साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पटना विश्वविद्यालयकी लिम्सी

संस्मरण

डेरा मंदिरीमा थियो । महद्दिपुरको छोटो बाटो हिँड्दै ब्यांकरोड, बिस्कोमान पुगी चाक्लो गान्धी मैदानको बीचको गोरेटो बाटो हिँडेर एलिफिस्टन सिनेमा पुग्थें । त्यहाँबाट टेम्पो गरेर अशोक राजपथको बाटो राजेश्वरी पुस्तक पसलअघि पुग्दा आठ आना तिर्नु पर्थ्यो । देब्रेतर्फ मोडिएर पटना विश्वविद्यालयको सुप्रसिद्ध दरभंगा हाउस, अंग्रेजी विभाग पुग्थें । कहिलेकाहीँ त्यो आठ आना बचाउन अशोक राजपथको बाटो हिँडेरै कलेज न पुगेको पनि होइन । भन्नु पर्छ, ती सकसका दिनहरू थिए नै । बिहान साढे सातदेखि कक्षा सुरु हुन्थ्यो । सधैं जसो केहीबेर अघि नै पुग्थें । म क्लासमा ढिलो हुँदैनथें । कारण अरु पनि थिए । म पुग्दा ऊ आइसकेकी हुन्थी ।

दस बजेतिर कक्षा समाप्त भएपछि हामी दुवै सँगसँगै निस्कन्थ्यौँ । राजेश्वरी पुस्तक पसलको आड़मा होटेल पायल थियो । हामी दुवै पस्थ्यौं र अन्तिम तिरको टेबलमा आफूलाई सुरक्षित महसुस गर्दै एक प्लेट भेज पकोडा, एक एक गिलास पानी र दुई कप चियाको रोहबरमा कम्तीमा डेड घण्टा त बस्थ्यौं नै । कहिले कहिले मैले, अन्यथा धेरैजसो बिल उसैले तिर्थी । उसकी आमा अरबमा थिई । धेरै जसो त्यही नै हुन्थ्यो । हाम्रो नास्ता र एक डेड घण्टा लगाएर भ्याइएको पानी, पकोडा, चिया र कुराको स्वादसँगै निस्कन्थ्यौं उसको होस्टेलतिर । त्यो ताका अशोक राजपथको पछिल्तिरको कुनै गल्लीमा उसको प्राइभेट गर्ल्स होस्टेल थियो । उसलाई होस्टेलको गेटसम्म पुर्‍याएर म फर्किन्थेँ । राजेश्वरी पुस्तक पसलबाट उही आठ आनाको टेम्पो गरेर, एलिफिस्टन अनि त्यहाँबाट गान्धी मैदानलाई बीचको बाटो चिर्दै हिँडेर बीस तले बिस्कोमान भवनअगाडि पुग्थेँ । त्यहाँबाट प्रारम्भ हुन्थ्यो ब्याङ्क रोड र अन्तिममा पर्थ्यो, ब्रिटिश काउन्सिल पुस्तकालय । बिस्कोमानअघि लिटिका पसल हुन्थे । एक रुपियाँको पाँच वटा लिटी र बैगुनको चोखा (अचार) । दाउराको कोइला चुल्हो भुइँमा राखेर ससाना गहुँ पीठोका गोलाहरु आगोमा सेक्दै लहरै बसेका ती लिटी पसललाई म राम्ररी हेर्दै हिड्थें, कुन पसलका लिटी अलिक ठूला छन् भनेर । अघिल्तिर वरको बुटोलाई घेरेर बनाइएको चबुतरामा बसी ती पाँच वटा लिटी र भुर्ता खाएर पेटमा तीन चौथाई रित्तो रहेको ठाउँलाई पानीले भर्दथेँ । पानी धेरै पिउने बानी त्यहीँबाट बसे जस्तो पनि लाग्छ तर यो पानी धेरै पिउने बानीले निकै फाइदा पुर्‍याएको छ हालसम्म । कहिलेकाहीँ भात खान मन लाग्दा बिस्कोमानको क्यान्टिनभित्र छिर्थें । एक पिलेटको एक रुपियाँ पचीस पैसा लिन्थ्यो । एउटा थालको आधा भागमा फरर फैलिएका भातका सीता, एक कचोरा दाल, तरकारी, भुजिया र आलुको चोखा । थप्न केही पनि पाइँदैनथ्यो । कस्सिएको गाँस बनाउँदा बढीमा चार हुन्थे होलान् तर म ससाना गाँस बनाएर पुर्‍याई-पुर्‍याई मीठो गरेर खान्थेँ । खाली ठाउँ भर्न पानीको सदुपयोग खूब हुन्थ्यो । म अघाउँथेँ पनि ।

बिसकोमानको भोजनपछि पाँच मिनेट हिँडेर ब्रिटिस पुस्तकालयमा छिर्थें । दिनको एक पटक त्यहाँ नपुग्दा असहज महसुस हुन्थ्यो । पहिला पुस्तकालयका प्रत्येक कोठा चहार्थें अनि अध्ययन कक्षमा पुगी एउटा कुर्चीमा बस्थेँ । त्यहाँ बोल्न मनाही थियो । केही भन्नु छ भने कागतमा लेखेर दिनुपर्थ्यो । आफूले रोजेको पुस्तकमा आँखा गाडेर कहिले विलियम ब्लेक, कहिले लरेन्स, अस्टिन, मर्डक कहिले इब्सेन, शा, शेक्सपियर, कहिले शेली, कोलेरिज, इलियटहरूको संसारमा हराउने बानी परिसकेको थियो । त्यहाँ अनगिन्ती पुस्तक थिए, सबै पढ्न चाहन्थेँ तर असम्भव थियो । फेरि पनि पुस्तकै पुस्तकहरुबीच आफूलाई पाउँदा लाग्थ्यो, पुस्तकका प्रत्येक शब्द, वाक्य र अनुच्छेदहरु मेरो मस्तिष्कमा स्वतः प्रवेश गर्दैछन् । आज त्यो अर्कै संसार थियो जस्तो लाग्छ र थियो पनि ।

bahulako diary small and inside post

पुस्तकालयको काउन्टरमा बस्ने चन्द्रजी नेपाली हुनुहुन्थ्यो । निकै दोस्ती थियो हाम्रो । अंग्रेजी बोल्नमा आफूलाई निकै सिपालु ठान्नु हुन्थ्यो । सुरुसुरुमा उहाँको अहम् पारामिटर निकै माथि पुगेजस्तो अनुमान गरेको थिएँ र कारण पत्ता लगाउन खासै गाह्रो भएन । एक त उहाँको अंग्रेजी भाषाको शुद्धताभन्दा फ्लुएन्सी निकै राम्रो, अर्को कुनै बखत ब्रिटिश काउन्सिल पुस्तकालयको वार्षिकोत्सवमा पुस्तकालय प्रमुखले ‘मिस्टर चन्द्र पौडेल इज अ लोयल यन्ड ओनेस्ट स्टाफ’ भनिदिएछ । पहिला पहिला सधैं, पछिपछि हप्तामा एक पटक त सुनाउँथे नै मलाई त्यो वृतान्त ।

पुस्तकालय सदस्यहरुले एक पटकमा चार वटा पुस्तक आफ्नो नाममा लिन सक्थे । म प्रत्येक पटक चार वटा लान्थेँ र दस पन्द्रह दिनमा पढेर वा सर्सर्ती हेरेर फिर्ता गर्थें ।

एक पटक म घर आएको थिएँ र फर्कंदा मेरा चारैवटा पुस्तक हराए । चन्द्रजीलाई पीडा भनेँ । पहिला त उहाँको फास्ट ट्रयाकको अंग्रेजी निकै चर्को आयो, पछि भन्नुभयो– म मूल्य हेरेर कतिसम्म हुन्छ कन्सेसन गराउने प्रयास गर्नेछु । त्यसै दिन साँझ उहाँ मेरो डेरामा आउनु भयो । केहीबेर कुरा गरियो र भन्नु भयो– निकै महँगो पर्ने भयो त एल. बि.जी । सबै पाउन्ड र डलरका पुस्तक हुन् । मैले ५० प्रतिशत कम गराउँदा पनि निकै धेरै तिर्नु पर्छ ।’ म केही बोलिरहेको थिइनँ । उहाँ नै एकतर्फी बोलिरहनु भयेको थियो । मैले आफूलाई ‘हुन्छ’ ‘हस’मा मात्र सीमित राखेको थिएँ । जानुअघि उहाँले सोध्नु भयो, ‘ए साँची, तपाईं त आर्मीको मान्छे । बिहार रेजिमेन्टबाट एक बोतल रम पाउन सकिन्छ होला ?’ मेरो मस्तिष्कमा सरर धेरै कुरा पसे ।
“चन्द्रजी भोलि साँझ यतिबेला नै आउनु होला न । म तपाईंलाई भोलि दुई बोतल टक्राउने छु ।”
यो सुन्दा उहाँको अनुहारमा आएको चमक र ओंठको मुस्कान कुनै प्रतियोगिता विजेताको भन्दा कम थिएन । बाहिर निस्केर त्रिवेणीको पसलबाट टेलिफोन गरेँ, ‘लिम्सी, तुम कल सुबह ८ बजे महद्दीपुर गोलघर आ जाना । वी आर गोइङ दानापुर ।’

अर्को दिन साँझ चन्द्रजी आइपुग्नु भयो । मैले एउटा झोलामा उहाँको नासो टक्राएँ र उहाँले ब्रिटिश काउन्सिल लाइब्रेरीका पुस्तक इस्सु गराउने मेरा चार वटा कार्ड फिर्ता दिनु भयो । उहाँ जानु भयो र केहीबेरपछि म र लिम्सी गर्ल्स होस्टलतर्फ लाग्यौं । बाटोमा म चन्द्रजीले बारम्बार दोहोर्‍याउने वाक्यहरु सम्झिरहेको थिएँ, ‘यु नो एलबिजी, आई एम कन्सिडर्ड द मोस्ट लोयल एन्ड अनेस्ट स्टाफ अफ माई लाइब्रेरी’ । यसो भन्दै गर्दा उहाँ धेरैजसो ‘माई लाईब्रेरी’माथि जोर दिनु हुन्थ्यो । लिम्सीलाई पुर्‍याएर फर्कंदा पनि तिनै तिनै कुराको सम्झना भइरह्यो । मेरो दुई वर्षको पटना बसाइमा चार-चारवटा गरी पाँच पटक पुस्तक हराए । दानापुर बिहार रेजिमेन्टमा मेरो ठूली आमाको छोरा गोरे दाइ थिए । रमको समस्या थिएन । हो त्यो ताका म रक्सी वा कुनै नशा गर्दिनथेँ । एउटा नयाँ अनुभव संकलन भयो- रम, खानका लागि मात्र हुँदोरहेनछ ।

एम.ए. पढ्ने ताका लिम्सी र मेरो गहिरो मित्रता स्थापित भएको थियो । मित्रभन्दा अलिक माथि तर प्रेमभन्दा धेरै तल । हामी सधैँ भेट्थ्यौं र पढाइ नभएको दिन कहिले विश्व विद्यालयको त कहिले ब्रिटिस काउन्सिलको पुस्तकालयमा पुगेर पढ्थ्यौं । तर पढ्थ्यौं, नोट बनाउँथ्यौं, एकले अर्कालाई बुझ्ने र बुझाउने प्रयास गर्थ्यौं । लिम्सी पढ़नमा तेज थिई । मेरो बि.ए. पास कोर्स मात्र थियो, उसको र उसका साथीहरुको बि.ए. ओनर्स । मैले आर्मीमा छँदा प्राइभेट बि.ए. पास गरेको थिएँ । उनीहरु रेगुलर विद्यार्थी थिए । हामीबीच धेरै कुरामा फरक थियो तर कुनै कुराले नजिक्यायो हामी दुवैलाई । थाहा छैन कसरी तर हामी नजिकियौं । म स्वार्थी थिएँ । जसरी पनि मैले एम.ए. पास गर्नु थियो । मलाई लिम्सीसँग सिक्नमा आनन्द आउँथ्यो, उसलाई सिकाउनमा । पायल होटेलमा चिया पकोडा त बहाना थियो । म कक्षामा ए.के. सिन्हा, आर. सी. प्रसाद, गुरुदास मुखर्जीका लेक्चर बुझ्न असमर्थ हुँदा उसले विस्तारमा पुस्तकहरुको थिम र समालोचानाबारे बुझाउँथी । हामी कहिले टेनिसनको ‘इन मेमोरिअम’बारे त कहिले मिल्टनको ‘पाराडाइज लस्ट’बारे कहिले ब्लेकको ‘मिस्टीसिजम’बारे छलफल गर्थ्यौं ।

चन्द्रजीको लागि दानापुर रम लिन जाँदा थ्री सिटर ( तीन जना बस्ने) टेम्पोमा हामी दुई जना मात्र बस्थ्यौं र टेम्पो हिँड्नासाथ म भन्थें– लिम, नाउ टेल मि अल अबाउट शेक्सपियरियन कन्सेप्ट अफ ट्रेजेडी । मैले भन्नु मात्र पर्‍थ्यो, लगभग १२ दुना २४ किलोमिटरको बाटोभरि ऊ किङ लियर, म्याक्बेथ, हेमलेट र ओथेलोका पात्रहरुसँग परिचय गराउँथी । कोरडेलिया र डेस्डामोनाका दुखद् मृत्युबारे भन्थी । कहिलेकाहीँ पायलमा उसले मेरो क्लास लिँदै गर्दा म उसलाई एक टक हेरिरहन्थेँ । रिसाएझैँ गरेर हेर्थी र भन्थी – क्या देख रहे हो ? मारुंगी । अनि म हाँस्थे र भन्थेँ– मैँ देख रहा हुँ, तुम कितनी खूबसुरत हो, डेस्डामोना की तरह और मैं कितना बद्सुरत ओथेलो की तरह !
‘तुम कितने बहादुर हो ओथेलो की तरह और मैँ कितनी कम्जोर डेस्डामोनाकि तरह !’ ऊ पनि जवाफ दिन्थी र हामी दुवै हाँस्थ्यौँ खित्का छोडेर ।
‘लाल तुम बहोत बदमास हो,’ ऊ मलाई जिस्क्याउँथी । म मख्ख पर्थें । नढाँटी भन्दा उसको अनुहार त्यति आकर्षक थिएन । उसको हृदय धेरै राम्रो थियो । र, मैले अर्को अनुभव गरेँ– वास्तविक सौन्दर्य अनुहारमा भन्दा हृदयमा हुन्छ ।

सन् १९६५ मा एस.एल.सी. उत्तीर्ण गरेपछि आई.एस्सी. भर्ना भएको थिएँ तर विविध कारणले १९६६ को फरवरीपछि मेरो कलेज पढ्ने र उच्च शिक्षा हासिल गर्ने सपना ‘उड़ायो सपना सबै हुरी ले’जस्तै धराशायी भएको थियो । १८ वर्षसम्म उकुसमुकुसमा बाँचिरहेका मेरा ती अधुरा रहरहरु, अनगिन्ती चाहनाहरु, कल्पनामा बुनिएका आकांक्षा र महत्त्वाकांक्षाहरु, ती युवा सपनाहरु सन् १९८४ पछि पूर्णतातर्फ लम्कदै थिए । छिप्पिएर थन्किएका बैंसे आँकुरा फेरि पलाउँदै थिए । लिम्सी र म चाँडै आएर दरभंगा हाउसको पहिलो तलाबाट उत्तरतर्फ हेर्थ्यों । सामुन्ने बग्दै गरेको गङ्गा नदीको अनवरत यात्रा हेर्दा रमाउँथेँ म । अनेकौं मोड़ लिँदै बगिरहन्छिन गङ्गा । जीवन पनि अविरल यात्रा नै त हो ! सोच्थेँ, ३५ वर्षको उमेरमा मोडका अनेकौं हन्टर भोगेको मेरो जीवन एउटा नयाँ मोडतर्फ मोडिने तरखरमा थियो । म, मेरा सपना र महत्त्वाकांक्षाहरुसँगै कल्पनामा हराइरहँदा कहिलेकाहीँ अचानक विनिता आइपुग्थी र भन्थी, ‘लाल हमसे भी शेयर कर लिया करो कुछ कुछ ! इतने बुरे हम भी नहीं हैं ।’ अनि हाँस्थे म, मेरो आफ्नै शैलीको हाँसो हा हा हा हा हा । कहिलेकाहीं अचानक राज किशोर कताबाट आइपुग्थ्यो र भन्थ्यो, ‘पायल में आज हम और अमृता भी आ रहे हैँ लाल।’
कहिलेकाहीं अत्रेयी बोस, शायद पटना विश्वविद्यालय की हाम्रो पालाकी सबैभन्दा सुन्दरी, आएर आदेश दिन्थी, ‘लाल, यु ह्याभ टु गिभ अस ट्रीट टूडे एट समीर चाट हाउस ।’
म भन्थेँ, ‘स्योर व्हाई नट । लेट्स रिच देयर अफ्टर क्लास आफ्टर टेन थर्टी ।’
उनीहरु आउँथे पनि र हामी सबै जम्मा भएर चाट, पानीपुरी खाँदै प्रोफेसर ए.के.सिन्हा, प्रोफेसर के.पी. पाण्डे, प्रोफेसर रामचन्द्र प्रसादका कुरा काट्दै रमाइलो गर्थ्यौं । हामी सबैका प्रिय प्रोफेसर थिए, गुरुदास मुखर्जी । उनको कसैले कुरा काट्दैनथ्यौँ ।

दरभंगा हाउसमा अंग्रेजीमय वातावरण हुन्थ्यो । कहिलेकाहीँ म लगायत केही जय पाण्डे, राजकिशोर, अमृता, विनिता, लिम्सी, सुमन, शशी, शम्भु कक्षामै बसिराख्थ्यौं, जोक र अनुभव सुन्थ्यौं, सुनाउँथ्यौं, गीत गाउँथ्यौं, रमाइला कुरा गर्थ्यौं । सुमनले जहिले पनि मबाट एउटै गीतको फर्माइस गर्थी–

दूर रहकर न करो बात करीब आ जाओ
याद रह जाएगी यह रात करीब आ जाओ

पटना विश्वविद्यालयका ती दुई वर्ष किशोर किशोरी छात्र छात्रहरुसँगको संगतमा रहँदा मेरो उमेरलाई कुनै गुनासो थिएन । एम.ए. पढ्दै गर्दाका ती दुई वर्षे सहयात्रा कसरी बित्यो थाहै लागेन ।

पटना विश्वविद्यालयका ती दुई वर्ष मेरा लागि स्वर्णिम वर्ष बनेका थिए । मेरो जीवन यात्राले कोल्टे फेर्दै थियो । मेरो जीवनको एउटा नयाँ आयाम लेखिन तत्पर थियो । समाजमा मेरो एउटा नयाँ परिचय प्रतीक्षारत थियो ।

प्रतिक्रिया
Loading...