसम्म पढाउन थाल्यो । अन्ततः २८ असोज २०७६ मा मन्त्रिपरिषद्ले पुस्तकालय जमलमा बनाउने निर्णय गर्‍यो । त्यसको एक महिनापछि पुस्तकालयको नाममा लालपुर्जा आयो । २०७७/०७८ को बजेट वक्तव्यमा पुस्तकालयको नाममा १० करोड बजेट विनियोजन भयो ।

२०७२ मा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सबै बेलिविस्तार लगाएपछि उनले भोलिपल्टै अनुुगमन गरेर जग्गा खोज्न लगाएपछि जमलको जग्गा पाइएको थियो । जग्गाको खोजीमा कार्यदल गठनसमेत भएको थियो । तीन स्थान जमल, केशर पुस्तकालय र हरिहर भवनलाई पुस्तकालय बनाउन उपयुक्त हुने सुझाव आएको थियो । तर, केशर महलको कुरा उठाउदा त्यहाँका दाता र केही कर्मचारीले चर्को विरोध गरेको मन्त्रालयका एक कर्मचारी सम्झन्छन् ।

कतिपयले दुईटै पुस्तकालय एकै ठाउँमा राख्नुहुन्न भन्ने तर्कसमेत गरेको ती कर्मचारीको भनाइ छ । तर, उपसचिव निरौलाकाअनुसार राष्ट्रिय पुस्तकालयमा थेसिस, हिन्दी र संस्कृति भाषाका पुस्तकको संकलन धेरै छ भने केशरमा हस्तलिपी र अंग्रेजी पुस्तक धेरै छन् । दुवैको फ्लेबर फरक रहेको उनी बताउँछन् ।

यसबीच जमलको जग्गामा व्यापारिक भवन बनाएर नाफा कमाउन विवादित संस्था यती होल्डिङ पृष्ठभूमिमा बाधा बनेर आयो भने अग्रभागमा त्रिवि र राष्ट्रिय पुुर्ननिर्माण प्राधिकरण देखिए । प्राधिकरणले बृहत् टुँडीखेल बनाउने योजनामा त्रिचन्द्र क्याम्पस त्यहाँ राख्ने भन्दै जग्गा अतिक्रमण गर्न खोज्यो । जमलजस्तो ठाउँको जग्गा ४२ वर्षसम्म भोगचलन गरेर त्रिविले छोड्नुपर्‍यो । यसै चलखेलबीच ५ साउन ०७७ मा मन्त्रिपरिषद्ले जमलको जग्गामा पुस्तकालयको भवन निर्माण तत्काल स्थगन गर्ने निर्णय गर्‍यो ।
त्यसै दिन उनलाई ‘निद्रा लागेन’ । अनि फेसबुकमा स्टाटस लेखे, “ब्ल्याक ट्युज डे फर नेपलिज लाइब्रेरी लभर्स (नेपाली पुस्तकालय प्रेमीहरूका लागि कालो मंगलबार) ।”

भोलिपल्ट उनका कार्यालयका सहकर्मीहरूले त्यस्तो स्टाटस किन लेखेको भनेर प्रश्न गरेका थिए ? “तर, त्यही स्टेटमेन्टले पुस्तक प्रेमीको मर्ममा यसरी हान्यो कि, त्यसपछि जनमत तयार बन्यो,” उनले हौसिदै सुनाए । ५९ जना व्यक्तित्वहरू प्राध्यापक, पूर्व राजदूत, पूर्वमन्त्रीले विज्ञप्ति नै निकालेर सरकारको ध्यानाकर्षण गरे । जसले गर्दा सरकारले जग्गा व्यापारीलाई दिइहाल्न सकेन ।

त्यसअघि पुस्तकालय बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला संस्कृति झल्किने पुस्तकालय बनाउने घोषणा गरेपछि त्यहीअनुसार डिजाइन बनेको थियो । जापान र सिंगापुरका राष्ट्रिय पुस्तकाललाई मध्येनजर गरी एनिमेटेड भिडियोसमेत बनाएको पुस्तकालयका पूर्व प्रमुख उपेन्द्र मैनाली सुनाउँछन् । उक्त डिजाइन पुस्तकालयको वेबसाइटमा देख्न सकिन्छ ।

पुस्तकालयको विकल्प खोज्न २०४० सालदेखि नै सुरु भएको थियो । एकपटक भवन पाइयो भने युनेस्कोले बनाइदिने भनेर १५ लाख डलर २०५३ मा छुट्याइएको थियो । अहिले स्वास्थ्य मन्त्रालय रहेको कुनाको जग्गामा पुस्तकालय बनाउने प्रस्ताव आएको निरौला सम्झन्छन् ।

तर, उक्त जग्गा खाद्य संस्थानसँग सरकारले किनिदिनुपर्ने रहेछ । जग्गाको मूल्य बढी राखेको भएर त्यो सम्भव भएन । दाता फर्केर जाने भयो । अन्ततः सानोठिमी भए किन्न सक्ने सरकारले भन्यो । तर, आम मानिसलाई सानोठिमी पुग्न कठिन थियो । चीनको राष्ट्रिय पुस्तकालयले सहरबाट अलि टाढा छ । तर, त्यो पुस्तकालय पुग्न ५/५ मिनेटमा गाडी चल्छ । “हाम्रोमा त्यो सुविधा छैन । दाताले नमानेपछि त्यो बजेट पाइएन,” उनी थप्छन् ।

अन्ततः राजनीतकि संक्रमणले ओली सरकार हट्यो र शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बन्यो । नयाँ सरकारले ८ कात्तिक २०७८ मा जमलमा पुस्तकालय निर्माणको काम पुनः सुरु गर्न निर्देशन दियो । हाल सानोठिमीमा अस्थायी रूपमा पुस्तकालय यसै साताबाट सञ्चालनमा आएको छ । वार्षिकोत्सवको अवसर पारेर पुस्तकालय सञ्चालनमा ल्याएको पुस्तकालयका प्रमुख दशरथ मिश्रले सुनाए ।

पुस्तकालयका चुनौतीहरू
राष्ट्रिय पुस्तकालयलको भवन निर्माणबाहेककै चुनौती थुप्रै छन् । जसमा पुस्तकको सूचीकरण गर्नु प्रमुख दायित्व रहेको छ । त्रिविले दिने गरेको पुस्तकको आईएसबीएन नम्बर खासमा राष्ट्रिय पुस्तकालयको अधिकार क्षेत्रभित्र पर्छ । अन्य मुलुकमा विश्वविद्यालयले आईएसबीएन नम्बर दिने चलन छैन । नेपाल सरकारको शिक्षा मन्त्रालयले राष्ट्रिय पुस्तकालयले आईएसबीएन नम्बर दिने निर्णय गरेपनि सो अधिकार त्रिविले खोसेर प्रधानमन्त्रीबाट उद्घाटन गराएर काम सुरु गरेको कतिपय जानकारहरू बताउछन् ।

त्रिविले उक्त अधिकार राष्ट्रिय पुस्तकालयलबाट खोसेपनि गम्भीरतापूर्वक त्यसलाई निर्वाह भने गरेको छैन । प्रकाशन गृहहरूले एकैपटक पुस्तकको लागि आईएसबीएन नम्बर लिएर जाने र आफ्नो हिसाबले पुस्तकमा उक्त नम्बर टाँस्ने र त्रिविमा दर्ता नगराई पुस्तक बजारमा बेच्ने प्रचलन व्यापक बढेको छ । त्रिविले यसबारेमा थाहा पाएपनि कारबाही गरेको छैन । जसको कारण लेखकहरू मारमा पर्ने गरेका छन् ।

त्रिविमा सेवा आयोगको परीक्षामा आवेदकले पुस्तक लेखेको छ भने उक्त पुस्तकका लागि पनि अंक दिने गरिन्छ । तर, त्रिविको प्रशासनमा उक्त पुस्तकको आईएसबीएन नम्बर दर्ता नहुँदा सेवाग्राहीहरू मर्कामा पर्दै आएका छन् ।

यसैगरी, विद्यावारिधि (पीएचडी) गरेकाले नेपाल विद्याभूषण राष्ट्रपतिबाट पाउछन् । अनि शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखामा पीएचडीको थेसिस बुझाउनुपर्छ । त्यो थेसिस राष्ट्रिय पुस्तकालयमा राखिन्छ । त्रिविबाट गरेकाले एक कपी त्यहाँ बुझाउलान् । तर, अन्य विश्वविद्यालयबाट पीएचडी गरेकाले थेसिस राष्ट्रिय पुस्तकालयमा मात्र पाइन्छ । पुस्तकालयले संग्रह गरेका पुराना थेसिस जोगाउनु ठूलो चुनौती रहेको विज्ञहरू औँल्याउछन् ।

यसैगरी, आईएसएसएन नम्बर चाहिँ राष्ट्रिय पुस्तकालयले दिन्छ । यो अन्तर्राष्ट्रिय सिरियल नम्बर हो, जुन पत्रिकाले दिन्छ । नेपालमा आईएसबीएन नम्बर पाउन त्रिवि जानुपर्ने, आईएसएसएन नम्बर पाउन राष्ट्रिय पुस्तकालय र प्रतिलिपि अधिकारमा दर्ता गर्न कालिकास्थान जानुपर्दा सेवाग्राहीले दुःख पाएका छन् । यसअघि प्रतिलिपि अधिकार पनि  राष्ट्रिय पुस्तकालयले नै दिन्थ्यो ।

उपसचिव निरौला भन्छन्, “एक जना शाखा अधिकृतले गर्ने काम अहिले एउटा विभाग बनेको छ । यो सबै पुस्तकालय कमजोर बनाएर भएको हो । सिंगापुर काठमाडौं उपत्यका जत्रो भएपनि त्यहाँको राष्ट्रिय पुस्तकालयल विशाल छ । त्यहाँ एक हजार कर्मचारी छन् । तर, हाम्रो पुस्तकालय जम्मा १५ जनाको दरबन्दीमा दुईटा खाली छ ।”

पुस्तकालय प्रमुख मिश्र भन्छन्, “अहिले त बोराका किताब सबै दराजमा छन् । केही बिग्रेको अवस्थामा छन् । तर, पढ्न सकिन्छ । जमलमा पुस्तकालय बनेपछि सम्पूर्ण सुविधा हुनेछ ।”

तर, अन्ततः पुस्तकालय बन्ने भएपछि पुस्तकालयको अधिकार क्षेत्रभित्र रहेको आईएसबीएन नम्बर विस्तारै पुस्तकालयमै फर्काउन पहल गर्ने योजना मिश्रको छ ।