गौरव लाग्छ हे मेरी आमा सगरमाथा जस्तै

पहाड झैँ अडिग तिमी दुःख पर्दा कस्तै ।

 

डोके, पाखे जे भए नि आमा मेरी उनै

पाइँदैन संसारमा तिमी जस्तै कुनै

असल बाटो देखाइदिने, जीवनमा तिमी, प्रेरणाकी खानी

सधैँ सधैँ प्यारो लाग्छ, संसारैमा तिमी, आमा मातृभूमि ।

 

गौरव लाग्छ…

(स्वरः कर्णदास र अन्जना गुरुङ                                 

सङ्गीतः तिलकबम मल्ल)

एउटा गौरवशाली नाम हो- दुर्गाबहादुर शाह ‘बाबा’, कविता र गीति साहित्यका लागि । अझै भनौँ, पोखराका लागि । अझै भनौँ भने दक्षिण एसियाकै लागि । मातृभूमिप्रेमको एक उत्कृष्ट नमुना हो यो गीत । यो गीत लेख्ने गीतकारको नाम हो- दुर्गाबहादुर शाह ‘बाबा’ ।

‘दोसाँध’ कवि दुर्गाबहादुर शाह ‘बाबा’को तेस्रो किताबी कृति हो । यसअघि ‘समयले कोरेका रेखाहरू’ नामक लेखसङ्ग्रह वि.सं. २०६३ मा र ‘दुई हरफ’ नामक कविता सङ्ग्रह २०६६ मा प्रकाशन भएका थिए । मैले सम्झेँ- दुई हरफको लोकार्पणसँगै बाबाको एकल कविता वाचन पनि भएको थियो एक भव्य कार्यक्रमका बीच, पोखरा उद्योग वाणिज्य सङ्घको प्रेक्षालयमा । त्यसै गरी उनको गौरव र नेपाःश्री नामक २ गीतिएल्बम पनि बजारमा आएका छन् । श्रीलङ्काका प्रसिद्ध गायक तथा सङ्गीतकार डा. प्रवात नीलन्त पेरिसको स्वर र सङ्गीतमा रहेको नेपाःश्री एल्बको विमोचन कार्यक्रम नेपालका लागि श्रीलङ्काका तत्कालीन राजदूतको प्रमुख आतिथ्यमा पोखरामै सम्पन्न भएको थियो । सबै कृतिका हिसाबले यो कृति बाबाको पाँचौँ एकल कृति हो । त्यसो त बाबाको कृतित्व र व्यक्तित्वका विषयमा लेखिएको एउटा सिङ्गो ग्रन्थ पनि सङ्घर्षमा कलम साहित्य समाजले प्रकाशन गरेको थियो । यी सबैका लागि साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’ लाई हार्दिक बधाई र निरन्तर साधनाका लागि शुभकामना पनि ।

दोसाँध जम्मा १२६ पृष्ठमा फैलिएको छ । बाबाका ५१ कविताका अलावा बाबाकै जीवनसङ्गिनी धनकुमारी शाहको प्रकाशकीय, सरुभक्त र प्रकाश सायमीको विश्लेषणात्मक र प्रेमिल शुभेच्छा तथा बाबाको दोसाँधे मन्तव्य कृतिमा अटाएका छन् ।

वास्तवमा बाबा प्रेमकवि हुन् । उनको प्रेमभित्र जीवन र मातृभूमि दुवै पर्छन् । जीवनभित्र जीवनसङ्गिनी नपर्ने त कुरै भएन । जीवनसङ्गिनीअघि प्रेमिका पर्नु त स्वाभाविकै हो । समयले कोरेका रेखाहरूमा मातृभूमि, माटो र व्यावसायिक जीवनको पाटाको प्रेमसँगै जीवनका ऊहापोहहरूलाई प्रस्तुत गरेका कवि बाबाले ‘दुई हरफ’ मा राष्ट्रप्रेमलाई विशेष महत्त्व दिएका थिए । यस पटक ‘दोसाँध’मा प्रेम र जीवनकै दोसाँधमा ठिङ्ग उभिएका छन् बाबा । उनको उभ्याइमा देश, समाज र प्रकृति सारथि बनेर आएका छन्, जसरी आएका छन् ।

‘दोसाँध’भित्र सरलताभित्र तरङ्गित तरल कविताहरू छन् । तरल यस अर्थमा कि तपाईँको मन जता बग्छ, कविताहरू उतै बग्न सक्षम छन् । जस्तो कि कुनै भाँडामा राखिएको तरल पदार्थले आकार लिए जस्तो । कवितामा हुनुपर्ने कम्तीमा पनि आधारभूत गुण बोकेका कविता छन् किताबभित्र । जटिलता खोज्ने जिम्मा त पाठकलाई नै छोडिदिऊँ ।

‘जिन्दगीको वर्णमाला’बाट शुरु भएको दोसाँध ‘सिरानी’मा पुगेर टुङ्गिन्छ । जिन्दगीको बाह्रखरीले पूर्णता पाउनका लागि स्वर र व्यञ्जन दुवै वर्णको सही संयोजन हुनुपर्ने तथ्यलाई उजागर गरेका छन् बाबाले । त्यसपछि क्रमशः मन, आत्मा, मातृत्व, नजर हुँदै गहिरो प्रेमसागरमा चुर्लुम्म डुबेर कवितारूपी मोती टिप्ने अभिलाषामा कवि विचरित छन् । कवि प्रेमका पूजारी हुन् । प्रेमप्रति अगाध प्रेम छ उनीभित्र । आफूले प्रेम गरेको ‘प्रेम’लाई कसैले घातमा परिणत गर्ने दुष्प्रयास गर्दा भने उनको कोमल मन पनि आक्रोशित हुन्छ – त्यो पनि प्रेमपूर्वक । प्रेमका नाममा हुने बेइमानीप्रति तीव्र रोष प्रकट गरिएको कविता हो- प्रीत । प्रेमका नाममा गरिने यौनोन्मादलाई कवि प्रेम भन्न हिच्किचाउँछन् । ‘नजरभित्र’ शीर्षकको कवितामा त आधुनिक समयका मानिसको प्रेममा देखिएको विसङ्गतिको भण्डाफोर मात्र गरेका छैनन्, उनले आदर्श प्रेम यस्तो हुनुपर्छ भनेर अर्तीसमेत दिएका छन्:

प्रेम नजरभित्र राखिएको होस्

जहाँ सधैँ

हँसिलो मुहार देखिएको होस्

प्रेमको मूल्य नलेखिए पनि

अनुभूति अमूल्य होस् ।

(नजरभित्र, पृष्ठ २७)

शङ्काले लङ्का जलाउने यथार्थको पुनःस्मरण गराउँदै कविले प्रेममा ‘शङ्का’लाई एक बाधक तत्त्वका रूपमा अर्थ्याएका छन् । प्रेम र धोका एकापसमा विरोधाभासी कुरा हुन् । बाबालाई प्रेम मन पर्छ । प्रेममा धोका उनी कल्पना गर्नै नपरोस् भन्ने चाहन्छन् तर भने जस्तो कहाँ हुन्छ र जीवन ! यो यथार्थलाई बाबाले पनि नबुझेका त कहाँ हुन् र ? त्यसैले त कहिलेकाहीँ ‘हार खाएँ’ भन्छन्, कहिले ‘सम्झनाका लहरहरू’ मा लहरिन्छन् त कहिले प्रेमको न्यायालयमाथि नै प्रश्न उठाउँछन् । यति हुँदाहुँदै पनि दुर्गाबहादुर शाह ‘बाबा’ प्रेमकवि नै हुन् र उनको प्रेमकवितालाई म पनि प्रेमपूर्वक नमन टक्र्याउँछु ।

प्रेम छ र त जीवन छ । जीवनलाई जीवन बनाउने अनिवार्य अवयव प्रेम नै हो । फेरि पनि जीवनको नाम सङ्घर्ष हो भने उपनाम सम्झौता हो । जीवनको लक्ष्य प्राप्तिका लागि यी दुईको समायोजन हुनु अनिवार्य छ । ‘लक्ष्य’ शीर्षकको कवितामा कवि भन्छन्- सङ्घर्ष र सम्झौतालाई स्वीकार गर्दै लक्ष्य प्राप्तिका लागि जुध्नुपर्छ । जीवनका विवशताहरू ‘पानी’ कवितामा उरालेका छन् कविले । आफू मात्रै बगेर के गर्नु, बगरको व्यथा सुन्नुपर्छ । मन परेको बाटो छोड्नुपर्छ, मन नपरेको बाटो हिँड्नुपर्छ । बरु आफू हाँसेर अरूलाई हँसाउँदा जीवनमा खुशी मिल्ने तथ्य ‘खुशी’ कवितामा उल्लेख छ । ‘तिमी हाँस्यौ भने संसार हाँस्ने छ, रोयौ भने एक्लै रुनुपर्ने छ ।’ अब तपाईँ पनि आफैँ छान्नुस्- हाँस्ने या रुने ?

जीवनसम्बन्धी अनुभूतिजन्य दर्शनको ओइरो नै छ ‘दोसाँध’मा । जीवनका सुख, दुःख, हाँसो, रोदन, विछोड, घात, प्रतिघात, उतार, चढाव सबै पक्षलाई कविले समेटेका छन् । कुरा के मात्रै हो भने कतिपय कवितामा विम्बको लेप लगाएका छन्, कतिमा कुराकानीको रङ भरेका मात्रै छन् । जीवनलाई जीवन बनाउनका लागि भूमिका खेल्ने हजुरबाप्रतिको कृतज्ञता प्रस्तुत गर्न होस् वा जीवनलाई जीवनको नाम दर्ज गरिदिने ‘रवि’ रूपी जीवनसङ्गिनीको योगदानको कदर गर्नमा नै किन नहोस् । आफ्नो जन्मभूमि ‘लत्रेपीपल’ को गुणगान गायनमा पनि उनले आफ्ना अमूल्य शब्द समपर्ण गर्न चुकेका छैनन् ।

पृथ्वीरूपी रङ्गमञ्चमा जीवनरूपी अभिनय गरेर बाँच्न अभिशप्त मानिस हौँ हामी । हाम्रो जीवनमा कहिले निराशाको बाढी आउँछ, कहिले आशाको बहार । यी दुवै जीवनका यथार्थहरू हुन् । जीवन वर्गीय छ किनकि समाज वर्गीय छ । भरियाको जीवन सधैँ भरिया नै भइरहँदा कविको चित्त दुख्छ कतै कतै । उनीहरूको स्वतन्त्रता र मुक्तिका पक्षमा कविको स्वर सानै किन नहोस्, उठेको छ । उनको चेतनाले भन्छ- प्रश्नहरू स्वयम् प्रश्न भएका छन् र पनि प्रश्न गर्न छोड्नुहुँदैन ।

गाउँशहरका हरकुनामा

विकासका नाराहरू घन्काउँदा-घन्काउँदा

शब्द पनि शब्दकोशबाट

नेपालको पानीसरह

खेर गइरहेका छन् ।

(बतासे विकास, पृष्ठ १०५)

आखिर नेपालको पानी किन खेर गइरहेको छ त ? किन विकासका नाममा योजनाका भर्‍याङ चढेर आफ्नै ढुकुटी भरिरहेछन् ढँटुवा विद्वान् र नेताहरू ? प्रश्न गर्नैपर्ने भएको छ । देश बेस्सरी दुख्छ यी प्रेमिल कविलाई । विभिन्न भेषमा देश लुट्ने लुटेराहरूप्रति उनी आगो ओकल्ने प्रयत्न गर्छन् तर ओकल्न सक्दैनन् किनकि आगो यिनको प्रिय वस्तु होइन, यिनको प्रिय वस्तु त फूल हो, आदर्श हो । र पनि मन त मनै हो नि ! लाइसेन्सप्राप्त छद्‍मभेषी चोरहरूलाई उनी जनतासामु नङ्ग्याउन चाहन्छन्;

भ्रष्टाचारको बिउ रोपेर

अन्यायका खोला बगाउँदै

अहोरात्र चोर्नैका लागि

खटिइरहेका छन्

छद्‍मभेषी चोरहरू ।

          (चोरहरू, पृष्ठ ५७)

अन्याय र भ्रष्टाचार हटाउन सत्ताधारी र भत्ताधारीलाई जाँतोमा घुन पिसेझैँ पिस्नुपर्ने उनको धारणा छ । चुनौती त छ तर आवाज उठाउनुपर्छ भन्ने चेतना भएका कवि बाबा सफलताका लागि सङ्घर्षमा जुट्न आम जनतालाई आह्वान गर्दछन् ।

कविले प्रकृतिलाई पनि आफ्नो कविताको विषयवस्तुका रूपमा महत्त्व दिएका छन् । अझै भन्ने हो भने उनले कविताका अधिकांश विम्बहरू प्रकृतिबाटै लिएका छन् । पहाड उनलाई मन पर्ने बिम्ब हो । पहाडलाई कतै सङ्घर्षको प्रतिमूर्तिका रूपमा त कतै सफलताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन् । हिमाल आरोहणको पीडा र आनन्द दुवै स्वयम् हिमाल आरोहीले मात्रै अनुभूत गर्न पाउँछन्, न कि बटुवाले भन्ने कविको भनाइ छ ।

कविले कृतिभित्र विषयगत विविधता अँगालेका छन्, भलै केन्द्रमा प्रेम रहेको किन नहोस् । विश्वव्यापी कोरोनाले सिकाइएको सवक र सजगताको पाठ ‘कोरोना’ शीर्षकको कवितामा उनले प्रस्तुत गरेका छन् । राष्ट्रकवि माधव घिमिरेप्रतिको श्रद्धाभाव एक स्रष्टाको नाताले गर्नु सराहनीय काम नै हो, भलै सो कवितामा विचार पक्ष कमजोर भएकै किन नहोस् ।

कवि दुर्गाबहादुर शाह ‘बाबा’ स्वयम् शालीनताका एक नमुना विम्ब हुन् । उनको कवित्वको शक्ति पनि शालीनता नै हो । परिवर्तनका पक्षधर कविता होस् या प्रेमका चरमोत्कर्ष प्रस्तुति होस्, विकृतिजन्य परिस्थितिप्रतिको झटारो होस् वा देशद्रोहीविरुद्धको व्यङ्ग्य नै किन नहोस्- शालीनतालाई भत्किन दिएका छैनन् उनले । भत्किएका पनि केही कुरा त अवश्य होलान् कविताको किताबभित्र । सकारात्मक चिन्तनका धनी कवि बाबाका कविताले सकारात्मक सोचको पक्षपोषण राम्रै गरेका छन् । यदि तपाईँलाई यी कविताले प्रभाव पारे भने तपाईँले किताबभित्र नकारात्मक कुरा अर्थात् भत्किएका कुरा अत्यन्त कम पाउनुहुन्छ ।

केही ठाउँमा वर्णविन्यासगत त्रुटि छन् तर अनर्थ लाग्ने खालका छैनन् । यो नेपाली भाषाका विद्वान्‌हरूका बीचको जुँगाको लडाइँको प्रभाव पनि हुन सक्छ । कतै अनावश्यक प्रत्यय र विशेषण लगाउने समस्या आम कविहरूमा जस्तै बाबामा पनि देखिन्छ । खास गरी ‘ता’ प्रत्ययको दुरुपयोग अलि बढी हुने गर्दछ । कतिपय कविताहरूको हरफ अनावश्यक बढाइएको छ । यसले गद्य शैलीको कविताप्रति शास्‍त्रीयतावादी कविहरूले आलोचना गर्ने कुरालाई बल दिन पनि सक्छ । कवितामा अन्तर्लय सिर्जनाका खातिर प्रयोग गरिएका अन्तरानुप्रास यो सङ्ग्रहको शक्ति र सीमा दुवै हो । छोटो आयाममा लेखिनु यसको अर्को शक्ति हो । केही कवितालाई चाहिँ जबर्जस्ती लम्ब्याउने प्रयत्न नगरिएको पनि होइन । भनौँ न, अलिकति व्याख्यात्मक घोषणा जस्तो । कविताले त्यो खोज्दैन । कतिपय सन्दर्भमा त २ ओटा बनाउन सकिने कवितालाई एउटैमा खाँदिने काम पनि भएको छ । टुङ्ग्याउनुपर्ने ठाउँमा नटुङ्ग्याइए जस्तो । नटुङ्ग्याउनुपर्ने ठाउँमा टुङ्ग्याइए जस्तो ।

स्वच्छन्दतावादी भावधाराका आदर्शवादी कवि बाबा आशा र निराशाको दोसाँधमा छन्, र पनि जहाँ लडिन्छ, त्यहीँबाट धुलो टक्टक्याउँदै हिँड्नुपर्छ भन्ने स्वर चर्को छ । पृष्ठ ११७ मा रहेको ‘दोसाँध’ शीर्षकको कविताबाट कृतिको नाम जुराइएको छ । दोसाँध अर्थात् सिमाना । सो कविताले जिन्दगीका मोडहरूमा एकपछि अर्को दोसाँध आइरहने विचार व्यक्त गरेको छ । कला र विचारका दृष्टिले त्यति उत्कृष्ट कविताका रूपमा शीर्ष कविता नभए पनि समग्र कृतिको नाम भने सार्थक रहेको छ । प्रसिद्ध साहित्यकार सरुभक्तले भने झैँ बाबा प्रेम र जीवनको दोसाँधमा उभिएर जीवनको गीत गाइरहेका छन् ।