साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मिडियाकाे याे सन्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

हामीले यो लेख हामीले नयाँ पत्रिकाको शनिबार अंक झन् नयाँबाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख अभय श्रेष्ठले तयार  पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिकामै पढ्न पनि सक्नुहुने छ ।

सत्र जनामध्ये पाँच जोडी त जोई–पोइ नै थिए । पाँचै जोडीले फुलचोकी माईलाई चढाउन भनी जालीदार झोलामा स्याखुनी भाले र गह्रौँ झोला बोकेका थिए । उनलाई भने यी अग्ला डाँडाकाँडा नाघेर कसरी त्यहाँ पुग्नु भन्ने बेग्लै पिर थियो ।

धसिङ्गारे पाखामुनि पुग्दा झलमल्ल उज्यालो भइसकेको थियो । कैलाशमाथि कलिलो घाम लागेको सफा बिहानीमा उपत्यका खाल्डाको मनोहर दृश्य देखियो । पिपलधारा पुगेर सबैले धित नमरुन्जेल मूलको चिसो पानी खाए अनि आ–आफ्ना बोतल भरे । चैत पूर्णिमाको बालक घामसँग मितेरी लाउन डाँडाको समथर काखमा पश्चिमबाट एक सर्को मिठो हावा चल्यो र पूर्वतिर हान्नियो ।

नवविवाहित जोडी कमली र थापा प्रकाश अघिदेखि वनको बीच बाटोमा सबैका अगाडि निःसङ्कोच हात हालेर जिस्किँदै, इत्रिँदै र रत्तिँदै हिँडिरहेका देख्दा शारदालाई भित्र कतै सियोले घोचेझैँ भयो । उनलाई आफ्नो जिन्दगी वसन्तमै हुरीले जबर्जस्ती झारेको हरियाली पातझैँ लाग्यो, जो बैँसमै सुकेर जान्छ ।

रिसाल डाँडामुनि तर्पाया गोरेटोमा जुका लाग्दा उनको सातो गयो । बुढी र चोर औँलाको कापमा रगत चुसेर त्यो कान्छी औँलाजत्रो भइसकेको थियो । अघिल्लो दिन ठूलो झरी परेको थियो । अहिले बिहानको पहारिलो घाममा जुकाहरू बिमन्डिन थालेका थिए । हेर्दाहेर्दै सबैका खुट्टामा टाँसिन थाले । सबै जना उपियाँजस्तै बुरुक्क उफ्रँदै उछिट्टिए । उनी एक्लै आत्तिएर चिच्याउन थालिन् । छिनमै उनको खुट्टामा अनगिन्ती जुका टाँसिसकेका थिए ।

‘झोर्ले ! जाबो जुकादेखि पनि के डराउनु हो बज्यै !’ सबैले एक्लै छाडी हिँडेको देख्दा अगाडि पुगिसकेको झोर्ले कान्छो शारदालाई उद्धार गर्न फर्केर आयो । बुरुक्क उफ्रिरहेकी उनका दुवै नलीखुट्टा अँचेटेर उसले कुकुरडाइनोको पातले सबै जुका झिकी पाखातिर मिल्काइदियो । उनी पनि अब हतारिँदै हिँडिन् । बल्ल, माथि भन्ज्याङमा साथीहरू भेटिए । सबै जनाले एकपल्ट फेरि लागेका जुका झारे ।

लाकुरीभन्ज्याङ पुग्नै लाग्दा हिँड्न मुस्किल पर्‍यो । दिनैभरि ठाडो उकालो–ओरालो गर्नुपर्ने यो कठिन यात्रामा उनी पहिलो पल्ट आएकी थिइन् । उनको शरीर भारी थियो । आत्तिएजस्तो, सास फेर्नै मुस्किल मुस्किल, बेहोस हुँला जस्तो भएर आलसतालस परिन् । महिला टोलीले हात समाएर डोर्‍याए । फेरि कसैले अगाडिबाट दिएको लठ्ठी समाएर जसोतसो उकालो उक्लिइन् । भर्खरै स्थापित गणतन्त्रको कलिलो घाममा बाटैभरि मरेका गड्यौला कुहिएर सहिनसक्नु गन्ध फैलिरहेको थियो । टेक्ने खाली ठाउँ कतै थिएन । गन्धले उनको टाउको फुट्लाझैँ भयो । हिँड्दा हिँड्दै मर्छु कि भन्ने भयले उनलाई सतायो । माथि भन्ज्याङमा पुगेपछि एक्कासि बेहोस भइन् । सबै जना आत्तिँदै झकझकाउन थाले । कसैले पानी छर्किए, कसैले हातखुट्टा मिचिदिए ।

पसले विमलीको स्याखुनी भाले तनक्क जिउ तन्काएर जोडले बास्यो । त्यसको सिको गर्दै अरू चारै वटा भाले पालैपालो बास्न थाले । एकै छिनमा उनले आँखा खोलिन् । बल्ल सबै जनाले आश्वस्त भएर सास फेरे । अब फर्कनु कि मेला भर्न माथि जानु ? सबै जना अप्ठ्यारोमा परे । यस्तो हालतमा उनी कसरी फुलचोकीसम्म पुग्न सक्लिन् ? फेरि माईको दर्शन गर्न हिँडेको, नपुगी कसरी त्यसै फर्कनु ? पुगेर मात्र भएन, फर्कनु पनि थियो । उनी एक्लैलाई फर्काउन मिलेन, छाडेर हिँड्न पनि भएन ।

अन्ततः पालैपालो बोकेरै भए पनि उनलाई फुलचोकीसम्म पुर्‍याउन महिला टोली तयार भए । लेक नलागोस् भनेर सबै जना मुखमा लसुन र अदुवा राखेर हिँडे । भन्ज्याङको मूलबाटोमा सानोतिना पसल र भट्टी थिए । त्यहाँ कालो चियादेखि खोयाबिर्के, सितन, भोड्का र बियरसमेत पाइन्थ्यो । खाली पेट बस्नुहुन्न भनेर कर गरेपछि उनले पनि कालो चिया र बिस्कुट खाइन् । अरूले चियासँग दुनोट, तरकारी र च्युरा खाए । रने, सिकर्मी राजभाइ र झोर्ले कान्छोले भने अर्को कोठामा गएर कोदाकोे खोयाबिर्के र भैँसीको सुकुटीसमेत चाख्न भ्याए ।

आधा घन्टापछि उनीहरू त्यहाँबाट दक्षिणतिर उकालो लागे । लामाटार, बिहावर र मानेदोभानतिरबाट हटारु र तीर्थयात्री समूहका समूह मेला भर्न हिँडिरहेका थिए ।

पाँच मिनेट उकालो काट्न शारदालाई पन्ध्र मिनेट लाग्यो । पाँच मिनेट जति समथर गोरेटो हिँडेपछि फेरि उकालो सुरु भयो । उनलाई सास फेर्न गाह्रो भयो । बाटैमा मर्छु कि भन्ने भयले फेरि सतायो । अप्ठ्यारो ठाउँमा पिलो भनेझैँ एक्कासि उनको देब्रे पिँडुला फर्कियो । पीडाले उनी रुनसमेत नसक्ने भइन् । यस्तो बेथामा ठिक हुन्छ भनेर पसले विमलीले दुई कोसा केरा दिई । उनले जसोतसो एक कोसा खाइन् ।

थपिनी माइलीले पटुकाको नाम्लो बनाएर उनलाई पाँच मिनेट के बोकेकी थिई, हैरान भइहाली । तथानाम गाली गर्दै ऊ बाटैमा उत्तानो परेर सुती । त्यसपछि गहिराघरे माइली मगर्नीले बोकी । दश मिनेट जसोतसो बोकेर थकित भएपछि उसले पनि हातखुट्टा छाडी । एक महिनाअघि मात्र बिहे भएर आएकी कमलीले त पाँच मिनेट पनि बोक्न सकिन । आइमाईहरूले अश्लील छेडखानी गरेर हैरान पार्दा पनि कमली अगाडि दौडिएर लोग्नेको बुसर्टको फेर समाउन पुगी ।

हिँड्दा र सामलतुमल बोक्दा सबै जना बेसरी थाकिसकेका थिए । अरू महिलाले त आँटै गर्न सकेनन् । के गर्ने ? अब लोग्नेमान्छेले नबोकी धर नपाउने स्थिति आइलागेको थियो । तर, कसरी बोक्नु ? उनीहरू अप्ठ्यारो मानिरहेका थिए । सबैले पछाडि हिँडिरहेको झोर्ले कान्छोलाई सम्झिए ।

‘ए झोर्ले कान्छो, अब अप्ठ्यारो नमानी बज्यैलाई बोक् बाबु ! रने र राजभाइले चाहिँ उसलाई सघाउनू !’ मगर्नी सर्सेले आदेश दिई ।

‘झोर्ले है काकीआमै ! काँ’बाट मलाई देख्नुभो ? फेरि मगरको बच्चोले बोक्यो भने बज्यै त पुर्लुक्कै पछारिन्छ पो होला !’ झोर्ले कान्छोले ठट्टा गर्‍यो ।
‘लौ बढ्ता कुरा नगर् ! तेरो बाघले खाई नसक्ने यत्रो ज्यान भएको के काम ! खुरुक्क बोक् !’

‘अपहत्ते प¥यो । बोक् बाबु, बोक् । बाहुनीको सेवा गर्दा धर्म हुन्छ,’ थपिनी माइलीले थपी ।

पच्चीस वर्षे अविवाहित कान्छा थापामगर हट्टाकट्टा, रातोपिरो, ठट्यौलो युवक थियो । बातैपिच्छे झोर्ले (नमस्ते) भन्ने बानीले गाउँभरि ऊ झोर्ले कान्छोको नामले प्रख्यात थियो । दोहोरी गाउन र नाच्न सिपालु हुँदा रत्यौली, कृष्णाष्टमी, सप्ताहमा ऊ नभई नाचगान नै जम्दैनथ्यो ।

थपिनी माइलीकै पटुकीको नाम्लो लगाएर ऊ अगाडि सर्‍यो । उनीहरूको सामलतुमल अरूले बोकिदिए । झोर्ले कान्छो साँच्चीकै बलियो थियो । हलुका तरिकाले बोकेर ऊ फटाफट अगाडि बढ्यो । अघि आइमाईहरूले खुट्टा कमाएर बोक्दा उनलाई भिरबाट खसाल्लान् कि भन्ने डर थियो । झोर्ले कान्छोले भने कति सजिलो गरी बोकेको थियो ! एक्कासि किन हो, बाहुनीलाई आफ्नो प्राण फर्केर आएझैँ लाग्यो । उनले अप्ठ्यारो नमानी उसको काँधमा हात राखिन् ।

एकै छिनमा झोर्ले कान्छो अरूभन्दा धेरै अगाडि पुगिसकेको थियो । उसले पछाडि फर्केर हेर्‍यो । सबै जना कोही बुट्यान समाउँदै, कोही लठ्ठी टेक्दै जसोतसो माथितिर घिस्रिरहेका थिए । सघाउँछु भन्ने रने र राजभाइ त देखै परेनन् ।

‘तिमारु रित्तै हिँन्ने, म ७५ किलोको भारी बोकेर हिँन्ने ! लौ, सक्ने भए मलाई भेट्न आउनू !’ उसले चुनौती दियो । सबैले जाँदै गर्नू भन्ने सङ्केत गरेपछि झोर्ले कान्छाको गति अझै तेज भयो ।

‘तिमी नभइदेको भए म त अलपत्र पर्थेें होला झोर्ले कान्छा,’ सुरुवालको मोता तल सारेर पिँडुला छोप्दै बाहुनीले भनिन्, ‘फुलचोकी माईले नै सपना देखाएर आउँदा यस्तो गति भो ।’

‘हन, झोर्ले कान्छो हुन्जेल कोही अलपत्र पर्दैन हो बज्यै !’
‘ज्यान जस्तै मान्छे पनि दरिलै रहेछौ है झोर्ले कान्छा !’
‘ह..ह…ह…झोर्ले ! मेरा सोल्टेनीहरू पनि यसै भन्छन् हो बज्यै !’
‘हैन, कति छन् तिम्रा सोल्टिनीहरू ?’
‘झोर्ले ! कुरा नगरुम् बज्यै ! जता हिँड्यो, उतै सोल्टिनीको लर्को !’
‘भएर के गर्नु ! एउटीलाई ल्याउन सक्या’ हैनौ !’
‘सप्पैले लैजा भन्छ । अनि मैले बुढीहरूको माला लाउनु ? एउटीलाई ल्यायो, अर्कीले मारिहाल्छ ।’
बाहुनी केही बोलिनन् ।
‘बज्यै ठ्याक्कै कति वर्ष हुनुभो ?’
‘ठ्याक्कै किन र झोर्ले कान्छा ?…. अस्ति माघबाट २९ टेकेँ ।’
‘होइन हो बज्यै, …मैले भन्या मान्नुहुन्छ भने तपैँ ब्या’ गर्नुस् !’
बाहुनी फेरि मौन ।

‘हन, केई बोल्नुहुन्न त…! हाम्रा चेली भए बुढाले सिलटिम्मुर खायो, बुढाले छाड्यो भनेर कोही पनि रोएर बाँझो बस्दैन । पोइ खोजेर टाप कसिहाल्छ ।’

‘उत्ताउलो मोरो ! तिमेर्काे जस्तो हो त हाम्रो !’

‘झोर्ले ! के तपैँको ! के हाम्रो ! शरीरको चाल सप्पैको उस्तै होइन ? तरुनीलाई लोग्नेमान्छे, भोकलाई अन्न र थकाइलाई आराम सप्पैलाई चाहिन्छ । कि होइन ?’
फेरि सन्नाटा ।

‘झोर्ले ! हैन किन बोल्नुहुन्न गाँठे ? कि हैन भन्नुस् ।’
‘उत्ताउलो मोरो !’

‘तपै त अझै कलिलै देखिनुहुन्छ । तपैको बिहे हुँदा बुढा बाजे कति वर्षको थियो ?’
निकै बेर मौन बसेपछि बाहुनीले भनिन्, ‘उहाँ ६१ को हुनुहुन्थ्यो । म भर्खर २१ टेकेकी थिएँ ।’

‘आम्मा..मा.मा.मा..मा …! हजुरबाउजस्तो मान्छेलाई पोइ मानेर नि हुने कुरा हो ? अनि तपै बैँसमा राँड नभए को हुन्छ त !’
‘छिःछिः के के भन्छौ तिमी पनि !……त्यति वेला म के बोल्न सक्थेँ र ! बाउआमाले जहाँ दिए त्यही सही ! जेठीबाट सात जना छोरी–छोरी जन्मेपछि छोरा पाउन मलाई ल्याएका ! मबाट नि छोरी नै भयो । छोरी पा’को अर्को वर्ष उहाँलाई क्यान्सर भयो । त्यसको अर्को वर्ष त बितिहाल्नुभो !’
‘हैन हो, छोरैचाहिँ किन चाहिने यो बाहुनको जातलाई ?’
‘वैतरनी तार्नलाई छोरो चाहिएन त ?’
‘छोरीले तार्न सक्दैन रे ?’
‘छोरीले तार्ने भए किन छोराका लागि मरिहत्ते गर्थे ! अनि फेरि छोराले वंश धान्नु परेन ?’
‘वंश त छोरीले नि धान्छन् हो !’
‘छोरीको वंशलाई कल्ले वंश मान्छ ?’
‘…..होस् बज्यै ! अब दुःखी नहुनोस् !’
‘किन दुःखी हुनु !……’

निकै बेर दुवै जना मौन भए । बाहुनीले नै ठट्टाको शैलीमा सन्नाटा तोडिन्, ‘मलाई बिहे गर भन्छौ । तिमी मसँग बिहे गर्छौ त झोर्ले कान्छा ?’ बाहुनी खित्का छाडेर हाँसिन् । झोर्ले कान्छा मुसुमुुसु हाँसिरह्यो ।

उसको गति झन् झन् तेज हुँदै गयो । कहाँबाट यति जोस आयो, उसैलाई थाहा भएन । उनीहरू स्कुलचोकबाट सल्लेरी हुँदै गुरासेडाँडा पुगिसकेका थिए । मेला भर्न हिँड्नेहरू यहाँ कोही थिएन । बाटो र वनको बुट्यानमुनि जताततै बँदेलले खोस्रेर माटो थुपारेको सुनसान ठाउँ आइपुग्यो ।

झोर्ले कान्छालाई एक्कासि एउटा लोकलय फु-यो–

माया मेरो सुनैको गजुर
आऊ न यतै म केमा कम छु र
वनचरी गाइरा’छ
आज फेरि मायालु हाँसेको सम्झना आइरा’छ ।

जुनी मेरो आकाशे तारा
तिमीविना आँसुको कलधारा
वनचरी गाइरा’छ
आज फेरि मायाले छोएको सम्झना आइरा’छ ।

पानीमुनि माछाझैँ पौडेर
आऊ न प्यारी माइतीघर छोडेर
वनचरी गाइरा’छ
आज फेरि मायाले गाएको सम्झना आइरा’छ ।

घरैमुनि पिपलु चौतारी
यो ज्यान सदा मायाको औतारी
वनचरी गाइरा’छ
मायालुलाई आँखैमा राखेको सम्झना आइरा’छ ।

‘गीत पनि कति आ’को हो ! गाएरै त सोल्टिनी पट्ट्याको
होला । अब एउटीलाई जसरी ’नि ल्याउनू !’ प्रेममय आदेशको लबजमा बज्यैले भनिन् ।
‘झोर्ले ! अब त ल्याउने हो बज्यै !’
‘कहिले ल्याउँछौ ?’
‘ल्याइहाल्ने हो । जाडोअगाडि नै !’
‘उत्ताउलो मोरो… !’
‘किन उत्ताउलो बज्यै ?’
बाहुनी फेरि मौन ।

‘साँच्ची, तिमी त कति रमाइलो मान्छे !’ केही क्षणको मौनपछि नचाहँदा नचाहँदै बाहुनीको मुखबाट फुस्किहाल्यो ।
‘झोर्ले ! मेरा सोल्टेनीहरू पनि खुसी पर्दा यसै भन्छन् हो बज्यै !’
झोर्ले कान्छो एक्कासि बाटो छाडेर डाँडाको सिरानतिर लाग्यो । उकालोमा पनि उसको गति दौडिएजस्तै तेज भइरहेको थियो ।
‘बाटो यता हैन र ? तिमी कता हिँड्या झोर्ले कान्छा ?’
‘धन्ना नमान्नुस् न बज्यै ! म तपाईंलाई भिरबाट गुल्ट्याउँदिनँ क्यारे ! जसरी भए नि ठाउँमा पु-याइदिए भएन ?’
बाहुनीले आपत्ति जनाइनन् । डाँडाको सिरानीमा अलि खुला ठाउँ थियो । रहरलाग्दो दुबो मौलाएको सुनसान वनबाट तल गोदावरीको रमाइलो दृश्य देखिन्थ्यो । एउटा बुट्यानमुनि उनीहरू आराम गर्न बसे । गुराँस फुलेर वनै राताम्मे देखिन्थ्यो । चराहरू चिर्बिराइरहेका थिए । शीतल हावा चलिरहेको थियो ।
‘झोर्ले ! यो मिठो हावामा अब पिरती लाएर बसुम्,’ बाहुनीतिर हेरेर खितित्त हाँस्दै झोर्ले कान्छोले भन्यो ।
‘उत्ताउलो मोरो !’ बाहुनीले हाँस्दै आँखा तरिन् ।

तीन दिनअघि जेठाजुको घरमा सत्यनारायणको व्रत बस्दा बाँधेको डोरो पानीले भिजेर झुसिलकिराको झुस बिझेझैँ अघिदेखि उनको नाडी बिझाइरहेको थियो । कन्याउँदा कन्याउँदा हैरान भइसकेकी थिइन् । उनले त्यसको धागो एक, एक गरी चुँडालिन् र कटुसको झ्याङमा मिल्काइदिइन् । बल्ल लुतो फालेझैँ आराम भयो । नजिकै जुरेकाफलको रूखमा कुहुकुहु कोइली करायो । सिर्सिर बतासको मनमोहक सुवास वातावरणभरि फैलियो । झोर्ले कान्छोले हातखुट्टाका औँलाहरू तानतुन पारिदिँदा बाहुनीको देहमा अनौठो स्फूर्ति सञ्चार भयो । एक्कासि उनको नजर चञ्चल भयो र मोहक मुस्कानको पासो यसरी फैलियो, जसको बन्धनबाट मुक्त हुन झोर्ले कान्छोलाई हम्मे पर्‍यो । बिहेपछि एक्कासि गायब भएको त्यो मोहक हाउभाउ भर्खरै फेरि उनको मुहारमा फर्किएको थियो ।

झाडीबाट उठ्ने वेला तलबाट उसको ढाडमा हलुका पाराले हिर्काएर मुस्कुराउँदै बाहुनीले लगभग फुसफुसाएको स्वरमा भनिन्, ‘उत्ताउलो मोरो !’

फेरि मिठो हावा चल्यो, मानौँ संसार गतिशील भयो । अब उनको शरीर नाचूँ नाचूँझैँ भइरहेको थियो । मुहारमा नयाँ पहिचान थपिएझैँ मन्द मुस्कानसाथ उनी झोर्ले कान्छोभन्दा अगाडि हिँड्न थालिन् । शिरमाथिको दुइटा झरिला गुराँस टिपेर एउटा उसलाई दिइन् । झोर्ले कान्छोले त्यो गुराँस उनकै चुल्ठोमा सिउरिदियो । उनको गोरो अनुहार धपक्क बल्यो । बाहुनीलाई जिन्दगी अब फक्रेको गुराँसजस्तै लाग्न थाल्यो ।

माथि बाटोछेउको चौरमा साथीहरूलाई पर्खंदै उनीहरू आराम गरेर बसे । उनले हातेझोलाबाट किसमिस, चिनीपाख र पुष्टकारीको पोको निकालिन् । प्रेमपूर्वक झोर्ले कान्छालाई अलि बढी नै दिइन् र आफूले पनि खाइन् । बल्ल आधा घन्टापछि तल तर्पाया बाटोमा साथीहरू देखा परे । आइपुग्नासाथ झोला र सामलतुमल एकातिर पन्छाएर सबै जना चौरमा उत्तानो परे ।

थपिनी माइलीको स्याखुनी भाले जालीदार झोलाबाट टाउको निकालेर तनक्क तन्कियो र जोडले बास्यो, ‘कुखुरी काँ !’ मानौँ, त्यसले सबैलाई जगाएको थियो । माइलीले त्यसको रातो सिउर र शिर थपथपाइन् । बाहुनीले सबै जनालाई किसमिस र पुष्टकारी बाँडिदिइन् । अब हिँड्ने तयारी भयो । हलुका उकालोमा बाहुनी आफैँ हिँड्न थालिन् । उनी हिँडेको देखेर महिला टोली तीनछक्क परे ।

‘लौ, फुलचोकी माईको कृपा हेर त ! अघि लाकुरीभन्ज्याङमै बज्यैको चिता बनाउनुपर्ला जस्तो भइसकेको थियो, अहिले त आफैँ हिँड्न थाल्नुभो !’ थपिनी माइलीले भनी ।

‘केराले पिँडुला फर्केको चट्टै हुन्छ भनेको हैन ? देख्नुभो ?’ पसले विमलीले बाहुनीलाई अर्को कोसा केरा दिँदै भनी, ‘ना बज्यै (लिनुस् बज्यै) ! दिनको एक कोसा खाने गर्नुस्, कहिल्यै यस्तो हुँदैन !’

‘झोर्ले ! अघि त्यत्रो बाटो बज्यैलाई मैले बोकेँ । अब बज्यैले मलाई बोक्नुपर्ला, कसो शारदा बज्यै ?’ झोर्ले कान्छोले ठट्टा गर्‍यो । ‘चुप लाग् बजिया ! बाहुनीलाई त्यस्तो वचन बोल्दा मात्रै पनि सात गाई मारेबराबर पाप लाग्छ,’ थपिनी माइलीले हकारी । बाहुनी मुसुक्क हाँसिन् । त्यो हाँसोमा हलुका लाज पोतिएको थियो, जसलाई झोर्ले कान्छोले बाहेक कसैले देखेन ।

ठाडो उकालोमा बाहुनीलाई फेरि झोर्ले कान्छोले हात दिएर तान्नुपर्‍यो । बाँकी बाटो बिस्तारै उनी आफैँ हिँडिन् । मूलबाटोमा पुगेपछि उनीहरूले गोटीखेलबाट रिजर्भ आएको गाडीमा चढाएर उनलाई माथि पठाइदिए ।

डेढ घन्टापछि माथि पुग्दा लामाहरूको झाँक्री नाच हेर्दै बाहुनी उनीहरूलाई नै कुरिरहेकी थिइन् ।

‘हे फुलचोकी माई, सप्पैको रच्छे गर !’ तिलचामले कपालबाट गालातिर झरेको पसिना पुछ्दै गैराघरे माइलीले भनी । बाहुनीका आँखा भने टोलाएझैँ भिडमा कसैलाई खोजिरहेका थिए । निकै बेरपछि झोर्ले कान्छो गीत गाउँदै सिँढीको सिरानीमा आइपुग्यो । सिकर्मी राजभाइ र रने उसको पछिपछि थिए ।