साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपाली साहित्यमा रोयल्टी : कतिले मृत्युपछि पनि पाइरहे, कति जीवित छँदै ठगिए

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।

यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।

हामीले यो लेख  onlinekhabar.com बाट लिएका हौँ । यो लेख निर्भीकजंग रायामाझीले तयार पार्नुभएकाे हाे । यहाँ क्लिक गरेर यस लेखलाई अनलाइन खबरमै पनि पढ्न सक्नुहुनेछ ।

नेपालमा पुस्तक प्रकाशन शुरू भएको १०० वर्षको अवधिमा केही यस्ता लेखक छन् जसको निधन भएको ५० वर्ष पछिसम्म पुस्तकबाट आर्जन भइरहेको छ ।

प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार लेखकको जीवनभर र मृत्यु भएपछि ५० वर्षसम्म उसको प्रतिलिपि अधिकार सुरक्षित रहन्छ । त्यसपछि जुनसुकै व्यक्तिले उक्त पुस्तक प्रकाशन गरी बिक्री-वितरण गर्न पाउँछ । ५० वर्षअघि छाप्दा भने लेखकको परिवारबाट अनुमति लिनुपर्ने र निश्चित रोयल्टी बुझाउनुपर्ने हुन्छ ।

नेपाली साहित्यमा सर्वाधिक बिक्री रेकर्ड बनाएको ‘मुनामदन’ तथा अन्य पुस्तकका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको ५० वर्षसम्म उनको परिवारले रोयल्टी पाइरहे ।

देवकोटाका छोरा डा. पद्म देवकोटाका अनुसार, अन्तिम पटक २०६६ मा महाकविको नामको रोयल्टी लिइएको थियो । ‘देवकोटा शतवाषिर्की’ को अवसरमा साझा प्रकाशनबाट उनले पिताका एक दर्जन पुस्तकको रोयल्टी बुझेका थिए । त्यसयता भने साझा प्रकाशनले सम्पर्क नगरेको डा. देवकोटा बताउँछन् ।

अनलाइनखबरसँग उनले भने, ‘साझा प्रकाशन अस्तव्यस्त छ । यस्तो बेला कहाँ गएर कोसँग रोयल्टी लिने भन्ने अन्योल छ ।’

२०५० मा निधन भएकी प्रगतिशील साहित्यकार पारिजातका पुस्तकहरूको पनि रोयल्टी आइरहेको छ । यस्तो रकम ‘पारिजात स्मृति केन्द्र’ले लिने गरेको छ । निजी प्रकाशन गृह फिनिक्स बुक्सले एकै भोल्युम (एकै सेटमा सबै पुस्तक) प्रकाशित गरेर केन्द्रलाई रोयल्टी दिने गरेको छ ।

स्मृति केन्द्रका अध्यक्ष स्नेह साय्मिका अनुसार २०७५ मा एकमुष्ट रकम लिइएको थियो । साय्मि भन्छन्, ‘प्रकाशकसँग त्यसपछि थप कुरा भएको छैन । अब कसरी अघि बढ्ने सल्लाह गर्दैछौं ।’

फिनिक्स बुक्सले नै आख्यानकार धनुषचन्द्र गौतम (धच गोतामे) का पाँच पुस्तक प्रकाशित गरेको छ । उक्त पुस्तकको रोयल्टी धनुषका छोरा सुशीलचन्द्र गौतमले लिने गरेका छन् ।

पारिजात, बिपी, भिमबहादुर पाँडेकको पुस्तक सेटमा ।

यस्तै २०६९ मा निधन भएका लेखक गोविन्द वर्तमानका परिवारका सदस्यले पनि वार्षिक रूपमा रोयल्टी पाइरहेका छन् । वर्तमानका छोरा अगि्रम अधिकारी फिनिक्स बुक्स र फाइनप्रन्ट दुवैले रोयल्टी दिइरहेको बताउँछन् ।

‘सम्झौता अनुसार बुवाको पुस्तकको रोयल्टी पाइरहेका छौं । जसले सानोतिनो घरखर्च पनि टारेको छ’, अगि्रमले भने ।

विख्यात आख्यानकार रमेश विकल धेरै पुस्तक प्रकाशन गर्ने लेखकमा पर्छन् । उनका उपन्यास, कथा, बालसाहित्य गरी करीब ६० पुस्तक प्रकाशित छन् । विकलका छोरा साहित्यकार विजय चालिसेका अनुसार २०७२ सालमा अन्तिमपटक उनले साझा प्रकाशनबाट रोयल्टी बुझेका थिए ।

पाठ्यक्रममा परेका रचनाहरूको पारिश्रमिक भने निजी प्रकाशन गृहले नदिएको चालिसे बताउँछन् । नियम अनुसार पाठ्यक्रममा समावेश गरिएपछि लेखकलाई वाषिर्क हिसाब गरेर रोयल्टी दिनुपर्ने हुन्छ । विकलका कथाहरू विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा राखिएका छन् ।

‘बुबाका किताब धेरैजसो साझाले छापेको छ’ चालिसे भन्छन्, ‘अहिले निजी प्रकाशनले पनि अनुमति लिएर छापिरहेका छन् । केहीले रोयल्टी दिए, केहीले दिन्छौं भनेर टारेका छन् ।’

विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकको रोयल्टी ‘जननायक बीपी कोइराला मेमोरियल  ट्रष्ट’मा जाने गर्दछ । ‘लिपि बुक्स’ले कोइरालाका सबै साहित्यिक कृति पुनः प्रकाशन गरेको छ ।

मृत्युपछि पनि परिवारका सदस्यले रोयल्टी पाउने अन्य लेखकहरूमा आख्यानकार डायमनशमशेर, विजय मल्ल, गोविन्द मल्ल, लेखनाथ पौड्याल, गुरुप्रसाद मैनाली, मदनमणि दीक्षित, जनकलाल शर्मा, मनुजबाबु मिश्र, राजेश्वर देवकोटा, देवानसिंह राई, भूपि शेरचन, बाबुराम आचार्य आदि पर्छन् ।

फाइनप्रन्टले २०७६ मा प्रकाशित गरेको विजय मल्लको कथासंग्रह ‘मान्छेको नाच’को रोयल्टी मल्लकी छोरीले बुझेको फाइनप्रन्टका निरज भारी बताउँछन् । फाइनप्रन्टले नै इतिहास शिरोमणि बाबुराम आचार्यका पुस्तक प्रकाशित गरेर आचार्यको परिवारलाई रोयल्टी बुझाइरहेको छ ।

साहित्यमा रोयल्टीको अंकगणित

अघिल्लो साता लेखक नीलम कार्की निहारिकाले अनलाइनखबरको अन्तर्वार्तामा आफ्ना कृतिहरूको वाषिर्क कमाइ नेपालको शाखा अधिकृतसरह रहेको बताएकी थिइन् । यता, कुमार नगरकोटीले २ हजार २१ रुपैयाँ पर्ने ‘कल्पग्रन्थ’ ३ हजार ७१३ प्रति बुकिङ भई ७५ लाख रुपैयाँ बैंक खातामा जम्मा भएको हिसाब छ । नगरकोटीका अनुसार प्रकाशक बुकहिलका भूपेन्द्र खड्कासँगको आन्तरिक सहमतिमा रोयल्टी लिने गरिएको छ ।

अघिल्लो महीना विवेकशील साझा पार्टीका नेता एवं लेखक रवीन्द्र मिश्रले पनि  उनको ‘राजनीतिसँगै राजकाज’ पुस्तकबाट सुरुमा १० लाख र दोस्रो पटक २ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए । मिश्रले उक्त रकमको कर चुक्ता गरेको पनि सार्वजनिक गरेका छन् ।

यी त भए रोयल्टी पाउनेका कुरा । रोयल्टी नपाएको एवं ठगिएको कुरा उठाउने लेखकहरूको संख्या पनि उत्तिकै छ । युवा लेखक कृष्ण आचार्यले रोयल्टी नपाउने लेखकहरू जति एक भई प्रकाशकलाई मुद्दा हाल्ने चेतावनी यसै साता सामाजिक सञ्जाल मार्फत दिए । आफ्नो लागि भन्दा पनि रोयल्टी नपाउने सबै लेखकको आवाज उठाएको बताउँदै आचार्यले धेरै युवा लेखकलाई निजी प्रकाशन गृहले ठगेको बताएका छन् ।

अहिले रोयल्टीको सवालमा लेखकले प्रकाशकलाई औंला उठाउने तथा कतिपय प्रकाशकले लेखकलाई दोष दिने गरेको पाइन्छ । यसले गर्दा नेपालमा साँच्चिकै रोयल्टीको अवस्था कस्तो छ त भन्ने विषय अझै स्पष्ट हुनसकेको छैन ।

जो रोयल्टीबाटै बाँचिरहेका छन्

अहिले सरकारी प्रकाशन गृह ‘साझा प्रकाशन’ तथा नेपाल प्रज्ञा प्रतिष्ठानले लेखकलाई रोयल्टी नदिए पनि केही निजी प्रकाशन गृहले वाषिर्क वा एकमुष्ट रूपमा रोयल्टी रकम दिने गरेका छन् ।

फाइनप्रन्ट, बुकहिल, नेपालय, फिनिक्स, किताब पब्लिसर्स, रत्न पुस्तक भण्डार लगायत प्रकाशकहरूले केही लेखकलाई नियमित रोयल्टी दिने गरेको पाइयो ।

कुमार नगरकोटी, बुद्धिसागर, नारायण वाग्ले, सुविन भट्टराई, नीलम कार्की निहारिका, कृष्ण धरावासी, नयनराज पाण्डे, नारायण ढकाल, खगेन्द्र संग्रौला, रवीन्द्र मिश्र लगायत लेखकले मासिक तलब जसरी नै रोयल्टी पाउने गरेका छन् ।

रोयल्टी बापत आउने रकमले घरखर्च चल्ने गरेको बताउँछन् लेखक नयनराज पाण्डे । मासिक हिसाब गर्दा सरकारी अधिकृतसरहको रकम प्राप्त हुने उनले बताए ।

‘मेरो पुस्तक संख्या आधा दर्जनभन्दा बढी छ’ तीन दशकदेखि लेखनमा सक्रिय पाण्डे भन्छन्, ‘यसैले पुराना पुस्तक र ताजा प्रकाशित पुस्तकको रोयल्टी लिंदा सामान्य घरखर्च चलाउन पुग्छ ।’

यद्यपि यो सबै लेखकमा लागू हुने नभई बेस्टसेलर बनेका तथा एक दर्जन हाराहारी पुस्तक प्रकाशन भएका लेखकको हकमा मात्र लागू हुने पाण्डे संकेत गर्छन् ।

यसबाहेक चलचित्र, राजनीति, बैंक, न्याय-सेवा जस्ता क्षेत्रका चर्चितहरूले लेखेका पुस्तकको रोयल्टी रकम लाखौं रुपैयाँ आउँछ । हरिवंश आचार्य, रुक्माङ्गद कटवाल, मदनकृष्ण श्रेष्ठ, मनिषा कोइराला, सुशीला कार्की, कर्ण शाक्य लगायतले पुस्तकबाटै पहिलो संस्करणबाटै १० लाखभन्दा बढी रोयल्टी लिएका छन् ।

जो रोयल्टी पाउने संघर्षमा छन्

निजी तथा सरकारी प्रकाशन गृहबाट पाउनुपर्ने रोयल्टीका लागि केही लेखकहरू लामो समयदेखि संघर्ष गरिरहेका छन् । सरकारी स्वामित्वको साझा प्रकाशनले २०७२ पछि रोयल्टी नदिंदा लेखकहरू मारमा परेका छन् ।

साझा प्रकाशनका वरिष्ठ अधिकृत होम भट्टराईका अनुसार संस्था धरासायी भएकाले लेखकलाई रोयल्टी दिन बन्द गरिएको छ ।

‘सरकारले पाठ्यपुस्तक बिक्री-वितरणको काम नदिएपछि साझा प्रकाशन टाट पल्टेको छ’ भट्टराई भन्छन्, ‘साहित्यिक पुस्तक बेचेर मात्र रोयल्टी दिन नसक्ने भएकाले यो अवस्था सृजना भयो ।’

यद्यपि २०७७ सालमा दयाराम श्रेष्ठ, बालकृष्ण अधिकारी, अमर गिरी, कृष्णहरि बराल र नेत्र एटमले रोयल्टी लिएको देखिन्छ । उनीहरूलाई मात्र रोयल्टी दिनुको कारण आफूलाई जानकारी नभएको साझाका अध्यक्ष विजय सुब्बाले बताए । उनका अनुसार संस्था टाट पल्टिएकाले कसैलाई पनि रोयल्टी दिइएको छैन ।

साझा प्रशासनको लेखा शाखा जहाँबाट लेखकले रोयल्टी लिने परम्परा छ ।

साझा प्रकाशनबाट आधा दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका साहित्यकारहरू ६ वर्षदेखि रोयल्टी नपाएको बताउँछन् । दिनेश अधिकारी, गोविन्द गिरी ‘प्रेरणा’, लीलबहादुर क्षेत्री (असम) लगायत साहित्यकारले साझाले दिंदै आएको रोयल्टी बन्द गरेको बताएका छन् ।

यस्तै निधन भइसकेका साहित्यकारहरू भैरवनाथ रिमाल ‘कदम’, हरिभक्त कटुवाल (असम) जस्ता साहित्यकारको परिवारले पनि पुस्तकको रोयल्टी पाएका छैनन् । कटुवालकी छोरी कविता क्षेत्रीले एक अन्तर्वार्तामा रत्न पुस्तकबाट रोयल्टी नपाएको २०७५ मै बताएकी थिइन् ।

साझामात्र होइन काठमाडौंका निजी प्रकाशन गृहसँग रोयल्टी लिन संघर्ष गर्ने लेखकहरूको सूची पनि लामो छ । २०७७ का मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले २०७७ मंसीरमा पोखरामा आयोजित ‘नेपाल लिटरेचर फेस्टिभल’मा ‘किताब बिक्रीको पैसाले एक छाक भात पनि नखाएको’ बताएका थिए ।

यसबारे बुझ्दा उनले बागबजारको शिखा बुक्सबाट मदन पुरस्कार प्राप्त कृति ‘महारानी’ को केही रकम लिएको बताए । ‘प्रकाशकले बेलाबेला केही रकम पठाइरहेका छन्’ बानियाँले भने, ‘चारवटा पुस्तक भएकाले रोयल्टी त धेरै भइसकेको हुनुपर्छ, तर सबै हिसाबको कुरा गरेको छैन ।’

बागबजारका दुई प्रकाशन गृहबाट भिन्दाभिन्दै उपन्यास प्रकाशन गरेका प्रकाश तिवारी उल्टै पैसा भुक्तान गरेर पुस्तक छाप्नुपरेको पीडा सुनाउँछन् । तिवारी भन्छन्, ‘शुरूमा किताब सम्पादन गर्न भनेर पैसा मागे । उक्त पुस्तक एक संस्करण बिक्री भइसक्दा एकपटक पनि रोयल्टी दिएका छैनन् ।’

अर्का युवा लेखक प्रकाशन गृहले लेखकसँग पैसा असुलेर किताब छाप्ने धन्दा चलाएको आरोप लगाउँछन् । ‘एउटै प्रकाशनबाट छापिएका कुनै लेखकलाई दिने कुनैलाई नदिने गरिएको छ’ उनले भने, ‘हैसियत हेरेर रोयल्टी दिने रहेछन् ।’

अध्यक्ष विजय सुब्बा भन्छन्  : साझा चुर्लुम्मै डुबेको छ

मेरै पार्टी नेकपाको सरकार हुँदा पनि मैले साझा बचाउन सहयोग पाइनँ । साझा डुबेको कुरा मैले तत्कालीन प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री, अर्थमन्त्री सबैलाई जानकारी गराएँ तर उहाँहरूले चासो देखाउनुभएन ।

मभन्दा अघि अध्यक्ष भएका डोलेन्द्रप्रसाद शर्मा र उनीअघिकी अध्यक्ष ममता झाले साझा प्रकाशनको जग्गासमेत बैंकमा राखेर पैसा झिकेका रहेछन् । जेजति सम्पत्ति थियो सबै उनीहरूले आफ्नो हितमा प्रयोग गरे ।

यो कुरा दुनियाँदारदेखि साझाका अंशियार सबै साहित्यकारसम्मलाई थाहा छ । तर अंशियार बनेका साहित्यकारहरूले उनीहरू विरुद्ध आवाज उठाएनन् । मैले उनीहरूको अनियमियताबारे प्रश्न उठाएँ, संघर्ष गरें । न प्रहरीले न अख्तियारले न त अदालतले नै वास्ता गर्छ । म एउटाले कहाँ गएर लड्ने । यसो भनेर म हात बाँधेर बस्न पनि पाउँदिनँ ।

२०७७ माघदेखि म अध्यक्ष बनेको हुँ । अहिले सम्पूर्ण रूपले साझा ऋणमा छ । ७७ जना कर्मचारीलाई पोहोर असारदेखि तलब खुवाउन सकेको छैन । म आएपछि पछिल्ला १० वर्षको लेखा परीक्षण गर्न र प्रत्येक सम्पत्तिको विवरण राख्न थालिएको छ । यस्तो विकराल अवस्थामा रोयल्टी दिने कुरा सोच्नसम्म सकिंदैन । कहाँबाट पैसा ल्याएर कसलाई रोयल्टी दिने ?

प्रतिक्रिया
Loading...