नेपाल जस्तो अव्यावसायिक वातावरण भएको देशमा साहित्य जस्तो अनुत्पादक क्षेत्रमा दैनिक अनलाइन पत्रिका निकाल्ने कल्पना जो कसैका लागि पनि डरलाग्दो सपना हो । खै किन हो, मलाई भने यो कल्पना धेरै अघिदेखि बुढेसकालको सुखद सहारा हो भन्ने लाग्दथ्यो । ‘उनी’, ‘जुकरबर्ग क्याफे’ र ‘प्रेमालय’मार्फत साहित्यका पाठकसम्म पुग्दा बजारबाट मैले जुन न्यानो माया पाएँ, त्यसले नेपाली साहित्यको भविष्य त्यति साह्रो बिग्रिए जस्तो लाग्दैनथ्यो ।

यही कारण ‘कुनै दिन दालभात र डुकुको समस्या समाधान भयो भने म दैनिक साहित्यिक पत्रिका चलाउँछु’ भन्ने कल्पना जाग्दथ्यो । यो कल्पनामा म यति निमग्न हुन्थेँ कि मेरो बाँकी जीवनको अर्थ नै साहित्यिक पत्रिका हो भन्ने लाग्न थालेको थियो ।

अन्ततः पाँच वर्षअघि वैशाख १ को शुभ साइत पारेर आकर्षक तलब पाइरहेको कान्तिपुर पब्लिकेसन्स छाडेँ । २० वर्ष काम गरिसकेको कान्तिपुरको स्थायी जागिर छाडेपछि मसँग दुई वटा विकल्प थिए । एउटा, सञ्चय कोषलगायत जागिर छाड्दा प्राप्त भएको पैसा आकर्षक व्याज आउने सहकारीमा राखेर पूर्ण रूपमा किताब लेख्दै जीवन बिताउने । दोस्रो, बचतमा रहेको पैसालाई नचलाई केही वर्ष कान्तिपुरमा सिकेका कुरालाई अझ राम्रो ठाउँमा सदुपयोग गर्ने ।

यी दुई मध्ये के गर्ने भन्ने सोच्न भने मलाई धेरै समय लाग्यो ।

यही दुबिधामा रहेको बेला मलाई अनलाइनमा सर्वाधिक पढिने अनलाइनखबर पत्रिकाबाट जागिरको अफर आयो । ४१ वर्षे ‘जवानी’मै किताब लेखेर निष्क्रिय बस्ने कुरा व्यवहारिक होइन भन्ने अनलाइनखबरका प्रमुख कार्यकारी सुरेश भुसालको प्रेमपूर्ण चेतावनीपछि म उहाँको पछि लागेँ ।  अनलाइनखबर साँच्चै नै सोचेभन्दा व्यावसायिक थियो र धेरै काम देखाउन सक्ने प्लेटफर्म थियो । त्यहाँ आर्थिक र राजनीतिक पहुँच बढाउने प्रशस्त अवसरहरू थिए  । तर काम गर्दै जाँदा  मलाई यहाँ पनि साहित्यको नशाले छाडेन । भविष्यमा पूर्ण रूपमा साहित्यिक पत्रकारिता गर्ने योजना छ भने किन अरूतिर भौँतारिनु ? बस यहीँनेर मैले साहित्यपोस्टको आन्तरिक तयारी गर्दै अनलाइनखबरमा साहित्यिक सामग्री पस्कन थालेँ । यो क्रम दुई वर्ष चल्यो ।

दुई वर्षपछि अनलाइनखबर छाड्दा मसँग पूर्ण रूपमा साहित्यपोस्टको खाका थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गैरआवासीय नेपाली सङ्घको भाषा साहित्य विभाग, अन्तर्राष्ट्रिय नेपाली समाज, विश्व नेपाली साहित्य महासङ्घ, नेपालभित्र दर्ता भएर सञ्चालन भइरहेका विभिन्न साहित्यिक सङ्घसंस्थाका मूर्धन्य व्यक्तित्वहरूको नेटवर्क अनि उहाँहरूमध्ये केहीको साथ दिने र सहयोग गर्ने वचन थियो ।

अनि त के थियो, आफूले २० वर्ष जागिर खाँदा बचाएको सञ्चय कोष, विभिन्न समयमा थोरै थोरै गरेर लगाएको लगानी र केही घरेलु बचतको आँटले पत्रिका दर्ता गरियो । त्यसमा स्वनामधन्य साहित्यिक व्यक्तित्व एवं साहित्यप्रेमीहरूबाट प्राप्त सानो–ठुलो रकमलाई जोडेपछि ठुलो आँट आउनु स्वाभाविक थियो । गोजीभरि पैसाको बिटा बोकेर तीन वर्षअघि अनामनगरमा एउटा सानो कार्यालय खोलेर साहित्यपोस्ट सञ्चालन गर्दा लाग्थ्यो, पत्रिका चलाउनु कुन ठुलो कुरा हो र ? हामीले भटाभट कार्यालयलाई आवश्यक पर्ने सबै किसिमका भौतिक सामग्रीहरू जोड्यौँ । केही थान मोटरसाइकल किन्यौँ र एउटा आधुनिक पत्रिकामा पूर्ण जोसका साथ होमियौँ ।

पत्रिका सञ्चालन गर्नु र त्यसलाई व्यावसायिक रूपमा सफल बनाउनु फरक कुरा रहेछ भन्ने बुझ्न एक वर्ष पनि कुर्नु परेन । पत्रिका सुरु हुने बित्तिकै विश्वव्यापी कोरोना लहर, कोरोनाका कारण शून्य आम्दानीमा कोठा भाडासहित ७ जना पत्रकार कर्मचारीको भरणपोषण, र त्यसमाथि कोरोनाका कारण झन्डै ज्यान गुमाउनुको पीडाका बिचमा लाग्यो, साहित्यका नाममा बहुलाउने काम सुरु गरिएछ । कोरोनाको प्रभाव सकिन दुई वर्ष लाग्दा साहित्यपोस्टको गोजी पनि रित्तिइसकेको थियो । साहित्यपोस्ट सुरु हुँदा साहित्य क्षेत्रबाट जुन किसिमको उत्साह प्राप्त भएको थियो, नगदविहीन अवस्थामा त्यो उत्साहले मात्र काम गर्न सक्ने ठाउँ थिएन । बिस्तारै लाग्यो, अब पत्रिका बन्द गर्नुपर्छ ।

अर्कोतिर पत्रिका निस्किएपछि पाठकको सङ्ख्या हरेक दिन बढिरहेको थियो । नेपालभित्र मात्र होइन, नेपालबाहिर खाडी मुलुकहरू, युरोपदेखि अमेरिकासम्म, अस्ट्रेलियादेखि जापान–कोरियासम्म पाठकको दायरा फैलिन थालेको थियो । नेपाल छाड्ने नेपालीहरू मात्रै होइन, नेपालसँग भाषाको मात्र साइनो गाँसिएका भारतको  सिक्किम, दार्जीलिङ, असम, नागाल्याण्ड, मणिपुर क्षेत्रहरूमा पनि पत्रिकाले हजारौँ पाठक पाउन थाल्यो । त्यति मात्र होइन, भुटान, बर्मा र थाइल्यान्डका सयौँ साहित्यिक पाठकहरू पनि साहित्यपोस्टसँग जोडिन थाल्नुभयो । सुरुमा ७ जना लेखक–पत्रकार र कर्मचारीको दायित्व बहन गर्नुपर्ने व्यवस्थापन विभागलाई रचनाहरूको सङ्ख्या बढेसँगै सम्पादक र प्रूफ रिडर पनि बढाउनुपर्ने बाध्यता आइपर्‍यो । नढाँटी भन्नुपर्दा एक समय यस्तो आयो, केही साथीहरूलाई तलब दिन नसकी बिदा दिनुपर्यो । इमेलमा मिनेट मिनेटमा लेखक-कविका रचना आएको देख्दा रिस उठ्ने अवस्था आइसकेको थियो । ‘रचना छाप्न लायक छ वा छैन ?’, पढ्नका लागि तलबी कर्मचारी राख्नुपर्ने बाध्यताका बिच रचना पढ्दै नपढी डिलिट बटम थिच्नुपर्ने पीडादायी अवस्था सम्झँदा अहिले ग्लानि अनुभव भइरहेको छ ।

जहाँ पैसा जोडिन्छ, जतिसुकै सेवा भनिए पनि त्यहाँ व्यापार जोडिन्छ । मलाई पनि लाग्यो, साहित्यलाई व्यावसायिक बनाउनै पर्छ । बजारमा निस्कने पुस्तकको विज्ञापन छाप्ने, त्यसको मूल्य तोक्ने र सहयोगी हातहरूलाई सम्मान गर्ने परम्परा बसाउनुपर्छ । त्यसै गरी साहित्यप्रेमी व्यावसायिक व्यक्तित्वहरू जोडेर यसलाई सङ्घठन बनाउनु पर्छ । उहाँहरूले लेख्नुभएका पुस्तकहरू प्रकाशन गर्नुपर्छ । ती पुस्तकबाट प्राप्त रकम साहित्यपोस्टलाई दिन उहाँहरूलाई आग्रह गर्नुपर्छ । उहाँहरूलाई आजीवन सदस्य बनाउने र यो सङ्घठनको बलमा पत्रिकाको आर्थिक अवस्था पनि दह्रो बनाउँदै जानुपर्छ । नभन्दै यसले काम गर्न थाल्यो ।

हेर्दा हेर्दै हामीले फेरि दर्जनौँ मनकारी व्यक्तित्वहरू पायौँ । हामीले उहाँहरूका पुस्तकहरू प्रकाशन गर्न थाल्यौँ ।  किताब निस्किएको दिन रक्सी खाएर पार्टी गर्नुभन्दा पुस्तकको विज्ञापन गर्नुपर्छ, प्रचारप्रसारमा ध्यान दिनुपर्छ भन्ने लेखकहरू पनि प्रशस्त पायौँ । पत्रिकाको आर्थिक स्वास्थ्य वृद्धि गर्न  भाषा सम्पादन, डिजाइनका कामहरू पनि पायौँ । निरन्तरको अभियानका कारण कर्पोरेट हाउसहरूको आँखा पनि हामीतिर सोझिन थाल्यो । हेर्दा हेर्दै आज हामी आफ्नो खुट्टामा उभिने भएका छौँ ।

आज, तेस्रो वर्ष पूरा गरेर चौथो वर्षमा प्रवेश गर्दा लाग्दैछ, धन्न हताश भएर पत्रिका बन्द गरिएन छ । हो, हामीले जानेर नजानेर दैनिक साहित्यिक पत्रिका चलाउने नाममा ठुलो आर्थिक क्षति बेहोरे पनि आज कम्तीमा ११ जना साथीहरूको रोजगारीको कारण बनेको छ, साहित्यपोस्ट । दैनिक २० हजारको हाराहारीमा पाठक पाएका छौँ । हामीले के राम्रो गर्यौँ, के नराम्रो गर्यौँ, तुरुन्तै तात्तातो सकारात्मक–नकारात्मक प्रतिक्रिया दिने सामाजिक सञ्जालकर्ताहरू पनि पाएका छौँ । आज ११ जना पूर्णकालीन साहित्यकार–पत्रकारहरूको टिमले यो पत्रिकालाई एउटा उचाइमा पुर्‍याउनु भएको छ । जसलाई बचाउन मात्र सकियो भने पनि नेपाली साहित्यिक क्षेत्रको इतिहास बन्ने निश्चितप्रायः छ ।

फेरि पनि उही कुरा, हामीले नाफाका लागि यो पत्रिका खोलेका थिएनौँ । त्यसैले घाटाको हिसाब गरेका छैनौँ । भविष्यमा हामी नाफाका लागि यो काम गर्ने छैनौँ । तर पत्रिकालाई आफ्नो खुट्टामा उभ्याउन भने अहोरात्र खटिरहने छौँ । हिजो दैनिक साहित्यिक पत्रिका चलाउने एउटा व्यक्तिको सपना थियो, त्यो सपना अब सामूहिक सपना भएको छ । सायद यही सामूहिक सपनाकै कारण होला, साहित्यपोस्टका शुभचिन्तकलाई यसको निरन्तरताप्रति चासो छ ।

अब यो अश्विनी कोइराला, प्रकाश पौडेल, सर्वज्ञ वाग्ले, कृष्ण ढुङ्गेलको मात्र पत्रिका रहेन । यो पत्रिकालाई नगद सहयोग गर्ने, विज्ञापनमार्फत पत्रिकालाई जीवन दिने, आजीवन सदस्य बनेर यसप्रतिको दायित्व बहन गर्ने, पत्रिकामा नियमित लेख्ने र यसको पाठक भएकोमा गौरव गर्ने सबैको पत्रिका भएको छ । समग्रमा नेपाली भाषा, साहित्य, संस्कृति र कलाप्रति आस्था राख्ने नेपालीजनको आस्था बन्न थालेको छ ।  एउटा पत्रिकाका लागि योभन्दा ठुलो उपलब्धि के नै होला र ?

आजसम्म यो पत्रिकाबाट जे जस्ता गल्ती कमजोरी भए, त्यसको दोष म आफू लिँदै यसले गरेका राम्रा कामको जस माथि उल्लेखित व्यक्ति र संस्थाहरूलाई दिन चाहन्छु । अब यसलाई सामूहिक निर्णयमार्फत अघि बढाउने योजना बनाएको छु ।

यहाँसम्म साथ दिने र सहयोग गर्ने सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दै साहित्यको पनि दैनिक पत्रिका हुन्छ भन्ने प्रमाण पेस गरिदिनुभएकोमा यससँग सम्बन्धित सबैमा आभार प्रकट गर्दछु । एउटा व्यक्तिले देखेको सानो सपनालाई ठुलो सपना बनाइदिने तपाईँहरू महान् आत्मालाई जति नै नमन गरे पनि कम हुन्छ ।

चौथो वर्ष प्रवेशको यो विन्दुमा यो पत्रिकाको सबै राम्रा पक्षहरू यहाँहरूलाई नै हस्तान्तरण गर्दै आगामी दिनमा यसको उत्थानमा पुनः सुरुकै अवस्था जस्तै उत्साहका साथ खट्नेछु । तर यसबाट केही प्राप्त भए त्यसलाई साझा बनाउने प्रतिबद्धता गर्दै यो पत्रिकासँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिनु भएका सबैलाई वार्षिकोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अश्विनी कोइराला
प्रधान सम्पादक–व्यवस्थापक