२५ चैत्र २०७६ अप्रिल ७ २०२०

आज राम्रो संयोग प¥यो । ३:३० मा ब्यूँझेर माथि चढेँ । डायरीको आरम्भ पनि यहीँबाट । धेरै महत्त्वपूर्ण उल्लेख्य कुरा होला जस्तो त छैन । किनभने युरोप अमेरिका पुगेका नेपालीहरु धेरै डराएका छन् । उता आफ्नो शरीर आफैँ जोगाउनुपर्ने दिन आएको छ । कसैले हेर्नेवाला छैन, देख्नेवाला छैन । बिहान भाइ अर्जुन पराजुलीको व्यंग्य कविता आएको भेटियो, मेरो कवितासँग यस परिस्थितिको ध्वनि मिल्छ ।

बेशीर्षक

हामी जीवनभर जसलाई
भेटी चढायौँ, पाती चढायौँ
नसक्नेले धूप बात्ती
सक्नेले सुनको हात्ती चढायौँ
फलफूलका गेडा, लड्डु, पेडा
भाँती भाँती के के जाति चढायौँ
अहिले हामीलाई सङ्कट पर्दा
ज्यान जोगाउन हार गुहार गर्दा
सुनका, हात्ती चढ्नेले पनि छोडिदिए
भोट खानेले पनि छोडिदिए
अब हाम्रो जिम्मा लिने कोही छैन
केवल नर्स र डाक्टरको भर छ
पूजा गर्दा आजदेखि हामीले
तेत्तीसकोटी देवताको होइन
नर्स डाक्टरको गर्नुपर्छ
०००

पश्चिमी राष्ट्रमा कोरोना भयंकर तीव्र गतिमा चम्किरहेको खबर छ । हिजो बेलायतका स्रष्टा भाइ कृष्ण बजगाइँको बोलीमा त्यही सन्देह र द्वन्द्व थियो । आज भर्खरै देखेँ— नारायण गाउँलेको स्टाटसमा जीवा लामिछानेको यस्तो मूल्याङ्कन छ लकडाउन नगर्ने बेलायतको ।

जीवा लामिछानेलाई उद्धृत गर्दै नारायण गाउँलेले स्टाटस चढाएका छन् यसरी— इटाली, स्पेन, अमेरिका र फ्रान्समा हजारौं व्यक्तिको ज्यान गयो । बेलायतमा पनि पाँचहजारभन्दा बढीले ज्यान गुमाइसके । झट्ट सुन्दा यो चित्र निकै डरलाग्दो हुँदोरहेछ । मलाई चीन र इटालीको खबरले यस्तै डर लाग्थ्यो । विशेष गरी हस्पिटल र स्वास्थ्यकर्मी कसरी जुध्दै होलान् भन्ने कल्पनाले मनमा त्रास उत्पन्न गर्थ्यो ।

खबर पढेर जति डर लाग्छ, लौ सबैथोक सकियो कि जस्तो लाग्छ, तर वास्तविक जीवन भने त्यति नै डरलाग्दो चाहिँ हुँदैन रहेछ । हामी दुवै संयोगले बेलायतको हस्पिटलमा काम गर्छौं । जीवन पहिले जस्तो त अवश्य छैन तर बाहिरबाट देखिने जस्तो कहालीलाग्दो पनि छैन । लकडाउन छ तर दिनमा एकपल्ट हिँड्न, दौडिन या एक्सरसाइज गर्न बाहिर निस्किन पाइने हुनाले सडकमा मान्छेहरू आफ्नै गतिमा हिँडेका देखिन्छन् । किनमेल गर्न या घरबाटै गर्न नसकिने कामका लागि आवतजावत गर्न पाइन्छ । अलि भीडभाडबाहेक अरूलाई पुलिसले रोकेर फाइन गर्ने अभ्यास यहाँ छैन, सम्भव पनि छैन । अत्यावश्यक काममा जानेहरूलाई असुविधा नहोस् भनेर बस र रेलहरू चलेका छन् । खाद्यान्न, तरकारी र औषधी बेच्ने सबै पसल खुला छन् । ब्याङ्क, हुलाक र कुरियरहरू चलेका छन् । यहाँ प्रायः सरकारी काम टेलिफोन या हुलाकबाट हुन्थ्यो, अहिले पनि हुन्छ । हुलाकबाट हुने काम झन् छिटो हुँदो रहेछ । प्रायः किनमेल अनलाइन नै हुन्थ्यो, त्यो आज पनि जारी छ । ताजा फलफूल, दूध, तरकारी, खाद्यान्न बरु शुरूका केही दिन नपाइने हो कि भन्ने थियो, अहिले जताततै पाइन्छ । मैले शुरुमा पूरा मूल्य तिरेर तीन बोरा चामल किनेँ, अहिले आधा मूल्यमैं ‘सेल’मा छ । सडकमा मान्छेले बाक्लै मास्क लगाएको पनि देख्न पाइन्न । फेसबुकमा जस्तो त्रास देखिन्छ, घरबाहिर निस्किँदा त्यो कत्ति महसुस हुँदैन ।

यहाँ स्वास्थ्य सेवा निःशुल्क भएकाले परीक्षण र उपचार सरकारको दायित्व हो । लक्षण देखिए एक कल फोन गरेपछि कामबाट सजिलै बिरामी बिदा पाइन्छ । कम्पनी सानो भयो र तलब दिन सकेन भने सरकारले दिन्छ । घरमै आइसोलेसनमा बसेकाहरूले एक कल फोन गरेपछि स्वयंसेवकहरूले आवश्यक खाद्यान्न पसलबाट घर ल्याइदिन्छन् । प्रायःले इष्टमित्रबाट यो काम चलाएका छन् ।

सरकारी अधिकारीहरू पक्कै आत्तिएका होलान् तर हस्पिटलदेखि सडकसम्म आम नागरिकमा त्यस्तो अत्याहट अनुभव हुँदैन । यस्तो लाग्छ, मान्छेलाई केही थाहै छैन । कति मान्छे भाइरसबाट सङ्क्रमित भएर पनि निको भइसके । ती काममा फर्किसके । केही लक्षण देखिएर अहिले घरभित्रै छन्, हामी दुईजस्तै ।

जति समृद्ध देश भए पनि एकैपल्ट हजारौँ मान्छे बिरामी भएपछि सेवा पुरर्‍याउन सजिलो नहुने रहेछ । भएको यत्ति हो । अरू बेला प्रयोग नै नहुने संख्यामा भेन्टिलेटर र आइसियु बेड कसैले बनाएको हुँदैन । भेन्टिलेटर मात्रै भएर भएन, बेड (स्पेस) चाहियो, जनशक्ति चाहियो । औसतमा आवश्यक पर्ने जति यहाँ पनि थियो । तर अहिले आवश्यकता ह्वात्तै बढेपछि अप्ठेरो भएको छ, यत्ति हो । सङ्क्रमण दर सुस्त हुने हो भने स्वास्थ्य संस्थाले यसलाई सजिलै म्यानेज गर्न सक्छन् ।

विश्वभर सत्तरी हजार मान्छेको मृत्यु हुनु पक्कै दुःखद् कुरा हो तर यो तीन महिनाको जोड संख्या हो । त्यसै पनि हरेक दिन विश्वमा सरदर एक लाख पचास हजार मान्छे बिरामी पर्ने हुने रहेछ । निमोनिया वर्षौंदेखि त्यसै पनि मृत्युको ठूलो कारण हो । सर्पले टोकेर मात्रै एक वर्षमा एक लाख पैंतीस हजार मान्छेको मृत्यु हुँदोरहेछ । कोभिड १९ बाट मृत्यु हुनेको संख्या बढेको छ तर अन्य कारणबाट हुने मृत्युको संख्या घटेको पनि छ । विश्वमा सरदर मृत्यु उस्तै छ ।

उपचार र रोकथामका लागि अनुसन्धान र परीक्षण जारी छ । धनी देशले ठूलो रकम विश्वविद्यालयका लागि छुट्याएका छन् । ठूला पब्लिक कम्पनीले पनि रिसर्च गर्दै छन् । भ्याक्सिन या कुनै औषधि आउँदा त्यसमा खर्च जोडिने भएकाले अलि महँगो होला तर त्यो धनी देशले नै महँगोमा किन्नेछन् । नेपाल जस्तो देशसम्म जाँदा यसको लागत उठिसकेर यो सस्तो हुन्छ या तिनै धनी देशले अनुदान दिन्छन् । किनकि आफ्नो देशमा मात्रै निर्मूल भएर यो समस्या समाधान हुँदैन ।

रोगभन्दा ठूलो चिन्ता नपालौँ ।
०००

महासुनसान छ । चराहरु मात्रै कराउँदैछन् । बेलाबेला कुकुर भुक्छन् । बाटो सुनसान छ । घरहरु सुनसान छन् । कोही छैन, केही छैन कतै । त्यसरी युद्ध मैदानमा जसरी बौलाएर कुद्ने, गुड्ने, उड्ने मान्छे, यतै मृत्यु देख्छ, उतै मृत्यु देख्छ । भयातुरभै कल्पनामा आत्तिँदै सुत्छ । फेरि उठ्छ, टिभी खोल्छ, बिस्तारो घुमाउँछ, मोबाइल बज्दा अलिकति ध्यान भङ्गझैँ भएर कसले के भन्दैछ भनी कानमा लगाउँछ ।

समाचार आउँछन् अनलाइनमा खाँदिएर, कान्तिपुरहरु पनि चल्दैनन् तीन दिनदेखि । एक ठाउँ लेखिएको छ— साधनको अभावमा स्वास्थ्यकर्मी रेनकोट लाएर… केही अरु यस्ता शीर्षक छन्— १४ दिन पुग्यो परीक्षण भएन, ललितपुरदेखि पैदलै सप्तरी, ¥यापिड र पीसीआर किटबाट परीक्षण गरिने, सात दिनदेखि उठेन शव, सेनाले अघि बढायो स्वास्थ्य सामग्री खरीद प्रक्रिया, पीपीई भन्दै गाउन सहयोग आदि ।

देश चलाउने माथि घृणाले जनताको हृदय भरिन्छ । तर मानव भए घृणा गर्नु सो भन्दा पर तलका पशु छन् । ढाँटेका छन्, खाएका छन्, निर्लज्ज दाँत देखाएका छन्, मार्तोलले हानेर खुस्काइदिनु जस्ता । हाम्रो रक्षा कसले गर्छ ? करोड असहाय निरक्षर कसरी बाँचेका छन् यो देशमा । हिजो दमकमा आफ्ना मान्छेलाई राहत बाँडियो भन्ने आयो, आज धुलाबारीमा पार्टीका मान्छेले मात्रै पायो भन्ने आयो ।

बिहानभरि आज पनि विश्वका विख्यात साहित्यकारहरु नै पढ्दै बसेँ । अरु रुटिन ऐजन रह्यो— बिहानै चिया, ८:३० मा हल्का सूप, १० मा लन्च खाना र माथि चढेर साढे चार मिनेट सूर्य तेजको आनन्द, पल्लो घरमा ३०० जति परेवा निरन्तर गाइरहेछन्, नाचिरहेछन्, छोटो दूरीमा उड्छन् पनि । त्यसपछि साहित्यकार मुक्ति बरालसित फोन वार्ता, छत्रमान सुब्बासित पनि फोन वार्ता । यतिखेर मेरो सम्झनाको सागरमा केही दिनका तीनवटा वाचित एपिसोड बक्समा आएकाले तीनका स्रोताले धेरै रुचि राखेका छन्, खोजी बढाएका छन् । टाढादेखिका त्यतै अलमल हुन्छ, त्यसमाथि हिजोको कविताले फेसबुके सम्पर्कवाला बढाइरहेछ, त्यता पनि । त्यसपछि एउटा क्लिप आयो लोकगीतको टाढा कुनै गाउँका युवतीहरु भेला भएर मजिरा झ्याम्टा बजाउँदै एउटा गीत गाउँदै देख्छुM

नारायण !
जनताको चाहना भ्रष्टाचारी हरिहरि लागोस् कोरोना…
नारायण,
हरिहरि !!
सुन्दर शान्त विशाल नेपालको सम्मान गर्दै गाउँछौँ भजन लीला
यतिखेर देशमा घटिरहेको कुरा भजन गाउन मिल्ला कि नमिल्ला त ?
समूहM मिल्ला मिल्ला
जताततै हेर्नोस् हजूर भ्रष्टाचारको जालो बन्नुपर्ने आफैँलाई ठूलो ठालो
सानो गरीब बेरोजगारको पीडाले जनता भन्छन् नीलो कालो
मानिसको मनमा आशाहरु समाप्त पछि यसरी देश सञ्चालकप्रति तीव्र घृणा प्रकट हुँदैछन् ।

फेरि अब पढाइमा लाग्ने तयारीमा थिएँ अर्को क्लिप आयो फलाहारीको । जसमा हास्यव्यंग्यकार भाइ टंक आचार्यले गाएको एक सुन्दर रचना समावेश रहेछ । जो निम्नानुसार छः

टक्क पृथ्वीः छक्क प्रविधि

–टंक आचार्य
(महासचिव, सिस्नुपानी नेपाल)

रिट हाल्नु हुन्थ्यो, कोर्टहरू बन्द छन्
हेग पु¥याउनु हुन्थ्यो, जहाजहरू ग्राउण्डेड छन्
ग्वान्टानाओ टापुमा थुन्नुहुन्थ्यो
उभिण्डो पारेर सुलीमा उन्नुहुन्थ्यो
अणुबमले उडाउनु हुन्थ्यो
पाता कसेर लडाउनु हुथ्यो हुन्थ्यो
टाउकोको मोल तोक्नु हुन्थ्यो
नेल हतकडी ठोक्नु हुन्थ्यो
कसरी गर्नु ? अदृष्य छ त्यो
सबैलाई पिरेको छ, रोक्न सकिँदैन
भिसाबिनै छिरेको छ, छेक्न सकिँदैन
अरबौँ सशस्त्र मानवजाति एकातिर
एउटा निःशस्त्र भाइरस अर्कातिर
संसारैभरि यसैको आतंक छ, त्रास छ
घर नामको झ्यालखानामा बबुरो मान्छेको बास छ ।

लण्डनमा लञ्च र ड्यालसमा डिनर गर्नेहरु
एकाएक दुला पसेका छन्
बिजनेस र फस्ट क्लासका भिआइपीहरु
लल्याकलुलुक भएर थला बसेका छन्
बम, बारुद र मिसाइल बिक्रेताहरू
मास्क किन्ने लाइनमा उभिएका छन्
स्कचले मुख कुल्ला गर्नेहरु
सेनिटाइजरको पर्खाइमा छन्
अन्तरिक्षमा बस्ती बसाउन प्लटिङ गर्नेहरु
धर्तीमा ६ फिट प्लट नपाउने भयले स्तब्ध छन्
संसारका डनहरूलाई साइजमा ल्याउन
खोकी र हाच्छ्युँ नै पर्याप्त छन् ।

बन्द हडतालविरोधी सरकार
आफैँ थुन्दैछ सीमा, प्रवेशाज्ञा र आवागमन
लकअप छन् ग्रेटवाल, बुर्जखलिफा र डिज्नील्याड
निलम्बित छन् पाँचतारे, मेट्रो र बुलेट ट्रेन
प्रतिबन्धित छन् अंकमाल, चुम्बन र प्रेम
क्वारेन्टाइनमा छन् सिनेमा र संसद्हरु
आइसोलेसनमा छन् चर्च, मन्दिर र मस्जिदहरु ।

शिकारी छिर्दैन जंगल, जीवजन्तु आजाद छन्
चरा स्वतन्त्र छन् आकासमा, माछा मग्न छन्
हात नधुने प्राणी बिन्दास छन्, मस्त छन्
बिचरा मान्छेहरू हात धुनमै व्यस्त छन् ।
हेर्दाहेर्दै होडबाजी हल्लिएको छ,
कब्जाबाजी काँपेको छ
शक्तिशालीहरूको शक्ति हराएको छ
भिटो पावरको भक्ति हराएको छ
पृथ्वी टक्क रोकिएको छ, सभ्यताको सातो गएको छ ।

एकाएक फर्किएको छ मान्छे होसमा
प्रश्नचिन्ह लागेको छ, विज्ञानको जोशमा
आकाश सङ्लिएको छ ओजोन बाक्लिएको छ
पुनर्मिलन हुँदैछ मानवको प्रकृति परिवार र आफैँसँग
भीडबाट भागौँ, घरभित्र बसौँ
आत्मबल औषधी हो, आफैँभित्र पसौँ
एउटै सूत्र र मन्त्र हो कोरोनाको
आफूलाई नसारौँ, अरुलाई नबाँडौँ ।
०००

दुइटा साँढे सिँगौरी खेलेको देख्न थालेका छौँ । अब त्यो दृश्य प्रस्ट हुँदैछ । यताको होक्राँ डुक्रिएर भन्छ यो कोरोना उताबाट पठाइएको हो र पत्युत्तरमा उताको डाँडामा निस्केर होक्राँ गर्दै भन्छ— यो कोरोना त्यताबाट पठाइएको । दुईतिरका आडम्बर, अहंकार र दम्भ जुध्छन् । वास्तवमा विश्वविनाशको लीला यी दुवै आँगनमा झरे हुन्थ्यो । एकपल्ट सर्वनाश भइदिए हुन्थ्यो । यिनीहरुको सिङ जुरा खुस्के हुन्थ्यो, खुट्टा मर्किए हुन्थ्यो । यत्रो मानव जाति छ, भोकमरीले समाप्त हुन लागेको सुधो लाटो, बास उखेलिएको साँढेहरुको निर्धुम नाच छ यसैबेला त्यस्तो ।

दिनको खाजाको रुपमा आज सातु सेवन ग¥यौँ । सेवालाई रुघामर्की लाग्लाजस्तो थियो, सेकतापले फिरेकी छन् । साढे चारसम्म व्यायाम गर्‍यौँ । यू टुयुब हेर्दै । हल्का पसिना आउँछ । दिनभरि बसिरहेको शरीर अलिकति फरक भएर रमाउँछ ।

आजदेखि दूरसञ्चारले आफ्नो रिङटोनको भाषा अलिकति बदलेको छ— गएका तीन हप्ताभित्र यदि तपाईं विदेशबाट फर्केको व्यक्तिसँग सम्पर्कमा आउनु भएको छ भने र कोरोना भाइरस लागेको व्यक्तिको सम्पर्कमा आउनु भएको छ भने अबको दुई हप्तासम्म घरमा बसिदिनु हुन अनुरोध छ । अरु व्यक्तिबाट कम्तीमा एक मिटरको दूरी कायम गरिदिनु हुन अनुरोध छ । यदि तपाईंलाई ज्वरो खोकी छ र स्वास फेर्न गारो भएको छ भने तुरुन्त मेडिकल स्वास्थ्य चौकीलाई सम्पर्क राख्नुहोला….

तर अनेकपल्ट सुन्दा पनि प्रस्ट नबुझिने आवाजमा यो सूचना दोहोरिन्छ । झारा टारेका छन् । बस्ताबस्तै हिन्दीमा एक चेतावनी उडेर आयो—

न मेरा एक होगा न तेरा लाख होगा
न तेरा लाख तेरी होगी न मजाक मेरा होगा
गुरुर ना कर शरीरका मेरा भी खाक होगा तेरा भी खाक होगा
जिन्दगी भर ब्राण्डेड ब्राण्डेड करने वालों
याद रखना कफनका कोही ब्राण्ड नहीं होगा
कोही रोकर दिल बहलाता है और कोही हंसकर दर्द छुपाता है
क्या करामत है कुदरतका जिन्दा इन्सान पानी मे डुब जाता है
और मुर्दा तैरकर दिखाता है
मौत को देखा तो नही पर शायद वह बहुत खूबसूरत होगी
कमबख्त जो भी उससे मिलता है जीना छोडदेता है ।
गजब की एकता देखी लोगों की जमाने में
जिन्दों को गिराने में औ मुर्दों को उठाने में
ये जिन्दगी में तु नजाने कौन सी बात आखरी होगी
नजाने कौन सी रात आखरी होगी
मिलते जुलते बातों करते रहो यारों
एक दुसरे से नजाने कौन सी मुलाकात आखरी होगी ।

यो उमर आर्शाद भट्टीद्वारा सम्पादित ‘बेस्ट पोएट्री’ अन्तर्गत आएको रचना थियो अरु केही ज्ञान छैन ।

०००

मेरा कविता पाठकहरुबाट फोन आए । ती भन्दा बढी टिप्पणी आए । तिनमा पनि प्रेम र श्रद्धा छ । नेपाली भाषा, विशेष भनौँ कविताप्रतिको प्रेम छ त्यसैकारणले ती सबै हेर्दै पढ्दै कपी गर्दै राख्तै गरेँ । त्यसले अलिकति समय खायो ।

त्यसपछि एपिसोड— चार स्वजनलाई पठाएँ, ठाउँ ठाउँ यो पनि आत्मसंस्मरणको एक भाग जगत्लाई सुनाउन पाए हुन्थ्यो जस्तो । त्यसो त अहिले प्रत्येक ठाउँमा कोठाकोठामै सिंगो जगत् आफ्नै निम्ति खिचेर मानिस ढुक्कले बसेका छन् । किनभने जगत्ले उसलाई कुनै कुरा लुकाउँदैन हेर्न देख्न बुझ्न पाइने सबैकुरा जतिबेलै उसका सामु खुला छ । अझ यतिखेर नेपालका कुनकुन लाइब्रेरीमा प्रोजेक्टहरुले अनलाइन पुस्तकालय पनि निःशुल्क उपलब्ध गराउँदैछन् ।

बेलुकीसम्ममा कविताका टिप्पणी संकलित भए र एपिसोड— चारका आउन थालेका थिए । तिनीहरुलाई एकछिन् कपी गरेँ । आजको दैनिकी पूरा हुन लागेको थियो । धेरै फोन आएन । मन सबैको दुविधामा छ । यो लकडाउन अझै थप्तै छन् । अमेरिकामा अरु धेरै लड्दै छन् ।

बेलुका ज्ञानबहादुरजीको फोन आयो— सर त्यो कविताको अन्तिम तीनचार लाइनले अलिक विरोधाभाष उत्पन्न गर्छ । यस्तो बेलामा ठाउँठाउँमै बस्नुपर्ने होइन र ?

कुरा अर्कै छ मार्च ३० का दिन सयौँ नेपाली धार्चुला बोर्डरमा रोकिएका थिए । तीमध्ये तीन जना महाकालीमा हाम्फालेर एक जना कट्टुसँगै तर्‍यो, पुलिसले समात्यो यो मातृभूमि प्रेम हो कि अर्थोकै ? त्यसैले मेरो कवितालाई त्यसरी बुझिएको होला ।

यति काम सक्ता ९:३० भो अनि थर्मस बोकेर बेडरुम झरेँ ।