म शब्द हुँ

मैले समात्नलाई

राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन

मेरो सासले बाँध्नलाई

राजा श्रीनिवास मल्लको पाखुरा पाइरहेको छैन

म छु कि छैन बुझ्न सकिरहेको छैन (पृ.१३६) ।

प्रस्तुत शीर्ष कविता कवि तथा लेखक विनय कुमार भण्डारीको समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन (२०८१) कविताका शीर्ष पंक्तिपुञ्ज हुन् । कवि भण्डारी नेपालका समकालीन कवि  तथा लेखक हुन् । कवि भण्डारीका प्रकाशित कृतिहरूमा तिम्रो देह मेरो जन्मदिन हो पहिलो कवितासङ्ग्रह यो कवितासङ्ग्रह ई–बुकको रूपमा सेप्टेम्बर १,२०२२ प्रकाशित भएको थियो । यो उनको दोस्रो प्रकाशित कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा ऐतिहासिक मिथकीय विषवस्तुमा आधारित ५१ वटा कविता समाविष्ट छन् ।

मानव सभ्यताको प्रारम्भ अर्थात् शिशुकालमा रचित मिथकमा धर्म, साहित्यमा प्रेम, घृणा, साहस, प्रतिस्पर्धा, द्वन्द्व, आस्था, आदर्श, सदाचार, नैतिकता आदि अनेक भावना र धारणा व्यक्त हुन्छन् । सृष्टि, लय, प्राकृतपन तथा त्यससँग जोडिएर आएका विषयलाई मिथकमा प्रस्तुत गरिएको हुन्छ । वास्तवमा मानव जातिले रचेको अतिमानवीय (देवीदेवता, दैत्य, दानव, राक्षस, भूत, प्रेत आदि) को कथा नै मिथक मानिन्छ । मिथकीय रचनाबाट प्रतीकात्मक रूपमा मानवीय समस्या व्यक्त गरिएको पाइन्छ । मिथकले यथार्थलाई अतियाथार्थिक पारेर प्रस्तुत गरेको हुन्छ । प्राचीन ऐतिहासिक विषयवस्तुले सत्य वा तथ्यलाई प्रतीकात्मक पारेर प्रस्तुत गर्दछ । यही गुणले गर्दा मिथक सदा आकर्षक, नवीन र पठनीय हुन्छ ।

मिथक र साहित्य पनि अत्यन्त निकट देखिन्छन् । वास्तवमा यी दुवै उस्तै भए पनि अलग छन् । उस्तै किन हुन् भने साहित्यको स्रोत मूलतः मिथक हो, र मिथककै गर्भबाट साहित्य जन्मेको हुन्छ । साहित्यको मूल ध्येय नै सबैको हित गर्ने भएकाले यसभित्र सृजनात्मकता, प्रतीकात्मकता, कल्पनात्मकता, भावनात्मकता, अतिशयोक्तिमूलकता, सुन्दरता, कलात्मकता, भावगम्भीरता, चामत्कारिकता जस्ता विशेषता विद्यमान् रहन्छन् भने मिथकको प्रयोग युगानुकूलन गरी सान्दर्भिक बनाउन गरिन्छ त्यसैले साहित्यमा मिथकको प्रयोग उत्कृष्ट मानिन्छ । यस कवितासङ्ग्रहमा कवि भण्डारीले ऐतिहासिक मिथकका विभिन्न कालखण्ड र समयलाई म शब्द हुँ, जुन सधैं अजरअमर रहन्छ भन्ने भावसहित आख्यानीकरण गर्दै गद्य कविताको रचना गरेका छन् ।

कविता यस्तो साहित्यको सशक्त विधा हो जसबाट थोरै कुराले धेरै कुरा अभिव्यक्त भएको हुन्छ । साहित्य सिर्जनाका विविध रचनाभित्र मिथकको पनि गहन भूमिका निर्वाह गरेको पाइन्छ जसलाई कवि भण्डारीले नवीन शिल्पका साथ यस सङ्ग्रहमा प्रस्तुत गरेका छन् । त्यसैले साहित्यमा मिथक सशक्त बनेर आएको पाइन्छ, यति हुँदाहुँदै पनि मिथक र साहित्यमा धेरै अन्तर पनि छ । दुवै स्वतन्त्र छन् । मिथक पहिले रचिन्थ्यो भने साहित्य सधैं रचिन्छ । मिथक पुरानो र स्थिर हुन्छ भने साहित्य नित्य र नवीन परिवर्तनशील हुन्छ । यसरी दुवै स्वतन्त्र र भिन्न भए पनि साहित्यले भने मिथकको विभिन्न रूपमा उपयोग सधैं गरिरहेको देखिन्छ ।  साहित्यमा मिथकको उपयोग दुई किसिमले गरिएको देखिन्छ । कार्यकार्यात्मक रूपमा मिथक साहित्यको साध्य बनेर र शोभाकारकका रूपमा साधन बनेर आएको हुन्छ । त्यसैले साहित्यका विभिन्न विधामा मिथककको प्रयोग विभिन्न रूपमा भएको पाइन्छ । समालोचनाले मिथकलाई आधार मानेर साहित्यको अध्ययन गर्दछ । मिथकीय तथा आद्यरूपीय समालोचनाभित्र भाषाविज्ञान, सांस्कृतिक मानवशास्त्र, मनोविज्ञान, विज्ञान, दर्शन, इतिहास प्रतीकविज्ञान आदि विषय पनि समाविष्ट देखिन्छन् । त्यसैले यो समालोचना अन्तरविषयक हुन्छ । यिनै विषयले मिथकीय तथा आद्यरूपीय समालोचनालाई समृद्ध बनाएका छन् । यो आधुनिक समालोचना हो । आदिमतापरक र मनोविज्ञानपरक समालोचनासँग यसको अत्यन्त निकटको सम्बन्ध देखिन्छ । त्यस्तै यसले साहित्यको वस्तु र रूप दुवै पक्षको अध्ययन पनि गर्दछ । मिथकीय समालोचनाका आधारमा साहित्यको अध्ययन ऐतिहासिक, तुलनात्मक र विश्लेषणात्मक विधिबाट गर्न सकिन्छ । त्यसरी नै सांस्कृतिक मानवशास्त्र, मनोविज्ञान, दर्शन, प्रतीकविज्ञान, इतिहास, भाषाविज्ञान आदिमध्ये कुनै एक आधारमा वा सबै आधारमा पनि साहित्य वा साहित्यिक कृतिको अध्ययन गर्न सकिन्छ । यही कुरालाई आधार मानेर कवि भण्डारीको समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन (२०८१) कवितामा प्रयुक्त मिथकको चर्चा यहाँ गरिएको छ ।

साहित्य समाजको ऐना हो । कविता विगत र वर्तमानको प्रस्तुती हो, स्वअनुभूति हो भनिन्छ, तर कविताले इतिहासलाई पनि समेट्न सक्दछ भन्ने उदाहरण यस सङ्ग्रहमा पाइन्छ । इतिहासलाई कवितामा व्यक्त गर्न सकिन्छ भन्ने प्रयोगवादी कवितासङ्ग्रहका रूपमा प्रकाशित यस सङ्ग्रहका अधिकांश कविता ऐतिहासिक मिथकीय विषयमा आधारित छन् । शीर्षकीकरणमै प्रयोग देखिएको उनका कवितालाई हेर्ने हो भने शीर्षक नै वाक्यात्मक प्रवृतिको देखिन्छ, राजाको नाम राखेर लिएर शुरु गरिएको यस कवितासङ्ग्रहका कवितामा विभिन्न पक्षबाट मिथकलाई प्रस्तुत गरिएको पाइन्छ ।

यस सङ्ग्रहको पहिलो कविता ‘राजा लक्ष्मीनरसिंह मल्ल कुन चिजको आत्मा हो’ कवितामा उनले म शब्द हुँ, म यो संसार हुँबाट आरम्भ गरेका छन् । गर्भभित्र रहेको आत्मालाई कुनै स्त्रीले जन्माउन नसकेरै गर्तमै विलिन हुने अवस्थामा आएका भावहरू यसरी अभिव्यक्त हुन पुगेका देखिन्छन्–ः

यी किरात काल, लिच्छवि काल, मल्ल काल, शाह कालहरू

कस्तो चिजको आत्मा हो

यिनले मेरो नाम सोधेर हैरान पारिसके

तर मलाई भने यो गर्भवती स्त्रीले

जन्माइरहेकी छैन,

मसित भन्नलाई आफ्नो नाम पनि छैन,

म कुन जिद्दी स्त्रीको गर्भमा छु कि

अब त वास्तविक संसारमा जन्मनेमा पनि शंका लागिरहेको छ,

 

म शब्द हुँ

यो गर्भवती स्त्रीको गर्भमा रहेको यो संसार हुँ,

समय कस्तो प्रेतात्मा हो ?

हुँदाहुँदा यो पनि अब

मेरो जिब्रो बन्छु भनेर

मलाई धम्क्याउन थालिसकेको छ,

म त वास्तविक संसार नहेरीकनै मर्छु कि क्या हो

यति हुँदा पनि यो गर्भवती स्त्रीले

मलाई जन्माइरहेकी छैन (पृ.९) ।

प्रस्तुत कवितामा जन्मन नसकेको एउटा युग र प्रेतात्माको कठीनपूर्ण संशयबीच बितिरहेको समयलाई कविताले स्पष्ट पार्न ऐतिहासिकतालाई अन्तरभावमा बोकेको देखिन्छ । कवितामा शब्दलाई मानवीकरण गरी प्रस्तुत गरिएको पाइन्छ ।

त्यस्तै, ‘गाई बाँध्नलाई राजा वसन्तदेवको कम्मर पाइरहेको छैन’ कवितामा कविले इतिहासका पानामा सजिएका मिथकीय बिम्बलाई, वर्तमानसँग जोड्दै अप्राप्यपनलाई प्रस्तुत गर्न नसकेको र नपाइएका कुरालाई यसरी प्रस्तुत गरेका छन् –

पीपलका पातहरू अडाउनलाई

राजा द्रव्य शाहका हातहरू पाइरहेको छैन,

झरनालाई टाँग्न

राजा राय मल्लको कुम पाइरहेको छैन,

गाई बाँध्नलाई राजा वसन्तदेवको कम्मर पाइरहेको छैन,

म शब्द हुँ

मैले कमिज लगाउनलाई

मेरो शरीर पाइरहेको छैन,

कमिजको दाहिने बाहुलामा पसाल्नलाई

राजा मानदेवको दायाँ हात पाइरहेको छैन,

देब्रे बाहुलामा छिराउनलाई

राजा अंशुवर्माको बायाँ हात पाइरहेको छैन,

मैले कमिज लगाउनलाई

मेरो शरीर पाइरहेको छैन,

कलर मिलाउनलाई

राजा पृथ्वीनारायण शाहको घाँटी पाइरहेको छैन,

टॉक लगाउनलाई

रानी लालमतीका औंलाहरू पाइरहेको छैन,

सुहाए नसुहाएको हेर्नलाई

राजा यलम्बरको धड पाइरहेको छैन, (पृ.१८) ।

प्रस्तुत कवितामा शब्ददाइँ प्रस्तुत गर्दै यसको अमरता र स्थायीत्व प्रकट गरेका छन् । इतिहास स्वर्ण अक्षरमा कुँदिन्छ जसलाई प्रस्तुत गर्न निकै कठीन छ भन्ने अभिप्रायमा कविले शीर्षकसँगै मिथक र मिथकको युगानुकूलन अवस्थालाई विभिन्न परिवेश र पात्रसँग जोडेर वर्तमान समयप्रति कटाक्ष गरेका देखिन्छ ।

राजकुमारी भृकुटीको सपनामा कैद राजा अंशुवर्माको आत्मा कवितामा कविले तत्कालीन दरबारको बिम्बलाई विभिन्न प्रतीकसँग जोड्दै अंशुवर्माले गरेका कर्म र त्यसबाट प्राप्य सन्दर्भ यसरी प्रस्तुत गरेका छन् —

कैलाशकूट दरबारको भित्तामा लट्केको यो आकाश हुँ,

कैलाशकूट दरबारको ढोकामा अड्केको यो चन्द्रमा हुँ

कैलाशकूट दरबारको अनेनीमा धसेको यो सूर्य हुँ

कैलाशकूट दरबारको छानोमा फसेको यो बादल हुँ

यहाँबाट निस्कन सकिरहेको छैन,

म शब्द हुँ

म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाभित्र कैद छु,

म–

कैलाशकूट दरबारभित्र बगिरहेको यो इन्द्रावती नदी हुँ

कैलाशकूट दरबारभित्र भागिरहेका यी महीनाहरू हुँ

कैलाशकूट दरबारभित्र हुर्किरहेको यो बकाइनोको रूख हुँ

कैलाशकूट दरबारभित्र उडिरहेको यो लामपुच्छ्रे चरा हुँ

यो ठाउँ छोडेर अन्त जान सकिरहेको छैन,

म निदाइरहेकी राजकुमारी भृकुटीको सपनाभित्र कैद –

हात्तीले लगाइरहेको यो श्रीपेच हुँ

गणेश हिमाल बसिरहेको यो सिंहासन हुँ

म शब्द हुँ,

 

निदाइरहेकी राजकुमारी भृकुटीको सपनामा कैद –

अर्को संसारमा जानलाई कैलाशकूट दरबार फुटाउन नसकिरहेको मृगको आत्मा हुँ,

पीपलको हाँगामा बसाइँ सर्न नमानिरहेको कैलाशकूट दरबारको कौसी हुँ,

कैलाशकूट दरबारको काठ भाँचेर भाग्न नसकिरहेको आवाज हुँ,

म शब्द हुँ, (पृ.५५)

प्रस्तुत कवितामा कविले कैलाशकुट दरबारको सम्पूर्ण मिथकीय परिवेशसँगै मूत तथा अमूर्त बिम्बलाई चित्रण गरेका छन् । राजकुमारी भृकुटीले भोगेको चरित्र र राजा अंशुवर्माको शासकीय परिवेशसँगै त्यहाँ रहेका प्राकृतिक बिम्ब, मृत आत्मा, निस्केर भाग्न नसकेको आवाजलाई तत्कालीन इतिहासका पृष्ठसँग जोडेर चित्रण गरेको देखिन्छ । यहाँ प्रयुक्त दरबार, अवस्था, भग्नावशेष तथा परिकल्पित अवस्था कविताको मिथकीय परिवेश हो जसमा लिखित, अलिखित विश्वास अभिव्यक्त गरिएको छ ।

मैले लगाइरहेको राजा जयस्थिति मल्लका खुट्टाहरू शीर्षकको मिथकीय कवितामा कविले इतिहासले किन सम्झन्छ मान्छे भन्ने भावमा शब्दमार्फत् प्रस्तुत भएको अनभिज्ञता र नबुझिएका सत्यबीचको संशय प्रस्तुत गर्न खोजेका छन् । कति कुराहरू स्वयं लेख्नेलाई समेत ज्ञात नभएको प्रसङ्गबीच प्रश्न बनेर यसरी तेर्सिएका पाइन्छन्–

म शब्द हुँ,

मैले बुझ्न सकिरहेको छैन

कसले किन

मैले लगाइरहेको राजा मानदेवका हातहरू झिकेर

इतिहासमा राख्यो,

कसले किन

मैले लगाइरहेको राजा जयस्थिति मल्लका खुट्टाहरू झिकेर

इतिहासमा राख्यो,

मैले बुझ्न सकिरहेको छैन

कसले किन मेरा अङ्गहरू मेटाएर

मलाई कवितामा राख्यो,

 

मैले बुझ्न सकिरहेको छैन

कसले किन

मैले लगाइरहेको रानी राज्यवतीका वक्षहरू झिकेर

त्यहाँ वैशाखलाई राख्यो,

मैले बुझ्न सकिरहेको छैन

कसले किन मैले श्वास फेरिरहेको घामलाई झिकेर

आकाशमा टाँग्यो, (पृ.१०९)

गरिएका कति कुराहरू किन गरिन्छ मै टुङ्गिएकाले कविले प्रश्नमार्फत् इतिहासका सन्दर्भलाई अभिव्यक्त गरेका छन् । कवितामा आएका अनेकन् प्रश्नमा नबुझिकन गरिएका, भनिएका प्रश्नको सत्यतथ्य उत्तर नआएको तर इतिहासमा जीवित रहेको पक्षलाई चुनौतिपूर्ण तरिका सोधेको देखिएको छ ।

त्यस्तै, यस सङ्ग्रहको शीर्ष कविता ‘समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन’ कवितामा राजा नरेन्द्रदेवको शासन, रानी लालमती, राजेन्द्रलक्ष्मी, यलम्बर, जयस्थिति मल्ल, अंशुवर्मा लक्ष्मीनरसिंह मल्ला, मुकुन्द सेन, मानदेव, पृथ्वीनारायण शाह, द्रव्य शाह, राजा जयदेवसँगै राजा नरेन्द्रदेवका  प्रसङ्ग उल्लेख गरेका छन् –

मैले समात्नलाई

राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन

मेरो सासले बाँध्नलाई

राजा श्रीनिवास मल्लको पाखुरा पाइरहेको छैन

म छु कि छैन बुझ्न सकिरहेको छैन (पृ.१३६) ।

इतिहासलाई समेट्न वा समात्नलाई राजा नरेन्द्रदेवको हाड पाइरहेको छैन, सासलाई बाँध्न राजा श्रीनिवासको पाखुरा पाइरहेको छैन भन्दै कविले नेपाल राज्यमा मल्ल शासककहरूको इतिहास सम्झेका छन् ।

त्यस्तै, यस सङ्ग्रहको अन्तिम कविता ‘राजा वसन्तदेवले आफ्ना नातिको लागि’ शीर्षकको कवितामा उनले आफ्ना नातिका लागि उच्चारण गरेको शब्द नै कतै स्थापित हुन नसकेको मिथक बनेर यसरी प्रस्तुत भएको छ –

राजा वसन्तदेवले आफ्ना नातिको लागि

उच्चारण गरेका कुन शब्द हुँ कि

पस्नलाई कानहरू नपाएपछि

यो आकाश बनेर लट्केको छु,

यो जून बनेर फसेको छु,

यो जमीन बनेर धसेको छु,

यी झ्याल, ढोकाहरू बनेर अड्केको छु (पृ.१५४) ।

प्रस्तुत कवितामा कविले राजा नरेन्द्रदेवले आफ्ना नातिको लागि भनेको, सुनेको र सुनाइएको जीवन, अमर, अजर शब्द नै कतै रहन बस्न नपाएर भड्किरहेकाले यो समयको अन्यौलपन झनझन विकराल बन्दै गएको सत्यलाई उजागर गरेका छन् ।

यसरी इतिहासमा जीवित रहेका विभिन्न ऐतिहासिक प्रसङ्ग र भए गरेका कुरालाई वर्तमान युगको सापेक्षतामा कविताको विषय बनाएका कवि भण्डारीले कवितामा प्रयोगवादी नयाँ शिल्पको प्रयोग गरेका छन् । कवितासङ्ग्रह भित्रको प्रायशः सबै कविता मिथकीय विषयमा लेखिएकाले यो मिथक सङ्ग्रह हो जसले प्रत्यक्ष रूपमा मिथकीय इतिहास बोकेको छ भन्न सकिन्छ । मिथकीय विषयवस्तुलाई युगानुकूलन गरी वर्तमान परिवेशसँग जोडेर नवीन सत्यतथ्यको उद्घाटन गर्दै इतिहास सम्बद्ध विषयमा रचित १५४ पृष्ठमा संरचित पठनीय तथा सङ्ग्रहनीय यस कृतिलाई साहित्यपोस्टले प्रकाशन गरेको छ ।