साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मेरो कथायात्रा

संस्मरण

Chovar Blues Mobile Size

चारपाते क्लबदेखि नै कविता कथा लेख्ने सुनाउने अभ्यासले बिस्तारै लेखनप्रतिको लगाव बढाउँदै गयो र २०२४–२०२५ साल चावहिलमा आफू पढेको मित्र सहशिक्षालय हाइस्कुलको वार्षिक प्रकाशनमा लगातार दुईवटा कविता छापिए । छापिएको त्यो पहिलो कविताले मभित्र छापामा आफ्नो नाउँ पढ्ने मोहलाई झनै हुर्काउँदै गयो । त्यो मोह मेरो आफ्नै घरको वातावरणले पनि हुर्काउँदै गयो । पिताजी स्वयम् आख्यान साहित्यमा चर्चित नाम । घरमा धेरै प्रकारका पुस्तक–पत्रपत्रिकाहरू आउने । माधव घिमिरे, भूपि शेरचन, सिद्धिचरण श्रेष्ठ, दानियल खालिङ, भैरव अर्याल, श्यामप्रसाद आदि ठूला ठूला साहित्यकारलाई घरैमा देखेर अभिभूत हुन पाइने । यसरी जानी नजानी कतिखेर लेखक बनिसकेछु, पत्तै भएन ।
मेरो लेखन यात्रा कवितालाई छाडेर गद्यमा आख्यान र बालसाहित्यको दिशामा बिस्तारै अघि बढ्यो । बालसाहित्यको दोश्रो रचनाका रूपमा बालक मासिकमा “हातिम” शीर्षक कथा थियो । त्यसपछि मधुपर्कको २०२७ असोज अङ्कमा अमेरिकी कथाकार एच.एन मुन्रोको “दुईशत्रु” शीर्षक अनुवाद कथा तेस्रो प्रकाशित रचना बन्न पुग्यो । यसरी छापिएको काथाबाट पैंतीस रूपियाँ पारिश्रमिक समेत पाउँदा लेखनप्रति आकर्षित झनै बढ्नु स्वाभाविक थियो सायद । त्यतिबेला पाएको त्यो पारिश्रमिक मेरालागि ठूलै पारितोषिक थियो, ठूलै आकर्षण ! लेखेर–अनुवाद गरेर पैसासमेत पाइने, त्यो पनि मुलुक कै ठूलो सरकारी पत्रिकाबाट ! मेरो सिकारु लेखकका लागि त्यो रोमाञ्चक अनुभव थियो । त्यसपछि त कहिले कथा, कहिले बाल साहित्य, कहिले निबन्ध र कहिले अखबारी लेख–रचना लेख्ने–छााप्ने, छापिने क्रम निरन्तर चलिरह्यो चलिरहेकै छ । हो, सुरुमा आफ्नो छापिएको नाउँ हेर्दा हुने खुसी र रोमाञ्च भने अहिले हुँदैन र त्यतिबेलाको त्यो रोमाञ्चकता र खुसी सम्झँदा पनि अहिले अनौठो लाग्छ ।
यसरी अङ्ग्रेजी कथाको अनुवादबाट सुरु भएको मेरो कथायात्रामा लेखनका दृष्टिले पहिलो मैलिक कथा थियो “आँसुमा रुझेको जीवन !” । हाम्रै सक्रियतामा खोलिएको ग्राम निर्माण बन्धुमण्डलले विक्रम सम्बत् २०२८ को अन्त्य वा त्यसको पछिल्लो वर्षको सुरुतिर साहित्य प्रतियोगिताको आयोजना गरेको थियो । त्यो प्रतियोगिता चाबहिल यताको क्षेत्रीय प्रतियोगिता थियो । यो क्लब २०४३–४४ साल सम्मै सक्रिय थियो । क्लबबाट बर्सेनि नाटक खेलाइन्थ्यो । नाटक हेर्न भनी मानिसहरू टाढाटाढादेखि आउने गर्थे । बाबाको सक्रियता र लेखन–निर्देशनमा हुने नाटक प्रदर्शनी निकै चर्चित थियो । विभिन्न नृत्य गायनका कार्यक्रम हुन्थे । पछि नाटक प्रदर्शनीको त्यो चरण बिस्तारै सेलायो र केही समयपछि बन्द नै हुन पुग्यो । २०३९–२०४०, दुई वर्ष क्लबले राष्ट्रिय स्तरकै कविता सम्मेलन गरेको थियो । त्यतिबेला निकै चर्चित यो वार्षिक आरुबारी कविता गोष्ठीमा वाचित कविताहरूका दुईवटा सङ्ग्रहको सम्पादन मैले नै गरेको थिएँ ।
त्यही क्लबद्वारा आयोजना गरेको कथा प्रतियोगितामा सुनाएर प्रथम पुरष्कृत हुन पुगेको “आँसुमा रुझेको जीवन” शीर्षक कथा मेरो पहिलो कथा थियो, जुन २०३० साल असोज महिनाको वार्षिक साहित्यिक मुखपत्र जमरामा छापियो । त्यो पत्रिका नेपाल नेसनल कलेज (जुन पछि शङ्करदेव क्याम्पसको नाउँमा रूपान्तरण भयो) को मुखपत्र थियो । लेखनक्रममा यो कथा पहिलो भएर पनि छापिनेमा भने तेस्रो बन्यो । यसअगाडि लेखिएका दुईवटा कथा “कुहिरोमा रुमल्लिएको जिन्दगी” र “विद्रोह पग्लिंदै जान्छ” क्रमशः २०३० वैशाख १९ र असोज १३ गतेका शनिवासरीय परिशिटाङ्कमा प्रकाशित भएका थिए ।
मधुपर्कमा छापिएको पहिलो मौलिक कथा चाहिं “सालिक भित्रको खोक्रो मान्छे” हो, जुन २०३१ साल फागुन अङ्कमा प्रकाशित छ । समालोचना र साहित्यका इतिहासहरुमध्ये केहीमा मेरो प्रथम प्रकाशित कथाका रूपमा आँसुमा रुझेको जीवनको उल्लेख भएछ, यो मेरै कमजोरीले गर्दा भएको हुनसक्छ ।
प्रकाशनको दृष्टिले मेरो पहिलो कथा “कुहिरोमा रुमल्लिएको जिन्दगी” पनि मेरा अधिकांश कथाजस्तै यथार्थको भावभूमिमा आधारित छ । यसको अनाम पात्र एउटा सडकबालक थियो जुन आज अनेकौं संख्यामा समाजसँग आफ्नो अस्तित्वको माग गरिरहेका छन् । नागरिक भएर पनि नागरिकता गुमाउन बाध्य छन् र आफ्नो बाँच्ने अधिकारको खोजीमा भौंतारिइरहेका छन् । आज यिनैका नाउँमा अन्तर्राष्ट्रिय स्तरमा सहयोगको खोलो बग्छ भनिन्छ । भनिन्छ, अनेकौं गैरसरकारी संस्थाहरू डलरको खेती गरिरहेका छन् । हुन पनि यस्ता संस्थाका सञ्चालकहरूको पजेरो र विलासी जीवशैली अनि पानीपधेँरो झैं विदेश यात्रा देख्दा भने ती आरोपहरू निराधार छन् जस्तो लाग्दैन । उता सडक बालक र खातेहरूको जीवनमा भने खासै परिवर्तन आएको छैन । यो कथा लेखिँदा परोपकारजस्तो वास्तवमै समाजसेवी संस्थाबाहेक अरु गैरसरकारी संस्था आइसकेका थिएनन् ।
वि.सं. २०२८–२०२९ तिर कीर्तिपुरमा आधाभूत शिक्षण तालिम लिँदाको समय चलेको एउटा शैक्षिक आन्दोलनको सम्बन्धमा अगाडि नै उल्लेख भइसकेको छ । त्यो बेला कीर्तिपुरबाट फर्कंदा कलेजको कक्षा सुरु नहुन्जेल पुस्तकालय, चमेना घर र रत्नपार्कको बगैंचातिरै बित्थ्यो । रत्नपार्कको त्यही सेरोफेरोमा प्रायः याचनाको हात फैलाइरहेको देखिने एउटा बालकको कलिलो अनुहार मेरा आँखामा ठोक्किइरहन्थ्यो । बिस्तारै ऊसँग केही कुराहरू हुन थाले, कहिले एकदुई रूपियाँ उसको हातमा राखिदिन्थेँ । कहिले रत्नपार्कको चौरमा उसलाई पनि सँगै राखेर भुटेको बदाम खान्थें, ख्वाउँथें । मेरो सहानुभूतिपूर्ण व्यवहारले हुनसक्छ ऊ बिस्तारै खुल्दै गएको थियो । त्यसरी मैले उसको बारेमा टुक्राटुक्रामा धेरथोर जानकारी पाएँ ।
उसका बाबुआमा बितिसकेका थिए । गाउँमा काका–काकीको उपेक्षा र अपमान सहन नसकेर गाउँबाट भागेको थियो । काठमाडौं पसेर निकै दिन सडकमा बिताएपछि सबैले काका भन्ने गरेका एकजना मान्छेले उसलाई फेला पारेछ । त्यो काका भन्ने मानिस पनि पहिले ऊजस्तै सडकलाई नै आश्रय मानेर दुईचार पैसा माग्दै जीवन बिताउँथ्यो रे । अहिले ऊ यस्तै केटाहरूलाई जम्मा गरेर माग्न लगाउँदो रहेछ । त्यही उनीहरूले मागेर जम्मा गरेका पैसा लिएर ऊ उनीहरूको खाने–बस्ने र लाउने लुगाफाटोको व्यवस्था गरिदिंदो रहेछ । त्यो केटोको कुरा कतिसम्म सत्य थियो मँ भन्न सक्दिन, तर उसले त्यतिबेला सुनाएका कुरा तिनै थिए । त्यही बालकको बिम्ब मेरो पहिलो कथाको आधारभूमि बन्यो र यसैबाट कोरियो मेरो पाँच दशकीय कथालेखनको गोरेटो ।
भौगोलिक हिसाबले भैरव दाइ (स्वर्गीय भैरवप्रसाद अर्याल) र हामी नजिकै बस्थ्यौं । उहाँको घर जोरपाटी बजारमा थियोे, मेरो जोरपाटीकै अलि माथि आरुबारीमा । कहिलेकाहीं हाम्रो घरमा पनि आउनु हने हुँदा भैरव दाइले मलाई पनि चिन्नुहुन्थ्यो । उहाँले मेरो “दुई शत्रु” नामको एउटा अनुवाद कथा मधुपर्कमा छापिदिनु भएको थियो । त्यसैले त्यो पहिलो कथा लगेर भैरवदाइलाई गोरखापत्रमै भटेर “हुने भए छापिदिन” अनुरोध गरेको थिएँ । मेरो मन भन्दै थियो –के छापिएला र मँजस्तो सिकारु लेखकको यो पहिलो कथा, त्यो पनि गोरखापत्रजस्तो मुलुककै ठूलो अखबारमा !
“छाडेर जाऊ, म हेरौंला । हुनेभए छापौंला” भैरव दाइको जवाफ सुनेर म गह्रुङ्गो मन लिएर फर्केको थिएँ । “हुनेभए छापौंला” भन्ने उहाँकोे भनाइ सुनेपछि मेरो आशा झनै क्षीण हुन पुगेको थियो ।
जे होस्, त्यो कथा दिएर आएपछि मैले व्यग्रपूर्वक प्रतीक्षा गरेँ । हरेक शनिवारको गोरखापत्र किनेर ल्याउँथे । अनि त्यसमा आफ्नो नाउँ र कथा नदेख्दा निराश हुन्थेँ । आखिर त्यो प्रतीक्षा २०३० साउन ६ गतेको झरीले भिजेको दिन सकियो । त्यही दिनको गोरखापत्रमा आफ्नो नाम र त्यही पहिलो कथा छापिएको रहेछ । त्यो देखेपछि मैले आफूलाई अर्कै संसारमा पुगेको अनुभव गरेँ । अहिले त्यसरी छापिँदा कुनै रोमाञ्च, कुनै हर्ष अनुभव नगर्ने मेरो मन त्यतिबेला कति खुसी भएको थियो, सम्झँदा पनि आश्चर्य लाग्छ ।
त्यो कथा छापिनुमा सिकारु लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको उदार र भावनाको के कति भूमिका छ र मेरो कथाको स्तरीयताको के कति भूमिका, म यकिनका साथ भन्न सक्दिनँ । तर पनि अहिले हेर्दा विषयबस्तु राम्रो भएर पनि सिकारु लेखकको त्यो पहिलो कथा छापिनुमा कथाको प्रभावभन्दा पनि नयाँ पुस्ताका लेखकलाई प्रोत्साहन दिनुपर्छ भन्ने भैरवदाइको दृष्टिकोण कै बढी भूमिका रहेको थियो होला जस्तो लाग्छ ।
भैरव दाइबाट पछिसम्म नै प्रेरणा पाइरहेँ । बाबा कहिलेकाहीँ साहित्यको क्षेत्रमा आवश्यक वातावरण र यो उत्पादक क्षेत्र बन्न नसकेको देखेर निराशामा भन्नुहुन्थ्यो – म साहित्यमा लागेर दुःख पाएँँ, यो पनि त्यतै लाग्दै छ ।
त्यो सुनेपछि भैरव दाइको प्रतिक्रिया हुन्थ्यो– यस्तो कुरा नसुन्नु है, लेख्न छाड्न हुन्न, लेख्दै जाऊ ! उहाँको त्यो भनाइले मलाई सधैं अघि बढ्न प्रेरित गरिरह्यो । पछि विसं २०३७ जेठको सुरुदेखि त गोरखापत्रमा उपसम्पादकको रूपमा प्रवेश गरेपछि नारायण बहादुर सिंहको सहयोगी भएर काम गर्ने अवसर पाएँ ।
प्रेरणाको कुरा गर्दा सकारात्मक प्रोत्साहन मात्र नभएर हतोत्साह बनाउने प्रतिक्रियाबाट पनि आफूलाई सुधार्ने प्रेरणा पाएको छु मैले । २०३० सालमा मैले एउटा जासुसी उपन्यास लेखें र पछिल्लो वर्ष त्यसलाई रत्नपुस्तक भण्डारले प्रकाशित गर्यो । त्यसपछि अर्को एउटा सामाजिक उपन्यास लेखेको थिएँ । त्यो उपन्यास लेखेपछि बाबाको सल्लाहअनुसार नै मैले केही सुझावका साथै मन्तव्यको आशा गरेर विद्वान् कुमारबहादुर जोशीलाई विनम्र अनुरोधसहित दिएँ । पहिले राम्रै आश्वासन पाए पनि लामो समयसम्म कुनै जवाफ पाइनँ, अन्तमा उहाँले “भाषा अशुद्ध भयो लैजानोस् । भाषै नजानी के लेख्नुहुन्छ !” भनेर फिर्ता गर्नुभयो ।
एक ठाउँमा मेरो असावधानीले हो वा अज्ञानका कारणले “निर्निमेष” शब्द “निर्मिमेष” कि “निर्मिशेष” के हो, हुन पुगेको रहेछ । अरू पनि अशुद्धिहरू थिए होलान् । अहिले त कम्प्युटरमै लेखेर पठाउँदा स्क्रिनमा शुद्ध पढेका शब्द प्रिन्ट गर्दा अशुद्ध भएको थाहा पाउँछु र लज्जित हुनुपर्छ भने त्यतिबेला त सिकारु नै थिएँ ।
जे होस्, त्यो प्रतिक्रिया मेरो सिकारु लेखकमाथि निकै ठूलो प्रहार थियो र त्यसले मभित्र हुर्कँदै गरेको सिकारु लेखकको भ्रूणहत्या पनि गर्न सक्थ्यो । त्यतिबेला हतोत्साही बनाउने खालको त्यो अभिव्यक्तिको चोट झेल्न मलाई निकै कठिन परेको थियो । उहाँको भाषिक चेतना स्वाभाविक थियो होला, उपयुक्त ढङ्गमा प्राप्त सुझाव मेरा लागि लाभप्रद नै हुनपुग्थ्यो । मैले सुझावको अपेक्षा पनि राखेकै हुँ । जुन तरिकाले प्रतिक्रिया पाएँ, त्यो भने मजस्ता साहित्यमा भर्खरै लाग्ने प्रयासमा रहेको एउटा सिकारु लेखकलाई प्रेरित गर्ने र सही बाटो देखाउने खालको मैले अनुभव गर्न सकिनँ । त्यतिबेला त झन् पहिलो औपन्यासिक प्रयासमा नै पाएको त्यो कठोर प्रतिक्रियाबाट मलाई ठूलै चोट पुगेको थियो ।
त्यसबाट मलाई एउटा फाइदा भने भयो, त्यो पाण्डुलिपिलाई फेरि दोहोर्याएर सकेसम्म भाषिक रूपमा शुद्ध बनाउने मैले अवसर पाएँ । तत्कालीन उपकुलपति कविवर माधवप्रसाद घिमिरे, साहित्य विभागका सदस्य मोहन कोइराला आदि अग्रजहरूको स्नेहपूर्ण सद्भाव र सदासयताका कारण त्यो उपन्यास २०३६ सालमा प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भयो । त्यस बेलादेखि मैले उपन्यामा हात खाल्न सकेको छैन । जनमत सङ्ग्रहको पृष्ठभूमिमा लगभग तीन खण्ड जति काम सकिसकेको एउटा उपन्यास पनि त्यसै थन्किइरहेको छ, अपूर्ण रूपमा । फुर्सद निकालेर त्यसलाई पूरा गर्नेछु भन्ने प्रतिबद्धताका साथै अर्को एउटा उपन्यासको खाका भने कोरेको छु ।
फुटकर सबै कथासम्बन्धी कथागर्भको उल्लेख सम्भव नहोला । तसर्थ मेरा प्रकाशित सङ्ग्रहमा रहेका केही कथाहरूका बारेमा मात्र संक्षिप्त चर्चा गर्दछु । मेरो पहिलो कथासङ्ग्रह (संयुक्त) त्रिविध भित्रका छवटा मध्येको “अखबारका पन्नामा टाँसिएको अनुहारहरू” शीर्षक कथाको घटना, पृष्ठभूमि, र पात्रहरू सुदूर पश्चिमको डोटीसँग गाँसिएको छ । त्यति बेला म राष्ट्रिय विकास सेवाअन्तर्गत डोटीको देहीमाणौंमा थिएँ । मेरो डेराको छेवैमा एउटा चिया पसल थियो । त्यहाँ चिया मात्र नभएर रक्सीको पनि व्यापार हुन्थ्यो । त्यो पसल गाउँकै बुज्रुक मानिने एकजना बाहुनकी ल्याइते श्रीमती र झड्केली छोरीले चलाउँथे । तल्लो जातकी मतवाली परिवारबाट आएकी ती महिलाको अगिल्लो लोग्नेबाट जन्मेकी झडकेली छोरी जवान थिइन् । तिनै आमा छोरीको भरमा त्यो पसल चलिरहेको थियो । पसलमा अझ रक्सीसँगै त्यो तरुनी छोरीको मादक जवानी पिउने लोभमा ग्राहकहरू बढी झुम्मिने गर्थे । आफूलाई लोग्ने र बाबु भनाउने त्यो धूर्त मान्छे उनीहरूकै कमाइमा मोजमस्ती गर्ने गर्थ्यो । आफ्नो उमेरको उत्तरार्धमा पाइला टेकेकी ती विचरी ल्याइते भनिने श्रीमती उसलाई त्यागेर हिंड्न पनि सक्दिनथिन् ।
म आफ्नै डेराबाट पनि त्यो पसलको चहलपहल देख्न सक्थेँ । नजिकै अर्को चिया पसल नभएकोले कहिलेकाहीँ मेरा लागि पनि चिया खाने ठाउँ त्यही पसल हुनेगर्थ्यो । त्यही क्रममा म उसको निर्दोष व्यवहार र उसमाथि स्वयं उसको बाबु भनिने व्यक्तिबाट भएको शोषण देखेर उसको बारेमा जान्न केही उत्सुक थिएँ । राजधानीबाट आएको सहरिया सभ्य कहलाइएको मप्रति ऊ आकर्षित हुनु त स्वाभाविक नै थियो । त्यो भट्टीमा प्रायः मद्यपान गर्न आउने ग्राहकहरूको अश्लील हेराइ, हाउभाउ र ठट्टा मात्र होइन मौका परेमा शरीर स्पर्शको आनन्द लिन आतुर चेष्टा घरिघरिको दोरिहरन्थ्यो । त्यस्ता कुत्सित शरीरस्पर्शबाट ऊ तर्सिएकी देखिन्थी । यसमाथि त्यस्तो अवसरमा मेरो उपस्थिति रहँदा ऊ झनै असजिलो अनुभव गर्थी ।
मैले बिस्तारै उनीहरूको बारेमा धेरै कुरा थाहा पाउँदै गएको थिएँ – आमाले कत्ति कर गर्दा समेत व्यापार सुक्ने डरले गर्दा त्यो कथित बाबु भनिने व्यक्ति छोरीको बिहेको कुरै सुन्न चाहँदैन । विवाह गर्ने उमेर पुगेकी त्यो केटीमा उमेरजन्य सुखी दाम्पत्यको चाहना स्वाभाविक हो । त्यसैले सहरको केटोसँग बिहे गरेर वा पोइल गएर जीवन बिताउने चाहनाले गर्दा ऊ म मात्र होइन, काठमाडौं वा अन्य सहरबाट आउने जोकोहीसँग पनि आकर्षित हुनु स्वभाविक थियो । त्यसैले मौका पारेर त्यो केटी अलि खुलेर कुरा गर्ने गर्थी । त्यस्तैमा एकदिन उसले मसँग आफूलाई पनि सँगै सहर लैजाने आग्रह गरेकी थिई । सहरसम्म लगरे छाडिदिए पनि ठूलो उपकार हुने उसको आर्त पुकार र आग्रहले मलाई अति नै कठिनाइमा समेत पारिदिएको थियो । त्यति मात्रै हुन सके पनि आफू त्यो नर्कबाट मुक्ति पाउन सक्ने उसको विश्वासलाई दरिलो आड दिन ममा साहस थिएन । मलाई धर्मको लोभ समेत देखाएकी थिई उसले त्यतिबेला । बदलामा म उसलाई सम्झाउँथें –जोसुकैसँग त्यरी हिंड्नु हुदैन, उस्तै मान्छेले विदेशमा लगेर बेचिदिन पनि बेर लाउँदैन । मेरो त्यो भनाइलाई उसले मेरो आफू पन्छने बहानाभन्दा बढी ठानेकी थिइन । त्यसको एक महिना जति पनि भएको थिएन, मैले सुनें त्यो केटी बिदामा गाउँ आएको भारततिर काम गर्ने कुनै एउटा जवान केटोसँग साथ लागेर भागी रे !
म काठमाडौं आएँ । बिस्तारै डोटी र डोटीका कुराहरू मेरो मनबाट छुट्दै गए । त्यो केटीको सम्झना पनि त्यसरी नै हरायो । त्यत्तिकैमा लगभग एक–डेढ वर्षपछि हुनुपर्छ, मेरो आँखामा एउटा समाचार पर्यो । समाचार प्रेमजालमा फँसेकी एउटी केटीलाई यसको कथित प्रेमीले भारत लगेर बेचेको विषयमा थियो । त्यो समाचारको शीर्षक पढ्नासाथ मेरो मनको चित्रफलकमा त्यही निर्दोष डोटेली केटीको अनुहार झल्झली आइरह्यो –कतै त्यो केटी पनि यसरी नै…. ! त्यसैको भावभूमिमा लेखियो “अखबारका पन्नामा टाँसिएको अनुहारहरू” !
यही सङ्ग्रहको “देवकन्या” कथाको पृष्ष्ठभूमि र घटना पनि धेरै हदसम्म माथिको यही कथासँग मिल्दोजुल्दो छ । हिजो कतिपय ठाउँमा धनी मानिसको कथित देवभक्तिको भाकल पूरा गर्ने साधन बन्नुपर्ने बाध्यतास्वरूप केटीहरूको किनबेच हुनथ्यो । यसरी केटाकेटीमै देवकन्या बनेर कृतदासीका रूपमा मन्दिर भित्रिनुपर्ने यो परम्परा डोटीजस्ता ठाउँमा त झनै बाक्लो थियो । अहिले त्यो प्रचलन हटे पनि म छउन्जेलसम्म पनि पूर्वदेवदासी वा देवकन्याको अवशेष भने बाँकी नै थियो । यस्तै अवशेषको रूपमा देवकन्या भएपछि वैवाहिक अधिकारबाट समेत स्वतः वञ्चित भएकी एउटी नारीको कथा हो यो, जो युवावस्थाको यौनजन्य चाहना र कथित ठूलाबडाको प्रलोभनजालमा परेर कुमारी आमाको नियति भोग्न बाध्य बनेकी थिई । अँध्यारोमा र लुकिछिपी देवदासीको यौवनको न्यानो अँगालोमा लुटपुटिन चाहने समाजका सफेदपोस अनुहारहरूले नै उज्यालोमा तिनैलाई समाजको कलङ्क भन्दै तिरस्कार गर्थे । त्यही यथार्थबाट पीडित र समाजबाट तिरस्किृत एउटी जीवन्त पात्र नै यो कथाको पात्र हो ।
यस्तै एउटा अर्को कथाको सम्झना हुन्छ, म अनवरत पिटर खोजिरहन्छु ! यो कथा अनेपाली परिवेश र पृष्ठभूमिको भए पनि आजको हाम्रो कथित सहरी सभ्य समाजमा क्रमशः देखा पर्न थालेको यथार्थ हो । यो वात्सल्य प्रेमको भोकमा छट्पटाइरहेका अबोध शिशुहरूको साझा कथा हो । अबोध बालकले अनुभव गर्ने यही अभावले उसभित्र उज्जण्डता र विद्रोही स्वभावको जन्म गराइदिएर असामाजिक गतिविधिको कारक समेत बन्ने गरेको छ । बेलाइतमा एउटा परिवारकहाँ पाहुना लागेर बस्दा देखेको यो यथार्थ हाम्रो समाजमा पनि दोहोरिने आशंका देखिंदै छ ।
म पाहुना लागेको घरमा दुई तीन वर्षअघि मात्रै बिहे भएका लोग्नेस्वास्नी मात्र थिए । राम्रो बचत गरेर मात्रै सन्तान जन्माउने उनीहरूको योजना, आफ्ना छोराछोरी थिएनन् । लोग्ने धारा बाथरुमको मर्मत गर्ने प्लम्बर, स्वास्नी तीन चारजान पेइङ्गेष्टको खानपिन व्यवस्थाका अतिरिक्त बिदाको दिनमा बेबी सिटिङ गर्ने । उनीकहाँ हरेक बिदाका दुई दिन तीनजना साना केटाकेटी तिनका आमाबाबुले ल्याएर छाड्थे र बेलुका आएर लैजान्थे । अर्काका छोराछोरीको रहेरचाह गर्ने जिम्मा बोकेकी सुजी फ्रेयर भने न केटाकेटी स्याहार्न जान्दथिन्, न उनमा मातृसुलभ स्वभाव नै देखिन्थ्यो । उनी केटाकेटीलाई खेलौना भरिएको कोठामा राखेर आफू यता उता अरु काममा व्यस्त रहन्थिन्, ती केटाकेटीलाई ध्यान दिने उनीसँग फुर्सदै हुँदैनथ्यो ।
बिदाको दिन घुम्न ननिस्किएको बेला म ती केटाकेटीसँग घुलमिल गर्ने गर्थें । मेरो व्यवहारले उनीहरू पनि बिस्तारै मसँग केहीबेर खेल्ने गर्न थालेका थिए, केही खुलेर कुरा गर्न थालेका थिए । त्यही क्रममा मैले थाहा पाएको थिएँ –ती केटाकेटी वास्तवमा आमा बाबुको सान्निध्य र वात्सल्यप्रेमको भोका रहेछन् । दुवैजना जागिरे बाबाुआमाका ती तीन–चार वर्षका अबोध शिशुहरू हप्ताको पाँच दिन केटाकेटीको हेरचाह गर्ने व्यवसायिक संस्था दिवा शिशु केन्द्र (डे केयर सेण्टर )को जिम्ममा छाडिंदा रहेछन् । सम्भवतः केटाकेटीहरू हप्ताको दुई दिन नै भए पनि आमाबाबुसँग बस्न पाउनुपर्छ भनेर होला बिदाको दुई दिन भने दिवा शिशु केन्द्रमा राख्न पाइँदैनथ्यो । तर ती दुई दिन फेरि अर्कैको जिम्मा लगाइँदो रहेछ । अगिपछि त अफिस नै भयो, बिदाका दिनसमेत ती बाबुआमालाई घुमफिर तथा राति अबेरसम्मको पार्टी जीवनबाटै फुर्सद हुँदोरहेन छ । यसरी बाबुआमाको माया र सान्निध्यको भोकमा छटपटाइरहेका ती अबोध शिशुहरूमा नकारात्मक प्रवृत्ति र ढीठ विद्रोही स्वभावको विकास हुँदै गएको रहेछ भन्ने मेरो अनुमान थियो । उनीहरूलाई देखेदेखि लागूपदार्थका दुर्व्यसनी, हुल्याहा गुण्डगर्दी गर्ने युवा अनुहारहरू तिनै केटाकेटीहरूको अनुहारमा अनुवाद भएको अनुभव गर्ने गर्थें म ! त्यही घटना र तिनै अबोध शिशुहरूको अनुहारबाट लखेटिएर मैले “म अनवरत पिटर खोजिरहेकोछु” लेखेको थिएँ !
पौराणिक युगकी नारीलाई मात्र होइन आजकी नारीलाई पनि भोग्याको दृष्टिले उपभोग्य वस्तु मात्र ठान्ने पुरुष मानसिकता विद्यमान नै छ । कथित सभ्य र सचेत भनिने नारीहरू समेत विज्ञापनमा सजिनु र सभ्यताका नाउँमा आफूलाई सम्पूर्णमा नङ्ग्याउनुलाई नै नारी स्वतन्त्रता र नारी मुक्ति ठान्ने भ्रमित मानसिकताबाट ग्रसित देखिएका छन् । यी दुवै खाले प्रवृत्ति नारी अस्मिता र गौरव तथा नारी समानताको अवधारणसँग मेल खाँदैनन् । यही पौराणिक पृष्ठभूमिमा लेखिएका थिए, युगयुगकी जानकी, द्रौपदी नियति र आफ्नै छायामा शीर्षकका कथा ।
स्वयम्बरको वास्तविक अर्थअनुसार कन्यालाई वर चयन गर्न दिने अधिकार खोसेर स्वयम्वरको नाउँमा जबर्जस्ती बाबुआमाद्वारा गरिदिइने परम्परागत विवाहको परम्पराले मेरो समाज ग्रस्त छ । त्यही नियति भोगेका थिए सीतालगायत रामायणकालीन कन्याहरूले । यही नियति भोगिरहेका छन् आजको एक्काइसौं शताब्दीका आधुनिक कन्याहरू पनि ! त्यसमाथि युवा अवस्थामैं आश्रय गुमाएका एकल युवतीले त सधैं सधैं अपहरणको दाउ हेरेर बसेका आँखाबाट पछ्याइने पीडानुभूति गर्नुपर्छ । यस्तै यस्तै घटनाको साक्षत्कारले “युग युगकी जानकी” र “आफ्नै छायामा” शीर्षक कथा लेख्न प्रेरित गरेका हुन् । यसरी नै महाभारतकालीन बहुपति प्रथाको अवशेष हाम्रै समाजका कुनै पक्षमा अझै पाइनुको यथार्थले “द्रौपदी नियति” लेख्न प्रेरित गर्यो । त्यो बेलादेखि आजसम्मको नारी अनुभूति र अवस्थामा पूर्ण परिवर्तन नआएको स्पष्ट हुन्छ । बहुपति प्रथाको बाध्यतामा परेर तीन–चारजना लोग्नेकी एउटै साझा स्वास्नी बन्नु पर्ने बाध्यता मनाङ–मुस्ताङ जहाँकी भए पनि एउटी स्वास्नी मान्छेमा हुर्कने मानसिकतामा बुनिएको कथा हो यो ।
यी मात्र होइनन्, मेरा प्रायः कथाहरू चरित्र, घटना र परिवेशजन्य अनुभूतिबाट प्रेरित भएर नै लेखिएका छन् । सुदूर पश्चिमकी पारुको कथा होस् वा फेरी लाउने जोगी र सारङ्गी रेट्ने काले गाइने हुन्, ती सबै मेरो समाजका जीवन्त पात्र हुन् । यी भुइँमान्छेले सधैं नै समाजप्रति औँला ठड्याइरहेका छन्, सांस्कृतिक विरासत बचाएका छन् । केही नबुझ्ने कार्यालयको पाले हर्के होस् कि आफ्नो दुखः–पीडालाई कथित ठूलाबडाको बैठक कोठासम्म पहुँच भएको भ्रममा आफैँलाई भुलाउन खोज्ने अतीतका व्यथाहरूको एउटा वृद्ध चरित्र, ती सबै मैले साक्षात्कार गरेका पात्रहरूको अनुभूतिजन्य कथावस्तु हुन् । तसर्थ, मेरा कथाका पात्रहरू मेरै समाजका यथार्थ पात्रहरू हुन् । मेरो अर्थात् मेरै समाजका मानिसहरूको चरित्र हुन् । मेरा प्रायः सबै कथा समाजबाटै टिपिएका पात्र, घटना र परिवेशबाट प्रेरित रहेका छन्, ती पात्र मेरै समाजका पात्र हुन् । म यही समाजको स्वभाव, चरित्र र चापबाट निर्मित एउटा सदस्य हुँ र समाजका हरकुराले मलाई प्रभावित गर्नु पनि स्वाभाविक हो ।
म साहित्य साहित्यको लागि हो भन्ने स्वान्त सुखायको दर्शनलाई सम्पूर्णमा स्वीकार गर्न सक्दिनँ । हो, कथा होस् वा साहित्यका अन्य विधा, लेखनबाट मलाई आनन्दबोध हुन्छ । लेखकमा अरूले पढिदेऊन् र मेरो पनि नाम होस्, प्रतिष्ठा होस् भन्ने भित्री चाहना पनि अस्वभाविक होइन । यो जोसुकै मानिसमा हुन्छ र ममा पनि निश्चय नै छ । यस अर्थमा लेखन स्वान्तसुखाय वा आफ्नै आनन्दका लागि हुने गर्छ भन्ने धारण सर्वांशमा असत्य नहोला, तर त्यो अप्रकाशित रहुञ्जेलको अवस्थासम्म मात्र हो । जब त्यो प्रकाशित हुन्छ, व्यक्तिगत सोख, सुखानुभूति र लहडको मात्र विषय बन्न सक्तैन । त्यो पाठक र समाजप्रति समर्पित हुन्छ । यस अर्थमा लेखन स्वान्तसुखाय भनेर जिम्मेवारीविहीन हुन पाउँदैन । जब त्यो समाजको लागि समर्पित हुन्छ, पाठकको लागि हुन्छ, स्वभाविक रूपमै त्यो जिम्मेवार हुनु आवश्यक पर्छ । यसर्थ मेरो स्पष्ट धारणा छ –मेरो कथा मेरै कथा हुन् । म भनेको जीवन हुँ । जीवन समाज र परिवेशभन्दा बाहिर हुनसक्दैन । त्यसैले मैले लेखेका कथा हुन् वा साहित्यका अन्य विधा । ती समाजनिरपेक्ष हुनसक्दैनन् । त्यसैले यो म अर्थात् जीवनको लागि हुनुपर्छ, म बाँचेको समाज, राष्ट्र र अझ व्यापक परिवेश समेट्ने हो भने मेरो युगको सुन्दर भविष्यको चाहनाबाट प्रेरित र सिर्जित हुनुपर्छ । त्यसैले यो निरुद्देश्य होइन उद्देश्यमूलक हुन्छ । यो मेरो धारणा हो, यसमा अरूको सहमति रहनै पर्छ भन्ने मेरो आग्रह होइन । यो स्वान्तसुखायकै लागि हो भने पनि यो मेरो अर्थात् सर्जकको लागि हुनासाथ स्वतः मान्छेको लागि हुनुपर्छ । कथा अर्थात् साहित्य मानिस स्वयम् केन्द्रविन्दुमा नरही सिर्जना हुनसक्तैन । मानवीय सम्वेग–आवेग,आर्थिक–सामाजिक, सांस्कृतिक आदि विविध विसङ्गतिबाट जन्मने सम्वेदना र सहअनुभूतिको सहजसम्वेद्य अभिव्यक्ति मेरो धारणामा कथा हो । यसर्थ यसमा कथात्मक, कलात्मक र अनुभूतिजन्य सामान्यीकरणको पूर्वशर्त त रहन्छ नै । तसर्थ जीवनको कुनै विशेष कालखण्डमा मानवीय आवेग–संवेग, आफू बाँचेको परिवेश र आर्थिक–सामाजिक विसङ्गति तथा उत्पीडनबाट जन्मिने अनुभूतिको सहजसम्बेद्य कलापूर्ण प्रकटीकरण नै मेरो धारणामा कथा हो । त्यसैले कथा मेरा लागि हुनुपर्छ । र, म भनेको जीवन हो; म बाँचेको समाजको यथार्थ हो । यसर्थ मेरो कथा पनि म अर्थात् मानिसकै लागि हुनुपर्छ । सम्पूर्ण बहुसंख्यक र समाजका उत्पीडित हाम्रो अन्तस्चेतना र आत्मबोधको उद्बोधनका साथै प्रतिकारमा दृढ रहनसक्ने आत्मबलको निर्माण मेरो कथाको उद्देश्य हो ।
सिर्जनात्मक लेखन दोश्रो प्राथमिकतामा परिदिंदा मनमा कैयौं दिनदेखि परिपाक भएका पतिपय कथाबस्तु समयक्रममा बिर्सिइएर मूर्तता पाउन नसकी बिस्मृतिका गर्भमै लोप हुन पुगेका पनि छन् । कतिपय समयमा सुरुमा एकप्रकारले सोचिइएका कथानकले धेरै समयपछि लेखनको रूप लिंदा अर्कै स्वरू र पुनर्संरचित पनि भएका छन् । ती घटनाहरू लेखनमा आउन माग र आग्रहको दबाबले पनि भूमिका खेल्ने गरेको छ । दिइएका कथाहरू नछापिई फिर्ता भएका छैनन्, दिंदा छापिन्छन् पनि । तर आग्रहबेगर रचना नपठाउने मेरो कमजोरी (घमण्ड नठानियोस्, त्यो चाहिँ होइन) का कारणले पनि प्राय आग्रह–अनुरोध आएपछि मात्रै लेख्ने अल्छी बानीले प्रोत्साहन पायो । यसर्थ मैले धेरै संख्यामा कथा लेख्न सकेको छैन ।
पुरस्कार, मानसम्मान र कदरपत्रका लागि आत्मनिवेदन र व्यक्तिगत विवरण पेश गर्दै हिंड्न पनि मेरो यही सङ्कोची स्वभाव र आत्मसमानले छेक्ने गरेको छ । सरकारी पदक र पुरस्कारका लागि त झन् सिफारिस गराउन जिन्दगीभर दौडधुप गरिनँ, त्यसैले एक पल्ट क्षेत्रप्रताप अधिकारी शिक्षा राज्यमन्त्री हुँदा पाएको साहित्यिक पत्रकारिता पुरस्कारबाहेक आजसम्म कुनै यस्ता पुरस्कारको बोझमा दबिनु परेको छैन । जनस्तरमा स्थापना भएका यस्ता मान, सम्मान र पुरस्कार भने मैले धेरै पाएको छु र यही नै मेरो वास्तविक मूल्याङ्कन पनि हो ।
आफ्नो कथायात्राको विगत पाँच दशकीय आरोह–अवरोहमा छ वटा कथासङ्ग्रहका अरिक्त उपन्यास, संस्कृति, नियात्रा, आमसञ्चार/पत्रकारिता र बालसाहित्यका गरी पचास वटाभन्दा बढी कृति र हज्जारौं फुटकर रचना, शोधपत्र आदि प्रकाशित भएका छन् । जे जति लेखेको छु, निश्चय नै यी सबैबाट म आफैं पनि सन्तुष्ट छैन । जहाँसम्म आफूलाई चित्त बुझ्नु–नबुझ्नु अर्थात् मन पर्नु र नपर्नुको प्रश्न छ, सम्पूर्णमा सन्तुष्ट हुने त कुरै भएन । यसो भयो भने त अरू लेख्नै परेन । त्यसैले म आफ्ना कथा र अन्य कृतिहरूबाट पूर्ण सन्तुष्ट छैन र राम्रा लेख्ने चाहना छँदै छ । मेरा पुस्तकको कृति समीक्षा/समालोचना गरिदिनुहुने दर्जनौं समालोचकहरूप्रति कृतज्ञ छु ।

प्रतिक्रिया
Loading...