(म डायरीको पानाबाट- रोचक प्रसंग सहितको लघु संस्मरण प्रकाशित गर्ने तर्खरमा छु । अहिलेसम्म यस्ता लघु संस्मरण १३० वटा जति भइसके। अझ थपिदैछन्। एउटा आज यहाँ प्रस्तुत गरेको छु ।)

विक्रम संवत २०५२-५३ सालको कुरा हो।
वीरेन्द्र महुमुखी क्याम्पसमा प्रतेक वर्ष हामी अंग्रेजीको कुनै न कुनै नाटक मन्चन गर्थ्यौं । केन्द्रीय विभागबाट कुनै वरिष्ठ प्राध्यापकलाई प्रमुख अतिथि भनेर बोलाउँथ्यौँ। आदरणीय दुर्गा भण्डारी, श्रीधर लोहनी, पदमप्रसाद देवकोटा आइराख्नु हुन्थ्यो।
उहाँहरूको उपस्थितिमा वीरेन्द्र क्याम्पसमा चहलपहल निकै बढ्थ्यो। त्यस वर्ष शेक्सपियरको ‘ओथेलो’ गर्ने योजना बन्यो। बिए प्रथम र दोस्रो वर्षबाट पात्रहरुको छनौट गरेपछि मलाई निर्देशनमा सहयोग गर्ने एक जना सहयोगी ट्यालेन्टको खाँचो थियो। मैले स्नातक प्रथम वर्षका विद्यार्थी दीपक पाठकलाई प्रस्ताव राखेँ। उनले सहर्ष स्वीकारे। त्यसबखत प्राध्यापक अभि सुबेदी प्रमुख अतिथिका रूपमा निम्त्याइनु भएको थियो।
हाम्रो प्रयास धेरै सफल भयो। अभि सुबेदी धेरै प्रभावित हुनुभएको बुझेँ।
त्यसपछि दीपक पाठकसँग केही वर्ष मेरो भेट भएन। एकदिन हेटौँडामा कुनै कार्यक्रमको सिलसिलामा दीपकलाई भेट्दा त उनी ‘उर्गेंनको घोडा’का लेखक युग पाठक भइसकेका रहेछन्। त्यसको केही समयपछि युगसँग मण्डला थिएटरमा पुनः भेट भयो। खुशी लाग्यो, युग एउटा सफल नाटककार पनि भएछन्- ‘युमा’मार्फत्।
कुनै संस्मरणको एक ठाउँमा युग लेख्छन्, “बिए दोस्रो वर्षको विद्यार्थी छँदा शेक्सपियरको ‘ओथेलो’ नाटकको पहिलो अङ्क मञ्चन गरेका थियौं। डा. अभि सुबेदी वीरेन्द्र क्याम्पसमा मञ्चित त्यो नाटकको दर्शक र प्रमुख अतिथि हुनुहुन्थ्यो। सहायक निर्देशकको हैसियतले पाएको प्रशंसाबाट हौसिएको त्यो दिनपछि शेक्सपियरका सबैजसो नाटकहरुको सङ्कलन र अध्यन गर्न थालेको थिएँ।”
यसै प्रसंगमा फेसबुकको एउटा टिप्पणीमा धनराज गिरीले लेखेका थिए, “बेलैमा द्रोणाचार्य पाएको हरेक अर्जुनले जीवन-कुरुक्षेत्र आरामसित जित्दछ !”
मैले भनेँ, ”छोटे, म द्रोणाचार्य होइन। तथापि हामी आफ्नो कर्तव्य गर्छौं नै। केहीपछि उदय अधिकारीले एउटा पत्रिका उपलब्ध गराए, जसमा एउटा अन्तर्वार्तामा युग लेख्छन्, “त्यसैगरी बिए पढ्दा मेजर इङ्लिसका गुरु एलबी क्षेत्री अर्का यस्ता प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो, जो आफूभित्रको ऊर्जालाई कसरी जीवन्त बनाइराख्ने भन्ने कलाका पारखी हुनुहुन्थ्यो। वहाँकै प्रेरणा र नेतृत्वमा हामीले क्याम्पसमा शेक्सपियरको नाटक ‘ओथेलो’ मञ्चन पनि गरेका थियौं। कविता र निबन्ध लेखन प्रतियोगिता पनि गराउनुहुन्थ्यो। आफ्नै घरमा लगेर फिल्म पनि देखाउनुहुन्थ्यो। मैले टाइटानिक फिल्म वहाँकै घरमा हेरेको हुँ।”
मेरा विद्यार्थीहरूको माया र उनीहरूबाट अर्पित यी शब्दहरू नै मेरो असल कमाई बनेको छ। आभार !