खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने पद्मश्री साहित्य पुरस्कार हासिल गर्न सफल पुस्तक हो “छालबाटो” । यो वातावरण संरक्षण सम्बन्धी कलम चलाउँदै आएका पत्रकार रमेश भुसालद्वारा लिखित यात्रा संस्मरण हो । कर्नाली नदीको सेरोफेरोमा आवातजावात गर्ने स्थानीयहरूले नदी किनारको बाटोलाई छालबाटो भनेर भन्ने गरेको कुरा लेखकले स्पष्ट परेका छन् ।

छालबाटोमा लेखकले प्रकृति र नदीसँग कर्नालीवासीको मानवको सम्बन्धको बारेमा सामाजिक संस्कृति, आर्थिक, पर्यावरणीय, मानवशास्त्रीय, भू-राजनीति, इतिहास, प्राग ऐतिहासिक तथ्यहरूको आधारमा व्याख्या गरेका छन् । पुस्तकमा नेपालको प्रारम्भिक पर्यटन इतिहास, टाइगर टप्स रिसोर्टको स्थापना र योगदान, वन्यजन्तु संरक्षणका प्रयासहरू, राष्ट्रिय निकुञ्जमा पाइने जलचर, स्थलचर, उभयचर प्रजातिहरूमा देखिएका सङ्कटहरू तथा जलवायु परिवर्तनले मानव जीवन र वातावरणमा पारेका असरहरूलाई वैज्ञानिक र सामाजिक दृष्टिकोणबाट गहिरो रूपमा विश्लेषण गरिएको छ ।

४५ दिन लगाएर काठमाडौँदेखि उडेर, गुडेर, हिँडेर, बगेर, तैरेर, तीन फरक देशमा पुगेर २ हजार कि.मी.को दूरी पार गर्दै तयार पारिएको यात्रा वर्णन हो छालबाटो । कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गम स्थलदेखि भारतको गङ्गा नदीसम्मको यात्रानुभूतिलाई सविस्तार वर्णन गरिएको छ ।

छालबाटो पढ्दै गर्दा लेखकको समूहसँगै पाठक पनि यात्रा गरिरहेको अनुभूति हुन्छ । लेखकले पुस्तकको शुरुमा नै आफूले यात्रा गरेको ठाउँलाई नक्सा बनाएरै देखाएका छन् । जसले गर्दा पाठकलाई कर्नाली नदीको शिरदेखि पुछारसम्मको यात्रा वर्णन बुझ्न सहज हुन्छ । यात्राको क्रममा लेखक स्वयंले खिचेका तस्वीरहरू पुस्तकको अन्त्यमा समावेश गरेका छन्; जसले यो नियात्रा पढ्ने पाठकलाई थप जानकारी मिल्नुका साथै शब्दमा पढेको कुरा तस्बीरले बोल्नेछ । लेखकले हरेक च्याप्टरमा कुनै न कुनै व्यक्तित्वले भनेको कुरा, कविता वा लेखिएको उद्गारलाई सन्दर्भ अनुसार समावेश गरेका छन् । सन्दर्भ अनुसार तथ्यपरक ढङ्गबाट पाठकहरूलाई जानकारी दिने उद्देश्यले विशेषज्ञ तथा अनुसन्धानकर्ताहरूले दिएको रिपोर्ट तथा निष्कर्षलाई सामेल गरेको छन्

यस पुस्तकमा यात्रा गर्ने क्रममा स्थानीय ठाउँको सामाजिक, आर्थिक, सामाजशास्त्रीय, भौगोलिक तथा सांस्कृतिक अध्ययन समेत समेटिएको छ । वन-जङ्गल, जनावर, नदी-खोला स्थानीय व्यक्तिको दु:ख-पीडा र उनीहरूका जीवन गुजाराको यथार्थ चित्रणलाई शब्दमार्फत गरिएको छ । कर्नालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बसोबास, रहन-सहन, जलवायु परिवर्तन, जलविद्युत, नदीले विस्थापित पारेको परिवारको कथा जस्ता गम्भीर विषयहरूलाई लेखकले उठान गरेका छन् । एकातिर तिब्बतको पठारमा विकासका पूर्वाधारहरू विस्तार, अर्कोतर्फ नेपालतिर राम्रोसँग हिँड्न मिल्ने गोरेटो बाटोको अभावलाई तटस्थ रूपमा रहेर तुलनात्मक विश्लेषण गरेका छन्।

लेखकका साथमा यात्रामा नदी संरक्षण अभियन्ता मेघ आले, मानवशास्त्री अस्टिन लर्ड, भूगर्भविद् क्यारेन बेनेट र फोटोग्राफर नवीनलगायत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका अनुसन्धानदाता सन्तोष नेपाल र विनय पासखल, ट्राभल एजेन्टले खटाएका दुई जना सहयोगीहरू रहेका छन् । क्यारेनले समयमै तिब्बतको भिसा नपाएपछि उनी सो यात्रामा नेपाल-तिब्बत नाका हिल्सामा जोडिने कुरा भएछ ।

“खुशीको उपत्यका’ शीर्षक राखेर शुरुवात गरिएको नियात्रा लेखनमा उनी सन् २०१६ मा बालुवाको टेन्ट गाडी किनारमा बसेको, नदीले बगाएर ल्याएको मुढा बाल्दै साथीहरूसँगै रम पिउँदै कर्नालीको किनारमा आफ्नो जन्मदिन मनाएको उल्लेख गरेका छन् । सन् २००५ मा काठमाडौँमा मेघ आलेसँग भेट भएको, बागमती नदी महोत्सवको सफाइ अभियानको क्रममा आलेले सबैलाई आँखा चिम्लिएर एक मिनेट नदीको आवाज सुन्न लगाएको, र त्यसपछि लेखकले नदीहरूलाई महसूस गर्ने गरेको भनेर नदीप्रतिको आफ्नो लगावको बारेमा प्रस्ट्याएका छन् । मेघ आलेसँग हिमचिम बढ्दै गएपछि जन्मदिनको दिनमा कर्नाली किनारको जुनेली रातमा आलेले कर्नालीको शिरदेखि पुछारसम्मको यात्रा गर्ने योजना बुनेको, र उक्त यात्रामा आफूलाई सँगै लिएर जाने प्रस्ताव राखेको कुरा बताएका छन् । सन् २०१८ मा आलेले कर्नालीको यात्रा हुने पक्का भएको बताएपछि यात्राको चाँजोपाँजो अगाडि बढेको रहेछ ।

पुस्तक पढ्दा थाहा हुन्छ, चीनको स्वशासित प्रान्त तिब्बत जानका लागि सजिलै भिसा पाउन नसकिने रहेछ । भिसाका लागि ट्राभल एजेन्टमार्फत नै जानुपर्ने बाध्यता रहेछ । यात्राको आइटिनरी र तिब्बत सरकारको अनुमति लिएपश्चात् चिनिया दूतावासमा पासपोर्टसहित आवेदन दिनुपर्ने रहेछ । अचम्मको कुरा, २ वर्षभित्र कुनै मुस्लिम देश गएको भिसा पासपोर्टमा छ भने त्यस्ता पासपोर्ट जम्मा नगर्नु भनी चिनिया दूतावासले ट्राभल एजेन्टलाई भनेको हुँदो रहेछ । आश्चर्यजनक कुरा के हो भने तिब्बतको भिसा पासपोर्टमा नभई कागजमा हुने रहेछ । पुस्तकमा तिब्बत जाँदा के गर्ने  के नगर्ने भनेर गाइड पेमा लामाले बताए अनुसार किताब बोक्न नपाइने, मोबाइलमा फोटोहरू डिलिट गर्नुपर्ने, फोटोहरू चेक गरिने, दलाइ लामाको फोटो राख्न नहुने लगायत थुप्रै नियमहरू उल्लेख गरिएको छ, जुन तिब्बत भ्रमण जानेहरूका लागि निकै उपयोग सिद्ध हुनसक्छ ।

यात्रामा निस्कनुअगाडि घरबाट पाइला सार्दा छोरी र श्रीमतीसँग ४५ दिन छुट्टिएर बस्नु पर्दाको अनुभूतिले लेखकलाई निकै भावुक बनाएको देखिन्छ । कर्नालीमा विकासका पूर्वाधार खडा हुन नसक्नुका र विकासका योजनाहरू अलपत्र पुर्नु र पारिनुका थुप्रै कारणहरूलाई यथार्थ रूपमा चित्रण गरिएको छ । ‘पहिले तिब्बतीयनहरू लाइन लागेर हाम्रातिर आउँथे र अन्न भरेर घर फर्कन्थे । अहिले हामी लाइन लागेर उता जान्छौँ र सामान लिएर फर्कन्छौँ’ भन्दै नेपाल–तिब्बत व्यापार तथा सम्बन्धको परम्परागत र वर्तमान परिप्रेक्ष्यलाई राम्रो विश्लेषण गरिएको छ । सन् १९२७ मा भारतमा बेलायतले राज गरेको समयमा नेपालको दक्षिणी भागमा रेल आइसकेको थियो । रक्सौल-अमलेखगन्ज रेल सन् ७० को दशकमा बन्द भयो भने जनकपुर-जयनगर रेल भने २०१४ सम्म चलेर बन्द भयो । सन् २०१३ मा चीनका राष्ट्रपति सी जिन पिङले वानबेल्ट्, वानरोड परियोजनाको घोषणा गरे । सिल्करोड मानिने यो प्रोजेक्टलाई बेल्ट एण्ड रोड इनिसिएटिभ भनिन थलियो । यही प्रोजेक्टको असर कर्नाली प्रदेशमा परेको कुरा लेखकले कर्नाली प्रदेशका तात्कालिक मुख्यमन्त्रीले बोलेको कुराबाट प्रस्ट पारेका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तिब्बतको सिगात्सेसम्म आइपुगेको रेल अब हिल्सा हुँदै भारत जोडिने कुरा गर्छन् । तर लेखकलाई यो कुरा चित्त बुझ्दैन किनकि त्यही ठाउँमा बिजुली आउँछ भनेको ६० वर्ष बितिसक्दा पनि  दलबहादुर जस्ता नागरिकहरू अन्धकारमा रात काटिरहेको देखेका थिए ।

पुस्तक पढ्दै गर्दा कर्नालीका व्यथासँगै विकासका सम्भावना पनि प्रशस्तै रहेछन् भन्ने कुरा मुख्यमन्त्रीले गरेको तीनवटा निर्णयबाट थाहा हुन्छ । पहिलो, कर्नालीलाई अर्ग्यानिक खेती गरिने प्रदेश बनाउने । दोस्रो, पर्यटनको हब बनाउने । र, तेस्रो कर्नालीको पानीबाट १० हजार मेगावाट बिजुली निकाल्ने । यसै क्रममा उनले भनेका छन् – हाम्रा नदीहरूमा विदेशीको धेरै चासो छ तर हामीले सिर्फ नदीको लाइसेन्स नाममा कागज मात्र बेचिरहेका छौँ । बिजुली बेचेनौ, दलाली मात्र गर्दै गयौँ । उनले कर्नाली चिसापानीसम्म पानीजहाज ल्याएर हुम्लासम्म पुर्‍याउन सकिने योजना सुनाए ।

समुन्द्री मार्ग लगायत थुप्रै सम्भावनालाई चीनले विकासको मार्गको रूपमा लिएर फड्को मारेको दृष्टान्तहरू प्रस्तुत गरेका छन् तर छिमेकी देश भारत भने नेपालमा रेल छिराउने कुरा सुनेरै रिसले मुरमुरिने गरेको कुरा व्यक्त गरेका छन् । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९५० मा संसद्लाई सम्बोधन गर्ने क्रममा “हामीले सम्झन सक्ने समयभन्दा पनि धेरै अघिदेखि हिमालय पर्वत सुरक्षा कवच थियो । हामीले त्यो विशाल पर्खाल छेड्ने अनुमति कसैलाई दिन सक्दैँनौ । किनभने त्यो भारतलाई सुरक्षित राख्ने मुख्य कडी हो । यसबाटै प्रस्ट हुन्छ कि भारतले नेपाल र चीन जोड्ने कोराला वा केरुङ नाका खुला हुँदा खुशी हुँदैन । भारतलाई नेपालका नदीबाट बिजुलीभन्दा पनि सिचाइका लागि पानीको आवश्यकता रहेको बुझ्न सकिन्छ ।

बेलायतीहरूले भित्र्याएको रेलले देशको जङ्गल फडानी गरी सालका काठ भारत पैठारी गरिएको  थियो भने अब उत्तरबाट आउने चिनिया रेलले के कति नेपालको लिएर जाने हो भन्ने शङ्का प्रकट गरेका छन् । ४५९० मी. उचाइमा रहेको मानसरोवर ताल पुगेपछि उत्तरमा कैलाश पर्वत छर्लङ्ग देखिएको, थुप्रै मानिसहरू गाडी रोकेर कैलाश पर्वत हेर्दै दङ्ग परेका, कोही फोटो खिच्न व्यस्त, कोही लम्पसार परेर ढोग्न थालेका, कोही आँखा चिम्म गरेर नमस्कार गरिरहेका दृश्य लगायत कैलाश पर्वत पुगेपछि त्यहाँ वरपरको वातावरण तथा परिवेशको चर्चा गरेका छन् । लेखक आफैँ पनि कैलाश पर्वत छेउमा पुगेपछि अनायासै शिर निहुरिएको, हात जोडेर नमस्कार गरेको, जमीनमा पल्टिएर ढोगेको, आँखा बन्द भएको, मन आनन्दित भएको कुरा बताउँछन् । उनी आफैसँग प्रश्न गर्छन् – किन यस्तो भयो ?  यस्तो हुनुमा प्राकृतिक कारण के थियो ? धार्मिक कारण के थियो  ?

लेखक कर्नालीको मूल हेर्न निकै उत्साहित हुन्छन् । मयूर आकारको पहाडको मुखबाट निस्कने हुनाले कर्नालीलाई तिब्बतमा माप्चा खम्बाब भनिँदो रहेछ । यसलाई धार्मिक स्थलको रूपमा मानिँदो रहेछ । लेखकले भारतीय अध्येता तथा योगी  प्रणभागनन्दले लेखेको कुरालाई समावेश गरेका छन् जसमा माप्चा चुङो मूललाई कर्नालीको मूलको रूपमा मानिँदै आएको उद्गम स्थल भए तापनि भौगोलिक उद्गमस्थल त्यो मूलभन्दा २ दिनको हिँडाइमा पुग्न सकिने स्थानमा पर्ने रहेछ ।

सफरका सहयात्री मेघ आलेले कर्नाली राक्षस तालबाट बगेर आउँछ भन्ने कुरा सुनेका रहेछन् । त्यही कुरा पत्ता लगाउन कर्नालीको शिरमा आउने उनको चाहा पनि हुन सक्छ । भ्रमण टोलीले कतै पनि राक्षस तालको पानी माप्चा खम्बाबमा मिसिएको देखेनन् । त्यसैले कर्नाली राक्षस तालबाट बग्छ भन्ने कुरामा कुनै सत्यता नभएको टोलीले निर्णय गर्‍यो । यो सूचना नै टोलीको महत्त्वपूर्ण खोज वा सूचना भएको उल्लेख गरेका छन् । जुन सूचनाले आलेलाई औधी खुशी तुल्याउँछ र उनी खुशीले उन्मुक्त हुँदै  “ॐ कैलाश, कर्नाली कर्म” भन्दै चिच्याउँछन् ।

लेखकसँगको अन्तर्वार्ता क्रममा  हुम्लाका छैग्याङ तामाङले भनेका छन्, “चीनको शासन राम्रो, भारतको रासन राम्रो, नेपालको भाषण राम्रो”। छैग्याङको यो कथनमार्फत देशको अवस्था छर्लङ्ग पारेका छन् ।

लेखकले नदी किनारको बाटो (छालबाटो) हुँदै फर्किँदा भ्रमण टोलीले बेहोर्नु परेको हन्डर, बाटोको दुर्दशा; त्योभन्दा नि दु:खलाग्दो कर्नाली नदीले स्थानीय बासिन्दालाई दिएको दु:खपीडालाई शब्दमा व्यक्त गरेका छन् । हाइड्रोपावरको सपना कर्नालीबासीको सामूहिक सपना हो । कर्नालीमा जलविद्युत आयोजना  बन्छ, पक्की बाटो भन्छ भनेर हाइड्रोपावर बनाउने भनिएको स्थानमा बसाइ सर्नेहरू धेरै छन् । यसरी बसाइ सर्नेहरूको छुट्टै व्यथा छ । न त त्यो ठाउँ छोड्न सक्छन्, न हाइड्रो न त पिच बाटो बन्न सकेको छ । आयोजना आउँछ भनेर कतिपय स्थानमा जग्गाको मुआब्जा समेत बाँडिएको रहेछ । कतिपय ठाउँमा जग्गा अधिग्रहण गरेर मात्र राखिएको रहेछ । कर्नालीबासीले कर्नालीको पानीको सही उपयोग गर्न पाइरहेको छैनन् भन्ने कुरा पुस्तकमा प्रस्तुत गरिएको छ ।

कर्नालीमा ठूलो ठूलो जलविद्युतका लागि मात्र लाइसेन्स दिइएको पाइयो । के साना साना जलविद्युत आयोजनाहरू सञ्चालन गरेर स्थानीयको घर उजिल्याउन सकिँदैन ?  जस्तो माछापुच्छ्रे तथा अन्नपूर्ण गाविस लगायत कास्की जिल्लामा थुप्रै स-साना हाइड्रोपावरको सञ्चालन गरेर थुप्रै गाउँमा बिजुलीको उज्यालो पुर्‍याइएको छ । कर्नाली नदीमा थुप्रै ठाउँबाट जलविद्युत आयोजनाहरू सञ्चालन गर्न सकिन्छ ।

पुस्तक पढिरहँदा मलाई कर्नालीका नाममा धेरै नै राजनीति भएको आवास भयो । विकासको अपार सम्भावना हुँदा हुँदै पनि सरकारले कर्नालीको विकासमा ध्यान नदिएको जस्तो लाग्यो । पुस्तकमा ठूला आयोजनाहरूले देशको विकास हुने, देश धनी हुने कुराको व्याख्या गरिएको छ । भारत, चीन, अमेरिकाको दृष्टान्त दिइएको छ । पुस्तकको “श्रीपेचको हिरा” च्याप्टर पढ्दै गर्दा मोबाइलमा जेन्जी आन्दोलनपश्चात् बनेका नवनियुक्त  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ११०० वाट बिजुली भारतलाई बेचेको समाचार पढ्न पुगेँ । कस्तो विडम्बना, एकातिर ३० वर्षदेखि एउटा हाइड्रोपावर कुरेर जीवन बिताइरहेका कर्नालीका जनताको दयनीय अवस्था, अर्कोतिर ११०० वाट बिजुली बेचेकामा मन्त्रीको घमन्ड !

कर्नालीका डल्फिनलाई पनि लेखकले समेट्ने प्रयास गरेका छन् । डल्फिन नेपालमा के कति छन् ? कहाँ कहाँ पाइन्छन् ? भन्ने कुराको विस्तृतमा अध्ययन हुन बाँकी रहेको कुरा गर्दैगर्दा हाल डल्फिन अति सङ्कटमा रहेको प्रजातिको सूचीमा सुचीकृत रहेको बताउँछन् । “घार गाउँ” भन्दा मुनिको कर्नाली नदी क्षेत्रलाई नेपालको डल्फिन संरक्षण क्षेत्र घोषणा गरिनु पर्ने सुझाव पनि दिएका छन् ।

लेखकले नदीबाट गेग्र्यान निकाल्दै पखाल्दै सुन खोज्नेहरूको कथा पनि समेटेका छन् । हुन त मुख्यमन्त्रीले पहिला कर्नालीमा सुनको व्यापार हुने कुरा पनि गरेका थिए । बालुवा खोस्रेर बर्दिया राजापुरका सुन व्यापारीहरूलाई बेचेर आफ्नो जीवन गुजारा चलाउने छेदानी सोनारको कथामार्फत नदी किनारमा बसोबास गर्नेहरूको कथा उजागर गरेका छन् । कर्नाली नदीमा माछा मार्न र सुन चाल्न निकुञ्जको अनुमति लिनु पर्ने वर्तमान अवस्था बारे पनि उल्लेख गरेका छन् ।

यात्राको क्रममा राउटे मुखिया चन्दमान शाही र उनकी पत्नीलाई भेटेर गरिएको कुराकानी  र राउटेको बस्तीमा गएको प्रसङ्गलाई पनि जोडेका छन् । राउटेहरूको जीवन गुजारा र बसोबास सम्बन्धी जानकारी दिने उद्देश्यले राउटेका बारे केही तथ्य उल्लेख गरेका छन्।

पुस्तकमा र्‍याफ्टिङ बारे इतिहास खोतल्दै विश्वमा कहिले र्‍याफ्टिङ शुरु भयो भन्ने कुराको सम्पूर्ण व्याख्या गरिएको छ । र्‍याफ्टिङ गर्दा गाइडहरूसँग सिक्नु पर्ने, गाइडले भनेको मान्नु पर्ने, ठूला ठूला भँगालाहरूबाट कसरी पार लगाउने आदि बारे सविस्तार खुलाउनुका साथै र्‍याफ्टिङ सकिएपछि नदी किनारमा बसेर गर्ने रमाइलो बारे पनि उल्लेख गरेका छ । यात्राकै क्रममा नदीको किनारमा दशैँ मनाएको प्रसङ्गलाई पनि जोडेका छन् ।

तिब्बतबाट बगेको नदी कर्नाली पहिलोपटक उत्तर प्रदेशमा थुनिएको थियो । जसलाई गिरिजापुरी ब्यारेज भनिँदो रहेछ । भारत पसेपछि कर्नालीको नाम घाघरामा परिवर्तन हुँदो रहेछ । नेपालको चिसापानी मुन्तिरबाट कौरियाला र गेरुवा बनेर बगेको कर्नाली भारत पुगेपछि खेत खेतमा पठाइँदो रहेछ । भारतमा पनि घाघरा नदीले कैयन्को घर-बार, खेत-खलियान बगाउने गरेको रहेछ । नदीले विस्थापित गराएछ भनेर बहराइचतिर त नदी किनारमा बसोबास गर्नेहरूको बिहे समेत हुन नसक्दो रहेछ।  सोही नदी अयोध्या पुगेपछि सरयूको नामले पुकारिँदो रहेछ । यस नदीमा डुबुल्की मार्दा पाप पखालिन्छ भन्ने विश्वास गरिँदो रहेछ ।

कर्नाली नदी बनारस पुगेपछि पवित्र गङ्गाको नामले पुकारिन्छ । गङ्गामा डुबुल्की मारेपछि सबै पाप नास हुने हिन्दुहरूको विश्वास रहेको छ । २०२४ मा म पनि बनारसको गङ्गा नदीमा डुबुल्की मारेको थिएँ, होली पर्व त्यही मनाउनुको साथै आरती पनि हेर्ने अवसर मिलेको थियो।  अहिले याद ताजा भइरहेको छ । गङ्गामा कोही लुगा धुने, पितृलाई तर्पण दिने, डुबुल्की मार्ने, चिया बेच्ने, कोही लास जलाइरहेको लगायत अनेकौँ आयामहरू देखेपछि  गङ्गा नदीमा जीवन, जगत् र मृत्यु सबै देखिने कुरा बताएका छन् ।

मैले “कर्णाली”लाई ‘कर्नाली’ लेखेको खासै देखेकी थिइन् तर छालबाटोमा “कर्नाली” मात्र लेखिएको छ । यसको कुनै खास कारण हुन सक्ला भनेर स्वयम् लेखकलाई मेसेज गरेर सोधेँ । उहाँको उत्तर लेखकले भने, “त्यहाँ स्थानीयहरूले यो कर्नाल बाजा जसरी बगेकाले कर्नाली भनेको हो, तर कर्णाली भनेर नाम बिगारिदिए भनेर स्थानीयले गुनासो गरेकाले मैले कर्नाली लेखेको हो ।”

अन्तमा, ‘छालबाटो’ एक पठनीय, ज्ञानवर्धक र संग्रहणीय कृति हो । लेखकले पुस्तक लेखन गर्दा पढेका सन्दर्भ सामाग्री (पुस्तक, जर्नल र वेबसाइट ) हरूलाई पनि उल्लेख गरेका छन् । जसमा वन जङ्गल, नदी, जलवायु परिवर्तन, भौगोलिक, सांस्कृतिक, सामाजिक, आर्थिक लगायत कर्नाली क्षेत्रसँग सम्बन्धित विभिन्न विषयहरू समेटिएका छन् । यसले सो क्षेत्रमा अध्ययन वा अनुसन्धान गर्न इच्छुक जो–कोहीलाई उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउँछ ।