लिला अनमोल वर्तमान नेपाली काव्य जगत्को नौलो नाम होइन । विशेषगरी कविता र गजलको क्षेत्रमा आफूलाई चिनाउँदै आएकी अनमोल आफैँमा प्रखर वक्ता पनि हुन् । कवितामा विचारलाई प्राथमिकता दिने कवि अनमोलको कविता वाचनकला पनि उत्तिकै प्रशंसनीय छ । उनै अनमोलको पछिल्लो समय बजारमा आएको गद्य कविताहरूको सङ्ग्रह हो ‘अन्तिम कुमारी रात’ । यस सङ्ग्रहमा जम्मा ६४ ओटा कविताहरू रहेका छन् । सङ्ग्रहको नामबाटै अनुमान गर्न सकिन्छ कि यस सङ्ग्रहभित्र प्रेमका कविताहरू छन् ।
‘अन्तिम कुमारी रात’बाट शुरु भएर ‘यो विवाद किन प्रिय लाग्छ’ शीर्षकमा कविताहरू अन्त्य भएका छन् । सङ्ग्रहभित्र जीवन र जगत्का विविध विषयवस्तुहरूलाई स्थान दिइएको छ, तथापि प्रायः कविताहरू प्रेमको वैचारिक विमर्शमै केन्द्रित छन् भन्दा फरक पर्दैन । सङ्ग्रहमा सङ्ग्रहित ‘अन्तिम कुमारी रात’, ‘तिमी नभएको भए’, ‘कहिले होला भेट ?’, ‘प्रेमदिवस, झरी’, ‘लिलामी प्रेम’, ‘तिमी’, ‘पहेँलो जून’, ‘सम्झनाको क्यानभास’, ‘किन ?’, ‘प्रतिबद्धता सर्मपणको’, ‘बाडुल्की’, ‘म मरेको दिन’, ‘प्रेमको सिम्फोनी’, ‘प्रेमको सम्पन्नता’, ‘प्रेम’, ‘यो विवाद किन प्रिय लाग्छ ?’ जस्ता कविता प्रेममय कविताहरू हुन् । यहाँ कतै मिलन, कतै विछोड, कतै प्रेमप्रतिको उच्च सम्मान साथै प्रेमको परिभाषालाई प्रकट गरिएको छ । अन्य विषयवस्तुमा आधारित कविताहरूमा पनि कतै न कतै ‘प्रेम’ शब्दलाई समावेश गरिएको पाइन्छ भने कतै ‘प्रिय’ भनी सम्बोधन गरेर अन्य विषयवस्तुलाई पनि प्रस्तुत गरिएको देखिन्छ । अर्थात् यसो भनूँ, कवि प्रेमभन्दा टाढा जानसकेकी छैनन् । हुन त यो दुनियाँ प्रेमिल भएन भने न सिर्जना हुन्छ न त आत्मसम्मानको बोध नै हुन्छ । कवि कवितामा संयोगान्त र वियोगान्त प्रेम साथै प्रेमप्रतिको आफ्ना धारणा वा परिभाषालाई यसरी प्रस्तुत गर्छिन् :
संयोगान्त प्रेम भावना:
नपाउनु पाएपछि तिम्रो मायाको प्रसिद्धि
एउटा छुट्टै आनन्दीको लहर बहिरहेछ मभित्र
चर्चैचर्चाको दहबाट
तिम्रै प्रेमको गुभो पलाएर
मेरो संसार हरियो भएको छ । (यो विवाद किन प्रिय लाग्छ, पृ. १६३)
वियोगान्त प्रेम भावना:
खुशी बिस्मात गिज्याएर सपना उडाउँछ मेरो समय
ओ जीवन नसाटेका स्वतन्त्र मुटुहरू
प्रेम नमिसाएका पवित्र मनहरू
स्वार्थको तुसारोले कठाङ्ग्रिएको यो समय
लिलाम भएको छ मेरो प्रेम । (लिलामी प्रेम, पृ. ७९)
प्रेम, प्रेमीप्रमिकासँग मात्र होइन दुनियाँका हर वस्तुहरूसँग हुन्छ भन्ने कुरालाई अनमोलले कविताहरूद्वारा पुष्टि गरेकी छन् । कहिले ‘म’ कवितामार्फत आफैँलाई प्रेम गर्छिन् । कहिले ‘आमा’ कवितामार्फत आमालाई प्रेम गर्छिन् । कहिले ‘देश भनेको के हो ?’ जस्ता कवितामार्फत देशलाई प्रेम गर्छिन् ।
अनमोलका कविताहरूमा शीर्षकहरू नै बडो गज्जब लाग्छन्, जसले पाठकलाई कविता पढौँ पढौँ बनाएको पाइन्छ । जस्तो कि ‘अन्तिम कुमारी रात’, ‘भेन्टिलेटरमा किशोरी रहर’, ‘जीवनको हाजिर खाता’, ‘कान्छा, शहर नजाऊ’, ‘तिमी नभएको भए’, ‘म मरेको दिन’, ‘रात गर्भवती भएकी छ’ जस्ता कविताका शीर्षक देख्नेबित्तिकै पाठकमा कौतुहलता सिर्जना हुन्छ र कविता पढ्न थालिहान्छन् ।
अन्तिम कुमारी रात सङ्ग्रहमा समावेश भएका ‘देश भनेको के हो ?’, ‘लोकतन्त्र’, ‘यो कस्तो रङ्गमञ्चमा हो ?’ जस्ता कविताहरूमार्फत समाजका विकृति र विसङ्गतीप्रति कटाक्ष गर्दै समाज सुधारको अपेक्षा गरेको पाइन्छ । हरेक नागरिकलाई सचेत हुन अनुरोध गरेको पाइन्छ । साथै, तपाईँ हामी स्वतन्त्र र स्वाधीन भएमात्र लोकतन्त्रको आभास गर्न सकिने भाव कविले कवितामा व्यक्त गरेकी छिन् ।
अनमोलले आफ्ना कवितामा गाउँका कथाहरू पनि लेख्न भ्याएकी छन्, तथापि उनी भने शहरमै बस्छिन् । कवितामा उनी शहरप्रति वाक्क बनेको आभाष पाइन्छ । गाउँबाट शहर पसेको आफ्नो प्रेमिल मान्छे ‘कान्छा’लाई उनी गाउँ फर्किन आह्वान गर्छिन् । प्राकृतिक जीवन, धर्म, संस्कृति, न्याय, सद्भाव, ममता, प्रेम आदि सबैथोक गाउँमै भएको सन्दर्भलाई उठान गर्दै शहर बसेका प्रमीहरूलाई गाउँले प्रेमिकाको प्रतिनिधित्व गर्दै उनी भन्छिन् :
अर्पूणताको आकाङ्क्षाले हाँस्दो छ शहर
जीवनको ऋतु ताछेर बाँच्दो छ शहर
मैले त भनेकै थिएँ
कान्छा शहर नजाऊ । (कान्छा तिमी शहर नजाऊ, पृ.४१)
अनमोलले आफ्ना कविताहरूमा वर्तमान समयका समाजिक, राजनैतिक, साँस्कृति गतिविधि अर्थात् समकालीन समाज र वैश्विक संसारलाई कवितात्मक विम्बहरूमार्फत समेट्ने प्रयास गरेकी छिन् । उनले हामी बाँचेको विसङ्गत समयलाई गम्भीर ढङ्गले बुझाउन खोजेकी छिन् । अधिकांश कवितामा पाठकले आफ्नै कथा कविले भनिदिए झैँ महसुस गर्दछन्, यसर्थ पनि अनमोलका कविता यर्थाथमा आधारित साथै समयानुकूल रहेका छन् भन्न सकिन्छ । आफ्नो देशप्रति छिमेकीले गरेको बैमानीलाई उनी कवितामा यसरी प्रस्तुत गर्छिन् :
नाकाबन्दी गरेर मेरा आवश्यकतालाई
ठान्यो मगन्ते
त्यतिबेलै उसले
आँखा गाडेर मेरो स्वाभिमानमा
तागतको शालिक ठड्यायो
र लडाएर एक आपसमा
अधिकारको नाटक देखायो । (खबरदारी, पृ.५४)
कवि लीला अनमोलभित्र नारीवादी चेत पनि उक्तिकै सशक्त रहेको छ, जुन चेत कवितामा प्रस्ट देख्न सकिन्छ । उनी कवितामा नारी स्वतन्त्रता, नारी अस्मिता साथै आत्मनिर्भरताको पक्षमा देखिन्छिन् । पितृसत्ता, धार्मिक साथै सामाजिक सन्दर्भले नारीहरूमाथि गरेको दमन र नियन्त्रणबाट छुटकारा पाउन नारीहरू आफैँ जागरुक बन्नु पर्ने र प्रतिकारमा उत्रिनु पर्ने विद्रोही स्वर कविता देख्न पाइन्छ । ‘वनवास’, ‘तसलिमा’, ‘चङ्गा’, र ‘म पागल भएकी हुँ’, ‘बाहिर ननिस्क’ जस्ता कविता यसैका उदाहरणहरू हुन् ।
सङ्ग्रहमा सङ्ग्रहित कवितामध्ये देश भनेको के हो ?, म मरेको दिन, पिपलको रुख जस्ता केही कविताहरू अन्य कविताको तुलनामा लामा भए पनि सलल बगेको पाइन्छ । केही कविताहरूमा त अन्त्यानुप्रासयुक्त हरफहरूले बडो लयात्मक बनाएको देखिन्छ । कवितामा लाग्नुपर्ने काव्यात्मक लेप लीलाका कवितामा मजाले लागेको छ, तथापि ‘अन्तिम कुमारी रात’, ‘मौनता कहिल्यै निरपेक्ष हुँदैन’, ‘प्रतिवद्धता समर्पणको’ जस्ता कवितामा बिम्बप्रयोगको अवस्था बढी भएकाले समग्रमा मात्र अर्थिने देखिन्छन् । केही कविताहरू काव्यात्मकभन्दा पनि वर्णनात्मक र विवरणात्मक बनेका छन् । त्यसैगरी ‘रहर’ शीर्षकको कविताको पहिलो श्लोक (अनुच्छेद) पढ्दै गर्दा पाठक हरिभक्त कटुवालको ‘रहर’ शीर्षकको कविताको अंश ‘…बनिसकेको बाटामा हिँड्नभन्दा बाटो बनाउँदै हिँड्न रहर लाग्छ…’ पढिसकेको छ भने एकछिन सोच्न बाध्य हुन्छ तर समग्र कविताको स्वरूप र भाव भने भिन्न नै देखिन्छ । यस्ता केही कमिकमजोरीबाहेक सङ्ग्रहमा समग्र पक्ष सबल छ ।
२०६७ सालतिरै ‘दुर्घटित विश्वास’ जस्तो बेजोड कविता लेखेर देशका विकृत पक्षहरूलाई हटाउँदै सुन्दर देश निर्माण गर्न “ओ मेरा प्रिय मान्छे, मलाई यौटा यस्तो अवसर देऊ, म आगोमा निर्भिक हिँड्न सक्ने यौटा कुशल सन्तान जन्माइदिन्छु” भन्दै आफ्नो प्रेमीसँग अनमोल प्रेमको आह्वान् गर्ने कवि आज ‘अन्तिम कुमारी रात’ र ‘रात गर्भवती भएकी छ’ सम्म आइपुगेकी छिन् । अझै थुप्रै कविता लेख्ने उनको समय बाँकी नै छ । किनकि भर्गवती भएपछि सन्तान जन्मिन पनि त दश महीना लाग्छ । छिट्टै नयाँ कृतिमा सन्तान जन्मिएको हेर्न पाऊँ, कविलाई हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ मंसिर २०८२, मंगलवार 










