“तिमी पुग्यौ धेरै टाढा हिँड्नेलाई बाटो रै’छ
छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ ।”

उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो “तिमी पुग्यौ धेरै टाढा” को स्थायी लाइन हुन् ।

कवि, नाटककार तथा गीतकार गणेश खड्का प्रवासमा बसेर कलम चलाउँछन् । प्रवासमै बस्ने अर्का सङ्गीतकार तथा गायक नवीन खनालले शब्द मन पराएपछि सहकार्य गर्ने सल्लाह त भयो तर रेकर्डिङ्गको प्रक्रिया थाल्नै वर्षौँ लाग्यो । प्रवासी जीवन बाध्यता, आवश्यकता र परिस्थितिको दास हुँदै हो । समय अर्काको अधीनमा हुन्छ अनि जिन्दगी पनि अरूकै बन्दकीमा ।

पराधीन जीवन शैली र बन्दकी समयका छोक्राहरु निचोरेर आफूलाई थोरै भए पनि सिर्जनशील बनाउनु आत्मसन्तुष्टिको शर्तमा गतिलै कुरा रहेछ । लेखिएर छोडेको गीतप्रति अन्याय नहोस् भन्ने हेतुले गीत रेकर्ड भयो । पुरुष आवाज सङ्गीतकार नवीन आफैँले दिने भए । महिला आवाजमा गायिका रजीना रिमालले तत्परता देखाइन् ।

गीत त रेकर्ड भयो, तर सुन्ने होइन हेर्ने जमानामा अडियोले मात्रै गीतको पूर्णता महसुस गराउने कुराे थिएन । अडियोमा देखिएको सन्तोषजनक फसलले यसको भिडियो पनि निर्माण गर्ने आकांक्षा बढायो । सबैको मन मिल्यो । टिम बन्यो र एउटा प्रेमिल साङ्गीतिक कर्मले पूर्णता पायो । गीतकार सेसेल्स, सङ्गीतकार कतार अनि गायिकालगायत अन्य टिम सदस्य नेपाल । तीनतिर बसेर काम गर्नुपर्दा केही उल्झन र असहजताका बाबजुद पनि अन्तत: मनले खाएको शब्दमाथि सहकार्य गर्न पाएकोमा प्रस्तुत गीतमा सामेल सबै श्रष्टाहरु हर्षित छन् ।

केही समयको व्यवहारिक विश्रामपछि गायिका रजीना रिमाल यही गीतमार्फत् पुन: आफ्नो साङ्गीतिक मेलामा फर्केकी हुन् । शब्द, सङ्गीतले अत्यन्तै छोएपछि उनी गाउन उत्साहित भएको बताउँछिन् । पानीको फोकाजस्तो भयो हाम्रो माया, सयौँ जूनी पाउन सकिन्छ सकिन्नँ… जस्ता कुनै समयका चर्चित र लोकप्रिय गीत दिइसकेकी गायिका रजीना यो गीतबाट अझै सन्तुष्ट साथै आशावादी रहेको सुनाउँछिन् । उःबेलाको आफ्नो रेडियो सहकर्मी गणेश खड्कासँग उतिबेलै पनि सहकार्य गरेको बताउने सङ्गीतकार तथा गायक नवीन खनाल भन्छन्, “गणेश खड्काका शब्दहरू विशेष लाग्छन् । उसका शब्दमा शिल्प, काव्य, कला र मन तानिरहने एक प्रकारको अर्गानिक तत्त्व हुन्छ । त्यसैले छोड्न सकिनँ, केही ढिलै भए पनि धित मारेर रहर पुरा गरेँ ।”

स्वर्गकी परी तिमी अप्सराकी रानी… पचासको दशकमा चलेको गीत हो नवीनको । नाटक, कविता, गीत, गजल तथा समसामयिक लेख रचनामा कलम चलाउँदै आएका साहित्यकार गणेश खड्काका यसअघि पनि केही गीतहरू बजारमा आइसकेका छन् । साथै नाटकसङ्ग्रह र कवितासङ्ग्रहका पुस्तकहरू पनि प्रकाशित छन् ।

अन्तरर्जातीय प्रेम सम्बन्धको सङ्घर्षपूर्ण कथा भन्दै अन्ततोगत्वा आपसी समर्पण र सङ्कल्पले प्रेमसँगै जीवन पनि सफल हुन्छ भने वस्तुनिष्ठ सत्य तथा सामाजिक सन्देश दिएर गीत क्लाइमेक्समा सुखान्त भएर सकिन्छ । प्रस्तुत गीतको म्युजिक भिडियोमा दृश्य सुवेदी र रुषा नेउपानेले जीवन्त अभिनय गरेका छन् । गीतमा रिकेश गुरुङ्गको सङ्गीत संयोजन, हरि हुमागाईंको छायाङ्कन अनि शिव पुरीको निर्देशन तथा सम्पादन रहेको छ ।

बुढासुब्बा डिजिटलमार्फत् २ पौष २०७८ का दिन नेपाली साङ्गीतिक बजारमा ल्याइएको यो गीतको कार्यकारी निर्माता पनि गीतकार गणेश खड्का नै रहेका छन् । थप बुझ्न म्युजिक भिडियो नै हेर्नुपर्नेहुन्छ ।

भिडियोको लिङ्क

[embedyt] https://www.youtube.com/watch?v=1ILu0-EYaoY[/embedyt]