अहिले एसईईको परीक्षाको चर्चा परिचर्चा छ । आफूले प्राप्त गरेको शिक्षाको मापन ठानिएको एसईईको परीक्षा अन्योलमा हुँदा चिन्ता हुनु स्वाभाविक नै हो । यो प्रसङ्गले मलाई एकपटक हाम्रो पालाको एसएलसीको तयारीको कुरा सम्झायो । शिक्षा प्राप्त गर्ने अवसर पाउनु र अवसर उपलब्ध हुनु दुई फरक कुरा हुन् । तैपनि हामी सानो छँदा दुबै कुरा सिमित थिए । रुकुम जिल्लामा वि.स. २०३२ सालमा नयाँ शिक्षा कार्यक्रम शुरू भयो । कार्यक्रम आठ कक्षामा लागू भयो । म त्यतिबेला रुक्मिणी साधारण माध्यामिक विद्यालय रुकुमकोटमा सात कक्षामा पढ्थें । नयाँ शिक्षा कार्यक्रम शुरू त भयो, तर न पाठ्यपुस्तक उपलब्ध थिए न त शिक्षक नै ।

पाठ्यपुस्तक किन्न नेपालगन्ज जानुपर्थ्यो । घिऊ बेच्न र नून किन्न जाने हटारूहरूलाई पाठ्यपुस्तक ल्याइदिने अनुरोध गर्नुपर्थ्यो । सबै विषयका पाठ्यपुस्तकहरू एकैपटकमा पायो भने पनि सौभाग्य हुन्थ्यो । कुनै कुनै विषयको पाठ्यपुस्तक त बीस-तीस जना विद्यार्थीको बीचमा दुई चारवटा मात्र हुन्थे । जो जोसँग पाठ्यपुस्तक हुन्थे, उनीहरू आफूलाई निकै माथिल्लो दर्जामा राख्थे र रवाफ लगाउँथे । विद्याभन्दा पनि किताब भएकोमा चुरीफुरी हुन्थ्यो । त्यसमाथि पनि ऐच्छिक विषयका पाठ्यपुस्तक त भेटाउनै गाह्रो ।

डा. कुसुमाकर शर्मा

मेरा दाजी र दिज्यूले पुरानो शिक्षामा पनि ‘ऐच्छिक गणित’लाई एक ऐच्छिक विषय लिएर पढ्नुभएको थियो । गणित विषयमा विद्यालयभरिकै उत्कृष्ट विद्यार्थी भएकोले मलाई पनि नयाँ शिक्षाको आठ कक्षादेखि ऐच्छिक गणित पढ्ने ठूलो इच्छा थियो । तर ऐच्छिक गणित विषयको किताब नपाएकोले इच्छा अधुरो रह्यो । नेपालगन्जमा पाइँदैनथ्यो । काठमाडौंमा खोज्दा पनि पाइएन । मेरोअगाडिका ब्याचका विद्यार्थीहरूले त ‘ऐच्छिक गणित’ पनि ऐच्छिक विषय छ भन्ने थाहै पाएनन् । आठ कक्षामा ग्रामीण अर्थशास्त्र ऐच्छिक विषय पढियो । नौ कक्षामा आफैँ नेपालगन्ज वादविवाद प्रतियोगितामा गएको बेला ऐच्छिक गणितको किताब खोजें तर भेटिएन । त्यो साल पनि ग्रामीण अर्थशास्त्र नै पढें ।

दश कक्षा शुरू नहुँदै दाजीले क्याम्पसको हिउँदे बिदामा घर आउँदा ऐच्छिक गणितका कक्षा आठ, नौ र दशका तीनवटा किताबहरू ल्याइदिनु भयो । किताब पाउँदा त दंग भएँ, तर पढ्न पाइने हो कि होइन भन्ने चिन्ताले सतायो । किनभने मलगायत कक्षामा भएका सबै बत्तीस जना विद्यार्थीले ग्रामीण अर्थशास्त्र पढिरहेका थिए । एसएलसी दिने सालमा कसले विषय फेर्छ ? स्कूल शुरू हुनेबित्तिकै मस्तबहादुर हेडसरसँग ऐच्छिक गणित पढ्ने इच्छा व्यक्त गरें । हेडसरले मेरो याचनालाई ठाडै अस्वीकार गरिदिनुभयो, “तिमी एकजनालाई मात्र ऐच्छिक गणित पढाउने शिक्षक कहाँबाट ल्याउन सक्छु ?”, हुन पनि हो, स्कूलमा अनिवार्य गणित पढाउने शान्तबहादुर सर मात्रै हुनुहुन्थ्यो।

मैले अनिवार्य गणित पढाउने सरसँग मेरो इच्छा राखेँ।  उहाँले ‘हुन्छ, म ऐच्छिक गणित पढाइ दिन्छु’, भन्नुभयो। मेरो आँट आयो। तर बुबा घरमा नभएकोले मेरो पक्षमा बोलिदिने कोही अभिभावक भएन । एक-दुई दिनमा जुक्ति निकालें। त्यतिबेला मेरो बुबा सरकारी कामले तुल्सीपुर बस्नुहुन्थ्यो । त्यही कुरालाई समातेर हेडसरलाई भनें, ‘यहाँ मैले ऐच्छिक गणित पढ्न नपाउने भएँ। बुबा तुल्सीपुरमा हुनुहुन्छ। त्यहींको हाईस्कूलमा गएर पढ्छु।’, एसएलसीमा स्थान ल्याउन सक्ने एउटा राम्रो विद्यार्थीले स्कूल छोड्ने कुरा गर्दा हेडसरलाई पनि चिसो पसेछ। भन्नुभयो ‘किन यस्तो कुरा गर्छौ? यही वर्ष एसएलसी दिनुपर्छ। ऐच्छिक गणित धेरै गाह्रो हुन्छ। त्यसले अरू विषयलाई पनि असर गर्छ।’

तर म ऐच्छिक गणित पढ्छु भन्नेमा अडिग भएँ। हेडसरलाई पनि अरू उपाय सुझेन। मेरो याचना स्वीकृत त भयो, तर सशर्तमा। हेडसरले भन्नु भयो, ‘स्कूलले तिमीलाई  ऐच्छिक गणित पढ्न स्वीकृति त दिन्छ, तर ऐच्छिक गणितको छुट्टै कुनै समय-तालिका हुने छैन। हाफ-टाइमको विश्राममा पढ्नु पर्छ।’, हेडसरको शर्त मैले सहर्ष स्वीकार गरेँ।

स्कूलबाट स्वीकृति त पाएँ तर मलाई मेरो पढाइ कसरी अगाडि बढाउने भन्ने चुनौती थियो। दश कक्षाको विद्यार्थी भए पनि आठ कक्षादेखिको ऐच्छिक गणित पढ्न शुरू गरेँ। मेरो ऐच्छिक गणित पढ्ने नियमित कक्षा नभएकोले गणितको सरलाई खाली देख्नेबित्तिकै सिक्न जान्थेँ। गणित पढाउने सर सँधै मलाई सिकाउन उत्सुक हुनुहुन्थ्यो। कहिल्यै पनि मलाई पन्छाउने बहाना खोज्नु भएन। उहाँको यो बानी नै विद्यार्थीमाझ प्रशंसनीय थियो। उहाँले सिकाएको कुरा तुरुन्तै टिप्न सक्नेभएकोले पनि मलाई सिकाउन उत्साहित हुनुहुन्थ्यो।

स्कूलबाट घर फर्किंदा आधा बाटोसम्म सँगै हुँदा पनि मैले शान्तबहादुर सरसँग ऐच्छिक गणितका प्रश्नहरू सोध्थेँ। उहाँले ‘यसो गरे कसो होला?’ भनेर उपाय बताइदिनुहुन्थ्यो। म घरमा पुगेर सरले बताएको उपायलाई अभ्यास गर्थें। अभ्यास गर्दा उत्तर मिलेपछि साह्रै आनन्द आउँथ्यो। अझै उत्साहित भएर नयाँ नयाँ च्याप्टर अभ्यास गर्थें।

मलाई अझैं गाइडको जरूरत भएको अनुभव गरेर शान्तबहादुर सरको घरमै पढ्न गएँ। उहाँको ठुल्दाइले बनाउँदै गरेको झ्यालका खापा नभएको घरमा बासै बसेर पनि पढें। उहाँले न सिकाएको भए म यसरी अगाडि बढ्न सक्ने थिएन। उहाँ अहिले यो संसारमा हुनुहुन्न, तर उहाँको प्रेरणाले अझैसम्म डोर्याइरहेको छ मलाई।

यस्तो प्रयासले आठ र नौ कक्षाका ऐच्छिक गणितका किताबहरू असारमा सिध्याएँ। अर्धवार्षिक परीक्षा भयो। नौ कक्षाको ऐच्छिक गणितमा सतप्रतिशत मार्क आयो। तर अरू विषयमा पनि ध्यान दिनुपर्ने देखियो। हेडसरले भनेको कुरा सही रहेछ। मैले अब सबै विषयहरूको पढाइलाई सन्तुलनमा राख्नुपर्ने भयो।

मैले आफूले जानेको कुरा अरूलाई सिकाउँथें। यसो गर्दा मलाई नै धेरै कुरा छर्लङ्ग हुन्थ्यो। मसँगै मेरो घरमा आई सिक्ने समकक्षीहरू  वीरबहादुर, मोहन कृष्ण, भुवनेश्वर बूढा, अनन्त, यादबसँग मिलेर संयुक्त पढाइ गर्थ्यौं। विशेषगरि भीमकान्त त मेरा अनन्य र परिवारको सदस्य जस्तै थिए। अन्य विषयहरू पनि साथीहरूसँगै छलफल गरी पढ्थ्यौं। ऐच्छिक गणित पढ्ने छुट्टै समय बनाएको थिएँ। अनिवार्य गणित उनीहरूलाई सिकाउँदा सिकाउँदै स्वतः आइहाल्थ्यो।

मङ्सिरमा सेन्टअप परीक्षा भयो। बत्तीस जनामध्ये तेईस जनाले सेन्टअप पास गर्यौं। मैले दश कक्षाको ऐच्छिक गणितको किताब तीन चौथाइमात्रै सकेको थिएँ। सेन्टअपमा उच्च प्रथम श्रेणीको मार्क ल्याएको भए पनि अझै पढ्न बाँकी थियो। सेन्टअपपछि सबै शिक्षकहरूले हामीहरूलाई आफ्नै बुतामा छोडिदिनुभयो। एसएलसीको परीक्षा केन्द्र सदरमुकाम मुसिकोटमा मात्रै थियो। त्यसैले एसएलसी परीक्षा तयारीका लागि तीन महिनाअगाडि नै मुसिकोट जाने र त्यहीं ऐच्छिक गणित पढाउने शिक्षक खोज्ने निर्णय गरेर त्यहाँ गएँ।

मुसीकोट गएपछि ‘ऐच्छिक गणित’ पढाउने शिक्षक भेट्न साह्रै गाह्रो भयो। किनभने त्यहाँको स्कूलमा ऐच्छिक गणित पढ्ने कोही रहेनछ। मुसिकोटमा गणित पढाउने शिक्षक हिउँदे बिदामा आफ्नो घरतिर गइसक्नुभएको रहेछ। गणित या विज्ञान पढेको व्यक्ति सदरमुकामभरि कोही रहेन छ। जिल्ला शिक्षा कार्यालयका माध्यामिक विद्यालय निरीक्षक (माबिनि) यमनारायण सरले बीएससी पढेको थाहा पाएर उहाँलाई पढाउन अनुरोध गरें। माबिनि सरले केही समय पढाउनु भयो। उहाँको आफ्नो कामको कारणले धेरै समयसम्म सिकाउन मौका मिलेन।

फेरि ऐच्छिक गणित सिकाउन सक्ने मान्छे खोज्न थालें। जिल्लामा आएका नयाँ इन्सपेक्टरले साइन्स पढेको भन्ने सुनेँ। तर इन्स्पेक्टरसँग कुरा गर्न जाने आँट आएन। केही दिनपछि बुबा पनि मुसीकोट आउनु भयो। बुबालाई इन्सपेक्टरको कुरा सुनाएँ। भोलिपल्ट बिहानै इन्स्पेक्टरलाई भेट्न गयौं। उहाँको नाम दीपेन्द्र विष्ट रहेछ। उहाँ कालान्तरमा नेपाल प्रहरीको माथिल्लो पदबाट निवृत्त हुनुभयो। उहाँले पनि मलाई ऐच्छिक गणित पढाउने हुनुभयो। उहाँसँग मैले दश कक्षाको ऐच्छिक गणितको किताब पढेर भ्याएँ। म आज जहाँ छु, त्यहाँसम्म पुर्याउन दीपेन्द्र बिष्टको पनि ठूलो हात छ।

मेरो प्रयास सदरमुकाममा चर्चाको विषय बनेछ। सदरमुकामका हाईस्कूलका हेड सर, सुधीर शाहले मलाई आफ्नो डेरामा बोलाउनुभयो र भन्नुभयो, ‘एसएलसी जांच आउनुअगाडिसम्म रुकुम जिल्लाका तीनवटा हाईस्कूलका राम्रा विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर म अङ्ग्रेजी पढाउँछु र इन्स्पेक्टर सापले गणित पढाउनु हुन्छ ।’, सुधीर सरको त्यस कार्यले प्रतिस्पर्धी स्कूलका विद्यार्थीमाझ गहिरो सम्बन्ध स्थापित गराइदियो। त्यतिखेरका हामी विद्यार्थीहरू सुरेश विक्रम शाह, भरत शर्मा, प्रकाश विक्रम शाह, गोविन्द पुन र म आ-आफ्नो क्षेत्रमा सफल छौं। सबै गुरुहरूको आशीर्वादले नै हामीहरू सक्षम भएका हौं। मेरा सम्पूर्ण गुरुहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै नमन् गर्छु।

एसएलसीको तयारी राम्रै चल्दै थियो। मुसीकोट हाई स्कूलका एक जना शिक्षकले ‘जिल्लामा ऐच्छिक गणित जाँच दिने तिमी मात्रै एक जना छौ । एक जनालाई मात्र एसएलसीको प्रश्नपत्र आउला त ? म त पूर्ण विश्वस्त छैन’, भन्नुभयो। मेरो मनमा डर पस्यो। हुन पनि हो, यस्तो त कहिल्यै भएको थाहा छैन। ऐच्छिक गणितको प्रश्नपत्र आएन भने त मेरो जिन्दगी नै खतम हुने भयो।

परीक्षा केन्द्राध्यक्ष सुधीर सरलाई सोधें। उहाँले प्रश्नपत्रको चिन्ता छोडेर परीक्षाको तयारीमा ध्यान देऊ भनेर ढाडस दिनुभयो। तैपनि कुनामा डर बसिरहेको थियो। जाँचको बेला ऐच्छिक गणितको प्रश्नपत्र पनि आयो। मैले जाँच दिएँ। जाँचका अन्तिम दिनहरूमा मेरो एक सय चार डिग्री ज्वरोका बाबजुद हाम्रो ‘राम्रा विद्यार्थीहरूको’ समूह एसएलसीमा प्रथम श्रेणीमा पास भयो। म जिल्लाकै प्रथम भएछु। प्रतिकूल परिस्थितिमा पनि तत्कालीन समयमा हामीहरूको तयारी आजका पिँढीलाई मार्गदर्शन हुन सक्दछ।