साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

तलको अन्तरर्वाता हामीले अन्नपुर्ण पोस्टबाट साभार गरेका हौँ । अन्नपुर्ण पोस्ट फुर्सदका लागि यो लेख मनोज बोगटीले तयार पार्नु भएको हो । तपाईले यो सामग्री अन्नपुर्ण पोस्टमा नै पढ्न यहाँ क्लिक गर्नुहोस् ।

—————-

सम्झना

टेलिभिजनको दृश्यमा जे छ
त्यो घरमा छैन
घरमा टेलिभिजन छ
टेलिभिजनमा
घर कहाँ छ ?

बजारले आँसु, क्रान्ति, प्रेम, सौन्दर्य वा मूल्यका हरेक क्षेत्रलाई बजारीकरण गरिरहेको बेला चर्चित कवि कालिकाप्रसाद सिंहले आफ्नो कवितामा यस्तो प्रश्न गरिरहेका थिए ।

‘यो घर खोज्ने काम हाम्रो ड्युटी हो ।’ सांग्रिला बुक्स सिलगढीमा एकदिन गप्फिन आइपुगे सिंह । मैले भने, ‘यही घर खोज्ने चेतना विकासको लागि अगमसिंह गिरीले हाम्रो समाजलाई विचार दिए । तर, त्यो विचारलाई छोप्न बजारले अर्को विचार ल्यायो ।’

कालिकाप्रसाद सिंहले मेरो कुराले ताकेको ठाउँको छनक पाए । ‘तर गिरीको विचार छोपिएन । तपाईंहरूको राजनैतिक समाजले बोकेको पहिचानको सवाल गिरीले दिन खोजेको विचार थियो, गिरी अहिले पनि जिउँदै छन् । बरु उनको विचार छोप्न आउने विचारकहरू छोपिइसके ।’ सिंहको निचोड थियो ।

त्यो हंग्री पुस्ताले परम्परालाई उल्ट्याएर मानिस– अनुकूल समाजको सपना देखिरहेको बेला थियो । गजानन मुक्तिबोधहरूले ‘तिमी कहाँ छौ ?’ भनेर समाजलाई सोधिरहेको बेला थियो । अंग्रेजहरूले भारत छोडेपछि देशभरि चिन्हारीका आन्दोलनहरू चले । संघीय देशको संविधानमार्फत सम्बोधित भइमाग्ने यस्ता आन्दोलनहरूको आन्तरिक प्रभाव सबैतिर थियो । मुक्तिबोधहरू त्यसैलाई सिर्जनामार्फत सम्प्रेषण गरिरहेका थिए ।

समाजका जटिलताहरूलाई सम्बोधन गर्न सक्ने भाषाको निर्माणमा लेखकहरू जुटिरहेको बेला यता दार्जिलिङ के गरिरहेको थियो त ?

खोज्नेहरूले भेट्नेछन्, मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म । बितेको गौरवगाथा कहन आएको होइन म । तिम्रा सन्तप्त छातीका पीरहरू उखेल्न आएको होइन म । सजिलै खोसिएको गाँस र हलुकै लुटिएको बास दिलाउन आएको होइन म । छातीको त्यो गहिरो खोपिल्टा पुर्न आएको होइन म । निर्धा आँसुका धारा हेर्न आएको होइन म । केवल तिमी तिमी नै हो कि चिन्न आएको म । तर, तिमी त यहाँ नचिनिने भएछौ !

मूलधारको साहित्यिक प्रवाहसित लय मिलाउँदै कोही अघि बढिरहेका थिए भने, उनी गिरी नै थिए । गिरीलाई यहाँसम्म आइपुग्न अनेकौं दुःखवादको भर्‍याङ चढ्नु पर्‍यो ।

गिरीमा द्विविधा थियो, तिनको काव्यमा निरन्तर दुखिरहने, रोइरहने समाज नेपालको नेपाली हो कि भारतको गोर्खाली समाज हो ? धेरै समालोचकहरूले गिरीको यही दुःखवाद चिन्ने निश्चित केन्द्रीय बिन्दु नभेटिने बताएका छन् ।

मुक्तिबोधहरूले सोधिरहेको सवालको जवाफमा अगमसिंह गिरी यसरी बोलिरहेका थिए– तिमी को हौ चिनाउन आएको होइन म । बितेको गौरवगाथा कहन आएको होइन म । केवल तिमी तिमी नै हो कि चिन्न आएको म । तर, तिमी त यहाँ नचिनिने भएछौ !

गिरीलाई मात्र होइन, उसबेला दार्जिलिङमा बस्नेहरूलाई आफ्नो ‘देश’ नेपाल नै हो भन्ने भ्रम थियो । अहिलेसम्म पनि सन्धि, चुक्तिको इतिहास एकातिर छ, भ्रम अर्कोतिर छ । दुवैको प्रतिबिम्ब भने साहित्यमा पनि झल्कियो । त्यो भ्रम फैलाउनमा धरणीधर, सूर्यविक्रम, बैरागी काइँला, ईश्वर वल्लभहरूको साहित्यिक उपस्थिति र उनीहरूको गतिविधि, राजाहरूको दार्जिलिङ भ्रमण र कलाकारहरूको पलायनले पनि सहयोग गरेको छ ।

युद्ध र योद्धासम्म आइपुग्दा गिरीमा नेपाल नोस्टालिजा हट्दै थियो । मुक्तिबोधहरूसितै स्वर मिलाएर उनी नचिनिने भएकाहरूको पहिचानको मुद्दा बोकेर अघि बढिसकेका थिए ।

गिरीको ‘तिमी’ भारतको राजनैतिक गोर्खा हुन् । हामीले यसरी बुझेका हौं । यदि यसलाई लोकल अर्थमा लिइयो भने ग्लोबल अर्थमा ‘तिमी’ संसारभरका किनारीकृत त हुँदै हुन् । ‘युद्ध र योद्धा’सम्म आइपुग्दा, चियामा सुन टिप्न आएका पुर्खा, राजाले दिने विविध आपराधिक दण्डबाट लुक्न आएका नेपाली नागरिक, नेपालका राजा र धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, काइँला, वल्लभहरू र भानुभक्तीय मिथकले रोपेको नेपालमोहमा ग्रहण लागिसकेको थियो ।

एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे । आफ्नै आमा ठान्थे । इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे । र, नेपाल सम्झेर भावुक बन्थे । जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन् । ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि…’ भन्दै रोएका छन् । इन्द्रबहादुर राईले पशुहरू त्यही ‘माटो’ भएर फर्काएका छन् । (हस्तक्षेपीहरूले आलोचना गर्न थालेदेखि अंग्रेजी संस्करण ‘आज रमिता छ’बाट त्यो अंशबाट हटाएको छ भन्ने सुनेको छु, पढेको चाहिँ छैन) । मनबहादुर मुखियाहरूले मुठ्ठीमा त्यही ‘माटो’ मुठ्याएका थिए । अम्बर गुरुङ त्यही ‘माटो’मै फर्किएका थिए । अथवा राजाले खनेको बाटैबाटै उनी नेपाल छिरेका थिए । (त्यही बाटो धेरै कलाकारहरू नेपाल छिरे । नेपालमा उनीहरूको प्रतिभाले ठाउँ बनायो । तर, यससरी नै छिरेका आम मानिसको कथाबारै अहिलेसम्म कसै अनभिज्ञ नै छन्) ।

नेपाल छिर्ने ‘धन्दा’ दुई हिसाबले परिभाषित हुन थालिसकेको थियो । १९५० को धाराले खनेको बाटो भएर दार्जिलिङका नेपालीहरू नेपाल (र नेपालका नेपालीहरू भारत) छिर्दैछन् ? कि अम्बर गुरुङहरूलाई छिराउन राजाले खनेको बाटोबाट छिर्दैछन् ?

यताबाट छिरेकाहरूको नागरिकता र सम्मानको सवाल अलग । छिर्नु र नछुर्नुबीचको संकटको सवाल अलग ।

 एक समय थियो, दार्जिलिङे कलाकारहरू नेपाललाई आफ्नै देशसरह मान्थे । आफ्नै आमा ठान्थे । इतिहासलाई अघि राखेर नोस्टाल्जिक बन्थे । र, नेपाल सम्झेर भावुक बन्थे । जस्तो अगमसिंह पनि खुब भावुक बनेका छन् । ‘माटोको माया बिर्सेर यहाँ किन पो आयौ नि…’ भन्दै रोएका छन्

अगम सिंह गिरीले खण्डकाव्य ‘युद्ध र योद्धा’मा यही ‘कन्फ्युजन’लाई डिस्कोर्समा ल्याएका छन् । फोर्समा ‘गोर्खा’ नेपालका धेर र भारतका कम । अंग्रेज भगाउन दुवै गोर्खाको उस्तै योगदान । तर, देश सेता मानिसबाट मुक्त भइसकेपछि काला मानिसहरू त्यही सेता चरित्रमा उदाए । युद्ध र योद्धाबीच खाडल बनियो । गोर्खाहरूलाई संघीय देशमा स्थान दिइएन । उनीहरूको चिनारी निश्चित गरिएन ।

‘युद्ध र योद्धा’बाट नै गिरीले नेपाल र भारतलाई एक गोर्खाले हेर्ने पारम्परिक दृष्टिकोणको सवालमा आफूलाई सच्याए । तर, भूमिकामा इन्द्रबहादुर राईले गिरीको दृष्टिकोणलाई गलत व्याख्या गरिदिए । गिरीय चेतलाई ‘रोमान्टिसिज्म’ भनेर लिमिटेड गरिदिए । भने, ‘कुनै दार्शनिक विचारको व्याप्ति पक्रेर गिरी दुःखवादी भएका छैनन् । गिरीको पैतृक, पारिवारिक वा व्यक्तिगत जीवनमा कुनै अपघात छैन । ’

चिनारीको निम्ति फेरि युद्ध गर्नुपर्ने हो त ? गिरीय चेतनाले खनेको प्रश्निक बाटो यस्तो हो । तर, इबरा गिरीको परिवारमा युद्धको अपघात छैन भन्दै गिरीय काव्यलाई अव्यावहारिक तुल्याउन खोजिबसे ।

इबराले त गिरीले जाति–दुःखलाई नाम्लो लगाउनुको कुनै तुकसमेत नरहेको बताएका छन् । गिरीय जातिवादी चेतना दार्जिलिङे साहित्यले प्रसार गरेको मूल चेतना हो । त्यही चेतनाको जगमा अहिलेको दार्जिलिङे राजनीतिसमेत टिकेको छ ।

गिरी रातारात हरेक गोर्खाले नाम लिने शीर्ष कवि बने । अहिले पनि इबराहरूभन्दा धेरै लिइने नाम हुन् उनी । अहिले पनि धेरैलाई गिरीका कविता मुखस्त छन् । हरेक आन्दोलनमा बाटो देखाउने काव्यिक पंक्ति उनी नै हुन् । जातिलाई संकट पर्दा लिइने नाम उनी नै हुन् । साठीको दशक, साहित्य र राजनीतिले दार्जिलिङे वैचारिकीमा युटर्न लिएको बेला पनि हो ।

किनभने दार्जिलिङका सबैभन्दा प्रभुत्वशाली राजनैतिक दल अखिल भारतीय गोर्खा लिगले गोर्खा नामलाई मिथ बनाएर त्यसको छातामुनि सबै जातगोष्ठीलाई एकीकृत गर्ने विचार समाजलाई दिइरहेको थियो । गिरीका कविताले त्यही समयलाई सम्बोधन गरेको थियो । चिनारीको सवाल, जाति मुक्तिको सवाल, केवल गोर्खाहरूको सवाल मात्र त थिएन, संघीय लोकतान्त्रिक देशले सम्बोधनमा ल्याउन नसकेकाहरूको लडाइँ पनि थियो । विश्वभरि नै पहिचानसम्बद्ध साहित्यले अनुहार उठाइरहेको क्रिम समय पनि थियो ।

यतिखेर नै इबराहरूले गिरीय साहित्यलाई भनिदिए, ‘च्याप्टो साहित्य’ । अर्थात् गिरीय साहित्य भनेको रोनाधोना, सस्तो भावुकता, रोमान्टिक र एक आयामी वा समाजलाई काम नलाग्ने थोत्रा ।

वास्ताविकता के हो भने दार्जिलिङमा त्यही च्याप्टो साहित्यले समाजलाई दिएको प्रभाव नै ज्युँदो छ । समाज त्यो रामान्टिसिज्मबाट मुक्त छैन । जाति मुक्त छैन । इन्द्रबहादुरीय बौद्धिक लेखनले भने मुक्त समाजको गफ गर्छन्, जो दार्जिलिङे समाजको लागि ‘हावागफ’ हो ।

जाति मुक्त नबनी न भाषाले बंगाली हुँदै अरू भाषामा छिर्ने मौका पाउने हो न केन्द्रमा गोर्खाहरूको समस्याले फ्लोर पाउने हो । इन्द्रबहादुर राईहरूको बौद्धिक डिस्कोर्स दार्जिलिङे समाजमा पुल्ठो बालेर दिउँसै खोज्दा पनि भेटिन्न ।

मलाई कवि कालिकाजीले भने, ‘गिरीको आयाम, तीनवटा आयामले छोप्न सक्दैन । गिरी आफ्नै माटोमा जन्मिएका हुन् । जो आफ्नो माटोमा जन्मिएका हन्, उनी जिउँदा हुन्छन् । हेर्नुहोस्, अहिले तपाईंको राजनैतिक समाजले बोकेको मुद्दा गिरीले थमाएका हुन् ।’

०००

बैरागी काइँलालाई अगमसिंह गिरीले सोधेछने, ‘अब त जसो गरेर लेखे पनि कविता हुने भइहाल्यो नि होइन त, बैरागीजी ?       ’

तर काइँला बोलेनन् । उनले नबोलेरै जिते । काइँलालाई लाग्छ, उनलाई गिरीले ‘रिसाएजस्तो व्यंग्य गरे ।’

‘मसँग उनको पेच पार्ने कुरा गरेको यही नै पहिलो र अन्तिम थियो होला,’ काइँला भन्छन्, ‘एउटा धारको नेतृत्व गरेर प्रतिष्ठित भएका, कहलिएका सर्जकको अहम्मा हाम्रा गतिविधिले चोट पुगेछ ।’

वास्तवमा गिरी रिसाएकै चाँही होइनन् तर उनका केही आग्रहहरू थिए । केही भन्नु थियो उनलाई । उतिखेर साहित्यमा नयाँ प्रयोगको प्रोपोगान्डादेखि बाहिर बसेर अघिल्ला साहित्यिक मान्यताहरूलाई अथवा यसका इतिहासलाई सम्मान गरियोस्, ठान्थे गिरी । तर, ‘नयाँ’हरू चाहिँ अघिल्ला लेखनलाई नै भन्थे, ‘च्याप्टो ।’

अरूलाई ‘च्याप्टो’ भनेर आफूहरूलाई अग्लो, लामो र चौडा भन्नेहरू हुन्, इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभ । दुईजना नेपालका, एकजना भारतका । नेपालमा पहिलो साहित्य संस्था कसले खोले ? पहिलो मूर्ति कसको बनाइयो ? किन र कसले बनाए ? यसबारेका बहस त भएकै छैन । ‘च्याप्टो’ र ‘तेस्रो आयाम’ले कुन समाजलाई के दियो, त्यसबारे पनि बहसै छैन ।

च्याप्टो अर्थात् रुन्चे । नयाँहरू (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर वल्लभहरू)लाई लाग्थ्यो, गिरीहरू स्वच्छन्दवादी पखेटामा बसेर जसरी उडिरहेका थिए, त्यसले त कतै पुर्‍याउँदैन । त्यो उडान च्याप्टो उडान भयो । जीवन र जगत्लाई त अरू आयामले पनि हेर्नुपर्छ । त्यसपछि आयो, तेस्रो आयाम । गिरी भन्थे, ‘नयाँको आडमा अरूबाट सम्पूर्णतया अनुकरण गरेर आफ्नो निजी व्यक्तित्वलाई गुमाउन खोज्नेहरूसँग भने हामीलाई खेद छ । ’

इन्द्रबहादुर राईहरूको बौद्धिक लेखन च्याप्टो साहित्यको जगबाट उठ्यो । च्याप्टो भत्काएर त्यसको ठाउँमा राखियो– त्रय आयाम । तर, त्रय आयाममा इन्द्रबहादुर राई बसेको समाज रिफ्लेक्ट भयो न विश्व समाज नै । तेस्रो आयाम न नेपाली घेरा नाघेर बाहिर नै गयो न नेपाली घेराभित्र नै पस्यो । तेस्रो आयाम न विश्व समाजमा काम लाग्यो, न आफू उभिएको समाजलाई काम लाग्यो ।

पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ । तर, विश्व समाजलाई अत्तोपत्तो छैन । डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ? भयो ।

पूर्वीय दर्शनको सवालमा इबराहरूले गतिलै काम गरेको बताइन्छ । तर, विश्व समाजलाई अत्तोपत्तो छैन । डेरिडाबारे इन्द्रबहादुर राईहरूलाई जानकारी थियो, डेरिडाहरूलाई इन्द्रबहादुर राईहरू कुन चरा हो ? भयो ।

तर यता ? च्याप्टा कवि अगमसिंह गिरीको चेतना भने संकटमा परेका भारतीय (गोर्खा)हरूको चिनारीको खोजतिर लहसिँदै थियो । गिरीय चेतना लोकल भएर पनि ग्लोबल थियो ।

उनले १९५९ मा प्रकाशित गरेको ‘आत्मव्यथा’ चर्चामा यसै कारण थियो । त्यही संग्रहमा उनले ‘नचिनिने भएछौ’ लेखेका हुन् । पहिले–पहिले गिरी नेपाल र भारतलाई एउटै देख्थे । उनी भाषाबाट छिरुन् वा संस्कृतिबाट छिरुन्, पुग्दा नेपाली व्यथामा नै पुग्ने ।

त्यो व्यथाको जनक देश त पक्कै थियो, तर त्यो भारत हो कि नेपाल ? यो दुविधाको पेन्डुलम गिरीको चेतनामा हल्लिबस्थ्यो । त्यसै कारण उनको दुःखवादको जिलो केलाउन निक्कै गाह्रो कुरा हो भनेका हुन्– आलोचकहरू ।

तर, गिरी त्यही दुःखवादमा अल्झिएनन् । पछिपछि उनी त्यहाँबाट उक्लिए । र, जातिप्रति आशक्त बन्दै गए । ६० को दशकबाट हुर्किएको जातीय चेतनाले ७० को दशकमा ‘युद्ध र योद्धा’ जस्तो जातिमुक्तिको दस्तावेज निर्माण गरिसकेको थियो । अथवा भारतीय नेपालीहरूले दार्जिलिङबाट आफ्नो ऐना हेर्न थालिसकेका थिए ।

राजनीतिले गिरीय चेतनालाई सतहमा ल्याउँदै थियो । गोर्खालिगजस्तो राजनैतिक दलले जातीयताको विचारलाई जीवन र समाजसित जोडेर रूपान्तरणको सपना देख्न थालिसकेको थियो ।

अँ, बल्ल राजनीति र साहित्यले समानन्तर विचारलाई परिवर्तन र रूपान्तरणको नारा बनाउँदै थियो । तर, त्यही दशकमा तेस्रो आयामले साहित्यलाई अझ अग्लो विचारले उठाउने भए ।

बैरागी काइँलाले सम्पादकीयमा नै गिरीय लेखनलाई इंगीत गर्दै भने, ‘च्याप्टो लेखन ।’

नेपालका बैरागी काइँलाले नेपाली साहित्यलाई बुझ्दा भारतको नेपाली र नेपालको नेपालीको रूपमा लिए–लिएनन्, थाहा छैन । तर, ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’को अन्तर्य नेपाली संकटबाटै आएका विचार हुन् । तर, त्यसको अन्तर्य केवल नेपाली आवाज र संकटमा सीमित रहेन । त्यो आवाज विश्वका कुनै पनि ठाउँको आवाज बन्यो । नेपालमा काइँलाको ‘मातेको मान्छे’ र भारतमा गिरीको ‘नचिनिने भएछौ’ले एउटै काम गरेका छन् ।

यद्यपि, कविताको निश्चित भूगोल नहोला, तर त्यसले सम्प्रेषण गर्ने अर्थको भुइँले कवि बाँचेको इतिहास, भूगोल, संस्कृति र सत्ता टेकेकै हुन्छ ।

गिरीय च्याप्टो साहित्यले जातीय चेतना सम्प्रेषण गर्दैथियो । त्यो जातीयता भारतीय गोर्खाहरूको जातीयता हो ।

अंग्रेजको उपनिवेश खप्ने दार्जिलिङे समाजले अंग्रेजबाट आफ्नो चरित्र निर्माणको लागि पाएको कुनै ठूलो कुरा थियो भने त्यो हो– हिप्पोक्रेसी ।

अंग्रेजीलोे रवाफ । संस्कार । सभ्यता । बोलीचाली । हाउभाउ । बोलिबचन । दृष्टिकोण, विचार निर्माणमा अंग्रेजीलो मनोविज्ञानले साहित्यकार, पढेलेखेका मानिस र ठूलाबढालाई गोर्खेपनबाट पर धकेल्दैथ्यो । यस्तोमा साहित्यले पनि पश्चिमी सैद्धान्तिकी, भौतिकशास्त्र, समाजशास्त्र, आइडियोलजी, दर्शन, मिथहरू भाटभट टिप्दै केन्द्रमा विश्व राखेर ‘वैचारिक आन्दोलन’ गर्ने भएपछि अगमसिंह गिरीहरूको च्याप्टो साहित्य संकटमा परेको हो । च्याप्टो साहित्य अर्थात् स्थानीय मूल्य, स्थानीय आवाज वा आफ्नै माटोले निर्माण गरिरहेको सैद्धान्तिकीहरू संकटमा परेको हो ।

मसिना कुराहरूलाई ठूला कुराहरूले छोप्नु भनेको अल्पसंख्यकलाई बहुसंख्यकले छोप्नै त हो । गिरीलाई काइँलाहरूका ठूला कुराले दार्जिलिङे साना कुरा छोपिने हो कि भन्ने पीर थियो । बैरागी काइँलाहरूलाई उनले त्यही पीर व्यक्त गरेका हुन् ।

रिस होइन । वास्तवमा, बैरागीहरू गिरीय पीडाको (भारतीय गोर्खाहरूका राजनैतिक संकट) जरा भेट्न नसक्ने चेतनाका सर्जकहरू हुन् । उनीहरूका नयाँ प्रयोगले पुरानाहरूलाई चोट परेकोसम्म त बुझ्थे तर गिरीय चेतनाले समाजलाई दिन खोजेको दीर्घकालीन बाटोको न टुप्पो भेट्न सक्थे, न फेद ।

काइँलाहरूलाई त कहलिएका सर्जकको अहम्मा उनीहरूको गतिविधिले चोट पुगेको लाग्थ्यो तर गिरीलाई भने नेपाली कविको नेपाली व्यक्तिको छाप नेपाली कवितामा नपर्दा विस्मात लाग्थ्यो ।

अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ । तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन । साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन ।

अहिलेसम्म भारतीय नेपाली साहित्य गिरीय च्याप्टो साहित्यकै जगबाट उठ्न खोजिरहेको छ । च्याप्टो साहित्य नै समाजमा कामलाग्दो भएको छ । आजको समाज गिरीय च्याप्टो साहित्यको जगमा नै उठ्दै गर्दा तेस्रो आयाम विश्वभरि छरिसकेको हुनुपर्ने हो कि ? अब बहस गर्ने बेला भइसक्यो । उतिखेर तेस्रो आयाम र च्याप्टो साहित्यबीचको द्वन्द्वलाई साह्रै खोतलियो÷खोतलिएन तर अब खोतल्ने बेला भइसक्यो ।

कालिकाप्रसाद सिंह भन्छन्, ‘मुझे लगता है, गिरीको मार दिया गया । क्यो कि उनका कविता सत्ता के लिए खतरा पैदा करते थे । गिरी बहुत शक्तिशाली थे, ये सबको मालुन नही थे ।’

हो त, च्याप्टो कविको शक्तिबारे सबैलाई त थाहा थिएन।तर, केहीलाई थाहा थियो।र, नै त आयो तेस्रो आयाम र भनियो– च्याप्टो साहित्य ।

अहिलेको राजनैतिक समाजले पनि गिरीय जातीयबोधबाटै समाज निर्माणको सपना देख्ने गर्छ । तेस्रो आयाम र लीलाहरूबाट समाज रूपान्तरणको कुनै आइडिया भारतीय नेपाली समाजले पाएन । साहित्यमा इबराहरूलाई जुनै स्थानमा राखियोस्, तर उनीहरूको साहित्यले समाजलाई गिरीय साहित्यले जस्तो प्रभाव पार्न सकेन ।