कोभिड-१९ को कारणले मार्च १६ देखि घरबाटै काम हुन थाल्यो । कान्छी छोरीको स्कूल पनि बन्द । झन्डै २ हप्तापछि जेठी र माइली छोरीहरू जो टोरन्टोमा बस्दै काम गर्थे, उनीहरू पनि हामी भएको ठाउँ टिमिन्समै आए । धेरै बेफाइदाहरू भए पनि, यो कोभिडले गर्दा एउटा राम्रो कुरा भने लामो समयपछि परिवारका सबै जना सँगै बस्न पाइएको छ । साबिकझैं बिहान उठ्यो, चिया नास्तापछि अफिसको काममा लाग्यो, दिउँसो लन्च, स्नयाक्स ब्रेक लिँदै बेलुकी ४-५ सम्म काम गर्‍यो, एकछिन एक्सरसाइज गर्‍यो, कहिलेकाहीँ टेबुलटेनिस खेल्यो अनि साँझको खाना, छोरीहरू, श्रीमानसँग कुराकानी गर्‍यो, कहिले साथीभाइ, नातेदारहरूसँग कुराकानी गर्‍यो, यस्तै गर्दै धेरैजसो दिनहरू बितिरहेका छन् ।
हिजो दिउँसो, कान्छी छोरी श्रेयाले दिक्क लाग्यो भन्दै गनगन गरेपछि, उनीलाई र माहिली छोरी मेधावीलाई लिएर श्रीमानजी बाहिरतिर जान्छौँ भन्दै निस्कनुभयो । करिब २-३ घण्टापछि श्रेया र मेधावी दङ्ग पर्दै आएर भन्न थाले, “बाबाले आज हामीलाई वहाँहरूले सानोमा खेल्ने “लारी भिङ्गेटी” भन्ने खेल सिकाउनु भयो, कस्तो रमाइलो भयो । लारी भिङ्गेटी भनेको काठमाण्डुतिर खेलिने डन्डीबियो जस्तै रहेछ जुन मध्य-पश्चिम पहाडतिर खेलिन्थ्यो रे पहिले ।
छोरीहरुको “लारी भिङ्गेटी” मोह देखेपछि मलाई आफ्नो बाल्यकाल र सानोमा हामीले खेल्ने खेलहरुको सम्झना आयो । मेरो बाल्यकाल काठमाण्डुको गौशालामा बित्यो । घरकी सबभन्दा जेठी छोरी, हजुरबुबाकी पुल्पुलिएकी नातिनी, काका, फुपूहरूकी प्यारी भदैनी ! वरिपरि छरछिमेकमा कसैलाई नटेर्ने आफ्नै तालकी मस्तराम !
मेरो सम्झनामा आएसम्म मैले पहिले खेलेको “ताराबाजी लै लै, मामा आए घोडा” भनेर गीत गाउँदै ताली बजाउने नै होला । अलि ठूली २-३ वर्षकी भएपछि भने पुतली खेल्ने होला झैँ लाग्छ । प्लास्टिकले बनेको साना-साना पुतली, पेटतिर थिच्यो भने प्वाँ प्वाँ गरेर बज्ने पुतली, कहिलेकाहीँ आमा वा फुपू दिदीले बनाइदिनु भएको कपडाले बनाएको टालाटुलीको पुतलीहरू खेल्ने गर्थें । कसले हो कुन्नी ती टालाटुलीबाट बनेका पुतली सुत्ने कोठामा राख्यो भने राती बोक्सी भई आउँछन् रे भनेकोले त्यो डरले दिनभरि दुःख गरेर बनाएको पुतली राति बाहिर फालिदिन्थेँ । भोलिपल्ट त्यो कहिले पाइन्थ्यो, कहिले पाइन्नथ्यो । निकै पछिसम्म त्यो डर मनमा गढेर बसेको थियो ।
अलि ठूली भएपछि गट्टी खेल्ने, डोरी खेल्ने, तेलकासा, लुकामारी, घ्वाइँकासा, काने काने पिच्चा, रुमाल लुकाई आदि खेलियो । कहिलेकाहीँ गुच्चा र एक दुई पल्ट डन्डीबियो पनि खेलेको सम्झना छ । गुच्चा खेल्नमा त म एकताका च्याम्पियन नै भएकी थिएँ । कहिलेकाहीँ चुरोटको बट्टाको तास बनाएर खेल्ने, ५ पैसा, १० पैसाको खोपी खेल्ने पनि गरेँ । एक दुई पटक गुलेली पनि चलाएँ तर केही मारेको भने सम्झना छैन ।
गौशाला भित्रको कृष्ण मन्दिर वरिपरि पानीको पोखरीमा साना ढुंगाका टुक्राहरू फालेर पानीको तरङ्ग गन्थ्यौँ । त्यही मन्दिरको भित्तामा साना साना पोर्सेलिन वा मार्बल जस्तो टुक्राहरू टाँसेको हुन्थ्यो । ती टुक्राहरूमा अक्षर भेटियो भने विद्या आउँछ रे भनेर दिनभरि त्यस्तो अक्षर भएका मार्बलका टुक्रा खोज्ने खेल पनि हुन्थ्यो । गर्मी महिनामा वनकाली मन्दिर छेउको पोखरीमा बाँदर रुखबाट हामफालेको हेर्दै रमाउने र वाग्मतीको छेउमा बालुवाको घर बनाएर दिनभर पनि बिताइयो । रिंगरोडको अग्लो ठाउँबाट वनकालीतर्फ तलसम्म चिप्लेटी खेल्दै पुग्ने गर्दा फ्रक वा सुरुवालको पछाडी धुलैधुलो, २-४ दिनमै प्वाल पनि परिहाल्थ्यो । चौरमा लडीबुडी गर्ने, पुल्टुङ् बाजी खेल्ने, एक खुट्टी टेकेर भाले जुधाई खेल्न पनि रमाइलो हुन्थ्यो ।
माटोको भाँडाकुटी बनाउने, माटोकै पैसा बनाएर पसल गरी खेल्ने, गोल्टिनको बट्टामा प्वाल पारेर वा सलाईको बट्टामा धागोले जोडेर फोन बनाएको भन्दै परपर बसेर हेलो हेलो भन्दै खेलेको हिजैझैँ लाग्छ । सानो माटोको डल्लो जस्तोमा लामो रबरको धागोजस्तो जोडी एक छेउमा समाएर हातमा ठोक्काउदै खेल्ने खोटो सिक्का भन्ने खेल पनि थियो । तेस्तै कागजको डुङ्गा बनाएर पानीमा हाल्ने, कागजकै प्लेन बनाएर उडाउने खेल पनि रमाइलो थियो । गुहे किरालाई सलाइको बट्टाभित्र राखेर रेडियो बजाए जस्तो गरी खेल्ने र झ्यालिन्चा (dragon fly)लाई समातेर त्यसको पुच्छरमा कागजको फुर्को बाँधेर भगवानलाई चिठी पठाएको भन्दै खेलेको सम्झिँदा, ती निरीह कीरा-फट्याङ्ग्रालाई दुःख दिएर के खेलेको होला झैँ लाग्छ अहिले ।
कुनै खेलहरू चाडबाडसँगै पनि आउथे। जनै पूर्णिमा आउन थालेपछि तराईतिरबाट हो या भारततिरबाट हो डमरु बेच्ने र बेलुन बेच्नेहरू आउँथे । ती डमरु बजाउँदै केही दिन खेल्न पनि रमाइलो हुन्थ्यो । कागजको फिरफिरे बनाएर दौडिनु, सिट्ठी फुकेर अरूको कानमा कुर्र कुर्र गर्नु पनि खेल नै हुन्थ्यो । वर्षात् सकिन लागेपछि चङ्गा उडाउन सुरु हुन्थ्यो । मैले चङ्गा त्यति धेरै त उडाइनँ तर काकाहरूलाई चङ्गाको धागोमा माजा लगाउन भने सहयोग गरे जस्तो लाग्छ । अरूले उडाएका चङ्गाहरु हेर्दै चङ्गा चेट भएको हेर्दै रमाउनुको मज्जा अर्कै ! दसैँ आएपछि पिङ खेल्ने र तिहारमा भैली खेल्ने त अझै पनि पाएसम्म छोड्न मन लाग्दैन । दसैँ तिहारपछि हरेक वर्ष जस्तो विशेष गरी मङ्सिर महिनामा वनभात खान जाने गरिन्थ्यो । घरबाट चामल, दाल, आलु आदि सबैले अलि अलि लाने, भाँडाहरू पनि लाने र रुखमुनि, अझ पाएसम्म अमलाको रुखको छेउमा बनभात पकाएर खाने, खाइसकेपछि नाचगान गर्ने गरिन्थ्यो र धेरै रमाइलो हुन्थ्यो । काठमाडौँमा हुँदा भण्डारखालको वनमा वनभात खाने गरेको सम्झना छ । तर हेटौँडा गएपछि भने धेरै जसो मुजुरधापको वनमा वा आफ्नै बारीको पुछारमा वनभात खाने गरिन्थ्यो । फागुन लागेपछि फागू खेल्ने अर्को रमाइलो हुन्थ्यो । म सानै छँदा, शायद ३-४ वर्षकी थिए हुँला, फुपू दिदीको मुखभरि कालो, रातो रङहरू देखेर दिदीलाई के भयो भनी रोएकी थिएँ । पछि हेटौँडामा गएपछि आफ्नै भाइबहिनीहरूसहित साथीहरू रीता, मीरा, राधा कार्की दिदीहरुसँग धेरै पटक रङ खेलियो । गर्मी महिना लागेपछि कहिले खोला त कहिले आफ्नै बारीमा रहेको पोखरीमा पौडी खेलियो ।
सानै हुँदा पाइपको दुई टुप्पा जोडेर पाङ्ग्रा बनाएर खेल्ने पनि गरेँ एकदुई पटक । अलि ठूली भएपछि मोजाभित्र कपडा कोचेर बनाएको बल खेल्ने, सेवन स्टोन भन्ने खेल जसमा दुई पार्टी हुन्थे र सातवटा साना साना एकअर्कामा खप्ट्याएर राखेका ढुङ्गाहरूलाई सानो बलले हानेर ढलाउने र पछि तिनीहरूलाई फेरि मिलाइराख्ने खेल हुन्थ्यो । त्यस्तै रुमाल लुकाई, तातो आलु, म्युजिकल चेयर, सियोमा धागो छिराउने, चुँगी, एक खुट्टे, कबड्डी, भुरुङ घुमाउने आदि खेलिन्थ्यो । घरभित्र खेल्दा दुई वा दुईजना भन्दा बढी हुँदा “ चीँ मुसी चीँ घर घर मुसा”, “ओक्कल दोक्कल कौने मरु”, “उडकुसी मुडकुसी लावा चुन, चूनकै धारा पुतली“ आदि खेलहरू त निकै पछिसम्म पनि खेलिन्थ्यो । बाहिर आँगन वा सानो चौर भए पनि हुने खेलहरूमा “इन्टु मिन्टु लन्डनमा, हाम्रो भाइ पल्टनमा”, “ यति यती पानी, घे घे रानी ”,“ओ लहरे, है पहरे“, “लाटा दाइ, लाटा दाइ, केरा पाक्यो ?” जस्ता गीत गाउँदै खेलिने खेलहरू त लाग्छ सबै हराइसके अहिले ।
शुक्रबारको साँझ बुबाले हामीलाई सधैँझैं पढ्नुपर्ने काम बाट छुट्टी दिनु हुन्थ्यो । त्यो साँझ म लगायत बहिनी र भाइहरू गीत गाउने, नाच्ने, अन्ताक्षरी खेल्ने, वर्डमिनिङ्ग र हाजिरी जवाफ खेल्ने गर्थ्यौँ । अरू दिन सधैँ पढ्नु पर्ने, गृहकार्य गर्नुपर्ने तर शुक्रबार साँझ भने नपर्ने भएकोले कहिले शुक्रबार आउला भन्ने लाग्थ्यो । लुँडो, बाघचाल, चेस, र क्यारमबोर्ड खेलमा पनि हामी निकै समय रमाउँथ्यौँ ।
०३५-३६ सालतिरदेखि क्रिकेट, फुटबल, भलिबल र एकदुईपटक लन हकी स्थानीय टिमहरूले खेलेको हेरेँ पनि, आफैँले भने खेलिएन । पछि वन विज्ञान अध्ययन संस्थानमा पढ्दा अलिअलि टेबिलटेनिस, भलिबल, ब्याड्मिन्टन, टेनिस छोएझैँ गरियो तर खेललाई महत्त्व दिएर खेल भनेको शारीरिक साथै मानसिक स्वास्थ्यको लागि पनि आवश्यक छ भनेर कहिल्यै सोचिएन । महङ्गो खेलकुद गर्न नसके पनि दौडिने, उफ्रिने, लङ जम्प, जस्ता खेललाई त केही कुरोले रोक्दैनथ्यो होला, तर खेल्नु भनेको बिग्रनु हो भन्ने खालको त्यस बेलाको सोचले खेललाई महत्त्वहीन बनाइदिएको थियो ।
आजकल साना केटाकेटीहरूलाई हेर्दा उनीहरूको खेल र हाम्रा खेलमा धेरै अन्तर देख्छु । सबभन्दा त मोबाइल फोन र भिडियो गेमले धेरै समय लिएको छ । धेरै खेलहरू स्क्रिनमै खेल्न सक्छन्, चाहे त्यो दिमागलाई जोर दिनु पर्ने चेस, सुडोकु, क्रसवर्ड, बोर्ड गेम हुन् वा लुडो या शारीरिक रूपले खेल्ने “वि” होस्, सबै हातमा रिमोट लिएर खेल्न सकिन्छ । फुटबल, स्केटिङ, बास्केटबल, स्कि जस्ता खेलहरु पनि सानो भन्दा साना बच्चाहरूले पनि खेलेको देख्दा रमाइलो लागेर आउँछ । एकातिर भिडियो गेमहरुको विकास द्रुत गतिमा भइरहेको छ भने अर्कोतिर खेललाई नै पेशा बनाएर लाग्ने समूह पनि धेरै बढेका छन् । केही वर्षअघिसम्म हाम्रो समाजमा खेल्नु भनेको बिग्रिनु भन्ने बुझिन्थ्यो, अझ छोरीहरूले त खेल्न नै हुन्न भन्ने थियो तर आजकल यो सोचमा पनि परिवर्तन आएको छ । खेललाई पेसा, सोख मात्र नभै स्वस्थ रहन पनि अति आवश्यक छ भनी सबै उमेर र लिङ्गका मानिसहरू खेलतर्फ आकर्षित भएको देखिन्छ ।
नयाँ नयाँ खेलहरूको विकास तथा पुराना खेलहरू परिमार्जन भएका छन् । अहिले पनि खेलिन्छ केही खेलहरु । विभिन्न समय र उमेरमा भिन्नभिन्न खालका खेलहरु खेले पनि बाल्यकालको कुरा भने अर्कै हुने ! प्रसिद्ध भारतीय गजलकार जगजीत सिंहले गाएको कालजयी गीत यहाँ सम्झिन मन लाग्योः
ए दौलत भी ले लो, ए सोहरत भी ले लो
भले छिन लो मुझ से मेरी जवानी
मगर मुझको लौटा दो बचपनका सावन
वो कागज की कस्ती वो वारिस का पानी
यो मन पनि अचम्मको चीज रहेछ। कहिलेकाहीँ आँखै अघिका सुन्दर दृश्यहरूले पनि रमाउन सक्दैन यो मन, कहिले भने पर पर, उहिले, उहिलेका घटना र यादहरूले पनि उडुँउडुँझैँ लाग्छ । मलाई यी बाल्यकालमा खेलेका खेलहरूसँगै गौशाला, वनकाली हुँदै श्लेष्मान्तक वनसम्मको रोचक यात्रा गरायो मनले आज । बाल्यकालमा मन मिल्ने साथीहरूसँग फेरि खेलेँ तीनै रमाइला खेलहरू । दौडिएँ, लडेँ, चिप्लिएँ, उठेँ, उफ्रेँ र सबैभन्दा बढी रमाएँ म आज । काठमाडौँको गौशालादेखि हेटौँडाको आफूले पढेको स्कूलको कक्षा कोठासम्म पुगेँ । माटोसँगको स्पर्श, पानीको भिजाई, पहाडतिरबाट आउने शितल हावाका झोँक्काहरू महसुस गरेँ उसैगरी । आज मलाई महसुस भयो, स्मरणहरू नहुने हो भने त मानव जीवनको ठूलो खुसीको भाग नै अधुरो हुन्थ्यो होला !
केही क्षण भए पनि बन्दाबन्दीको यस घडीमा बाल्यकालका खेलका सम्झनाहरुले कोरोनाबाट टाढा पुर्याए मलाई । सम्झनाको शक्ति !

टिमिन्स, क्यानडा