साहित्यिक कृतिलाई कुनै साहित्यकारको जीवनीका सेरोफेरोबाट गरिने अध्ययनलाई जीवनीपरकताको कित्तामा राखिएको पाइन्छ । जीवनीमा आधारित भई कृतिमाथि समालोचना गर्नु जीवनीपरक समालोचकीय चिन्तन हो । कतिपय व्यक्तिले आफ्ना जीवनका इतिवृत्त घटनावलीलाई संस्मरणात्मक शैलीमा आत्मकथाका रूपमा लेख्दछन् भने कतिपय प्रतिष्ठित व्यक्तिका जीवन चरित्रलाई अन्य अध्यताले लेख्ने गर्दछन् (पराजुली, २०५३, पृ. ५४) । जीवनीपरक मान्यतालाई जन्माउने श्रेय सेन्टव्युभलाई जान्छ । स्रष्टाको जीवनचर्यालाई समालोचनाका सन्दर्भमा अपेक्षित ठान्ने सेन्टव्युभका समालोचना चिन्तनले जीवनीपरक समालोचनाको प्रतिपादन गरेको छ । यस किसिमका समालोचनाले स्रष्टाको सामाजिक, मनोवैज्ञानिक र बौद्धिक धरातलको पक्षलाई अगाडि ल्याउँछ । यी सबै पक्षले स्रष्टाको व्यक्तित्व निर्माण गर्न भूमिका खेलेका हुन्छन् (सुवेदी, २०६८, पृ. ५२–५३) । यसमा कृतिभित्र कृतिकारकै जीवनको प्रतिबिम्बि खोज्ने काम गरिन्छ । व्यक्ति साहित्यकारको पृष्ठभूमिका आधारमा कृतिको मूल्याङ्कन गर्ने करालाई यहाँ जोड दिइन्छ । लेखक बाँचेको देश, काल र परिस्थितिको प्रभाव उसका कृतिमा पर्छ । त्यसैले कुनै पनि लेखकले यिनबाट पन्छिएर कृतिको रचना गर्दैन । उसका चिन्तन, विचार, अनुभूति, मान्यता, जीवनसङ्घर्षहरू कुनै न कुनै रूपले कृतिमा प्रतिबिम्बित भएका हुन्छन् (शर्मा र लुइटेल, २०६७, पृ. १२४) ।

आख्यान साहित्यमा जस्तै जीवनीमा पनि मुख्य र गौण पात्रहरू हुन्छन् तर जीवनीमा प्रधान पात्र एकै जना मात्र रहेको पाइन्छ । उद्दिष्ट चरित्रमाथि जीवनीकारको ध्यान केन्द्रित हुनु जीवनी साहित्यको मूल लक्षण नै हो । नेपाली साहित्यमा अत्यन्त कम लेखिने साहित्यिक विधाहरूमध्ये जीवनी पनि एक हो । त्यसमा पनि लेखकको जीवनका विभिन्न पाटा, घटना, प्रभाव र योगदानलाई तत्कालीन व्यक्ति, लेखकका विचार र सम्बद्ध प्रकाशित सामग्रीसमेतका आधारमा तयार गरिएको जीवनीकृति त अत्यन्त कम छ भन्दा पनि फरक पर्दैन । लेखकले बताएका कुराका आधारमा लेखिएका जीवनीकृति नै नेपाली भाषा–साहित्यमा अधिकाधिक देखिन्छन् । तर विष्णु न्यौपानेको कलमबाट सिर्जना गरिएको दिनानाथ गुरागाईँको जीवनी अन्य जीवनीकृतिहरूभन्दा बेग्लै र पृथक् रूपमा नेपाली साहित्यमा पाठकसमक्ष आएको छ ।

दिनानाथ बहुचर्चित व्यक्ति पनि होइनन् । उनका बारेमा लेखिएको भने पहिलो कृति नै यही हो । अलिक फरक ढङ्गले लेखिएको किनाराको एक्लो मान्छे कृतिले दिनानाथको परिचय मात्र गराउँदैन । अक्षरमा जीवन, कलिला घाम, सत्तल, लगनगाँठो, यात्रामा आसाम, गारोहिलमा गोठ, गोठाला र माजन, गारोहिल, मुग्लानका सम्झना, खाली हात, बसाइँ, धरमपुर, राजनीति र समाजसेवा, कमलखोलासँग पौँठेजोरी, धरमपुरमा आर्थिक अवस्था, धरमपुरबाट चन्द्रगढी, स्वभाव, कला र सहयोग, अनुभूति र अन्य कुरा, धनमाया, मेरो शिक्षा, सपनाका कुरा, पारिवारिक सञ्जाल, भवानीका सन्तान, हाम्रा भरोसा, हाम्रा आशा र साम्प्रदायिक संस्कार गरी २५ शीर्षकमा अत्यन्त कलात्मक र जीवन्त रूपमा उनलाई प्रस्तुत गरिएको छ ।

कसरी एउटा निम्न मध्यम वर्गीय परिवारको बच्चा सङ्घर्षशील व्यक्ति हुँदै व्यक्तित्व बन्छ ? कसरी घरपरिवार, आफन्त, समाज, संस्था, साथी र सहकर्मीको सकारात्मक भूमिकाले उसलाई परिपक्व बनाउँछ अनि कसरी विकसित हुन्छ ? जसले आफ्नो विषयमा निखारिने र तिखारिने भोक जगाउँछ साथै थप लक्ष्य पहिल्याउन र त्यहाँ पुग्ने बाटोको खोजी र तय गर्छ  ? परिणामतः व्यक्ति कालान्तरमा व्यक्तित्व बन्छ, अवसरका सबै ढोका खुल्छन् । कामका सिलसिलामा फराकिलो मानव सञ्जाल, सम्पर्क सूत्र हुँदै सामाजिक सम्पत्ति बन्छ । बदलामा उसले पेशागत जीवनमा प्राप्त अवसर र निर्मित सामाजिक अवसर सदुपयोग गरी परिवार, समाज र देशका लागि अपेक्षाकृत काम गर्न र देन दिन सक्छ । यिनै फेहरिस्तसहितको किनाराको एक्लो मान्छे एक असल, सरल अनि अनुभवी व्यक्तिको प्रेरणामूलक आत्म जीवनी र संस्मरण पनि हो ।

जीवनी कृति भनेको कुनै विशिष्ट व्यक्तिको प्रशंसा र सकारात्मक कुराको वर्णनात्मक प्रस्तुति मात्रै हो भन्ने भ्रमबाट जीवनीकार विष्णु न्यौपाने पूर्ण मुक्त छन् भन्ने कुराको प्रमाणका रूपमा पनि यस कृतिलाई लिन सकिन्छ । जीवनी पढ्दा हामी ऐतिहासिक सन्दर्भ, मुख्य योगदान, ती विषय र व्यक्तिको सान्दर्भिकता, सफलता अनि असफलताका अनुभव खोज्छौँ । यी नै जीवनी लेखन र अध्ययनका मूलभूत विषय हुन् तर धेरै जीवनी लेखन र अध्ययन सामान्य रूपमा जन्म मिति र स्थान, आमाबुबाको परिचय जस्ता विषयमा बढी केन्द्रित हुने गर्छन् । खासमा जीवनी व्यक्तिको परिचयका साथै उसको योगदान, त्यस समयको र समाजको वस्तुस्थिति तथा व्यक्तिको सङ्घर्षमय जीवनका सफलता असफलताबाट सिक्नुपर्ने पाठमा केन्द्रित हुनु पर्छ । यो पुस्तक यस विषयमा केन्द्रित छ ।

एउटा सामान्य परिवारमा जन्मिएका दिनानाथ गुरागाईँको जीवन यात्रालाई यस कृतिमा अत्यन्त कलात्मक ढङ्गमा आलेखन गरिएको छ । परम्परागत ढङ्गमा लेखिने जीवनीभन्दा बेग्लै प्रस्तुति यस कृतिको विशेषता हो । हुन त यो आख्यानेतर गद्यको कृति हो तर यो कृतिको पठनको क्रममा पाठकले कुनै आख्यानकृति पढिरहेको अनुभव गर्छ । दिनानाथको जीवनलाई प्रभाव पार्ने विशिष्ट घटनाहरूलाई अतिरञ्जित नगरी स्रोतव्यक्तिकै शैलीमा प्रस्तुत गरेर जीवनीकारले जीवनी लेख्दा विचार पुर्‍याउनुपर्ने र संवेदनशील हुनुपर्ने पक्षतिर पनि जीवनीलेखकले ध्यानाकर्षण गरेका छन् ।

विषयवस्तु प्रस्तुतिका क्रममा यस कृतिमा कतै वर्णनात्मक र कतै विवरणात्मक शैली प्रयोग गरिएको छ । यस कृतिमा जीवनीकार कतै आख्यानकारजस्तो, कतै निबन्धकारजस्तो, कतै समालोचकजस्तो अनि कतै कविजस्तो भएर देखापरेका छन् । एउटै कृतिमा अनेक विधाको स्वाद पाइने भाषागत सरलता भएको किनाराको एक्लो मान्छे विधाभञ्जनको एक महत्त्वपूर्ण नमुना पनि हो ।

तेह्रथुमको सुर्केमा जन्मिएर झापाको धरमपुर क्षेत्रलाई केन्द्र बनाएर जीवन अर्पण गरेका दिनानाथ एक अभियन्ता, अध्येता र विकासप्रेमी व्यक्ति हुन् । यो कृतिले मूलतः दुईवटा पाटोको उजागर गरेको छ । पहिलो पाटो तेह्रथुमको विशेष गरी सुर्केलाई केन्द्रमा राखेर १७ वर्ष जीवन बिताएका दिनानाथ गुरागाईँको जीवनीलाई पहिलोपटक विस्तृत रूपमा प्रकाशमा ल्याएको छ भने दोस्रो पाटोका रूपमा झापाको धरमपुर क्षेत्रको तीन दशकदेखिको साक्षीका रूपमा नायकलाई प्रस्तुत गरिएको छ ।

यसमा अभाव छ, भोक छ, वियोग छ, तर बिलौनाको कुनै गुञ्जायस छैन । शोषण छ, अत्याचार छ, अपमान छ, तर त्यस विरुद्धको लडाइँमा कुनै थकान र विचलन छैन । शोषण र अपमानको त्यो शताब्दी उल्टाउन निकै कठिन यात्रा हिँडेका दिनानाथ गुरागाईँको गाथा यसभित्र छ । आत्मकथा सिलसिलेवार ढङ्गले जीवनको प्रारम्भदेखि त्यो लेखिँदासम्मको कुरा लेखिने विधा हो त्यसैले पनि सपना र स्वाभिमानको अधुरो यात्राका रूपमा किनाराको एक्लो मान्छे रहेको छ ।

कवि विष्णु न्यौपाने नेपाली साहित्यका लागि नौलो नाम होइन । छन्दमा उनको कलम चल्न थालेको पनि तीन दशकभन्दा बढी भइसकेको छ । छन्द कविका रूपमा नेपाली साहित्यमा पहिचान बनाइसकेका कवि विष्णु न्यौपाने यस कृतिमार्फत जीवनीकारका रूपमा देखिएका छन् ।

सन्दर्भसूची

अधिकारी, इन्द्रविलास (२०६१), पश्चिमी साहित्य सिद्धान्त, ललितपुर, साझा प्रकाशन ।

अर्याल, डिल्लीराज (२०६८), झलझली आँखामा, काठमाडौँ, नय प्रकाशन ।

त्रिपाठी, वासुदेव (२०५०), पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा भाग १, काठमाडौँ, साझा प्रकाशन ।

पराजुली, मोतीलाल (२०५३), नेपाली रचनाकला, पोखरा ।

पौड्याल, एकनारायण (२०७०), समालोचनाको स्वरूप र पद्धति, चितवन, विमर्श नेपाल ।

शर्मा, तारानाथ (२०६३), नेपाली साहित्यको ऐतिहासिक परिचय, ललितपुर, साझा प्रकाशन ।

शर्मा, मोहनराज र लुइटेल, खगेन्द्रप्रसाद (२०६७), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौँ, विद्यार्थी पुस्तक भण्डार ।

सुवेदी, राजेन्द्र (२०४३), स्रष्टा–सृष्टि, द्रष्टा–दृष्टि, काठमाडौँ, साझा प्रकाशन ।

सुवेदी, राजेन्द्र (२०६८) नेपाली समालोचना परम्परा र प्रवृत्ति, काठमाडौँ, पाठ्यसामग्री प्रकाशन ।