भारतीय नेपाली साहित्यमा नारी हस्ताक्षारको पनि उत्तिकै बाक्लो सिर्जना पाइरहेका छौँ । यस्ता सशक्त नारी हस्ताक्षारमध्ये कवि सुभद्रा बम्जन सावालीलाई पनि पाउँछौँ । मङ्पुका कवि स्रावलीका आजसम्म प्रकाशित तीनवटा काव्यकृति पाएका छौँ । वितृष्णाको विम्ब (कवितासङ्ग्रह,२००१ ), वेदनाको स्केच (कवितासङ्ग्रह, २०१६) र समयका डोबहरू (विम्ब कवितासङ्ग्रह, सन् २०१७) । यस्ता सर्जकको जन्म २१ अप्रेल १९६५- मा भएको हो । मङ्पु रेसेप विभागमा जन्मेकी सावालीकी पिता स्व. जी.बी. बम्जन र माता सुकमाया बम्जन हुन् । परिवारको सात जना छोराछोरीमा उनी जेष्ठपुत्री रहेको पाउँछौँ । मध्यमवर्गीय परिवारमा जन्मिएका सावालीले गाउँकै प्राथमिक पाठशालाबाट शिक्षाको श्रीगणेश गरेकी थिइन् । स्नातकसम्मको उच्च शिक्षा हासिल गरी शिक्षण पेसामा कार्यरत छिन् ।

सावालीको साहित्यिक जीवनको थालनी विद्यार्थीकालबाटै भएको पाइन्छ । सरस्वती हाई स्कूलमा पढ्दा उनको रचना प्रकाशित भएको पाइन्छ ।  उनको पहिलो प्रकाशित कृति वितृष्णाको विम्ब ( कवितासङ्ग्रह, २०११),  सावाली प्रकाशन मङ्पुबाट प्रकाशित भएको पाइन्छ । उनी मङ्पु साहित्य संस्थानसित संलग्न रही संस्थानको कार्यभारलाई निष्ठापूर्वक निभाइरहेकी छिन् । उनका स्रष्टा व्यक्तित्वसितै द्रष्टा व्यक्तित्वलाई पनि बाक्लो रूपमा प्राप्त गर्न सक्छौँ । उनी कुशल सम्पादक पनि हुन् । उनको सम्पादनमा-निषाद-( मङ्पु साहित्य संस्थानको मुखपत्र ), हस्ताक्षार ( समसायिक साहित्यिक पत्रिका) आदि प्रकाशित छन् । उनका रचनाहरूमा विशेष कविता विम्ब कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

समयका डोबहरू (बिम्ब कविता) – कविताको परिचय-

सुभद्रा बम्जन सावालीको तेस्रो काव्यकृति समयका डोबहरू ( विम्ब कविता सङ्ग्रह-२०१७) हुन् । जो सावाली प्रकाशन, लाब्दा, विभाग, मङ्पुद्वारा प्रकाशित छन् । जसको लेआउट एवम् मुद्रण व्यवस्था सम्बोधन पब्लिकेशन सालुगढाद्वारा गरिएको पाइन्छ । यसको सुन्दर आवारणचित्र सूरज रोसुरीले गरेका छन् । यस काव्यकृतिमा कमला राई मिरिक (शुभकामना सुभद्रालाई ), उर्मिला घिसिङ ( सर्जक सुभद्रालाई शुभकामना), उदय थुलुङ (बधाई शब्द) र बेदनाको स्केच स्रावलीको सेल्फ पोर्टुटबाट, अर्जुन प्रधान र उदय थुलुङ रचित विम्ब-कविता सङ्ग्रहबाट, जय क्याक्टसले सावालीका काव्य सिर्जनामा शुभकामनासहित छोटोरूपमा विम्ब कवितामाथि चर्चा गरेका छन् । कुनै शीर्षकबिना नै कालुसिंह रनपहेँली र सविता संकल्प  र कृष्ण प्रधानले एक-एक परिच्छेद विम्ब कविता सिर्जनामाथि व्यक्तिगत विचार पोखेका छन् । आभार र आन्फा केही कुराहरू-शीर्षकमा बम्जन सावालीले –समयका डोबहरू-सितै विम्ब कविताको सैद्धान्तिक पक्षलाई चर्चा गरेकी छिन् । पछाडिपट्टिको कभरमा कवि सुभद्रा बम्जन सावालीको रङ्गीन फोटो र प्रकाशित कृतिको सूची रहेको पाइन्छ ।

समयका डोबहरू-का संरचनाः

समयका डोबहरू-साधारण किताबभन्दा सानो आकारमा छ । हाम्रो फिजाएको हत्केलामा अट्ने चिरिच्याट्ट परेको सुन्दर किताप मोठ ७०-पृष्ठको आयातनमा रहेको पाइन्छ । विम्ब कविताहरू ( मुक्तक ढाँचामा) सबै चार हरफका छन् । यसभित्र मोठ विम्ब कविताहरू १५९ वटा समावेश छन् । भारतीय मुक्तक लेखनको नयाँपन, ढाँचागत, शैलीगत यी कविताहरूलाई गणितीय दृष्टिकोणबाट हेर्दा चार हरफको हिसाबमा १०-शब्दहरूद्वारा गठन भएको पाइन्छ । विम्बकविता झट्ट हेर्दा पिरामिड आकारको ढाँचामा तर यसमा पहिलो हरफमा एउटा शब्द, दोस्रोमा दुईवटा, तेस्रोमा तीनवटा र अन्तिम चौथो हरफमा चारवटा शब्द हुनुपर्ने तर्कहरू पाइन्छ । यसै सन्दर्भमा उदय थुलुङ रचित विम्ब कविता सङ्ग्रहको जय क्याक्टसद्वारा लिखित भूमिकामा यसरी प्राप्त गर्न सकिन्छ – प्रथम हरफमा -१, दोस्रो हरफमा -२, तेस्रो हरफमा -३, र चौथो हरफमा -४ शब्द राखी तयार पारिएको संरचनामा आउने विम्बात्मक अभिव्यक्ति विम्बित गराउने एउटा नवीन प्रयोग छ । यसै नियममा समयका डोबहरू भित्रका विम्बकविताहरू पाइन्छ ।

विषयवस्तु-

सुभद्रा बम्जन सावालीका विम्बकविताहरूमा विम्बित भावहरू उनले जीवनमा भोगेका समयका छापहरू देखिन्छ । सर्जकले जसरी जस्तो स्थितिहरू भोगेका छन् उस्तै भोगाइहरू उनको सिर्जनामा विम्बित हुनु स्वाभाविक नै हो । मनमा भिजेका, चित्तमा नपरेका असजिला समयहरू, आत्मसन्तुष्टिमा उब्रिएका कालखण्डहरू उनको विम्बकृतिमा विम्बित रहेको पाउँछौँ । उनको समाज र सामाजिक परिवेशमा छाएको घामछाया, झरीबतास मात्रै नभएर समाजले जबरजस्ती पचाउन खोजेका समयलाई पनि टिपेकी छिन् । उनीसितै बाँचेका समाजका असहायहरूका जीवनशैलीमा देखिएका नरमाइलो पीडाहरूलाई नजिकबाट बुझ्ने प्रयास गरेकी छिन् । नारी हृदयबाट ममताका छालहरू पोखेकी छिन् । पुरुषप्रधान समाजमा नारीहरूले भोग्नुपरेको प्रतिरोधात्मक स्थितिलाई पनि विम्बित गर्ने प्रयास गरेकी छिन् । दार्जीलिङ र यसको परिवेशमा रहेका प्रकृति सुन्दरतालाई झल्काएकी छिन् । उनले भावगत सम्प्रेषण गर्न खोजेकी वस्तुतालाई हेरौँ- कवितामा काल र स्थितिलाई जति सक्दो शाब्दिक चित्रमा उतार्ने  प्रयास छ । हाम्रो परिवेशमा, हाम्रो जीवनशैली एवंम् जिजीविषालाई विम्बकवितामा विम्बित गरेकी छिन् साथै हाम्रा आकाङ्क्षाहरूले हामीलाई अति आधुनिक संस्कार, संस्कृति र जीवनशैलीतर्फ लगिरहेको अवस्थामा आएको विकृतिलाई पनि दर्साएकी छिन् । हाम्रो जीवनमा ठाउँ ओगट्न आउने विसङ्गति र विकृतिको प्रादुर्भावको  नकारात्मकतालाई कहाँ र कतिसम्म यी कविताहरूले सकारात्मकताको टेवा दिन सक्ला  भनी सावालीले आफ्नो आत्मविश्वासलाई प्रस्तुत गरेकी छिन् । उनले समाजमा हराउँदै गएको मानवमूल्य शान्ति एवम् सौन्दर्यलाई यस कृतिमार्फत खोज गरेको देखिन्छ । यस्ता विम्बित अभिव्यक्ति पाइरहँदा सुभद्राका विम्बकवितालाई सुभद्राका अनुभूति मात्रै होइन दार्जीलिङे जीवनशैली र समाजका विम्बहरू हुन् भन्न सकिन्छ ।

विम्बकविता

मुक्तककै ढाँचा र स्वरूपमा सिर्जना गरिएको कविताको सानो अंश तथा रूप तर पिरामिड संरचनामा १०-शब्दभित्र सिर्जना गरिएको विम्बकवितामा पहिलो हरफमा एउटा शब्द, दोस्रोमा दुई-शब्द, तेस्रोमा तीन-शब्द र चौथोमा चार शब्दहरूद्वारा निर्मित मुक्तकलाई विम्बकविता भनी सङ्केत गरेका छन् । प्रत्येक विम्ब कविताले एउटा विम्बलाई सिर्जित गर्छन् भन्ने सैद्धान्तिक धारणालाई मान्य गरी सिर्जना गरिएका मुक्तकलाई विम्बकविता भनेका छन् । यसलाई गणितीय-मुक्तक भनिरहँदा फरक नपर्ला । विम्ब र कविताको संयोजनबाट सिर्जित विम्बकविता ।

विम्ब

विम्बलाई छाया प्रतिविम्ब भनेर शाब्दिक रूपमा बुझ्दछौँ । साहित्यमा विम्बले काव्यविम्ब भनी बुझाउँछ । कविको मानसपटलमा रहेको भावलाई सम्प्रेषण गर्दा मानसिक चित्रलाई बुझाउनका निम्ति चित्रात्मक भाषा प्रयोग गरेर विम्ब सिर्जना गर्नु हो । यस्ता विम्ब मुक्तकीय कवितामा सिर्जना गर्नु नै विम्बकविता भनी बुझिन्छ । यस्ता धारणालाई प्रस्तुत गरेका छन् विम्बकवितामा ।

विम्बकविताको चारहरफहरूमा १०-शब्दहरूद्वारा निर्मित कविता पढिसक्दा हाम्रो मनमस्तिष्कमा एउटा विम्ब तयार हुन्छ । यस्ता विम्ब कवितामा पाठकले प्राप्त गरेको विम्बबाट प्रस्तुत गरेको भावलाई बुझिन्छ ।

भारतेली नेपाली कविता साहित्यमा देखा परेको नयाँपन हो- विम्बकविता । यसको प्रारम्भ बिन्दु पुग्नुपर्दा पहिलो प्रकाशित उदय थुलुङको विम्बकविताहरूलाई पाउँछौँ । यसै सन्दर्भमा विम्बकविताका सर्जक उदय थुलुङले विम्बकविताका बारे यसरी लेख्छन्- नब्बेको दशकको उत्तारार्द्धमा विम्बकविताको प्रायोगिक लेखन सुरु गरिएको हो । सङ्क्रमण समूहका तन्नेरी लेखक केटाहरू थियौँ हामी । लेखनको विचारपक्ष र रूपपक्षबारे केही सोच्ने गऱ्यौँ अतः नयाँ केही गर्न सकिन्छ कि भन्ने आत्मविश्वास पनि थियो हामीसित । एउटा सोचअनुसार मुक्तक शैलीमा, दश शब्दहरूद्वारा निर्मित चार हरफे कविता तयार गरे र त्यसको प्रकाशन पनि आरम्भ भयो – ‘ हिमालय दर्पणमा ।   यसरी ९०-को दशकदेखि मुक्तकशैलीमा देखा परेका विम्बकविता लेखनमा तथा मुक्तकशैलीमा यसलाई प्रयोगमा ल्याउने कवि हुन् उदय थुलुङ । उदय थुलुङपछि यस कविता लेखनलाई अघि बढाउने काम सुभद्रा बम्जन सावालीद्वारा सम्पन्न भइरहेको पाउँछौँ । आफ्नो विम्बकवितालाई विभिन्न पत्रपत्रिकामा प्रकाशित गर्दै आइरहेकी छिन् । आज हामीसित उनको विम्बकविता समयका डोबहरू हाम्रो हातमा छ ।

समयका डोबहरूमा विम्बको आत्मा

समयका डोबहरू भनेर विम्बकारले भोगेका जीवनका समय भनेर सङ्केत गरेका छन् । जुनसुकै चिजको डोब बन्दैनन्, यस्तो चिजको डोब बन्दछ जुन चिजले आफ्नो गहिरो छाप छोड्ने ओजन, शक्ति र आकार हुन्छ । शाब्दिक अर्थ खोपाइ तथा हलो, बन्चरो तथा गह्रौँ बस्तुले लागेको चोट अथवा डाम खनेर बनाइने खाल्डो आदिलाई बुझ्दछौँ ।

समयका डोबहरू-शीर्षक नै विम्ब छन् यहाँ । मानिसको जीवन बाँचिरहँदा रमाइलो दिनहरू कहिले नबिर्सने, आपत्-विपद्, दुःख-पिर, व्यथा, अप्ठ्यारो स्थिति र मनमा सधैँ रहने समयको छाप हुन्छ जसलाई मस्तिष्कले बिर्सिएपनि हृदयमा सधैँ आलो रहन्छ । त्यस्तो अवस्था, समय र क्षणको प्रस्तुतलाई यस विम्बकवितामा पाइन्छ ।

समयका डोबहरूमा जीवनदर्शनको विम्ब

जीवनलाई विम्बकारले सहज र रमणीय तरिकामा बाँच्न पाउनुपर्छ भन्ने उदेश्यलाई दर्साएकी छिन् । मानिस कर्तव्यमा निष्ठापूर्वक रही तथा गतिशील रही जीवन बाँच्न पाउनुपर्छ । प्रेममय वातावरणमा रमाएर जोस र उत्साहसित बाँचेको जीवनप्राप्तीलाई सार्थक जीवन भनी प्रस्तुत गरेकी छिन् । जीवनका समग्र आयामलाई खोजेकी छिन् । सद्भाव शालीनतालाई जीवनमा उद्घाटन गर्न खोजेकी छिन् । जीवनसापेक्षमा जीवन जीवनशक्ति, शान्त, उत्कृष्ट संवेदना, हार्दिक रही अगाडि बढेको हुनुपर्छ । लेखिकाले जीवनमा रहेका चिन्ता, दुःख-पीडा, अन्तर्विरोध छटपटीसितै प्रेम, कर्तव्यशील, प्रकृति वातावरणको रक्षा र जीवनको कोमलतालाई विम्बकवितामा विम्बित गरेकी छिन् ।

मानिसको जीवन रूखको पातझैँ एकदिन झरेर जानुपर्छ । बाँचुन्जेल राम्रोसित सुन्दर वातावारणमा सद्भावले बाँचौ, भौतिक संसारबाट बिदा हुनुभन्दा पहिला सार्थक जीवन बन्न सकोस् भन्ने विम्ब विम्बित छन्-

रूखसित

नाता तोड्यो

झोर झरेर झरेर   

भुईँसित पातले प्रीति गाँस्यो ।(पृ.२०)

यथार्थ जीवन भोगाइलाई जसरी विम्बित गरेकी छिन् –

बिहान

सपना ओढे

सङ्घार तरेको जिन्दगी

साँझ, कात्रो बेहेर  फर्कन्छ । (पृ.२९)

स्वार्थी भावदेखि टाढा रहेर व्यक्तिवादी जीवनदेखि माथि उठेर निःस्वार्थ भावले पूर्णरूपमा सुसमृद्धि नै आत्मसन्तुष्टि हो भन्ने विम्बित यसरी गरेकी छिन् –

खोज्दै छन्

सबैले जीवन

मङ्गलमा छ भनेर

जीवनमा मङ्गल खोज्दै छु ।(पृ. ३१)

आर्थिक विपन्नताले छट्पटिएको जीवनलाई यसरी विम्बित गरेकी छिन्-

 चुल्हा

चिसो रहन्छ

बन्द कमान नखोलिएपछि

घरकी आमालाई ओछ्यानले बिझाउँछ ।(पृ.स.३२)

जनप्रतिको दृष्टिकोण यस विम्बकवितामा यसरी विम्बित गरेका पाइन्छ-

मैले

जीवनलाई रोजेँ

जीवनले मृत्युलाई रोज्यो

मृत्युले फेरि पुनर्जन्म खोज्यो । (पृ.स. ३९)

    कलम

एम आई राइट खोज्छ

कागजको सुकिलो आँगनमा

जटिल हिसाब जीवनको कोरेर । (पृ. ३९)

समयका डोबहरूमा यथार्थको डोबहरू

निम्नवर्गीय र मध्यमवर्गीय मानिसहरू तथा  सिधासोझा मानिसहरू हेपिएर बाँच्नुपरेको अवस्था र समयलाई समयको डोब भनी विम्बकार स्रावलीले चिह्नित गरेकी छिन् । गरीब, दुःखीप्रतिको शोषण हैकमवादी तथा समाजका ठूला भनौदाहरूबाट भएको अन्याय र अत्यचारको स्थितिलाई यथार्थचित्र विम्बकवितामा प्रकाश पारेकी छिन्-

नोकरले

पहिला हातहरू

त्यसपछि फेरि मुटु

अन्तमा शिरै दियो मालिकलाई ।(पृ. ३८)

     रेखा

सरल कोरियो

बक्र पनि तानियो

तर विन्दुमा आस्था डगमगायो। (पृ.४१)

   सपनाको

उडान भरेर

आकासिएको श्रमिकको श्रम

खस्यो भुईँमा पसिना भएर ।(पृ. ४७)       

   मालिकको

खुट्टानेर  बसेर

सुनिरहेछ कमारो केटाले

कथा, हिटलर र यहुदीको ।

     

  हिँडिरह्यो

ठोक्किँदै, दुख्दै

उसको खुट्टाको जुत्ता

यात्रा उसको एडभेन्चर बन्यो ।(पृ. ३७)

सुभद्रा बम्जनका समयका डोबहरूमा राजनीतिक चेतना

समयका डोबहरू-मा राजनीतिक चेतना विम्बकार समाजको शिक्षित र सचेत व्यक्तित्व हुन् । उनले आफ्नो जाति भाषा र व्यवस्थामाथि चिन्ता गरेकी छिन् । दिशाहीन विचलित राजनीतिक टपर्टुय्याँ नेतृत्वको स्वार्थभाव,  व्यक्तिवादी उन्नतिको व्यवहार, भाइभतिजावाद जस्ता प्रवृत्तिले ग्रस्त देखेपछि तथा उनीहरूको कर्मले निम्त्याएका दुर्गतिहरू भोगेपछि जनमानसलाई सचेत गराउँदै विम्बकवितालाई प्रस्तुत गरेकी छिन् –

  झ्यालमा

                झुन्डाएका पर्दाहरू

                थरथर हावामा काँप्दछन्

          वास्तविकता घरको छेल्न नसकेर। (पृ.स.३५ )

               मेटेर

          नपुंसक इतिहास

      वीरता लेख्न खोज्नेलाई

   गङ्गटाहरू पछिबाट हात दिन्छन् ।(पृ. ३१)

            छैन

       केही दिएको

   यो मरन्च्याँसे धुँवाले

 राप र तापको अनिकालभरि  ।( पृ.स.२५)

लेखिकाले आफ्नै जन्मभूमिमा माटोविहीन, मौलिक अधिकारदेखि वञ्चित रहनुपरेको पीडा भारतीय गोर्खाको मनमनमा छँदै छन् । आफ्नो अधिकार र हकलाई माग गर्दा प्रशासनले दबाएर राख्छन् । बोल्नेहरूको मुख बन्द गरिदिन्छन् । हेपाइ र शोषणमा बाँच्नुपर्छ यस्ता अवस्थामा विम्बकारले आफ्नो जन्मसिद्ध अधिकार एवं जातिको अस्तित्व रक्षाहेतु आक्रोश पोख्दै हामीलाई भत्काएर लथालिङ्ग, भताभुङ्ग पारे पनि बलियोरूपमा यस ठाउँमा जड एकदिन बसाउनेछौँ  यहाँ हाम्रो माटो भन्ने ध्वनि विम्बित गरेकी छिन् ।

होस्

भत्किन देऊ

लथालिङ्ग-भताभुङ्ग भएर

घर तिम्रो चट्टानमा बनिनेछ । (पृ.२१)

हामीलाई जति नै दबाए पनि, जति नै शोषण गरे पनि हाम्रो माग र अधिकारलाई मार्न खोजे पनि, हामीसित हाम्रो माग सधैँ जीवित रहन्छ । एकदिन ठूलो क्रान्तिको आगो भएर सल्किन्छ भन्ने विम्ब विम्बित छन् –

खरानीभित्र

  लुकेको भुप्रो

फिलुङ्गको भएर सल्किएपछि

जल्नेछ फेरि लङ्का रावणको ।(पृ.स. ४२)

उनले  दार्जीलिङको  राजनीतिक परिवेश प्रशासनको दबाब, विचलित अवस्थामा जनजीवनले भोग्नपरेको पीडालाई विम्बकवितामा विम्बित र गोर्खाल्यान्डको आन्दोलनपछि दार्जीलिङको जनजीवनले प्रशासन र नेतृत्वबाट भोगेका विकराल अवस्थालाई चित्रण गरेकी छिन् ।

विम्बकार कुलैनबारीका बासिन्दा हुन् । उनले चियाबारी र कुलैनबारीको पीडाबोध गर्दै कुलैनबारीका दुःख-पीडालाई प्रकाशित पार्दै यसरी कवितामा व्यक्त गरेकी छिन्-

  कुलैनको

    तीतो मुनामा

जीवन उसको अल्झेपछि

आफूलाई स्वस्थ्य ठान्छ ।(पृ.स.६६)

आफ्ना कवितामा सुभद्राले  माटाको आन्दोलनमा शहीद बनेका वीरसपुतहरूप्रति आत्मसम्मान गरेकी छिन् र ती वीरसपूतको योगदान एकदिन अवश्य नै साकार हुने आस्थालाई व्यक्त गरेकी छिन्-

बगेका

तिम्रा आँसुहरूले

क्रान्तिबाढ ल्याउनेछन्

निर्मूल हुनेछन् बस्तीहरू । ( पृ.स. ५७)

     आफ्नो

मुटुभन्दा प्यारो

माटाका निम्ति मर्ने

शहीद होइन ईश्वर हुँदै छन् ।(पृ.स. ६८)

त्यसैगरी लेखिकाले नारीहरूमाथि विभिन्न सामाजिक दृष्टिकोणबाट अवलोकन पनि गरेकी छिन् । उनले समाजमा नारीजातिले भोग्नुपरेका विभिन्न स्थिति र परिस्थितिलाई नजिकबाट हेरेकी छिन् र समाजमा नारीमाथि भएको अन्याय र अत्यचारलाई भन्दा पनि छोरीचेलीले भोगेका नारी तस्करीको बलत्कार एवं बालबालिकामाथि रहेको कुकर्मलाई उनले कवितामा विम्बित गरेकी छिन् ।

असिनाको

प्रहारमा धुँजिएर

असमय झर्न परेपछि

माटाको बनी भर्जिन कोपिलामा । (पृ.स.२५)

         बत्तीमा

     पुतली जलेपछि

जल्यो सांसारिकता पनि

जीत भयो नपुंसक रातको ।(पृ.स.५९)

एकातिर नारीमनको प्रगाढ प्रणयलाई पनि प्रकाश पारेकी छिन् –

ढुङ्गा      

     हान्यौ तिमीले

     मेरो मनको तलाउमा

  म असुरक्षित निद्रामा छु ।(पृ.स. ६९)

नारीलाई सृष्टिको संसार मान्दछन् । संसारको सबैभन्दा सुन्दर  वस्तु पनि नारी नै, कोमल हृदयगामी पनि नारी नै हुन् । विश्वमा नारीले धेरै सम्मान पाएकी छिन् भने नारीले नै दुःखपीडा पनि सहेकी छिन् । लेखिकाले यहाँ कोक्रो हल्लाउने हातले विश्व हल्लाउन सक्छ भनेर  नारीशक्तिलाई सङ्केत गरेकी छिन् र नारी ममताकी खानि भनी विभिन्न उपमाले विम्बित पनि गरेकी छिन् ।

  खोला

  नदी, समुद्र

सागर, महासागर हौ

नारी तिमी सब तिमी ।(पृ.स. ६३)

उनले विवाहित नारीको सुन्दर वर्णन र विवाहित नारीको शृङ्गारिक अवस्था र कर्तव्यलाई विम्बकवितामा विम्बित गरेकी छिन् ।

साउका

हरिया बाइँहरू

निदारको रातो टीका

एक थुङ्गो फूल, विश्वासको ।(पृ.स.४७)

  सिउँदो

मात्र किन

सर्वाङ्ग रक्ताम्मे पारेर

सिन्दुरले बनायो बन्धक जिन्दगी ।(पृ.स.४७)

वैवाहिक जीवनको आस्था र विश्वासलाई यसरी विम्बित गरेकी छिन् –

वाचा

गऱ्यौ तिमीले

घाम जून ताराको

सम्झेरै तृप्त भएँ म । (पृ.स.४५)

यसरी नै अविवाहित नारीको पीडालाई पनि कवितामा यसरी विम्बित गरेकी छिन्-

बैँसलाई

समातिराखेँ

कतै भाग्न नदिऊँ

कपालमा तुषारो किन नफुलाऊँ

यसरी नै सावालीका विम्बकवितामा उमेरका चेतना जीवनवादी दर्शनका पक्षहरू, गरीब-दुःखीका पीडा, गाउँ-घरमा  आर्थिक परिस्थितिमा बाँच्नपरेको वा चेप्टीएर बाँचेका जीवनशैली आदि बाक्लो रूपमा देखिन्छ ।

मानव जीवनका कर्तव्य निष्ठापूर्ण हुनुपर्छ । जीवनलाई सार्थक बाँच्नका निम्ति मेहनत परिश्रमी हुनुपर्छ । आफ्नो कर्तव्यलाई इमान्दारितापूर्ण निर्वाह गर्नुपर्छ । मानिसले कडासित मेहनत गऱ्यौँ भने सफलताको शिखर चुम्दछन् । समय हुँदै केही गरिराखौँ भन्ने सन्देशलाई विम्बकवितामा विम्बित गरेकी छिन्-

दायित्व

उभेको छ

युगौँदेखि पिरामिड भएर

गामले डढिराछ बाबुको थाप्लो । (पृ.स. ४९)

    पारी

तर्नु थियो

कोलाले धर्म छोडेन

त्यो बगिरह्यो…..म उभिरहेँ । (पृस. २३)

  ऐनामा

मेरो प्रतिविम्बले

रिसाउँदै सोध्यो मलाई

के दियौ विगतका वर्षलाई ।( पृ.स.३४)

आजको युगमा मानव समाज मानवताको धर्मदेखि टाडिन्दै गएको स्थिति हुर्किँदैछ । व्यक्तिगत बाँच्न रुचाउने मान्छेको भीडले पालेका लोभलाभ, लालची, ईर्ष्या, घमण्डले गर्दा समाजमा द्वन्द्व, हिंसा, भित्रिएका हुन् भन्ने भावलाई विम्बकवितामा विम्बित गरेका पाइन्छ ।

उनले दार्जीलिङमा रहेको राजनीतिक, सामाजिक एवम् आर्थिक परिवेशका यथार्थ चित्रण गरेकी छिन् । गोर्खाल्यान्डको ( हक र अधिकार ) आन्दोलनमा प्रशासनको अन्याय अत्यचारको पीडा खप्नुपरेको, हाम्रो नेतृत्वहरूले दिएको धोका, माउबिनाको चल्ला जस्तै विचलित अवस्था भोग्नुपरेको । नेतृत्वहरू लोभलालचीमा डुबेर गोर्खा सन्तानको भविष्यलाई अन्योलमा पारेका स्थितिलाई विम्ब कवितामा उतारेकी  छिन् ।

उनले माटाको आन्दोलनमा सहिद बनेका जातिप्रेमी वीरसपुतप्रति सम्मान पोखेकी छिन् । बालबालिका, छोरीचेलीप्रति भएको असामाजिक कुकर्महरूका विरोध गरेकी छिन् । नारीले खप्न परेको सामाजिक व्यवस्था र परम्परालाई उन्मूलनको दिशातिर रहोस् भनी याचना गरेकी छिन् । प्रत्येक युवायुवती आफ्नो परमकर्तव्यमा निष्ठापूर्ण हुनुपर्छ भन्ने सन्देशलाई प्रकाश पारेकी छिन् । कुलतदेखि टाढा रहनु नै सफल जीवनको दिशा तयार गर्नु हो भनी युवायुवतीलाई सचेत गराएकी छिन् ।

समाजमा आधुनिकताको नाममा आफ्नो संस्कार र संस्कृतिलाई बिर्सिँदै गएको जमातलाई हाम्रो जातको संस्कार र संस्कृतिप्रति सद्भावना र संस्कारित हुनुपर्छ भन्ने चेतलाई उनले प्रस्तुत गरेकी छिन् ।

उनको कृति समाजमा मानवमूल्यलाई पुनः स्थापित गर्ने दिशामा अग्रसर रहेको देखिन्छ किनकि मानवताको बाक्लो स्वर उनका विम्बकवितामा पाइन्छ ।

मान्छेको आधुनिकताप्रतिको मोह, युवावर्गमा सङ्घर्ष र निरर्थकताबोधको स्थिति, सामाजिक र राजनीतिक चेतना, सन्त्रासपूर्ण जीवनका समयहरू, मानव जीवनमा बढ्दो विसङ्गति आदि जस्ता जीवन भोगाइका चित्रण सावालीका विम्बकवितामा विम्बित भएको पाइन्छ । समग्रमा हेर्दा दार्जीलिङको सुगन्धमा भइरहेको, भोगिरहरेको जीवनशैलीको मानवत्वको चित्रण र मानवीय विसङ्गतिलाई –समयका डोबहरू-ले उद्घाटन गरेका छन् ।

भारतीय नेपाली कवितामा छोटोमा मोटो लेखनमा नयाँ ढाँचा हो –विम्बकविता । यसलाई भारतीय मुक्तक सिर्जनाको नयाँ लेखनको ढाँचा मानिरहँदा दुईमत नहोला ।