त्यतिबेला साथी र मित्रता के हो भन्ने कुरा बुझेको पनि थिइनँ होला ! साँच्चै भन्दा आफ्नै नाम पनि राम्रोसँग भन्न सक्दिनँ थिएँ । हो, त्यहीबेलादेखिको मेरो साथी वा मित्र अथवा यार जे भने पनि ज्ञानेन्द्र पोखरेल थिए । उसलाई हामी ज्ञानी भन्थ्यौँ । ऊ नामजस्तै ज्ञानी पनि थियो । तर मेरा लागि ज्ञानी ईश्वरभन्दा माथिको नम्बर एक साथी थियो ।
चितवनको तत्कालीन शिवनगर गाविसको वडा नं. २, हालको भरतपुर नगरपालिका – १५ मा थियो हाम्रो घर । ज्ञानीको परिवार स्याङ्जाबाट बसाइँ सरेर आएका थिए । मैले उनै साथीबाट पहिलोपटक सुनेको थिएँ, “ड्याडी” भन्ने शब्द ।
उसको परिवार सरकारी कर्मचारी । हाम्रो परिवार पूरै किसान । सुरुमा कसरी सम्बोधन भयो ? थाहा छैन, तर आजसम्म मलाई सम्बोधन गरेर बोलाउँदा सबैभन्दा प्यारो लाग्ने दुई जनाको नाम छ । एक मेरी दिदी अर्थात् ज्ञानु र अर्को उही साथी ज्ञानी ।
हाम्रो मित्रता निकै गहिरो थियो । हामी ज्ञानीको घरको भोगटे, हाम्रो घरको भुइँकटहर, निबुवा आदि चोरेर सँगै खान्थ्यौँ । आजभोलि त्यो बालापन सम्झँदा पनि रमाइलो लाग्छ ।
मैले पहिलोपटक ज्ञानीकै घरमा देखेको हुँ, क्यारमबोर्ड । त्यहीबेलादेखि हामी क्यारमबोर्ड खेल्न सुरु गर्यौँ । हामीबीच लेखमा सधैँ प्रतिस्पर्धा हुन्थ्यो । कहिले उसले जित्थ्यो कहिले मैले जित्थेँ । फुटबल खेल्दा पनि हाम्रो जितहारको लय उस्तै थियो । यसरी ज्ञानीको सङ्गतले म केही कुरा सिक्थेँ पनि ।
गर्मीमा निकै गर्मी हुन्छ चितवन । गर्मीले गर्दा दिउँसो स्कूल लाग्दैनथ्यो । बिहानको पढाइ हुन्थ्यो । एघार बजेपछि घर आयो । खाना खाएर फेरि कुद्यो खेतका गहरामा फुटबल खेल्न । गर्मीको केही मतलबै थिएन ।
तर पढाइका कारण ज्ञानी र म छुट्टाछुट्टै स्कुल भर्ना भयौँ । तैपनि स्कूलपछिको समय सायद कहिल्यै छुट्टिएनौँ ।
त्यही समयको एउटा घटना मैले अहिलेसम्म बिर्सिएको छैन । हामी प्रावि स्कूलमा पढ्थ्यौँ । हाम्रो घर नजिकै महेन्द्रचोकमा किराना पसल थियो । मलाई “उधारो कारोबार कसरी हुन्छ ?” भन्ने थाहा थिएन । तर ज्ञानीलाई थाहा रहेछ ।
एकदिन ज्ञानीले, “जाम हिँड् दोकान”, भन्यो । मैले कारण सोधेँ । उसले उज्यालो अनुहार पारेर आज हामीले बिस्कृट खाने कुरा सुनायो । मैले पैसाको बारेमा सोध्दा उसले केही भनेन । हिँड्न मात्र भन्यो । म उसको पछि लागेँ । ऊ मेरो अघिअघि लाग्यो ।
हिँड्दै गर्दा उसले सोध्यो, “कुन बिस्कुट खाने ?”
म त छक्क परें ! बिस्कुट पनि कुन भन्ने हुन्छ र ? मैले अन्य कुनै बिस्कुट देखेको र खाएको थिइनँ । खाएको र देखेको भनेकै ग्लुकोज बिस्कुट थियो । तर उसले आज पाइनापल बिस्कुट खाऔं भन्यो । न त मैले देखेको थिएँ न खाएको, पाइनापल बिस्कुट कस्तो हुन्छ ? मलाई केही थाहा थिएन । तैपनि मैले हुन्छ भनेँ ।
पसलमा पुगेर उसले पाइनापल बिस्कुट माग्यो । पाइनपल बिस्कुट त जोडीजोडी खप्टिएको हुँदो रहेछ । त्यो जोडीको बीचमा निकै गुलियो के हालेजस्तो । साह्रै मीठो लाग्यो । त्यसपछि हाम्रो जिब्रो पल्कियो । दैनिकजसो एक एकवटा बिस्कुट खान थाल्यौँ । केही समयपछि ज्ञानीको ड्याडीलाई थाहा भएछ । तर ज्ञानीको ड्याडीले ज्ञानीलाई केही भन्नुभएन । मलाई पनि केही भन्नुभएन । दोकानमा गएर खाद्य सामग्रीबाहेक बच्चालाई उधारो नदिन भन्नुभएछ । त्यसपछि हाम्रो बिस्कुट बन्द भयो ।
…………………..
जेठबाट सुरु भएको गर्मी बिदा साउन महिनाभरमा सकिन्थ्यो । हामीले फुटबल खेल्ने खेतमा रोपाइँ गरेपछि फुटबल खेल बन्द हुन्थ्यो । त्यसपछि दैनिकजसो पौडी खेलेर दिन काट्थ्यौँ । एकपटक हामी बस चढेर नारायणगढ गयौँ, फुटबल किन्न । फुटबल त के हुन्थ्यो, भलिबल पनि होइन । चार नम्बरको हावा हाल्न मिल्ने बल । दिनभर पसल पसलमा गएर दिन बितायौँ । हामीसँग जम्मा पैँतीस रूपयाँ थियो । पसलेले बलको चालिस रुपियाँ भने । तर मोलतोल गर्दा तेत्तीस रुपियाँमा कुरो मिल्यो । तर हामीलाई घर फर्किन दुई दुई रुपियाँ लाग्थ्यो । त्यसपछि मैले ज्ञानीलाई मंगलपुरसम्म गाडीमा जाऊँ, यसपछि हिँडेर जाऊँ भनेँ । त्यहाँसम्म गएको एक एक रूपयाँ दिने । हामीबीच यही कुरामा सहमति भयो । फेरि हाम्रो स्वभाव नै एउटाले भनेपछि अर्कोले हुँदैन भन्ने थिएन । असहमति हुँदैनथ्यो ।
गाडी चढेर हामी मंगलपुरसम्म आयौँ । हामी बसको छतमा थियौँ । माथिबाट तल आउन बल समातेर मिलेन । ज्ञानीले बल फालिदियो । हामी बसबाट तल झर्यौं । तल आउनेबित्तिकै ड्याम्म पडकेको आवाज आयो ! सबै बस रोकेर हेर्न थाले । हामी पनि हेर्न थाल्यौँ । बस अलिकति कोल्टे प¥यो । साह्रै डर लाग्यो मलाई ।
एक्कासि गाडीको खलाँसी आएर मलाई समात्यो । मलाई केही थाहा भएन । गाडीको पाङ्ग्रामा बल परेछ । भुन्टे खलाँसी निहुँ खोज्दै कराउन थाल्यो— बस पल्टेको भए के हुन्थ्यो ?
तर हामीलाई त्यो कराएको भन्दा बल फुटेको बढी चिन्ता थियो । उता बसभित्रबाट ओर्लिएका मान्छे पक्ष÷विपक्षमा देखिए । कोही खलाँसीलाई उस्तो भन्थे, कोही हामीलाई । तर अन्तिममा हामी फुटेको बल लिएर भाग्यौँ ।
हाम्रो योजना थियो— गाविस स्तरीय जुनियर म्याच खेलाउने । यो योजनासाथ बल किन्न पाएकोमा हामी गमक्क थियौँ । तर क्षणभरमै बलको हावासँगै हाम्रो उत्साह पनि उडिसकेको थियो ।
…………………
यस्तै हाँसखेलमा बालापन सकियो । सधैँ साथमा हुने ज्ञानीको घरमा विवाहको कुरा चलेछ । उसले मलाई सबै कुरा सेयर गर्यो । केहीदिनपछि टीका लगाउने कुरा भयो । उसको ड्याडीले कुरो पक्का गरेपछि हामी टीका लगाउन गयौं ।
टीका लगाउने दिन म पनि गएको थिएँ । केटीका घरमा पुग्न लागेका थियौँ । ज्ञानीले मलाई भन्यो, “मैले चिया खान्न भनेको छु । तँ पनि नखा नि फेरि । हामी साथी–साथीको कुरा फरक पर्छ ।”
मैले हुँदैन भन्ने कुरै थिएन । हुन्छ भनिदिएँ । ऊ खुसी भयो ।
केटीका घरमा पुगेपछि केही समयमा टीका सम्पन्न भयो र हामी फर्कियौँ । त्यसपछि विवाह तयारी सुरु भयो । ज्ञानीको ड्याडीले मलाई गाडीको जिम्मा दिनुभयो । मसँगै पढेको साथीको गाडी थियो । उसैसँग कुरा गरेँ । दिनभरिको रिर्जभ दुई हजार भन्यो । अरूलाई त्योभन्दा बढी भन्ने गरेको रहेछ । साथीको लागि दुई हजार भनेको रहेछ ।
विवाहको दिन ज्ञानी दुलाहा भएर हिँड्यो । म दुलाहाको साथी, उसलाई छाता ओडाएर हिँडेँ । यता दुलाहालाई टीका लगाएको पैसा मसित थियो । उता गएर जल खाँदाको पैसा पनि मसित थियो । ड्राइभर पनि साथी । तर आउँदा दुलाहासित बस्ने ठाउँ पाइनँ । गाडीको इन्जिनमाथि बस्न भनेर फर्म दियो । बिहे त साथीको थियो, अरूको अगाडि मेरो त मानै फरक ! म गमक्क थिएँ सायद ।
घरमा पुगेपछि ज्ञानीले भन्या, “जा, तँ केही खाएर आइजा ।”
“पख न ! पैसा तँलाई दिन्छु अनि ।” मैले भनेँ ।
“पछि दिए हुन्छ, पहिले केही खा न !” उसले जिद्द गर्यो, तर मैले मानिनँ । उसले खामबाट फटाफट छ सय झिकेर दियो । यो झोलामा, बाँकी यहाँ नै छ । तँ आएपछि मिला भनेर मुख देखाउने काम गर्यो ।
ज्ञानीको विवाह भएको एक वर्षपछि मेरो पनि विवाह भयो । मेरो विवाह उमेर पुगेर भएको हैन । अहिले भएको भए बालबिवाह मानिन्थ्यो । संयोग पनि एउटै, ज्ञानीका पनि दुई छोरी मेरा पनि दुई छोरी । उसले सिटिइभिटी पढेर वि.पि. कोइराला क्यान्सर अस्पतालमा जागिर खायो । अहिलेसम्म ऊ त्यही जागिरमा छ । केही समय मैले भरतपुर नगरपालिकामा जागिर खाएँ । त्यसपछि गाउँको दुग्ध उत्पादन सहकारीको व्यवस्थापक भएँ ।
एकदिन राति पेट पोल्यो । साह्रै नै भयो । श्रीमती शोभालाई उठाएँ । उनले हातमा हेरिन् त्यहाँ त दुईवटा सानो खालजस्तो भएर रगत आइरहेको रहेछ । थाहै थिएन, मलाई त सर्पले टोकेछ ! उनले आमालाई बोलाइन् । आमाले सानो बालाई बोलाउनुभयो । रातिको समय, अहिलेजस्तो गाउँमा फोन थिएन । हाम्रो गाउँमा दुई घरमा मात्र मोटरसाइकल थिए । मैले आमा र शोभालाई ज्ञानीलाई भन्न पठाएँ । सधैँ बिरामी लिएर अंकल जानुहुन्थ्यो । उहाँ कोष तथा लेखा नियन्त्रण कार्यलयको कर्मचारी, थप चिनाजान थियो अस्पतालमा ।
त्यो दिन ज्ञानी आफैँ आयो । म बाइकको पछाडि बसेँ । शोभाले हातले ज्ञानीको कम्मर समात्न भनिन् । मैले त्यसै गरेँ । घरबाट हिँडेपछि मैले ज्ञानीलाई भनँ, “म केहीबेरमा बेहोस् हुनसक्छु, छिटो जाऊँ ।”, नभन्दै प्रेमबस्ती पुगेपछि म बोल्न छाडेछु । ज्ञानीले एक हातले मलाई समाएर एक हातले बाइक चलाएर भरतपुर अस्पताल पुर्याउन भ्याएछ ।
उसले मलाई बोकेर लगेको याद छैन । डाक्टरले सोधेपछि मैले भनेको थाहा छ । सायद बाँच्नको लागि सबै जुरेको थियो । म त सर्पको विष लागेर बेहोस भएछु । उता सानोबा र रमेश थपलिया भाइ साइकलमा आएछन् । आमा आत्तिएर शम्भु भण्डारी, पूर्वगाविस अध्यक्ष हाल वडां नं. १५ का वडा अध्यक्षलाई अस्पताल लिएर आउनुभएछ ।
अस्पतालका फिजिसियन डा. नगेन्द्रकुमार सिंह पनि तुरून्त आउनुभएछ । उपचार प्रक्रिया सुरु भयो । एन्टी स्न्याक भ्याक्सिन चलाउन सुरु भयो । तर उपचारमा अवरोध हुने देखियो । तत्कालीन श्री ५ को सरकारले एन्टी स्न्याक भ्याक्सिन निःशूल्क उपलब्ध गराउने भनेको थियो । तर त्यसबेला त्यो भ्याक्सिन अस्पतालमा पुगेको रहेनछ । अस्पतालले निःशूल्क उपलब्ध गराउने भ्याक्सिन अन्य मेडिकलमा पनि ल्याएनछन् । त्यही औषधिको अभाव भयो ।
डाक्टर आफैँ औषधि व्यवस्थापन गर्नतिर लाग्नुभयो । मेरो छिमेकी भाइ दीपक अधिकारी पनि अस्पताल अगाडिको औषधि पसलमा जागिर खान्थ्यो । ऊ पनि नारायणगढको औषधि होलसेलतिर लागेछ । रमेश दाइले साझाको गोदाममा छ भन्ने थाहा पाउनुभएछ । स्टोरकिपरलाई लिन उहाँले घरमै पठाउनुभएछ । दीपक र ज्ञानी नारायणगढमा औषधि खोज्न गएछन् ।
मलाई बचाउनको लागि सबैको सहयोग भयो । औषधि पाइयो । जम्मा ९३ वटा भ्याक्सिन लगाइएछ । अस्पताल पुगेको तीन दिनपछिको साँझ मात्र मैले बत्ती बलेको देखेँ । साथीहरू, आफन्त र शुभचिन्तकको भीड नै देखेँ हस्पिटलमा ।
अचेत हुदाँ ज्ञानीलाई मैले भनेको रहेछु, “ज्ञानी, मलाई केही भएमा छोरीहरूको ख्याल गर ल !”, मैले यसो भनेको सुनेर मेडिकल वार्डका बिरामी र नर्सहरू पनि भावुक भएछन् । उनीहरू आँखाभरि आँसु जमाएर रुँन खोजेका रहेछन् ।
पाँचौ दिन बिहान डा. सिंह आउनुभयो, सरासर म भएको ठाउँमा । अरू बेलामा त टिम नै भएर आउनुहुन्थ्यो । त्यसदिन उहाँ एक्लै आएर मलाई बोलाउनुभयो । गोजीबाट पेन निकालेर बिर्को झिकेर कलमको निभतिर देखाउँदै हेर्न लगाउनुभयो । मैले हेने सकेछु क्यारे !, “ल केटो त बाँच्यो” भनेर खुसी हुनुभयो । मलाई पनि म अब बाँच्ने भएँ भन्ने लाग्यो । त्यतिबेलाको बाँच्न पाउँदाको खुसी अहिले भन्न सक्दिनँ ।
डाक्टर सिंहले भनेपछि मलाई बल्ल थाहा भयो, म मरेर बाँचेको रहेछु ।
मेरो हर समस्याको साथी ज्ञानी ! म आजभोलि पुस्तक व्यवसायमा छु । साथीहरू कति छन् कति, तर मेरो बाल्यकालको साथी ज्ञानी, तँ मेरो प्रिय साथी । मेरो नम्बर एक साथी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।