साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मिडियाकाे याे सन्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।
याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि दिएका छाैँ ।
हामीले यो लेख कान्तिपुर दैनिकबाट लिएका हौँ । कान्तिपुर दैनिककालागि यो लेख देवेन्द्र भट्टराईले तयार पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई कान्तिपुर दैनिकमै पढ्न पनि सक्नुहुने छ ।
इराक–कुवेत युद्ध थामिएपछि तत्कालीन सभामुख रामचन्द्र पौडेलको नेतृत्वमा नेपालबाट एउटा संसदीय टोली कुवेत गएको थियो । त्यही भ्रमण टोलीलाई एक जना ब्रिटिस मूलकी महिलाले आफ्नो व्यक्तिगत म्युजियमको भ्रमणका लागि ताकेता गरिन् ।
ती महिलाको घरमा पुग्दा भित्री कोठाको भित्तामा सिसा फ्रेममा सजाएर राखिएको देखियो— हाम्रा भैरवको तान्त्रिक लुगा (ड्रेस) ।
उक्त टोलीमा सहभागी प्रतिनिधि रमेशनाथ पाण्डेले त्यसबारेमा चासो राखे । तर, तत्काल फलो–अप गरिएन वा सम्भव पनि भएन । किनभने कुवेतमा नेपाली दूतावास स्थापना भएकै थिएन । ‘त्यो हाम्रो संस्कृति र सभ्यतामा जोडिएको सम्पत्ति थियो तर कुवेतमा कसरी पुग्यो भन्ने सरोकार कहिल्यै पनि अघि बढेको मैले पाइनँ,’ पाण्डे सम्झन्छन् ।
पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको ‘वासुदेव कमलाजा मूर्ति’ अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शन भएपछि मात्रै गत मंसिरमा यसबारे जानकारी बाहिर आयो । सन् १९८९ मा प्रकाशित लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत उल्लेख भएको यो मूर्ति सन् १९८४ मा चोरी भएको जनाइएको छ । ‘सांस्कृतिक सम्पत्ति आयात–निर्यातमा प्रतिबन्ध लगाउनेबारेको अभिसन्धिका आधारमा यो मूर्तिलाई नेपाल फर्काउन सकिने’ भन्दै पुरातत्त्व विभागले परराष्ट्र मन्त्रालय, इन्टरपोल निकाय आदिमार्फत पत्राचार पनि गर्यो । ‘पत्राचार गरिएको हो तर अहिलेसम्म कुनै ठोस जवाफ आएको छैन,’ विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन् ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका पाण्डे भने ‘यसरी पत्राचार गरिएको हो तर जवाफ आएन’ भनेकै भरमा आफ्नो सम्पदाको पहिचान र अपनत्व कायम हुन नसक्ने बताउँछन् । सन् १९८५ को नोभेम्बरमा सम्पन्न संयुक्त राष्ट्रसंघको ४० औं महासभा बैठकमा आफूले पेस गरेको र अनुमोदनसमेत भइसकेको ‘सांस्कृतिक सम्पत्ति फिर्ता गर्नेसम्बन्धी प्रस्तावना’ का आधारमा पनि चोरिएर कहीं, कतै पुगेका सम्पदा फर्काउन सम्भव हुने पाण्डेले बताए । ‘यस्ता काममा आफ्नो सम्पदाको अवस्थिति टुंगो भइसकेपछि राष्ट्रसंघीय निकाय स्वयंले सम्बद्ध मुलुकलाई पत्राचार गर्दै सम्पदालाई उत्पत्ति भएको मुलुकमा फर्काउन सक्छ,’ उनले भने ।
झन्डै ३५ वर्षअघि काठमाडौं उपत्यकाबाट हराएर एकैचोटि ३ वर्षअघि अमेरिकाको मेट्रोपोलिटन कला संग्रहालयमा फेला परेका उमामहेश्वर र बुद्धको मूर्ति घर फर्काउन न्युयोर्कस्थित तत्कालीन महावाणिज्यदूत मधु मरासिनीले विशेष पहल गरेका थिए । यी दुवै मूर्ति ८ सय वर्ष पुराना हुन् । उमामहेश्वरको मूर्ति पाटनको टंगालहिटीमा र बुद्धको पूर्णकदको मूर्ति काठमाडौंको यट्खाटोलमा थिए । ‘यस्ता सम्पदामाथि आफ्नो हकदाबी
र प्रमाण दरिलो बनाएर प्रस्तुत हुन सक्नुपर्छ, यति गर्न सकेमा विदेशीहरू पनि यसरी चोरिएको वा हराएको सामग्रीलाई प्रदर्शनीमा राख्न वा लिलाम प्रक्रियामा लैजान हच्किन्छन्,’ हालै नेपाल सरकारको सचिव पदमा पुगेका मरासिनी भन्छन् ।
‘हामीले प्रमाण पुर्याएर आफ्नो सम्पदाको दाबी गर्नासाथै सम्बन्धित म्युजियम वा प्रदर्शनी निकायले त्यसलाई ‘डिस्प्ले’ बाट हटाएकै हुन्छन् । उमामहेश्वर र बुद्ध मूर्तिको हकमा पनि हाम्रो प्रामाणिक हकदाबीले काम गरेको थियो,’ उनले भने ।
सजिलै चोरिन्छ, भेट्नै मुस्किल
दुई वर्षअघि ‘नेपाल्ज स्टोलन गड्स’ शीर्षकमा एउटा शोधमूलक सामग्री अलजजिरा अनलाइन प्रिन्टमा आएपछि मुस्ताङका कतिपय सचेत र कला अनुरागीले आफ्नै गाउँठाउँबाट चोरी भएका दर्जनौं सम्पदा र मूर्तिबारे जानकारी पाए । उपल्लो मुस्ताङवासी प्रदेश सांसद इन्द्रधारा विष्टका बुझाइमा प्राकृतिक सौन्दर्य र सम्पदाका आधारमा संसारकै १० उत्कृष्टमध्येको एक पर्यटकीय गन्तव्य रूपमा मानिने लोमान्थाङ बाहिरी विश्वका लागि खुला गरिएपछि चोरी र सम्पदा असुरक्षा बढेको मानिँदै आएको छ । ‘मैले यहाँको सम्पदा सुरक्षा र चोरीका घटनाबारे प्रदेश संसद्मा कुरा उठाउँदै आएको छु,’ विष्टले भने, ‘तर कसैले व्यक्तिगत तहमा राखिएका बहुमूल्य सामग्री पनि कसैलाई बिक्री गर्छ अथवा उपहार दिन्छ भने त्यसलाई रोक्न मुस्किल छ । कतिपय मूर्ति वा सम्पदा हराएको र चोरिएको घटना यसरी व्यक्तिगत कारणले पनि बढेको देखिन्छ ।’
लोमान्थाङवासी अर्का सम्पदाप्रेमी राजु विष्टले दिएको सूचनामा ‘हराएका वा चोरिएका मूर्ति, थाङ्का, ग्रन्थ वा कुनै सम्पदा चोरिएर के–कता पुगेको छ, कसरी हराएको हो भन्ने थाहा पाउनै वर्षौं लाग्ने गरेको’ स्थिति कायमै छ । ‘झिलिङ गुम्बाको थाङ्का चोरिएको वर्षौं भयो । चराङ दरबारबाट हस्तलिखित त्रिपिटकको एक भाग चोरिएको छ । लुरी गुम्बाबाट पनि थाङ्का चोरिएको छ,’ विष्ट भन्छन्, ‘सम्पदा चोरिन्छ तर के–कसरी–किन थाहा पाउनै मुस्किल हुन्छ । चोरिएपछि फर्किएर आउला भन्ने आशा त एकदमै कम राखे हुन्छ ।’
उनका अनुसार यसरी केही बहुमूल्य वस्तु चोरिएर गैसकेपछि पनि थाहै नहुने अवस्था भनेको ‘अभिलेखीकरण’ नभएरै हो । बरु अहिले भने पुरातत्त्व विभागको सहयोगमा घामी, कागबेनी, नाम्गेलका गुम्बाको कागजात र अन्य दस्तावेज अभिलेखीकरण भइसकेको छ । ‘सरकारले तोकेको नियममा १ सय बर्ष पुराना सामग्रीहरू कहींकतै बाहिर लैजान दिइन्न तर कतिपय गुम्बाले भने झन् भित्री कुरा (रहस्य) बाहिर जान सक्छ भनेर अभिलेखीकरण गर्न चाहेकै छैनन्,’ उनी भन्छन् ।
सम्पदाविद् रवीन्द्र पुरीका अनुसार यस्ता प्राचीन मूर्ति वा सम्पदा के, कहाँ र कति चोरी भएको छ भन्ने यकिन शोध सामग्री वा रेकर्ड कहींकतै राखिएको छैन । न पुरातत्त्व विभागले यसको सांगोपांगो चित्र दिन सक्छ । लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) पछि यसरी बृहत् रूपमा अरू शोध हुन सकेकै छैन भने पनि हुन्छ । कला–सम्पदाबारेको यो शोध पुस्तकमा २ सय ७७ वटा नेपालबाट चोरिएका मूर्तिहरूको विवरण उल्लेखित छ ।
यतिसम्म कि पछिल्ला चोरी र सम्पदा हराइरहेका घटनाबारे सोधपुछ वा छानबिनसम्म पनि हुने गरेको छैन । जस्तो, गत मंसिर पहिलो सातामा भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको अष्टबाहुल नारायणको मूर्ति चोरिएपछि त्यसबारे कुनै प्रकारको अनुसन्धान हुन सकेकै छैन, जबकि त्यो मूर्ति सशस्त्र सुरक्षा प्रहरीकै घेरामा रहेको थियो । यो मूर्ति अहिलेसम्म न भेटिएको छ, न यसबारे खोजीनितीमा पुरातत्त्व विभाग र स्थानीय निकायले चासो नै दिएका छन् ।
वासुदेव कमलाजा मूर्ति कहाँ छ ?
पाटनको नारायण मन्दिरबाट ३६ वर्षअघि चोरिएको पुरातात्त्विक महत्त्वको वासुदेव–कमलाजा मूर्ति अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा प्रदर्शित भएपछि गत वर्ष मंसिरमा मात्रै यसबारे चियोचर्चो सुरु भयो । कला–सम्पदाका अनुसन्धाता लैनसिंह
वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) कृतिमा समेत उल्लेखित यो मूर्ति के–कसरी, कहिले अमेरिका पुग्यो भन्ने सोधखोज भएकै छैन ।
न्युयोर्कस्थित जोन–जे कलेजमा ‘आर्ट क्राइम’ विषयमा प्राध्यापन गर्ने इरिन एल थोम्सनले पहिलोपटक डल्लास म्युजियममा प्रदर्शनीमा राखिएको मूर्तिबारे अनुसन्धानमूलक लेख लेखेकी थिइन् । उक्त लेखमा नेपालबाट चोरिएको ‘वासुदेव कमलाजा मूर्ति’ पहिलोपटक सन् १९९० मार्च २२ मा बहुराष्ट्रिय बिक्रेता कम्पनी ‘सुथबि’ ले न्युयोर्कमा लिलामीमा राखेको खबर आएको जानकारी दिँदै प्राध्यापक इरिनले यसबारेको प्रारम्भिक सूचना बाहिर ल्याउने काम पत्रकार कनक दीक्षितले गरेको जनाएकी छन् ।
न्युयोर्कमा एउटा निजी संग्रहालय ‘डेभिड टी ओस्ले ग्यालरिज अफ साउथ एसियन आर्ट’ मा रहेको उक्त मूर्ति ओस्ले स्वयंले डल्लास म्युजियमलाई ३० बर्षका लागि प्रदर्शनी भाडामा दिएको देखिन्छ । त्यही मूर्ति डल्लास म्युजियममा पुगेको र गत वर्ष नोभेम्बरमा प्रदर्शनमा आएपछि यसबारे प्राध्यापक इरिनले चोरिएको नेपालको सम्पदाबारे ट्वीटरमा उल्लेख गरेकी थिइन् । तर, न्युयोर्कमै प्रदर्शनमा आइसकेको र बितेको ३० वर्षसम्म ‘गुमनाम’ बनेको उक्त सम्पदाबारे अमेरिकामा रहेको नेपाली समाज र नेपालका कूटनीतिक नियोगहरूले कहिल्यै सरोकार राखेको देखिएन ।
‘मैले गत वर्ष नोभेम्बरमा यो नेपालको सम्पदाबारे म्युजियमको ध्यानाकृष्ट गरेकी थिएँ, म्युजियमले डिसेम्बरमा ‘यसबारेमा ध्यान दिइने’ भन्दै जवाफ दिएको थियो,’ प्राध्यापक इरिनले कान्तिपुरसँग भनिन् । उनका अनुसार चोरिएको यो मूर्तिबारे गत बर्ष नोभेम्बरमा सूचना बाहिर आएपछि डल्लास म्युजियमले यो मूर्तिलाई ‘डिस्प्ले’ मा राखेको छैन । म्युजियमले यो सम्पदाबारे नेपाली सम्बद्ध ‘अथोरिटी’ सँग सम्पर्क भइसकेको जानकारी दिएको छ । तर, यसरी ‘अथोरिटी’ भनिएको अमेरिकाको वासिङ्टन डीसी र न्युयोर्कस्थित कूटनीतिक नियोगहरू यो मूर्ति फर्काउने प्रक्रियामा उदासीन देखिन्छन् । अथवा, केही भइरहेको भए पनि जवाफ दिन रुचाउँदैनन् ।
यता पुरातत्त्व विभागका अधिकारीहरू यो मूर्ति फर्काउन परराष्ट्र र इन्टरपोलमार्फत ‘पत्राचार भए पनि जवाफ आइनसकेको’ कामचलाउ जवाफ मात्रै दिइरहेका छन् । नेपालले हस्ताक्षर गरिसकेको सांस्कृतिक सम्पदाको अवैध कारोबार नियन्त्रणसम्बन्धी राष्ट्रसंघीय अभिसन्धिले प्रमाणसहित दाबी पेस गर्न सकिए हराएका मूर्तिहरू विदेशबाट फिर्ता ल्याउन सकिने प्रबन्ध गरेको भए पनि यसमा तदारुकता खासै देखिन्न ।
अमेरिकी प्राध्यापक इरिन एल थोम्सनका बुझाइमा पनि ‘पछिल्ला वर्षमा कला–सम्पदाका बारेमा रुचि राख्ने धेरै अमेरिकी नागरिक विगतमा जस्तो कुनै संग्रहालय वा कलाको त्यत्तिकै प्रशंसा गर्न चाहँदैनन् । बरु त्यहाँ रहेको मूर्ति/पुरातात्त्विक सामग्रीको ‘ओरिजिन’ बुझेर मात्रै कलाको गहिराइमा छिर्न चाहन्छन् ।’ धेरै कुरा पढेर, बुझेर र देखेर कला पारखीहरू ‘सचेत’ बन्दै गएको बताउँदै उनले चोरिएका, खोसिएका वा अधिनस्थ बनाइएका मुलुकबाट लुटेर ल्याइएका पेन्टिङ/मूर्ति वा सम्पदाको ‘डरलाग्दो कथा’ का धेरै पात्र–प्रवृत्तिहरू बाहिर आइसकेका कारण उपयुक्त प्रमाण तथा हकदाबी जनाउनासाथ यस्ता सम्पत्ति घर फिर्ता हुन सक्ने स्थिति रहेको बताइन् ।
‘अमेरिकीहरू यसरी चोरिएका र उत्पत्ति मुलुकमा हराइरहेका सम्पदा आफ्ना म्युजियममा राखेर गौरवबोध गर्न सक्ने अवस्थामा छैनन्,’ थोम्सनले भनिन्, ‘यही कला–सम्पदाको इतिहास र प्रमाणका आधारमा मैले डल्लास म्युजियममा रहेको नेपाली मूर्तिबारे आवाज उठाएकी हुँ । धन्य, यो अहिले ‘डिस्प्ले’ बाट हटाइएको रहेछ, नेपाल फिर्ता लैजाने कुरामा नेपाल सरकारको प्रक्रिया र तदारुकता अपेक्षित छ ।’
अमेरिकामाझैं बेलायतमा पनि अड्केर बसेका नेपाली सम्पदा–मूर्तिको कथा अलग छ । झन्डै ९ सय वर्ष पुरानो इतिहास पुष्टि हुने १४ वटा पुरातात्त्विक महत्त्वका मूर्तिहरू बेलायतमा भेटिएको र तिनलाई फर्काउने प्रक्रिया अघि बढेको भन्दै २०७२ फागुनमा सूचना दिने पुरातत्त्व विभागले ती सम्पदा फिर्ता ल्याउन अझै सकिरहेको छैन ।
फ्रान्सको लियोंमा २०१५ को मार्चमा सम्पन्न हराएका पुरातात्त्विक सम्पदाको इन्टरपोल सम्मेलनमा बेलायत पुगेका नेपाली मूर्तिहरूबारे जानकारी गराइएको थियो । तिनमा उमामहेश्वरको १२ औं र १७ औं शताब्दीको मूर्ति तथा सूर्यको १४ औं शताब्दीको मूर्तिसहित १४ वटा सम्पदा छन् । यसमध्ये अन्वेषक वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तकमा समेत समेटिएको पनौती, त्रिवेणीघाटको सूर्यको मूर्ति मात्रै घर फर्किएको सम्पदाविद् रवीन्द्र पुरीको जानकारीमा छ । त्रिवेणीघाटको सानो क्षेत्रमा रहेका ५ वटा पुरातात्त्विक महत्त्वका मूर्तिहरू सन् ८० कै दशकमा हराएका थिए, जसबारे अहिलेसम्म खोजपत्तो छैन ।
बेलायतमा रहेका भनिएका नेपाली मूर्ति–सम्पदाहरू फर्काइएको वा यसबारे कुनै प्रकारको पहल अघि बढेकोबारे पुरातत्त्व विभागलाई जानकारी नरहेको विभागका प्रवक्ता कुँवरले बताए । ‘बेलायतबाट यसरी ठूलो संख्यामा र पछिल्ला वर्षमा कुनै नेपाली मूर्ति/सम्पदा फिर्ता भएको रेकर्ड हामीसँग छैन,’ प्रवक्ता कुँवरले भने, ‘बेलायत वा अमेरिकामा रहेका नेपाली दूतावास अथवा अरू निकायले पनि हाम्रा पुरातात्त्विक सम्पदाको त्यहाँको अवस्थितिबारे केही जानकारी गराएका छैनन् ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।