१. विषयप्रवेशः
कुनै पनि देशको हँसिलो वर्तमान र सुन्दर भविष्य त्यस देशका महान् साहित्यकार, कवि, कलाकार, दार्शनिक, महान् पुरुषहरूको योगदान त्याग र उत्सर्गको गाथासित जोडिएको हुन्छ। तिनै महान् साहित्यकार, राष्ट्र-निर्माता, सपुतहरूको असीम राष्ट्रभक्ति तथा परिश्रमले धरतीमा भोलिका निम्ति मुस्कुराउन र अतीतलाई सम्झेर गर्वित हुने बाटो देखाउँछ । ती महान् सपुतहरूका गरिमामय गाथा, कीर्ति र इतिहास सुनाई वर्तमानका पुस्तालाई प्रेरणा दिन र भविष्यलाई बाटो देखाउन सक्षम हुन्छौँ तथा ती साधक, साहित्यमहारथी हाम्रा अमूल्य निधि हुन् भनी आनन्दित हुन्छौँ । भाषा-साहित्य, संस्कृति, कला, पत्रकारिता, सम्पादन आदि गर्न मनको प्रबल इच्छा हुनुपर्छ। कतिले यसमा चाहेर पनि गर्न सक्दैनन् कतिले नचाहँदा नचाहँदै पनि प्रतिभाले उनीहरूलाई त्यतातिर तान् छ। इच्छाशक्ति भए उपायहरू निस्कन्छन् । खोजेर कला-कौशल बटुलिन थाल्छन् । समाज र जातिको उत्थानका लागि शिक्षा र साहित्यको आवश्यकता पर्छ । स्रष्टाहरू व्यथित र द्रवित मनका पीडा र सुस्केराहरू बोकेर अतीतका पृष्ठभूमिलाई वर्तमानमा रचनाहरू सृजना गर्दै कटु यथार्थलाई अभिव्यक्ति दिन्छन् । उनीहरू मानव समाजको कल्याण हेतु भाषा-साहित्य संस्कृति उत्थाननमा उपदेशक बन्न पुग्छन् । यस्तै भाषा-साहित्य,पत्रकारिता, कला र सामाजिक उत्थानका लागि विगत तीस वर्षदेखि निररन्तर लागिरहेका जुझारु व्यक्ति हुन् शिबु छेत्री । विगत तीस वर्षदेखि नेपाली पत्रकारितामा लागेर नेपाली भाषालाई उच्चता दिने केही व्यक्तिहरूको नाम लिँदा शिबुको पनि लिनुपर्छ। पत्रकारिताका साथै साहित्यमा पनि विशेष रुचि राख्ने शिबुले निबन्ध तथा बाल कथाकरिताका क्षेत्रमा उच्च स्थान बनाइसकेका छन् । यस लेखकमा शिबुको जीवनी, व्यक्तित्व देखाउँदै उनको म उभिएको धरतीको विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ ।
२. जीवनीः
साहित्यिक नाम शिबु छेत्री(चिनाको नाम विद्यासागर) को जन्म जलपाइगढीको रायकत भन्ने ठाउँमा भएको हो। दुइ जना दिदी, दुइ जना दाजुपछि शिबुको जन्म भएको थियो, उनीपछि भाइ थिए । यसरी आमा-बुबा गरेर सात जनाको परिवार जलपाइगढीको रायकतपाडा भन्ने ठाउँमा बस्थे । रायकतपाडा बङ्गाली गाउँ थियो भने त्यहाँ एक्लो शिबुको परिवारमात्र बस्थ्यो। शिबु छेत्री गङ्गाबहादुर छेत्री तथा सरस्वती छेत्रीका साहिंला छोरा हुन् । उनको प्रारम्भिक शिक्षा रायकतपाडामा नै भएको हो। उनले कला विषयमा स्नातक र पत्रकारितामा डिप्लोमासम्मको शिक्षार्जन गरेका छन् । बाल्यकाल बुबा-आमाको कुशल निर्देशनमा बितेको यिनको आत्मजीवनीबाट बुझ्न सकिन्छ । शिबु छेत्रीको जीवन बङ्ला तथा नेपाली भाषाको सङ्गमले बनेको छ। बाल्यकाल बङ्गाली भाषी परिवारमा बितेकोले यिनको व्यक्तित्वमा बङ्गाली भाषा र संस्कृतिको गहिरो प्रभाव परेको छ। घरमा नेपाली बोले तापनि बङ्गाली पढ्ने सौभाग्य भने बङ्गाली माध्यमका स्कूलबाट प्राप्त गरे। उच्च शिक्षामा बङ्गाली विषय रहेकाले पत्रकारितामा डिप्लोमा लिएपछि बङ्गाली भाषी पत्रिकाको माध्यमबाट पत्रकारको जीवन आरम्भ गरे। बाल्यकालदेखिनै बाबा-आमाको कुशल अनुशासनमा सरल जीवन निर्वाह गरेका शिबुको परवर्ती जीवन पनि सरल रहेको छ र वर्तमानसम्म यो जीवनशैलीलाई इमानदारपूर्वक पालन गरिरहेका छन् । ‘कर्म गर तर फलको आशा नगर’ भन्ने सिद्धान्तलाई यिनले अक्षरशः पालन गरिरहेका छन् । साना–साना कार्य गरेर ठूला-ठूला अक्षरले आफ्नो नामको प्रचार गर्नेहरूलाई यिनले ठाडो चुनौती दिएका छन् । यिनको प्रसिद्ध कृति म उभिएको धरतीमा यिनले आफ्नो सानो परिचयसम्म दिएका छैनन्। दृढ सङ्कल्प भएका शिबुले आफ्नो कर्मको इमानदारीसाथ कुशालतापूर्वक पालन गरिरहेका छन् । यिनका बाबुले -‘नेपाली पत्रकारिता अत्यन्त जटिल कार्य हो, जीवन धान्न गाह्रो हुन्छ’ भन्दा भन्दै पनि यिनी पछि नहटी आफूले रोजेको विषयलाई निष्ठापूर्वक अघि बढाइरहेका छन्। साँच्चै भन्ने हो भने नेपाली पत्रकारिता अत्यन्त जटिल छ। अङ्ग्रेजी र हिन्दी पत्रकारिताको जस्तो फराकिलो संसार छैन। यस्तो कठिन परिवेशमा पनि यिनले नेपाली भाषाप्रति इमानदार भएर कर्त्तव्यर्को निर्वाह गरिरहेका छन्। यस्तै इमानदार र निर्भीक पत्रकारले गर्दा नै नेपाली भाषा जिउँदो रहेको छ।
यिनले बालसंसारलाई आफ्नो साहित्यको माध्यम बनाएका छन् भने त्यही अनुरूप विषय पनि रोजेका छन्। हुन त बालमनोविज्ञान त्यति सजिलो छैन, तर बाल मन स्वच्छ, स्वतन्त्र, पवित्र, निःस्वार्थ र निष्कलङ्क हुन्छ। उनीहरू जे बोल्छन् त्यही गर्छन्। त्यसैले शिबुलाई बालक मनले तानेको हुनसक्छ। पत्रकारिता जस्तो जटिल र कुटिल पेशामा रहेर पनि आफूलाई इमानदार बनाइराख्नसक्नु सामान्य कुरा होइन। शिबु पत्रकारिताका लागि नै जन्मेका हुन् भन्ने कुरा यिनको आत्मजीवनीबाट बुझ्न सकिन्छ। यिनको जीवनी पत्रकारिता, कथा, बालसाहित्य, निबन्ध, कविता आदिको समन्वयबाट बनेको छ भन्ने कुरा यिनको कर्मबाट जान्न सकिन्छ। यिनको प्रवृत्ति र विचार बुझ्न बल्यकालको पृष्ठभूमि, पत्रकारिता, आत्मजीवनी तथा बालसाहित्य पढ्नुपर्ने हुन्छ।
पत्रकार बन्ने उद्देश्यले पत्रकारितातिर लागेका शिबुले पत्रकारितामा डिप्लोमा गरिसकेपछि सन् १९९४ तिर आनन्द बङ्ग नामक बाङ्गला पत्रिकाबाट पत्रकारको जीवनी आरम्भ गर्न पुग्छन्। पाँच-छः वर्षको बाङ्ला भाषामा पत्रकारिता गरेपछि सन् २००० तिर आजभोलि नेपाली दैनिकमा काम गर्न थाल्छन्। सन् २००० मा आजभोलि पत्रिका बन्द हुन्छ। सन् २००० देखि यिनी हिमालय दर्पण दैनिकमा कार्यर्कारी सम्पादकको पदमा नियुक्ति हुन्छन्। बाह्र वर्षको कुशल कार्यपछि सन्२०१२ मा यिनलाई प्रधानको सम्पादकको पदमा नियुक्ति गरिन्छ। सन् २०१२ देखि शिबुले कुशलतापूर्वक हालसम्म निर्विवाद ढङ्गले आफ्नो कर्त्तव्यको निर्वाह गरिरहेका छन्।
शिबुले आफूलाई पत्रकार वा सम्पादकको घेरोभित्र केन्द्रित गरेका छैनन्। यिनले विगत १५/२० वर्षदेखि बालसाहित्यको सृजना गर्दै आएका छन्। त्यसकै परिणामस्वरूप सन् २०१९ मा नयाँ जुत्ता शीर्षकको बालकथा सङ्ग्रह प्रकाशित भएको छ। यिनी बालसाहित्यमा मात्र सीमित नरहेर निबन्ध लेखनतिर पनि सक्रिय रहेका छन्। सन् २०२१ मा यिनको म उभिएको धरती शीर्षकको आत्मकथानात्मक निबन्ध सङ्ग्रह प्रकाशित भएको छ र निकट भविष्यमा यस्तै अरु कृतिहरू पनि प्रकाशित हुने सम्भावना रहेका छन्। भविष्यमा यिनले बाल साहित्यमाथि तीनवटा कृतिहरू प्रकाशित गर्ने प्रतिबद्धता प्रकट गरेका छन्।
३. प्रवृत्तिः
शिबु छेत्री समसामयिक युगका स्वच्छन्दतावा-यथार्थतावादी साहित्यकार हुन्। यथार्थवाद यिनको प्रमुख प्रवृत्ति हो। पेशाले पत्रकार भए तापनि कर्मछेत्र भने साहित्यसँग जोडिएको छ। बहुभाषी भएकाले त्यसको प्रभाव स्पष्टरूपले यिनको लेखनशैलीमा देख्न सकिन्छ। यिनी पत्रकारिताका माध्यमबाट नेपाली भाषा-साहियत्यलाई सम्वर्धन, प्रवर्धन तथा सिर्जन गर्ने केही प्रमुख साहित्यकारमध्ये एक हुन्। विगत तीस वर्षदेखि यिनी नेपाली पत्रकारितालाई जोगाउन, विकास गराउन निरन्तर लागिरहेका छन्। अब त नेपाली पत्रकारितामा यिनको नाम नलिए त्यो अधुरो हुनजान्छ। यिनले आफूलाई पत्रकारको रूपमा त स्थापित गराएका छन्, साथै बालकथाकारितमा पनि उदियमान बनिसकेका छन्। बालकथाकारिता मात्र नभएर आख्यानात्मक निबन्धकारितामा पनि आफूलाई नेपाली साहित्ये-इतिहासमा दर्ता गराइसकेका छन्। यिनको व्यक्तित्व बङ्ला भाषा र नेपाली भाषाको सङ्गमले बनेको छ। बहुभाषी लेखन तथा सिर्जन पनि यिनको मुख्य प्रवृत्ति रहेको छ। यिनले बाङ्ला र नेपाली भाषामा समानरूपले लेखापढी साहित्य सिर्जन गर्नसक्छन्। बाङ्ला भाषाप्रति यिनको विशेष आग्रह रहेको छ त्यसैले म उभिएको धरती निबन्धमा यसको उदाहरण स्पष्टरूपले देख्न सकिन्छ। सामाजिक यथार्थ तथा बालमनोविज्ञान यिनको लेखनको मुख्य विशेषता मान्न सकिन्छ। यिनको बाल कथासङ्ग्रह नयाँ जुत्तामा शिशुहरूका चाहना र आकाङ्क्षालाई वैज्ञानिक ढङ्गले अघिसारेका छन् साथै विज्ञानले दिएको वरदान मानिने मोबाइल फोनले कसरी ससाना बालक-बालिकाहरूलाई आफ्नो वशमा पारे र बालकपन नै खोसेको छ भन्ने विषयलाई निर्भीकताका साथ पाठकका अघि खुल्ला पारेका छन्। यस प्रकारले निर्भीकता पनि यिनको लेखनको मुख्य प्रवृत्ति रहेको छ। सामाजिक-यथार्थवादी तथा बालमनोविज्ञानमा आधारित कथा तथा निबन्ध लेख्ने शिबुले देखेभोगेका र अनुभव गरेका विषयलाई अघि सारेका छन्। विषयवस्तुमा कारूणिकता र भावुकता पनि यिनको प्रवृति हो। यिनका निबन्धहरूले नेपाली विशेष गरी दार्जिलिङ्ग समाजका ऐतिहासिक सत्यता, जातीय विचार, समाजको प्रतिनिधत्व गरेर हिंड्ने नेताहरूको स्वार्थ र पदलोलुपता आदि सम्बद्ध विषयहरूको उद्घाटन गरेका छन्। जातीय चिन्तन पनि यिनका लेखनमा पाइने अर्को मुख्य प्रवृत्ति हो। यिनका कथा तथा निबन्धमा चरित्र भन्दा घटनाले बढी महत्व पाएका छन्। यिनी यथार्थभित्र पनि रोचकता ल्याउनसक्ने साहित्यकार हुन्। जीवनमा घटेका विभिन्न घटनामार्फत विभिन्न प्रकारका सन्देश दिनु पनि यिनको महत्त्वपूर्ण प्रवृत्ति रहेको छ। विषम परिस्थितिमा आफूलाई कसरी संयम राख्न सकिन्छ र आध्यात्मिक चिन्तनले जीवनमा कसरी मार्गदर्शन गराउँछ भन्ने विशेषता पनि यिनको दर्शनबाट बुझ्न सकिन्छ। मित्यव्ययिता, सरलता, अनुशासित भएर पनि जीवन चल्छ भन्ने राम्रो सन्देश दिने साहित्यकार हुन् शिबु। सरलता, सहजता पनि यिनको लेखनको प्रमुख प्रवृत्ति रहेको छ।
४. कृतित्वः
शिबु छेत्रीले पत्रकारिता, बालकथा, निबन्ध आदि विविध विषयमा कलम चलाउँदै आएका छन्। यिनी उल्लिखित तीनै विषयमा सफलम छन्। यद्यपि यिनलाई पत्रकारिताले ख्याति दिए तापनि कथा तथा निबन्धमा पनि उत्तिकै सफल छन्। तल यिनका साहित्यिक कृतित्वको सङ्क्षेपमा चर्चा गरिएको छ-
(क) पत्रकार
शिबु एक जना सफल र दक्ष पत्रकार हुन्। पत्रकारिता उनलाई कसैले कर लगाएर गरिएको होइन। पत्रकारिता यिनले आफ्नो स्वविवेकले रोजेका हुन्। यिनका अग्रज तथा अनुजहरूले पत्रकारिता पेशा छोडेर अन्य पेशा अप्नाए तापनि यिनले आफ्नो कर्त्तव्य ठानी त्यसको निष्ठापूर्वक निर्वहन गरिरहेका छन्। त्यसैले त यिनले- “इच्छाशक्ति, दूर दृष्टि, धैर्य अनि हरेक चुनौतीसित लड्नसक्ने आत्मविश्वास हुनुपर्छ पत्रकार बन्नका लागि। पत्रकारिता पेशा होइन जिम्मेवारी हो। पत्रकारिता साधना, तपस्या हो। पत्रकार बन्न पटक्कै सजिलो छैन। आफ्ना लागि नभएर समाजका लागि केही गर्नुपर्छ भन्ने सोच थियो। त्यसैले पत्रकारिता रोजेँ”।(पत्रकारिता एक अवसर,पृ०१२४) भनेर आत्मस्वीकृति गरेका छन्। आफूले रोजेको पेशालाई साधना, तपस्या हो भन्दै विगत २८ वर्षदेखि अनेक अफ्ठ्यारा समस्या र चुनौतिहरू आउँदा पनि निरन्तर लागिरहेका छन्। बाङ्ला भाषाका राम्रा अध्यता र कला विषयमा स्नातक र पछि पत्रकारितामा डिप्लोमा गरेपछि कोल्डफिल्ड टाइम्स्बाट आफ्नो कर्त्तव्यसाधनाको यात्रा आरम्भ गर्छन् । केही वर्ष बाङ्ला भाषामा पत्रकारिता गरेपछि आजभोलि नेपाली दैनिकका लागि सेवा गर्न थाल्छन्। सन् २००० मा हिमालय दर्पणमा कार्यकारी सम्पादकको कर्त्तव्य निर्वाह गर्दागर्दै सन् २०१२ देखि मुख्य सम्पादक भएर निर्विवादरूपले स्वच्छ, स्वस्थ ढङ्गले हालसम्म कर्त्तव्यको पालना गरिरहेका छन्। सम्पादकको जस्तो दायित्वपूर्ण पदमा रहेर यिनले निरन्तर सेवा दिइरहेका छन्। सम्पादक भएर यिनी केवल सम्पादकको पासोमा बाँधिएका छैनन्। समय-समयमा आफ्नो लेखनीद्वारा राम्रा-राम्रा लेखहरू लेखेर समाजलाई दिशानिर्देश गरिरहेका छन्। विभिन्न लेखादिका साथै बालमनोविज्ञानमा आधारित कथाहरू पनि निरन्तर प्रकाशित भइरहेका छन्। सन् २०१९ मा नयाँ जुत्ता शीर्षकको बालकथासङ्ग्रह निकालेर आफ्नो प्रतिभालाई प्रस्फुटित पारेका छन्। यसरी समग्रमा भन्नुपर्दा शिबु निडर र निष्पक्ष पत्रकार हुन्। पत्रकार बनेर नेपाली समाजलाई दीर्घकालीन सेवा दिनसक्नु नै यिनको मूल प्राप्ति र योगदान हो।
(ख) कथाकार
शिबु क्षेत्री एक जना कुशल र सफल कथाकार हुन् भन्ने कुरा सन् २०१९ मा छापिएको बालकथा सङ्ग्रह नयाँ जुत्ताले स्पष्ट पारेको छ। हुन त यिनी बालसाहित्यमा बिगत १५ वर्षभन्दा अधिक समयदेखि निरन्तर लागिरहेका छन् तर कृतिकारका रूपमा भने सन् २०१९ मा देखिन्छन्। यिनको बालकथासङ्ग्रहमा २० वटा बालमनोविज्ञानसित जोडिएका कथाहरू सङ्कलित छन्। यिनको नयाँ जुत्ता सङ्ग्रहमा- नयाँ नयाँ जुत्ता, अक्षर सिकेको दिन, कण-कणमा समाहित, आमा, नपढ्नेले यसरी नै दुःख पाउँछ, कुलतलाई तिलाञ्जली, रोग बुढ्यौली नलागोस्, बुबा डोको नफ्याँक्नु होला, रवीनले चालै पाएन, स्कूलको छानो, सविनाले छाता हराइन्, स्कूल जाँदिन, बुबा खोइ, अनुशासनहीनताको परिणाम, बुट पालिस गर्ने केटो, केशरले फुच्चे बालकलाई घरमा ल्यायो, विजयले हात नधोई खपाखप खाँदा, छुट्टिन्छौं भेट्नका निम्ति नै, धेर लोभ गर्दा विलाप र एकता नै बल गरेर २० वटा कथाहरू सङ्कलित छन्। लघु आकारमा रचिएका यी कथाहरूले बालक मनका विभिन्न भावना, सोच, चाहना र इच्छा कस्ता हुन्छन् भनेर देखाउने चेष्टा गरेका छन्। यी कथाहरूले विभिन्न उमेरका बालक-बालिकाहरूका मनलाई टटोल्ने चेष्टा गरेका छन्। हुन त बाल-बालिकाहरूको मन बुझ्न सजिलो छैन। बाल-बालिकाहरूका मनको भाव खोज्नु एउटा मनोविज्ञानको विषय हो। मनोविज्ञान एउटा जटिल विषय हो, त्यसमा पनि बालमनोविज्ञान अझ जटिल हुन्छ। यिनले बालमनोविज्ञान विषय छानेर आफूलाई पनि मनोविज्ञानसित जोडेका छन् र नवीन सर्जककाको रूपमा उभिएका छन्।
(ग) निबन्धकार
शिबु छेत्रीको पाठकसमक्ष खुलेर आएको साहित्यिक व्यक्तित्व निबन्धकारिता हो। यिनी एकजना सफल निबन्धकार हुन् भन्ने कुरा उनको प्रकाशित आत्मपरक निबन्ध म उभिएको धरतीले स्पष्ट पारेको छ। आधुनिक निबन्धका जनक फ्रान्सिस् बेकनले ‘म नै मेरो निबन्धको विषय हुँ’ भने जस्तै शिबुले पनि आफूले बाल्यकालदेखि भोग्दै आएका विभिन्न अनुभव र विभिन्न घटना आदिलाई विभिन्न शीर्षकमा राखेर निबन्धको स्वरूप दिएका छन्। लक्ष्मीप्रसाद देवकोटाले “निबन्ध पाण्डित्य प्रदर्शन होइन, यो त त टेबल गफ हो’ भने जस्तै शिबुले पनि आफूले जीवन यात्रामा भोगेका, देखेका र समय-समयमा अनुभव गरेका भावनालाई जस्ताको तस्तै टिपेका छन्। यिनको म उभिएको धरतीमा विभिन्न शीर्षकका चौधवटा निबन्ध सरल र बोलचालको भाषामा लेखिएका छन्। यी निबन्ध पढ्दा दिमाग ख्याउनुपर्ने वा घरिघरि शब्दकोश पल्टाउनु वा गुगललाई सोध्नुपर्ने खालका छैनन्। सबै निबन्ध पठनीय र मननीय छन्। सन् २०२१ मा प्रकाशित म उभिएको धरतीले उनलाई निबन्धकारको कोटिमा राखेको छ र यिनको व्यक्तित्व पाठकका अघि खुलेर आएको छ। यसका साथै विगत तीस वर्षमा यिनले गरेका सम्पूर्ण कार्यको मूल्याङ्कन हुन बाँकी छ।
यिनको उल्लिखित निबन्ध सङ्ग्रह बाहेक- जिन्दगीमा सफलता पाउन श्री कृष्णझैं दृश्य-अदृश्य सहयोग हुन्छ, अरुलाई वास्ता नै नगर्ने अत्यन्त स्वार्थी भइसक्यो दार्जिलिङ्ग, कति साथीको धागो चुँडियो कति धागोमा जिन्दगी उन्दै होलान्, नेपाली साहित्य पुरस्कार पत्रकारिता २०२२, जहाँ छन् बुद्धका आँखा, नरायणले दीपालाई आँखा दियो, वैज्ञानिक खेतीले दिन्छ दामः शरण कुमार रिजाल, बालक बालिकाहरूलाई परिवार समाज र सामाजिक, अन्तक्रियाको महत्व र भूमिकाबारे केही थाहा छैन, पत्रकारितामा पनि विकृति पसेको छः शरद प्रधान, वस्तुपरक भन्दा व्यक्तिपरकतामाथि महत्व दिने हाम्रा समाजः पेम्पा तामाङ आदि यिनका हिमालय पत्रिकका दर्पणका विभिन्न अङ्कमा प्रकाशित लेख-निबन्धहरू हुन्। विभिन्न समयमा छापिएका निबन्ध तथा लेखहरू वस्तुपरक, विवरणात्मक, आत्मपरक, जातीयता, राष्ट्रियता, भावुकता जस्ता विषयमा आधारित छन्। यिनका निबन्ध पढ्दा सोझै गाउँमा पुगेजस्तो, मित्रसँग गफ गरेजस्तो, परिवारसँग बसेर मन बिसाएजस्तो अनुभव हुन्छ। मनमा चस्क्क चसक्क घोंच्ने विषयले गर्दा यिनी सबैका प्रिय बनेका छन् यो नै यिनका निबन्धको उपलब्धि र प्राप्ति हो।
(घ) कवि
शिबु छेत्रीलाई कविका रूपमा पनि हेर्न सकिन्छ। यद्यपि यिनको कविता सङ्ग्रह प्रकाशित छैन तर म उभिएको धरती निबन्धभित्र दुइवटा कविता लेखिएका छन्। चन्द्रमान हाँसेको दिन र बाल्यकाल र सङ्घर्ष शीर्षक निबन्धमा लेखिएका दुइवटा कविताले यिनमा प्रशस्त कवि भावना छ भनेर बुझ्न सकिन्छ। यिनी लेख्छन्-
“हिँडदाहिँड्दै दिन बितेर गयो
रातपछि फेरि बिहान हुने नै हो
त्यसो हो भने मन किन उदास
हुन सक्छ बीचमै बाटो बिराउने हो कि?
सपना सजाउँदा सजाउवदै रात बितिसकेछ
एक दिन मध्यरातपछि रात सकेने छ
खुशिको ज्वारभाटाले सबै भासिने छौं
सपना सजाउँदा सजाउँदै रात बितिसकेछ। (बाल्यकाल र सङ्घर्ष,पृ०१०३)
बुझ्दैन, कसैले बुझ्दैन मनको व्यथा
अन्धकारमा अन्तःस्करणमा बस्ने
वेदना यदि आफ्नै रहने भए
रातो रातोजवाकुसुम फुलले पनि बुझेन
विधवाको रित्तो सउँदो
बुझ्दैन बुझ्दैन मनको गहिराई
म त तिमीलाई दोष दिन्नँ,
मजस्तै हुनुपर्छ त्यसो होइन!
बुझेर पनि नबुझेको
चिनेर पनि नचिनेक (बुझ्दैन, कसैले बुझ्दैन(पृ०११४)
यिनको एउटा कागजको नाउ शीर्षकको कविता हिमालय दर्पणमा १२ सेप्टेम्बर २०१५ को अङ्कमा प्रकाशित भएको छ। यी कविताको भाव हेर्दा यिनमा प्रशस्त कवि भावना छ भन्ने बुझ्न सकिन्छ। यिनका कतिपय कविताहरू डायरीभित्र थन्किएर पनि बसेका होलान्। भविष्यमा ती अवश्य पाठकसमक्ष पुग्ने छन् र यिनको कवि व्यक्तित्व खुलेर आउने छ। कविताको विकसित रूप निबन्ध हो। निबन्ध र कवितामा मनको भाव खुलेर प्रकट हुने गर्छ। केही प्रकाशित कविताका आधारमा यिनको कवि व्यक्तित्व उन्नतशील छ र भविष्यमा त्यो झ्याङ्गिएर जाने छ भन्ने आशा गर्न सकिन्छ।
५. विभिन्न कोणबाट म उभिएको धरतीको विश्लेषण
(क) संरचना
आवरण पृष्ठमा सेतो र खैरो जिल्दले आभूषित, छेउमा टोपी र लामो कोट लगाएको, कोटका पाकेटमा हात हालेको गलामा गलबन्दी बाँधेको, टाउकोमा टोपी लगाएको, टाउको झुकाएर तल हेरिरहेको मान्छे, माथि तीन लहरमा नीलो रङ्गले म उभिएको धरती लेखेको र पुछारमा रातो रङ्गले शिबु छेत्री लेखेको, पछिल्लो पृष्ठमा पत्रकार टेकबहादुर घतानी, मणिकुमार राई र दिनेश लालवानी(जो कोरोना कालमा दिवङ्गत)का तीनवटा फोटोले सजिएको यो निबन्ध सङ्ग्रह मझौला आकारको छ। यो पुस्तक कठिन समयमा मार्गदर्शन र परामर्शद्वारा बाटो देखाइदिने मामा रामप्रसाद पौड्याललाई समर्पण गरिएको छ। यस सङ्ग्रहका पैंतीस पृष्ठ कृष्णसिंह मोक्तान र विन्द्या देवी सुब्बाका गहकिला भूमिका सजिएका छन् भने पृष्ठ चौंतीस, पैंतीसमा शिबु छेत्रीले सहयोगीप्रति आभार प्रकट गरेका छन्। पृष्ठ सङ्ख्या नदिएको पृष्ठमा विषय सूचिलाई अनुक्रमणिका भनेर लेखिएको छ। एक सय बयानब्बे पृष्ठमा फैलिएको यस सङ्ग्रहमा- सेफाली, मृत्युर भय ना की?, आमा, सुबास र बिमल, बुबा, बाल्यकाल र सङ्घर्ष, चन्द्रमान हाँसेको दिन, रातकी रानी, पत्रकारिता एक अवसर, मैं जी भर जिया,मैं मन से मरूः अटल, सपनालाई मर्न नदिने ओम पुरी, गोलरोटी र भाइटीका, कानु सन्याल, गोर्खाहरूको समस्याप्रति चिन्तित सौमेन दा र गाईसाल गरेर विभिन्न शीर्षकका चौधवटा निबन्ध सङ्ग्रहित छन्। यस सङ्ग्रहको पहिलो निबन्ध नौ पृष्ठ, दोस्रो एघार पृष्ठ, तेस्रो बाह्र पृष्ठ, चौथो सोह्र पृष्ठ, पाँचौं दश पृष्ठ, छैटौं दश पृष्ठ, सातौं आठ पृष्ठ, आठौं सोह्र पृष्ठ, नवौं आठ पृष्ठ, दशौं पाँच पृष्ठ, एघारौं आठ पृष्ठ, बाह्रौं बाह्र पृष्ठ, तेह्रौं नौं पृष्ठ र चौधौं निबन्ध दश पृष्ठमा फैलिएका छन्। सपनालाई मर्न नदिने ओम पुरी यस सङ्ग्रहको सबै भन्दा सानो पाँच पृष्ठको निबन्ध हो भने पत्रकारिता एक अवसर सोह्र पृष्ठमा फैलिएको सबै भन्दा ठूलो निबन्ध हो।
(ख) विषयवस्तु
म उभिएको धरतीमा शिबु छेत्रीका व्यक्तिगत जीवनसित सम्बन्धित घटना, समाजका विविध पक्ष, संस्कृति, शिक्षा-दीक्षा, राजनीति, नेपाली भाषा आदि विभिन्न विषयसित सम्बन्धित निबन्धहरू सङ्कलित छन् । बाहिरबाट झ्वाट्ट हेर्दा जीवनमा घटेका जटिल विषयजस्तो लागे तापनि ती विषय सरल भाषामा सललल बगेका छन्। बाल्यकालदेखि आफूले भोगेका, अध्ययन कालमा बिताएका, पत्रकारिता गर्दा बटुलेका अनुभवलाई बोलचालको भाषामा सरसर्ती वर्णन गरेका छन्। बङ्गाली समाजको परिवेशमा हुर्केका शिबुमा त्यस समाजको रहन, सहन, भाषा-संस्कृति, शिक्षाले निकै प्रभाव पारेको छ। बाङ्ला भाषाबाट यिनी यति प्रभावित बनेका थिए कि पछि पत्रकार बनेपछि त्यही भाषामा पत्रकारिता गर्न थाल्छन्। के कारणले हो कुन्नी पछि बाङ्ला भाषा छोडेर नेपाली पत्रकारितामा लाग्छन् यसको उल्लेख कुनै पनि निबन्धमा प्रकट गरेका छैनन्, गोप्य राखेका छन्। विषयवस्तु, सहभागिता, परिवेश,उद्देश्य र दृष्टिविन्दु, भाषाशैलीय विन्यास आदि विभिन्न कोणबाट यस निबन्धको विश्लेषण गरिएको छ-
‘सेफाली’ यस सङग्रहको पहिलो निबन्ध हो। यस निबन्धमा बङ्गाली युवती सेफाली र लेखकबीच रहेको आत्मीयता झल्किएको छ। सेफालीका माध्यमबाट निबन्धकारले बङ्गाली समाजका सङ्गीत, कला, भोजन, पूजा, देशभक्ति, धर्म, धर्मगुरुप्रति आस्था आदि विविध वस्तु यसमा प्रस्तुत गरिएको छ। यस निबन्धमा निबन्धकारले करूणाको भाव पनि झल्काएका छन्। बङ्गाली समाजमा कसरी आफ्ना जातिका महान् पुरुषलाई सम्मान प्रकट गरेका हुन्छन् भन्ने विषयले यिनलाई सानै उमेरमा प्रभावित गरेको कुरा बताएका छन्। सेफालीका घरका भित्तामा टाँसिएका ती महान् व्यक्तिहरूले कति गहिरो प्रभाव पारेका छन् र नेपाली जातिमा पनि त्यस्तै व्यक्ति हुनुपर्ने कल्पना गरेका छन्। ती महान् पुरुषहरूको छाप यिनको परवर्ति जीवनमा परेको देखिन्छ। पत्रकार भएपछि वर्तमान युगका महान व्यक्ति, कलाकार, खेलाडीआदिलाई भेट्ने सौभाग्य पाएका छन्। बङ्गाली जातिमा भए जस्ता महान गुण हाम्रो जातिमा हुने कल्पना यिनले गरेका छन्। हुनत हाम्रा जातले पनि परिश्रम गरेर संसारभरि नाम कमाएका छन् तर किन आफ्नो जातिमा त्यसको सुगन्ध फैलन सकेन भन्दै यिनी नलेख्छन्- “ उसको जातिलाई सम्झिएँ। कति विचारवान छन् तिनीहरू। एउटा विचारलाई समातेर हिंडेपछि लक्ष्यमा नपुगेसम्म त्यस विचारलाई नछोड्ने। मेरो जाति भने विचारलाई गर्भमैं मार्ने। ….. एक दिन सेफाली तिम्रो जातिसरह हामी पनि संसारै ढाक्ने बनेर सुवास छर्ने छौं”।(पृ०५०)
‘मृत्युर भय ना की’? यस सङ्ग्रहको दोस्रो निबन्ध हो। बङ्गाली भाषामा शीर्षक राखिएको यो निबन्धमा भाव र भाषाबीच गहिरो सम्बन्ध रहेको छ। शीर्षकबाटै शिबुमा बङ्गाली भाषाप्रति गहन प्रेम र सहानुभूति रहेछ भन्ने बुझ्न सकिन्छ। ‘अल्पश्च कालो बहुविघ्नता च’ भन्ने उक्तिलाई यस निबन्धले स्पष्ट पारेको छ। जीवन र जगतलाई नजिकबाट बुझेका र रवीन्द्र ठाकुरले ६४ वर्षको उमेरमा जीवनको अर्थ बुझ्न माटोको काम सिकेर आफू बस्न माटाको श्यामली कुटी बनाउँछन् र त्यहीं बस्ने निर्णय गर्छन्। उनी मृत्युशैयामा परेको अघिल्लो दिन विश्व भारतीय कला विभागका आचार्य क्षितिन्द्र मोहन सेन त्यहाँ पुग्छन्। उनलाई देखेर रवीन्द्रका आँखाबाट आँशु झर्न थाल्छन्। त्यो देखेर क्षितिन्द्र मोहनले उनलाई –“ गुरुदेव मृत्युर भय ना की?” भनेर प्रश्न गर्छन्। जगतलाई छेउबाट हेरेका रवीन्द्रले- “ मृत्युको डर होइन तर जीवनजगतबारे एक चिम्टी सत्यता पनि जान्न सकिन यसैले दुःखी बनेर आँशु बगेको छ” भन्ने गहन भावबाट आरम्भ गरिएको यस निबन्धमा निबन्धकारले आफू कागजको बल खेल्दै स्कूल गएको, सन् १९६२ को भारत-चीन युद्ध, सन् १९७१ को भारत-पाक युद्धको उल्लेख गरेका छन्। बाङ्लादेश बन्दा बङ्गाली पुनः विस्थापित भएर सिलिगुढी पसेको, नेपालीहरूले जमीन बेचेको, सुस्मिताको परिवारबीच सम्बन्ध बढेको, दार्जिलिङ्ममा चालीस दिने आन्दोलन भएको, आफूले कलेज पढेको, सानैदेखि पत्रकार बन्ने इच्छा राखेको, पत्रकारको काम गर्न थालेपछि आजभोलि समाचारमाथि प्रतिबन्ध लागेको र सुस्मिता र उसकी आमाको रेल दुर्घटनामा परेर मृत्यु भएको आदि घटनाको उल्लेख गरेर निबन्ध समाप्त भएको छ।
सङ्ग्रहको तेस्रो निबन्ध ‘आमा, सुबास र विमल’ शीर्षकभित्र शिबुले आफ्नो बाल्यकालको वर्णनदेखि लिएर दार्जिलिङ्गमा सुवास घिसिङ्ले छुट्टै राज्यको मागको आन्दोलन चरमसीमामा पुराएको र त्यसबाट गोर्खालीहरूले पाएको प्राप्ति र अप्राप्ति आदि विषयलाई गहिराइका साथ उकेरेका छन् भने घिसिङको साम्राज्य समाप्त भएको र बिमलको उदय भएको आदि विषय निष्पक्षताकासाथ प्रस्तुत गरेका छन्। शिबुभित्र आफ्नी आमाको व्यक्तित्वको छाप स्पष्ट भएको विषय पनि यसमा आएको छ। आमाले सम्झाएका कुरा यसरी लेख्छन् – “नानीहरू हो जब तिमीहरू ठूला हुन्छौ आफूभित्रको मान्छेलाई कहिल्यै मर्न नदिनु नत्र मान्छे भएर जन्मिएको कुनै अर्थ हुँदैन”।(पृ०६५)
भाव र भावनाको राम्रो सम्मीश्रण ‘बुबा’ निबन्धमा देखिएको छ। आफ्ना बुबालाई अत्यन्त प्रेम गर्ने शिबुले बाबाको इच्छा विपरीत पत्रकारिता रोजेको तथ्यपूर्ण घटनालाई यसमा सहज पाराले वर्णन गरेका छन्। नेपाली पत्रकारिताले जीवन धान्न गाह्रो हुने कुरा उनका बाबुले घरिघरि दोहोर्याउँदै व्यवशाय परिवर्तन गर्न अनुरोध गर्छन् र छोरो कामबाट घर नफर्कँदासम्म बाटो हेरिरहने शिक्षित र गम्भीर बुबाको व्यक्तित्वबाट शिबु निकै प्रभावित छन्। बुबाले आफूलाई निकै माया गर्ने तर आफूले भने उचित समय दिन नसक्ने बाध्यताले उनी निकै दुःखी छन्। यस्तै भाव र भावनाले यो निबन्ध निकै मार्मिक बनेको छ।
‘बाल्यकाल र सङ्घर्ष’ निबन्धमा शिबुले बाल्यकालको राम्रो चित्रण गरेका छन्। बाल्यकाल जीवनको सबैभन्दा रमाइलो र आनन्दको समय हो। चारजना दाजु-भाइ र दुई जना दिदीमध्ये आफू पाचौं नम्बरमा परेका शिबुले आफ्नो ठूलो दाइबाट ठगिएको घटनालगायत अन्य पलको रोचक संस्मरण यसमा उकरेका छन् भने सङ्घर्ष गर्दै उच्च शिक्षा आर्जन गरेको, पत्रकारितामा लागेको, पत्रकारितामा लागेपछि दक्षिण भारत भ्रमण गरेको, सत्य साइबाबाप्रति आकर्षित भएको आदि विषयको वर्णनले पाठकलाई यस निबन्धले आनन्द दिन्छ।
वेदना भरिएको जीवन तर आँखाबाट आँसु नाआउने क्षण कहीं थियो भने त्यो चन्द्रमानको थियो। जीवनमा खित्का छोडेर हाँसेको चन्द्रमानको जीवनमा औंसीको रातले झ्याप्प छोप्छ। स्वीच प्याट्ट पार्दा बत्ती निभेझैं चन्द्रमानको हाँसोमा विराम लाग्छ। चन्द्रमानको पेशा पत्रकारिता थियो। शिबुको पनि पत्रकारिता तर एकाएक मस्तिष्कघात भएर वाक्शक्ति गुमाउन परेपछि चन्द्रमानको जीवन निराशाले भरिन्छ। उनको अवस्था देखेर आफू अवाक बनेका शिबुले आफ्नो कथा सङ्ग्रह नयाँ जुत्ता बेचबिखनबाट उठेको पैसा चन्द्रमानको अनुहारमा हाँसो ल्याउन सहयोग गर्दा यो निबन्धले भावनाको उचाइ प्राप्त गरेको छ। निबन्धकार सच्चा, निष्ठावान, दयालु र सहयोगी बनेर उदार चरित्रको भाव प्रकट गरेकाले निबन्ध सार्थक लेखनको उच्चतामा पुगेको छ।
‘रातकी रानी’ यस सङ्ग्रहको सातौं निबन्ध हो। यो निबन्ध दुइवटी बङ्गाली युवती चम्पा र सम्पाको प्रताडित र शोषित जीवनसित जोडिएको छ। शिबुको कार्यालयमा अकस्मात दुई युवती पुलिसबाट जोगिन भाग्दै त्यहाँ पुग्छन्। ती दुई युवती जीवन धान्नका लागि यौनकर्मी बनेका रहेछन् तर एक दिन पुलिसको छापा परेपछि भागेर ज्यान जोगाउन आजभोलि दैनिक पत्रिकाको अफिसमा पुग्छन्। शिबुले तिनीहरूको समस्या बुझेपछि भोजनको प्रबन्धका साथै आर्थिक सहयोग गर्छन्। उनले दिएको आर्थिक सहयोगबाट ती युवतीले थुँगा बनाउने काम गरेर आत्मनिर्भर बन्छन्। उनीहरूको जीवनमा आएको परिवर्तन देखेर शिबुले आत्मसन्तुष्टिको अनुभूति गर्छन्। चोखो मनले गरेको सहयोग खेर जाँदैन भन्ने चोखो मानवीय गुण यस निबन्धमा झल्किएको छ। यसै निबन्धमा किडनी रोगले थला परेको अभिषेक तामाङलाई पनि दर्पपण दर्शिकाको पहिलो पृष्ठमा फोटोसहित समस्याको स्टोरी प्रकाशित गरेर मानिसको सहयोगले उक्त बालकको उपचारपछि निको भएर घर फर्कन्छ। यी दुईघटना बाहेक शिबुले अभियाननै चलाएर सहयोग गरेको उल्लेख निबन्धमा गरिएको छ। उनी लेख्छन्-“ आर्थिक रूपले विपन्न बालक बालिका लगायत ठूलाहरूको उपचारका लागि हामीले सहयोगको अपिल लगायत रोगीकै ब्यङ्क खातामा पैसा पस्ने व्यवस्था गरेका थियौँ। यस्ता अनगिन्ति कार्य गर्यौं कतिले नयाँ जीवन पाए”।(पृ०१२१)
‘पत्रकारिता एक अवसर’ यस सङ्ग्रहको गहकिलो र महत्त्वपूर्ण निबन्ध हो। पन्ध्र पृष्ठमा फैलिएको यो निबन्धमा शिबु छेत्रीले पत्रकार हुनुको सार्थकता स्पष्ट पारेका छन्। यिनले यस निबन्धमा पत्रकार हुँदा गरेका महत्त्वपूर्ण कार्यहरूको विस्तृतरूपमा वर्णन गरेका छन्। पत्रकार बनेर मेधा पाटकर, सुष्मिता सेन, ज्याकलिन फर्नाण्डेज, मिथुन चक्रवर्ती, गोविन्दा, परवीन बबी, जीनत अमान जस्ता कलाकार र दलाइ लामा, ए०पी०जे०अब्दुल कलाम, महाश्वेता देवी, सुनील गङ्गोपाध्याय, कपिलदेव आदि महान व्यक्तिहरूलाई भेटेर अन्तर्वार्ता लिँदा आफूले पत्रकारिता गरेर यसप्रति न्याय गरेको सुन्दर अवसर र अनुभवका क्षणलाई सार्थक मानेका छन्। त्यसैले यिनले पत्रकारितालाई इमानदारी र प्रतिबद्धता मानेका छन्। यिनी लेख्छन्-“इच्छाशक्ति हुनुपर्छ पत्रकार बन्नका लागि। पत्रकारिता पेशा होइन जिम्मेवारीहो। पत्रकारिता साधना, तपस्या हो”।(पृ०१२४)
बाँच्नुको सार्थकता थियो भने भारतका प्रधानमन्त्री स्व०अटल बिहारी बाजपेयीमा थियो। उनी बाँच्न जाने र त अमर बने। ‘मैं जी भर जिया, मैं मन से मरूः अटल’ यस सङ्ग्रहको गहकिलो र महत्वपूर्ण निबन्ध हो। ओजस्वीपूर्ण प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई दिल्लीको विज्ञान भवनमा घेट्नु र उनले दिएको भाषण सुन्नु शिबुले आफ्नो जीवनको ऐतिहासिक क्षण मानेका छन्। एकातिर हाम्रो जातिको दुर्बलता र अधोगति देख्दा दुःख प्रकट गरेका छन् भने अर्कोतिर अटलजीको जीवनबाट आफूले बाँच्ने उर्जा प्राप्त गरेका बताएका छन्। यिनी लेख्छन्- “एक समय दार्जिलिङ्ग जिल्लाको सीमाना पूर्णियादेखि माल मटेलीसम्म फैलिएको थियो। त्यही सीमाना अहिले खुम्चिएर सुकनासम्म आइपुगेको छ। हामीले अर्थ बुझ्नसकेनौँ। हामी बाटो हिँड्ने मात्र भयौँ। सिलगढीको बाटो हाम्रो थियो। अहिले सिलगढीको बाटोबाट हाम्रो नामोनिशान हराएर गयो”। (पृ०१४१)
‘सपनालाई मर्न नदिने ओम पुरी’ कठिन र सङ्घर्ष गरेर अरुका निम्ति प्रेरणादायी बन्ने ओमपुरीको जीवनसँग जोडिएको छ। ओमपुरी सङ्घर्षका प्रतिमूर्ति थिए। बाल्यकालबाट दुःख र गरिबीमा हुर्केका उनी धेरैका प्रेरेणाका श्रोत थिए। ओमपुरी हिन्दी फिल्म जगतका महान कलाकार थिए। शिबुले ओम पुरीलाई भेटेर साक्षात्कार गर्न पाउँदा आफ्नो पत्रकार जीवन सफल भएको मानेका छन्। ओमपुरी सङ्घर्षशील र सकारात्मक विचारका धनी थिए। थोरै परिश्रम गरेर धेरै नाम कमाउन चाहनेहरूका लागि ओमपुरीको जीवन आदर्श हुनसक्छ। अलिकति दुःख र अफ्ठ्यारो पर्दा हाइहुइ गरेर पसीना पुछ्ने कहिल्यै पनि सफल बन्न सक्दैन। आफ्नो जीवनको अनुभव बताउँदै ओमपुरीले भनेका विचारलाई शिबुले निकै महत्व दिएका छन्। ओमपुरीले अहिलेका युवालाई भनेका थिए- “एकपल्टको जीन्दगीमा आफूलाई मनपर्ने काम गर्नुपर्छ। सफलता-असफलता एउटै सिक्काका दुइ पाटा हुन्। असफलता पाउँदा निराश र हताश हुनुहुँदैन। चाहिए अनुसार हामीले परिश्रम गर्न नसक्दा नै असफल हुन्छौं। निराश र हताश नबनेर परिश्रम गरे सफल पाउनेदेखि कसैले पनि रोक्न सक्दैन ।”(पृ०१५१)
‘गोलरोटी र भाइटीका’ शिबुको अतीतका सम्झनाले भरिएको आत्मपरक निबन्ध हो। यस निबन्धमा यिनले आफ्नो बाल्यकालको सम्झना गरेका छन्। यो निबन्धले नेपाली र बङ्गाली परिवारबीच भएको आन्तरिक सम्बन्धलाई अघि बढाएको छ। यसमा शिबु सानो हुँदा गीता दिदीसित बिताएका बाल्यकालका दिन र उनले गरेको आत्महत्याको दुखद घटनाले मनमा पारेको दुःखलाई भावपूर्ण ढङ्ग्ले वर्णन गरेका छन्।
‘कानु सन्याल’ सङ्ग्रहमा समाहित अत्यन्त मार्मिक र भावुक निबन्ध हो। कानु सन्याल बङ्गाली जातका भए तापनि गोर्खाजाति र गोर्खाल्याण्डका कट्टर समर्थक थिए। उनी नक्सलवादी नेता थिए तर बङ्गालको राजनीति सम्झेका र गोर्खालीहरूको मुटु बुझेका अध्ययनशील, सरल र दार्शनिक मान्छे थिए। शिबु सन्यालको व्यक्तित्वबाट निकै प्रभावित र उनलाई नजिकबाट चिन्थे। सन्याल र शिबुबीच निकै मायाप्रेम थियो। उनले गोर्खासम्बन्धि लेखहरू लेखेर प्रकाशित गर्थे। कानु सन्याल बङ्गालको विरोधमा बोलेर गोर्खा राज्य हुनुपर्छ भन्ने सत्यनिष्ठा राख्ने प्रखर व्यक्तित्व भएका व्यक्ति थिए। कानु सन्याल जस्ता नक्सल नेताले आत्महत्या गरेको सुन्दा शिबु छक्क पर्छन्, उनलाई विश्वास नै हुँदैन तर सत्य, सत्य हो छेकेर छेकिन्न।
कानुजस्तै सौमेन नाग पनि गोर्खाहरूको छुटै प्रदेश हुनुपर्छ भन्ने समर्थक थिए। सौमेनसँग शिबुको गहिरो सम्बन्ध थियो। गोर्खाहरूप्रति सधैं चिन्तित रहने सौमेन नाग शोमनलाई सम्झिएको निबन्ध हो ‘गोर्खाहरूको समस्याप्रति चिन्तित सौमेन दा’। सौमेन नाग गोर्खाहरूको प्रदेश हुनुपर्छ भन्ने निर्भीक व्यक्ति थिए। सौमेन नाग विद्वान, राजनीतिज्ञ, इतिहासकार, अध्ययनशील, ओजस्वी वक्ता थिए। यिनी समय-समयमा दार्जिलिङ्गमा हुने सबै खाले सङ्गोष्ठी आदिमा समावेश हुन्थे साथै यिनका विभिन्न लेख तथा निबन्धहरू पनि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित हुन्थे।
सत्य विषयमा आधारित निबन्धहरूमध्ये ‘गाईसाल’ प्रमुख हो। यो सत्य घटनामा आधारित छ। यो घटना १ अगस्त सन् १९९८ मा असमको गाईसाल भन्ने ठाउँमा घटेको हो। अवध असम र ब्रह्मपुत्रमेल मध्यरातमा एउटै पटरीमा आएर भिडन्त हुँदा अनेक यात्रुहरू त्यसको चपेटमा आउँछन्। त्यो घटनाको खबर सुनेर शिबु र भारत दर्पण पत्रिकाका पत्रकार राजेश सिंहसँगै त्यस घटनास्थलमा पुग्छन्। त्यो घटना मन-मुटुलाई मर्माहत पार्नेखालको थियो। शिबुले त्यस घटनालाई मर्मभेदी घटनाका रूपमा लिएका छन् । उनलाई त्यस घटनाले मुटुभित्र गहिरो प्रभाव पार्छ। घटनास्थल पुगेर कष्ट गरेर बनाएको रिपोर्ट पत्रिकाले छाप्दैन। त्यस घटनापछि मन विचलित भएर उनी निकै दिन अफिस पनि जाँदैनन्। पत्रकारको पेशाप्रति उनलाई दिक्क लागेर आउँछ। पत्रकारितामा देखिएको तानाशही प्रवृत्तिको पोल उसले यसमा खोलेका छन्। उनी लेख्छन्-“ सृजनात्मक कार्य गर्न नसक्नेहरू एउटा समूह बनाएर प्रतिभाशाली पत्रकारलाई किनाराकृत गर्न विभिन्न प्रकारका कार्य गर्छन्। यहाँसम्म पनि देखिन्छ कि आन्तरिक दबाउले केही नहुने देखेपछि बाह्य दबाउ बढाउने गर्छन्। यस कार्यमा नेतादेखि सामाजिक सङ्घ-संस्थाका उच्च पदमा आसीन व्यक्तिहरूको प्रयोग गरिन्छ”।(पृ०१८८)
निबन्धकार गाईसाल निबन्धकाका माध्यमबाट निर्भीक र साहसी बनेका छन्। पत्रकारितामा देखिएको विकृतिलाई खुलेरै विरोध गरेका छन्। यिनले मनमा उब्जेका भावलाई स्पष्टरूपले प्रकट गरेका छन्। पत्रकारिताको तीस वर्षे अनुभवलाई गाईसालका माध्यमबाट पाठकका अघि राखिदिएका छन्। यिनले-“…पद, चौकी, पदवी मात्र महत्वका उपलब्धि होइन। जति नै ठूलो पदमा पुगे तापनि एउटा निश्चित समयमा पदमुक्त बन्नुपर्छ। यसैले पदबाट ठूलो नबनेर असल मानिस बन्नु सबैभन्दा ठूलो उपलब्धि रहेछ भन्दै जीवनको पाठशालाबाट सिकें”। भन्दै यिनले निबन्ध सङ्ग्रहको पृष्ठ बन्द गरेका छन् र निबन्ध समाप्त भएको छ।
(ग) सहभागी वा चरित्र चित्रण
शिबु छेत्रीको म उभिएको धरती बाहिरबाट झ्वाट्ट हेर्दा निबन्ध सङ्ग्रजस्तो देखिए तापनि यसको विषयवस्तु, प्रस्तुति र लेखनशैली हेर्दा यो कथासङ्ग्र वा उपन्यास जस्तो भएको छ। निबन्धमा निबन्धकारका आफ्ना निजी अनुभूति हुन्छन्। निबन्धकार स्वतन्त्ररूपले भावनानामा बगिरहेको हुन्छ। तर यस सङ्ग्रमा प्रथम निबन्धदेखि कथावस्तु आरम्भ भएर अन्त्यसम्म गएको छ भने अनेक सहभागी पात्रहरू समावेश भएका छन्। यी पात्रहरू निरपेक्ष नभएर सापेक्ष छन्, क्रियाशील छन्। पहिलो निबन्धदेखि पात्रहरूको प्रमुख भूमिका रहेको छ र ती चरित्रहरूले विषयलाई गतिशील बनाउन प्रमुख भूमिका खेलेका छन्। यसमा आएका विभिन्न पात्रहरूले विभिन्न वर्गको प्रतिनिधित्त्व गरेका छन् भने ती पात्रहरूको सहभागिता हेर्दा कतै नायक र कतै खलनायक बनेका छन्। निबनध छुट्टाछुट्टै शीर्षकमा आबद्ध भए तापनि बैचारिक रूपमा ती आपसमा जोडिएका छन्। यसरी हेर्दा यो सङ्ग्रह कथा तथा उपन्यासको नजिक पनि पुगेको छ।
म उभिएको धरतीमा- म, काकु, बुबा, क्षितिन्द्र मोहन सेन, गुरुदेव, सुवास घिसिङ, सन्दीप चौधरी, मङ्तुराम चौधरी, सुवास, बिमल गुरुङ, राजेश भट्टराई, मोहन लामा, के०एन० सुब्बा, प्रशान्त तामङ, ज्ञानेद्र अर्याल, महेन्द्र पी लामा, शिबु क्षेत्री, भाइचुङ् भुटिया, माइला दाजु, मामा, ठूलो दाजु, साइबाबा, फुच्चे, छोरा, चन्द्रमान राई, सूरज गुरुङ, सचिन भाइ, कालुसिंह रनपहेली, कृष्णसिंह मोक्तान, दुर्गा खरेल, गोपाल लामा, कृष्ण लामा, राम छेत्री, विमल राई, नरबहादुर दाहाल, पी अर्जुन, केशर भाइ, एडोन दाजु, सञ्जीव भाइ, सूरज, मकल, हनोक, दशरथ, बिमल दाजु, सुरेन्द्र पोद्दार, अभिषेक तामाङ, विनय तामाङ, सन्दीप चौधरी, नरबहादुर भण्डारी, राजेश भट्टराई, मेधा पाटकर, मिथुन चक्रवर्ती, चङ्की पाण्डे, सुनिल सेट्टी, गोविन्दा, भुवन के सी, दिनेशजी, शङ्कराचार्य जयनेन्द्र सरस्वती, दिनेश लालवानी, धर्म गुरु दलाइ लामा, ज्योति बसु, बुद्धदेव भट्टाचार्य, श्याम थापा, भाइचुङ भुटिया, आचार्य तुलसी, अब्दुल कलाम, राजीव गान्धी, सुशील शिन्दे, अभिजित सावन्त, सोनु निगम, के पी ओली, मन्नाडे, सुनिल गङ्गोपाध्याय, महाश्वेता देवी, अटल बिहारी बाजपेयी, नरेन्द्र मोदी, दिलीप दुगड, ध्रुव, ओम पुरी, कानु सन्याल, सौमेन दा, एक बी सुब्बा, बिमल राई, एम एम गुरुङ, रामजी राई, डा०कुमार प्रधान आदि पुरुष सहभागी पात्र र सेफाली, सुस्मिता, आमा, शान्ता छेत्री, श्रीमती, दिदी, माइजु, विन्द्या सुब्बा, सन्ध्या, चम्पा, सम्पा, रेखा लामा,गीता दिदी, उमा ,सुष्मिता सेन, ज्याकलिन फर्नाण्डेज, परविन बबी, जीनत अमान, महिमा चौधरी, विपना थापा आदि महिला पात्रहरू छन्।
उल्लिखित कतिपय सहभागीहरू विषयवस्तु वर्णनका क्रममा केवल नामोल्लेख भएका छन् भने कतिपय पात्रहरूले प्रमुख भूमिका निर्वाह गरेका छन्। म पात्र यस सङ्ग्रहको मुख्य सहभागी पात्र हो, उसकै केन्द्रियतामा निबन्धको विषयवस्तु बुनिएको छ। म पात्र अर्थात लेखक यस सङ्ग्रहको केन्द्रिय पात्र हो, उसले आफ्नो जीवन वर्णन गर्ने क्रममा विषयले गतिशिलता प्राप्त गरेको छ। विषयवस्तु मपात्रबाट आरम्भ भएर मपात्रमै पुगेर समाप्त भएको छ। यस दृष्टिले निबन्धको नायक म अर्थात लेखक शिबु छेत्री हुन्। लेखले जीवनमा भोगेका विगतका संस्मरणहरूको वर्णन गर्ने क्रममा कृतिको निर्माण भएको छ। अतः मपात्र कृतिको मूल नायक वा मुख्य सहभागी हो भने अन्य सहभागी उसकै जीवनलाई गतिशील पार्न आएका सहायक पात्र हुन्। सेफाली, दिदी, काकु, बाबा, कानु सन्याल, सौमौन दा आदि पत्रहरूको कृतिलाई अघि बढाउन प्रमुख भूमिका रहेको छ। यी पात्रहरू गतिशील पात्र हुन् यिनकै सहयोगले निबन्ध आघि बढेको छ। सङ्ग्रहमा आएका सहभागीहरू समाजका विभिन्न कार्यक्षेत्रमा सक्रिय छन्। यी पात्रहरूले धनी, गरीब, शोषित, पीडित परिवेशको प्रतिनिधित्व गरेका छन्। सङ्ग्रमा आएका पात्रहरू काल्पनिक नभएर वास्तविक जीवनमा आधारित छन्। साँच्चै भन्ने हो भने म उभिएको धरती यथार्थपरक कृति हो। यसमा आएका विषय, घटना, ठाउँ, परिवेश, सहभागी सबै सत्य विषयमा आधारित छन्। सङ्ग्रहले यथार्थ जीवन बोकेको छ।
(घ) परिवेश,उद्देश्य र दृष्टिविन्दुः
कुनै पनि कृतिमा चरित्रले सम्पन्न गर्ने कार्यब्यापार, घटनाहरू घट्ने स्थल, काल र वातावरणलाई परिवेश भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा देशकाल र परिस्थिति नै परिवेश हो। निबन्धमा वस्तुको प्रस्तुतिसँगै परिवेश गाँसिए आउँछ र यसको क्षेत्र विस्तारित हुँदै जाँदा यसको परिवेश पनि विस्तारित हुँदै जान्छ। प्रस्तुत निबन्ध सङ्ग्रहमा- सिलगढी, रायकत गढी, दार्जिलिङ्ग, बङ्ग्लोर, गाइसाल, सुकना, दिल्ली, चेन्नै, मदुरै, कन्याकुमारी, रामेश्वरम, मैसूर, पुट्टापर्ती, तिरुपति, धर्मशाला, पटना, नथुला, मिनतोङ, कलकत्ता, जलपाइगढी आदि परिवेशसूचक स्थानका रूपमा आएका छन्। यो निबन्ध शहरी परिवेशमा आधारित छ। विशेष गरेर यसमा सिलगढी र यसको वरिपरिको परिवेश देखाइएको छ। यसमा लेखकको बाल्यकालदेखि प्रौढकालसम्मको परिवेश आएको छ। जीवनयात्रामा फेला पारी भेला गरिएका विविध अनुभूति, घटना आदिले यसमा स्थान पाएका छन्। यसमा दुःखान्त तथा सुखान्त दुवै प्रकारको परिवेश पाइन्छ। यसमा काल्पनिक परिवेश नभएर यथार्थ परिवेशको चित्रण भएको छ। यसका स्थान, समय, पात्र, घटना आदि सबै सत्य विषयमा आधारित छन्। लेखकले आफूलाई केन्द्रवर्ती पारेको भए तापनि यसमा आएका सबै घटनाहरूले विशिष्ट स्थान ओगटेका छन्। यस सङ्ग्रहले नेपाली परिवेशका साथै बङ्गाली परिवेशलाई पनि समेटेको छ। यसले बङ्गाली घरपरिवारका कला-संस्कृति, भाषा, खानपान, रहन-सहन, शिक्षा-दीक्षा आदि विभिन्न परिवेशको पनि उठान गेको छ। लेखकले म उभिएको धरती भनेर आफूलाई सीमित पारेको भए तापनि त्यो धरतीमा उनी मात्र नभएर अनेक परिवेशले स्थान पाएका छन्। ती विविध घटनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले लेखकलाई प्रभाव पारेका छन्। यस सङ्ग्रहमा आन्तरिक एवं बाह्य दुवै परिवेश आएको छ। चन्द्रमान हाँसेको दिन, गीता दिदी, कानु सन्याल आदि पात्रले आन्तरिक मनको परिवेशलाई निकै नै घच्घचाएको छ भने गाइसालको घटनाले बाह्य परिवेशलाई निकै भावुक बनाएको छ। यी घटना बाहेक गोर्खालेण्ड नाममा गरिएको षडयन्त्रकारी आन्दोल, आफ्नै जातिलाई सिढी बनाएर गरिने अनेक प्रकारका जाल-झेलले समग्र जातिलाई हेर्ने परिवेशनै नकारात्मक बनेको छ। बाहिरबाट हेर्दा यो दुनियाँ जस्तो छ वास्तवमा भित्रबाट त्यस्तो छैन भन्ने परिवेशको उद्घाटन पनि यसमा भएको छ। निबन्धकार लेख्छन्- “विस्तारै यस पेशाको आन्तरिक र बाह्य दबाउलाई बुझ्दै थिएँ। कुनै दिन नामसितै राम्रो स्टोरी प्रकासित हुँदा पनि भित्रैबाट बाहिरकालाई प्रकाशित स्टोरी झुटो हो भन्ने साथै झुटो समाचार छापे कानुनी पाइला चालिने भन्दै फोन गरेर न्यूज एडिटरलाई धम्काउने गरिन्थ्यो। पछि बुझ्दा त त्यस्ता कार्य गर्नेहरू सबै त्यही समूहका हुँदा रहेछन्। नयाँ-नयाँ विषय-वस्तुको खोज गरेर राम्रो लेख्नेलाई पर पन्साउने गरिन्छ। यसले गर्दा मसित काम गर्ने प्रतिभा सम्पन्न धेरै युवा पत्रकारले यस पेशालाई नै त्यागे। राजेश सिंहले पनि पेशा नै छोडेर गए। गाईसाल दुर्घटनाको तीन चार दिनपछि अज्ञात मृतदेहलाई बालासानको बगरमा सामूहिक रूपमा दाहसंस्कार गरियो। त्यस घटनाका दृश्यहरूले जन्माएका मानसिक स्थिति बाहिर निस्कन धेरै समय लाग्यो। जीवनको क्षणभङ्गुरतालाई सबैले बुझ्नसके संसार ढकमक्क फुलेका फूलहरूको फुलबारी जस्तै सुन्दर हुने थियो”। यसरी यस सङ्ग्रहले सूक्ष्मरूपले जीवन-जगतका अनेक पक्षका परिवेशमा विचरण गरेको छ।
निबन्धकारले आफ्नो जीवनमा घटेका अनुभव उद्घाटन गर्ने उद्देश्यमा यो निबन्ध सङ्ग्रको निर्माण भएको छ। यिनले आफ्नो व्यक्तिगत जीवनका अनुभव देखाउने उद्देश्य राखेको भए तापनि यसमा समाजका अन्य विषयले पनि प्रवेश पाएका छन्। यो सङ्ग्रहमा प्रथमपुरुष दृष्टिबाट आरम्भ भएर बिस्तारै तृतीयपुरुष दृष्टिबिन्दुमा विचरण गरेको छ। व्यक्तिगत जीवनका यथार्थ घटना देखाउँदै गर्दा समाजका अनेक विषयमाथि आफ्नो दृष्टि पुराएका छन्। विभिन्न शीर्षकका चौधवटा निबन्धद्वारा यिनले आफ्नो बाल्यकालदेखि प्रौढकालसम्मको यत्राका अनुभवहरू देखाउने प्रयास गरेका छन्। उनी उभिएको धरतीको यात्रामा उनी एक्लो छैनन्। आफू बाँचेको धरतीको वरिपरिका विविध विषयले स्थान पाएका छन्। बाल्यकालदेखि नै उनको जीवनमा बङ्गाली समाजले प्रवेश गरेको छ। त्यो प्रवेश बाह्य नभएर विस्तारै आन्तरिक बनेको छ। लेखका जीवनमा त्यो भुल्नै नसकिने बनेर बसेको छ। यिनका निबन्ध कुनै एउटा निश्चित उद्देश्यमा आधारित नभएर बहुउद्देश्यका साथ अघि बढेका छन्। यसरी हेर्दा निबन्धकारको समाज बृहत् बनेको छ। यसका साथै उनको दृष्टि अनेक ठाउँमा छरिएको छ। नेपाली समाज बाहेक बङ्गाली समाजका विशेषता, राजनीतिक घटनाहरू, पत्रकारितामा देखिने विभेद, दुर्घटना हुँदाका कारुणिक दृश्य, आत्महत्या आदि जस्ता अनेक विषयमा दृष्टि पुगेको छ। यसरी हेर्दा म उभिएको धरती बृहत परिवेश, बृहत उद्देश्य र बृहत् दृष्टि बोकेको बहुआयामिक रचना बन्न पुगेको छ।
(ङ) भाषाशैलीय विन्यासः
भाषा भनेको कृतिलाई अघि बढाउने माध्यम हो। व्यवस्थापनलाई भाषाशैलीय विन्यास भनिन्छ। निबन्ध विभिन्न संरचक घटकहरूबाट निर्मित संरचना हो। व्यवस्थित ढङ्गले क्रम मिलाएर राख्ने कामलाई विन्यास भनिन्छ। म उभिएको धरतीमा सरल, सहज, सुबोध, वस्तुगत र बोलचालको भाषा प्रयोग गरिएको छ। सङ्ग्रह स्पष्ट र मानक नेपाली भाषाका शब्द र वाक्यमा आबद्ध छ। वाक्यहरू सरल र छोटा छन्। प्रायः सबै निबन्धमा सरल वाक्यको प्रयोग गरिएको छ। कताकति सङ्युक्त र मिस्र वाक्यहरू छन् तर ती बोझिला र अस्पष्ट छैनन्। सबै निबन्ध वर्णनात्मक, विवरणात्मक र विश्लेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ। सङ्ग्रहमा शुद्ध नेपाली भाषाको प्रयोग भए तापनि बाङ्ला भाषाप्रति विशेष आग्रह छ। बङ्गाली भाषी परिवेशमा बढेका र सानैबाट बाङ्ला भाषाको अध्ययन गरेकाले त्यसको प्रभाव सङ्ग्रभरि नै देखिएको छ। सानैबाट बङ्गाली स्कूलमा पढेका र उच्च तहमा बाङ्ला भाषा अध्ययन गरेका हुनाले पत्रकारिताको पेशा पनि बाङ्ला भाषाबाट आरम्भ गरेको बुझिन्छ। नेपाली भाषामा यी पछि मात्र प्रवेश गरेका हुन्। पछि गएर नेपाली भाषालाई आफ्नो कार्यक्षेत्र बनाए तापनि बाङ्ला भाषाप्रति भने यिनको विशेष सहानुभूति रहेको छ। त्यसैले यसको छाप निबन्धभरि स्पष्टरूपले देख्न सकिन्छ। बाङ्ला भाषाबाट प्रभावित मात्र होइन बाङ्ला भाषाका उत्कृष्ट व्यक्तिहरूबाट प्रभावित भएको कुरा यसमा पटक पटक प्रयोग गरिएका बङ्लाका उक्ति, भनाइ वा कथनबाट बुझ्न सकिन्छ। बाङ्लाभाषाप्रति विशेष आग्रह भए तापनि नेपाली भाषा पठनीय र स्तरीय छ। बङ्गाली भाषा प्रयोग गरेएका केही उदाहरण –“भालो काज करेछो, दुष्टो छेले(पृ०४५), ए दुष्टो छेले ता के किछु कथा बोलबो, बडो होये की होबे दुष्ट छेले, (पृ०४७) मृत्यु भय ना की, मृत्यर भए नोय, कि गुदेव मृत्यू भय ना की? (पृ०५२), भालो छेलो(पृ०५४), जोदी तोर डाक सुने कोइ ना आसे त बे एकला चोलो रे, (पृ०५४) होबेना, एतो भय किसेर,? आम्रा आछी तो, किछु होबे ना, दादा आपनार कि लागे ४० दिन बन्दो कोरले आलदा राज्य होबे? कतो गरीब लोग आछे ओरा कि कोरबे? ४० दिन तो किछु ना एक बोछर वन्द होलेओ किछु जाये आसेना। पहाडे कन्दमूल,क्वास प्रचुर आछे,ओई सब खेये लोकजन बाचबे(पृ०५५), निजेर दादा भाइके मेरे आलदा राज्य कोनो दिन होबेना। ए कथा घिसिङ साहेब केनो बुझेना! आपनी बोलून। निजदेर मोध्ये झगडा ना कोरे राज्य राज्य आर केन्द्र साथे कोरलो होतो येइ सब काज कोरले कोनो दिन आलादा राज्य होबेना(पृ०५६), “तोर काकु आसेनी, आसलेई मेयेके डाक्टर खाना निये जाबो , काकीमा चिन्ता कोरबेना, ओ ठीक होय जाबे(पृ०५७) मानुष मानुषेर जन्ने, जीवन जीवनेर जन्ने, एक्टु सहानुभूति कि, मानुष पेते पाने ना(पृ० १७१) आदि। बाङ्ला भाषाका उद्धरण, संवाद आदि प्रयोग गरिएका ठाउँमा त्यसको नेपाली अर्थ दिएर पाठकका लागि सहज र सरल बनाइएको छ। यस दृष्टिले निबन्धहरू साधारण पाठकले पनि सहजरूपमा भाषा पढ्न र बुझ्न सक्छन्।
भाषिक दृष्टिले उल्लिखित सङ्ग्रहमा शुद्ध र मानक भाषाको प्रयोग गरिएको छ तर कतिपय ठाउँमा स्थानीय भाषाको प्रभाव पाइन्छ जस्तै- सकिन्दै, खस्किन्दै, गर्नु पाउँदा, सकिन्दैन, गफिन्दै हिँड्न थाल्यौं,अभिभार लिए, मन्द मन्द मुस्कानमा उहाँले सबैलाईबस्ने आग्रह गर्नुभयो। त्यसपछि उनले जीवन जगतबारे सुन्दर प्रवचन दिए(पृ०१३१) ठूल्ठूला दुइवटा ट्रक घरमा आइपुग्यो(पृ०१५८), कहिले पलङमा लागेर बेलुन च्याट्ट फुट्यो(पृ०१५४) आदि। निबन्धमा कताकति क्रियाबिहीन वाक्यहरू पनि प्रयोग भएका छन् जस्तै- पहाडका एकक्षत्र राजा(पृ०६६), भाँदियो, मिरमिरे, साउ अक्षर, एकलो आदि। कतै कतै प्रुफ रिडिङ राम्ररी भएको देखिंदैन तर समग्रमा किताब स्तरीय बनेको छ। शैलीका हिसाबले पनि लेखक सफल छन्। वर्णनात्मक शैलीमा लेखिएको प्रस्तुत सङ्ग्रहका निबन्ध मूल विषय र शीर्षकबीच समन्वय कायम गरिएको छ। शीर्षकले मूल भावलाई स्पष्ट पार्न सफल भएका छन्। शीर्षक छोटा र अभिधात्मक छन्। समग्रमा म उभिएको धरती भाषाशैलीय विन्यासका दृष्टिले पठनीय छ।
६. उपसंहार
शिबु छेत्री पश्चिम बङ्गालको दार्जीलिङ्ग जिल्लाअन्तर्गत सिलिगुढीको रायकत भन्ने ठाउँमा जन्मेर त्यहीं हुर्केर पढेर, कार्यक्षेत्र बनाएर विगत तीस वर्षदेखि पत्रकारिता र साहित्यसाधना गर्दै नेपाली समाजलाई प्रकाश देखाउने समसामयिक युगका चर्चित स्रष्टा हुन्। यिनी सरल र साधारण परिवारमा जन्मेर अनुशासनको पालन गर्दै वर्तमान युगको आडम्बरी समाजलाई प्रेरणा दिनेसक्ने नवीन प्रतिभा हुन्। यिनी उचित ढङ्गले कर्त्तव्यको निर्वाह गर्नसक्ने नेपाली भाषाका अथक साथक हुन्। अनेक अप्ठ्यारा र विपरीत परिवेशमा पनि धैर्य धारण गरी जीवनपथमा अघि बढ्न सकिन्छ भन्ने कुशल पथप्रदर्शक हुन्। नेपाली भाषाका कतिपय पत्रपत्रिकाहरू उदाएर अस्ताएका देख्दादेख्दै पनि दृढविश्वासी बनेर अटल खाँबोझैं अडिग रहेर नेपाली पत्रकारितालाई नयाँ जीवन दिने यिनी नयाँ तपश्वी हुन्। आफ्ना अग्रज र अनुजले आँखाअघि पत्रकारिता छोडेर अन्य पेशा अप्नाएको देख्दादेख्दै पनि आत्मविश्वासलाई डगबगाउन नदिई दृढ भएर खडा रहने यिनी असल भाषासेवी हुन्। विगत बाइस वर्षदेखि हिमालयदर्पणका प्रमुख सम्पाकको पदमा रहेर इमानदारपूर्वक कर्त्तव्यको निर्वहन गर्दै आएका छन्। यिनको कुशल सम्पादन र निर्देशनमा पत्रिकाले निरन्तर उन्नति गर्दै आएको छ।
शिबुले पत्रकारिताका साथै साहित्यका विविध विषयमा कलम चलाएर बहुप्रतिभाशाली व्यक्तित्वको परिचय दिएका छन् । साहित्यका विभिन्न विधामा कलम चलाए तापनि यिनी मूलतः निबन्धकार हुन् र यसमा यिनी जीवन्त बनेका छन् । आफ्नो कार्यक्षेत्रमा यिनले स्वच्छन्द र निर्भिकताका साथ विचारको प्रस्तुति गरेका छन्। यिनी आफूले जीवनमा व्यतीत गरेका यथार्थका साथै समाजका विभिन्न बेथितिहरूको उद्घाटन गर्ने निडर साहित्यकार हुन्। यिनी समसामयिक युगका सामाजिक-यथार्थवादी कथाकार एवं निबन्धकार हुन्। यिनी भाषा-साहित्य, संस्कृति, धर्म आदिलाई महत्व दिने भाषासाधक हुन्। यिनी शिशुमनका भावलाई बुझ्नसक्ने सन्देशमूलक कथाकार तथा निबन्धकार हुन्। यिनी बाल्यकालदेखि लिएर प्रौढकालसम्मका परिवर्तनलाई उजागर गरी पाठकसम्म पराउन सफल छन्। यिनले आफू उभिएको धरतीको कथा भन्दाभन्दै सत्यपक्षको उद्घाटन गर्ने निष्पक्ष साहित्यकार हुन्। यिनी नेपाली भाषाका साथै बाङ्ला भाषा र जातिलाई सम्मान गर्ने निष्पक्ष साहित्यकार हुन्। यिनी समयसँग कसरी मान्छे परिवर्तन भएको छ भन्ने विचारलाई अघि बढाउन जान्ने साहित्यकार हुन्। यिनले समाजका महान र उच्च व्यक्तित्वको सम्मान गर्न जानेका छन्। यिनी प्रथमपुरुष दृष्टिविन्दुको प्रयोग गरेर साहित्य साधना गर्ने साहित्यकार हुन्। यिनी सरल, सहज र बोलचालको भाषामा साहित्य साधना गर्न जान्ने व्यक्ति हुन्। सरल भाषामा आफूले व्यतीत गरेका विषयलाई पाठकसम्म पुराएर पाठकको मन जित्न यिनी सफल भएका छन्। समग्रमा यिनी पत्रकारिता र साहित्यलाई समान तथा निष्पक्षरूपले अघि बढाउँदै भाषा-साहित्यलाई जिउँदो राख्ने सर्जक हुन् यही नै यिनको मूल उपलब्धि र प्राप्ति हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।