साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

तलको सामग्री हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । संस्मरण विधाको प्रस्तुत लेख घिमिरे युवराजले लेख्नुभएको हो । तपाईँले प्रस्तुत संस्मरण अन्नपूर्णकै फुर्सदमा पनि पढ्न सक्नुहुनेछ ।

……………………………………………………………..

संस्मरण

म मिरिकको फुगुडी चिया कमानमा छु।

शान्तिला तामाङलाई बुबाआमाको मातृभाषा आउँदैन। उनको मातृभाषा नेपाली भयो। उनले बोल्दा खस भाषा फरक सुनिन्छ। अर्कै मिठास सुनिन्छ, लवजका कारणले। ‘मेरो आमाले बोलेको नेपाली कस्तो अप्ठेरो सुनिन्छ !’ लाज मान्दै शान्तिलाले भनेकी थिइन्। ‘कस्तो अप्ठेरो ?’ म उत्सुक थिएँ सुन्नलाई। तर, उनकी आमाको उच्चारण पनि फरक र मिठासपूर्ण लाग्यो मलाई।

शान्तिलाको बुबाआमाको सहयात्राको सुन्दर कथा रहेछ। शान्तिलाकी आमा नागाल्यान्डकी नागामिज। बुबा मिरिक, दार्जिलिङको तामाङ। रतन तामाङ भारतीय सेनामा भर्ती भएर नागाल्यान्ड पुगेछन्, सन् १९६८ मा। सेनाको जागिर छोडेर शिक्षक बनेका रतनको प्रेम बसेछ, १७ वर्षीया सोसेली संताङसँग। सन् १९८६ मा भागी विवाह गरेछन्, यी दुईले। रतनले सोसेलीलाई मिरिकको फुगुडी चिया कमानभित्रको पुख्र्यौली घरमा लिएर आए। रतन र सोसेली त्यसबीचमा कहिल्यै नागाल्यान्ड गएनन्। यहीँ जन्मिए, यिनका दुई छोरी र एक छोरा।

गत फेब्रुअरीमा कान्छी छोरी शान्तिलाले आमालाई लिएर नागाल्यान्ड पुगिन्। ३४ वर्षपछि सोसेलीले आफ्नो माइतीघर टेकिन्। आमाबुबा बितिसकेछन्। दाइभाउजू र तिनका छोराछोरी रहेछन्। ‘मलाई त मर्‍यो भनेर माया मारेको जिउँदै देखेर अचम्ममा परे। मलाई र शान्तिलालाई भेटेर सबैजना खुसी भए।’ तर, सोसेलीले नागामिज भाषा नै बिर्सिछन्। खिन्न अनुहार लाएर उनले भनिन्, ‘आफ्नो आमाबुबाको भाषा बोल्छु भनेको त नेपाली पो फुत्कियो। मलाई एकदमै नराम्रो लाग्यो। उनीहरूको अपमान गरेजस्तो भयो। र, मैले हात जोडेर भनेँ, ‘मलाई माफ गर्नुस् नागामिज भाषा बिर्सेंछु।’ सुरुमा त दाजुभाउजू अचम्ममा परे तर पछि उनीहरूले मलाई माफी दिए।’ मूलघरसँगै जोडिएको सानो भान्साघरमा बसेर म शान्तिलाकी आमासँग बात मार्दै छु।

म चिया कमानभित्रको गोर्खाली बस्तीमा छु। यस्तो लागिरहेको छ, मानौँ म अध्ययनका लागि कुनै विश्वविद्यालयमा छु। शान्तिलाको टोलको नाम हो, २ नम्बर। शान्तिला मेरी विद्यार्थी हुन्, रंगमञ्चको। तालिमको क्रममा गत वर्ष यिनी पाँच महिना बसिन्, काठमाडौँ। एउटा नाटकमा अभिनय गरिन्। ‘निर्मलाका निम्ति न्याय’ अभियानमा सरिक भइन्। त्यसपछि फर्किइन् आफ्नै जन्मथलो। काठमाडौमा हुँदा उनले शिल्पी र अरू थिएटरमा पनि भ्याएजति नाटक हेरिन्। यसले उनीभित्र रंगमञ्चको रहर र तिर्खा झन् जगायो। यतै हुँदा भन्ने गर्थिन्, ‘सर चिया कमानको जिन्दगीमाथि नाटक बनाउने इच्छा छ।’ सिलिगुडीका कवि राजा पुनियानीले मोनोलग लेखेर पठाए चियाकमानकी एक मजदुरको। निलो खुन।

मालिकैलाई चियाबारी रातो सुन
हामीलाई त चियाबारी हरियो खुन
धर्ती छाडी ताक्नु हुन्छ हजुर जून
हामीलाई त निस्तो गाँसमा ढिका नुन
बग्यो बालासन लैलै सुक्यो बालासन

मैले फिटिक्कै नबुझेको विषय हो, यो। नाटकलाई कसरी बलियो बनाउन सकिन्छ भनेर केही लिटरेचर पढ्दै थिएँ। राजाले केही अनलाइन पुस्तक पठाउँदै थिए। शान्तिला मिरिकमै थिइन्। मिरिकमै नाटक कार्यशाला गरेर नाटक बनाउने योजना बन्यो। शान्तिला र राजाको निम्तोमा मिरिक लागेँ, खाली दिमाग बोकेर।

फेब्रुअरी २८ को दिउँसो म झरेँ, भद्रपुर विमानस्थलमा। काठमाडौँ चिसो थियो। पानी परेर हिलाम्मे पनि। झापा तातो भइसकेको रहेछ। मैले लगाएको बाक्लो ज्याकेट र मफलर मलाई धेर भइसकेको थियो। त्यसमाथि लामो बसाइका लागि बोकेको ठूलो झोलाको बोझ थियो। चारआलीमा पत्रकार पर्वत पोर्तेलसँग भेट भयो। पर्वतसँगै परिवर्तन थिएटर काँकडभिट्टा पुगेँ। त्यहीँ आइपुगेकी थिइन्, मलाई लिन शान्तिला तामाङ।

गोर्खालीहरूले लडेको युद्धका कैयौँ वीरताका कथा हामी आज पनि पढ्छौँ। दार्जीलिङको आफ्नै भूमिमा आफ्नै सरकारसँग गोर्खालीहरू किन हारिरहेका छन् ?

मेची पुल तरेर भारतको पश्चिम बंगाल टेकिन्छ। पानीट्यांकी हुँदै हामी पब्लिक बसमा लाग्यौँ, सिलिगुडीतर्फ। सिलिगुडीमा कवि पुनियानी भेटिए। म उनकै साथ लागेँ। पब्लिक भ्यानमा मिरिक लागिन्, शान्तिला।

सिलिगुडीसँग मेरा केही सम्झना छन्, २०४८ सालबाट। सुबुकमोड, प्रधाननगर, भानुनगर थोरै ठाउँ याद थियो, मलाई। प्रधाननगरका प्रधानले मेरो गाउँ कर्जुनामा २०औँ बिघा जग्गामा पोखरी खनेका थिए। अझै छ। भानुनगरमा मेरी काइँली फुपू फुपाजुको घर छ। विशाल हलमा केहीपटक फिल्म हेरेको छु। अन्तर्राष्ट्रिय नाटक महोत्सवमा जाँदा सिलिगुडी हुँदै जान्थ्यौँ हामी बहरामपुर। अस्तव्यस्त सडक र बंगाली अक्षर मेरो सम्झनामा गडेर बसेका थिए। तर, सिलिगुडी सम्झँदा सुनचरी पत्रिका र यसका सम्पादक कुमार प्रधान झन् गाढा भएर बसेका छन्। फुपूको घरमा हरेक बिहान सुनचरी आउँथ्यो। मलाई त्यहाँ नेपाली पत्रिका पढ्न पाउँदा निकै खुसी लाग्थ्यो। त्यसभन्दा बढी यसको भाषा शैली र समाचारको किसिमले तान्थ्यो मलाई।

आदरणीय कुमार प्रधान रहेनन्। अचेल सुनचरी पनि आउँदैन। हिमालय दर्पण आउँछ। पुनियानीले हिमालय दर्पणको कार्यालयमै लगे। यसका सम्पादक र अरू पत्रकार साथीहरूसँग पनि भेट भयो। सम्पादक शिवु क्षेत्रीले आफ्नो बालकथा संग्रह मलाई उपहार दिए। कला र रंगमञ्चको कारणले बंगालीहरूसँग सामीप्य रह्यो। बंगाली फिल्म र थिएटरप्रति विशेष रुचि रह्यो। बादल सरकार बंगाली भाषाका बेजोड नाटककार लाग्छ मलाई। उनले नाटक लेखन छोडेर शारीरिक रंगमञ्चको अभ्यास थाले र नाम दिए, आँगन रंगमञ्च। सन् २००४ मा कलकत्ता आयोजित नाटक महोत्सवमा उनीसँग भेट भएको थियो। उनीसँग अन्तर्वार्ता पनि गरेको थिएँ।

त्यही मञ्चमा साहित्यकार महाश्वेतादेवीसँग पनि भेट्ने सौभाग्य मिलेको थियो। दुवै बितिगए। अचेल प्रोविर गुहा, ब्रत्य बसु, सञ्जय गांगुली, पार्थ गुप्ता आदिसँग कुरा हुन्छ। टेगोर, सत्यजित रे, हृत्विक घटक, उत्पल दत्त, शरदचन्द्र चटोपाध्याय, विमल मित्रो, शम्भु मित्रोजस्ता दर्जनौँ सर्जकले बंगाली कलाको समृद्धिलाई सम्झाइरहन्छन्। हामीले मानेका बंगाली साहित्य, कला र त्यसका सर्जकहरूको महत्व एकातिर छ, अर्कोतिर सामाजिक संरचना र राजनीतिक कठोरताको डरलाग्दो पाटो छ। पश्चिम बंगालमा नेपाली भाषी र त्यहाँका आदिवासीमाथिको थिचोमिचो नबुझुन्जेल बंगालीहरू प्रिय नै लाग्ने रहेछ। तर, यो कुरा आममानिसको भन्दा पनि शासकहरूको रणनीतिको कुरा भयो।

त्यस साँझ राजा पुनियानीले सालबारीको एउटा गजबको चिया पसलमा लगे। दर्जनौँ किसिमका चिया किन्न पाइने र चिया पिउन पनि पाइने त्यहाँ। पसलको नाम रहेछ ‘गार्डेन्स् टी’। अनन्त गोम्देन रहेछन्, यसको सञ्चालक। साह्रै मिजासिला गोर्खाली। गोम्देनको पाँच पुस्ता चिया व्यापारमा रहेछ। संसारभरका धेरै चर्चित मिडियाले यो परिवारबारे लेखेका रहेछन्। पसलको टेबलमा एउटा अंग्रेजी पुस्तिका भेटेँ। गोम्देनका बुबा अरुण गोम्देन संसारमै प्रसिद्ध थोरै टि टेस्टरमध्ये पर्दा रहेछन्। त्यहीँ थाहा पाएँ, अफिसियल टि टेस्टरलाई धूमपान, मद्यपान वा पानसमेत खान बर्जित रहेछ। टि टेस्टरको जिब्रो निकै चनाखो हुनुपर्ने र स्वादको पारख गर्नसक्ने हुनुपर्ने हुनाले निश्चित अनुशासनमा बस्नुपर्ने रहेछ।

अनन्तकी आमा सविता गोम्देन कुशल चित्रकार र कवि रहिछन्। सविताका सुन्दर चित्र चिया पसलको फराकिलो र सफा भित्तामा सजिएका छन्। उपलब्ध पुस्तिकामा लेखिएको थियो, ‘सन् १८७५ मा नेपालको पहाडबाट कामको खोजीमा तत्कालीन ब्रिटिस शासित भारतमा छिरेका गञ्जवीर लामा गोम्देनले लिबोङ टि कम्पनीको लागि कामदार ठेकेदारका रूपमा वह तुकवर चिया कमानमा काम गर्न थाले।’ कतिपय नेपाली भाषीहरू यसरी नै ब्रिटिसकालीन समयदेखि चिया कमानमा बस्दै आएको इतिहास छ। गोपालसिंह विश्वले (पुस्तक: सन्दर्भ: डुवर्स र गोर्खाहरू) लेखेका छन्, ‘दार्जीलिङ पहाडमा चिया बगानको स्थापना गर्न डा. क्याम्पबेलको ठूलो भूमिका छ। उनले सन् १८४१ तिर चीनबाट चिया खेतीका प्रशिक्षक झिकाएर दार्जीलिङका नेपालीलाई चिया खेती र चिया तयार गर्ने प्रशिक्षण दिएका थिए।

सन् १९५६ मा दार्जीलिङ टि कम्पनीद्वारा प्रथम आलुबारी चिया कमान खोलिएको थियो।’ अहिलेसम्मै दार्जीलिङका चिया कमानका मजदुर नेपाली भाषीहरू हुन्। त्यसभन्दाअघिदेखि नै नेपाली भाषीहरू टिस्टासम्म फैलिएको इतिहास छ। राजा पृथ्वीनारायण शाहको राज्य विस्तारमा नेपाल देश टिस्टा नदीसम्म फैलँदा युद्धको क्रममा गएका कति नेपाली उतै बसे भन्ने पनि इतिहास छ। (सुवास घिसिङको लेखरचना संकलनबाट)

‘गार्डेन्स् टि‘मै भेट भए साहित्यकार ज्ञानेन्द्र खतिवडा, अनुवादक इन्द्र गिरी। त्यसैगरी मनबहादुर मुखियाको नाटक अनि देउराली रुन्छको पहिलो प्रदर्शनदेखि नै अभिनय गरेका कलाकार कालु सिंह रणपहेँली। केही क्षण हामीले मुखियाका नाटकबारे कुरा गर्‍यौँ। क्रसमा टाँगिएको जिन्दगी, अँध्यारोमा बाँच्नेहरू, असत्यम् अशिवम् असुन्दरम्, फेरि इतिहास दोहोरिन्छ आदि। ज्ञानेन्द्र दाइले अभि सुवेदीका नाटक र समीक्षा पढेका रहेछन्। निकै प्रशंसा गरे। निर्देशक प्रताप सुब्बाको पनि चर्चा भयो। उनको घर त्यहीँ सालबारीमै रहेछ। ज्ञानेन्द्र दाइले दुई महिनाअघि मञ्चन भएको पर्वत पोर्तेलको लेखन र मेरो निर्देशनको नाटक दसगजा हेर्न ठूलो समूह बटुलेर परिवर्तन थिएटर काँकडभिट्टा पुगेका रहेछन्। एकछिन त्यही नाटकको चर्चा भयो।

साँझ झमक्क परिसकेको थियो। राजाले स्कुटरमा राखेर मलाई मिरिक पुर्‍याउने भए। ठ्याक्कै मिरिक त हैन रहेछ। पुगेर थाहा पाएँ। मिरिकभन्दा सात किलोमिटर यतै। ‘फुगुडी चिया कमान’मा पुग्नु थियो हामीलाई। साँझको स्कुटर राइड गजबको भयो। बाटोमा रोकिँदै चिया पिउँदै। पान चपाउँदै। राति अबेर मोबाइल फोनको लाइटको साहरामा राजाले डोहोर्‍याएर चिया बगानको बाटो डाँडा कान्ला हुँदै एउटा सुन्दर घरमा पुर्‍याए। त्यहीँ घर रहेछ, शान्तिलाको।

मनभरि अनेकौँ कौतूहल जगायो रातले। पर्यटकका रूपमा घुमेको भन्दा भिन्न छ, यसपटकको चिया बगान मेरा लागि। म छु फुगुडी चिया कमानको लगभग केन्द्रमा। वरिपरि टिनको छाना भएका घर छन्। शान्तिलाको घर एक तलाको छ, सिमेन्ट छत भएको। छतबाट चारैतिर आँखाले देखुन्जेल चिया कमान छ। दोस्रो दिन बिहान म घरको छतमा छु चिया कमानको रमिता हेर्दै। शान्तिलाका बुबा रतन मलाई चिया कमानबारे भन्दैछन्, ‘फोगडी चिया कमानको पश्चिममा सौरेनी चिया कमान छ। पूर्वमा छन् अम्बटे, सिंगेल र मकैबारी। उत्तरमा छ नोल, घैयाबारी, टिङलिङ मञ्जु चिया कमान। टिङलिङ चिया कमान त्यही नामले मेचीपारि पनि छ, नेपालमा।

दक्षिणमा छन्, बालासन टर्जङ, गोपालतारा, सियोक, थर्जु, ओकाइटी, कम्बल, मिम, चुङथुङ, सम्रिक, मगरजुङ चामुङ।’ शान्तिला थप्छिन्, ‘चामुङ चिया कमानमा हाम्रा बडा काम गर्छन्।’ रतनले सम्झिए, ‘सुवास घिसिङको घर मञ्जु चिया कमानभित्र थियो। उनी त्यहीँ जन्मिएका।’ जता हेर्छु, आँखाले भ्याएसम्म चियाबारी। फोगडी चिया कमान ६९.१४ एकर क्षेत्रफलमा फैलिएको रहेछ। ब्रिटिसकालीन समयमा दार्जिलिङ जिल्लामा मात्रै १८९ वटा चिया कमान थिए। अचेल धेरैजसो बन्द भएर ८८ कमान सञ्चालनमा छन् (सन्दर्भ  : डुवर्स र गोर्खाहरू)।

चिया बगानभित्र चिया पिएर शान्तिला, राजा र म चिया कमानका गाउँ घुम्न हिँड्यौँ। यहाँका घर असाध्यै सुन्दर रहेछन्। चिया कमानले दिएको एक चोक्टो जमिनमा छरिता दुई कोठे घर छन्। चिया कमान कोतरेर सानो सागबारी र फूलबारी बनेको छ। यस्तोमा पनि चिटिक्क घरहरू, चिटिक्क कोठा, थरीथरीका फूल फुलेका चिटिक्कको फूलबारी। प्राय: घर यस्तै देखेँ, मैले। सफा। अपनत्वको चेतना, शृंगारको भावना। तर, चिटिक्कका यी घरभित्रका डरलाग्दा कथाव्यथा छन्। तिनकै मुखबाट ती कथाहरू सुन्न मैले केही समय पर्खनु पर्नेछ। उहिल्यै पढेको आईबी राईको ‘आज रमिता छ’ दोहोर्‍याएको छु। तिनका पात्रहरू जनक, सीता, रवि, भुदेव, विनाकसुर जेल परेका चिया कमानका मजदुरहरू झल्झल्ती सम्झँदो छु।

फोगडी चिया कमानको चिया फ्याक्ट्री पनि नजिकै रहेछ। वर्षमा तीन महिना फ्याक्ट्री बन्द हुने रहेछ डिसेम्बर, जनवरी र फेब्रुअरी। मार्चबाट नोभेम्बरसम्म चिया कमान सञ्चालनको समय रहेछ। संयोग गजबको परेछ। हिन्दु पुजारीको साइत सल्लाहअनुसार फेब्रुअरी २९ मा विशेष पूजासहित फ्याक्ट्रीको मेसिन चलाइयो। जो कोहीलाई फ्याक्ट्रीभित्र छिर्ने अनुमति छैन। शान्तिलाको आमा चिया कमानमा काम गर्ने हुनाले उनले त्यहाँ मिलाइन् कुरा। (चिया कमानभित्र घर भएकाको हरेक परिवारबाट कम्तीमा एक जना कमानमा काम गर्न जानुपर्छ। तर, अहिले त्यो अनिवार्य छैन।) फ्याक्ट्रीका मेनेजरलाई नेपाली भाषी कामदारले सोर्स लगाएपछि भेटिए फ्याक्ट्री इन्चार्ज शुभम श्रेष्ठ। उनैले घुमाए ब्रिटिसकालीन त्यो चिया फ्याक्ट्री। डेढ सय वर्ष पुराना मेसिनहरू थिए त्यहाँ। उनले भने, ‘फुगुडी चिया फ्याक्ट्रीले उत्पादन मात्रै गर्छ। यसको मालिक हो बगेरिया कम्पनी जसको कार्यालय कलकत्तामा छ। फुगुडी चियाको बजार मूलत: जर्मनी हो। कामदार, पारिश्रमिक वा बगानको कुनै पनि निर्णय कलकत्ताबाट हुन्छ। धेरै कामदारले आजसम्म मालिकको अनुहार देखेका छैनन्।’

नाटकका लागि यो एउटा रिसर्चजस्तो थियो। तर, त्यहाँ पुगेपछि त्यसै पनि यो नौलो संसारप्रति रुचि जागेर आयो। शान्तिला र म चिया बगानभित्र छिर्‍यौँ, कामदारहरूलाई पछ्याउँदै। सामान्यतया कामदारहरूको रुटिन रहेछ  :

घरबाट बिहान ६:३० बजे बगान निस्कियो। ७:०० देखि ११:३० बजेसम्म चिया टिप्यो। ११:३ देखि आफूले टिपेको चिया तौलिने समय हुन्छ। १२:०० देखि १:०० बजेसम्म खानाको समय। १:०० देखि ३:३० बजेसम्म फेरि चिया टिप्यो। ३:३० बजेपछि आफूले टिपेको चिया तौलिएर फ्याक्ट्रीलाई बुझायो।

दर्जनौँ महिला चियाबारीमा छन्। घुँडासम्म आउने प्लास्टिकको जुत्ता (गम्बुट), हातमा पन्जा, छाता र ढाडमा डोको भएपछि चिया बगान छिर्न मिल्यो। मार्च १ देखि काम सुरु भएको छ बगानमा। अझै केही हप्ता चिया टिप्ने बेला भएको छैन। अहिले चियाको बोट सफा गर्ने समय रहेछ। खुट्टामा प्लास्टिकको जुत्ता र हातमा पन्जा लगाएका महिलाहरूको हातमा फलामको अंकुशे छ। त्यही अंकुशेले चियाको बोटमा लागेको झ्याउ, लहरा र अन्य फोहर निकाल्न मद्दत गर्छ। चियाको बोटलाई यसरी स्याहारिरहेका छन् महिलाहरू मानौँ आमाबाले कलिलो सन्तानलाई स्याहार्दै छन्। गाईले आफ्नो भर्खरै जन्मिएको बाछी÷बाछोलाई चाट्दै छ। ६० वर्षीया शान्ति घले भन्छिन्, ‘चियामा लाग्ने झार सैतानजस्तो हो। यसलाई हटाएन भने चियाको बोट मर्छ। जो काम नलाग्ने त्यही बढी फैलन्छ। चियालाई चाहिने भिटामिनजति काम नलाग्ने झारले खाइदिन्छ। घरमा पनि काम नलाग्ने झार छ।’
मैले सोधेँ, ‘हो र ? कस्तो झार ?’
उनले हाँस्दै भनिन्, ‘श्रीमान्।’

५० वर्षीय विप्साङ तामाङले भनिन्, ‘चियाको पात पो जोखेर थाहा लाग्छ काम गरेको। यो झार टिपेको कसले देख्छ ? खोल्सामा हाल्यो भने साहेबहरूले देख्दैन। त्यसैले टिपेको झारमाथि रोडमा लगेर राख्छौँ काम देखाउन। ढाड दुखिसक्यो, कम्मर दुखिसक्यो। आधा घण्टामै डल्लै बोरा भरिन्छ झारले।’ यहाँका अधिकांश महिला खासमा यहाँका हैनन्। बिहे गरेर अर्कै गाउँ वा अर्कै देशबाट आएका। ४० वर्षकी मञ्जु लोहनीको माइती मोरङ नेपालको पथरी हो। ३५ वर्षीया गीता राईको माइती झापाको भद्रपुर हो। मञ्जुले भनिन्, बिहे गरेर देश नै फेरियो।

अचेल चियाबारीमा काम गर्नेहरू महिला मात्रै हुन्छन्। चियाको बोट सफा गर्ने, चियाको पत्ता टिप्ने काममा पुरुषहरूको मन जाँदैन। चिया टिप्नेहरूको निरीक्षण गर्नेहरूलाई ‘कामदारी’ भन्छन्। उनीहरू चाहिँ पुरुष हुन्छन्। कामदारीले गर्ने गाली काँचो चियाको पत्ता चपाउँदाभन्दा तीतो हुन्छ। फ्याक्ट्रीभित्र काम गर्नेहरू भने पुरुष हुन्छन्। यहाँ कामको पनि लिंग हुन्छ।

आज पनि चिया कमानका मजदुरहरूको दु:ख उही छ। ज्यालाको। हरेक चिया कमान मजदुरहरूले आज पनि पाउने ज्यादा भनेको प्रतिदिनको १७४ भारतीय रुपैयाँ हो। यो अत्यन्तै न्यून हो। सामाजिक सुरक्षाको, जग्गामाथिको अधिकारको, श्रमको मूल्यको ठूलो समस्या छ। नेपालको तराईमा उखु किसानहरूको जस्तै पीडा। वा कोलम्बियामा चिकिता बनानाको खेतीमा काम गर्ने मजदुरहरूको जस्तै पीडा। त्यसैले मजदुर दिवसको नारा बनेको होला, ‘संसारभरिका मजदुर एक हौँ।’ यो पुँजीवादी अर्थ व्यवस्थामा संसारभरिका मजदुरहरूको पीडा एउटै भएको छ। तुलनात्मक रूपमा चिया कमानका मजदुरहरूको पीडा केही भिन्न छ।

आज पीडा खेपिरहेका चिया कमानभित्रका मजदुरहरू आजको व्यवस्थासँग वाक्क भएर भन्ने गर्छन् बरु ब्रिटिसकालमै राम्रो थियो। आजको नेपालमा भ्रष्ट राजनीतिक दल र नेताबाट वाक्क भएर नेपालीहरूले बरु राजै ठीक थिए भनेजस्तो। यो वितृष्णा जातीय पहिचानसँग जोडिएको छ। भाषासँग जोडिएको छ। माटोमाथिको अधिकारसँग जोडिएको छ। ज्यालासँग जोडिएको छ। हाम्रो मधेस र उताको गोर्खाल्यान्डका कतिपय पीडा समान लाग्छन्। नेपाल भन्ने देश विचित्रको संघीय प्रणालीमा छ, एउटा मैथिली वा नेवारी विद्यार्थीलाई अझै नेपालीमा राष्ट्र गान घोकाइन्छ। उनीहरूले आफ्नै देशको राष्ट्र गान आफ्नो मातृभाषामा गाउन पाउँदैनन्। उता गोर्खाल्यान्ड आन्दोलन झन् चर्कियो (सन् २०१७) जब पश्चिम बंगाल सरकारले सबै नेपाली भाषी विद्यार्थीहरूका लागि बंगाली भाषा अनिवार्य गर्ने घोषणा गर्‍यो। सन् १९९२ मा नेपाली भाषाले भारतका २२ वटा सरकारी मान्यता प्राप्त भाषामध्ये आठ सूचीमा स्थान पाएको थियो।

शिक्षक तथा इतिहासका अध्येता मनोज गिरीसँग एक साँझ सघन छलफल भयो, फुगुडी चिया कमानभित्रै। मसँग उनका लागि प्रश्न मात्रै थिए। उनले भने, ‘मूलत: मालिकको जमिनमाथिको आधिपत्य अन्त्य गर भन्ने हो।’ चिया कमानभित्र सयौँ वर्षदेखि गोर्खालीहरू बसेका छन्। जग्गा सरकारी हो। सरकारसँग कम्पनीले चियाका लागि जमिन लिजमा लिन्छ। यो ठूलो असुरक्षा र भय हो नागरिकलाई। ‘कम्पनीमा काम गर्ने मजदुरहरूका लागि न फ्याक्ट्री एक्ट लागू हुन्छ न त प्लान्टेसन एक्ट। कागजमा छ तर व्यवहारमा छैन।’ उनको विचारमा नेपाली भाषी भारतीयहरूको आत्मसम्मान र पहिचानको कुरा मात्रै हैन, बंगाली समुदायको अगाडि पश्चिम बंगालका आदिवासीहरूको स्थिति पनि दयनीय छ। उनी नेपाली भाषीहरूमा राजनीतिक, सांस्कृतिक चेतनाको आवश्यकता ठान्छन्। र केही वर्षदेखि ‘आह्वान’ अभियान चलाइरहेका छन्। उनीबाट प्रशिक्षित विद्यार्थीहरू मरिना राई, लावा शेर्पा, विनिता राईहरू जेएनयू देल्लीबाट पनि अध्ययन सकेर यही अभियानमा फर्किएका छन्। उनी गाउँगाउँ जान्छन् र युवाहरूलाई चिन्तनको प्रशिक्षण दिन्छन्।

फुगुडी चिया कमानमै घर भएका दिलप्रसाद शेर्पा किशोरवयदेखि नै गोर्खाल्यान्ड आन्दोलनमा हिँडेका रहेछन्। सुवास घिसिङको नेतृत्वमा सन् १९८६ मा सुरु भएको गोर्खाल्यान्ड आन्दोलनमा लाग्दाका कथा उनले सुनाए। सन् १९८६ मा गोर्खाल्यान्डको विषयमा तत्कालीन राजा वीरेन्द्रलाई बुझाएको मेमोरेन्डमबारे पनि उनले सुनाए। ‘कि त गोर्खालीहरू हाम्रा हुन् भनिबक्स्योस्, हैन भने भारत सरकारलाई दार्जिलिङका गोर्खाली नेपालका नागरिक हैनन् भनिबक्स्योस्।’ यही कुरा सुवास घिसिङका भाषणहरूको संकलनभित्र पनि उल्लेख छ। यो पुस्तक पढ्दा वा सुवास घिसिङको भाषण भिडियोमा हेर्दा मजस्तो सामान्य मानिसका लागि अचम्म लाग्नु स्वाभाविक छ। सुवास घिसिङले सीधै भारत सरकार र बंगाल सरकारलाई चुनौती दिएका छन्। सार्वजनिक भाषणमा गोर्खाल्यान्डको माग गर्दै खुलेआम सत्तालाई लल्कार्ने घिसिङलाई सत्ताले छुन पनि नसकेर अन्य १२ सय गोर्खाली कसरी मारिए ? गोर्खाल्यान्ड आन्दोलनको सुरुवाती समयका घिसिङ भोको र आक्रामक सिंहजस्तो लाग्छन्।

भारतीय नेपाली भाषीहरूको स्वतन्त्रताको कथा झन्झन् चाखपूर्ण भएर गयो जब मैले चिया बगान भित्रै बसेर डा. खेमराज शर्माको पुस्तक दार्जीलिङका गोर्खा पढेँ। घिसिङका किताब पनि मैले उतै पढेँ। घिसिङकै ‘मने‘ र प्रकाश कोविदको ‘तर कहिले’ उपन्यासले झन् बलियोसँग ब्रिटिसकालीन समयदेखि चिया कमानका मजदुर गोर्खालीहरूको संघर्षको कथा बोलेको छ। त्यसो त युवा लेखक छुदेन काविमोको उपन्यास फातसुङले सन् १९८६ पछिको एकखाले स्थिति बोलेको छ। गोर्खालीहरूको स्वतन्त्रताको सपना, विपन्न जीवनचर्या, गोर्खाल्यान्ड आन्दोलनको असफलता र फुटको पीडादायी कथा कहेको छ। असीकै दशकमा लेखिएका भागिरथ रावतको ‘बास सल्किरहेछ’ र असित राईको ‘नयाँ क्षितिजको खोज’ पढ्न पाएको छैन। गोर्खाल्यान्ड आन्दोलनको उपलब्धिहीन अवसानसँगै भारत सरकारको नयाँ नागरिकता विधेयकले भारतीय नेपालीको अस्तित्वको घाउमा अझै नुनचुक छरेको छ। मिरिक बजारमा विमल गुरुङले सम्झौता गरेर ल्याएको अधिकारको बोर्ड देख्छु, गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन र मधेसलाई सम्मानित स्थानमा पुर्‍याउँछु भनेर आन्दोलनमा ओर्लिएका तर सत्ताको गुलियोमा भुलेका उपेन्द्र महतोहरूलाई सम्झन्छु।

म भारतीय नेपालीहरूमाथि लेखिएको फिक्सन र इतिहासको भावनात्मक बन्दीजस्तै भएँ। अनि बिहान उठेर साँच्चै तिनै चिया कमानका गोर्खालीहरूलाई भेट्दा निसास्सिएको जस्तो महसुस हुन्थ्यो। काठमाडौँ फर्किएर पनि तिनै चिया कमानका मिहिनेती, निर्दोष मजदुरहरू, भारतीय सीमा रक्षाका लागि लडिरहेका हजारौँ गोर्खाली सैनिकहरू, मैले चिनेका प्रिय सर्जकहरू, मेरी फुपू, फुपाजुहरूलाई सम्झिरहेछु। थाहा छैन यसको राजनीतिक निकास कस्तो हुनुपर्छ ? तर, आजको भारत, आजको बर्मा वा आजको भुटानलाई हेर्दा एकल धर्म, एकल, भाषा, एकल जाति वा एकल राजनीतिक पार्टीको आधिपत्यले अल्पसंख्यक धर्म, जाति, भाषाका समुदायलाई अनाचक गैरनागरिक बनाइरहेछ। भुटानका नेपाली भाषी वा बर्माका रोहिंग्या समुदाय एकल जाति र धर्मको सिकार भएर अचानक आफ्नै देशमा अनागरिक भएर लखेटिए।

एक वर्षको बर्माको बसाइ अनुभवबाट भन्नसक्छु, ‘बर्माका नेपाली भाषी वा अन्य अल्पसंख्यकसँग नागरिकका रूपमा चाहिने कानुनी डकुमेन्ट हुँदाहुँदै पनि सधैँ सत्तालाई म यही देशको सुधो नागरिक हुँ भनेर प्रमाणित गराइरहनुपर्ने बाध्यता छ। पहिचान र अधिकारको कुरा नगरी बन्धक मजदुरझैँ बस्नुपर्ने अवस्था छ।’ सत्ताको राजनीति विचित्र छ, भारतको नयाँ नागरिकता विधेयकको विषयमा राजनीतिक विश्लेषक अरुन्धती रोयले भनेजस्तो, ‘नागरिकहरूको भोट र सहयोगले नेताहरू सत्तामा पुग्छन्। र सत्ताको उन्मादमा तिनै नागरिकलाई अनागरिक बनाउने कानुन ल्याउँछन्।’

सन् २०१७ मा गोर्खाल्यान्ड आन्दोलन चलिरहँदा तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा गृहमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो धारणा राखिन्, ‘गोर्खालीहरूको दार्जीलिङको विचलनको अरू कोही जिम्मेवार छ भने त्यो पश्चिम बंगाल सरकार र केन्द्रीय सरकार हो। दार्जीलिङमा गोर्खाल्यान्डको माग धेरै दिनदेखि चलिरहेको छ। गोर्खाल्यान्ड बन्नुपर्छ वा बन्नुहुन्न भन्ने दुई मत हुनसक्छ। हरेक राज्यबारे यस्तै दुई मत हुनसक्छ तर यो कुरा पक्का छ, यो आन्दोलन पृथकतावादी आन्दोलन हैन। बरु यो आन्दोलन गोर्खालीलाई भारतसँग जोड्ने आन्दोलन हो।

हिन्दुस्तानमा पृथक् राज्यको धेरै आन्दोलन भए। उत्तरप्रदेशबाट उत्तराखण्ड, बिहारबाट झारखण्ड, मध्यप्रदेशबाट छत्तीसगढ अलग हुने आन्दोलन चल्यो। आन्ध्रप्रदेशबाट तिलंगना अलग हुने, महाराष्ट्रबाट मध्यप्रदेश अलग हुने आन्दोलन चलिरहेको छ। अरू पनि धेरै सानासाना राज्यहरूको कुरा भइरहेको छ। यी सबैलाई त हामीले पृथकतावादी आन्दोलन भनेनौँ। मैले आन्दोलनकारीहरूसँग कुरा गरेँ। उनीहरूले भने, म्याडम हाम्रो तन भारतीय छ, मन भारतीय छ। खालि हामी निधारमा हिन्दुस्तान लेखाउन चाहन्छौँ।’ उनले अरू धेरै कुरा भनिन्। तर, पश्चिम बंगालले उनको कुरा सुनेन। सन् १९७७ देखि सन् २००० सम्म पश्चिम बंगालको मुख्यमन्त्री रहेका ज्योति बसु होऊन् या सन् २०११ देखिकी मुख्यमन्त्री ममता बेनर्जी सबैले सैनिक शक्ति प्रयोग गरेर र फुटको राजनीति गरेर आन्दोलनलाई दबाई छोडे।

गोर्खालीहरू भन्ने गर्छन्, ज्योति बसुले सुवास घिसिङलाई लोभ्याए। ममता बेनर्जीले विमल गुरुङलाई लोभ्याइन्। सत्तामा बसेकाहरूको राजनीतिक चक्र विचित्रको छ। एकातिर तिब्बती शरणार्थीहरू भारतमा शरण लिएर बसेका छन्। अर्कोतिर काश्मीरमा भारतको डरलाग्दो हत्तक्षेप छ। करोडौँ नागरिक भएका देशहरू चीन, अमेरिका, भारत र बर्मा अल्पसंख्यकहरूमाथि झन्झन् क्रर हुँदै जाँदै छन्। संसारकै लागि मानवताको यो ठूलो घाउ हो। यी ठूला देशका शक्तिशाली शासक भनाउँदाहरू सँगै बसेर समाधान खोज्दैनन्। त्यसो त पाउलो फेरेको पेडागोजी अफ द अप्रेस्ट वा अगस्टो बोअलको थिएटर अफ द अप्रेस्टले भन्छ, पीडकहरूले समाधान दिँदैनन्। समाधानका लागि पीडितहरूले संघर्ष गरिरहनुपर्छ।

चिया कमानमा १० दिनको बसाइपछि म फेरि सिलिगुडी झरेँ। ‘गार्डेन्स् टि’मा सिर्जना वृत्तले मसँग अन्तक्र्रिया कार्यक्रम राखेको थियो। आदरणीय कवि मोहन ठकुरीदेखि नाटककार मुक्ति उपाध्याय त्यहीँ भेटिए। छुदेन काविमो त्यहीँ थिए। सम्बोधन प्रकाशनका सुरज गुरुङ ऊर्जावान रहेछन्। स्वागतका लागि उनले लामै भाषण गरे। र आफ्ना साहित्यिक सपना बोले। मलाई त्यहाँ मेरो रंगमञ्चीय यात्रा र अनुभव बोल्न उभ्याइएको थियो। तर, अन्तक्र्रिया खण्डमा संवेदनशील प्रश्नहरू मतिर आए।

धेरै प्रश्नहरूमध्ये एउटा प्रश्न थियो, ‘दुईवटा ठूला आन्दोलन विफल भए। पहिचानको लडाइँमा अब युवाहरूको भूमिका के हुनुपर्छजस्तो लाग्छ ?’ सिलिगुडीको सिरानमा सिंगै नेपालको सैनिक क्याम्पभन्दा धेरै ठूलो सैनिक क्याम्प देखेको मैले भनेँ, ‘यस्तै लडाइँ नेपालमा धेरै अल्पसंख्यकको अस्तित्वको लडाइँ हो। अब खुकुरी र युद्धको बहादुरीले काम गर्दैन। सांस्कृतिक जागरण र चेतनाबाट नै यो लडाइँ लड्न सकिएला।’ साहित्य, संगीत, चित्रकला र रंगमञ्चमा एक से एक प्रतिभा जन्माएको दार्जीलिङ भूमिले आफ्नो श्रम र पसिनाले भारतको भूमिलाई सिञ्चित गरेको छ। सन् २०१८ मा देहरादुन घुम्दा भेटिएका नेपाली भाषी भारतीयहरूको पनि सम्झना हुन्छ। आफ्नो भाषा, संस्कृति र पहिचानप्रतिको मोह अधिक देख्छु तर केन्द्रीय सत्ताको छायाँमा ओइलाउँदै गएको देख्छु।

तत्कालीन नेपाल सरकार र इस्ट इन्डिया कम्पनीबीच भएको सन् १८१५ को सुगौली सन्धिपछि मेचीपारि र महाकालीपारि भूमि मात्रै गाभिएन। त्यो भूमिसँगै नागरिक पनि उतै छुटे। ती नागरिकको दु:ख र संघर्षका धेरै कथा लेखिएका छन्। डा. कुमार प्रधानको द गोर्खा कङ्क्वेस्ट होस् वा लुडविङ एफ स्टिलरको द साइलेन्ट क्राइ यिनले सुगौली सन्धिपछि राजनीतिक सट्टापट्टामा परेका लाखौँ नागरिकको दर्दनाक कथा भन्छ। भूगोलको एकीकरण र आममानिसको भावनाको एकीकरण बिल्कुलै फरक कुरा रहेछन्। पृथ्वीनारायण शाहको नेपाल एकीकरणको सन्दर्भमा पनि इतिहासको विवेचना चलिरहेको छ। तर, यस आधुनिक युगमा आफ्नै नागरिकहरूको आत्मसम्मान दिन नसक्ने भारत नेपाल, बंगलादेश, पाकिस्तानजस्ता छिमेकी देशहरूका लागि सधैँ पीडक छिमेकी साबित भएको छ।

आफ्नै देशभित्र अल्पमत र किनारमा परेकाहरूलाई बेवास्ता गर्दै धार्मिक अतिवाद लादिरहेको मोदी सरकारले राजनीतिक हस्तक्षेपसँगै आज पनि भूमि अतिक्रमण गरिरहेको छ। यस्तो नेतृत्वले बंगालमा नेपालीभाषा र आदिवासी (गराँउ, रावा, मुण्डा, लेप्चा आदि) वा पूरै भारतका दलित, आदिवासी वा गैरहिन्दुको पहिचान र आत्मसम्मान कसरी रक्षा गर्नसक्छ ? ठूलो सन्देह छ। यस्तो लाग्छ, हिमाञ्चल प्रदेशको धर्मशालामा बसेका तिब्बती शरणार्थीहरू भारतीय नेपालीभन्दा सम्मानित जीवन बिताइरहेका छन्।

मिरिकलाई सम्झिरहेको छु। सय वर्षभन्दा बढी उमेर भएका चियाका बोट गोर्खाल्यान्डको आन्दोलनको इतिहास बोकेर मौन छन्। तिनले दिने चियापत्ती संसारमा फैलिएका छन्। बरु तिनको मूल्य गहकिलो छ तर तिनलाई हुर्काउने किसान र मजदुरहरूको मूल्य निकै सस्तो छ। गोर्खाल्यान्डको चियाको ब्रान्ड संसारमा प्रसिद्ध छ तर तिनलाई हुर्काउने नागरिक अझै अस्तित्वको लडाइँ लडिरहेका छन्।

शान्तिला र राजाहरूको सांस्कृतिक लडाइँमा भावनात्मक रूपमा म सँगै छु। तर, यो पीडाको इपिकमाथि कसरी नाटक बनाउने होला म अन्योलमा छु। सिलिगुडीमा नाटककार मुक्ति उपाध्यायको घर पुगेँ। उतिबेलै मलाई मनपर्ने कवि मनप्रसाद सुब्बा दाइको फोन पाएँ। लामो कुरा भयो। लामो आन्दोलन र त्यसको असफलताबाट भर्खरै तंग्रिदै आएको दार्जीलिङ जिल्लामा म बबुरोले नाटक बनाउनु फलामको चिउरा चपाउनुजस्तो महसुस भयो। मनप्रसाद दाइको अचुक सल्लाह मनमै छ। अहिले यहाँ लेख्नु सामाजिक स्वास्थ्यका लागि हानिकारक छ।

पत्रकार मित्र पर्वत र कलाकार गणेश पनि काँकडभिट्टाबाट सिलिगुडीसम्म आएका थिए। अघिल्लो साँझको कार्यक्रम अनेकौँ रंगका सोमरस मिसिएर तिरमिराएछ। साथीहरूको आँखा बिहान १०:० बजेसम्म खुलेकै थिएन। मेरा फुपूका छोरा पुष्पराज निरौलाले मलाई कवि मोहन ठकुरीसम्म पुर्‍याइदिए। कवि अविनाश श्रेष्ठका लागि उहाँबाट एउटा पुस्तक कोसेली (आईबी राई विशेषांक) थापेर हामी काँकडभिट्टातिर हानियौँ। उहाँसँग लामै भलाकुसारी गर्ने मन भएर पनि सकिएन। बक्यौतामा फर्किएँ।

धेरै दिनसम्म मेरो मगजमा तिनै मिरिकका चिया मजदुरहरू आइरहे। शान्तिलाका बाआमा। उसको भाइ सिलासले गितार बजाउँदै गीत गाएको। दार्जीलिङे लवजमा खस भाषा बोलेको। त्यो चिया कमान। चिया कमानभित्रका गोरेटो बाटो। कमानमा काम गर्ने आमाहरू, दिदीबहिनीहरू। हृदयभरि स्मृतिका पत्रैपत्र बोकेर फर्किएँ। गोर्खालीहरूले लडेको युद्धका कैयौँ वीरताका कथा हामी आज पनि पढ्छौँ। दार्जीलिङको आफ्नै भूमिमा आफ्नै सरकारसँग गोर्खालीहरू किन हारिरहेका छन् ? कि मैले गलत सोचेँ ? अनि शान्तिका लागि मोहन ठकुरीलाई पढेँ, ‘फेरि दार्जीलिङ’मा।

कतै
सुप्त-ज्वालामुखी
फुट्छ कि भनेर चियाउनु आएको
म।
निद्राले बोझिल छन्÷आँखाहरू।
सपना पर्खनुछ
बिहान पर्खनुछ
एउटा रातो घाम
पर्खनुछ।
@Ghiyub नाट्यनिर्देशक, कलाकार तथा लेखक हुन्। उनको पछिल्लो कृति ‘आँधीको मनोरम नृत्य’ हो।