क्वान्टम मेकानिक्सको ‘वास्तविकता स्थानीय छैन’ र ‘क्वान्टम इन्ट्याङ्गलमेन्ट’को अवधारणाले देखाउँछ कि दूरीको बाधालाई नाघेर पनि सम्बन्धहरू तत्काल कायम रहन्छन् । यही सत्य फेमिनिस्ट कवि शकुन आँसुको ‘नवयुगकी सुम्निमा’ कविता संग्रहभित्र देखिन्छ । उनका धेरैजसो कविताहरू प्रवासमा लेखिएका छन् । प्रवासमा रहेर पनि नेपाली समाजको सांस्कृतिक र भावनात्मक गतिशीलतासँग जोडिएर उनको कविताले स्वदेशमै रहेको अनुभूति दिलाउँछ, जसले क्वान्टम इन्ट्याङ्गलमेन्टको ‘गैर-स्थानीय’ सौन्दर्यलाई प्रतिबिम्बित गर्छ । यसलाई आइन्स्टाइनको ‘स्पुकी एक्सन एट अ डिस्टन्स’को रूपमा पनि हेर्न सकिन्छ ।

सुम्निमा: मिथक र मूर्तिभङ्ग

संग्रहको नाममा नै ‘नवयुगकी सुम्निमा’ हुनु आफैँमा सांस्कृतिक पुनःपाठको संकेत हो । किरात मिथकीय पात्र सुम्निमालाई— मातृशक्ति र प्रकृतिका रूपमा लिइन्छ । जसलाई मौनता, पवित्र र सहनशीलताको रूपमा पनि चित्रण गरिएको छ । तर आँसु यस मिथकलाई यथास्थितिमा स्वीकृति दिँदैनन् । नवयुगकी सुम्निमा आजको युगको चेतनाशील नारी हुन् । यहाँ ‘सुम्निमा’ प्रतिरोधको रूप हो ।

अब बोल्न थाल्नु छ

फुकाएर समाजले बाँधिदिएको घाँटीको सुजेरो

मान्छे हुनुको परिचय दिनु छ।

(फूलको विद्रोह, पृ० ९९)

कविताहरू पढ्दै जाँदा डोमिनो इफेक्ट प्रशस्तै छन्— पहिलो खण्डमा सुम्निमा प्रेम र अन्तरद्वन्द्वसँग लडिरहेकी छिन् भने दोस्रो खण्डमा वैचारिक, सांस्कृतिक पंक्तिमा उभिन खोजेको देखिन्छ । नवयुगकी सुम्निमा— अब मिथक रहेनन् । उनी वास्तविक छन्— समाजको एक श्रमिक, एक शिक्षक, एक लेखकका रूपमा ।

पितृसत्ताले नारीलाई सधैं दोस्रो दर्जामा राख्छ, लैंगिक असमानता र शक्ति असन्तुलनलाई कायम राख्दै सामाजिक मान्यताहरूलाई बलियो बनाउँछ । तर, यसको विनिर्माण आजको आवश्यकता हो । नारीवादी आन्दोलन, शिक्षा र सशक्तीकरणले पितृसत्तालाई चुनौती दिइरहेको छ यद्यपि सयौँ वर्षदेखिको यो सोच भत्काउन निरन्तर प्रयास चाहिन्छ ।

म पनि हुँ बाउको दुई थोपा वीर्य

आमाको शरीरमा बग्ने रगत

जसरी दाजुभाइहरू हुन्

तर किन विभेद छ यहाँ ?

आकाश-धर्तीको / छोरा र छोरीको ?

( पितृसत्ता, पृ. ७२)

यो कवितांशले पितृसत्ताको लैंगिक विभेदमाथि प्रश्न उठाउँदै नारीको समान हैसियतको माग गर्छ । दूरी र पितृसत्ताको सिमालाई नाघेर नारी शक्तिको गैर-स्थानीय सौन्दर्यलाई उजागर गर्दछ ।

रेम्माखिम: जीवन,मृत्यु र ऊर्जाको निरन्तरता 

यो कविता मृत्युको शोक र जीवनको चक्रलाई प्रकृति र सम्झनामार्फत व्यक्त गर्ने एक गहिरो रचना हो । कवि आफ्ना आप्पाको समाधिस्थल वरिपरि घुम्दै तीतेपातीको फूल, सुकेका पत्झड, र दूधिलोको बोटसँग जोडिन्छन्, जसले आप्पाको उपस्थितिलाई जीवन्त बनाउँछ ।

घुमेर रेम्माखिम वरिपरि

छुन्छु फुलिसकेको तीतेपाती फूल र सुकेका पत्झडहरु

लाग्छ, आफ्नै आप्पाको सेतो कपाल सुम्सुम्याइरहेछु

छेउमै उभिएको हरियो दूधिलोमा बसेर

कराइरहन्छ काग

जुन दूधिलोको बोट आप्पाले नै रोप्नुभएको हो।

( रेम्माखिम, पृ. ७५ )

कवितामा कविको आप्पासँगको भावनात्मक सम्बन्ध र आत्मीयता झल्किन्छ । दूधिलोको बोट र काग आप्पाको प्रतिनिधित्व गर्ने सजीव बिम्बहरूले मृत्युलाई स्वीकार गर्दैन । मृत्यु — के साँच्चैको अन्त्य हो त ? यसको स्पष्ट जवाफ विज्ञानसँग पनि छैन । मेडिकल्ली मृत्यु भइसकेको व्यक्तिको कुनै सेल विशेष अध्ययन-अनुसन्धानका लागि बचाइरहन सकिन्छ । त्यसो हो भने यो मृत्यु हो कि होइन ? विज्ञानको ‘ऊर्जा संरक्षण’ सिद्धान्तअनुसार ऊर्जा कहिल्यै नष्ट हुँदैन, केवल रूपान्तरण हुन्छ । यो मानेमा, मृत्यु शाश्वत अन्त्य नभई ऊर्जाको परिवर्तन मात्र हो । कवितामा वर्णित तीतेपाती, दूधिलोको बोट, र खेतका आलीहरू आप्पाको ऊर्जाको परिवर्तित रूप हुन्, जसले प्रकृतिमा उनको अस्तित्वको निरन्तरता देखाउँछ ।

कविताको ‘रेम्माखिम वरिपरि’ घुम्ने कविको यात्रा केवल भौतिक नभई आध्यात्मिक र दार्शनिक पनि छ । यो यात्राले मृत्युलाई अन्त्यको रूपमा नभई जीवनको चक्रको रूपमा प्रस्तुत गर्छ । कविको विवशता र प्रकृतिसँगको संवादले मानव चेतनाको सीमितता र विश्वको अनन्तताबीचको द्वन्द्वलाई उजागर गर्छ ।

अजम्बरी याद: मनोवैज्ञानिक प्याराडक्स

बिर्सिने कोसिसको अन्तिम सिँढीमा

उक्लिएर पनि सम्झिरहेकोछु—

अजम्बरी नहुने मानिसको सम्झना।

( अजम्बरी याद, पृ० २० )

‘अजम्बरी याद’ कविताले बिर्सने र सम्झने बीचको मनोवैज्ञानिक प्याराडक्सलाई गहिरो ढङ्गले चित्रण गर्छ । ‘बिर्सिने कोशिशको अन्तिम सिँढीमा/ उक्लिएर पनि सम्झिरहेको छु’— अनैच्छिक स्मृति र निरन्तर बन्धनको अभिव्यक्ति हो । मनोवैज्ञानिक प्याराडक्स जहाँ दुई विपरीत भावनात्मक वा संज्ञानात्मक प्रक्रियाहरू एकसाथ सत्य वा प्रभावकारी हुन्छन् । स्वीकार र सम्झनाको एकसाथ अस्तित्व । कवितामा यो प्याराडक्स बिर्सने सचेत प्रयास र सम्झनाको अनैच्छिक उपस्थितिमा देखिन्छ ।

‘नवयुगकी सुम्निमा’ नेपाली साहित्यमा नारीवादी र सांस्कृतिक चेतनाले भरिएको कवितासंग्रह हो । शकुन आँसुले व्यक्तिगत अनुभवलाई सामाजिक र सांस्कृतिक सन्दर्भसँग जोडेर कवितालाई व्यापक बनाएकी छन् । ‘आधा आकाश’, ‘उज्यालोतिर’, ‘फेरिँदो गाउँको सौन्दर्य’, ‘नोस्टाल्जिया’कविताहरू मार्फत सामाजिक परिवर्तनको आह्वान गर्दै पाठकलाई सक्रिय चिन्तनमा प्रेरित गर्छन्।

धेरैपटक दोहोरिएका

प्रत्येक मान्छेले बोलेका दुईटा शब्द

गुञ्जिरहे बच्चुको कानमा— ‘आधा आकाश’

मनभरी उसलाई लागिरह्यो

के हो यो— आधा आकाश ?

( आधा आकाश, पृ० ७०)

कानुनका पानाहरुमा थपघट गरौँ धारा/उपधारा

कानुनले नै बाँध्नु छ यी फुकुवा पशुहरुलाई

कि भोलिदेखि

कुनै छोरी

कुनै नातिनी

कुनै बहिनीले

हिंसाले गिजोलिएर बाँच्न नपरोस्

बलात्कृत हुन र मृत्यु वरण गर्न नपरोस्।

( उज्यालोतिर, पृ० ८३ )

गाउँमा अचेल

आधुनिक नामको विकास पुगेर

मेटाइरहेछ पुर्ख्यौली संरचना।

( फेरिँदो गाउँको सौन्दर्य,पृ० ९७ )

वाबुबाट चोखो वासिम छर्किँदै

मुन्धुम गाउँदै

तीन चूल्हा पूज्दा आप्पाले

कति लालयित हुन्थ्यौँ हामी

राहुराहु कोइलामा पाक्दै गरेको होमासा खान

र, साँझमा आमाले पकाएको वाचिपा

आहा !

भेटिन्छ र यो स्वाद चिकेन रोस्ट र केएफसीमा ?

( नोस्टाल्जिया, पृ० १०१)

शकुन आँसुको कवितामा जातीय पहिचान, सांस्कृतिक गर्व र प्रवासी अवस्थाभित्रको संघर्ष एकसाथ बोल्दछन् । आजको भूमण्डलीकरणको सन्दर्भमा आफ्नै भाषा, संस्कृति र पहिचान जोगाइराख्नु अर्थात् इन्ट्याङ्गल्ड भइराख्नु एउटा चुनौती हो— आँसुको कविताले यही चुनौतीलाई कलात्मक रूपमा प्रस्तुत गर्दछ।

संग्रहको बलियो पक्ष यसको संवेदनशीलता, सांस्कृतिक समृद्धि र सामाजिक चेतना हो । कविताहरूले पाठकलाई भावनात्मक र बौद्धिक रूपमा जोड्छन् । किरात संस्कृतिको समावेश र नारी सशक्तीकरणको सन्देशले संग्रहलाई सान्दर्भिक बनाएको छ । आलोचनात्मक पक्षमा, पहिलो खण्डका कविताहरू बढी आत्मकेन्द्रित छन् । विषयवस्तुहरू दोहोरिरहनु, दार्शनिक गहिराइको कमिले कविताको घनत्वलाई अलिक प्लवन बनाउन सक्छ । यद्यपि, कविको संवेदनशीलता र सामाजिक प्रतिबद्धताले यी कमीलाई पूर्ति गरेको छ ।

‘नवयुगकी सुम्निमा’ काव्यात्मक यात्राको कोसेढुंगा हो । किरात संस्कृतिको गौरव, नारी सशक्तीकरण, सामाजिक परिवर्तन र व्यक्तिगत संवेदनाले भरिएको यो संग्रह नेपाली साहित्यमा अमूल्य योगदान हो । कविताहरूले पाठकलाई समाज, संस्कृति र आफ्नै अन्तरमनमाथि पुनर्विचार गर्न प्रेरित गर्छन् । किरात संस्कृतिको जीवन्त प्रस्तुति र सामाजिक सन्देशले यो संग्रह साहित्य प्रेमीहरूका लागि अवश्य पढ्नुपर्ने कृति बनाएको छ ।