साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मिडियाकाे याे सन्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

प्रस्तुत लेख हामीले कान्तिपुरको शनिबारीय विशेष काेशेलीबाट साभार गरेका हाैँ ।  काेशेलीका लागि यो लेख नारायणी देवकोटाले तयार पार्नुभएको हो । तपाईँले यो सामग्री कान्तिपुर दैनिकमा पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

साउन पहिलो साता सोफिया थापाले गाएको ‘तीजमा हुने विभेदलाई बहिष्कार गरौं’ भन्ने आशयको गीत हिन्दु अतिवादीका धम्कीका कारण युट्युबबाट हटाइँदै गर्दा श्रीमती मारेर जन्मकैद भुक्तान गरिरहेका एक अपराधी लोकतन्त्रको योद्धाको जस्तो आत्मविश्वासका साथ हात हल्लाउँदै जेलबाट बाहिरिँदै थिए ।

लगत्तै ‘राम्री भएको घमण्ड गरेको’ आरोप लगाउँदै पवित्रा कार्कीलाई एक पुरुषले अनुहारमा एसिड छ्यापे । त्यसैबेला कसैको नाम उल्लेख नगरी आफू यौन दुर्व्यवहारमा परेको भनाइ सार्वजनिक गरेकी एक नायिकामाथि ‘शक्तिशाली’ नायक–निर्माता क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मुद्दा दायर गर्दै थिए ।

यस्ता घटना सार्वजनिक भइरहँदा मानिसहरू फलानो विषयमा महिलावादी बोले कि बोलेनन् ? फलानो विषयमा मात्रै किन बोले ? कुन विषयमा किन बोले, कुन विषयमा किन बोलेनन् ? के फन्टासी हो ? के रियालिटी हो ? कुनचाहिँ प्राथमिक हो ? कुनचाहिँ द्वितीयक हो ? भनेर सार्वजनिक बहसमा उत्रिरहन्छन् । के हरेकले हरेक विषयमा बोल्नु जरुरी छ ?

महिलाका रहर, अप्ठेरा, सपना अनि महिलामाथि भएका दुर्व्यवहार, शोषण र हिंसाको विरुद्धमा बोल्ने मानिसलाई महिलावादी करार गरिदिन्छन् केही पढे–लेखेका मानिसहरू । महिलावादी (नारीवादी) हुनु भनेको पुरुषका हरेक कदमको विरोध गर्नु र महिलाका जस्तासुकै कुरामा पनि आँखा चिम्लेर समर्थन गर्नु हो भन्ने मानक स्थापित छ । यस्तो नजरले घरमा श्रीमान्लाई बस्न—खान पनि नदिने र पारपाचुके पनि नगर्ने महिलालाई पनि र वर्षौंसम्म कैयौं विभेद एवं दमनका चाङमुनि पिसिएर बल्लबल्ल आफूले भोगेका विभेदबारे बोल्न साहस जुटाउने महिलालाई पनि एकसाथ महिलावादी देखिदिन्छ । यसरी देख्ने नजर पुरुषका मात्रै छैनन् । ‘महिलाको विषयमा महिला नै बोल्नुपर्छ’ भन्ने महिलाहरूको पंक्ति अझ अगाडि सर्छ ।

यस्तो पंक्तिमा रहेकाहरू नै फेरि सामाजिक सञ्जालमा ‘म यति पढेकी मान्छे, श्रीमान् मर्दा सती जान्छु’ भनेर लेखिदिन्छन् वा यसरी लेखेको कुरा सहमतिसहित सेयर गर्छन् । सती नै जान तयार भएपछि त छाउगोठमा बस्नु, बलात्कारमा पर्नु, एसिड छ्यापिनु, घरेलु हिंसाको सिकार हुनु ठाउँअनुसार अनौठो हुने नै भएन । र, श्रीमान्ले गरेको मानसिक हिंसालाई ‘ऊ डिप्रेसनमा परेको, ऊ त्यस्तै सन्की भएको, उसको बानी नै त्यस्तै (कचकचे, छुच्चो मुख, छाडा बोलिहाल्ने, कसैको शरीरमा हात लगाइहाल्ने) भएको’ आधारमा हिंसा नै नगनिने भयो ।

यो पंक्तिमा प्रसिद्ध छ, शेरा तामाङले नेपालको पूरै महिला आन्दोलनलाई लेबल लगाएर लेखेको ‘विकासे नारीवाद’ लेख । अहिले उक्त बहस ‘महिलामाथिको दुर्व्यवहार, हिंसा र शोषण पुँजीवादले गरेको छ र पितृसत्तालाई मुख्य शत्रु देख्नु फेन्टासी हो’ भन्नेमा पुगेको छ । तर, मानव समाजका पाँच प्रकारका संरचनात्मक विभेदमध्ये जात/वर्ण व्यवस्था, वर्ग व्यवस्था र लैंगिक विभेद विशेष छन् भनेर समाजशास्त्रमा अहिले आम रूपमा स्वीकार गरिएको छ ।

यस्ता विभेद कसैको जिन्दगीमा एक्लाएक्लै त कसैको जिन्दगीमा अन्तरसम्बन्धित भएर प्रकट भएका हुन्छन् । उदाहरणका लागि उच्च जात वा गोरा सामुदायिक धनी महिला, महिला भएकै कारण हिंसामा पर्छिन् भने त्यो विभेद लैंगिकताका आधारमा मात्रै हुने भयो । कुनै धनी दलित वा काला जातिकी महिला घरमा महिला भएकै कारण हिंसामा पर्छिन् र समाजमा दलित वा काली भएकै कारण विभेदमा पर्छिन् भने त्यो लैंगिकता र जातीय विभेद दुवै भयो । यदि अर्की महिला, जो दलित वा काला जातीय परिवारकी हुन् र गरिब पनि छिन् भने उनी महिला भएकै कारणले पनि, दलित भएका कारणले पनि र गरिब भएका कारणले पनि तीन तहको विभेदमा पर्ने अवस्था हुन्छ ।

यी तमाम विभेदसँग लड्न ठाउँ वा परिस्थितिअनुसार, फरक–फरक आन्दोलन, अभियान वा कार्यक्रम बन्ने गरेका छन् । जस्तै, केही वर्षअगाडि रातो टीका, रातो पहिरन अभियान सुरु भयो । उक्त अभियानसँग जोडिएको गीत ‘लाऊ चेली सिन्दूर लाऊ, निको पार हृदयको घाउ’ निकै चर्चित भयो । विशेषगरी हिन्दु धर्ममा विश्वास राख्ने ‘विधवा’ महिलाले रंगहीन जीवन बिताउनुपरेको आफ्नैजस्तो अवस्था भोगेका साथीहरू मिलेर सञ्चालन गरेको अभियान थियो त्यो । ठीक त्यति नै बेला हिन्दु परिवारमा हुर्केका कामकाजी (घर र कार्यालय दुवैमा काम गर्ने) महिलाहरूले सिन्दूर–चुरा–पोते कम लगाउन, साडी–चोलोभन्दा कुर्ता–सुरुवाल लगाउन र छोटो कपाल पाल्न थालेका थिए ।

त्यही समय काठमाडौंका सोही वर्गका कतिपय महिलाहरू सांस्कृतिक रूपमा महिलामाथि थोपरिएका बोझविरुद्ध ‘वुमन इन ब्ल्याक’ अभियान चलाएर हप्तामा एक दिन भए पनि कालो कपडा लगाउँदै थिए । समाजमा केही महिलाले आफ्नो नाक–कानमा भएका सुनका गहना धितो राखेर सानातिना व्यापार–व्यवसाय सुरुआत गर्दै गर्दा, नक्कली नै भए पनि आफ्ना परम्परागत गहनाहरूको संरक्षण गर्न जनजाति महिलाहरू सजिएर टुँडिखेलमा भेला हुँदै थिए ।

आज ७० भन्दा बढी देशका महिला गर्भपतन गर्न पाउनुपर्ने कानुनी अधिकारका लागि लडिरहेका छन् भने त्यस्तो कानुन भएका कतिपय देशका महिला गर्भपतनको अधिकारको दुरुपयोगका कारण शारीरिक हिंसा भोग्न बाध्य छन् । यौन बजारमा बेचिएर नारकीय जीवन गुजारेपछि उम्कन सफल महिलाहरू मानव बेचबिखनविरुद्ध काम गरिरहेका छन् भने कति महिला ‘यौन व्यापार आफ्नो रोजीरोटीको माध्यम भएको हुँदा यौनकर्मलाई कानुनी मान्यता दिइनुपर्छ’ भनेर पैरवी गरिरहेका छन् । यही समाजमा केही महिला ‘एक्कै लुम भए पनि पोते लगाऊ न’ वा ‘एक्कै धर्को भए पनि सिन्दूर लगाऊ न’ भन्ने आग्रहबाट दिक्क भएका छन् भने केही महिला शारीरिक रूपमा महिलासँगै आकर्षित भएको कुरा व्यक्त गर्न नपाएर छटपटाइरहेका छन् ।

यस्ता फरक–फरक अभियान किन सञ्चालन हुन्छन् भन्ने विषय आउँदा उक्त अभियानको नेतृत्वकर्ता को हो भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको जीवनदर्शन, उसले निर्माण गर्ने सामाजिक कार्यक्रम, अभियान, योजना वा नीतिहरू वस्तुगतभन्दा विषयगत बढी हुन्छन् । आफू बाँचेको जीवन, आफूले हासिल गरेको ज्ञान र बुझाइको दायरामा नै रहेर उसले काम गरेको हुन्छ, जसलाई हामी ‘स्व’ भन्ने गर्छौं । यसको उदाहरणमा पत्रपत्रिकामा बन्ने स्केचहरूलाई पनि लिन सकिन्छ, जहाँ नेतृत्वदायी पदको चित्रण गर्दा टोपी लगाएको पुरुष बनाइएको हुन्छ ।

स्केच बनाउनेले महिलालाई हेपेर त्यसो गरेका हुँदैनन्, बरु दैनिक जीवनमा देख्दादेख्दै उनीहरूको ‘स्व’ मा ‘पुरुष मात्रै नेतृत्वदायी पदमा हुन्छन्’ भन्ने छाप बसेका कारण त्यसो भएको हुन्छ । राजनीतिक नेतृत्वको मुखबाट निस्कने ‘चौरजहारी हत्या काण्ड दलितका कारण घटेको’, ‘बलात्कार र हत्या संसारभरि जहाँ पनि हुने’ वा ‘चेपाङ बस्तीमा जलेको घर नभएर छाप्रो र गुन्द्री मात्रै जलेको’ जस्ता अभिव्यक्ति पनि यसकै उदाहरण हुन् । मानिसले जति नै क्रान्तिकारी गफ गरे पनि उसको ‘स्व’ बेला–बेलामा छल्किएर निस्किहाल्छ ।

के गर्ने, के नगर्ने ?

असहयोगी सामाजिक संरचना (आर्थिक, सांस्कृतिक, कानुनी र राजनीति) का कारण धेरै महिला आफूले लिएका निर्णय तथा उठाएका मुद्दा फिर्ता लिन र राखिएको लक्ष्य छोडेर बीच बाटोमै अलमलिन बाध्य छन् । त्यसैले कुनै दिन कुनै महिलाको पीडामा ‘ऐया’ भनेबापत हरेक महिलामाथि भएको हिंसामा बोलिदिनैपर्ने, आन्दोलन गरिदिनैपर्ने बाध्यता कसैलाई छैन । कुनै पनि मानिस आफूलाई अप्ठेरो पर्दा बोल्न स्वतन्त्र छ । साथै अरूलाई अप्ठेरो पर्दा बोलिदिन वा कानुनअनुसार अगाडि बढ्न वा कानुन नै परिवर्तन गर्ने अभियान सञ्चालन गर्नसमेत स्वतन्त्र छ ।

तर, यसरी बोलेकै कारण संसारभरिका विभेदबारे जानकारी राखिदिनुपर्छ वा पुँजीवाद, समाजवादजस्ता अमूर्त अवधारणालाई धानिदिनुपर्छ भन्ने बाध्यता कसैलाई छैन । धानिदिनुपर्ने आग्रह वा अपेक्षा पनि महिला हिंसाकै रूप हुन्, चाहे त्यो आग्रह बौद्धिक वर्गले गरोस् वा अरू कसैले । त्यसैले, आफूलाई वा अरूलाई अप्ठेरो हुँदा सकेसम्म बोल्ने हो । नबोल्न पनि सकिन्छ । तर, यसरी बोल्नका लागि कुनै ‘वादी’ हुनु पर्दैन ।