आज संसारभर कोरोना कोभिड-१९ नामक रोगको महामारी फैलिएको छ । आज अर्थात् जुन महिनाको अन्तसम्ममा संसारभर एक करोडभन्दा बढी मानिस यस रोगबाट संक्रमित भइसकेका छन् भने पाँच लाखभन्दा बढी मान्छेको देहान्त नै भइसकेको छ । म बसोबास गरेको देश अमेरिकामा मात्र पच्चीस लाखभन्दा बढी मान्छे संक्रमित छन् भने एक लाख अठ्ठाईस हजारभन्दा बढी मान्छेको देहान्त भइसकेकोछ । हाम्रो देश नेपालको सतहत्तरै जिल्लामा यो रोगको संक्रमण फैलिसकेको छ ।

लक डाउन र एकान्तबास बसेको पनि करिब चार महिना पुगिसकेको छ । तर पनि यो रोगको संक्रमण झन् झन् बढ्दै छ । संसारभरका मान्छे सबै त्रस्त छन् र यसबाट बच्ने उपायको खोजीमा निरन्तर लागिपरेका छन् । तर पनि आजको मितिसम्म पनि यस रोगको खास औषधि पत्ता लगाउन विश्व समर्थ भइसकेका छैनन् । तर खोजी जारी छ । भन्छन्, अर्को वर्षको सुरुतिर यस रोगको निदानको औषधि बनिइसक्ने छ । आशा गरौँ अनि विश्वास राखौं, त्यतिन्जेलसम्म अति धेरै मानवीय क्षति नहोस्, अनि यो महामारीको तेज घट्दै जाओस् ।

बसन्त श्रेष्ठ

कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहँदा म पनि अछुतो रहन सकिनं । करिब दुई हप्ता अस्पतालमै उपचार गरेर म भर्खर यस रोगबाट मुक्त भएको छु । यसै सन्दर्भमा मैले भयोगेको कोरोनालाई यस संस्मरणमा समेट्ने जमर्को गरेको छु ।

सायद दिनको दुई बजिसकेको हुनुपर्छ । इस्वी सम्वत् २०२० मई महिनाको सत्र तारेख, जेठा छोराको फोन आयो । भन्यो, “ज्वरो आएको कारणले घर आउँदैछु ।”

मलाई तत्कालै अनुमान भयो, कोरोनाको संक्रमण भएछ भन्ने र उसलाई एकान्तबास राख्ने तयारि गर्न थाल्यौं । ऊ भाेलिपल्ट डाक्टरकोमा गयो । दुई दिनसम्म उसलाई ज्वरो आई नै रह्यो । हामीले सकेसम्म एकान्तबासको नियम पूर्णरूपमा पालना गर्यौं । त्यसको दुई दिनपछि अर्थात् उन्नाईस तारेखमा मलाई हल्का ज्वरो आयो । मैले टायनल लिएँ । ज्वरो आउन बन्द भयो । फेरि दुई-तीन दिनपछि ज्वरो आउने-जाने भएको कारणले आफू पनि सङ्क्रमित भइयो कि भन्ने ठानेर जचाउन गएँ ।

समय दिनको एक बजेको थियो, जब मलाई चिकित्सकले जाँचे, तुरुन्तै इमरजेन्सी एम्बुलेन्स बोलाए । अक्सिजन दिए र अस्पतालमा भर्ना गरे । मलाई मेरो स्थिति त्यति नाजुक भएको जस्तो अनुभव नै भएको थिएन । अस्पतालको सघन उपचार कक्षमा करिब दुई हप्ता उपचारपछि बल्ल मलाई अस्पतालबाट फर्किने अनुमति दिइयो ।

म भर्जिनिया राज्यमा बस्छु । यस राज्यमा मार्च महिनाको सुरुसम्म पनि त्यति महामारीको संक्रमण फैलिसकेको थिएन । तर आमनागरिकको सुस्वास्थलाई ख्यालमा राखेर कार्यस्थल बन्द गर्ने कार्य सुरु भइसकेको थियो । त्यही समयमा मेरो काम पनि अनिश्चित कालको लागि बन्द गर्ने जानकारी प्राप्त भयो ।

मार्च महिनाको मध्यबाट नै मेरो कामको कम्पनी बन्द भएपछि म पूरै घरमै थिएँ ।  मेरो पूरै परिवार कोरोना संक्रमणबाट बाँच्न विभिन्न घरेलु विधि प्रयोग गर्न तल्लिन भयौं । ज्वानो, बेसार र अदुवा राखेर उमालेको तातो पानी दिनको दुईपटक पिउने नियम बसायौं । भिक्स राखेर तातो पानीको बाफ दिनहुँ जसो लिने गर्न थाल्यौं । मेरो न्यूयोर्केली मित्र ससांग लामाले भने झैं त्यसरी बनाएको तातोपानी एक ठूलो घ्याम्पोभन्दा बेसी पिइयो नै होला । कोही बाहिर गएर आयो कि सानेटाइजर लाउने, हात धुने, मास्क लाउने गर्न थालियो । हामी (श्रीमती र म)ले किनमेल गर्न जान पनि धेरै कम गर्यौं । बाहिरफेरको काम सबै नै छोराहरूले नै गर्न थाले । घरको बसाइ मच्चिदै गएपछि टेलिभिजनमा महाभारत, पाकिस्तानी टेली सिरियल र केही नेपाली चलचित्र छानीछानी हेर्न थालियो । पढ्नमा बीपीका सबै पुस्तक फेरि दोहोर्याइयो । मदनमणि दीक्षितको “माधवी” फेरि सुरु गरियो ।

सोचेथें, दुई वर्षपछि निवृतिभरणको समय भएपछि बुबाको बारेमा एउटा किताब लेख्न सुरु गर्नेछु । बुबाको बारेमा अरू विद्वानवर्गले लेखेका पुस्तक “नारायण मान स्मृति ग्रन्थ” पहिले नै प्रकाशित भइसकेको छ । तर बुबाले आफ्नो जिल्लाको विकासको लागि शैक्षिक क्षेत्रमात्र नभएर सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रमा पनि कस्तो योगदान दिनुभएको थियो भन्ने यथार्थ र ऐतिहासिक दस्ताबेजसहितको एउटा पुस्तक तयार गर्ने योजना थियो । लक डाउनले समय प्रसस्त भएको कारणले त्यो पनि लेख्न सुरु गरियो । करिब-करिब पच्चीस पेज पनि सकिएको अवस्थामा छ ।

ईष्टमित्रले यस समयमा निम्ता नगरेका पनि होइनन् । तर समय र स्थिति त्यति अनुकूल नभएको र आफ्नो उमेरले पनि विशेष ख्याल राख्नुपर्ने भएकोले कहींकतै पनि गइएन । यसरी नै धेरै सतर्कताका साथ हाम्रो दैनिकी र महामारीसँग लड्ने तयारीमा हामी तम्तयार थियौं । तर दैवको खेल भनौं या समयको या यसलाई यसो भनौँ, मैले नै कतै सुरक्षित उपायलाई अलिक बेवास्ता गरें र गल्ती भयो, थाहा नै भएन ।

मेरो जेठा छोरा बबिन एक-दुई दिनपछि नै ठीक हुँदै गयो । त्यसको दुई-तीन दिनपछि नै मलाई हल्का ज्वरो आएको थियो । त्यसबेला मैले सोचेको थिएँ- यो कोरोना महामारीले मेरो घरमा एक हप्ता अब ताण्डब मच्चाउने भयो । त्यसपछि त ठीक भइहाल्छ । किनकि हामीसँग यो भाइरससँग लड्ने क्षमता छ, दिनभरि मसलादार तातोपानी र भिक्सको बाफ लिएपछि यो गइहाल्छ नि |

तर सोचे जस्तो भएन । बबिनलाई दुई-तीन दिनपछि नै ठीक हुँदै गए पनि विद्यालाई संक्रमण भयो । उनलाई पनि दुई-तीन दिनपछि नै ठीक हुँदै गयो । पछि बबिन, ब्रायन र विद्या, म अस्पतालमा हुँदा नै संक्रमण मुक्त भइसकेका थिए । तर मलाई ज्वरो पुरै बन्द नभएर आउने-जाने भएपछि नै घरपरिवारको जोडले नै भाइरस जाँच्न गएको थिएँ । तर त्यहाँबाट एम्बुलेन्समा अस्पतालको आपतकालीन कक्षमा पुर्याइएको थिएँ ।

अस्पतालको आकस्मिक कक्षमा एक्सरेदेखि सबै जाँच गरेपछि करिब आधा घन्टामै मलाई अस्पतालको ३२५ नम्बर कोठामा स्थान्तरण गरियो । त्यसपछि सुरु भयो मेरो जीवन-मरणको लडाइँ ।

प्रत्येक घण्टा-घण्टामा डाक्टर र नर्सको उपस्थिति अनि रगत र सुइँको उपचार । चार दिनसम्म त म चेत भए पनि अचेतकै स्थिति रहें । दुईतिरको हातमा नै सुइँ रोपिएका छन्, नाकमा अक्सिजन र प्रत्येक घण्टामा रगत जाँच र औषधिको सेवनले जीउले लत्तो छोडिसकेको भान हुन्थ्यो । दिन र रात एकनासले चल्दै थियो । सिर्फ आँखा चिम्म गरेर पल्टिरहनुसिवाय अर्को उपाय थिएन । सपना र कल्पना कहिलेकहीं त छुट्याउनै गाह्रो थियो । थुप्रै कथा, कविताका खाका कल्पनामै तयार हुन्थे ।

अस्पतालको शैय्यामा मेरो दिवंगत बुबा-आमालाई सपनामा थुप्रैपटक देखें । घर-परिवारका धेरै सदस्यलाई पनि देखें । तर सबै परिवारलाई देख्दा हाम्रो नेपालको पहाडको घरमा नै देखें । तर त्यसमध्ये पनि एउटा सपना बारम्बार दोहोरिरह्यो र मलाई अचम्म लाग्यो । अहिले पनि त्यो बारम्बार आइरहेको दृश्यले पटक-पटक सोच्न बाध्य बनाउछ ।

सपना यस्तो थियो;

म ठूलो समुन्द्रको जहाजमा छु । गोधूली साँझको समय छ । मेरो ठीक अगाडि करिब छ फुटको दूरीमा एउटा सानो बालक कालो लुगा लाएर उभिएको छ । ऊ एकनासले डुब्न लागेको दूर क्षितिजतिर एकटकले हेरिरहेछ । म उसलाई भेट्न पाइला चाल्न कोशिस गर्छु, तर मेरो पाइला चलिरहेको छैन । म उसलाई बोलाउन चिच्याउँछु, तर ऊ निरन्तर बेवास्ता गरेर क्षितिज हेरिरहन्छ । जति कोशिस गरे पनि म सफल हुन्न । त्यो बालक न मतिर फर्कन्छ न म उसलाई भेट्न नै सकिरहेको हुन्छु । सपना त्यति मात्र हो । तर मलाई हुबहु यही नै सपना निरन्तर दिन आइरह्यो ।  हरेक पटक ब्युँझेपछि सोच्थेँ- आखिर यो सपना दोहोरिनुको कारण के होला ? कुनै अनर्थको सामना त गर्नुपर्ने त छैन मैले ? अलिअलि डर । अलिअलि रहस्य । धेरै अन्यौल नै थियो ।

आखिर सपना के हो ? यो किन आउँछ ? आममानिसहरू सपनाका फलहरू भन्ने गर्छन् र त्यसमा विश्वास पनि गर्छन् । तर सपनाको फलबारेमा मलाई त्यति विश्वास लाग्दैन । जुन आमरूपमा धेरैले हरेक सपनाको शुभ-अशुभको फल भन्ने गर्छन् । जहिले पनि र अहिले पनि मलाई सपना केही होइन भन्ने नै लागिरह्यो । तर रहस्यमयचैं लाग्छ ।

अनुसन्धानकर्ताले भन्ने गर्छन्, सपना त्यो आउँछ जुन कुरा मान्छेले देखेको हुन्छ, भोगेको हुन्छ या सुत्नअघि सोचेको हुन्छ । तर मैले जीवनमा यस्ता कति सपना देखेको छु जुन न त मैले देखेको थिएँ न त मैले सोचेको नै । तर मैले अस्पतालको शैय्यामा देखेको सपनाले मलाई सोच्न बाध्य बनायो कि यसमा कुनै कारण या रहस्य पो छ कि ! त्यसैले  मैले अस्पतालमा देखेको सपना एकपटक होइन, तीन-तीन पटक देखें । आखिर त्यो के होला या केको संकेत पो हो कि ? अब मेरो यो उत्तरार्धको जीवनमा यसले अर्को रहस्य थपिदिएको छ  ।

कोरोना माहामारीमा जुन संक्रमण भइरहेको छ, त्यसको खास औषधि छैन । भनौं अहिलेसम्म पत्ता लागेको छैन । त्यसैले मेरो चिकित्सकहरूले ममा पनि थुप्रै औषधिको प्रयोग गरे । कुन औषधिले कतिको फाइदा-बेफाइदा गर्छ त्यसको जाँचको लागि पटक-पटक रगत लिन्थे । एन्टिबायोटिक, स्टेरायड र अरू थुप्रै औषधि निरन्तर चलाए । चलनचल्तीमा यो बिरामीलाई चलाउने मुख्य औषधि रेमेदिसायेर सुरु गर्न मेरो अनुमति मागे तेश्रो दिन । तर त्यसले मेरो कलेजोलाई असर पार्न थालेकोले त्यो बन्द गरे । यसरी विभिन्न औषधिको प्रयोग ममा भई नै रह्यो ।

करिब एक हप्तापछि मात्र स्वास्थमा अलिअलि औषधिले असर गर्न थालेको महशुस गरें । त्यसपछि अक्सिजनको लेभल अलि घटाउँदै लान थाले । करिब दुई हप्ता अस्पतालको शैय्यामा पल्टेर बस्दा खुट्टाले भुइँ टेक्न सक्दैन थियो । खुट्टा जाम नहोस् भनेर दुई खुट्टामा नै नेल ठोके जस्तोगरि भाइब्रेटर जोडिएको थियो । जसले मेरो खुट्टाको मसलहरू जाम हुनबाट रोक्नमा मद्दत गर्दथ्यो । एकप्रकारले मसाज थियो त्यो । तर म उभिन पनि सक्ने अवस्थामा थिइनँ । अस्पताल बसेको करिब दुई हप्तापछि बल्ल घर जाने अनुमति दिए ।

अस्पतालबाट छुट्ने अघिल्लो दिन फिजिकल थेरापिस्ट आएर मेरो जाँच गरिन् । उनले उभिनको लागि लट्ठी आवश्यक पर्छ भनी एउटा लट्ठी दिएन् । अस्पतालबाट छुट्ने दिन त्यहाँका स्वास्थकर्मीले मलाई अत्यावश्यक पर्ने अक्सिजनको सिलिण्डर बोकाए, हातमा लट्ठी थमाइदिए । मेरो जीउमा हड्डी र छालाबाहेक केही थिएन । सोचें, सार्है शरीर गलेछ । आँखाबाट आँशु तप्पतप्प रसाउँदै बगे । अति नै भावुक बनेछु त्यस समय । मेरो शरीरको अवस्था बीस वर्ष बढी भएको महशुस गरें । ह्वील चेयरमा राखेर मलाई अस्पताल बाहिर निकाले ।

दुई हप्तादेखि नदेखेका मेरा दुई छोराहरू अस्पतालबाहिर मलाई पर्खेर बसिरहेका थिए ।  यत्रो दिनपछि देख्न पाएको खुसी उनीहरूको मुहारमा थियो । एउटा वृद्ध मान्छे, दुब्लो पातलो, झ्वास्स दारी-जुँगा पलाएको अनि नाकमा अक्सिजन लाएको, हातमा लठ्ठी बोकेर ह्विल चेयरमा आइरहेको देखेर उनीहरूको मनमा कस्तो विचार आयो होला ! म भन्न सक्दिनँ । म फर्केर आएकोमा ती अवश्य नै खुसी त भए होलान्, तर मेरो अवस्था देखेर तिनको मनले अझ के सोचे होलान् ! म अहिले सोच्ने गर्छु ।

घरमा विद्या झ्यालबाट हेरेर पर्खिरहेकी देखें । फेरि आँखा रसाएर आयो । करिब तीस वर्षमा यही एकपटक होला, यति लामो हाम्रो देखाभेट नभएको । फेरि आँखा रसायो । तर मन थामेर रोकें । पार्किङ्ग लटदेखि मलाई दुइटा छोराले दुईतिर समातेर (बोकेर) घर पसाए । घरभित्र पसेपछि लामो सास फेरेर थचक्क बसेँ । परिवारलाई संयुक्त देख्न पाउँदा एकछिन त मैले मेरो स्वास्थस्थिति नै बिर्सें जस्तो भयो । अनि मन-मनमा भनें- धन्य हौ तिमी परमात्मा ! जसले मलाई बचाएर घर फर्कन सफल बनायौ ।

अहिले म रोगमुक्त बने पनि कमजोरीको कारण स्वास्थलाभ गरी घर नै बसेको छु ।

कसैको जीवनको पूरा आयु कति हुन्छ ? थाहा छैन । तर लामो जीवन जिउन कसलाई पो रहर नलाग्ला र ? म पनि नयाँ जीवन पाएकोमा धन्य भएको छु । रहर लागेको छ, नयाँ-नौलो केही गर्ने । अधुरा काम चाँडै सम्पन्न गर्ने । अनि बाँकी जीवन माया, प्रेम र शुभेच्छा बाँडेर बिताउने आदर्श प्रतिबद्धता बोकेको छु । हेरौं, कति सफल हुन्छु ।

अस्तु !

भर्जिनिया, अमेरिका