साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष सामाग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामाग्रीको अभाव भएर यो स्तम्भ राखेका होइनौँ । बरू मिडियाको यो सञ्जालमा भाषा र साहित्यप्रेमीहरूलाई राम्रा सामग्री खोज्न दुःख गर्नु नपरोस् भन्ने चाहना हो ।
यो सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले तोकेको नियमअनुसार समाचारको स्रोत र त्यसको प्रत्यक्ष लिङ्क पनि दिएका छौँ ।
हामीले यो अन्तर्वार्ता www.ukaalo.comबाट लिएका हौँ । यो अन्तर्वार्ता उकालोका लागि श्याम राना मगरले तयार पारेका हुन् । यहाँ क्लिक गरेर यस अन्तर्वार्तालाई उकालोमै पनि पढ्न सक्नुहुनेछ ।
===
नेपालमा विभिन्न थरीका भाषा बोल्ने जातजाति छन्। तर शहरी क्षेत्रमा अंग्रेजी भाषाको प्रभाव बढ्दै गएको छ, जुन नेपालका कुनै जातिको मातृभाषा होइन। यसले नेपालमा बोलिने खस नेपाली र अन्य भाषा प्रभावित भइरहेको कतिपय विद्वानले बताउने गरेका छन्। हरेक पुस्तामा भाषा परिवर्तन हुने हुँदा यो स्वाभाविक भएको बताउनेहरू पनि छन्। खासगरी भारतीय उपमहाद्वीपमा बोलिने भाषाबारे गहिरो अनुसन्धान गरिरहेका नेदरल्यान्डका जर्ज भान ड्रिम नेपालको भाषा, संस्कृतिबारे पनि जानकारी राख्छन्। उनीसँग भाषामाथि केन्द्रित रहेर उकालोका लागि श्याम राना मगरले गरेको कुराकानी:
हालै सकिएको नेपाल लिटरेचर फेस्टिभलको एक सेसनमा तपाईंले नेपालमा भोट बर्मेली भाषा बोल्नेहरू १० हजार वर्षपहिले आएको र भारोपेली भाषासमूह बोल्नेहरू पाँच हजार वर्षअघि मात्रै आएको बताउनुभयो। कसरी त्यो समय यकिन गर्न सकिन्छ?
यो तुलनात्मक भाषा विज्ञानको अनुसन्धानद्वारा प्रमाणित भइसकेको जानकारी हो। त्यसभन्दा अगाडिको जानकारी पत्ता लगाउन सकिन्न। जिनको अध्ययनबाट अनुवंश वा वंशाणुबारे मान्छेका पुराना कुराहरू पत्ता लगाउन सकिन्छ। मान्छेको पुर्खा कहाँबाट आए भन्ने पत्ता लगाउन सकिन्छ। तुलनात्मक भाषा विज्ञानको अनुसन्धान गर्दा लगभग १० हजार वर्षभन्दा अगाडि जान सकिएको छैन। कारण के हो भने भाषा छिटो परिवर्तन हुन्छ। पहिला नेपाली कसैले बोलेन, बुद्धको पालामा तराईमा बुद्धको बुवाको राज्यमा पालि भाषा चल्थ्यो। त्योभन्दा अगाडि संस्कृत भाषा चल्तीमा थियो। नेपाली भाषा कसैले बोलेन।
सिंगो भारतमा पनि हिन्दी, मराठी कोही बोल्न सक्दैनथे। त्यो बेला अर्कै भाषा चल्यो। भाषा एकदम छिटो परिवर्तन हुन्छ। अंग्रेजीको इतिहास अझ छोटो छ। ‘बेवुल्फ’ भन्ने कवि उनको कवितालाई पनि बेवुल्फ नै भनिन्छ। वास्तवमा कविको नाम पनि बेवुल्फ हो। उनले एक हजार वर्षअघि अंग्रेजीमा लामो कविता लेखेका थिए। यो कविताभन्दा अगाडि अंग्रेजी भाषा नै चल्तीमा थिएन। तर त्यो अंग्रेजी भाषाको अक्षर विद्यार्थीलाई देखाउँदा बुझ्दैनन्। अक्सफोर्ड विश्वविद्यालय होस् या केम्ब्रिज विश्वविद्यालय, अंग्रेजी ठेट बोलिने बेलायतमा पुगेर त्यो ‘टेक्स्ट’ देखाएँ। ‘कुन भाषा होला’ भनेर सोधेँ। उनीहरूले नर्वेजियन भाषा भएको अनुमान लगाए। एक हजार वर्षअघिको अंग्रेजी अहिले परिवर्तन भइसक्यो। अझै पुराना भाषा कति परिवर्तन भए होला!
भाषाविद्हरूले मात्रै तुलनात्मक भाषा विज्ञानको मेथोडोलोजीअनुसार भाषको पुनर्संरचनाको अनुसन्धान गर्न सक्छन्। त्यसपछि यसको मूल निकाल्न सक्छन्। तर १० हजार वर्षभन्दा पहिलेको पत्ता लगाउन सकिँदैन। नेपालमा भोट बर्मेली भाषा र त्यसका शाखाहरू पूर्वी हिमाली क्षेत्रमा बोलिन्छ। लिम्बुवान, भुटान, अहिलेको मणिपुर, धौलागिरि यो सबै क्षेत्रमा किरात अथवा भोट बर्मेलीको मूल थियो भनेर अनुमान गर्न सकिन्छ।
यति नै समयको अन्तरमा भाषा परिवर्तन हुन्छ भनेर यकिन गर्न सकिन्छ?
पुरातत्त्वको कुनै पनि कुरा फेला पार्यो भने त्यसको रेडियो कार्बन, रेडियो कार्बन डेटिङ गर्न सक्छौँ। खन्दा पनि जोगाएर नियमानुसार खन्छन्। हिस्टोरियोग्राफीमा माथिभन्दा तलको कुरा प्रमाण हो। यसरी भेटिएका सामग्रीको मिति तोक्न सकिन्छ। तर भाषामा त्यस्तो हुँदैन। तर अभिलेखहरूको भाषा भने हेर्न सकिन्छ। जस्तो, चाँगुनारायणमा जुन अभिलेख छ, त्यो कसको पालाको हो भन्ने भाषाले थाहा हुन्छ। भाषाको व्याकरणले मात्रै होइन लिपिले पनि समयबारे थाहा हुन्छ। जस्तो ब्राह्मी लिपिमा लेखेको कुन समयको हो भनेर निश्चित गर्न सक्छौँ। त्योभन्दा अघि केही थियो कि भनेर तुलनात्मक अध्ययन गर्न सकिन्छ।
डीएनएबाट भाषाको उत्पत्ति पत्ता लगाउन सकिन्छ?
सकिँदैन, बायोलोजिकल पुर्खा मात्रै पत्ता लाग्छ। तुलनात्मक भाषा विज्ञान भनेको भाषाको मात्रै कुरा हुन्छ। तपाईं आफैँ मगर हो, तपाईंले मात्रै होइन, तपाईंको आमाबुवाले पनि मगर भाषा बोल्न छोडिसक्नुभएको छ। तपाईंले बोल्ने नेपाली अर्कै भाषा परिवारको हो। मगर अर्कै भाषा परिवारको हो। तपाईंको जिन हेर्ने हो भने तपाईंको भाषासँग मिल्दैन।
भारोपेली भाषा समूह र भोट बर्मेली भाषा समूहमध्ये कुन भाषा पुरानो हो?
दुई वटै पुरानो भाषा हो। उदाहरणको लागि आजकाल मगर भाषा स्याङ्जामा जसरी बोलिन्छ, त्यो उनीहरूको पुर्खाको भाषा होइन। ‘बेवुल्फ’ कविताको भाषा र अहिलेको अंग्रेजीजस्तै फरक भइसकेको छ। आजभोलि सबै भाषा आधुनिक हुन्छ। तर इतिहासमा कुनै भाषा छिटो परिवर्तन हुन्छ। चीनको भाषाको पुरानो उच्चारण र आजको चिनियाँ भाषाको उच्चारण मिल्दैन। तर कुनै भाषा इतिहासमा धेरै शताब्दीसम्म पनि परिवर्तन भएका हुँदैनन्। भोट बर्मेली भाषामध्ये लिम्बू भाषा कम परिवर्तन भएको भाषा हो। यो भाषाको जुन पुरानो व्याकरण थियो, त्यो उनीहरूको पुर्खाको जस्तै छ। विशेष गरी फेदापको भन्दा पाँचथरको लिम्बू भाषामा अलि अर्कै विकास भयो। पुरानोबाट पनि कम परिवर्तित फेदापको लिम्बू भाषा हो।
नेपालमा विविध भाषा छन् तर किन सम्पर्क भाषा खस नेपाली नै भयो?
त्यसको कारण धेरै छ। पहिलो त कोलोनाइजेसन हो। कुनै ठाउँमा आक्रमण गरेर बाहिरी मान्छे शासन गर्न आयो भने भाषा पनि अतिक्रमणमा पर्न सक्छ। त्यो मात्रै पनि कारण होइन। कुनै ठाउँमा मितानी भन्ने जाति थियो। उनीहरू आर्य भाषा बोल्थे। पुरानो संस्कृतसँग मिल्ने भाषा थियो। उनीहरू प्राचीनकालमा जजिरा भन्ने ठाउँमा आए, त्यहाँ आक्रमण गरेर शासन चलाए। जजिरा अहिलेको उत्तरी इराकमा पर्छ। त्यहाँ पहिले हुरी जातिको शासन थियो। आर्य भाषा बोल्ने मितानीले शासन चलाए पनि उनीहरूको भाषा लोप भयो। उनीहरूले शासन गर्दै जाँदा जनताको भाषा बोल्न थाले। शासन गर्नेको भाषा नै लोप भयो।
भाषा परिवर्तन हुनुमा धेरै व्यावहारिक कारण हुन्छन्। आजभोलिचाहिँ भाषा परिवर्तन हुनुको मुख्य कारण आर्थिक हो। नेपालमा सबैले आफ्नो बच्चालाई बोर्डिङ स्कुल पठाउँछन् जहाँ नेपाली भाषा नै चल्दैन। अंग्रेजी यहाँको भाषा नै होइन। सानैदेखि अंग्रेजी सिक्नेको नेपाली खै कस्तो हुन्छ? अनि तपाईंको टेलिफोन नम्बर कति हो भनेर सोध्यो भने ९८ भनेको कति हो कति! उनीहरूलाई त नाइन्टी एट नै भन्नुपर्छ। यो निकै दुःखलाग्दो कुरा हो।
आर्थिक आकर्षणले पनि यस्तो भइरहेको छ। मानौँ हामी तीन फरक देशका नागरिक थाइल्यान्ड गयौँ भने तपाईं नेपाली बोल्न सक्नुहुन्छ, म डच र मेरो फ्रान्सेली साथी फ्रेन्च बोल्न सक्दैन। हामी अंग्रेजीमा नै संवाद गर्नुपर्छ। आर्थिक विकास प्राप्तिका लागि आफ्नो भाषा पछि छोडिँदै छ।
अहिले आर्थिक पक्ष बलियो पार्न नेपालीहरू विदेश हिँडिरहेका छन्। यसरी त नेपाली भाषा नै विलय हुने जोखिम हुँदैन?
लोप नहोस्, यो मेरो धारणा हो। तर हामी के गर्न सक्छौँ!
हिजो एउटा रक्षात्मक मत थियो। स्विट्जरल्यान्डको एक विश्वविद्यालयमा सेलिङ ग्रोमन नामका एक जना अनुसन्धानकर्ताले ८०० पेज लामो ‘नाछिरिङ राई’ भाषाको व्याकरण, शब्दकोश बनाएका छन्। यस्तो राम्रो व्याकरण अमेरिका, अफ्रिकालगायत ठाउँमा कमै भेटिन्छ। नाछिरिङ भाषा समाज ठूलो छ। हजारौँको संख्यामा छन्। तर अहिले भाषा बोल्नेमध्ये प्रायःजसो ७५ वर्ष नाघिसकेका छन्। राम्रोसँग भाषा बोल्ने जम्मा २५ जना मात्रै छन्। अलिअलि बोल्ने ७५ जना छन्। छोराछोरीले त्यो भाषा बोलेन भने बुवा, हजुरबुवाको देहान्त भएपछि को बोल्छ? नेपालका धेरै भाषा यही हालतमा छन्।
भाषा जीवित हुनुपर्छ। आफ्नो सोच आफ्नो भाषामा गर्न सक्नुपर्छ। नेपालमा पनि यही कुरा लागू हुन्छ। जुन सोच हामीले नेपालीमा भन्न सक्छौँ, अंग्रेजीमा ठ्याक्कै अर्थ लाग्ने गरी भन्न गाह्रो छ। काम चलानका लागि त गर्न सकियो। तर मान्छेमा जुन भाव आउँछ त्यसलाई बुझाउन धेरै गाह्रो छ। त्यसैले आफ्नो भाषा संरक्षण गर्नुपर्छ। भाषा संरक्षण गर्न बच्चालाई त्यही भाषा पढाउनुपर्छ।
नेपालमा धेरै भाषा भए पनि लिपि छैन। मगर भाषा बोल्न सक्नेले पनि देवनागरी लिपिमा लेख्नुपर्ने बाध्यता छ। अन्य भाषाको पनि यथार्थ यही हो। भाषा जीवित रहन आफ्नै लिपि आवश्यक हुन्छ कि हुँदैन?
अंग्रेजी भाषाको पनि आफ्नो लिपि छैन। अंग्रेजी अक्षर छैन। प्राचीन रोमको साम्राज्यमा ल्याटिन भाषा चल्यो र उनीहरूको लिपि थियो। आ, बे, से, डे अथवा अहिले अंग्रेजीमा ए, बी, सी, डी भनिन्छ। त्यो लिपि तिनीहरूको होइन। उनीहरूले चलाएको रोमन अल्फाबेट हो।
मगर, गुरुङ भाषामा लेख्नुपर्यो भने देवनागरी लिपिमै लेख्दा पनि फरक पर्दैन। सबैलाई बुझ्न सजिलो पनि छ। लिम्बूहरूको भने आफ्नो लिपि छ। त्यो पुरानो लिपि हो। त्यो लिपि उनीहरू प्रयोग गर्छन्। इन्टरनेट, फेसबुकमा उनीहरू त्यही लिपि प्रयोग गर्छन्। किताबहरू प्रकाशन हुन्छन्, विशेष गरी सिक्किममा। त्यहाँ सन् १९७० देखि लिम्बू भाषामा किताबहरू प्रकाशन हुन थालेको हो। १७औँ र १८औँ शताब्दीका लिम्बू भाषाका किताबहरू पनि पाइन्छन्। ती सबै प्रायः लन्डनको पुस्तकालयमा छन्। मैले पढेर अनुवाद पनि गरेको छु। प्रकाशित गर्न बाँकी छ।
तिब्बतियनहरूले पनि एक हजार ५०० वर्षअगाडि आफ्नो लिपि निकालेका छन्।। लिम्बू लिपि तिब्बतियन लिपि जत्तिको पुरानो होइन। उत्तर भारतको गुप्त साम्राज्यमा प्रयोग हुने लिपि गुप्त लिपि भनिन्छ। त्यो लिपि देखेर तिब्बतियन लिपि निकालियो। अहिले पनि गुप्त लिपिको अभिलेख हेर्ने हो भने धेरै कुरा बुझ्न सकिन्छ। तिब्बतियन लिपिजस्तै देखिन्छ। तिब्बतियन, देवनागरी र गुप्त लिपि तुलना गरी हेर्दा तिब्बतियन लिपि पुरानो गुप्त लिपिसँग मिल्छ। देवनागरी त झन् परिवर्तित रूपमा आयो। देवनागरी नयाँ लिपि हो। वास्तवमा लिपि पनि भाषाजस्तै परिवर्तित हुन्छ।
नेपाली भाषा कति पुरानो हो?
पुरानो भाषा त हो तर पुरानै रूपमा कायम हुँदैन। अहिले २०८० सालमा जुन भाषा बोलिन्छ। यिनीहरू सबै आधुनिक भाषा हुन्। बुद्धको पालामा कुनै रुसी भाषा थिएन। अंग्रेजी भाषा थिएन। नेपाली भाषा थिएन। त्यसैले अहिले बोलिने भाषा आधुनिक भाषा हुन्। पुरानो भाषा भनेर कसरी भन्ने?
कुनै भाषा पुर्खाको भाषासँग तुलना गर्दा धेरै परिवर्तन भइसकेको छ। कुनै भाषा जर्जियन वा फेदापको लिम्बू भाषासँग तुलना गर्यो भने त्यो कम बदलिएको भाषा हो। तर यी भाषा पनि आधुनिक भाषा हुन्।
नेपालमा बोलिने पुरानो भाषा मगर भाषाको पनि आफ्नै लिपि छ भनेर अध्येता एमएस थापा मगरले उहाँको किताब ‘प्राचीन मगर र अख्खा लिपि’मा दाबी गरेका छन्। तर त्यो लिपि चल्तीमा छैन। यो भाषाको बारेमा तथ्य प्रमाण केही भेटिन्छ?
हुनै नसक्ने कुरा हो। त्यो किताब मैले पनि पढेँ। मान्छेको चाहना हुन्छ। आफ्नो भाषादेखि गौरव पनि लिनुपर्छ। मगर भाषाबाट गौरव लिन त मिल्छ, त्यो भाषाको व्याकरण पनि एकदमै रुचि लाग्दो छ। पुर्ख्यौली भाषा पनि हो। तर त्यो लिपि मगरको थिएन। मैले किताब हेर्दा कुनै गुप्त र कुनै ब्राह्मी लिपिको अक्षरजस्तो देखिन्छ। वास्तवमा यस्तो कुरा उपन्यासमा लेख्नु हुँदा राम्रो हुन्थ्यो। तर त्यो इतिहास होइन।
लेप्चाहरूको पनि आफ्नै भाषा छ। नेपालको दक्षिण इलाम र पश्चिम भुटानमा लेप्चाभाषी छन्। प्रायःजसो दार्जिलिङ, कालिम्पोङ र सिक्किममा छन्। त्यो भाषाको आफ्नै पुरानो लिपि छ। डेनमार्क फरफार्क भन्ने लिपि देखिन्छ। त्यो लगभग एक हजार वर्ष पुरानो लिपि हो। उनीहरूले पनि रोमको भाषाको लिपि देखेर निकालेको हो।
थापाको दाबीलाई झूट साबित गर्ने आधार र प्रमाण के छ तपाईंसँग?
प्राचीन मगर भाषाको अभिलेख भएको भए दुनियाँका विद्वान त्यसबारे बुझ्न आउँथे। प्रमाण उपलब्ध गराउने भार एमएस थापा मगरको काँधमा छ। मगर लिपिका प्राचीन पाण्डुलिपि र प्राचीन शिलालेख कहाँ छन्? एमएस थापा मगरको ब्राह्मी लिपिको आफ्नो संस्करणबारे उनको दाबीलाई कसैले नेपालबाहिर अहिलेसम्म किन ध्यान दिएन होला?
संसारमा कहिलेदेखि लिपि प्रचलनमा आउन थाल्यो?
पाँच हजार २२५ वर्षअघि मानव जातिको पहिलो लिपि सुमेरमा उत्पत्ति भएको पाइन्छ। त्यसपछि उनीहरूको छेउको मान्छेहरू एलाममा समुेरियन लिपि देखेर त्यस्तै लिपि निकाले। एलामको र सुमेरको भाषा भिन्दाभिन्दै परिवारभित्र पर्छन्। एलाम र सुमेरका मान्छेले १०० वर्षसम्म ती लिपि चलाए। त्यो देखेर हामी पनि एउटा लिपि विकास गरौँ भनेर जुक्ति आयो। फेरि दुई फरक भाषा बोल्ने देशले पहिलाको लिपि त्यागेर क्युनियोफोर्म भन्ने लिपि निकाले। त्यस्तै हुन्छ इतिहासमा।
जर्मन भाषामा नागल श्रेफ भन्छ। अंग्रेजीमा क्युनियोफोर्म भन्छ। किनभने त्यो काँटाजस्तो देखिने माटोमा काँटाले इम्प्रेस गरेको जस्तो देखिन्छ। क्युनियोफोर्म स्क्रिप्ट त्यसपछि प्रयोगमा आयो। चीनमा एकदम पछि मात्रै लिपि आयो। इन्दु सभ्यताको लिपि झन् पुरानो छ। अहिलेको पाकिस्तान जहाँ छ, सिन्धु, इन्दुस् एउटै हो, त्यो सभ्यताको लिपि चीनको भन्दा पुरानो हो। मिश्र अथवा इजिप्टदेखि लिपि फैलिँदै आएको छ।
लिपि नहुँदा भाषा कति समयसम्म रहिरहन सक्छ होला?
रहन सक्छ। ऋग्वेद र बुद्धका उपदेश पनि पछि मात्रै लेखियो। ऋग्वेद पाठ घोकेको जस्तो घोक्थे। धेरै शताब्दीसम्म नबिगारी चल्दै आयो। एकै जनाले कण्ठस्थ गरिरहन त गाह्रो हुन्छ। बुद्ध धर्मको शिक्षा ५०० वर्षसम्म मौखिक थियो। १०० जना एकै ठाउँमा भेला पारेर बौद्ध शिक्षा दिइन्थ्यो। एकैचोटि १०० जनाले सुन्दा गलत हुँदैन। धर्मशास्त्र, कुरुक्षेत्रका कुरा दोहोर्याएर दिमागमा राखियो। यसलाई सबैभन्दा पहिला श्रीलंकामा लेखियो। भारतमा बुद्ध धर्म प्रचलित थियो। जैन, हिन्दू, आजीविकाको धर्मभन्दा बुद्ध धर्म चल्थ्यो। अहिले आजीविका र जैन धर्म त भेटिँदैन। हिन्दू धर्म भने अहिले झन् धेरै प्रचलित भयो।
तस्वीर : उकालो/दिवस गुरुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।