साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।
यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।
हामीले यो लेख anweshannews.com (अन्वेषण) बाट लिएका हौँ । यो लेख जगत नेपालले लेखेकी हुन् । यहाँ क्लिक गरेर यस लेखलाई अन्वेषणन्युजमै पनि पढ्न सक्नुहुनेछ ।
===============
मैले एक पटक सोधेको थिए पुरै शताव्दीको जीवित इतिहास हुनुहुन्छ यो उमेरमा आएर तपाईलाई के हेर्ने इच्छा छ ? जवाफमा जोशीले भनेका थिए –चार जात छत्तिस वर्षको फूलवारी हो नेपाल । सबै भाषा र संस्कृतिको सम्वर्धन गरी राष्ट्रिय एकता वलियो भै देशको शिर उँचो भएको हेर्ने रहर छ मलाई ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा १९७७ साल बैसाख ३० अर्थात १३ मई २०१९ मा जन्मिएका वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो जिवनकालमै नेपालका ३८ मध्ये २७ प्रधानमन्त्रीको शासन वेहोरे । उनी त्यो युगमा जन्मिए जुन वेला चन्द्रशमशेरको शासन १९ औ वर्षमा चलिरहेको थियो । आम मानिसका लागि सय वर्ष वाँच्नु सौभाग्य मानिन्छ ।
त्यसमा पनि जोशीको स्मरण शक्ति र ठम ठम हिडेरै सार्वजनीक कार्यक्रममा प्रवचन दिन सक्ने इच्छा शक्तिले धेरैलाई मोहित नै बनाउने गरेको छ । उमेरले १०२ मा पुगेका शताव्दी पुरुष जोशीले चन्द्रशमशेर पछिका पाँच राणा प्रधानमन्त्री अनी राजा त्रिभुवन, महेन्द्र, विरेन्द्र, दिपेन्द्र र ज्ञानेन्द्र गरी पाँचै जना राजाको शासन वेहोरे । राणा शासन र राजतन्त्र अन्त्यका लागि भएका क्रान्ति हुदै मुलुकको राजनीति गणतन्त्रमा प्रवेश गर्दाका घटनाक्रमलाई आफ्नै आँखाले प्रत्यक्ष नियाल्न पाउने ३ करोड नेपाली मध्येका जोशी एक मात्र जिवीत इतिहास हुन् ।
ललीतपुरको बखुम्बहालमा जन्मिएका जोशीले २००१ सालमा सरकारी जागिर शुरु गरे । राणा प्रधानमन्त्री जुद्धशमशेर भाइ पद्मशमशेरलाई राजपाट सुम्पि सन्यासीको भेषमा गेरुवस्त्र लगाएर सिंहदरवार वाहिरिएको घटना उनले आफ्नै आँखाले हेर्न पाए । त्यस घटना वारे २०७२ बैसाख १२ गतेको भूकम्प पछि ललीतपुर इटुम्वाहल स्थित आफ्नै निवासमा उनले यसरी सुनाए – अरु कर्मचारी जस्तै म पनि त्यो दिन सिंहदरवारमा हाजिर भएको थिए । महाराजले आफ्नो श्रीपेच निकाले र भाईको शिरमा लगाई दिए । ल भाई कुलको इज्जत राख्नु भनेर वग्गिमा चढे । त्यो वेला पद्म शमशेर दाजुको खुट्टामा दण्डवत गर्दै रोएका थिए ।
१०४ वर्षे राणाकालमा नौ भाइ राणा पालै पालो प्रधानमन्त्री भए । ति मध्ये चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेरको शासन जोशीले हेर्ने अवसर पाए । नेपाली जनताका छोरा मातृकाप्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री हुदा पनि उनी सिंहदरवामै थिए ।
मुलुककै पहिलो जननिर्वाचित प्रधानमन्त्रीका रुपमा २०१६ सालमा बीपी कोइराला सिंहदरवार प्रवेश गर्दा जोशी दरवार भित्रै जागिरे थिए ।
२०१७ साल पुष १ गते राजा महेन्द्रले प्रधानमन्त्री बीपीलाई वन्दी वनाएको दिन तत्कालीन मुख्यसचिव चन्द्रवहादुर थापाले सिंहदरवारको मुलढोकामा ताला लगाए मन्त्रीहरुलाई गिरफ्तार गर्न मच्चाएको आतंक हेर्ने मौका पनि उनले पाए । त्यो घटना वारे जोशीले लेखकसंग भनेका छन् –प्रधानमन्त्री बीपी, निर्माण तथा यातायात मन्त्री गणेशमान सिह सभामुख कृष्णप्रसाद भट्टराई लगायतका नेताहरुलाई तरुण दलको भेलावाट समाएर वरफवागमा थुनि सकेको रहेछ । एकाएक सिहंदरवामा यो खवर डढेलो सरी फैलियो । मन्त्रीहरुलाई उम्मिकन नदिन भनेर सिंहदरवार प्रवेश गर्ने मुल ढोकामा ताला लगाए । सबै ढोका चोटामा खानतलासी गरे । सिंहदरवारवाट मुसा समेत भाग्न नपावस् भन्ने आदेश जारी गर्दै सवै कर्मचारीलाई राती नौ वजेसम्म थुने । क्यान्टिनहरुमा पानी समेत सकियो । मानिसहरु तिर्खाले आत्तिए । तर पनि वाहिर जान दिइएन ।
त्यो घटना वारे पत्रकार गिरिश गिरी सेतोपाटीमा लेख्छन–त्यत्रो बहुमत पाएर जितेको नेपाली कांग्रेसका प्रधानमन्त्रीलाई समातेर लगेर थुनिदिए। र, मेरो मनमा खेलेका कुरा उनै मुख्यसचिव चन्द्रबहादुर थापाको चर्तिकलाले साबित पनि गरिदियो। प्रधानमन्त्रीलाई थुन्नेबित्तिकै यता सिंहदरबार पनि पूर्ण रुपमा बन्धक बनाइयो। त्यसका मुख्य हर्ताकर्ता तिनै चन्द्रबहादुर थापा थिए। मालपोत हेर्ने एक जना मन्त्री सिंहदरबारमै फेला पार्न नसकेको अवस्थामा उनको खोजी गर्न भनेर त्यहाँभित्र भएका सबैलाई त्यसरी बन्दी बनाइएको थियो। हराएका मन्त्रीलाई खोजेर फेला नपारेसम्म कसैलाई सिंहदरबारबाट बाहिर जान नदिनू भनेर कडाइ गरिएको थियो। त्यहाँ आएकासम्म सबैलाई थुन्नुको पछाडि ‘दरबारको आदेश’ भनेर सुनाइँदै थियो। त्यसलाई कार्यान्वयन गर्न दौडादौड तलमाथि गर्दै ‘एक जनालाई पनि नछाड्नू’ भन्दै आदेश दिने काम उनै मुख्यसचिवले गरिरहेका थिए। सारा हालीमुहाली उनैको थियो। त्यो दिन उनको फूर्ति नै हेरिनसक्नु थियो। मलाई चाहिँ केही दिनअघि मात्र त्यहीँ सिंहदरबारमा प्रधानमन्त्री बिपीले गरेको यिनको प्रशंसा सम्झना भइरहेको थियो। कस्तो विचित्र अब यसरी बन्दी बनाइएपछि कतिन्जेल थुनिनुपर्ने हो भन्ने कसैलाई भेउ पत्तो थिएन। सिंहदरबारमा भएका थोरथोरै खानेकुरा पनि सबै सकिएको थियो। तै त्यसै रात अन्तिममा कसैले आएर ती मन्त्री त भागिसकेको जानकारी दिए। ढलबाट खेतैखेत भागेको कुरो आएपछि त्यसलाई पक्कापक्की गर्न लगाए। पुष्टि भयो। यसरी त्यो पुसको चिसोमा हामी राति ९ बजेतिर बल्ल मुक्त गरिएका थियौं।
त्यो घटना पछि तत्कालीन राजा महेन्द्रले चलाएको निर्दलीय पञ्चायती व्यवस्था ३० वर्षसम्म चल्यो । ०४६ पछिको संसदीय प्रजातान्त्रीक काल र राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार हातमा लिएर शासन चलाउँदाका ऐतिहासिक घटनाक्रम जोशीले नजिकबाट नियाल्न पाए ।
२०६३ मा जनआन्दोलनको वलमा वनेको सरकार मात्र होइन, सशस्त्र विद्रोहबाटै सत्ता कव्जा गर्ने लक्ष्य लिएको माओवादीले संविधानसभाको जनमतबाट सिंहदरवारको शक्ति हात पारेको क्षण पनि देख्न पाए ।
पहिलो संविधान दिन नसकेर स्वत विघटन भयो । अनी दोस्रो संविधानसभा चुनाव गराउने प्रयोजनका लागि मन्त्रीपरिषद्को अध्यक्षका रुपमा प्रधानन्याधीस खिलराज रेग्मी सिंहदरवार प्रवेश गरे । त्यस पछि वनेको संविधानसभा मार्फत इतिहासमै पहिलो पटक नेपाली जनताका प्रतिनिधिले संविधान जारी गरे २०७३ असोज ३ गते । यस अघि जोशी २००४ मा पद्मशमशेरले जारी गरेको मुलुककै पहिलो संविधान नेपालको बैधानीक कानून २००४,
नेपालको अन्तरिम संविधान २००७, नेपालको संविधान २०१५, नेपाल अधिराज्यको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७ र अन्तरिम संविधान २०६३ बाट शासित भैसकेका थिए ।
दश दशक भन्दा लामो जीवनकालमा अनेकौं उकाली ओराली पार गरिसकेका जोशी नेपाली साहित्य, संस्कृतिको विकास योगदान गरे वापत तीन पटक मदन पुरस्कार पाए । भाषा, कला, संस्कृतिको संरक्षण सम्बर्धन र विकासमा गरेको सेवाले उनलाई वि।सं।२०१३, २०१७ र २०१८ मा मदन पुरस्कार दिलाएको हो । जोशी अहिले पनि अध्ययन अनुसन्धानमा युवा जस्तै सकृय छन् । उनका पचास जति कृति प्रकाशित छन् ।
जोशीले १९९० र २०७२ सालमा भूकम्प अनी २०७७ र २०७८ को कोरोना महामारीलाई नियाल्न पाए ।
मैले एक पटक सोधेको थिए पुरै शताव्दीको जिवीत इतिहास हुनुहुन्छ यो उमेरमा आएर तपाईलाई के हेर्ने इच्छा छ ? जवाफमा जोशीले भनेका थिए –चार जात छत्तिस वर्षको फूलवारी हो नेपाल । सबै भाषा र संस्कृतिको सम्वर्धन गरी राष्ट्रिय एकता वलियो भै देशको शिर उँचो भएको हेर्ने रहर छ मलाई ।
१०२ औं जन्म दिनको अवसरमा शताव्दी पुरुष जोशीलाई अन्वेषण परिवारका तर्फबाट सुस्वास्थ्य, एवं दिघायुको मंगलमय शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।