प्रिय अश्विनीजी,
अक्षर नै नचिनेका हाम्रा पुर्खाहरु कम्ता ज्ञानी थिएनन् । त्यतिखेर ज्ञान र सीप सिक्ने विधि नै फरक थियो । अक्षर नै नजानेका, कुनै अंक गणित, ज्यामितिको औपचारिक शिक्षा नलिएका, अझ कुनै औपचारिक विश्वविद्यालयबाट प्रमाणपत्र नभएकाहरुले शिक्षा, स्वास्थ्य, जीविका, संस्कृति, सम्पदा, निर्माणमा ठूलो परिवर्तन नल्याएका भए हाम्रो समाज यहाँसम्म आइपुग्ने नै थिएन । म जब-जब काठमाडौंको आँगनभरि मन्दिरहरु देख्छु, त्यतिखेरको समृध्द बस्तीको भग्नावशेष हेर्छु, मलाई लागिरहन्छ- कुनै अक्षर नै नचिनेको कुन इन्जिनियर र आर्किटेक्टले डिजाइन गर्र्यो होला यो शहर, यो मन्दिर, स्तुपा, चिःभाहरु ? कुन अनपढ कर्मीहरुले ती अज्ञात आर्किटेक्टको मनमा कोरेको नक्साअनुसार बनायो होला ? यस्ता धेरै अनुत्तरित प्रश्नहरुले मेरो मनको कुनै कुनामा ठाउँ लिइरहन्छ । मलाइ थाहा छैन, मेरो जीवनकालमा यी प्रश्नहरुको उत्तर खोज्न सक्छु कि सक्दिनँ । अझ हामी अक्षर चिनेका मूर्ख र अक्षर नचिनेका ज्ञानीका विषयमा पनि एक दिन चर्चा गरौंला नै ।
आज भने म अक्षर कसरी चिनेँ भन्ने कुरा स्मरण गर्न चाहन्छु । सबैको जीवनमा अक्षर चिन्न र लेख्न सिक्नु भनेको एउटा ठूलो घटना हो । संसारमा रहेका ज्ञानको भण्डार प्रवेश गर्न सर्वप्रथम भएका भाषा र लिपिमध्ये कुनै एकको नियम अनुसारको अक्षर त सिक्नै पर्यो । औपचारिक शिक्षामा सरकार र समाज सचेत नभएको काल र देशमा जन्मेकाहरु धेरैले अक्षर चिन्न र लेख्न अवसर पाउनु भनेको ठूलै अवसर हो । म पनि त्यस्तै देश, काल, परिस्थिति, परिवारमा जन्मेको हुनाले मलाई पनि अक्षर चिन्ने एउटा काकताली पर्यो ।
अक्षरसँग धेरै कुरा जोडिन्छ अश्विनीजी, अक्षर सिक्ने भन्नासाथ जन्मेको परिवार, त्यो परिवारको जात, थर, शिक्षा प्रतिको चेतना, पारिवारिक दाउपेच, छिमेक, समाज, त्यो समाजमा रहेको कुनै समाजसेवी शिक्षक आदिइत्यादिले धेरै भूमिका खेलेको हुन्छ तर मैले पनि काकतालीमै अर्थात् संयोगवश मात्र अक्षर चिनेको हुँ । त्यो संयोगको सिर्जनाकार र मेरो जन्मको सिर्जनाकार एकै हुनुभयो, मेरी आमा ।
म काठमाडौंको हाल चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकाप बल्खुमा जन्मेको हुँ । मेरा पुर्खा कीर्तिपुरबाट बसाईं सराइ गरेर आएका रहेछन् । कीर्तिपुरमै जमीन, कीर्तिपुरमै बाजेका दाजुभाइहरु हुनुहुन्थ्यो । त्यसैले नैकापको बसाईपश्चात् पनि कीर्तिपुरसँग गहिरो नाता छँदैथियो,अहिले पनि छ । छिमेकमा कुरा गर्दा कीपुमी अर्थात कीर्तिपुरे नै भनिन्थ्यो ।
नैकाप भौगोलिक रुपमा दुई भागमा विभाजित थियो, पुरानो नैकाप र नयाँ नैकाप । पुरानो र नयाँ नैकापको बीच कुनै फरक थिएन । त्रिभुवन राजपथ निर्माण हुनुभन्दा पहिलेको राजमार्ग पुरानो नैकापमा पर्थ्यो भने त्रिभुवन राजपथसँग जोडिएकै कारणले नैकापको दक्षिणभागलाई नयाँ नैकाप भनियो । त्यतिखेर पञ्चायती व्यवस्था, नयाँ नैकाप गाउँ पञ्चायत र पुरानो नैकाप गाउँ पञ्चायतमा विभाजित थियो । अहिलेको गाउँपालिका भनेजस्तै । नयाँ नैकापको राजमार्गमा जोडिएको घर थियो, घरसँगै एउटा ढुंगेधारा थियो जहाँ चौबीसै घण्टा पानी आउँथ्यो । सँगै एउटा सार्वजनिक पाटी पनि थियो, त्यो पाटीमा पैदल आउने बटुवाहरु बस्थे । कीर्तिपुरका नेवा परिवारले पृथ्वी राजमार्गमा जोडिएको जमीन किनेर घर बनाएर बसेका मेरा पुर्खा रहेछन् । हाम्रो बस्तीको एकातिर थापाहरु अर्कोतिर कार्कीहरु थिए । कार्कीहरु सत्तासँग नजिक र जमीनदार थिए । त्यसैले नयाँ नैकापमा कार्कीहरुको धाक रवाफ चल्थ्यो । हुन त नयाँ नैकापमै महर्जनहरुको बाक्लो बस्ती थियो, बन्थोक । उनीहरुको पनि प्रशस्त जमीन थियो तर किन हो कुन्नी उनीहरु कार्कीहरुसँग आफसेआफ डराउँथे । कार्की खलकलाई हजूर हजूर भन्थे ।
जातीय हिसाबले चर्को दमन थियो । नयाँ नैकापकै उत्तरतिर सार्कीहरु बस्थे । उनीहरुको पनि जमीन थियो । उनीहरु जुत्ता सिउँथे ।
हाम्रो घरमा हजूरबा हजूरआमा, आमा, बा, दुई जना काकाहरु हुनुहुन्थ्यो । मेरा काका हजूरबाहरु बसेको घरभन्दा हामी बसेको घर सानो थियो । बिजुली बत्ती थिएन । टुकी, लालटीन, मेन्टोल बाल्ने चलन थियो । आमाले मलाई ओछ्यानमै सुत्नुअघि अँध्यारोमा वर्णमाला मौखिक रुपमा कण्ठ गराउनु हुन्थ्यो । आमाले भन्नु भएपछि आमाले जस्तै मैले दोहोर्याउनु पर्ने । आमाको भनाइअनुसार म आज्ञाकारी थिएँ रे ! आमाले सानो स्वरमा भन्नु हुन्थ्यो, मैले त्यही दोहोर्याउँथे । यसरी न म बा गी स्व रा यः कण्ठ गरियो । ऊबेला शुरुवाती वर्णमालाको अक्षर यही थियो, मैले पहिलो अक्षर बोलेको लेखेको ‘न’ थियो । यसरी कण्ठ पारिसकेपछि आमाले एउटा काठको फल्याक खोजेर ल्याउनु भयो । त्यसमा आमाले गोल पिंधेर पानी मिसाएर काठको फल्याकमा कालो रङ दल्नु हुन्थ्यो र घाममा सुकाउनु हुन्थ्यो । त्यो काठको फल्याकको माथिल्लो लाइनमा आमाले अक्षर कोर्नु हुन्थ्यो र ठीक त्यस्कोमुनि मैले आमाले लेखेकै नक्कल गरी लेख्न पर्थ्यो । त्यो कालो सानो फल्याकलाई नेपालभाषामा ग्वरः भनिन्थ्यो । आमाले हरेक दिन गोलको धुलो र पानी मिसाएर कालो लगाएर मलाई खरीले कति महिनासम्म सिकाउनु भयो होला मलाई याद छैन । मलाई मेरो आमाको फुटेका खस्रा औंला र हत्केलाहरु भने याद छ । यसरी आमाले नसिकाउनु भएको भए अश्विनीजी, आज म कहाँ यो ल्यापटपमा टाइप गर्न सक्थेँ र ? आमाले राति सुत्ने बेलामा अँध्यारोमै वर्णमालाको अक्षर कण्ठाग्र नगराउनु भएको भए, मैले आज कसरी कविता लेख्न सक्ने हुन्थेँ होला ? आमाले पहिलो पल्ट सिकाउनु भएको अक्षर न बाट आमालाई नमन ! आमाले अक्षर सिकाउनु भयो अक्षर पनि आमा नै हुनुहन्छ ज्ञानको भनेर त वास्तै गरिएन, जसरी हामी सन्तानहरुले आमालाई वास्ता गर्दैनौं । अहिले त्यही अक्षरले देखाइरहेको छ जीवनको बाटो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।