साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

यो लेख हामीले कान्तिपुर कोसेलीबाट साभार गरेका हौँ । कान्तिपुरका लागि यो लेख भोगिराज चाम्लिङले तयार पार्नु भएको हो । तपाईले यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् ।

भोगीराज चाम्लिङ

डेढ महिनाअगाडि ‘म्यासेन्जर’ मा एउटा गज्जब ‘सन्देश’ आयो, जुन पढेर म खुसीले छटपटिएँ । लेखिएको थियो– ‘सेवा–नमस्कार सर, म भोजपुर दिङ्लाबाट । यहाँ मसँग संवत् १८२५–२६ सालको कागजात छ तर खुट्याएर अर्थ्याउन असमर्थ भएकोले तपाईंबाट समाधान हुने थियो कि ?’

विनोद राईले भरोसा गरेर पठाउनुभएको (१२ फेब्रुअरी) यो ‘सन्देश’ पढ्नासाथै मैले त्यो ऐतिहासक कागजात पठाइदिन आग्रह गरेँ । त्यो कागज पढेपछि त झन् मेरा रौंसमेत ठाडा भए । त्यो यति दुर्लभ ऐतिहासिक कागजात थियो कि धेरै–धेरै धेरै नै दुर्लभ थियो । तीन थानमध्ये दुईवटा अटल रायले ‘राजाभारासामर्थ’ का रूपमा जारी गरेको बिर्ता खेत र खेतसँग सम्बन्धित कागज थियो । अर्को एक थानचाहिँ किरात राईहरूले गोरुको मासु खाएबापत सरकारलाई कर (मेगजिन) तिरेको कागज थियो ।

यी कागजात दिङ्लागढी गाउँपालिका, वडा नम्बर ७ साल्मा निवासी पदमबहादुर राई (दुमी) को घरमा उहाँकै छोरा ध्रुव राईको सहयोगमा फेला पारिएको हो । किरात संस्कार र इतिहासबारे गहिरो चासो मात्रै होइन, दखलसमेत राख्नुहुने अवकाशप्राप्त शिक्षक पदमबहादुर राईलाई मैले विनोद राईमार्फत प्रश्न सोधेको थिएँ, ‘यति दुर्लभ ऐतिहासिक कागजात कसरी सुरक्षित रह्यो ?!’ उहाँको सूत्रात्मक जवाफ आयो, ‘मेरा बराजु, च्याप्जु बाजेहरूको अवज्ञाका कारण ।’

यो ‘अवज्ञा’ का पछाडि रोचक कथा लुकेको रहेछ । पदमबहादुर राईका अनुसार, किरात राई समाजमा बाबुको मृत्युपछि छोराले बाबुसँग सम्बन्धित कुनै पनि प्रकारका कागजात राख्नुहुँदैन, खोला, नदी, धारा इत्यादिमा सेलाउनुपर्छ, अन्यथा ‘स्वर्गको बाटो’ मा बाधा आइलाग्छ भन्ने मान्यता स्थापित गरिएको छ । यसकारणले गर्दा पनि किरात राई समाजमा पुराना कागजपत्रहरू नष्ट भएछन् । उहाँले बताउनुभएको अर्को एउटा कारण पनि रोचक छ ।

धनकुटा भ्रमणका बखत राजा महेन्द्रले ‘ताम्रपत्र बुझाउनू, हामी हेरी तिमीहरूको हक अधिकार सुनिश्चित गर्छौं’ भनेर लिम्बूहरूलाई उर्दी लगाएका रहेछन् । त्यही क्रममा ताम्कुका राईहरूले पनि राजा महेन्द्रलाई ताम्रपत्र बुझाएछन् । तर, पदमबहादुर राईका पितापुर्खाहरूले चाहिँ स्वर्ग जाने प्रलोभन पनि अवज्ञा गरेछन्, राजा महेन्द्रको हुकुम पनि अवज्ञा गरेछन् ।

0000

प्राप्त तीनमध्ये अटल रायको नामबाट जारी दुई कागजातमा लेखिएको छ –

कागजात १

स्वस्ति श्रीराजाभारासामर्थ

श्रीअटलजीत राये जीव

आगे श्री कदुमाफुफुकै हरिबोद्या षेत तीस् मुरी बीर्ताकै दीहल है आपना बीर्ता जानी जोतहु जोतावहु परम सुष भोग्या करहु इती स्मवत् १८२६ साल माहा ७ रोज मोकाम डी(ङ्)लाकोट सुभम्

कागजात २

स्वस्ति श्रीराजाभाराकसामर्थः

श्रीअटलजित राये जीव

स्वस्ति श्रीसाके १६९० श्रीसंवत् १८२५ मास फाल्गुन तद्दिने १० रोजः रयाल्या षेत बाधा असि मुरिको षेत सषा रुपया असि ८० नगदका जमान लाग्याका हः तस् वातका साछि श्री जित राया श्री प्रमानन्द राय श्री अमर्सिंह थापाका मार्फत् शुभं मुकाम लेगुवा (बायाँ छेउमा) सही श्रीवाद रायेले लिया

00000
यी दुई कागजातलाई थुप्रै सन्दर्भबाट केलाउन सकिन्छ । तर, यसपटक तीन कोणबाट मात्र हेर्ने प्रयास गरिएको छ–

एक, अटलजित राय र चतमे राय : इतिहास कागजपत्र र अभिलेखमा मात्र बाँचेको हुँदैन, सामाजिक स्मृतिमा पनि जीवन्त भइरहेको हुन्छ । फेरि लिखित प्रमाणहरूका अभावमा लामो समयपछि किंवदन्तीमा परिणत हुँदो रहेछ इतिहास । तर, किंवदन्ती नभइसकेका इतिहासका पात्र हुन् माझकिरातका अटल राय र चतमे राय ।

पश्चिम नेपालका मुकुन्द सेनका छोरा लोहाङसेनले १६ औं शातब्दीमा कोचे राजा विजयनारायणलाई हराएर मोरङ राज्य, समग्र पूर्वी पहाड र तराई विजय गरेका थिए । तर, उनको निधनपछि छोराहरूले अंशवण्डा गरी तीन राज्य खडा गरे (ज्ञानमणि नेपाल, नेपाल निरुक्त, २०४० : पृ. २७८) । पल्लो किरात अर्थात् लिम्बुवान विजयपुर राज्यअन्तरगत पर्दथ्यो भने ओल्लो र माझकिरात भनिने भूभाग मकवानपुर राज्यअन्तर्गत थियो । राजा हेमकर्ण सेनले माझकिरातको प्रशासन सञ्चालनका लागि भाइ जगत् सेनलाई नियुक्त गरे । तर, माझकिरातका खम्बू (राई) हरूले जगत सेनलाई नै राजा बनाएर विसं १७९२ मा छुट्टै राज्य खडा गरे जसलाई चौदण्डी राज्य भनेर भनिन्छ । त्यो चौदण्डी राज्यको राजधानी उदयपुरको उत्तरी पहाडमा पर्ने चौदण्डी डाँडामा थियो ।

सेन राजाहरू चौदण्डीगढीमा बसेर मगरात (उदयपुरको मगर बस्ती), भावर र अम्बपुरका तलहट्टीमा शासन गर्थे भने खम्बू (राई) दीवान तथा चौतरियाहरू माझकिरातमा बसेर प्रशासन सञ्चालन गर्थे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षीप्त जीवनी, २०६१, पृष्ठ ४१५) । उनै दिवान तथा चौतरियाहरूमध्ये हालको भोजपुर जिल्लाका थिए अटल राय, हालको खोटाङ जिल्लाका थिए चतमे राय । पृथ्वीनारायण शाहको सैनिक आक्रमणविरुद्ध उनै चतमे र अटल रायको नेतृत्वमा लडाइँ भएको थियो, जसले गर्दा माझकिरातमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहका सैनिकहरूलाई ५ महिना (विसं १८२९ भदौ–पुस) लागेको थियो (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८) ।

खोटाङका सबै गढीहरूमा पराजित भएपछि खम्बूहरू हतुवागढीमा केन्द्रित हुन पुगे । उनीहरूबीच सरसल्लाह हुँदा अटल रायले भनेछन्, ‘आत्मसमर्पण गर्नुभन्दा म युद्धमा मर्नु बेस ठान्दछु ।’ उनलाई दह्रो साथ दिनेहरूमा खोटाङ हलेसीका चतमे चाम्लिङ (राय), खोटाङ चिसापानीका माने पुमा, नरवीर साम्पाङ र ओखलढुंगाका जगवीर कोयू थिए । तर, गोरखाली सेनाका बन्दुकका अगाडि धनुकाँडको केही नचलेपछि अटल र चतमे रायहरूले हतुवागढी छाडेर हिँडे । त्यसैले चतमे राय र अटल राय दुवैका शाखासन्तान अहिले भोजपुर र खोटाङ क्षेत्रमा पाइँदैन । युद्धमा पराजित भएपछि उनीहरू कोशी तरेर भारतको विहार पुगे । उनीहरूसँगै हिँडेका खम्बूहरू अहिले पनि ठूलो संख्यामा उत्तरी विहारको मधेपुरा र सुपौल जिल्लाको पनि उत्तरी भेगमा बसोबास गरिरहेका छन् । अटल रायका सन्तानहरू चाहिँ अहिले हाङपाछाका रूपमा चिनिन्छन् (विष्णु एस राई, खम्बुवानबाट हराएका सन्तानहरू, २०६७, पृष्ठ १६) ।

चतमे रायका बारेमा खासै लोकोक्तिहरू प्रकाशमा आएका छैनन् तर अटल रायबारे चाहिँ फुटकर सवाईहरू भोजपुर र धनकुटातिर प्रचलित छ –

भोजपुर क्षेत्रमा बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ :

नेपालायाङका ङेनची मबानाङा नाम बाखा टुङ्सा

मो एनुकी अटलकाजीओ अलावा लोङ्सा

अकमाआ सिरुखाया लोराखारालो कुमाङा ता

तोखोक तोखोक छुङ्सा ।।

प्वालोन्टाकि लोरा त अघुराङ धुङ्सा

अयावाचिआ लेगुवा घाटाया अखाट्टा हुङ्साहुङ्सा ।।

(नेपालबाट सेनाहरू आए आकाश धर्ती हल्लाउँदै त्यो सुनेर अटलकाजीको सातो गयो डरले दौडेर गई सिरुबारीमा लुक्दा त ख्वाक् ख्वाक् खोक्यो उठेर दौड्दा त घुँडा ठोक्कियो साथीहरूले लेगुवाघाटमा पर्खैंदैपर्खंदै लगे ।।)

(चन्द्रकुमार राई ‘हतुवाली’, भोजपुर जिल्लामा रहेको ऐतिहासिक हतुवागढीको वस्तुपरक तथ्य अध्ययन प्रतिवेदन, २०६८, पृष्ठ ११५) ।

त्यस्तै धनकुटा छिन्ताङतिर बान्तावा राईभाषामा प्रचलित लोकसवाई यस्तो छ –

अटले नु बडले लेगुवा नु फुङ्सा।

पृथ्वीनारान बाना उक्टा धरती लुङ्सा।।

(अटले र बडले लेगुवाबाट आयो।

पृथ्वीनारान आउँदा धर्ती काम्यो।।)

(अर्जुन माबुहाङ/भरत तुङघङ, हज्शन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध, २०७०, पृष्ठ ६६)

अटल राय र चतमे रायबारेमा नारायणहिटी राजदरबारनजिकै रहेको नारायण मन्दिरको पटाङ्गिनीको संवत् १८५० को कप्तान धोकलसिंह बस्न्यातको शिलालेखमा चर्चा गरिएको छ,, जसमा माझकिरात रावाखोलाका चतिम राय र पामाखोलाका अटल रायको नेतृत्वमा खम्बूहरूले पृथ्वीनारायण शाहका सेनाविरुद्ध लडाइँ लडेको उल्लेख छ (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१८, ४२८) । त्यसो भए के माझकिरातमा दुईवटा मात्र गढी थिए, जसको नेतृत्व चतमे र अटल रायले गर्थे ? त्यस्तो पनि होइन । उनीहरू त कुनै पनि गढीका शासक थिएनन् । त्यसो भए किन चतमे र अटल रायको नेतृत्वमा माझकिरातका खम्बूहरूले युद्ध लडे त ? योचाहिँ आजसम्म पनि नसुल्झिएको प्रश्न थियो, यी दुई कागजबाट खुलस्त हुन पुगेको छ ।

पहिलो कुरा, चौदण्डी राज्यको पहाडी प्रदेशको शासन सञ्चालन गर्न हतुवागढीमा शासनकेन्द्र कायम गरिएको थियो (ज्ञानमणि नेपाल, ऐजन, पृष्ठ २९२) । र, हालको भोजपुर जिल्लाको प्रशासन हेर्ने दीवान या चौतरिया थिए अटल राय । त्यही भएकाले अटल रायले जारी गरेका यी दुई कागजमा आफूलाई ‘राजाभारासामर्थ’ अर्थात् राजाको भार बोक्न समर्थका रूपमा उल्लेख गरेका हुन् । त्यो राजा भनेको चौदण्डीगढीका कर्ण सेन थिए । त्यस्तै अटल रायका कागजात दुई ठाउँबाट जारी भएका छन्– लेगुवा र दिङ्लाकोटबाट ।

लेगुवाचाहिँ हतुवागढीमा पर्छ तर दिङ्ला (डिंलाकोट) चाहिँ अर्कै गढी भएको स्थान हो । अटल राय हतुवागढीका मात्र राजा हुन्थे भने दिङ्लाबाट उनले कागज जारी गर्न सक्ने कुरै हुँदैनथ्यो । उनले समग्र भोजपुर क्षेत्रको प्रशासन हेर्ने भएकैले दिङ्लाबाट जारी गरिएका कागज फेला परेको हो ।

दोस्रो कुरा, चतमे रायबारे पनि यी दुई ऐतिहासिक कागजले अझ बढी खुलस्त हुन पुगेको छ । चतमे राय पनि हालको खोटाङ जिल्लाअन्तर्गत राजा कर्ण सेनको प्रशासन हेर्ने ‘राजाभारासामर्थ’ नै थिए । त्यही कारणले धोकलसिंह बस्न्यातले राखेको शिलालेखमा चतमे र अटल रायलाई समान हैसियतमा प्रस्तुत गरिएको हो ।

शिलालेखमा चतमे रायलाई रावाखोलाको भनिएको छ । यसको अर्थ उनी रावाखोलाका हुन् भन्ने होइन, बरु रावाखोला क्षेत्रमा सेन राजाहरूको प्रशासनको केन्द्र थियो, त्यसका प्रमुख चतमे राय थिए भन्ने हो । यसो भन्न सकिने दुईवटा आधार छन्— रावाखोला क्षेत्रमा धान उत्पादन हुने भएकाले सेन राजाहरूले ब्राह्मण, संन्यासी, क्षत्रीहरूलाई ठूलो परिमाणमा खेत कुशविर्ता दिएका थिए । आफ्ना विश्वासपात्रहरूको विशेष बस्ती रहेको त्यत्तिको उपयुक्त स्थानमा प्रशासनिक केन्द्र हुनु स्वाभाविकै हो । अझ बलियो आधारचाहिँ अटल रायसँगै भाग्ने क्रममा भारतको विहार पुगेका खम्बू राईहरूले बताइरहेको मौखिक इतिहास हो । बिहार पुगेका त्यतिबेला १४ वर्षका अटल रायका नाति गुमानसिंह राईले आफ्ना सन्तानहरूलाई बताएअनुसार चतमे चाम्लिङ हलेसीका थिए जसले पृथ्वीनारायण शाहविरुद्ध अन्तिम लडाइँ लड्ने अटल रायको प्रस्तावमा सबैभन्दा पहिला समर्थन गरेका थिए (विष्णु एस राई, ऐजन, पृष्ठ १६) । एउटा प्रवल सम्भावना के छ भने चतमे राय हलेसी गढीका प्रथम शासक होलैसुङका शाखासन्तान हुन् ।

दुई, स्थानीय स्वशासन: सेन राजाहरू आलंकारिक राजा मात्र हुन्थे, खास प्रशासन चाहिँ खम्बू दिवान र चौतरियाहरूले सञ्चालन गर्थे (बाबुराम आचार्य, ऐजन, पृष्ठ ४१५) । उनीहरूले प्रशासन हेर्ने थुम र गढीहरू त्यसबखत खोटाङ र भोजपुर क्षेत्रमा मात्रै पनि दुई दर्जनभन्दा बढी थिए । हालका ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, संखुवासभा, धनकुटा जिल्लामा गरेर त सयको हाराहारीमा थुम तथा गढीहरू थिए । ती गढीका स्थानीय ‘राजा’ खम्बूहरू हुन्थे (भोगीराज चाम्लिङ र तारामणि राई, किरात क्षेत्रका गढीहरू, २०७४) । यसबाट किरात क्षेत्रमा सेन शासनकालमा स्थानीय स्वशासनको अभ्यास थियो भन्ने देखिन्छ । अझ त्यस्तो स्वशासनको अभ्यास किरातहरूले लिच्छविकालदेखि नै गरिरहेका थिए भन्ने संकेत राजा मानदेवको विसं ५२२ को चाँगुनारायण अभिलेखलले गरेको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०५३, पृष्ठ १६, ज्ञानमणि नेपाल, नेपालनिरुपण, पृष्ठ २८९) ।

तीन, धान खेतीः अटल रायका यी दुवै ऐतिहासिक कागज खेत (षेत) सँग सम्बन्धित छन् । एउटाचाहिँ कदुमाफुफुलाई विर्ता दिइएको कागज हो, अर्कोचाहिँ असी मुरी धान उत्पादन हुने खेत असी रुपैयाँ (?) मा जमान (बन्धकी ?) गरिएको कागज हो । यसभन्दा अझ धेरै अगाडि राजा शुभ सेनले रावाखोला क्षेत्रमा विसं १७३१ मै ब्राह्मण, संन्यासी, क्षत्रीलाई खेत कुशविर्ता दिएको कागज फेला परेका कारण (पोखरेलको इतिहास, २०५७, पृष्ठ १३७) लिखित प्रमाणले माझकिरात क्षेत्रमा धान खेतीको इतिहास ३४५ वर्ष पुरानो बताउँछ । यसले अर्को के कुरा पनि संकेत गर्छ भने भोगचलन गरिरहेकै जग्गा विर्ता या कुशविर्ता दिइने भएकाले सेन राजाबाट विर्ता पाएर आर्य र खस समुदाय माझकिरातमा प्रवेश गर्नुभन्दा पहिले नै खम्बू (राई) हरूले धान खेती गर्थे ।