साहित्यपोस्टले अन्य प्रकाशनका भाषा र साहित्यका छुटाउनै नहुने विशेष  सामग्रीहरुलाई स्थान दिन ‘सिफारिस’ स्तम्भको सुरुवात गरेको हो । हामीसँग सामग्रीकाे अभाव भएर याे स्तम्भ राखेका हाेइनाैँ । बरू मेडियाकाे याे जञ्जालमा भाषा र साहित्य प्रेमीहरूलाई राम्रा सामग्री खाेज्न  दुःख गर्नु नपराेस् भन्ने चाहना हाे ।

याे सामग्री अन्तर्राष्ट्रिय कपिराइट कानुनले ताेकेकाे नियमअनुसार समाचारकाे स्राेत र त्यसकाे प्रत्यक्ष लिङ्क पनि  दिएका छाैँ ।

प्रस्तुत लेख हामीले यो लेख हामीले नयाँ पत्रिका  दैनिकबाट लिएका हौँ । नयाँ पत्रिकाका लागि यो लेख मनाेज खतिवडाले तयार  पार्नुभएको हो । यहाँ क्लिक गरेर यस लेखलाई नयाँ पत्रिकामै पढ्न पनि सक्नुहुने छ ।

न्युरोड पीपलबोट वर्षौंदेखि कवि–लेखकहरू जम्मा हुने अखडाका रूपमा परिचित छ । त्यहाँ जम्मा हुने कवि–लेखकले यो अखडालाई ‘फुटपाथ एकेडेमी’ भन्न थाले । विमल निभालाई कुलपति र पुरुषोत्तम सुवेदीलाई उपकुलपति भनेर जिस्क्याउन थाले । ‘फुटपाथ एकेडेमी’को प्रसंग सुनाउँदै लेखक अविनाश श्रेष्ठले एउटा रोचक प्रसंग सुनाइहाले । एकपटक श्रेष्ठले प्रज्ञा प्रतिष्ठानकै एक प्राज्ञका छेउमा ‘फुटपाथ एकेडेमी’को प्रसंग झिकेछन् । प्रसंग सुनिसकेपछि रिसले चुर हुँदै प्राज्ञले श्रेष्ठसँग भनेछन्–‘तपाईंले एकेडेमीलाई अपमान गर्ने ?’ प्रज्ञा प्रतिष्ठानका केही प्राज्ञ रिसाए पनि उनीहरूले आपसमा आफ्नो अखडालाई ‘फुटपाथ एकेडेमी’ भन्न छाडेका छैनन् ।

न्युरोडको पीपलबोट कसरी समानान्तर प्रज्ञा प्रतिष्ठानझैँ भयो त ? पीपलबोटको जमघटलाई बुझ्न सञ्चार र सूचनादेखि विच्छेद काठमाडौंको इतिहासम्म पुग्नुपर्छ । ०३२/०३४ सालतिर काठमाडौंमा फोनको सहज पहुँच थिएन । काठमाडौंबाहिरबाट आएकाहरू नियमित रूपमा न्युरोड पीपलबोट वरपर जम्मा हुन्थे । सयौँको भिड जम्मा हुन्थ्यो ।

आफन्त, छरछिमेक र गाउँलेसँग भेट गर्ने प्रख्यात स्थल थियो, पीपलबोट । ‘गाउँमा को बिरामी भयो, नयाँ मान्छे को काठमाडौं आएको छ भनेर खबर आदान–प्रदान गर्ने, सरसामान र पैसा लेनदेन गर्ने ठाउँ थियो पीपलबोट, हजार–दुई हजारको संख्यामा मान्छेहरू जम्मा हुन्थे,’ त्यसवेलाको समय सम्झिँदै कवि तथा समालोचक पुरुषोत्तम सुवेदी भन्छन् । साँझपख भिन्न–भिन्न भूगोलका मान्छेहरू झुन्ड–झुन्डमा भेटिन्थे । मान्छेको बाक्लो आवागमन हुने त्यसवेलाको न्युरोडलाई मान्छेहरू ‘नयाँ सडक’ भन्थे ।

२००६/०७ सालतिरै काठमाडौंबाहिरबाट आएकाहरूले न्युरोड पीपलबोट रहेको स्थल वरपरलाई जमघटस्थल बनाइसकेका थिए । सूचना र खबर आदानप्रदानका लागि ठूलो भिड जम्मा हुने न्युरोड पीपलबोट साहित्यकारको पनि भेटघाट र छलफलको केन्द्रमा परिणत हुँदै थियो । यसको सिलसिला सुरु हुन्छ पीपलबोटको साहित्यिक जमघट कहिलेदेखि सुरु भयो ? ठ्याक्कै जवाफ कोहीसँग पनि छैन । तैपनि बालकृष्ण सम, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमालहरू पीपलबोटमा जम्मा हुने पहिलो पुस्ताका साहित्यकार थिए । मल्ल दाजुभाइ र श्रेष्ठको त घर पनि पीपलबोटनजिकै थियो ।

संस्कृत प्रभावमा हुर्किएका र आधुनिक साहित्य चेत बोकेका साहित्यकारबीच त्यसवेला तीव्र वैचारिक घर्षण थियो । वैचारिक प्रतिद्वन्द्विताले व्यक्तिगत सम्बन्धलाई समेत नराम्ररी प्रभाव पारेको थियो । लामो समय चलेको त्यही द्वन्द्वका कारण पीपलबोट वरपर र पीपलबोटबाहिरसमेत साहित्यकारका झुन्ड फरक–फरक थिए । भिन्न विचारका साहित्यकार एक ठाउँ बसेर छलफल र बहस गर्ने संस्कृति नै थिएन । माधव घिमिरे र गोपालप्रसाद रिमालका झुन्ड फरक–फरक थिए । भूपी शेरचन र मोहन कोइरालाको संगत र समूह एउटै थिएनन् ।

‘नेपाली साहित्यमा संस्कृतको प्रभावमा हुर्किएका साहित्यकार र आधुनिक साहित्यिक चेत राख्ने साहित्यकारबीचको द्वन्द्व अहिलेसम्म पनि सुषुप्त अवस्थामा छ, त्यसवेला यो द्वन्द्व बलशाली थियो,’ लेखक अविनाश श्रेष्ठ भन्छन् । साहित्यकारमाझ हुने थुप्रै द्वन्द्व श्रेष्ठले देखे, भोगे । ०५५ सालमा विजय मल्ल बिरामले थलिएका थिए । उनको घर न्युरोडस्थित पाखो पोखलड्याङनजिकै साहित्यकारहरू भेला हुन्थे । मल्लको घरनजिकै भेला भए पनि श्रेष्ठको सरसंगतका धेरै साहित्यकार मल्ललाई भेट्न गएनन् । ‘पञ्चायतकालमा एकेडेमीको सदस्य सचिव र उपकुलपति भएकाले हाम्रा धेरै साथीहरू मल्ललाई भेट्नै जाँदैनथे,’ उनी भन्छन् ।

पीपलबोटको ‘स्वर्णयुग’ भने पञ्चायतकाल नै थियो । समालोचक पुरुषोत्तम सुवेदी लेखक र विद्यार्थीका फोरमले नै पञ्चायतको सशक्त प्रतिरोध गरेको बताउँछन् । ‘विद्यार्थीले सशक्त सडक आन्दोलनमार्फत पञ्चायतको प्रतिरोध गरेका थिए भने लेखकहरूले सिर्जनात्मक रूपले प्रतिरोध गरेका थिए, लेखकलाई साहित्य सिर्जना गरेकै कारण समाइहाल्न सक्ने अवस्था थिएन, त्यसैले उनीहरूले त्यसवेला पञ्चायतसँग ठूलो संघर्ष गरेका थिए,’ उनी भन्छन् ।

पीपलबोट वरपर राज्यका सिआइडी छ्यापछ्याप हुन्थे । तैपनि प्रशासकबाट सेन्सर नगरिएका पञ्चायतविरोधी कविता वाचन हुन्थे । राज्यमा दर्तै नभएका तर भरमार व्यवस्थाविरोधी सामग्रीले भरिएका पत्रिका निस्किन्थे । कवि र श्रोतामाझ अञ्चलाधीशबाट सेन्सर हुनुअघिका ‘फ्रेस’ कविता पत्रिका निस्किनुअघि नै पुगिसक्थे । पीपलबोटमा पञ्चायतका ‘गसिप’ खुबै चल्थे ।

कुन मन्त्री बर्खास्त हुँदै छ ? कसले के गर्दै छ ? किसिम–किसिमका हल्ला छिनछिनमा आइरहन्थे ।  सिकारु साहित्यकारका लागि भने पीपलबोटका भेटघाट र जमघट नै परिचयका आधार थिए । साहित्यिक सिर्जना छापिनु नवप्रवेशीका लागि ठूलो संघर्षको विषय थियो । त्यहीँको चिनजान परिचय निर्माणको पहिलो खुड्किला थियो । नागरिकको अभिव्यक्ति अधिकार हरण भएको समय पीपलबोटबाटै साहित्यकारले जागरण र प्रतिरोधका आवाज दिए । साहित्यिक आन्दोलन चलाए । त्यहीँबाट पत्रिका निस्किए ।

पीपलबोटको आधा शताब्दीभन्दा लामो जमघट परम्परालाई अहिले पनि केही साहित्यकारले निरन्तरता दिइरहेकै छन् । तर, पीपलबोटमा त्यसवेला हुने लेखकको विशाल जमघटजस्तो अहिले कहाँ हुनु ? केही साहित्यकार भने नियमित आउँछन्, चिया पिउँछन्, वाद–प्रतिवाद गर्छन्, पत्रपत्रिका पढ्छन् र छलफल गर्छन् । पीपलबोटको ‘लिगेसी’ सम्हालिरहेका तिनै साहित्यकारलाई भेट्न बिहीबार पीपलबोटछेउ पुग्दा जम्माजम्मी दुईजना लेखक भेटिए ।

कथाकार अविनाश श्रेष्ठ र कवि तथा समालोचक पुरुषोत्तम सुवेदी । अरू दिन नियमित आउने लेखक पनि काठमाडौंको आकाश धुम्मिएको त्यस दिन भेटिएनन् । श्रेष्ठ र सुवेदीले पीपलबोटसँगका पुराना सम्झना सुनाए । पीपलबोट वरपर घटित लेखकका किस्सा र ‘लीला’ सुनाए । केही प्रसंग ‘अफ द रेकर्ड’ भनेरै सुनाए ।

पीपलबोट सँगसँगै जोडिन आइपुग्छन् साहित्यकारका मदिरा प्रसंग । पीपलबोट वरपरका इन्द्रेणी, इन्दिरा, डाँफे, मोतीमहल साहित्यकार जमघट गर्ने प्रख्यात रेस्टुरेन्ट थिए । खुवाउने, पिलाउने मामिलामा सम्भ्रान्त परिवारका भूपी शेरचन उदार थिए । काठमाडौंबाहिरबाट आउने साहित्यकारले त सहरमा बाँच्नकै लागि भीषण संघर्ष गर्नुपथ्र्यो । टिक्नै मुस्किल थियो । तर, भूपीलाई त्यो समस्या थिएन । त्यसमाथि पाँच रुपैयाँमा पाँचैजना मात्ने गरी लोकल रक्सी पाइने समय थियो त्यो ।

भूपी र हरिभक्त कटुवालसहित ८–१० जना पियक्कडको टोली पीपलबोट वरपरका रेस्टुरेन्टमा मध्यरातसम्म मदिरामा मस्त हुन्थे । मदिरा नपिउने रोचक घिमिरेलाई समेत उनीहरू जबर्जस्ती आफैँसँग बसाउँथे । त्यसवेला पारिजात बहिनी सुकन्यासँग पुतलीसडक बस्थिन् । राति अबेरसम्मको खानपानपछि कहिलेकाहीँ उनीहरू पारिजातको डेरा पुग्थे । सुतिसकेका पारिजातका दिदी–बहिनीलाई उठाउने जिम्मा रोचक घिमिरेले लिनुपथ्र्यो । मदिराको तालमा आएका उनीहरूलाई धेरै रात सुकन्याले चिया पकाएर खुवाएकी छिन् । कहिलेकाहीँ पारिजातकै कोठामा अबेरसम्म नाचगान र गफ गरेर फर्किन्थे । हरिभक्त कहिलेकाहीँ पिएर सडकमै ढल्थे । ईश्वर वल्लभ र मनु ब्राजाकीका मदिरा अखडा पनि पीपलबोट वरपरै थिए ।

नेपाली साहित्यमा विशेष अर्थ राख्ने दुईवटा आन्दोलन पीपलबोटमै उठेका थिए, सडक कविता क्रान्ति र बुटपालिस आन्दोलन । ०३६ सालमा जनमतसंग्रह घोषणा भएपछि बहुदलीय व्यवस्थाका समर्थक कविद्वारा छेडिएको आन्दोलन थियो, सडक कविता क्रान्ति । लेखकहरू पञ्चायतको विरोध र बहुदलीय व्यवस्थाको समर्थनमा कविता बोकेर सडकमा निस्किएका थिए । भवानी घिमिरे, अशेष मल्ल, हरिभक्त कटुवाल, मोहन कोइराला, दिनेश अधिकारीलगायत कविले सडकमै कविता वाचन गरेर प्रजातन्त्रप्रतिको प्रतिबद्धता व्यक्त गरेका थिए । पीपलबोटबाट उठेको पञ्चायतविरोधी र स्वतन्त्रता पक्षधर आवाज गाउँगाउँसम्म पुग्यो ।

०३१ सालमा सरकारले सामयिक संकलमाथि प्रतिबन्ध लगायो । त्यही कारण दर्ताविनै चलिरहेका पत्रिका बन्द भए । अभिव्यक्ति अधिकारलाई कुण्ठित गरिएको थियो । युवाले पाउँदै आएका अभिव्यक्तिका माध्यम खोसिए । देशमा उकुसमुकुसको वातावरण रहेको त्यस समय साहित्यकारको एउटा समूह प्रतीकात्मक विरोधमा उत्रियो, ब्रस र पालिस बोकेर । शैलेन्द्र साकार, भाउपन्थी, प्रेम कैदी, नारायण ढकाल, कविताराम, धु्रव सापकोटा, भवानी घिमिरेलगायत साहित्यकारको समूहले सडकमा युवा लेखकका रचना प्रकाशनका लागि भन्ने आशयको तुलमुनि जुत्ता पालिस गरे । तीन दिनसम्म नयाँ सडकमा चलेको त्यो अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो ।

पीपलबोटको जमघटबाटै साहित्यिक समूह बन्थे र भत्किन्थे । त्यहीको परिचयले साहित्यकारहरू लामो समय नजिकको छलफल र बहसमा रहन्थे । विमल निभा, नारायण ढकाल, श्यामल, राजव, पुरुषोत्तम सुवेदीहरूको समूह पीपलबोटकै संगतलाई निरन्तरता दिइरहेका छन् । यो पुस्ताका साहित्यकारहरूमा अघिल्लो पुस्ताको जस्तो फरक विचारप्रति हेयको भावना नरहेको बताउँछन् सुवेदी । ‘म ०४० साल वरपरबाट पीपलबोट जान थालेको हुँ, त्यहाँ कम्तीमा पनि २ सयको हाराहारीमा साहित्यकार भेट हुन्थे, हाम्रो पुस्तामा भने फरक मतका सर्जकहरू पनि एक ठाउँ बसेर छलफल गर्ने संस्कृति थियो, पहिलो पुस्तामा जस्तो एक ठाउमै नबस्ने भएन हामीबीच,’ उनी भन्छन् ।

०४६ सालको जनआन्दोलनमा पनि पीपलबोटले आफ्नो भूमिका निभायो । आन्दोलनको सफलतासँगै लुटिएका अभिव्यक्तिका अधिकार फिर्ता भए । पत्रिकाको संख्या बढ्न थाल्यो । अभिव्यक्तिको अवसर फैलिँदै गयो । कति साहित्यकार पार्टी ‘कोटा’मा एकेडेमी छिरे । सञ्चारको दु्रत विकासले फड्को मारेसँगै्र पीपलबोटको ओज र प्रभावसमेत कमजोर बन्दै गयो ।

तैपनि साहित्यकारको एउटा समूह नियमित पीपलबोट वरपरका अखडामा जम्मा भइरहेकै छ । पछिल्लो आठ–दश वर्षको दौरान उनीहरूले जम्मा हुने ठाउँ मात्रै सात–आठपटक परिवर्तन गरिसके । धेरै गल्ली परिवर्तन गरिसकेका उनीहरू अहिले भूगोलपार्क छेउको चियापसलमा जम्मा हुन्छन् । नारायण ढकाल, शार्दूल भट्टराई, पुरुषोत्तम सुवेदी, विमल निभा, बुद्धिसागर, नयनराज पाण्डे, सीताराम उप्रेती प्रायः पीपलबोट पुगिरहन्छन् । ३ वर्षअघि मुटुको अप्रेसन गराएका अविनाश श्रेष्ठ नियमित नभए पनि पीपलबोट पुगिरहन्छन् । नेपाल आएको समय राजव दैनिक पुग्छन् । रघु पन्त, झलक सुवेदी, अभय श्रेष्ठ र राजेन्द्र पराजुली पनि फाट्टफुट्ट पुगिरहन्छन् ।

त्यहाँ पुग्ने साहित्यकारमा छलफलका विषयको कुनै सीमा छैन । साहित्यिक विशेष सामग्री, दैनिक पत्रिकाका लेखको समीक्षा त्यहीँ गर्छन् । भारतीय समाचारपत्रमा आएका विषयमा पनि बहस गर्छन् । एकअर्कालाई उडाउने, व्यंग्य गर्ने, आलोचना गर्ने, बाझाबाझ गर्ने सबै हुन्छ । पीपलबोटबाहिर त्यहाँ जम्मा हुने लेखकलाई लिएर एउटा ठट्टा चर्चित रहेछ । ‘छलफल गर्दागर्दै कसैलाई पिसाब लाग्यो र बाहिर निस्कियो भने त्यसैको आलोचना गर्न थाल्छन् भनेर हामीलाई बाहिर उडाउँछन्,’ सुवेदी आफूहरूबारे बाहिर चलेको किस्सा सुनाउँछन् ।

कसैको किताब छापिए भोज खुवाउने अखडा छन् । मदिरा पनि खुब चल्छ उनीहरूबीच । बुद्धिसागर र नयनराज पाण्डेबाहेक अरूले बाहिर पुस्तक विमोचन गर्दैनन् रे ! उनीहरू पीपलबोटकै अखडामा पुस्तक विमोचन गर्छन् । पुरुषोत्तम सुवेदीले आफ्ना सबै पुस्तक त्यहीँ विमोचन गरे । नारायण ढकाल प्रकाशकले पुस्तक बाहिर विमोचन गरे पनि पीपलबोटमा समेत जमघट जुटाउँछन् । उनीहरूको सम्बन्ध पीपलबोटबाहिर परिवारसम्मै फैलिएको छ । पैसाको सरसापट चलिरहन्छ ।

अहिले पीपलबोटको महत्व  त्यही रूपमा छैन । पीपलबोटबाहिर पनि साहित्यकारका जमघट हुने अखडा बनिसकेका छन् । तैपनि उनीहरू नियमित रूपमा किन आउँछन् त पीपलबोट ? आफ्ना स्मृति पुनर्ताजगी गर्न आउँछन् कि अहिले पनि पीपलबोट आसपासका जमघटको कुनै अर्थ छ ? ‘हामी रुढि धान्नलाई आएका होइनौँ, पीपलबोटप्रति ऋणी पनि छैनौँ, व्यक्तिगत फाइदाका लागि पनि आउने होइन,’ सुवेदी भन्छन्, ‘छलफल र बहसका लागि आउँछौँ, यो हाम्रो भेटघाटको उपयुक्त केन्द्र पनि हो ।’ उनी पीपलबोटको जमघटले लेख्ने र बाँच्ने ऊर्जा दिएको तर्क गर्छन् । यस्तै, कथाकार श्रेष्ठ भने नियमित जमघटले पीपलबोटको ‘लिगेसी’लाई अक्षुण्ण राखेको बताउँछन् । ‘यसले नेपाली साहित्यको गौरवशाली लिगेसीलाई जिउँदो राखेको छ, हामी अब नयाँ पुस्ताले यसलाई जोगाइदेओस् भन्ने चाहन्छौँ ।’