साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

प्रस्तुत लेख हामीले कान्तिपुरको शनिबारीय विशेष काेशेलीबाट साभार गरेका हाैँ ।  काेशेलीका लागि यो लेख शिक्षा रिसालले तयार पार्नुभएको हो । तपाईँले यो सामग्री कान्तिपुर दैनिकमा पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

मैले २१ वर्षपछि धेरै हिम्मत जुटाएर आमालाई सोधें, ‘तपाईंलाई बाबाको याद आउँदैन ?’
आमा केही बोल्नुभएन । मतिर हेर्नुभयो अनि मुसुक्क हाँस्दै भन्नुभयो, ‘आउँछ, किन नआउनू !’

मुस्कानका साथ सुरु भएका शब्दले भुइँ टेक्न नपाउँदै आमाका आँखा भरिए । सोधें, ‘बाबाले छोडेर गएपछि आफूलाई कसरी सम्हाल्नुभयो ?’ आमा केही बोल्नुभएन । सायद ती अँध्यारा दिनहरू कोट्याइदिएँ । मैले आमा रोएको निकै कम देखेकी छु । उहाँ सित्ती रुनुहुन्न । अथवा रोएको देखाउनुहुन्न ।

अझ बुबाको सम्झनामा आमाले आँसु बगाएको हामीलाई याद छैन । हुन त रुनु मात्र कसैलाई सम्झनु होइन । दुःख सामना गर्ने सबैका आफ्नै तरिका हुन्छन् । कोही रोएर आफ्नो दुःख मेटाउँछन्, कोही मनमा गाँठो पारेर बाँचिरहन्छन् । आमा सायद ‘दोस्रो वर्ग’ मा पर्नुहुन्छ ।

आमा बरु बाबाले गर्ने उट्पट्याङ कुराहरू सम्झेर हाँस्नुहुन्छ । बुवाले जिस्क्याएका कुराहरू सम्झेर मुसुमुसु गर्नुहुन्छ ।

मेरी आमा ३२ वर्षको हुँदा बाबा ब्रेन ह्यामरेज भएर बित्नुभयो । म ९ वर्षकी थिएँ । बाबा बितेपछि मेरी आमाको इन्द्रेणीबाट रङहरू हराउँदै गए । बाबाले आफूसँगै आमाका सबै रङ लिएर उडिदिनुभयो, कतै अन्तहीन यात्रामा । रातो रङ असाध्यै मन पराउने मेरी आमा बाँचुन्जेल सेतो रङमा बन्द हुनुभयो । उज्यालो देखिने सेतो रङ त्यसपछि सधैं अँध्यारो देखियो ।

असारको त्यो रात झमझम पानी परिरह्यो । आमा रातभर निदाउन सक्नुभएन । अलिअलि आँखा लागेजस्तो हुन्थ्यो, फेरि झसंग हुनुहुन्थ्यो । बाबा रातभर घर फर्किनुभएको थिएन । मोबाइल थिएन, अफिसमा फोन गर्दा उठेन । चिन्तैचिन्ताले हामी गलिसकेका थियौं ।

भोलिपल्ट बिहान घरमा फोन आएपछि थाहा भयो— बाबालाई राति कसैले पाटन अस्पतालमा भर्ना गरिदिएको रहेछ । मलाई अझै राम्रोसँग याद छ त्यो दिन । असार १५ को दिन धुम्म परेर निरन्तर झरी परिरहेको थियो । अहिले लाग्छ— त्यो दिन उदासीमा रोइरहेको थियो ।

फोन आउनेबित्तिकै आमा र काका अस्पताल जान आत्तिनुभयो । आमालाई त्यो दिन मैले धेरै राम्री देखें । असाध्यै राम्री । हत्तपत्त ट्याक्सी नचढ्ने आमाले ट्याक्सी रोक्नुभयो । म बिहान ८ बजे नै स्कुल जान लागेकी थिएँ । आमालाई बाटोबाट ‘बाई बाई’ भनें ।

त्यो दिन मेरो स्कुलमा केही विशेष कार्यक्रम थियो । कार्यक्रम सानो होस् या ठूलो– बाबा सधैं मेरो स्कुल आउनुहुन्थ्यो । मैले गाएको गीत सुन्नुहुन्थ्यो, मेरो नाच हेर्नुहुन्थ्यो । मेरा लागि खुसी हुँदै ताली पिट्नुहुन्थ्यो । म दंग पर्थें । मेरो लागि संसारको सबैभन्दा ठूलो खुसी त्यही थियो । तर, त्यो दिन बाबा आउनुभएन । मञ्चमा म नाचिरहेकी थिएँ तर मेरा आँखा दर्शकदीर्घामा नाचिरहेका थिए ।

मैले बाबालाई देखिनँ । मलाई स्कुलका कार्यक्रमहरू कहिल्यै त्यति लामा लाग्दैनथे । कहिल्यै नसकियोस्जस्तो हुन्थ्यो । तर, त्यो दिन मलाई घर पुग्ने हुटहुटीले घेर्‍यो । कापी, कलमसँगै अनुहारमा रङ पुरस्कार लिएर म दौडिएँ । घर पुगेपछि थाहा भयो— बाबाको अझै होस आएको रहेनछ ।

हजुरआमाले भन्नुभयो, ‘बिहान दहीचिउरा खान बिर्सिस् । आज खानुपर्छ । खा ।’

‘बाबाको के खबर आयो ?’

‘बेलुकासम्म होस आउला ।’

हजुरआमाले आशा देखाउनुभयो । अब मलाई बेलुकाको पर्खाइ थियो । मैले दहीचिउरा खाएँ । पुरस्कार टेबलमा राखें र ऐना हेर्दै रमाएँ । मैले सोचेकी थिएँ— बेलुका बाबाआमा आउनुहुन्छ अनि म दिनभरिको कहानी सुनाउँछु । पुरस्कार देखाउँछु । बाबाले फेरि लामो आलाप लिएर नारायणगोपालको गीत गाउनुहुनेछ अनि आमा ‘ह्या कस्ता–कस्ता गीत सुनाउने हो बच्चाहरूलाई’ भन्दै चिढिनुहुनेछ ।

बेलाबेला फोनको घण्टी बज्थ्यो, झसंग हुन्थें । हरेक पटकका घण्टीले हाम्रो मुटुको गति बढाउँथे । राति ८ बजे बल्ल फोन आयो । बाबाले संसार छोड्नुभएछ । म र दिदी आत्तिएर रुन थाल्यौं । त्यो खबर सुन्नेबित्तिकै हजुरआमा बेहोसजस्तै हुनुभयो । हजुरआमाले न हामीलाई सम्हाल्न सक्नुभयो न आफूलाई । हजुरबा अल्जाइमर्स पीडित भएकाले एकोहोरो हुनुहुन्थ्यो । दुई वर्षको भाइ मस्त निदाइरहेको थियो ।

त्यो रात आएको फोनले हाम्रो जिन्दगीबाट मुटु चुँडेर लग्यो । मृत्युसँग त्यति नजिकबाट साक्षात्कार भएको त्यो पहिलो दिन थियो । जिउँदाका जन्ती र मर्दाका मलामी– छिमेकी सायद त्यसैले चाहिन्छन् । एकै छिनमा गाउँभरिका मानिस भेला भए । हजुरआमालाई सम्झाउन थाले । दिदी र म एक–अर्कालाई अँगालो हालेर रोइरह्यौं । त्यो रात न आकाशबाट झरी बर्सिन रोकियो न हाम्रा आँखाबाट आँसु । आकाश र हामी सँगसँगै रोइरह्यौं । न आकाश झरेर सकियो न हामी रोएर सुस्तायौं ।

जो आउँथे भन्थे, ‘यिनीहरू बिचरा टुहुरा भए !’

‘टुहुरा’ शब्दले शरीरका हरेक अंग निचोरिए । आँसुले मेरो अनुहारको रङ बगायो । इन्द्रेणीजस्तो मेरो अनुहार छिनमै जमेको तलाउजस्तो भयो । बारीमा मकैका पात बजिरहेका थिए । आज पनि जब पानी पर्छ र मकैका पात बज्छन्, मलाई त्यही दिनको झरीले भिजाउँछ ।

त्यसपछि घरका सामान सार्न थालियो । किरिया बस्ने ठाउँ बनाइयो । भाइ सानै भएकाले र हजुरबुबा धेरै वृद्ध भएकाले पशुपतिबाट एक जना बाजेलाई किरियापुत्री ल्याइएको थियो । कुर्ने मान्छेका लागि ओछ्याउन दरी र टाट चाहिन्छ भनेर त्यही कोठाबाट लगेछन्, जहाँ बाबाको हार्मोनियम थियो, जहाँ एकै छिन अघि म कल्पनाको संसारमा डुलिरहेकी थिएँ ।

बाबाको हार्मोनियम नजिक गएँ र थिचें । एउटा धुन बज्यो । त्यो धुन मुट छेडेर आँखाबाट निस्कियो । ‘ए, को हो त्यो, मान्छे मर्‍या घरमा बाजा बजाउने ?’ तलबाट चर्को आवाज आयो । म तर्सिएँ । तर्सिंदा हातबाट खसेका रंगीन पेन्सिल टिपेर फुस्रो ढोकाको कुनामा लुकें । जोडसँग मुख बन्द गरें । मुख मात्रै बन्द भयो, आँखा भएनन् । बगिरहे ।

तल केही मान्छे कराएको आवाज आयो । आमा आउनुभयो होला ! हतारहतार गएर हेरें । बिहान रातो साडीमा घर छोडेकी आमा सेतो धोती र परालको चप्पलमा आउनुभयो । उहाँको स्वरूप देखेर मेरो मुटु त्यही परालजस्तै त्यान्द्रै त्यान्द्रामा चुँडियो ।

अघि हार्मोनियमको आवाजमा कराउने व्यक्ति फेरि सुरबिनाको हार्मोनियमझैं फत्फताए, ‘कति रोइरहेका ? मर्ने मरेर गइसके ।’ मैले पहिलोपटक ढुंगाको मुटु बोकेर हिँड्ने मान्छे देखें । मलाई टुहुरो हुनुको पहिलो बोध थियो त्यो ।

म आमालाई अँगाल्न चाहन्थें । आमालाई बोलाउन चाहन्थें । आफू रुन र उहाँलाई रुवाउन चाहन्थें । तर, १३ दिनसम्म आमालाई ‘छुनु हुँदैन’ भनेर मलाई आमाबाट अछूत बनाइदिए । अहिले आएर लाग्छ— हाम्रा संस्कारहरू कति निर्दयी छन् !

मैले २१ वर्षपछि कुरा खोतलें । आमाले त्यस दिनका कुरा बताउन थाल्नुभयो, ‘म अस्पताल पुग्दा आईसीयूमा राखिएको थियो । मैले हेर्न सकिनँ । त्यतिबेला मन कति आत्तिएको थियो । तर पनि केही हुँदैन, होस आएपछि ठीक हुन्छजस्तो लागेको थियो । सास फेरेजस्तो लाग्थ्यो । बोल्न खोज्नुभएको जस्तो लाग्थ्यो ।’ एक छिनपछि डाक्टर आएर आमालाई भनेछन्, ‘उहाँको होस आयो भने पनि पूरै जिन्दगी बोल्न सक्नुहुन्न । हिँडडुल पनि गर्न सक्नुहुन्न । होस आएन भने बचाउन सकिँदैन ।’

यो बताइरहँदा आमाका आँखाबाट बरर आँसु बगे । म महसुस मात्र गर्न सक्छु— त्यतिबेला अस्पतालमा आमाको मन कति चिसिएको होला ! ‘अरूलाई लाग्थ्यो होला– जिउँदो लास हुनुभन्दा मरेकै बेस् । तर, मलाई जसरी भए पनि गुमाउनु थिएन । मृत्यु त कसले चाहन्छ र !’ आमा रोकिँदै–रोकिँदै एक्कासि भक्कानिनुभयो ।

आमाले चाहेजस्तो भएन । ढुंगाजस्तो भए पनि श्रीमान् बाँचे हुन्थ्यो भन्ने कामना गरेकी आमाको पुकार ‘भगवान’ ले सुनेनन् । मान्छेले आफ्नो इच्छाअनुसार अमूक ‘भगवान्’ त बनायो तर आँखामा पट्टी र कानमा कपास कोचिदियो ।

आमाले अस्पतालको स्मृति सुनाइरहँदा मेरा आँखा भिजिसकेका थिए ।

‘मैले कसैलाई सम्झिइनँ । मेरो दिमाग खालीजस्तै भयो । त्यसपछि के–के भयो । अरूले जे–जे भने, मैले खुरुखुरु गरें । एउटा मूर्तिजस्तो भएर बसिरहें । चुरा फुटाइदिए । सिन्दूर पुछिदिए । यो लुगा फेर भने, फेरें । मलाई संसारमा केही नै छैनजस्तो भयो । सबै बिरानो लाग्यो । एकदम रित्तो ।’

आमासँग मेरो धेरै कुरामा झगडा पर्छ । उहाँलाई धेरै कुरा सरल लाग्छ । केही कुरालाई गम्भीरताका साथ लिनुहुन्न । सबै कुरा सजिलै अपनाउन सक्नुहुन्छ । तर, उहाँको यो लडाइँ सजिलो थिएन । बुवा गएपछि आमाका संघर्षका दिन बल्ल सुरु भएका थिए ।

‘अब यिनीहरू टुहुरा भए’ भन्ने वाक्य त्यसपछिका दिनमा मैले हरेक क्षण भोग्न थालें । आमा डिप्रेसनमा धकेलिनुभयो । एक्लै रुने, एक्लै बस्ने, एक्लै बोल्ने गर्न थाल्नुभयो । सबैले भन्थे, ‘अब आमा पनि यस्तै भए छोराछोरीको के हालत होला ?’

हामी आमाको मनबाट दुःख हटाउन जे गर्न पनि तयार थियौं । तर, हामी सबै बालखै थियौं । त्यतिबेला डिप्रेसनलाई कसैले बुझेका थिएनन् । त्यो केवल एउटा पागलपन थियो, अरूका लागि । बिस्तारै बुबाको स्मृति धमलिँदै गयो अरूको मनबाट । तर, हाम्रो परिवार ‘मुभ अन’ हुनै सकेन । एक्लोपन, वियोग र जिम्मेवारीको बोझले आमालाई निल्नसम्म निल्यो । मनभरि रुन पनि पाउनुभएन ।

फेरि हाम्रो संस्कृति र संस्कारले त्यो पीडालाई कम हुन दिएन । हाम्रा कतिपय संस्कारहरू निर्मम छन् । बाबा बित्दा आमालाई माइतीको एकदम जरुरत थियो । एउटा महिलाले आफ्नो सर्वस्व गुमाउँदा उसलाई आफ्नो मान्छेको काँध चाहिन्छ । बाबा बित्दा दाजुभाइ, भदा, माइती आदि हेर्नु हुँदैन, जानु हुँदैन भनेर रोक लगाइयो । न माइतीबाट कोही भेट्न आए न आमा जान पाउनुभयो ।

आफ्नो माया गर्ने दाइले ‘नानी हामी छौं तिम्रो साथमा’ भनेर अँगालिदिएको भए आमालाई कति ढाडस मिल्थ्यो होला ! तर, छुने त परैको कुरा– आमालाई दाइभाइ, भदा कसैको अनुहार र बोली सुन्न हुन्न भन्ने कुरीतिले बाँधियो ।

माइत मात्र गएर बस्न पाएको भए आमा मानसिक रूपमा बलियी हुनुहुन्थ्यो होला ! आफन्तको काँधले आमाको लत्रिएको संसार कति बलियो गरी उभिन्थ्यो होला ! तर, त्यसो भएन । आमा एक्लै हुनुभयो । एक्लै पछारिनुभयो । एक्लै बजारिनुभयो । एक्लै दर्फरिनुभयो ।

तर, फेरि आफैं उठ्नुभयो पनि । आफूलाई बिस्तारै समय दिनुभयो । बालबच्चाका लागि बाँच्नुपर्छ भन्ने बोध भयो । दिनहरू बिते । दुईपटक मृत्युलाई जितेर अहिले बाँच्न सक्नुभयो । हामीलाई बुबाआमा दुवैको माया दिनुभयो । दुई दशक लामो लडाइँ एक्लै लड्नुभयो । र, जित्नुभयो । केही महिनाअघि मात्र मेरो नाता पर्ने ठूलीआमा बित्नुभयो । पेट दुखेर अस्पताल पुगेकी ठूलीआमा उतैबाट अन्तहीन यात्रामा निस्किनुभयो । ठूलोबुबा र भाइ एक्ला भए ।

ठूलोबुवा ५७ वर्षको हुनुहुन्छ । अस्ति भर्खर उहाँ घरमा आउँदा मैले गहिरोसँग नियालेकी थिएँ । उदास र टोलाएका आँखा । फुंग रङ उडेको कान्तिविहीन अनुहार । उहाँलाई देख्दा लाग्थ्यो– गहिरो शोकमा हुनुहुन्छ ।

तर, ठूलीआमा बितेको दुई महिना पनि पूरा नहुँदै उहाँ विवाह गर्न केटी खोज्दै हुनुहुन्छ भन्ने खबर सुनेर म एक छिन शून्य भएँ । यो खबरले मेरो शरीरमा भयंकर ठूलो करेन्ट हान्यो । नातेदार, आफन्ती र इष्टमित्र सबै उहाँका लागि वधू खोज्दै हिँडेको सुनेपछि मैले आमाको अनुहार हेरें । उहाँले चुपचाप मलाई हेर्नुभयो ।

हुन त सबैलाई आफ्नो जिन्दगी बाँच्ने पूरा अधिकार छ । कोही न कोही सहारा चाहिन्छ पनि । तर, ठूलीआमाको सट्टा ठूलोबुवा बितेका भए ? कसैले ‘ऊ अब एक्लै भई’ भन्दै विवाहको चाँजोपाँजो मिलाउँथ्यो होला ? उनलाई सेतो धोती र परालको चप्पल थमाउँथ्यो ।

उनको सप्तरंगी जीवनबाट हरेक रङ खोसेर कतै गाडिदिन्थ्यो होला । मेरी एक जना माइजू धेरै राम्री हुनुहुन्छ । बैंसमा उहाँको निकै चर्चा चल्ने गर्थ्यो रे ! तर, विवाहको केही वर्षपछि मामा बित्नुभयो । उहाँहरूकी एउटा छोरी छन् । अहिले १५ वर्षकी भइन् । मामा स्वर्गबास हुँदा माइजू २८ वर्षकी मात्र हुनुहुन्थ्यो । अहिलेकी मजत्रै ।

परिवारमा कसैले भनेछन्, ‘उसले बिहे गर्छु भनी भने बिहे गरिदिन्छौं ।’ तर, माइजू केही बोल्नुभएनछ । पछि पनि कहिल्यै विवाहबारे केही भन्नुभएनछ । परिवारले त्यति भन्नु पनि ठूलो कुरा हो । तर, ‘गर्ने भए गर’ भन्नु र ‘गर्न मन भए हामी खोजिदिन्छौं, गरिदिन्छौं’ भन्नु र नभन्नुमा केही त फरक होला ।

माइजूले अर्को बिहे गर्न इच्छा देखाउनुभएन । वा भन्न सक्नुभएन । कसैले यस्तो पनि भनेछन्, ‘कहाँ बिहे गर्नु अब ? छोरीको मुख हेरेर बस्नुपर्छ । नत्र छोरीको के हुन्छ ?’ सोच्छु— माइजूको ठाउँमा मामा भएका भए ?

परिवार, आफन्तहरू ‘जीवन बर्बाद हुन्छ’ भन्दै केटी खोज्न लाग्थे । बुढेसकालमा दुःख पाउँछ भन्दै इष्टमित्र छटपटिन्थे । विवाहको तयारी हुन्थ्यो । दुई महिना या दुई वर्ष मात्रको कुरा हो । गहिरो प्रेम थियो भने पाँचै वर्ष । तर, पुरुषहरू यत्तिकै एक्लो बसेको प्रायः देख्दिनँ । नेपालमा त्यस्ता कैयौं उदाहरण छन् । चलेका सेलिब्रिटी, लेखकको जीवन सबैलाई थाहै छ । जति प्रेम होस्, श्रीमतीका बारेमा किताबै किन नलेखियोस्— पुरुषले एक दिन अवश्य दोस्रो बिहे गर्छ । यसमा केही गलत देख्नु हुँदैन । कसैको साथ खोज्नुमा केही अपराध छैन ।

तर, यही सुविधा महिलालाई किन छैन ? किन उसको पति मर्दा ऊ जहाँ पनि रुँदै हिँडोस् भनेर आस गरिन्छ ? अभिनेत्री श्वेता खड्का शोकमा रुँदै हिँड्दा सारा देश उनीप्रति करुणादायी देखियो । तर, केही समयपछि बितेका अर्का सेलिब्रिटीकी श्रीमती हाँस्दै हिँड्दा आलोचना खेप्नुपर्‍यो ।

पति मरेको केही दिन या महिनामै हाँसेको या रमाएको देखियो भने मान्छेहरू भन्छन्–

– कस्ती आइमाई रहिछ, एक थोपो आँसु छैन !

– लोग्ने मरेको वर्ष दिन भएको छैन, यस्तो छ ताल !

– पक्कै अरूसँग सल्केको हुनुपर्छ !

तर, पुरुष रमाउँदा वा हाँस्दा तिनै मान्छे भन्छन्–

– केटा मान्छे भएर पनि रुँदै हिँडोस् त बिचरा !

– अझै यत्रो जीवन बाँकी छ, किन दुःखी हुनु नि !

– केटा भन्या केटै हो नि । केटालाई जे गरे पनि सुहाउँछ !

ती मामालाई पक्कै परिवारले दोस्रो विवाहका लागि दबाब दिन्थे होलान् तर माइजूलाई दिएनन् । ‘सहारा चाहिन्छ’ भन्दै ५७ वर्षका बूढालाई बिहे गराउन तम्सिने समाज २८ वर्षे माइजूका पक्षमा किन केही बोल्दैन ? मेरै नाता पर्ने एक जना भाउजूले गत वर्ष आत्महत्या गर्नुभयो । कारण कसैलाई थाहा छैन । मानिसहरू भन्छन्— उहाँ डिप्रेस्ड हुनुहुन्थ्यो । ‘औषधि खान्थी’ भन्दै कुरा काट्ने पनि भेटिए ।

‘दुई वर्षको छोरा छोडेर मर्न सक्ने कस्तो अपराधी ?’ धेरैले यसै भने । त्यो घटनाको दुई महिना नबित्दै दाइको विवाह गरिदिन सबै नातेदार लागिपरे । यो लेखिरहँदा वधू फेला परिसकेकी छैनन् । प्रयास अझै जारी छ । मेरी आमा र मेरो सोचाइ, बुझाइ, भोगाइमा ठूलो अन्तर छ । पुस्तान्तरले हो या फरक व्यक्तित्वका कारण । आमाले जे भोग्नुभयो, जे देख्नुभयो र जे बाँच्नुभयो— सोच त्यसरी नै विकास भएको छ । उहाँ भगवान्लाई पूजा गरेर आनन्द महसुस गर्नुहुन्छ । म उहाँका लागि फूल र धूप ल्याइदिएर आनन्द महसुस गर्छु ।

आमा कहिलेकाहीँ भगवान्सँग एक्लै बोलिरहँदा केही प्रश्न गर्दिनँ, बरु जिस्क्याउँछु । आमा कृष्ण र रामको पूजा गर्नुहुन्छ तर मलाई राम र कृष्णहरूसँग समस्या छन् । यो कुरामा पनि हाम्रो धेरै बहस हुन्छ । कृष्ण कमजोर प्रेमी थिए । प्रेमको अलाप गर्दै सारा जगत्लाई आफ्नो भक्त बनाउने उनी राधाका अपराधी हुन् । उनी ‘दिलफेक आशिक’ थिए । जहाँ जो भेट्टियो, उसैसँग सल्किने । हाम्रो समाज पनि कस्तो ! सोह्र हजार आठ श्रीमती ल्याउनेको पूजा गर्छ तर सच्चा प्रेमी राधाको कतै केही आदर गर्दैन । पूजा राधाको हुनुपर्थ्यो । तर, भगवान् बनाउनेहरू पनि पितृसत्ताको चरम भोगी छन् । त्यसैले राधालाई सधैं कृष्णको छेउमा उभ्याइन्छ ।

राम कृष्णभन्दा अलि राम्रा हुन् तर सीतामाथि उनले पनि अन्याय गरे । अग्निपरीक्षा र अयोध्या फर्केपछि उनलाई त्याग गर्न पितृसत्ताले दिएका दबाबका विरुद्ध उनी लडेनन् । द्रौपदी, कुन्तीहरूका कथा सबैलाई थाहै छ ।

मैले आमालाई धेरैपटक सोधेकी छु, ‘तपाईंले किन फेरि बिहे गर्नुभएन ?’ ‘के–के बोल्छे, चुप लाग्’ भन्दै उहाँ रिसाउनुहुन्थ्यो । तर, अहिले हाँस्दै भन्नुहुन्छ, ‘मैले बिहे गरेको भए तिमीहरूको हालत कस्तो हुन्थ्यो ? अहिलेसम्म

बाँच्थिस् तँ ?’

‘हाम्रो किन सोच्ने त ? आफ्नो सोच्नुपर्थ्यो नि, यति स्मार्ट मान्छे !’

‘भोलिपर्सि छोराछोरी पाएपछि थाहा पाउलिस्– कति सजिलो, कति गाह्रो हुन्छ,’ आमा तर्किनुहुन्छ ।

‘बाबा रहेर तपाईं नभएको भए ?’ म प्रतिप्रश्न गर्छु ।

आमा लामो सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘तेरो बाउले त बिहे गरिहाल्थे होला अर्को । तिमीहरूको झन्

बिजोग हुन्थ्यो ।’

आमाहरू धरती हुन् । पिताहरू आकाश हुन् । आकाश बदलिरहन्छ । कहिले दिन, कहिले रात । कहिले उज्यालो, कहिले अँध्यारो । कहिले धुम्म । कहिले खुला ।

आकाश असीम छ । जीवनका लागि चाहिने ऊर्जा दिन्छ । तर, सिञ्चित गर्ने त धरती हुन् । आकाश जति परिवर्तनशील भए पनि एकनास रहने धरती हुन् । हुर्काउने, बढाउने र फैलाउने । त्यही धरती टेकेर सपनाको संसारमा हामफाल्छौं हामी ।

र, समय आइसक्यो हामीले पनि धरतीबारे सोच्ने । सेतो धरतीबारे सोच्ने !