सुन्दर अर्थयुक्त पदावली नै काव्य हो- दण्डी ।

कल्पना र संवेगद्वारा गरिने जीवनको व्याख्या नै काव्य हो – हड्सन ।

कविताको चिन्तन मननमा खर्चिँदा कालजयी परिभाषाको मन्थन पूर्वीय र पाश्चात्य दुवै वाङ्‌मयमा टड्कारो देखिन्छ । कविले भाषा विचलनको सामर्थ्य राख्दछ । र, सायद यहीँबाट कविताले आफ्नो यात्राको प्रस्थान शुरू गर्दछ । लोभ्याउने विम्ब-प्रतीक खिप्दछ । उखान, तुक्का, मिथकको सन्तुलन रोज्दछ । शब्दहरूको सटीक प्रयोगमा मित्तव्ययिताको लेपन लगाउँदछ । कविताका यस्ता प्रवृतिले गर्दा कविता विधा यसरी पनि फरक छ । दुर्लभ र दुर्बोध छ । यस मानेमा कविता लेखन र पठन दुवै सामान्य नभएर गम्भीर विषय हुन् ।

यो समयमा इतिहासकै सबैभन्दा धेरै कविले सबैभन्दा धेरै कविता लेखिरहेका छन् । अन्य विधाको तुलनामा कविता बिक्दैनन् । अन्तर्राष्ट्रिय पहिचान बोकेका संसारका जीवित १० साहित्यिक सेलिब्रिटीमा कवि पर्दैनन् । कविता लेखन एउटा “सेल्फ पब्लिसिङ् जब” भएको छ । कारण, व्यावसायिक प्रकाशकले कविता झट्टै छान्दैनन् । आख्यान ताजा बिक्छन्, कविता बासी बिक्छन् । गनेश पौडेललाई किन किन साह्रै चित्तले खाएर यहाँ साभारमा राख्न मन पराएको छु । यो मुद्दामा हरेक सरोकारवालाको बहस-पैरवीको ढोका खुल्ला छ ।

जुनू रानाको “रातो नदी “, मिथोचको “आगोको पिदार “, आर्यशको “म तिमी आउनुअघि नै गइसकेको थिएँ “, शकुन आँसुको “नवयुगकी सुम्निमा” र सुरज रानाको “जब कविता निस्कन्छ जुलुसमा” पढिरहँदा कताकता धेरै ठाउँमा हल्लिएँ । धसिएँ । दुखेँ । र, त्यसले छाडेर गएका अमिट प्रतिविम्बहरू निजी नै हुन् मेरा, यतिकै मनमा गुम्साएर राख्न सकिनँ र यहाँ यसरी बगेँछु ।

.

कवि जुनू रानाका कविताहरू नारी अस्मिता, नारी अस्तित्व र नारी विद्रोहका गगनभेदी आवाजहरू हुन् । कविताकृति रातो नदी विद्रोहको विम्ब हो – शशी लुमुम्बू

जुनू रानाका कविताहरू समाजमा विद्यमान बेथिति, अन्याय र अत्याचारका विरुद्धमा एक्लै उभिएर प्रतिकार गरिरहेको विद्रोही चेत हो – विमला तुम्खेवा

जो देख्न सक्दैनन्, बोल्न सक्दैनन्, तर महसूस गर्न सक्छन् । उनीहरूकै आवाज हो – रातो नदी । समर्पण उनीहरूलाई नै । – जुनू राना

कविको लेखनमा देखिएको काव्यचेत र त्यसले सम्प्रेषण गरेको सौन्दर्य घतलाग्दो छ, र लोभ लाग्दो पनि । कविता लेख्ने नीजि र पृथक् भाषाले गर्दा कविलाई प्रस्ट चिनिन्छ । यो चिनारीको बाबजुद पनि कविका अनेक आयामहरू छन्, जुन रातो नदीमा निर्वाध बगेका छन् ।

लाहुरे उभिएका छातीहरू/ घिस्रिन्छन् / दौडन्छन् / तन्किन्छन् / नापिन्छन् गोप्य अङ्गहरू र / योग्य ठहरिन्छन् / सयौंबाट एकाध छातीहरू…!

जातको ब्रम्हाण्ड सबै कुरा जातको खोज्नेहरू/ अन्न जातकै उब्जाएर खानू / लुगा जातकै बनाएर लाउनू / जातकै दिन बनाउनू/ रात बनाउनू / सूर्य चन्द्रमा जातकै बनाउनू…!

समुद्रपारि आज पनि झरी पर्दो हो / छेक्दो हो बाटो भुँइ कुहिरोले / कुवाहरू पलाउँदा हुन् / माटोले मीठो सुगन्ध छर्दो हो / सात समुद्र पारि….!

मरेको दिन साँझ होला कि बिहान / उज्यालो होला कि औंसीको रात / झमझम झरी पर्छ कि चर्को घाम…!

याद जून तिम्रो याद बोक्ने गोधुली/ हरेक साँझ उदाउँछ/ तिम्रो कल्पना बोक्ने मधुर जून/ हरेक रात आउँदछ / तिम्रै झझल्को बोकी / हर रात जाग्राम बस्छ…!

रातो नदी बनेर म बगिरहेकैछु / जहाँ म हुनुको अर्थ अलग छ / जुन नदीले सृस्टिको अस्तित्व बोक्दछ…!

२.

कवि मिथोचको आगोको पिदार एक सामान्य अर्थमा आगोको पूजा रहेछ। तर संग्रहभित्र छिरिसकेपछि थाहा लाग्छ – आगोको अनेक रुपह, लय र तालहरू तथा सिङ्गो जीवनमा त्यसको अटुट सम्बन्ध । कवि जिउँदो कविता लेख्दा रहेछन् । कविताको तत्त्वगत भाषा साह्रै मीठो । हृदयमा छुने र स्मृतिमा ताजा रहने । यसमा स्वप्निल स्मृति – कुनै पनि वस्तुलाई फरक तौरले देख्ने अन्तरदृष्टि कविमा हुन्छ । समकालीन विसङ्गत यथार्थसँग विकल्पसहितको विद्रोहलाई मिहीन स्वरमा सुसेल्ने मिथोचले आफूसम्बद्ध जातीय संस्कृति, इतिहास र मिथकलाई सचेत प्रयोग गरेका छन् ।

जन्म- आमाहरू/ नहुँदा हुन् त/ देखिने छैन क्षितिजमा / रङ्को धागो टाँगिरहेको इन्द्रेनी / खोलामा बगिरहेको पानीको पैताला / घामले भुइँभरि कोरिरहेको / छाँयाको चित्र / नदी खोला बगैंचा र पहाडभरि / उडिरहेका प्रेमका रङ्हरु/ चराहरू उडिरहेको आकाशको बुट्टा…!

ऐना हेरिरहेको मान्छे- ऐना हेरिरहेको/ यो समयको ओ मान्छे/ के ऐनामा / तिम्रो सफा अनुहार जस्तै देखिन्छ/ यो देशको अनुहार…!?

अस्पताल- अनुहारभरि / उदास रङ्हरु टाँसेर / बिरामीहरू/ गाउँको पुरानो चौतारा जस्तो / पट्यार लाग्ने प्रतीक्षालय जस्तो / अस्पतालको ओछ्यानमा/ रोगको सिरानी लगाएर सुतिरहेछन्…!

फूलसँग प्रश्न- ए फूलहरू/ कहिले गाउलान्/ तिम्रो गीत जस्तै सुन्दर/ फूलको गीत मान्छेहरूले…!?

बाटोले भत्किनु- सधैं कति हिँड्नु पुरानै बाटाहरू/ सँधै कति पुरानै बाटोमा/ अल्मलाउनु पैतालाहरू/ अब बाटोले भत्किनुपर्छ…!

साथी- भन साथी/ फेरि तिमी शहर कैले आउँछौ ?/ तिमी शहर आउँदा / मलाई पनि अलिकति गाउँ ल्याइदिनू है…!

खोज- ताबाको खड्कुँलोभरि / षड्‌यन्त्रको पानी भरेर/ पानीमा नुनको ढिको/ बिलाएपछि/ पराजित भएको पुर्खा जस्तो / म हार्न तयार छैन…!

३.

कवि आर्यशको तिमी आउनुअघि नै गइसकेको थिएँ” सशक्त र जीवन्त कविता हो भनेर यहाँ मैले नभने पनि हुन्छ । किनभने संग्रहको यो ओजन पहिल्यै नै जोखिसकिएको छ- पाठक माझमा, समीक्षकहरूका आँखामा । कविले असल कविता लेख्दा तान्नैपर्छ र यहाँ संग्रहभरि त्यसका शिल्प र सामर्थ्य देखिन्छ ।

वेश्याको विज्ञप्ति- सपनालाई चितामा जलाएर/ रहरको मलामी गएको दिनपछि/ म साँच्चै आफ्नो नियन्त्रणमा छैन / तिमी भगवान् बेच्छौ/ भगवानको मन्दिर बेच्छौ/ म शरीर बेच्छु/ नाङ्गो तस्वीर बेच्छु/ कोही त बुझाइदेऊ मलाई/ जीवन/ दुईथोपा आँसु हो कि दुई थोपा वीर्य…!?

यारा, हाम्रो अन्तिम भेट नहुन सक्छ- हामी भेटिन सक्छौं/ चिसो दाउराबाट निस्किएको / पिरो धुँवा निल्दै आकाशतिर/ हामी भेटिन सक्छौं/ चिहानसम्मको यात्रामा/ काँडैकाँडाको अज्ञात बाटो हिँडिरहँदा/ घाइते खुट्टा लिएर धर्तीतिर…!

ऐँठन- मलाई बहुलाउन मन छ / होशमा हुँदा गर्न नपाएका सबै सबै काम कुरा / बहुलाएर मनपरी गर्न मन छ/ सिंहदरबारको गेटैमा गएर थुक्न मन छ मलाई…!

त्यसरी मलाई कहिल्यै नसम्झिदिनु- प्रिय/ बिन्ती छ तिमीलाई/ त्यसरी आफैंलाई दुख्ने गरी / मलाई कहिल्यै नसम्झिदिनू…!

जिन्दगी- अर्थ खुल्ने गरी/ एउटा वाक्यमा/ बनाउन सकिएन…!

४.

शकुन आँसुकोनवयुगकी सुम्निमासुन्दर कविताहरूको पठनीय संग्रह हो । यस्तो बेजोडसित बिम्व प्रतीकमा खेल्दै कवितामा आत्म जगाएर जीवन दिनु कविको सशक्त पक्ष हो । कसरी कविता हुन्छ र कसरी कविता हुँदैन भन्ने प्रखर चेत भएका कवि लेखनमा स्थापित छन् । आहा कति मीठा कविता…!

त्यो कठीन परिस्थिति, जसले मलाई कविताको बाटो भएर हिँड्न मार्गनिर्देश गऱ्यो- शकुन आँसु ।

अधैर्य- फुल्नेछन् वृद्ध वसन्त सेतो फूल कपालमा/ जरा छोडी उखेलिनेछन्/ लहर मिलेका आँखीभौं/ हाँस्न सक्छु कि सक्दिनँ कुन्नि ?/ छुटेका दाँतको डोब देखाएर/ कस्तो गाह्रो भइरहेछ मलाई/ आफ्नै बुढेसकाल पर्खनलाई…!

हजुरसँग- यसै पनि दौडिँदा दौडिँदा थाकेको यादावर म / चौतारी भइ बसिदिनू एकछिन/ मेट्न चाहान्छु जीवनका कैयौं थकानहरू…!

किनारामा आँसु- आफ्नै वरिपरि रोइरहनेहरूको आँसु/ पुछिदिन सक्दैन किन भगवानले?/ मन्दिर परिसर छोएर बगिरहेछन्/ किनारामा आँसुको बाढी…!

सहेकै हूँ- बिहानदेखि डुब्नै लाग्दासम्म घाम/ अब बोल्न थाल्नुछ/ फेर्नुछ आवेगको स्वास/ हाँस्नु छ आधा आकास चर्किने गरी…!

एस्ट्रे- दुई औंलाबिच च्यापिएर/ मूर्त अमूर्त आकार बनाउँदै/ उडिरहेछ चुरोटको धुँवा/ मान्छेहरू भन्दैछन्/ एस्ट्रेमा कविता जलिरहेछ…!

अजम्बरी याद- रून नसकेका सिकिस्त आँखाहरू/ हाँस्न नसकेका कलेटी ओंठ/ धन्न, तिम्रो यादहरूका भूकम्प आइरहन्छन्/ र हल्लाएर जान्छन् एकछिनलाई/ कम से कम मलाई जगाएका छन्/ तिम्रा अजम्बरी यादहरूले…!

५.

सुरज रानाकोजब कविता निस्कन्छ जुलुसमा“का कविता जति सरल लाग्छन्, त्यतिकै गहन अर्थ बोक्छन् । कविले कविता लेख्दा शब्दमा, त्यसको अर्थमा, प्रतिविम्बमा जुन आफ्नो शिल्प देखाएका छन्, त्यो प्रस्ट अनुहार उनको मौलिकता हो । साह्रै मिहीन ढंगले लेखिएका उनका कविताहरू कागजका ठेलीहरूबाट उडेर जान्छन्, खोज्दै मानव दुनियाँ, मानव संवेदना.. !

समकालीन काव्य देउरालीमा सुरजका कविता नयाँ विष्फोट झैं लाग्छन् । यही विष्फोटसँगै कवि भने नवीन शिल्प र उन्नत विचारको फराकिलो धापतिर प्रस्थान गरिसकेका छन्- स्वप्निल स्मृति

ओ बाहुनी- हाम्रो भगवान् मिल्दैन/ संस्कार मिल्दैन/ रीत र परम्परा मिल्दैन / तर, इः हेर त/ हाम्रो आत्मा कस्तरी मिलेको…!

डर – डरले यतिसम्म लाचार हुँदा पनि / एउटै कारणले नास्तिक छु/ कि ईश्वर मान्नेलाई नै / सबैभन्दा सजिलो हुन्छ दास बनाउन / र मलाई ईश्वर भन्दा बढी त / मालिकसँग डर लाग्छ…!

कोही गएको छ- रातको मधुरो बत्तीमुनि/ कविता लेख्न नसकेर आफैसँग सन्केको मै जस्तो/ लाग्छ, कोही गएको छ भर्खरै/ उठेर मेरै कुर्सीबाट…!

स्वप्निल स्मृतिको प्रेमपत्र- हजुरको याद साह्रै आएर/ सुत्न सकिनँ/ उठेको छु मध्यरातमा/ नमिल्दो रहेछ/ मुटु नै पो झिकेर / जस्ताको तस्तै/ सिलबन्दी गरेर पठाउन…!

म ब्रम्हाण्ड- हेर्छु जिन्दगीको ऐना/ छाम्छु आफूलाई/ बेवारिस टिलो हुँ/ जसलाई बाटोनेर/ मलामीले खसाएका थिए मृतकको नाममा…!

जब बिँडी फुकेर मुस्कुराइ रहन्छ निरङ्कुशता/ तब लेख्न थाल्छ कविता बन्दुकले…!

अनुभूति- जङ्गलबाट काँचो रुखको बास्ना आइरहे जस्तो/ गुम्बाबाट निस्किने मन्त्र उच्चारणको लय सुनिरहे जस्तो/ पातहरूमाथि झरीले लेखेको प्रेमपत्र पढिरहे जस्तो / यस्तै यस्तै/ केही मीठो लागिरहन्छ/ जब तिम्रा ओठहरू खुल्छन्…!

तलब- आज तलब आएको दिन/ किन्नुछ/ केही रङ्गीन सपनाहरू / पोत्नु छ/ अलिकति गुलाबी मुस्कान श्रीमतीको ओठमा/ तिर्नु छ/ सास फेरेको कर/ आँखा हेरेको शुल्क/ पाइला उचालेको महसुल / र केही खुद्रा ऋणहरू…!

कविले कवितालाई कविताकै लय, सुर र तालमा बोल्न दिँदा सबैभन्दा मीठो सुनिँदोरहेछ । कवितामा नभएको अनुहार खोज्दा कविता अन्धो हुँदो रहेछ । मलाई त्यसो गर्न हिम्मत भएन । कवि नबोलस्, समीक्षक नबोलुन्, आग्रह पूर्वाग्रह नबोलून् । कस्ताे मगमगाएर फुल्दो हो कविता… ! लेखिरहनुहोला । हामी पढिरहने छौं प्रेमले… !