भिक्टोरियन युगलाई विश्व साहित्यको एक महत्त्वपूर्ण अध्याय मानिन्छ । रानी भिक्टोरियाको शासनकालसँग सम्बन्धित यस युगलाई साहित्य, संस्कृति र विचारको दृष्टिले अत्यन्त समृद्ध मानिन्छ । चार्ल्स डिकेन्स, लिविस क्यारल, लर्ड टेनिशन, थोमस हार्डी, आदि भिक्टोरियन युगका सुप्रसिद्ध स्रष्टाहरू हुन् जसले सशक्त रूपमा कविता तथा उपन्यासका विधामा आफ्नो छाप छोड्न सफल भएका थिए । यस अवधिमा उपन्यास सर्वाधिक लोकप्रिय विधा बन्न पुगे पनि भिक्टोरियन कवितालाई रोमान्टिक युग र आधुनिक युगबीचको पुलको रूपमा उभिएको देखिन्छ । रोमान्टिक युगको कल्पनाशीलता र सौन्दर्य बोध,‌ आधुनिक युगको यथार्थवादी र निराशावादी दृष्टिकोण, दुवैलाई समेटेर लेखिएका भिक्टोरियन कविताहरूले विश्व साहित्यमा आफ्नो प्रभुत्व जमाउन सफल भएका थिए । यस युगको प्रभावले विश्व कवितालाई मात्र नभई नेपाली कवितालाई पनि समृद्ध तुल्यायो । भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेलका कविताहरूमार्फत नेपाली कविताहरूले विश्व साहित्यको विशाल क्षेत्रमा आफ्नो वर्चस्व कायम गर्‍यो ।

आफ्नो भावनाको अभिव्यक्तिको प्रमुख साधन रहँदै आएको कविता विधा अहिलेको यस उत्तर आधुनिक युगमा आइपुग्दा पनि उत्तिकै लोकप्रिय छ । कविता विधा मात्र नभई सम्पूर्ण लेखनलाई नै एउटै शब्दले परिभाषित गर्न सकिन्छ – क्याथार्सिस, जसलाई नेपालीमा आत्ममुक्ति भनिन्छ । आफ्नो मनको गुम्फनलाई व्यक्त गर्न सकिने सजिलो र प्रभावकारी माध्यम लेखन र सोही लेखनीहरूलाई एउटा रूप दिई, आकार दिई, नाम दिई, अस्तित्व दिँदै पोट्र्रेट गर्ने जिनिस–साहित्य । हुन त मनको भारीलाई शब्दमा उतार्न कहाँ सकिन्छ र ? यद्यपि पीयूष मिश्राको एउटा भनाइसँग म सहमति जनाउँछु –

सुकून मिल्ता हे दो शब्द कागज पर उतार के,

चिख भी लेता हूँ और आवाज भी नहीं आती ।

साहित्यको रसमा केही त पक्कै छ, मनको मर्मलाई मलमको काम गर्छ ।

त्यस्तै एउटा मलम मेरो हात लाग्यो । कवि खुपेन सुनुवारको कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ । माया पब्लिकेशनद्वारा प्रकाशित यस सङ्ग्रहको ब्लर्बमा कवि तथा साहित्यकार श्रवण मुकारुङले भनेझैँ कवि खुपेन आधुनिक नेपाली गद्य कविताको विशाल फाँटमा नयाँ भाषा लिएर आएका निकै प्रतिभा सम्पन्न कवि हुन् । साँच्चै, उनको यस कृतिमा सङ्ग्रहित कविताहरू निकै राम्रा छन्, उच्च स्तरका । समसामयिक विषयवस्तुमा आधारित तर नौलो दृष्टिकोणसहित, सरल शब्द तर पोख्त प्रस्तुति । झमझम परिरहेको झरीमा आफैले बनाएको अदरकवाली चायको एक सुप्कीपछि अनायासै निस्किने वाह ! जस्ता छन् उनका कविता, तृप्त पार्ने, आनन्द दिन सक्ने ।

सङ्ग्रहमा ६७ वटा कविताहरू समावेश छन्, सबै उम्दा । ती कविताहरू चारवटा भागमा विभाजित छन्, क्लोजप, मोन्टाज, ल्यान्डस्केप र पोट्र्रेट । अब यी चारवटा विभाजनको औचित्य के हो र यस विभाजन अन्तर्गतका कविताहरू एकआपसमा कसरी फरक छन् भन्ने कुरा अन्ततः पाठकको बुझाई र विश्लेषणमा निर्भर पर्ने कुरा हो । कविको मनमा पस्न त त्यसै पनि गाह्रो छ, झन् उनको बिम्बात्मक प्रस्तुतिले पाठकलाई अर्को चुनौती थपिदिएको छ ।

थोरै नै भए पनि चित्रकलामा रुचि भएका कारण मैले ती शब्दहरूको शाब्दिक परिभाषा बुझ्न सकेँ । क्लोजअप अर्थात् नजिकको दृश्य जसअन्तर्गत कविले आत्म अन्वेषण गरेका छन् । व्यक्तिगत पीडा, सुख–दुःख र आफ्ना सूक्ष्म अनुभूतिहरूलाई कविले यस विभाजनका कविताहरूमा व्यक्त गरेका छन् । ‘म भित्रको म’, ‘घाइते लोकतन्त्र’, ‘अन्तिम मृत्यु’, ‘फल्स प्रोफेट’, ‘आकस्मिक कक्षभित्र अदृश्य आवाजसितको झम्का भेट’, ‘पृथक् जिन्दगी’, ‘बिचरा !’ ‘माथिको आदेश’, यी क्लोजप अन्तर्गतका मलाई मन परेका कविताहरू हुन् । यी कविताहरू केवल भावनाको अभिव्यक्ति मात्र होइनन्, आत्म साक्षात्कारको प्रक्रिया हुन् । कविले अनुभूत गरेका अन्तर्मनका सत्यहरू यहाँ पङ्क्तिहरूमा झल्किएका छन् —त्यसैको सशक्त उदाहरण यी दुई पङ्क्तिहरू हुन् —

मुक्तिको खोजपछि मुक्तिको बोध हुनु नै

मृत्युको पनि मृत्यु हुनु रहेछ । (‘अन्तिम मृत्यु’)

जीवनको एक मात्र सत्य भनेको मृत्यु हो । मृत्युले नै जीवनलाई अर्थ दिन्छ । मृत्यु नै हुने थिएन, मान्छे वा कुनै पनि सजीव प्राणी सदाका लागि अमर हुन्थे भने जीवनको केही उद्देश्य नै हुने थिएन । अमरत्वको भ्रमले महिषासुरलाई अहङ्कारी बनायो । त्यस्तै मान्छे पनि अमर हुँदो हो त पृथ्वी बस्न लायक कत्ति पनि हुने थिएन । मृत्यु नहुँदो हो त मुक्ति र मोक्षजस्ता अवधारणाहरू पनि अर्थहीन हुन्थे । पूर्वीय दर्शनले प्रभावित हाम्रो समाजमा मृत्युलाई केवल शरीरको अन्त्य मानिन्छ तर कविले यहाँ मृत्युको पनि मृत्यु हुनु भन्ने गम्भीर अवधारणालाई प्रकाश पारेका छन् । मृत्युको मृत्यु हुनु भनेको मृत्युको अस्तित्व नहुनु हो र यो अस्तित्व तब हराउँछ जब मनमा मृत्युको भय रहँदैन । जब मानिसले मुक्तिको बोध गर्छ, मृत्युको भय निरर्थक बन्छ । मुक्तिको बोध आत्मिक अनुभव हो – सांसारिक वा मानसिक बन्धनबाट स्वतन्त्रताको अनुभूति । मुक्तिको बोध भएको मान्छेलाई मृत्युसँग कदापि डर लाग्दैन, त्यसैले त भनिन्छ – मुक्तिले मृत्युलाई जित्छ । हेर्नुहोस् त, कति सामान्य लाग्ने यस पंक्तिमा कति गहिरो भाव लुकेको रहेछ । जीवन, मृत्यु, मुक्ति र मोक्षको पुरै सार नै यी दुई लाइनमा कविले अँटाएका छन् ।

त्यस्तै, मलाई मन परेको अर्को कविता छ ‘पृथक् जिन्दगी ’। कविले यहाँ एउटा गहिरो प्रश्नमार्फत मानव अस्तित्वको मूलभूत सत्यतिर औँल्याएका छन् — किन मान्छे आफ्नै मानवीयता हराइरहेको छ ?

हरेश खाइरहन्छ मान्छे

निराश भइरहन्छ मान्छे

मूर्ख बनिरहन्छ मान्छे

मान्छे किन मान्छे हुन नसकिरहेको ?

यस कवितामा कविले मान्छेलाई अन्य सजीव तथा निर्जीव वस्तुहरूसँग तुलना गरेका छन् । फूल, फट्याङ्ग्रा, चरा, पुतली, तारा, भँवरा, कमिला आदि इत्यादिसँग जब मानिस आफूलाई दाँज्दछ तब उसले आफूसँग पाउँछ केवल आपत्ति र विपत्ति मात्र । मान्छे हुनु भनेको केवल जनावर नहुनु मात्र हो र ? मान्छे हुनु भनेको त जीवनको अनुभूति गर्नु पो हो । जीवनको अनुभूति गर्नु भनेको जीवनका हरेक पलहरूलाई आत्मसात् गर्दै पाइला पाइलामा आइपर्ने चुनौतीहरूसँग लड्दै, कहिले जित्दै त कहिले हार्दै, पाठ सिक्दै अघि बढ्नु र निरन्तर अघि बढिरहनु हो । पृथक् जिन्दगी भनेको के हो ? आफ्नो जिन्दगीलाई दिशा दिई स्वतन्त्र रूपमा बाँच्नु नै पृथक् जिन्दगी हो । पूmल, फट्याङ्ग्रा र कमिलाका आआफ्ना सङ्घर्षहरू छन् र त पृथक् छ उनीहरूको जिन्दगी । त्यस्तै सङ्घर्षहरू मान्छेको जीवनमा पनि हुन्छन् जसबाट मान्छेले सिक्छ र उसमा चेतनाको विकास हुन्छ । सङ्घर्ष गर्न नसक्ने वा भनौँ दुःखमा आत्तिने, हरेस खाने मान्छेको जीवन अर्थहीन रहन्छ । कविले यस कवितामार्फत मात्र एउटै कुरा भन्न खोजेका छन्, मान्छेको अन्तहीन द्वन्द्व र अपूर्णताको पीडाले उजागर गरेको सङ्घर्षले नै मानिसलाई मान्छे बनाउँछ र उसको जीवन पृथक् बनाउँछ ।

मलाई असाध्यै मन परेको अर्को सरल तर सत्यगामी कविता हो ‘बिचरा ! ’। यो कविताको अन्तिम लाइन छ – तब एउटा मात्र कुरा ऊसँग छैन – आत्मसन्तुष्टि । ऊ अर्थात् तपाईँ, हामी, सबै जना । हामीसँग सब थोक छ, हामी बाहिरबाट सफल, सम्पन्न र शक्तिशाली देखिए पनि हाम्रो अन्तर्मनमा असन्तुष्टिको आँधी चलिरहेको छ । हामी आफ्नो उपलब्धि अरूसँग दाँजेर हेर्छौँ जुन गलत हो । मान्छे सफल भए तापनि अतृप्त चाहनाले ऊ सधैँ असफल रहन्छ जस कारण ईर्ष्या र हरेश जस्ता भावनाले उसलाई मान्छे बन्नै दिँदैन । अन्ततः यस कवितामार्फत कविले हामी सबैलाई आत्म समीक्षाको मार्गमा डोर्‍याएका छन्—हामी साँच्चै बाँचिरहेका छौँ कि केवल बाँच्दैछौं भन्ने प्रश्नसँग सामना गराएका छन् ।

अब अर्को विभाजन मोन्टाजतर्फ जाऔँ । चित्रकलाको पृष्ठभूमिमा रहेर भन्ने हो भने विभिन्न विषयवस्तुहरूलाई एउटै क्यान्भासमा मिलाएर नयाँपनका साथ प्रस्तुत गर्नुलाई मोन्टाज भनिन्छ । पिकासो र साल्वाडोर डालीका चित्रहरूमा मोन्टाज प्रभाव देख्न सकिन्छ । मूलतः मोन्टाजले समय, विचार, भावना र विरोधाभास सबैलाई एउटै सतहमा लिएर आउँछ । त्यसैले यो दार्शनिकका साथै प्रतीकात्मक पनि हुन्छ । ठिक त्यस्तै छन् यस विभाजन अन्तर्गतका कविताहरू पनि । १९ वटै कविता मलाई असाध्यै मन परेका कविताहरू हुन् । यस खण्डका कविताहरूमा साहित्यको नवरसको भरपूर आनन्द लिन सकिन्छ । शृङ्गार रस, हास्य रस, करुण रस, रौद्र रस, वीर रस, भय रस, भयानक रस, अद्भुत रस र शान्त रस सबैलाई हामी मोन्टाज अन्तर्गतका कविताहरूमा पाउन सक्छौँ । यी कविताहरूले पाठकको हृदयलाई स्पर्श गर्दै जीवनका विविध रङहरूले रङ्गाउने प्रयास गरेका छन् ।

यस खण्डमा प्रेम र प्रेमका चरणहरूको सूक्ष्म विश्लेषण पाइन्छ । प्रेम, समर्पण र स्वीकारोक्तिको सम्बन्धलाई कविले निःसङ्कोच चित्रण गरेका छन् । कविताहरू पढ्दा लाग्छ कवि त नामुद प्रेमी हुन् जसको मुटु प्रेमको युद्ध भूमिमा अन्तिम सैनिकझैँ थाकेर ढलेको छ । कविताहरू त पढेर भावार्थ निकालेर बुझ्न सकिन्छ तर कविलाई बुझ्ने धैर्य र हिम्मत कसले गर्न सक्छ ? सायद यही कुरालाई मनन गरेर कविले यी कविताहरू यसरी मुटु नै बिझ्ने गरी लेखेको हुनुपर्छ । प्रिय कवि, कसैलाई अथाह प्रेम गर्न सक्नु नै जित हो । तिम्रा कविताहरू पर्याप्त छन् तिम्रो विशाल हृदय र त्यो हृदयमा अटाएको अथाह प्रेमको बयान गर्न । अप्राप्य प्रेम त्यो आकाशको चन्द्रमा जस्तै हुन्छ प्रिय कवि । जति पर भए पनि सधैँ आफ्नो सामुन्ने जसलाई आफ्नो भन्न सकिन्छ तर आफ्नो बनाउन सकिँदैन र जरुरी पनि हुँदैन । ओशो भन्छन् नि प्रेम त स्वतन्त्रता हो । सद्गुरु भन्छन्, प्रेम भावना होइन अनुभव हो । हाम्रा प्रिय प्रेमानन्द महाराज भन्छन्, प्रेम त परमात्मा वा जीवनको सर्वश्रेष्ठ स्रोतसँगको सम्पर्क हो । तर कविले भनेझैँ प्रेम त कुनै परिभाषामा नअटाउने एउटा शक्ति हो । प्रेम त्यो शक्ति हो जसले मानिसलाई शिखरमा पनि पुर्‍याउँछ र धुलोमा पनि झारिदिन्छ ।

कहिलेकाहीँ एकान्तमा सोच्ने गर्छु

के मलाई झैँ तिमीलाई सम्झनाको अमिलो बाडुल्की लाग्छ ? (‘अमिलो बाडुल्की’)

 

ए साँचो प्रेमको परिभाषा खोज्ने प्रेमीहरू

अपरिभाषित प्रेमको परिभाषा म कसरी बताऊँ ? (‘प्रेमको परिभाषा’)

 

अर्धनग्न एक्ली जुन हेर्छु

झुन्डिएको देख्छु आकाशमा

म पनि त एक्लै छु यो रातमा । (‘लोन्ली ल्याम्पपोस्ट’)

मलाई असाध्यै मन परेको अर्को कविता छ ‘गुड्डी ’। छोटो मिठो अनि सार्थक यो कविता मैले सबै पाठकलाई पढ्न अनुरोध गरेँ । यस कविताको व्याख्या पाठकहरू आफैँले गर्नुहोला । ‘एक गुमनाम प्रेमिकाको गन्तव्य ’ कविता पढेपछि त म कविज्यूको जब्रा फ्यान नै भइहालेँ । यस कविताको थोरै अंश नराखी मन नै मानेन —

म कहिल्यै नभेटिने अग्लो आकाश भएकी छु

त्यो अग्लो आकाशको अँध्यारो रात भएकी छु

अँध्यारो रातमा उदाउने एक तारा भएकी छु ।

म अनुरोध गर्दछु सबै पाठकहरूलाई उहाँका कविताहरू एकपटक पढ्नलाई । उहाँको दृष्टिकोण र क्यालिबरको अन्दाज यहाँहरू आफैँले गर्नुहुनेछ ।

त्यस्तै अर्को कविता छ निर्दोष सपनाको हत्या । निकै मार्मिक यो कविता पढ्दा मैले २०८२ भाद्र २२ गतेको जेनजी आन्दोलन सम्झिएँ । भ्रष्टाचारमुक्त देशको सपना बोकेर सडकमा निस्किएका केही युवाहरू सडकमै अस्ताए । सरकारलाई जनताको आवाज सुन्न, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न दबाब दिँदै कुनै पार्टीको नभई देशको झन्डा लिई सडकमा उत्रिएका युनिफर्मधारी कलिला भविष्यप्रति त्यस दिन नेपाल सरकारले देखाएको क्रूरताको बयान गरिनसक्नु थियो ।

थाहा छैन कसले दियो आदेश

किन चल्यो गोली

को हो त्यो जसले छातीमै बन्दुक दागेर

बीच सडकमा गरिदियो निर्दोष सपनाको निर्मम हत्या ?

सपना अर्थात् जनताको आशा र आकाङ्क्षालाई दर्साउँदै कविले उक्त कवितामा स्पष्ट रूपमा सरकारको लापरबाही र शक्ति दुरुपयोगको कारण उत्पन्न हुने सामाजिक अन्याय र हिंसालाई उजागर गरेका छन् । चरम सीमाको पीडा र अन्याय झल्किने उक्त कविता कविले २०८० सालमा लेखेका रहेछन् तर आजको दिनसम्म पनि सार्थक देखिन्छ । ती निर्दोष आत्माहरूका आवाज कविको शब्दभित्र अझै पनि बाँचिरहेका छन् । कविता पढ्दा कतै मन पोल्छ, कतै विवेक जाग्छ — र केही क्षणका लागि लाग्छ, ती चिच्याहटहरू अझै हाम्रै वरिपरि गुन्जिरहेका छन् । यो कविता केवल राजनीतिक आलोचना मात्र होइन, यो सामाजिक चेतना जगाउने र जनताको पीडा उजागर गरी अधिकारहरू सुनिश्चित गर्ने साहित्यिक लेख पनि हो ।

मोन्टाजको छिटपुट टुक्राहरू पार गर्दै अब हामी ल्यान्डस्केपतर्फ लागौँ । ल्यान्डस्केपको अर्थ जति गहिरो र कलात्मक छ, त्यति नै गहिरा यस अन्तर्गतका कविताहरू छन् । ल्यान्डस्केप यहाँ केवल एउटा सुन्दर दृश्य मात्र भएर आएको छैन । भिन्सेन्ट भ्यान गघको स्टारी नाइटमा केवल आकाश र ताराहरू मात्र छैनन् नि, उनको मनभित्रको द्वन्द्व र उनको दृष्टिकोणलाई त्यस चित्रमा देख्न सकिन्छ । ठीक त्यस्तै, यस खण्डका १७ वटै कविताहरूमा कविको मनोभाव, समयको अनुभूति र समाजप्रतिको दृष्टिकोण देख्न पाइन्छ ।

‘’ल्यान्डस्केपमा झुन्डिएको मौनता’ ’ यो कविता आधुनिक नेपाली कवितामा गहिरो दार्शनिक संवेदनाको प्रतिविम्ब हो । यसले जीवनको अनिश्चितता, समयको कठोरता, प्रेमको असफलता, सत्यको सापेक्षता र मानव मनभित्रको मौन पीडालाई निकै संवेदनशील तरिकाले चित्रण गरेको छ । यसमा कविले जीवन, समय, पीडा, प्रेम, मृत्यु र मौनतालाई आफ्नै दृष्टिकोणबाट बिम्ब र प्रतीकमार्फत प्रस्तुत गरेका छन् ।

म देख्दिनँ ईश्वर

जो मेरो आँखाअघि उभिएको

ईश्वरले छेक्दछ

जसरी मेरा हातहरू छेक्दछ सूर्यलाई

म देख्दिन सूर्य

 

यहाँ अस्तित्ववाद झल्किएको छ । कवि प्रश्न गर्छन्: के हामीले देखिरहेको ईश्वर साँच्चै अस्तित्वमा छ ? उनी पुनः भन्छन्, ईश्वर होइन, चेतना नै वास्तविकता हो ।

ब्रुटसले जुलियस सिजरलाई पछाडिबाट छुरा धस्दा

रोमको अस्तित्व र लोकतन्त्रको लागि थियो त्यो हत्या” भनियो

कृष्ण र अर्जुनले छलेर कर्णको छातीमा वाण रोप्दा

सत्यको लागि थियो त्यो हत्या” भनियो

यसरी हरेक युगमा मानिसहरू बन्छन् बेखबर

र फेरिरहन्छ परिभाषा सत्यको

कविले इतिहासका पात्रहरू — ब्रुटस, सिजर, कृष्ण, अर्जुनलाई उदाहरणका रूपमा उठाउँदै सत्यको परिभाषा सधैँ सत्ताको हातमा निर्भर रहेको प्रमाण दिएका छन् । समय र युग अनुसार हत्यालाई पनि “सत्यका लागि” भनेर सत्यलाई मौन गराइएको प्रस्ट पारेका छन् ।

त्यहाँ कुनै विन्दुको अन्त छैन

क्षितिजको धर्का छैन

दृष्टिकोण छैन

शुरुवात छैन

अन्त पनि छैन

छ त केवल एउटा कठोर

ल्यान्डस्केपमा झुन्डिएको मौनता ।

कविताको अन्त्यमा निष्कर्षमा पुग्दै कवि भन्छन्, जीवन, इतिहास, युद्ध, प्रेम — सबै चक्रहरू पार भएपछि बाँकी रहन्छ केवल मौनता । यो मौनताले न त न्याय गर्छ, न त अस्वीकार । यही मौनता नै अन्तिम यथार्थ हो — एक अनन्त रिक्तता, जहाँ सबै कुरा विलीन हुन्छन् ।

ल्यान्डस्केप जत्तिकै कलात्मक र बिम्बात्मक छ यो कविता । वास्तवमा यो त जीवन, समय, अस्तित्व र मानव इतिहासको एक गहिरो दार्शनिक अन्वेषण हो ।

कविताको शीर्षक नै पुस्तकको शीर्षक राखिनुमा पनि कारण रहेछ । यो शीर्षकले सम्पूर्ण कविता सङ्ग्रहको दार्शनिक दृष्टिकोण र काव्य–दर्शनलाई प्रतिनिधित्व गर्दछ । कविको दृष्टिमा कला जीवन हो, र जीवन नै कला हो । शीर्षकले सम्पूर्ण पुस्तकको सार र दर्शन समेटेको छ । जीवन र इतिहासलाई एक ल्यान्डस्केप चित्र जस्तै मानेर हेर्ने हो भने यहाँ सबै कुरा स्थिर छन्, मौन छन्, र त्यस मौनतामा नै हामी हाम्रो अस्तित्वको अर्थ खोजिरहेका छौँ ।

चौथो अनि अन्तिम विभाजन रहेको छ पोट्र्रेट । यस खण्डमा १५ वटा कविताहरू रहेका छन् । अमृता प्रीतम, बिपी कोइराला, पारिजात, टैगोर, गुलजार लगायतका सिद्धहस्त व्यक्तित्वहरूलाई सम्मान स्वरूप छोटा छोटा कविताहरू यहाँ राखिएका छन् । यहाँ प्रत्येक कविता एउटा अनुहार मात्र होइन, एउटा युग, एउटा सोच र एउटा संवेदनाको प्रतिबिम्ब बनेर आएका छन् । शब्द र अनुभूतिका स्ट्रोकले टैगोरको आध्यात्मिक उडान, अमृता प्रीतमको विद्रोही संवेदना, गुलजारको पंक्तिमा लुकेको अधुरोपन सबैको वर्णन गर्दछ । यति मात्र नभई ‘थिए छु (सेल्फ पोट्र्रेट )’ कवितामा कविले थोरै शब्दमा आफूलाई कसरी कवि भएछु भनेर व्यक्त गरेका छन् भने ‘हुचिलः केजिआ ’ भन्ने कविता कविले आफ्नी छोरीप्रति समर्पित गरेका छन् । यी दुवै कविता पनि उत्तिकै रोचक छन्, उत्तिकै बिम्बात्मक पनि ।

खुपेन सुनुवारको कविता सङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ पल्टाउने बित्तिकै टि.एस.एलियटको कोट पढ्न सकिन्छ, “The purpose of literature is to turn blood

into ink.” यो त्यसै राखिएको होइन रहेछ । कविताहरू पढ्दा लाग्छ – यी केवल सुन्दर शब्दहरूको कलाकारिता मात्र होइन, यो त रगत रञ्जित सत्यको कलात्मक रूपान्तरण पनि हो । यस सङ्ग्रहका कविताहरूमा कविको अनुभूति र दृष्टिकोण प्रस्टसँग झल्किन्छ । कतै कुनै कथा, कुनै घटनाको विवरण पढे जस्तो लाग्ने, कतै फेरि कविको काल्पनिक संसारमा डुमेरो लगाए जस्तो भान हुने, कतै आफ्नै जीवन कथा पो पढ्दै छु कि जस्तो, फेरि आफ्नो मनमा लागेका कुरा आफैले लेख्न नसकेर अरूले हुबहु उतारे जस्तो लाग्ने । कस्तो राम्रो, कति सार्थक, कस्तो वास्तविक असाध्यै उच्च कोटीका कविताहरू छन् यस सङ्ग्रहमा । समीक्षाको लागि आएको यस सङ्ग्रहका मात्र चार पाँच वटा कविताहरू पढेपछि मैले किताब बन्द गरेकी थिएँ । अहँ, कविताको समीक्षा हुँदैन । उनका कविताहरूको समीक्षा गर्न म योग्य छैन भन्नेबारे म विश्वस्त भएँ । त्यसैले मैले ठानेँ, कविता पढ्छु मात्र तर यसको बारे केही प्रतिक्रिया दिन्नँ । म मेरो कविता सङ्ग्रह प्रकाशित हुँदा आफू कवि भएँ भनेर निकै गर्वित थिएँ तर उनका मात्र ४–५ वटा कविताहरूले मलाई मेरा कविताहरूको‌ स्तर छर्लङ्ग पारिदिए ।

उनका कविताहरूले मलाई शब्दभन्दा पनि गहिरो केही अनुभूति गराए, शब्द र संवेदनाको अर्थ नै फरक ढङ्गले बुझ्न सिकाए । कविताभित्रको तीखोपन, सत्यता र आत्म-स्वीकृतिले मनलाई नाङ्गो बनाइदिन्छ, तर यही नाङ्गोपनमा सौन्दर्य छ । कवि जसरी आफ्ना भावनाहरूलाई बिना मुखौटा प्रस्तुत गर्छन्, त्यसले कवितालाई जीवित बनाउँछ र यो नै कविताको सफलता हो । अन्त्यमा, मनैदेखि कामना छ — कविको कलम यस्तै सत्य र सजीव रहोस्, उनका शब्दहरूले अझ धेरै हृदयहरू छोउन्, र उनी निरन्तर नयाँ अनुभूतिहरूको खोजमा अघि बढिरहून् ।