साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।
याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ ।
तलको लेख हामीले नागरिकन्युजबाट साभार गरेका हौँ । नागरिकका लागि यो लेख ऋतु काफ्लेले तयार पार्नु भएको हो । तपाईले यो सामग्री नागरिकन्युजमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् ।
————————
केही महिनादेखि किताबमा कर लगाइएयता पुस्तकको व्यापार सुस्त भइरहेका बेला कोरोनाको त्रासले अझ ठूलो समस्या थपिएको छ । पुस्तक व्यापारको लाइफलाइन मानिने फुटपाथको व्यापार यतिबेला यति सुस्ताएको छ कि पुस्तक व्यापारीहरु नै पलायन हुने अवस्था आएको छ ।
‘पहिले किताब किन्नेको सानोतिनो भिड नै हुन्थ्यो,’ सुन्धारा आकाशेपुलकी फुटपाथे व्यापारी लक्ष्मी थापाले गुनासोको स्वरमा भनिन्, ‘किताब पढ्ने, हेर्ने र किन्नेको सानोतिनो भिडभाड र ठेलमठेल नै हुन्थ्यो । त्यो भिड अहिले सपनाजस्तै भएको छ ।’
उपन्यास र आध्यात्मिक पुस्तक किन्नेहरुको राम्रो संख्या देखेकी उनले पछिल्लो समय सर्वसाधारणको पुस्तक प्रतिको मोह नै रित्तिएजस्तो महसुस गरेकी छन् । उनले लामो श्वास तान्दै भनिन्, ‘व्यापार शून्य !’
काभ्रेकी लक्ष्मी थापाले यहाँ पुस्तक व्यापार गर्न थालेको १४ वर्ष भयो । एक समयमा फुटपाथमै पुस्तक बिक्री गरेर राम्रो आयआर्जन गर्न सफल भएकी उनले पछिल्लो समय पुस्तकको बिक्री उदेकलाग्दो गरी घटेकामा छक्क परेकी छन् ।
थापाले भनिन्, ‘सरकारले किताबमा कर लगाइसकेपछि अहिले किताबको व्यापार शून्यजस्तै भएको छ । कर लागेपछि व्यापार नै छैन । सरकारी करका कारण किताब महँगो पर्छ । त्यसमाथि पनि कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ । यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ ।’
त्यसै पनि घट्दो बिक्री र त्रासका कारण मानिसको चहलपहलमा कमीले व्यापारमा सिधासिधा असर परेको उनको भनाइ छ ।
‘सरकारले कर नलगाउँदा र महामारीको डर नहुँदा दिनमा कम्तीमा फाइदा मात्र दुई हजार पच्चीस सय हुन्थ्यो,’ लक्ष्मीले भनिन्, ‘अहिले त महिनामै दुई हजार पच्चीस सय कमाउनै गाह्रो होलाजस्तो भएको छ ।’
लक्ष्मीले धेरैजसो उपन्यास नै बेच्ने गरेकी छन् । पहिलेको तुलनामा अहिले निकै कम पुस्तक बिक्री भएका छन् । दिनमा अहिले जम्मा पाँच सात सयको किताब बिक्री भएको उनको भनाइ छ । उनले किताबमा सरकारले कर लगाएको विषयमा आपत्ति जनाउँदै भनिन्, ‘पुस्तक भनेको धनीले मात्र होइन, गरिबले पनि पढ्छन् । किताबमा कर लागेपछि किताब महँगो हुने भयो र जो कोहीले किनेर पढ्न नसक्ने भए । त्यसैले किताबमा लागेको कर हट्नु जरुरी छ । त्यसमाथि कोरानाको महामारी हल्लाले पनि किताब किन्ने मानिस स्वात्तै घटिसक्यो । व्यापार त अहिले शून्यमा झरिसक्यो भन्दा पनि हुन्छ ।’
कोरोना भाइरसको महामारी हल्लाले मानिसहरुलाई झन् त्रसित बनाइरहेको छ । यस्तोमा किताब झन् कम प्राथमिकतामा पारेको छ ।
अहिले लक्ष्मीलाई स्टोर भाडा कसरी बुझाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ । उनले भनिन्, ‘स्टोरको भाडा नै दश हजार बुझाउनुपर्ने हुन्छ । महिनामा त्यत्ति पनि व्यापार नहोलाजस्तो भएपछि कसरी स्टोर भाडा बुझाउने ?’ उनको १४ वर्षे किताब व्यापारको अनुभवमा कहिले यस्तो भोग्नु परेको थिएन ।
पाटनका स्थानीय बासिन्दा ४० वर्षीय दिनेश चित्रकार न्युरोड पिपलबोटमा बसेर पुस्तक व्यापार गर्न थालेको २५ वर्ष भयो । पहिले किताब बेचेर नै दिनमा १५ देखि २० हजार व्यापार गर्ने गरेका उनलाई अहिले दिनमा अहिले ५ देखि ७ सयकै किताब बेच्न मुस्किल भएको छ ।
पुस्तकमा कर या कोरोना भाइरसको आतंकले भन्दा पनि बेलाबेलामा भृकुटीमण्डपमा लाग्ने पुस्तक मेलाले फुटपाथमा बेच्ने पुस्तक व्यापारमा व्यापक कटौती गरेको चित्रकारको अनुभव छ । ‘मानिसहरु मेलामा नै आफूलाई चाहिने पुस्तक किन्छन्, किताबका लागि फुटपाथ को धाओस् ?’ उनले भने ।
अहिले मानिसहरु किताब किनेर पढ्नभन्दा पनि अनलाइनमा हेर्न बढी रुचाउने गरेको र धेरैजस्तो किताब अनलाइनमै उपलब्ध गराइने हुनाले पनि किताबको माग घटेको चित्रकारको भनाइ छ ।
नुवाकोट घर भएका राम पौडेलले न्युरोड भूगोलपार्कमा २७ वर्षदेखि पुस्तक बेच्दै आएका छन् । उनका अनुसार पुस्तकको व्यापार व्यापक रुपमा कमी भइरहेको छ । त्यसमाथि सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो ।
सरकारको किताबी करका कारण नयाँ किताब आउन छोडे र पाठकको रुचि पनि किन्नतर्फ घट्यो ।
उनले भने, ‘भएका किताबहरु सबै पुराना छन् । ती किताबहरु पाठकले दोहार्याएर कति पढून् ? पहिले मैले नै दिनमा ५० देखि ६० वटासम्म किताब बेचेको रेकर्ड छ । अहिले त त्यो सपना भइसक्यो !’
पौडेलको भनाइअनुसार अहिले पनि दिनमा चार पाँच हजारको किताब त बिक्री भई नै रहेको छ तर यो पहिलेको भन्दा निकै कम हो । अहिले युवावर्गले अनलाइनमै बुकहरु पढ्छन् । अहिले अनलाइनमै किताब बेचिने हुनाले फुटपाथको व्यापार कम भएको उनको भनाइ छ ।
‘मानिसहरुले किताब किन्न छोड्नुको कारण किताबमा कर लाग्नु या कोरोनाको महामारी फैलिनु होइन,’ उनको बुझाइ छ, ‘यसले केही मात्रामा प्रभाव त पारेको छ तर बजारमा नयाँ किताबहरु नै आएका छैनन् । त्यसैले पनि व्यापारमा कमी भएको हो । राम्रा र रोचक किताबको अभावका कारण पाठक दौडिएर किताब पसल पुग्ने वातावरण नबनेको हो ।’
यसैगरी नुवाकोटका राजेश गजुरेलले पनि भूगोलपार्कमै २०६२/६३ को आन्दोलपछि पुस्तक र पत्रपत्रिका बेच्दै आएका छन् । उनको १७ वर्षे अनुभवमा पुस्तक कम बिक्री हुनुमा अलि फरक मत छ ।
‘अहिले पनि पुस्तक बिक्री भइनै रहेका छन् तर पुस्तक बिक्री हुनु र नहुनुमा पनि पाठकले कस्ता पुस्तक पढ्न चाहन्छन् भन्ने कुराले महŒवपूर्ण भूमिका खेल्छ,’ गजुरेलले भने, ‘अहिलेको सन्दर्भमा सरकारले किताबमा कर लगाएको कारणले किताब बिक्री कम भएको कुरा साँचो होइन । सरकारले त गैरकानुनी रुपमा विदेशबाट भित्रिने विदेशी किताबमा कर लगाएको हो र यसलाई व्यवस्थित गर्न पनि जरुरी नै छ ।’
कुनै रोग वा महामारीका कारण पाठकलाई पुस्तक किन्न समस्या नहुने उनको भनाइ छ । ‘मेरो अनुभवमा पाठकले कस्ता किताब पढ्न मन पराउँछन् भन्ने कुरा महत्वपूर्ण विषय हो,’ गजुरेल भन्छन्, ‘अहिलेका किताबमा पाठकले नयाँ स्वाद पाउन सकेनन् । नयाँ स्वादको अभावमा किताबप्रतिको पाठक रुचि घट्दै गएको देखिन्छ ।’
लेखकहरुलाई गजुरेलले सल्लाह छ, ‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस् । अलिकति टाइम लिनुस् । रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस् । त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि ।’
‘बरु किताब ढिलो निकाल्नुस् तर उत्कृष्ट निकाल्नुस् । अलिकति टाइम लिनुस् । रिसर्च गर्नुस् र पाठकका मन छुने खालका पुस्तक बाहिर ल्याउनुस् । त्यसपछि मात्र किताबको मार्केट आकासिने सम्भावना हुन्छ र आकासिन्छ पनि ।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

