साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘अस्थिरतासँग मेरो प्रेम छ’

Chovar Blues Mobile Size

साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

तलको अन्तर्वाता हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । तपाईले यो सामग्री अन्नपुर्ण पोस्टमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् ।

—————-

नेपाली आख्यानमा नारायण ढकाल यशस्वी नाम हो । उनका कथा, उपन्यास र निबन्ध विधाका डेढ दर्जन किताब प्रकाशित छन् । उनको सद्यः कथासंग्रह ‘तमस’ चाँडै नै बजारमा आउँदै छ । ‘शहरयन्त्र’, ‘आत्महन्ता’, ‘बहिर्गमन’, ‘इन्द्रजाल’ उनका चर्चित कथासंग्रह हुन् । ‘प्रेतकल्प’, ‘हजार माइलको यात्रा’ उपन्यासका सर्जक ढकालको ‘नरकको ढोका’ कवितासंग्रह पनि प्रकाशित छ । नेपाली कथा साहित्यमा केन्द्रित रहेर ‘सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले आख्यानकार ढकालसँग संवाद गरेका छन् ।

कथा तपाईंका निम्ति प्रतिरोधको माध्यम हो कि साहित्यकै अर्को लालित्य ? 

sagarmani mobile size

कथा कलाकै एक विधा भएकाले यो लालित्य नै हो । तर, लालित्य मात्रै वा प्रतिरोध मात्रै कथा होइन । त्यो दुवैको सम्मिश्रणले मात्रै स्पष्ट कथा बन्दछ ।

तपाईंका कथा विचारप्रधान र मुद्दाकेन्द्रित बढी देखिन्छन् । यसको पछाडि विशेष कारण केही होला ?

मेरा कथा मुद्दामा केन्द्रित हुनु स्वाभाविक छ । किनभने, मेरो समाजसँगको जो सम्बन्ध छ, त्यसको कोष–कोषमा मुद्दाहरू छन् । पछाडि फर्केर हेर्ने हो भने मेरो जीवनको यात्रा त्यति सहज भएन । जीवनभरि म विभिन्न राजनीतिक तथा सामाजिक मुद्दासँग जोडिँदै–जोडिँदै यहाँसम्म आइपुगेको छु । अर्थात्, मेरो जीवनको इतिहासमा मुद्दा जोडिएको छ । तर, यसलाई साहित्यमा व्यक्त गर्ने मेरो भिन्नै शैली छ । त्यो शैली समाजशास्त्री, मानवशास्त्रीहरूको जस्तो सीधा भने छैन । यस्ता मुद्दालाई म आफ्ना कथामा लालित्य र साहित्य मिसाएर प्रस्तुत गर्ने गर्दछु । त्यसमा विचार पनि त्यत्तिकै सघन ढंगले मिसिएको हुन्छ ।

मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ । खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ । अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ ।

तपाईंका कथामा शृंखलाबद्ध घटना हुँदैनन् र एउटै घटनाको सेरोफेरोमा ती कथा घुमिरहेको देखिन्छ, भनिन्छ नि ? 

परम्परागत साहित्यमा एड्गर एलेन पो, ओ हेनरी, मोपाँसाका हरेक कथामा केही न केही नौला घटना भएका हुन्थे । त्यस्तै, विलियम सेक्सपियरले लेखेका नाटक र कथा घटनाप्रधान नै भेटिन्छन् । ती कथामा बाटोमा हिँडहिँड्दै कोही राजा भएको त कोहीलाई दैवी चमत्कार मिलेको पाइन्छ । तर, पछिल्लो समयमा परिस्थितिप्रधान कथा लेख्ने चलन बढिरहेको छ । घटनाप्रधान कथामा लगाव भएका पाठकलाई सुरुमा यस्ता कथा अरुचिपूर्ण लागे पनि अहिले यस्तो कथाले आफ्नो विशेष स्थान बनाइसकेको छ । यही परम्परामा म जोडिएको हुँ । यसलाई मैले गरेको नयाँ प्रयास भन्न नमिल्ला । फेरि आज कथा लेख्ने शैली एउटै मात्र छैन । तपाईं आफ्नै शैली पनि बनाउन सक्नुहुन्छ । त्यसैले घटनाप्रधान कथा पढ्नेलाई मेरा कथा स्वादिलो नलाग्न पनि सक्छ ।

तपाईं स्वयं र अन्य कथाकारहरू कथाको स्तर घट्दै गएको, कथा झुर भएको, कथा सक्किएको, कथा शिथिल भएको कुरा बारम्बार भनिरहनुहुन्छ । कथाको स्थिति साँच्चै ‘ब्लिक’ छ, हो ? 

हाम्रो कथा आज मात्र यस्तो भएको होइन । हाम्रो कथाको परम्परा नै कमजोर छ । यति मात्र होइन कथाको ग्रहणशीलता नै कमजोर छ हामीसँग । तर, यसको परम्परामा जोडिइसकेपछि यसलाई माथि पुर्‍याउने हाम्रो संघर्ष भने जारी छ । आफ्नो कथाको स्तर कमजोर रहेको जुन हाम्रो टिप्पणी छ, त्यो हाम्रै उत्थानका लागि गरेका हौँ । आत्मसमीक्षा हो हो । यसर्थ म आत्मभत्र्सना गर्न डराउँदिनँ । किनभने, ‘जम्मै लेखिसक्यौँ, राम्रो लेखिसक्यौँ’ भन्ने सोच पलायो भने हामीसँग अगाडि बढ्ने बाटो नै हुँदैन ।

फेरि आत्ममुग्ध भएर अहिलेको अवस्थाकै पक्षमा वकालत गर्न थाल्यौँ भने हामीले हाम्रा कथा उत्थान गर्ने कुनै ऊर्जा प्राप्त गर्न सक्दैनौँ । आफ्नो स्थितिको उत्थानका लागी पनि हाम्रा कथाको यथार्थ स्थितिमाथि गम्भीर समीक्षा जरुरी छ ।

अघिल्ला कथासंग्रहभन्दा ‘तमस’ मा के नयाँ कुरा छ ?

‘तमस’ नयाँ समयको कथा हो । यसबेलासम्म आइपुग्दा मेरो कथालाई हेर्ने दृष्टिकोण, जीवनलाई हेर्ने दृष्टिकोण र पात्रलाई हेर्ने दृष्टिकोण नै फरक भएको छ । यो नयाँ समय र नयाँ बुझाइबाट लेखिएकाले यसमा पक्कै नयाँ कुरा पाउन सकिन्छ ।

यसो त पञ्चायतजस्तो छ, आज पनि राजनीतिको प्रवृत्ति उस्तै छ । बाहिरी आवरणमा मात्रै राजनीति फरक देखिएको हो । राजनीतिक संस्कार भने पहिलाकै जस्तो छ । यही तीतो यथार्थ ‘तमस’भित्र भएका कथामा मैले उजागर गर्न खोजेको छु । सँगै, मेरो आफ्नै अनुभव पनि बदलिएको छ । जीवनप्रतिको दृष्टि बदलिएको छ । यो बदलाव मेरा कथामा स्वतः देखिन्छ ।

अर्को कुरा, तमसमा लामा कथाको बाहुल्य छ । पहिलेभन्दा कथालाई चित्रण गर्न, पात्रहरूको अन्तस्करण छाम्न विशेष प्रयत्न गरेको छु । त्यस्तै, परिवेशमा पनि विविधता छ । मेरो कान्छो छोरा अमेरिकामा भएकाले मैले त्यता पनि लामो समय बिताएँ । त्यही सिलसिलामा अमेरिकाको नेपाली जनजीवन र त्यहीँको मौलिक जनजीवनको कथा लेखेको थिएँ । यसर्थ पञ्चायतकालदेखि लिएर आजको अमेरिकी–नेपाली जनजीवनको कथा ‘तमस’मा समेटेको छु ।

तपाईंले बारम्बार ‘अस्थिर भएर नै म लेखक भएको हुँ’ भन्नुभएको छ । सँगसँगै, लेखनमा अस्थिरता चाहिन्छ भन्ने पक्षमा वकालत गर्नुहुन्छ । के अस्थिर स्वभावको लेखकसँग बलियो कथा बुन्ने क्षमता बढी हुन्छ ?

मानिसको मानसिकता अस्थिर भयो भने नै नयाँ कुरा खोजी गर्न सक्छ । खोजीको छटपटीलाई नै मैले अस्थिर भन्न खोजेको छुँ । किनभने, अस्थिर मान्छे सदा नयाँ कुराको खोज–यात्रामा लागिरहन्छ । मेरो भाषामा अस्थिरता भनेको नयाँ प्रयोग, नयाँ ज्ञान, नयाँ मानसिकताको खोजी हो । जसले यो खोजी गर्न पढिरहन्छ, लेखिरहन्छ, भ्रमण गर्छ र मानिसहरूसँग निरन्तर संवाद गर्छ । यसले कथा लेखन र पठनमा प्रभाव पार्नु स्वाभविक नै हो । अस्थिरतासँग मेरो प्रेम छ ।

पछिल्लो समय तपाईंका किताब छिटो–छिटो बजारमा आइरहेको देखिन्छ । पाँच दशकदेखि साहित्यमा सक्रिय लेखकलाई यस्तो हतार किन ? 

छिटो भन्नाले त्यस्तो छिटो पनि प्रकाशन गरेको छैन । दुई वर्षको अन्तरालमा यो कथासंग्रह प्रकाशन गर्न लागेको हँ । अब अर्को पुस्तक आउन भने दुई वर्षभन्दा बढी नै समय लाग्ला । यसलाई के छिटो भन्नुु ? अहिले पनि एउटा उपन्यास लेख्न खोजेको छु, त्यसलाई पाँच वर्ष नै लाग्ला । साना–साना कविता पनि लेख्छु । तर, मलाई एउटा कविता पूरा गर्न धेरै समय लाग्छ । हजार चोटि घोत्लिनु पर्छ मैले कवितामा ।

काँठकै सेरोफेरोमा केन्द्रित कथा आउँदा तपाईंका पुराना पाठकलाई मोनोटोनस नलाग्ला र ? 

मैले धेरै पटक एकै विषयलाई साहित्यमा दोहोर्‍याउनु हुँदैन भनेको छु । ‘विषय दोहोरिनु भनेको आत्महत्या हो’ भन्दै आएको छु । परिवेश दोहोरिए पनि प्रतीक र ध्वनि नदोहोरियोस् भन्ने कोसिस गरेको छु । पात्रहरू, समय र परिवेश फरक छन्, जसका कारण मेरा पुराना पाठकलाई ‘तमस’ पढ्दा बोर लाग्दैन । यसपटक स्वैरकल्पना पनि लेखेको छु । समकालीन कथाकार कुमार नगरकोटीहरूले पनि यस प्रकारका कथा लेखिरहेकै छन् । नयाँपन दिने मेरो प्रयास सदैव रहन्छ ।

एउटा लेखक कति वर्षसम्म सिर्जनशील हुने ? अन्य क्षेत्रमा जस्तै लेखकले पनि उमेर कटेपछि रिटायर्ड हुन मिल्दैन ? 

मुख्य कुरा त लेखकको मस्तिष्क कति बलियो छ भन्नेमा यो कुरा भर पर्छ ।  उसको शारीरिक सबलता छ भने जुन उमेरसम्म लेख्दा पनि हुन्छ । सबल भएको अवस्थामा उमेरले लेखकलाई छेक्दैन भन्ने धारणा म राख्छु । अर्को कुरा के छ भने, कुनै पनि लेखकले जीवनभर लेख्ने कुरा त आउँदैन । कसैले किन लेखिनस् भन्न पाउँदैन । यो लेखकको व्यक्तिगत कुरा हो । लेख्ने र नलेख्ने आफैँ निर्धारण गर्नुपर्छ । तर, आफ्नो सिर्जनशीलता र स्वास्थ्य ठीक छ भने एउठा लेखकले लेखिरहनुपर्छ । आखिर सिर्जनशीलता बूढो हुने कुरा त होइन ।

प्रतिक्रिया
Loading...